पूर्व डायरी- २
घाम धर्तीभरि पोखिन पहाडमाथि उक्लिन थालेका बेला हामी सोलुखुम्बु जान ओखलढुंगास्थित एक होटलको भर्याङका खुड्किला ओर्लिँदै थियौं। सोलुको चिसो सिरेटोसँग जुध्न हिँड्नुअघि एकएक गिलास तातोपानीको इन्धन भर्यौं। पानी घाँटी हुँदै आन्द्रासम्म सलल बगेझैं हामी राजमार्गमा बग्नु थियो।
पर्वतराज सगरमाथाका अलावा अनेक पहिचान छन् सोलुखुम्बुका– ल्होत्से र चोयु हिमाल अवस्थित भूगोल। सबभन्दा बढी गुम्बा भएको जिल्ला। धेरै विमानस्थलको रेकर्ड राख्ने जिल्ला इत्यादि।
लुक्ला (तेन्जिङ हिलारी), स्याङ्बोचे, फाप्लु, कागेलडाँडा र खुम्जुङस्थित मिङ्मो गरी पाँचवटा विमानस्थल छन्। दुइटा सायद चालु हालतमा छैनन्। बरू एउटा अर्को थपिँदैछ।
मेरा पिक, पिकेडाँडा, नाम्पा भञ्ज्याङ, पाँचपोखरी, दूधकुण्ड, गोक्यो ताल, जालिमपोखरी, नाम्चे, कालापत्थर, जोरबौद्ध, टाक्सिन्दु गुम्बा जस्ता एकसे एक सुन्दर ठाउँको धनी जिल्ला हो सोलुखुम्बु।
सोलुखुम्बुका अनेक आयामबारे बारम्बार सुनेको हो। तर आफैं उपस्थित भएर केहीलाई आँखैअगाडि देख्न पाउने अलौकिक अवसर आउनेवाला थियो। ओखलढुंगा छुट्दै जाँदा अर्कै रमाइलो लाग्न थाल्यो। ठाउँ पनि अग्लो–अग्लो लाग्ने। तीन हजार मिटरसम्म त राजमार्ग नै रहेछ, पत्ताले आसपास। त्यहाँबाट देखिने सोलुखुम्बुको क्षितिज र हिमशृंखला विशाल प्राकृतिक क्यानभास जस्तो।
यस्तो क्यानभास जसमा जता हेर्यो उतै अझ आकर्षक प्राकृतिक चित्र भएजस्तो। यति बेला हामी एक गाडी दर्शक मात्र थियौं। त्यति सुन्दर चित्र क्यामरामा कैद गरेर धित मार्न खोज्ने।
यी अजम्बरी पहाडका संरचना हेर्दै जाँदा हिन्दी चलचित्र 'राम तेरी गंगा मैली' को कालजयी गीत 'हुस्न पहाडोंका, ओ साहेबा, हुस्न पहाडोंका, क्या कहेना कि बाह्रों महिने यहाँ मौसम जाडोका' कानमा गुञ्जिरह्यो।
प्राकृतिक क्यानभासको बीचबाट कोरिएको नागबेली सडक हुँदै सरर सोलु गइरहँदा मनै हरर भइरहेथ्यो।
सडक किनारमा कलात्मक घर, हरेकजसो घरबाहिर मिलाएर राखिएका दाउराका चट्टा, हाइवेबाट परपरसम्म मिलेका बस्ती। बस्तीमा निलो, रातो र हरियो छाना भएका घर। हिउँले खाएको माटो। पारिपट्टि पहरामा डोजरले खोस्रिएको बाटो। हाइड्रोपावर प्रोजेक्टले पहाड छेड्न खनेका सुरुङहरू र तिनका अन्य उपकरण। यस्तै यस्तै दृश्य छन् आँखाभरि।
लामा, अग्ला, सुरिला सल्ला र उतिसका जंगल। ठाउँठाउँमा सामुदायिक वनले बिक्री गरेर ढुवानीका लागि रोडछेउ थुपारेका काठका गोलिया। केही समयअघि दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ मा देखाउने रक्तचन्दनका गोलियाको झल्को दिने।
हेर्दाहेर्दै, कहिले उकाली र कहिले ओराली गर्दै सल्लेरी बजार पुग्नै लागिएछ। सदरमुकाम नपुग्दै, तलैबाट कच्ची बाटो समातेर ओर्लिने भइयो, ज्वालामाई देवीको मन्दिर हेर्न। मन्दिर वरिपरि बढी नेवार र मगर बस्ती। अग्लो ठाउँमा अवस्थित ज्वालामाई देवी मन्दिरका पुजारी मगर रहेछन्। तीन सय वर्ष भइसकेछ मगर जातिका पुजारी बसेको।
मन्दिरको आँगनीमा बसेर मगर पुजारी भेटिने नेपालका अन्य थुप्रै मन्दिर सम्झियौं– स्याङ्जाको सतौं चण्डीथान, तनहुँको आँधी बाराही, गोर्खाको मनकामना, धादिङको सल्यानकोट आदि।
फर्किँदा २०३४ सालमै स्थापना भएको फाप्लुको बागबानी केन्द्र हुँदै आयौं। स्याउ, किवीलगायत फलफूलका बेर्ना कलमी गरेर गज्जबसँग राखिएको नर्सरी रहेछ। किराबाट बच्न निलोतुथो पोतिएका बिरुवा। सानो बिरुवामा धेरै फल लाग्दा नलच्किऊन् भनेर बनाइएका सिमेन्टका टेका। धूपीसल्लाका गोलमटोल आकृतिहरू। सबै दृश्यले मन लोभ्याउने।
बागबानी केन्द्रबाट फाप्लु विमानस्थल हुँदै जाँदा अधिकांश घर निलो जस्ताले छाएका। केही अन्य रङका जस्ता र केही ढलानयुक्त घर भएको सल्लेरी बजार झुल्कियो। आधुनिकता उन्मुख चिटिक्क सदरमुकाम।
प्रमुख जिल्ला अधिकारी अनिल खनाल भर्खरै जिम्मेवारी सम्हाल्न जानुभएको हो। उहाँ र सुरक्षा निकायका प्रमुखहरूबाट जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, सेवा प्रवाह, स्थानीय तहको चुनावी तयारी आदिबारे जानकारी भयो।
एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तह रहेको सगोल जिल्लालाई सोलु (तल्लो भूभाग) र खुम्बु (माथिल्लो भूभाग) गरी विभाजन गर्न सकिने रहेछ। तल्लो भूभागतिर राई जाति र क्षेत्रीहरूको बाहुल्य। अनि माथिल्लो हिमाली क्षेत्रतिर शेर्पाको बाक्लो बसोबास।
२०६८ को जनगणनाअनुसार करिब एक लाख पाँच हजार जनसंख्या छ। हिन्दु, बौद्ध, किराँत, क्रिस्चियन, इस्लाम र प्रकृति धर्मावलम्बीहरू छन्। जातिगत रूपमा राईको बाहुल्य छ। लिखु पिके गाउँपालिकाबाहेक सबै पालिका सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन्।
जिल्लामा जम्माजम्मी ४१ प्रहरी युनिट रहेछन्। खुम्जुङ प्रहरी चौकी सम्भवतः नेपालकै सबभन्दा अग्लो स्थान ४,२०० मिटरमा रहेछ। जिल्लाका केही सुरक्षा चुनौतीहरू रहेछन्– पर्यटकको घुँइचो लाग्ने सगरमाथाको प्रवेशद्वार स्याङ्बोचेमा प्रहरी युनिट स्थापना गर्ने, मनपरी कुद्ने तीन पांग्रे टेम्पो चालकलाई लाइसेन्स दिने, हेलिकप्टरको अत्यधिक उडान हुँदा हुभरिङका कारण हिमतालहरू फुट्न सक्ने। तिब्बतसँग जोडिएको ८३ किलोमिटर सीमाको व्यवस्थापन, बढ्दो आत्महत्या नियन्त्रण, रातो पाण्डा (हाब्रे) लगायतका वन्यजन्तुको तस्करी नियन्त्रण।
नागरिकताको अभिलेखको हकमा द्वन्द्वकालमा कार्यालयमा रहेका अभिलेखहरू पूरै नष्ट भएकाले प्रतिलिपि प्रदान गर्ने लगायतका काममा समस्या रहेछ। अस्थिर इन्टरनेटका कारण अनलाइनमा आधारित सेवा प्रभावित हुने गरेको रहेछ।
जिल्लामा पाँच सयजति तिब्बती शरणार्थी भए पनि चीनविरोधी गतिविधिमा संलग्न भएको बुझिएन। प्रहरीहरूको लागि भूगोल सुहाउँदो सवारी साधन छैन। अघिल्लो वर्ष लागुऔषध सम्बन्धी एउटा मुद्दा दर्ता भएकामा यो वर्ष एउटा पनि छैन। गाँजाको व्यावसायिक खेती भएको देखिएन। यद्यपि घरायसी प्रयोजनमा चलन रहेको सुनियो।
कारागारको अवस्था दर्दनाक छ। सडकमुन्तिर ठडाइएको पुरानो कारागार भवनमा २० जना पुरुष र ५ जना महिला गरी पच्चीस जना अटाउने क्षमता छ। तर ४८ जना कैदी र ४४ जना थुनुवा बसेका छन्, नौ जना महिलासहित।
सबभन्दा बढी जबर्जस्ती करणी मुद्दाका कैदी र थुनुवा छन्। कर्मचारीको हकमा भने ठीक विपरीत, नौ जनाको दरबन्दीमा पाँच जना मात्र। निमित्त कार्यालय प्रमुखसमेत जिल्ला प्रशासनबाट सापटी लिनुपरेको रहेछ।
सोलुखुम्बुको चर्चित कोसेली तामाको डाली समय अभावले यसपालि लिन पाइएन। सल्लेरी एकसरो मात्र घुम्न सकियो। 'टिपिकल' स्वाद चाख्नै पाइएन। गाउँहरू हेर्न छुटे। हिमाल छुन सकिएन। न हिमालमा चर्ने याकहरूलाई नै।
खुम्बु उपत्यका चहार्न भ्याइएन। पिकेडाँडा परैबाट हेरेर चित्त बुझाउनु पर्यो। सगरमाथाको धुमिल आकृति मात्र देख्न सकियो। तर पनि यो सुन्दर ठाउँ देख्न र यहाँको माटोमा टेक्न पाउनु नै निजामती सेवाले दिएको सुनौलो अवसरमध्ये एक थियो।
केही समयअघि नेपालले मापन गर्दा सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेजस्तै सोलुखुम्बु घुमेर फर्किँदा मेरो उचाइ त्यति नै बढेजस्तो महसुस हुँदै थियो।
भीष्म भतिजले किनेर ल्याइदिएको एक पाथी सेतो सिमी, अलिकति टिमुर, एक पोका छुर्पी र थुप्रै सम्झनाका कोसेली बोकेर फर्कियौं।
भोलि बिहानै यस्तै कार्यक्रम भएकाले हामीलाई आजै खोटाङको दिक्तेल पुग्नु छ।
त्यहाँ काम सकेर साहित्यकार डिएसपी मित्र उमेशसँग मौका मिले गाउनु छ– खोटाङ जिल्ला दिक्तेल बजार.., दिक्तेल बजार..., लै लै सम्झनामा आउँछ्यौ हजार...।
(लेखक उपाध्याय गृह मन्त्रालय, लागुऔषध नियन्त्रण शाखाका प्रमुख हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)
पूर्व डायरी- १ः ओहो, ओखलढुंगा!