पूर्व डायरी- १
सुदूरपश्चिममा जन्मे-हुर्केको मलाई निजामती सेवामा प्रवेश गरेपछि थुप्रै अवसर प्राप्त भएका छन्।
सिक्ने। सेवा गर्ने। समाज बुझ्ने। ठाउँहरू घुम्ने। देश दर्शन गर्ने। थुप्रै किसिमका।
मानौं म अवसरहरू लिन मात्र आएको हुँ। यसका लागि सेवाप्रति कृतज्ञ छु। त्यसैले कामसँगै अवसरको आनन्द लिने प्रयासमा हुन्छु। यही फागुन २० गतेदेखि २५ गतेसम्म कामकै लागि पूर्वी पहाडतिर खटिने अवसर पाएँ।
चारवटा जिम्मेवारी।
पहिलो, सुरक्षा निकायसँग अन्तर्क्रिया गर्ने।
दोस्रो, गाँजालाई औषधीय प्रयोजनका लागि खुला गर्ने प्रयास भइरहेकाले पूर्वी पहाडमा गाँजाको अवस्थाबारे बुझ्ने।
तेस्रो, नागरिकताका समस्याबारे स्थलगत जानकारी लिने।
चौथो, कारागारहरूको निरीक्षण गर्ने।
पाँच जनाको भ्रमण दल। छ दिने यात्रा अवधि। बिहान ठीक सात बजे। आठ जिल्ला - ओखलढुंगा, सोलुखुम्बू, खोटाङ, भोजपुर संखुवासभा, तेह्रथुम, धनकुटा र मोरङको यात्रामा निस्किनुअघि आवश्यक फाराम, पुस्तकहरू, डायरी, नागरिकताको विवरण चेकजाँच गर्यौं। केही बोतल पानीका बोक्यौं।
बा.२ झ ३४८७ नम्बरको निलो स्कोरपियो पिक अपमा उक्लियौं।
खास चालक ज्ञानबहादुर हिजो मात्रै खुट्टा मर्किएर प्लास्टर लगाएर बस्नु परेपछि नयाँ चालकको जिम्मेवारी पाएका वीरेन्द्रले हिजै गाडीमा ६० लिटर डिजेल भरेका थिए। डिजेलको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो - प्रति लिटर १३३ रूपैयाँ।
सिंहदरबारबाट हिँड्दा मिटरले गाडी ५७ हजार ९९० किलोमिटर गुडेको देखाइरहेको थियो। थाहा थिएन काठमाडौंबाट काठमाडौं आइपुग्न एक हजार ३ सय ७३ किलोमिटर गुड्नेछौं भनेर।
झोलाहरू ढालामा राखिए। ढाक्ने त्रिपाल नभएकाले बाटोमा किन्ने योजना बन्यो। बनेपा पुग्दा बल्ल हार्डवेयर पसल खुलेका देखिए। केही मिटर सेतो बाक्लो प्लास्टिक किनेर झोलालाई धूलोको आक्रमणबाट बचाउने जुक्ति निकाल्यौं। झोलाहरूले बर्षादी ओढे।
बिपी हाइवेको बाटो समातेर बिहानीपखको कमलो घामसित लुकामारी गर्दै, वरिपरिको क्षितिज नियाल्दै, जापानी प्रविधिको सडकमा गुड्न आनन्द आइरहेको थियो। बिहानीपख भएकाले होला सिन्धुलीतिरबाट छिटफुट सवारी साधन मात्र उपत्यका उक्लिँदै थिए।
यात्राको एउटा नराम्रो पक्ष के भने ठूलो टिम हुँदा त्यसमाथि पहाडी रूटकोक लामो यात्रा भएमा कसै न कसैलाई गाडी लाग्ने अर्थात वान्ता हुन सक्छ। सन्तोष सरको अटेसमटेसले संकेत गरिरहेको थियो। उहाँलाई यात्राभरि अलिकति झ्याल खोलेर बस्नैपर्ने भयो।
यात्राको अर्को नराम्रो पक्ष- खाने टुंगै नहुनु। खोजेजस्तो खाना नपाउन पनि सक्छ। केही समयअघि मात्र ओखलढुंगामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर गएका दिल कुमार तामाङ सरलाई सोधेँ।
खाना कुन ठाउँमा खाँदा ठीक होला?
'नेपालथोकतिरै खाएर आउनु भाइ।' (दिलकुमार सरसँग चिनजान भएको केही महिना मात्र भए पनि सरभन्दा दाइ भन्न मन लाग्छ। उहाँ भाइ नै भन्नुहुन्छ।)
एऽऽऽऽ ! नेपालथोक त कटिसकेछ।
'उसोभए खुर्कोटमै खाएर आउनू। त्यहाँभन्दा उभो त खासै पाउँदैन हो भाइ।'
खुर्कोट पुगेर हेर्दा 'नेपाली चुल्हो' देखियो अरू होटलभन्दा अलि राम्रो। हाइवेको होटल न हो। सेवाभन्दा व्यापार प्राथमिकता जस्तो लाग्यो। तै पनि आइसकेपछि जे पाउँछ त्यस्तै खान अर्डर गर्दा थाहा भयो पाँचमध्ये तीनजना शाकाहारी रहेछौं। बहुमत शाकाहारी भएकाले सबैले शाकाहारी भोजन गर्ने निर्णय भयो। खाना 'नट ब्याड'। एक हजार एक सय तिरेर घुर्मीतर्फ हानियौं।
पाँचै जनाको पूर्वी नेपालको यात्रा पहिलो थियो। रोमाञ्चक त हुने नै भयो।
त्यसमाथि पहिलो गन्तव्य - ओखलढुंगा।
ओहो ! युगकवि सिद्धिचरणले लेखेको, स्वर सम्राट नारायण गोपालले गाएको 'मेरो प्यारो ओखलढुंगा' गीतको ओखलढुंगा।
बालखै हुँदा शाही नेपाल वायुसेवा निगमले उडानको जानकारी दिँदा भन्ने नाम- रूम्जाटार भएको जिल्ला। पछि सामान्यज्ञानमा पढेअनुसार तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला। तत्कालीन सगरमाथा अञ्चलको सानो जिल्ला।
पञ्चदेवी मन्दिर। नर्मदेश्वर महादेव। कुन्तादेवी मन्दिर। तीनकन्या पञ्चवती मेला। चिशंखु। खिजीदेम्बा जस्ता ठाउँ भएको जिल्ला। १३१ मि. अग्लो पोकली झरना, १११ मि. अग्लो रातमाटे झरना, चिर्खुवा खोला झरना, सेप्ली झरना अवस्थित जिल्ला।
यी तस्वीरहरू आँखामा नाचिरहँदा वारि सिन्धुलीको बाटो हुँदै पारि रामेछापका उजाड डाँडाहरू हेर्दै अगाडि बढ्दै गयौं- टार, भञ्ज्याङ, देउराली, अनेकौं घुम्ती नाघ्दै। बेसी रंगीन थियो सिमलका फूलले। पहाड लालीगुराँसले। अनि मन। मन, नौलो ठाउँको पहिलो यात्राले।
दिल सरलाई तारन्तार अपडेट गराउँदा गराउँदै सदरमुकाम आइसकेछ। साँघुरो सदरमुकाम। हुन त अधिकांश पहाडी सदरमुकाम यस्तै अक्कर भूगोलमा छन् यद्यपि ओखलढुंगा बढी नै अटेसमटेस लाग्यो।
दुई बजेतिर ओखलढुंगाको भूमि कुल्चिँदा सुरक्षा निकायका प्रमुखहरू सहित जिल्लाको टोली स्वागत गर्न प्रतीक्षारत थिए। जिल्ला प्रशासन कार्यालयमा जिल्लाको ब्रिफिङ भयो। शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहको अवस्था बुझियो।
पछिल्लो तथ्यांक अनुसार १ लाख १९ हजार मतदाता। करिब पाँच हजार नागरिकताका अभिलेख झुत्रो भई सिस्टममा प्रविष्टि गर्न नसकिएको। राष्ट्रिय परिचयपत्रका लागि सत्तरी हजारभन्दा बढी नागरिकको विवरण दर्ता गर्न सकिएको।
सम्भावित आगलागी रोकथाम गर्न जिल्लाको पूर्वतयारीबारे बुझियो। विकास निर्माण कार्यमा समन्वय र सहजीकरण गर्दाका समस्याबारे चर्चा भयो। सदाचारिता र आर्थिक अनुशासनका कुरा गर्दा कार्यालयको बेरुजु शून्य रहेको पाइयो।
लागुऔषध उत्पादन, प्रयोग, बिक्री वितरणको समस्या न्यून रहेको (आर्थिक वर्ष ०७३/७४ मा गाँजासम्बन्धी ३ वटा मुद्दा दर्ता भएका, अर्को वर्ष कुनै मुद्दा दर्ता नभएको। ०७५/७६ मा एउटा मात्र मुद्दा दर्ता भएपछि त्यसयता कुनै मुद्दा दर्ता नभएको। लागुऔषधभन्दा घरेलु मदिराले बढी समस्या सिर्जना गरेको। मदिरा जथाभावी र अत्यधिक सेवन हुने गरे पनि अन्य जिल्लातिर निकासी हुने नगरेको बुझियो।
छत्तीस वर्षअघि २०४२ सालमा निर्मित पुरानो जीर्ण कारागार भवन। ढल निकासको व्यवस्था नभएको। आफ्नै सवारी साधन नरहेको। ३० जनाको क्षमतामा ५१ जना कैदी बन्दीले बस्नु परेको। स्थान सबैका लागि अपर्याप्त। सुरक्षार्थ खटिएको प्रहरी बाहिरै बस्न बाध्य। नेपाली सेनाको टुकडी त झन् त्रिपालमा। कैदीमध्ये सबभन्दा बढी जबरजस्ती करणीको मुद्दामा संलग्न। कारागारमा एकै परिवार भई बसेका कैदीहरू कोही मुडा बनाउन, कोही ढाका बुन्न व्यस्त।
सदरमुकामको काम सकेर रूम्जाटर पुग्यौं। रूम्जाटार विमानस्थलको चक्कर लगायौं। मीठो कफी खायौं। रमायौं। फर्किँदा अँध्यारो भइसकेको थियो। भोलि सबेरै हिँड्नुपर्ने भएकाले सिद्धिचरणले बयान गरेको ओखलढुंगाको ढुंगा हेर्ने इच्छा जाग्यो। साँझ सात बजे ओखल भएको ठाउँ पुग्यौं।
काठमाडौंका मल्लकालीन राजा लक्ष्मी नरसिंह मल्लका सेनापति काजी भीम मल्लको कमाण्डमा पूर्व विजय अभियान आएको रहेछ यहाँ। सेनाले ओखलढुंगास्थित ओखल आकारको ढुंगामा धान कुटी चामल तुल्याई भात पकाई खाएकाले ओखलढुंगा नाम रहन गएको किम्बदन्ती रहेछ।
उक्त ठाउँमा ठूलो आकारको ओखलको स्मारक र दुई जना सैनिकले धान कुटिराखेको मूर्तिसमेत रहेछ। २०७८ साल माघ ४ गते समुद्घाटन गरिएको।
काम अनि घुमघाम सकेर हामी दिल सरको सरकारी निवासका पाहुना बन्यौं। विकासका, शान्ति सुरक्षाका, आसन्न स्थानीय तहको निर्वाचनका र व्यक्तिगत जीवनका गफमा गफियौं। डा. भीष्म सरका वजनदार कविता सबैले एउटा एउटा वाचन गर्दा एक किसिमको महेफिलको वातावरण बन्यो।
यसपटक ओखलढुंगा यात्रा केही घन्टामा सीमित भयो। राजमार्ग छोडेर केही किलोमिटर मात्र दायाँबायाँ गइयो। राजमार्गबाटै जिल्लाको क्षितिज, भूगोल, बस्ती, प्रकृति सबै नियालियो। यात्रा फलदायी रह्यो।
होचो ठाउँ ज्योतिर्घाट, अग्लो स्थान लाम्जे डाँडा। शनिबारे हाट। सुन्दर झरनाहरूको छरछर। अर्गानिक उत्पादनको स्वाद अब अर्को चोटिलाई।
(लेखक उपाध्याय गृह मन्त्रालय, लागुऔषध नियन्त्रण शाखाका प्रमुख हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)