क्लबहाउसमा अहिलेसम्म दुई सयभन्दा बढी छलफल चलाएको एउटा दैनिक चल्ने कोठा छ।
पछिल्लो समय त्यहाँको छलफल पनि एमसिसीमय छ। त्यही छलफलको क्रममा नेताहरूको पाखण्ड र दोहोरो मापदण्डका कुरा भइरहँदा एउटा समाचार सेयर भयो- माओवादी र नेकपा एसका नेताका छोराछोरी अमेरिकामा, जनताका छोराछोरी एमसिसीविरूद्ध सडकमा।
समाचारका अनुसार माओवादी नेता जनार्दन शर्माका छोरा र छोरी अमेरिकामा छन्। देवेन्द्र पौडेल, शक्ति बस्नेत र सत्या पहाडीका छोरीहरू अमेरिकामा छन्। पुष्पकमल दाहाल 'प्रचण्ड' का नातिले पढ्ने नेपालकै स्कुलको मासिक खर्च लाख हाराहारी छ।
लगत्तै एक जनाले त्यहाँ भइरहेको कुराकानीमा आपत्ति जनाउँदै भने- नेताका छोराछोरी भन्दैमा विदेश गएर पढ्न किन नपाउने? उनीहरूको व्यक्तिगत स्वतन्त्रता भन्ने कुरा छैन?
नेताहरूलाई दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदा तपाईंहरू आफैं चाहिँ किन यस्तो दोहोरो कुरा गर्ने भनेर उनले क्लबका नियमित वक्ताहरूमाथि प्रश्न उठाए।
स्वभावतः त्यहाँ दोहोरो बहस भयो। हामीले हाम्रा कुरा राख्दै भन्यौं- नेताका छोराछोरीले विदेश गएर पढ्नु ठीक तर तिनै नेताले विद्यार्थीहरूलाई रेलिङ भाँच्न र सडकका सिमेन्टका ब्लक उखेलेर पुलिसमाथि आक्रमण गर्न पठाउनु बेठीक।
नेताका सन्तानहरूले महँगा निजी स्कुलमा पढ्नु (आम्दानीको स्रोत वैध छ भने) ठीक तर नारा लगाउने बेलामा सरकारी स्कुलका केटाकेटीलाई बसमा ओसारेर तिनको पढाइ अवरूद्ध गर्नु बेठीक।
तर यो प्रसंगले मलाई भने एउटा पुरानो प्रसंग सम्झाइदियो।
कलिलो उमेरमा राइफल भिरेको लेनिन विष्टको यो फोटो हेर्दा उनले फोटाका लागि खेलौना बन्दुकसित ‘पोज’ दिएका हुन् कि जस्तो देखिन्छ।
तर सन् २००२ मा उनी १२ वर्षका छँदा लेनिनलाई माओवादीको ‘जनमुक्ति सेना’ ले भर्ती लियो। अनि उनको स्कुले झोला बोक्नु पर्ने काँधमा भिराइदियो झन्डै पाँच किलो तौलको एसएलआर राइफल।
उनी १६ वर्षको हुँदा सँगैका साथीले एसएलसी दिँदै थिए। उनका लागि भने अनमिनले गर्ने प्रमाणीकरणको परीक्षा आउँदै थियो।
अनमिनले उनलाई फेल पार्यो।
एसएलसीमा फेल हुने साथीहरूले पुरक वा अर्को वर्षको परीक्षा दिएर डिग्री लिने मौका पाए, लेनिन र उनीजस्ता बाल सैन्यहरूका लागि फेरि कहिल्यै त्यस्तो मौका आएन।
जसलाई अनमिनले पास गर्यो, उनीहरूले दिनमा एक डलर जति भत्ता पाउँथे। त्यसको पनि आधा जति पैसा नेतृत्वले पचाउँथ्यो। तर पार्टीका लागि बन्दीसरह दिनको आधा डलर नकमाइदिने भएपछि माओवादीहरूले लेनिन र उनीजस्ता ‘अयोग्य’ छापामारहरूसित नाता तोड्यो।
क्षतिपूर्ति र पुनर्स्थापनाका त कुरै छाडौं, उनीहरूले युद्धमा खेलेको भूमिकालाई स्वीकारसमेत गरेन माओवादीले। पछि जब ‘योग्य’ १९ हजार लडाकुहरूमध्ये झन्डै १८ हजारले शिविर छोड्दा केही लाखको क्षतिपूर्ति पाए, पार्टीका मुखियाहरूले धेरैको त्यो पैसा पनि खोसे।
कैयौं पूर्व लडाकुहरू रूँदै चौकी पुगेर केही वर्ष अगाडिसम्म दुश्मन मानेर मार्न तम्सिएका प्रहरीसामु उजुरी पनि गरे। यसरी हजारौं नेपालीहरूको क्रान्ति र मुक्तिको सपना वियोगान्त मोडमा पुगेर टुंगियो।
उता लेनिन र उनका पूर्व–बाल सैन्य साथीहरू माओवादीको युद्ध अपराधका ज्युँदा जाग्दा प्रमाण थिए। त्यसैले ओली नेतृत्वको नेकपा सरकारका बेला गृहमन्त्री रहेका रामबहादुर थापाले उनीहरूको स्वर सधैंका लागि दबाउने प्रयास गरे।
२०७५ भदौमा एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा जान लाग्दा लेनिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुलिसले रोक्यो।
लगत्तै सरकारले नागरिकको विदेश यात्रामा मनपरी तरिकाले रोक लगाउन मिल्ने कानुन नै ल्याउने प्रयाससमेत गर्यो। नागरिकहरूको चर्को प्रतिरोधका कारण मात्रै त्यो प्रयास रोकियो।
अर्थात्, मुक्तिको सपना देखाएर लेनिन विष्टलाई १२ वर्षको उमेरमा एसएलआर थमाएको माओवादीले उनको बाल्यकाल र किशोरकाल त बर्बाद पार्यो नै, उनको वयस्ककालमा उनको मुखै थुन्ने र पूर्व लडाकुका रूपमा उनको अस्तित्व नै अस्वीकार गर्ने प्रयास गर्यो। संविधानले उनलाई दिएको अधिकार कुण्ठित गर्यो। अनि उनीजस्ताको मुख थुन्न संविधान प्रतिकूल हुने गरी कानुन संशोधन गर्ने प्रयास समेत गर्यो।
माओवादी अहिले सत्तामा छ। लेनिनहरूका काँधबाट बन्दुक पड्काएर सत्ताको सौदाबाजी गर्नेहरू मन्त्री बनेर राष्ट्रिय झण्डा फहराउँदै महँगा गाडीमा सयर गरिरहेका छन्।
अनि सत्तामा बसीबसी सरकारले ल्याउन लागेको कानुनको विरोधमा उनीहरूले नै भातृ संगठनका युवालाई परिचालन गरेका छन्। त्यस क्रममा प्रदर्शनकारीहरूले गरेको तोडफोड र हिंसाको अहिले स्वभावतः विरोध भइरहेको छ।
र मानिसहरूले सोधिरहेका छन्- तोडफोड र हिंसा जरूरी नै हो भने त्यसको अग्रपंक्तिमा नेताका छोराछोरी किन छैनन्?
अनि उनीहरूले यो पनि सोधिरहेका छन्- यत्रो महामारीको विपत्तिका कारण आम नागरिकलाई दुई छाक जुटाउन कठिन भइरहँदा नेताहरूसित स्वदेश वा विदेशका मासिक लाखौं खर्च हुने संस्थाहरूमा छोराछोरी पढाउने स्रोत कहाँबाट आइरहेको छ?
यस्तो बहसमा नेताका छोराछोरीको स्वतन्त्रताको कुरा गरेर नेताहरूका कामको बचाउ गर्नुको कुनै तुक छैन।
उसो त अहिले संयम र सुझबुझको आग्रह गरिरहेका हामीजस्ता ‘सुकिलामुकिला’ उदारवादीहरू कसैले पनि नेताका छोराछोरीको कतै पनि यात्रा गर्ने वा पढ्ने स्वतन्त्रता कुण्ठित हुनुपर्छ भनेका छैनौं। स्रोत खुल्ने वैध धन छ भने महिनाको लाखौं वा करोडौं खर्चेर सन्तानलाई शिक्षा दिए पनि हामीलाई आपत्ति छैन।
तर एक छिन मानौं, सहरी मध्यमवर्ग बामपन्थी दल र नेताहरूप्रति अलि पूर्वाग्रही नै छ रे।
त्यो अवस्थामा पनि उनीहरूको पूर्वाग्रह वा दोहोरो मापदण्डको तुलना नेताहरूको दोहोरो मापदण्डसित कसरी तुलना हुन सक्छ?
एउटाले बहसमा एकपक्षीय कुरा गर्छ, अर्काले वास्तविक जीवनमा युद्ध अपराध गर्छ, शिक्षकलाई रूखमा बाँधेर गोली हान्छ, पत्रकारको घाँटी काट्छ, सर्वसाधारण चढेको बसलाई बमले उडाउँछ। एउटाले कुनै एउटा दलको भन्दा अर्को दलको बढी आलोचना गर्छ, अर्कोले आफ्नो अपराध छोप्न देशको संविधानले दिएको नागरिक अधिकार कुण्ठित हुने गरी कानुनी व्यवस्था नै फेर्ने प्रयास गर्छ।
यी दुईबीच तुलना गर्नु कति ‘वैज्ञानिक समाजवादी’ कुरा हो?
यथार्थ जान्नु छ भने लेनिनलाई सोध्नुस्। सन् १९२४ मा बितिसकेका भ्लादिमिर लेनिनलाई हैन हाम्रै ज्युँदा जाग्दा लेनिन विष्टलाई।
यो पनि पढ्नुहोस्: एउटा ‘अयोग्य’ छापामारसँग तर्सेको सरकार