सहरको मुख्य विशेषता के हो भने यसले सबैलाई बाँधेर राख्छ। सपना बोकेर जोकोहीलाई पनि भिडभाडमा दौडने बनाउँछ। गाउँबाट थातथलो छाडेर भिडमा हराउने बनाउँछ।
नाइट बस चढेर सहर छिरेका तिनै पात्रहरू यो भिडको एउटा हिस्सा हुन्। काम फरक। पुग्ने गन्तव्य अलग। तर सबै आ–आफ्नो सपनाको पछि दगुरिरहेका छन्।
नयाँ बानेश्वर चौरस्तामा उभिनुस् वा न्युरोडमा पुग्नुस्, बसस्टपमा वा बसभित्र सधैं नयाँ अनुहार मात्र देख्नुहुन्छ।
यत्तिका मान्छे काठमाडौंमा के गर्दा होलान्? पढ्छन्? जागिर खान्छन्? कि व्यवसाय गर्छन्? वा विदेश जान काठमाडौं ट्रान्जिटमा ओर्लिएका पो हुन् कि?
जे होस्, यी प्रत्येक अनुहारहरू सपनाको पछि दगुर्ने 'संघर्ष' नामका सहगोत्री हुन्।
तपाईं हामी झोलै बोकेर नाइट बसमा सहर अर्थात् काठमाडौं छिरेका पात्र हौं। सहर बिरानो थियो, तर सपना ताजा थिए। सपनाले डोर्याएर सहर छिरेका हामी अन्त्यहीन संघर्षमा पिल्सिरहेका पात्र हौं।
वास्तवमा जोकोही पनि आफैंलाई खोज्न सहर छिरेको हो। उच्चशिक्षा एउटा माध्यम थियो वा गाउँको सीमित परिधिबाट अलि पर अवसरको खोजीमा निस्किँदा सहर सबैको रोजाइमा परेको गन्तव्य हो।
तर सहरको वैभवमा सुखसयल भोगचलन गर्न तम्सिएका हजारौं युवा आज भागदौडमा किचिएका छन्। प्रगतिको अलापमा दौडिरहेका हजारौं युवाहरू भौतिक सुखानुभूतिको खोजीमा यतै कतै अलमलिएका छन्।
गाउँ नफर्काउने त्यो संंघर्षः
महेन्द्र बहुमुखी क्याम्पस, धरानमा २०५६ सालमा स्नातक पढ्दै गर्दा परशु प्रधानको 'अ टेलिग्राम अन द टेबल' खुब चाख मानेर पढियो। प्रधानले कथाका प्रोटागोनिस्ट कृष्णमार्फत् सहरको दुःखानुभूति गराएका छन्।
सपना बोकेर सहर छिरेको पात्र कृष्ण नराम्रोसँग सहरभित्रै हराएको छ। दिनभर विदेशी पर्यटकलाई गाइड गर्दै गर्दा एकदिन 'कुइरी' केटीको पछि लागेर विदेश जाने सपना बोकेको कृष्णको सपना अन्त्यमा टेलिग्रामले घरमा श्रीमतीको मृत्युको खबर ल्याएसँगै दुःखान्तमा टुंगिन्छ।
प्रधानको कथा त त्यत्तिकैमा सकिन्छ। तर त्यो कथा लेखिनुअघि र लेखिएपछि आजसम्म हजारौं युवा त्यसैगरी सहर पसिरहेका छन्। कथाका पात्र कृष्णजस्तै गरी युवाहरू सहरका साँघुरा गल्लीमा सपना साकार बनाउने ध्याउन्नमा एकोहोरो लागिरहेका छन्।
फरक यत्ति हो, तीमध्येका केही युवा संसारकै वैभवशाली देशहरूमा पनि पुगिसके। कति भने प्रधानको पात्रझैं यतै कतै कृष्णकै नियति भोग्दै प्रगति गर्ने अलाप जपेर संघर्षमय जीवन बाँचिरहेका छन्।
यथार्थ फेरि सुखभोग गर्न सात समुद्र पारि नै पुगे पनि समुद्री तटमा गई खिचिएका तस्बिर जस्तो पनि रंगीन छैन उनीहरूको भोगाइ।
त्यसैले कवि उपेन्द्र सुब्बा आफ्नो कविता 'समान–अन्तर' मार्फत कटाक्ष गर्दै भन्छन्, 'गाउँमा बाउले नपढेर दुःख पाए, छोराले सहरमा पढेर। हलो जोत्ने बाउसँग गरेर खान संसार छ, तर भोकभोकै मर्न छोरासँग सहरमा अहंकार मात्र छ।'
गाउँको त्यो परिवेशबाट टाढिएका सन्तानको अहंकारले आखिरीमा उनीहरूलाई बाँच्न गाह्रो बनाइरहेको प्रतीत हुन्छ कवि सुब्बाको कविताबाट। अध्ययन गरेको विषय र आफ्नो क्षमतामा भर परेका युवाहरू अन्ततः अभावको जीवनभित्र गुम्सिन बाध्य भएकोतर्फ पनि कवि सुब्बाले व्यंग्य गरेका छन्।
सहरको भागदौडमा अलमलिरहँदा कर्मशील आजको पुस्ता कहिले परशु प्रधानको पात्र कृष्णझैं हारेको छ भने कहिले उपेन्द्र सुब्बाले भनेझैं अहंकार बोक्न विवश छ।
केटाकेटी उमेरमै हेरेको उगेन छोपेलको चलचित्र 'साइनो' का पात्र भुवन केसी मुम्बई सहरको भागदौडबाट निसास्सिएर गाउँ फर्किन्छ। छोपेलले भुवन केसी पात्रमार्फत सहरको भागदौडभन्दा पर गाउँमा एउटा परिवारलाई पुर्याएका छन्। गाउँ फर्किएको त्यो पात्र सम्झँदा लाग्छ, निसास्सिने यो सहरबाट कोही किन गाउँ फर्किँदैन 'सिमाना' चलचित्रमा गीत गाउँदै गाउँ फर्किने पात्र राजेश हमालजस्तै?
पठाओ चालक कृष्णहरूः
आजकल पठाओ चलाउने २०/२२ वर्षका भाइहरू विदेश 'अप्लाइ' गरेर खाली समय सदुपयोग गरेको बताउँछन्। गाउँबाट सहर आएर सहरबाट परशु प्रधानको पात्रझैं एक दिन विदेश जाने धुनमा छन् 'पठाओधारी' हरू पनि।
स्वयम्भू बस्ने स्नातक उत्तीर्ण पठाओ चालक २२ वर्षीय एक शेर्पा भाइले जापान जान खोजेको दुई वर्ष भएछ।
मैले उत्सुकतापूर्वक सोधेँ, 'पर्यटनका लागि त शेर्पा ब्रान्ड नै हो नि, नेपालमै केही किन नगर्ने भाइ?'
जवाफमा आएको उनको प्रतिक्रिया सुन्दा आजको युवा पुस्ताले बाँचिरहेको 'फ्रस्ट्रेसन' झल्किन्थ्यो। शेर्पा भाइका अनुसार नेपालमा केही काम पनि भरपर्दाे, दिगो छैन, न भविष्य नै छ। भद्रगोल यस्तो ठाउँमा बसेर केही गर्ने उत्प्रेरणा नभएको उनको तर्क थियो।
ठीकै हो, फेरि परशु प्रधानको पात्र कृष्ण सम्झिएँ, गाउँको दुःखबाट सहर पसेको कोही किन तावाबाट उम्किएर निसास्सिने काठमाडौंको भुंग्रोमा परोस्!
हुन त प्रधानको पात्र कृष्णसँग सहर बसेर संघर्ष गर्दै एक दिन धन कमाउन विदेश जान्छु भन्नुको विकल्प थिएन होला। गाउँको त्यो गरिबी, अभाव र दुःखबाट कृष्ण समृद्धि खोज्न टाढा अमेरिका पुग्न चाहन्थ्यो। ठीक उस्तै शेर्पा भाइले देशको यो अवस्थामा आफूलाई पनि सहज अनुभव नगरिरहेको प्रष्ट हुन्छ।
'पढे-लेखेकाले थलो छाडे, नपढेकाले हलो'
हाम्रो छरछिमेकमा अब सायदै घर बाँकी होला विदेश नगएको।
पढे-लेखेका बुज्रुकले न गाउँमा फर्किएर गर्ने केही देख्छ, न त नपढेकाकै जीवन गाउँमा सहज छ।
नेपालीका लागि यथार्थमा कस्तो जीवन बाँच्ने भन्ने रोजाइ नै हुन्न।
डार्बिनको सिद्धान्त, 'बाँच्नका लागि संघर्ष' अर्थात् 'लाउने खाने' भन्दा माथि नेपालीको जीवन उठ्नै सकेको छैन।
राजनीतिक स्थिरता नभएको गुनासो गर्दै गर्दा हामी उद्यमशील पनि त भएका छैनौं। भान्सामा पाक्ने तरकारीदेखि सम्पूर्ण खाद्यान्न देशमा आयात गर्नुपर्ने बाध्यता छ। बारीमा के फलाए आत्मनिर्भर भइन्छ भन्ने नेपालीलाई ज्ञान छैन। तर चासो चाँहि एमसिसी आए देश सखाप हुन्छ भन्नेतिर सबै जना चनाखो छन्।
देश-विदेशमा नेपाली जहाँजहाँ पुगे पनि आखिर जीवन त गाउँको त्यही सानो विद्यालयबाटै सुरू भएको थियो। अधिकांशले खेतबारीमा हलो, कोदालो गर्दै गाउँमा दुःखै गरेर आजको उपलब्धि प्राप्त गरेकोमा प्रायःको मतैक्य छ। दुःखका दिनमा हामीलाई गाउँघरले सबथोक दिएकै हो। बरू बदलामा आज गाउँलाई, त्यो हामी हुर्किएको ठाउँलाई खै के गुन लगायौं? पात्र राजेश हमाल त सिनेमामा न फर्कियो।
यथार्थमा गाउँ फर्किनु भनेको साँस्कृतिक रूपमा आफ्नो माटो नबिर्सनु हो। काम, व्यस्तता, व्यवसाय, कर्म जहाँ भए पनि अन्ततः आफ्नो जन्मभूमिबाटै हामी बनेका हौं। त्यसो हो भने देशप्रति, समाजप्रति, आफ्नो गाउँघरप्रति हामीले कर्तव्यबोध किन नगर्ने? 'साइनो' चलचित्रमा जसरी हामी गाउँ नफर्किए पनि गाउँघरलाई हामीले अनेक तरहले गुन लगाउन सक्छौं।
नेपाल कृषक प्रधान देशः
चट्याङ मास्टर भन्नुहुन्छ, नेपाल 'कृषि प्रधान' देश होइन, 'कृषक प्रधान' देश हो। किसानसँग खै कहाँ छ जमिन र यहाँ कोही कृषक बनिदियोस्!
बर्सेनि सरकारले रोपाइँ भएको अनि धान फलेको तथ्यांक निकाल्छ। तर कति प्रतिशत नागरिक नेपालमा कृषक छन्? अर्थात् कृषि पेसामा निर्भर यहाँ कति जनसंख्या छ?
सत्य के हो भने, रहरले यहाँ कोही पनि कृषि पेसामा छैनन्, यदि कसैले आफूलाई किसान भन्छ भने! अन्यथा जमिनको क्षेत्रफल भएकै भरमा कसलाई किसान मान्ने?
बाध्यताले जीवनको उतरार्द्धमा कृषि पेसामा लाग्नुभएका मेरा बुवाले २०५० सालमा धान रोप्दा हिसाब गर्नुभयो, हल गोरु र खेताला खर्च, मलबिउसहित १६ हजार रूपैयाँ खर्च भएछ। तर मंसिरमा धान फल्यो जम्मा ८ हजारको।
त्यो अतीत सम्झिँदा कृषि पेसा मेरा लागि व्यक्तिगत रूपमा कहिल्यै पनि आत्मसम्मानको पेसा भएन, न आजै छ।
खेतबारीमा जोतिने किसान, तर बजार बिचौलियाको। बारीमा १५ रूपैयाँ पर्ने काउली अहिले बजारमा उस्तै परे सय रूपैयाँसम्म पर्छ।
घाटाको त्यो कृषि पेसाबाट विरक्तिएका मेरा बुवाले 'पढिनस् भने मैले जस्तै दुःख पाउँछस् छोरा, त्यसैले पढेर फुल्टिन समा' भन्नुहुन्थ्यो।
कृषिसँग जोडिएको हलोलाई आज ट्रयाक्टरले विस्थापित गर्यो। मियो गाडेर गर्ने दाइँ आज थ्रेसरले गर्छ। तर यस वर्ष बेमौसमी वर्षाले सखाप पारेको धानबाली बराबरको क्षतिपूर्ति खै कुन किसानले पाए?
के सरकारको काम दुनियाँले फलाइदिएको धानको आँकडा निकाल्ने मात्र हो?
अनि चट्याङ मास्टरले भनेझैं यो देश 'कृषक प्रधान' भन्नलाई कुनै आइतबार पर्खनु पर्दैन।
नाइट बस चढेर हराएकाहरूः
नाइट बस चढेर सहर पसेकाहरूले आज बसाइसराइ यतै सारिसके। गाउँमा त डाँडामाथिको घामरूपी बुवाआमा मात्र होलान्! अनि सहरको साँघुरा कोठाभित्र आजका युवाहरू एक मात्र सन्तान सबथोक भन्दै स्याहार्दै त होलान्!
तर जसरी बाआमा भन्दा पर आजका युवा पुगे, उसैगरी एक मात्र सन्तान पनि भोलि नटाढिएलान् त?
सहरमा बाँचिरहेका युवाको गन्तव्य चाहिँ के हो? अर्थात् एउटा मान्छेका लागि जीवनमा के चाहिन्छ? घर, गाडी, विलासिताका सामान, सुखी दाम्पत्य जीवन, सन्तान सुख वा आदर्शवान् जीन्दगी?
आफैंलाई खोज्दै सहर छिरेकाहरू उच्चशिक्षा प्राप्त गर्न चाहन्थे। राम्रो जागिर खान चाहन्थे। देश-विदेश चहार्न चाहन्थे। अथवा सुखी जीन्दगी पो बाँच्न चाहन्थे कि!
तर भागदौडमा किचिरहँदा आजका युवाले 'म के चाहन्थेँ, म के भएँ!' भन्ने जान्दाजान्दै सहरभित्र हराइरहेका पो छन् कि?
फेरि सहरले के माग्छ? बस्न घर त पक्कै माग्ला। घरबेटीको असहजताले कसैगरी पनि काठमाडौंमा घर चाहिँ चाहिने रहेछ भन्ने मानसिकता र सार्वजनिक यातायातको खचाखचले आफ्नै बाइक, गाडी पो माग्ला कि?
सहरको जालोमा यसरी घर, गाडी वा विलासिताको पछि दगुर्ने भएपछि प्रगतिउन्मुख एउटा युवा आखिरीमा कसैगरी पनि काठमाडौंमा चारआना जोडेर घर ठड्याउनेतिर लाग्छ। तर काठमाडौंको कुनाकाप्चामा पनि अहिले एक करोड घटी चारआना आउन छाडिसक्यो। अनि घर बनाउन थप अर्काे करोड।
यो धरातलमा काठमाडौं छिरेका जोकोहीले २/२ करोड कहिले, कसरी कमाउँछ? वा यत्तिका सम्पति जोड्न कति वर्ष लाग्ला?
फेरि सन्तान जन्मिएपछिका खर्च, विद्यालयको महँगो शुल्क। सँगसँगै सहरको महँगो बसाइमा सामान्यतया अहिले मासिक कम्तीमा ५० हजार कमाइ नभए काठमाडौंमा कोही पनि बाँच्न नसक्ने भइसक्यो।
यो भूमरीको सकसमा नाइट बस चढेर आएको युवा उस्तै परे प्रधानको पात्र कृष्ण, नभए तावाको माछा भुंग्रोभन्दा परतिर खै कसरी पुग्ला र? पात्र कृष्ण 'कुइरिनी' केटीको पछि लागेर वैभवशाली देशमै पुगिहाले पनि न देश फर्किन सकेका छन्, न उतै आप्रवासी नागरिकभन्दा माथिको दर्जामा उपेन्द्र सुब्बाले भनेझैं सुखभोग नै गर्न पाएका छन्।
सहरभित्र हराएका युवाहरूले घरदेखि अफिस र अफिसदेखि घरसम्मको दुरी नापिरहेका छन्। तर जीवनको उतरार्द्धमा फर्केर हेर्दा आजका युवाले आफ्नो जीवनको यात्रा घर र अफिसबीच त्यही ८–१० किलोमिटरभित्र साँघुरिएको पाउनेछन्।
(भागदौडमा हराएका युवाहरूमा समर्पित)
(शंकर दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटर- @Dahal_Shankar