युरोपका थुप्रै रेस्टुरेन्टका मेनुमा दर्जनौं गाँजाजन्य उत्पादनका नाम नेपालीमा छन्।
नेपाल क्रिम, नेपाल बल्स, गाँजा कफी, शिव बुटी, सुपर नेपाल, कर्मा कोस्ट, अन्नपूर्ण क्यानाबिज।
नेपालमा पाइने गाँजा विश्वभर चर्चित रहेको प्रमाण हो यो। नेपालमा भने गाँजाको परम्परागत ज्ञानबारे चर्चासम्म होला। यसका प्रजाति, प्रकार, उपयोगिता, सम्भावना, दैनिक जनजीवनमा फाइदा, औषधीय गुण आदिबारे पर्याप्त त कुरै छाडौं, न्यूनतम खोज समेत भएको पाइँदैन।
पहिले गाँजा खुला थियो। खेती गरिन्थ्यो। पछि बन्द भयो। भइरहेको छ। कहिलेसम्म हुने? थाहा छैन।
समाजले गाँजाको अध्ययन, अनुसन्धानको अनुमति माग्दैछ। दाङदेखि धादिङ जिल्लाका प्रशासन कार्यालयमा निजी अनुसन्धानमूलक संस्थाहरू र गृह मन्त्रालयमा समेत काठमाडौं विश्वविद्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद आदिले अनुसन्धान अनुमतिका लागि निवेदन दिएका छन्। संयुक्त राष्ट्र संघले गाँजालाई हानिकारकबाट कम हानिकारक लागुऔषधको सूचीमा राखेर नियन्त्रित प्रयोगको संकेत गरिसक्दा हामी भने अलमलमै छौं।
सूर्ति, मदिरा र गाँजामा कुन हानिकारक?
विश्वभर गाँजा प्रतिबन्ध गर्न अग्रणी भूमिका खेल्ने अमेरिकाको अनुसन्धानमूलक संस्था द नेसनल एकेडेमी अफ साइन्स, इन्स्टिच्युट अफ मेडिसिन भन्छ- सूर्तिका ३२ प्रतिशत सिकारूहरू भविष्यमा यसको लत लागेको भेटियो। मदिरा पिउने १५ प्रतिशत सिकारू अम्मली बनेर निस्किए। गाँजाका ९ प्रतिशत सिकारू मात्र पछि गएर गाँजा अम्मली बने।
प्राविधिक रूपले लागुऔषध सेवनमा 'फिजिकल' र 'साइकोलोजिकल डिपेन्डेन्स' हुने गर्छ। हेरोइन र कोकिनबाट बनेका लागुऔषधमा फिजिकल डिपेन्डेन्स बढी हुन्छ। तिनका प्रयोगकर्ता लागुऔषध सेवन गर्न नपाए असह्य छटपटीमा पुग्छन्। गाँजामा भने अहिलेसम्म त्यस्तो विशेषता पुष्टि भएको छैन।
नेपालमा गाँजाको विगतः
नेपालमा पहिले आयुर्वेदिक उपचार पद्धति, कृषि तथा घरेलु प्रयोजनसम्ममा गाँजा प्रयोग निकै हुन्थ्यो। कुनै बेला गाँजा र कागती प्रमुख घरेलु औषधि मानिन्थे र प्रत्येकजसो घरमा यी दुवैका बोट अनिवार्यझैं हुन्थे। सिंहदरबार वैद्यखानाबाट उत्पादित रामबाण रस, रातोबरी, जाति फलाडी चूर्ण, मदनानन्द मोदक, भोगसुन्दरी नामक औषधिमा गाँजा र भाङ प्रयोग हुने गर्थ्यो। वैद्यखानासँग यी औषधिको 'फर्मुला' छँदैछ।
विश्वयुद्धताका गाँजाबाटै बनाइएका झाडापखालाको औषधि नेपालले निर्यात गरेको थियो अरे! तर दोस्रो विश्वयुद्धपछि यौन स्वतन्त्रतामा जोड दिने, पर्यावरणको आनन्द लिने र चेतनास्तर बढाउने मान्यताका साथ नशालु गाँजाको उन्मत्त प्रयोग गर्ने समूहको रूपमा विश्वभर 'हिप्पी' संस्कृति फस्टायो। आफ्ना युवाहरू गाँजामा लठ्ठिएर घुमेको देख्न पश्चिमा मुलुकलाई गाह्रो भयो। संयुक्त राष्ट्र संघ र अमेरिकाले विश्वभर यसविरूद्ध अभियान चलाए। नेपालको गाँजा यसैको शिकार भयो।
बझाङमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन-२०३८ को चुनावी प्रचारप्रसार क्रममा केही उम्मेदवारले बाँडेको पर्चाको पहिलो बुँदामै 'आफूले चुनाव जिते सबभन्दा पहिले गाँजा खोल्ने' आश्वासन थियो। त्यो केवल चुनावी नारा मात्र थिएन, गाँजा किसान तथा ग्रामीण जनजीविकासँग कति नजिकबाट जोडिएको रहेछ भन्ने प्रमाण पनि थियो।
अहिले गाँजाः
गाँजामा दिमागको चेतनालाई परिवर्तन गर्ने खुबी रहेको छोटकरीमा 'टिएचसी' भनिने मुख्य नशालु साइकोएक्टिभ केमिकल 'डेल्टा-९ टेट्रा-हाइड्रो-क्यानाबिनोल' पाइन्छ। युरोपले 'टिएचसी' को न्यूनतम मात्रा भएका हर्बल, क्यानाबिज, क्यानाबिज तेललगायत औषधिजन्य उत्पादनमा मापदण्ड कायम गर्न खोज्दैछ।
गाँजामा पाइने अर्को महत्त्वपूर्ण रसायन 'सिबिडी' हो। 'सिबिडी' नशालु र 'साइकोएक्टिभ' प्रकृतिको हुँदैन।
युएनओडिसीका अनुसार विश्वको चार प्रतिशत जनसंख्या गाँजा प्रयोग गर्छन्। पछिल्लो दशकमा उत्तर अमेरिकाबाहेक पनि विश्वमा गाँजाको प्रयोग ३६ प्रतिशतले बढेको छ। विश्वमा धेरै खोजिनेमध्ये एक निद्रा सम्बन्धी रोगको उपचारमा गाँजा प्रयोग हुने गर्छ। गाँजाबाट सयौं प्रकारका औषधि बन्ने गरेका छन्। भारतमा पतञ्जली आयुर्वेदले गाँजाबाट औषधि बनाउन पाउनुपर्ने विषयमा वकालत र अनुसन्धान गरिरहेको छ।
विश्वमा गाँजाको वैधताः
गाँजा सिंगल कन्भेन्सन अन नार्कोटिक्स सम्झौताको सेड्युल-१ को लागुऔषध हो। हस्ताक्षरकर्ताहरू यसको औषधीय प्रयोग गर्न सक्छन् तर दुरूपयोग हिसाबले निकै संवेदनशील मानिन्छ। अर्जेन्टिना, अस्ट्रेलिया, बारबाडोस, ब्राजिल, चिली, कोलम्बिया, क्रोएसिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इक्वेडर, फिनल्यान्ड, जर्मनी, ग्रीस, आयरल्यान्ड, इजरायल, इटाली, जमैका, लेबनान, लिथुवानिया, लम्जेमबर्ग, मलावी, माल्टा, नेदरल्यान्डस्, न्युजिल्यान्ड, उत्तरी म्यासेडोनिया, नर्वे, पानामा, पेरू, पोल्यान्ड, पोर्चुगल, रूवान्डा, दक्षिण कोरिया, श्रीलंका, स्विट्जरल्यान्ड, थाइल्यान्ड, इंग्ल्यान्ड, भानुआटु, जाम्बिया र जिम्माबे लगायत ५० भन्दा बढी मुलुकमा गाँजालाई पूर्ण वा आंशिक औषधीय प्रयोजनमा ल्याइएको छ।
गाँजाको मनोरञ्जनात्मक प्रयोग वैधता दिने मुलुकहरू क्यानडा, जर्जिया, मेक्सिको, दक्षिण अफ्रिका र उरुग्वे हुन्। हालै माल्टाले पनि गाँजा प्रयोगसम्बन्धी कानुन बनाएको छ। प्रतिबन्धित गरेको आठ दशकपछि क्यानडामा सन् २००१ मा औषधीय प्रयोजन र सन् २०१८ मा मनोरञ्जनात्मक प्रयोजनका लागि खुला गरियो। अस्ट्रेलिया, कोलम्बिया र अमेरिकाका केही राज्यले गाँजालाई आंशिक अनुमति दिएका छन्।
दक्षिण एसियाली मुलुक श्रीलंकामा औषधीय प्रयोजनका लागि गाँजा खुला छ। केही आदिबासी इलाकामा चरेस र भाङका रूपमा गाँजा प्रयोग गर्ने पाकिस्तानले सन् २०२० मा विज्ञान तथा प्रविधि मन्त्रालयलाई लाइसेन्स दिएर तीनवटा जिल्लामा सरकारी नियन्त्रणमै गाँजा खेती आरम्भ गर्यो।
भारतमा केन्द्रीय कानुनले प्रतिबन्धित गरे पनि राज्यले गाँजा खोल्न सक्ने अधिकार स्वरूप उत्तराखण्ड राज्यले सन् २०१८ मा गाँजा खेतीलाई मान्यता दियो। लगत्तै उत्तर प्रदेशले पछ्यायो। हिमाचल, अरुणाचल प्रदेश लगायत केही राज्य गाँजाको औषधि र औद्योगिक प्रयोगलाई वैधानिकता दिन खोजिरहेका छन्।
विश्व गाँजा बजारः
विश्व बजारमा कालो सुन भनिने गाँजाको खर्बौंको कारोबार छ। युरोपमा मात्रै गाँजा उद्योगमा अर्बौं युरो लगानी भइसक्यो, जहाँ एक ग्राम मनोरञ्जनात्मक गाँजाको मूल्य आठ युरोभन्दा बढी छ। एक लिटर उत्कृष्ट गाँजाको तेलको पाँच लाख रूपैयाँसम्म पर्छ। आम्सटर्डम लगायत युरोपका थुप्रै सहरमा लाइसेन्स प्राप्त कफी सपहरूमा गाँजा मिश्रित परिकार बिक्री हुन्छन्।
त्यसैले अबको विश्व दशक गाँजाको हुनेछ र सबैभन्दा ठूलो वैध गाँजा बजार युरोप।
प्रचुर सम्भावनायुक्त विश्व गाँजा बजारको सानो हिस्सा मात्रै नेपालले ओगट्न सके देशलाई ठूलो आर्थिक लाभ हुनेछ। विश्वमा गाँजाको क्षेत्रमा अनुसन्धानका लागि खर्च भइरहेको खर्बौं डलरलाई कम अनुसन्धान भएको नेपालमा भित्र्याउन सकिन्छ। गाँजा निकासीबाट ठूलो राजस्व प्राप्त हुन सक्छ। मदिरा आयातबाट बाहिरिने अर्बौंको क्षतिपूर्ति गाँजाबाट हुन सक्छ। गाँजाजन्य उत्पादनमा रहेको 'पेटेन्ट राइट' आफ्नो नाममा गर्न सकिन्छ।
सन् २०१३ मा उरुग्वे गाँजाको सीमित व्यापार खोल्ने पहिलो देश बन्यो। प्रतिव्यक्ति प्रतिहप्ता दस ग्रामसम्म गाँजा तोकिएका स्थानबाट खरिद गर्न दिँदा त्यहाँको अर्थतन्त्र चलायमान भइरहेको छ। यस्तो सम्भावनाको खोजीबाट टाढा हामीले कतै निकै अमूल्य चिज यत्तिकै खेर फालिरहेका त छैनौं?
कतै गाँजाको परम्परागत ज्ञानसँग प्रत्यक्ष जोडिने लाखौं भुइँमान्छेको जीवनलाई सजिलै स्तरोन्नति गर्न सक्ने स्वर्णिम अवसर गुमाइरहेका त छैनौं?
नेपालले गर्नुपर्नेः
कुनै कुरा निषेध गरिँदा त्यसको माग बढ्छ। मदिरा निषेधित ठाउँमा अपवादबाहेक मदिराको माग र मूल्य दुवै चर्को हुन्छ। मदिरा निषेध हुँदा थुप्रै भारतीयहरू मदिरा पिउन सीमावारि नेपाल आउँछन्। तराई क्षेत्रका ठूलो लगानी भएका अधिकांश होटल तिनैले धानेका छन् भन्दा हुन्छ।
केही वर्षअघि धनगढीबाट ४० किलोमिटर टाढाको मदिरा निषेधित भारतीय बजार पलियाका महिलाको समूह कैलाली जिल्ला प्रशासनमा आएर धर्ना दिए।
माग थियो- 'दशगजा नजिकैको डोकेबजारमा सजिलै पाइने मदिरा पिउन तिनका श्रीमान नियमित आउँदा घरबार, व्यापार सबै बिग्रिएकोले त्यहाँ मदिरा बन्द गरिदिनु पर्यो।'
तिनको पुकार प्रशासनले नसुने पनि कोरोनाले सुन्यो र लामो समय सीमा बन्द भयो।
गाँजामाथिको प्रतिबन्ध पनि त्यस्तै हो। पूर्ण प्रतिबन्धका बाबजुद सन् २०१२ मा नेपाल प्रहरीले ४७ हजार किलोग्राम गाँजा बरामद गर्यो। आर्थिक वर्ष २०७७/७८ मा आठ हजार किलोग्राम र चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दुई हजार पाँच सय किलोग्राम गाँजा र दुई सय साठी किलोग्राम चरेससहित सयौं मानिस पक्राउ परिसके।
निषेधले मात्र यसको लुकिछिपी गरिने उत्पादन, प्रयोग, अवैध निकासी नियन्त्रण गर्न सकिएको छैन।
त्यसैले अब सर्वप्रथम, समय तोकेर प्राकृतिक रूपमा उम्रिएको गाँजालाई विश्वविद्यालय, अनुसन्धान केन्द्रहरू, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग आदिलाई अनुसन्धान अनुमति दिनुपर्छ। त्यसबाट प्राप्त सुझावको आधारमा दोस्रो चरणमा औषधि प्रयोजनका लागि खोलेर निर्यात गर्नुपर्छ।
औषधि बनाउन प्राकृतिक रूपले उम्रिएको गाँजाले नपुगे वास्तविक किसानको हित हुनेगरी नियन्त्रित खेती गर्न दिनुपर्छ। आवश्यक परे सोचविचार गरेर मात्र अन्य प्रयोजनका लागि क्रमबद्ध रूपमा खोल्ने नीति लिनुपर्छ।
पछिल्लो दशकमा विश्वमा गाँजा क्रान्ति भएको छ भन्दा फरक पर्दैन। गाँजाप्रति विश्वको ध्यानाकर्षण भएको मात्र होइन, यसलाई कुनै न कुनै रूपले आत्मसात गर्ने नीति अख्तियार हुँदैछ। समाजले खोजिरहेको र विश्व समुदायले गरिरहेको अभ्यासलाई आत्मसात गर्नु व्यर्थ हुँदैन। आखिर राज्य पनि त्यही समाजलाई व्यवस्थित गर्न स्थापित भएको हो।
राजनीतिले देश बिगारे भनेर राजनीतिज्ञलाई भोट दिन छाड्न सक्छ समाजले? कर्मचारीले भ्रष्टाचार गर्छन् भन्दैमा कर्मचारीतन्त्र नै 'कोल्याप्स' गर्न मिल्छ? त्यस्तै हो गाँजा पनि।
समाज बिग्रिन सक्छ, लागुऔषधका प्रयोगकर्ता बढ्न सक्छन् भन्दैमा यसका सम्भावनालाई नदेखेझैं गर्न सुहाउँदैन। गाँजा खोल्न पहल नै नगर्नु पनि बुद्धिमानी नहुन सक्छ। त्यसैले हामीले बिस्तारै तर निश्चित रूपमा (स्लोली बट स्युअर्ली) गाँजालाई व्यवस्थित र नियन्त्रित प्रयोग गर्ने दिशामा अघि बढ्नु हितकर हुनेछ।
(लेखक उपाध्याय नेपाल सरकारका उपसचिव हुन् र यी उनका निजी विचार हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)