हुन त कोभिड-१९ विरूद्धको पहिलो डोज खोप नै नपाएकालाई पहिलो प्राथमिकतामा राखेर खोपले निरन्तरता पाउनुपर्छ। उपलब्ध हुँदाहुँदै पनि लगाउन नगएका/नपाएकाको हकमा सहज पहुँचको वातावरण सिर्जना गर्नुपर्छ। सशंकित वा दुबिधामा रहेकालाई खोपको फाइदा वा आवश्यकताबारे जानकारी दिँदै विश्वस्त पार्नु सक्नुपर्ने आवश्यकता पनि देखिन्छ।
पछिल्लो समय खोप लगाएको समय लम्बिँदै जाँदा बुस्टर डोजको चर्चा-परिचर्चा सुरू भएको छ। ओमिक्रोन भेरियन्टको उदयसँगै यसको चर्चा अझ चुलिएको छ।
सरकारले पनि विशेष अवस्था भएकालाई बुस्टर डोज दिने तयारी गरिरहेको जानकारी दिइसकेको छ। तर सर्वसाधारणमा बुस्टर डोजलाई लिएर व्यापक प्रश्न उब्जिएका देखिन्छन्।
कुन खोप बुस्टर डोजका रूपमा लिने वा उपयुक्त होला? बुस्टर डोजको मात्रा फरक हुन्छ? बुस्टर डोज लगाउन किन आवश्यक छ? भन्ने जस्ता प्रश्नहरू मलाई अत्यधिक मात्रामा सोधिन्छन्।
तिनै प्रश्नको जवाफ यहाँ दिने प्रयास गरेको छु।
बुस्टर डोज भन्नाले पहिलो दुई मात्रा पूर्ण खोप (जोन्सन एन्ड जोन्सन खोपको हकमा एक मात्रा) लगाएकामा विकसित एन्टिबडी समयक्रमसँगै खस्किँदै जाँदा उक्त एन्टिबडीको स्तर फेरि माथि उकास्न दिइने थप मात्राको खोप हो।
यस्ता थप खोपको मात्रा भने (मोडर्ना खोपबाहेक। यो भने आधा मात्रा दिइन्छ) फरक हुँदैन।
केही समयअगाडि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सार्वजनिक गरेको अनुसन्धानको नतिजाअनुसार खोपबाट विकसित एन्टिबडी तीन महिनापछि विस्तारै खस्किँदै जाने सार्वजनिक गरेको थियो।
अमेरिकामा केही महिनाअगाडिदेखि नै पहिलो दुई मात्राको खोप लगाएको छ महिना पुगिसकेकालाई बुस्टर डोज लगाउन सुझाइएको थियो। जोन्सन एन्ड जोन्सन खोपको हकमा भने दुई महिनापछि लिन भनिएको थियो।
सुरू फाइजर खोपलाई मात्र अनुमति दिएको र फाइजरको खोप नै बुस्टर डोजका रूपमा लिन भनिएकोमा पछि 'मिक्स एन्ड म्याच' अवधारणा अर्थात् पहिले लिएको खोपभन्दा फरक खोप लिन सकिने भनिएको थियो। अर्थात् जस्तै फाइजर खोप लिएको भए मोडर्ना वा जोन्सन एन्ड जोन्सन खोप लिन सकिने भनिएको हो।
पहिले दुई मात्रा पूर्ण खोप लगाएकोभन्दा फरक खोप बुस्टर डोजका रूपमा लिँदा प्रभावकारिता अझ बढ्ने विभिन्न अनुसन्धानले देखाएका छन्। अमेरिकामा हाल फाइजर, जोन्सन एन्ड जोन्सन र मोडर्नाका खोप प्रयोगमा आइरहेका छन्।
नेपालमा सिनोफर्माको भेरोसेल खोप सबभन्दा बढी प्रयोगमा आएको खोप हो। त्यस्तै कोभिशिल्ड/एक्स्ट्राजेनेका खोप पनि प्रशस्त मात्रामा प्रयोगमा आएका छन्।
वास्तवमा, कोभिशिल्ड/एक्स्ट्राजेनेका खोप नेपालमा सबभन्दा पहिला अग्रपंक्तिमा खटिनेलाई दिएर सुरू गरिएको थियो। जोन्सन एन्ड जोन्सन खोप लिनेहरू पनि प्रशस्त छन्। पछिल्लो समय बालबालिकालाई लक्षित गरेर फाइजर तथा मोडर्ना खोप नेपाल आइपुगेका छन् र छिट्टै लगाउने क्रममा पनि छन्।
यी खोपमध्ये हालका लागि भेरोसेल तथा कोभिशिल्डका खोप लगाइसकेकामा समय अवधि लम्बिँदै जाँदा बुस्टर डोजको आवश्यकताको चर्चा बढ्दै गइरहेको छ।
१६ डिसेम्बर, २०२१ मा विश्व स्वास्थ संगठनको टेक्निकल कमिटीले मिक्स एन्ड म्याचको अवधारणा समर्थन गरेको देखिन्छ। पछिल्लो समय गरिएको अनुसन्धानले सिनोभ्याक खोप लिएकामा बुस्टर डोजका रूपमा फाइजर खोप लिँदा बढी प्रभावकारी हुने देखाएको छ।
सिनोभ्याक र नेपालमा अधिकांशले लिएका भेरोसेलको बनावट एकै प्रकृतिका हो। हालै प्रतिष्ठित मेडिकल जर्नल ल्यानसेटले १८ डिसेम्बरमा प्रकाशन गरेको अनुसन्धानअनुसार कोभिशिल्ड/एक्स्ट्राजेनेका लिएकामा मोडर्नालाई बुस्टर डोजका रूपमा लिँदा सबभन्दा प्रभावकारी हुने देखाएको छ।
सोही अनुसन्धानको अर्को नतिजाअनुसार फाइजर लगाएकामा पनि अरूभन्दा मोडर्ना नै बुस्टर डोजका रूपमा धेरै प्रभावकारी देखिएको भनिएको छ।
यसरी अनुसन्धानहरूको नतिजा समग्रमा हेर्दा, नेपालमा हालसम्म सबभन्दा बढीले सिनोफर्माको भेरोसेल तथा कोभिशिल्ड/एक्स्ट्राजेनेका लगाएका हुँदा फाइजर वा मोडर्ना बुस्टर डोजका रूपमा बढी प्रभावकारी हुन सक्ने छ। तर ती खोपको व्यवस्थापकीयमा (जस्तै: माइनस ७० डिग्रीको अल्ट्रा फ्रिजर चाहिने) चुनौती भने देखिन्छ। त्यसैले नेपालमा धेरै प्रयोग भएका भेरोसेल र कोभिशिल्ड/एक्स्ट्राजेनेकाको मिक्स एन्ड म्याच गरी बुस्टर डोज दिँदा सन्तोषजनक नतिजा देखिन्छ कि देखिँदैन भनेर हेर्नु आवश्यक छ। प्रभावकारी नतिजा देखिए नेपाललाई सहज हुने थियो।
बुस्टर डोज दिएपछि कति समयसम्म शरीरमा एन्टिबडीको स्तर स्थिर रहन्छ भन्नेमा त बैज्ञानिकहरू पनि अनभिज्ञ नै छन्। तर बुस्टर डोजले हाल बिजुली गतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टको छालविरूद्ध सुरक्षा प्रदान गर्नेमा उनीहरू विश्वस्त देखिन्छन्।
सारांशमा, बुस्टर डोज लगाउँदा पहिलो दुई मात्राको पूर्ण खोपभन्दा फरक लगाउँदा अर्थात् मिक्स एन्ड म्याच अवधारणा बढी प्रभावकारी हुने अनुसन्धानले देखाएका छन्। भेरोसेल खोप तथा कोभिशिल्ड/एक्स्ट्राजेनेका पूरा लगाएकामा मोडर्ना वा फाइजरका खोप बढी प्रभावकारी देखिन्छ। तर विश्व स्वस्थ संगठनले मिक्स एन्ड म्याचको अवधारणा उपलब्धता, सहजता, तथा फाइदा, बेफाइदाका आधारमा हुनपर्ने भनेर पनि सुझाएको छ।
(डाक्टर शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)