२०४६ को जनआन्दोलनलगत्तै म झापा पुगेको थिएँ। आमाबा घरमै हुनुहुन्थ्यो। भर्खर आइएससी जाँच सकिएकाले केही समय उहाँहरूसँगै बस्न चाहन्थेँ।
बिहानै उठेर रेडियो सुन्नु बाबाको लामो समयदेखिको नित्यकर्म थियो। राजनीतिक समाचारमा उहाँको विशेष रूचि। एकदिन बिहान चिया खाँदै बरन्डामा बसेका बेला बाबाले सोध्नुभयो, 'यो सार्वभौमसत्ता भनेको के हो? राजालाई दिने/ नदिने विवाद गर्दै छन्।'
मैले बुझी-नबुझी भनेँ, 'यो भूमिको मालिक को भन्ने विवाद हो। हाम्रा जग्गामा अन्तिम हक राजाको हुन्छ कि हाम्रो, झगडा त्यही हो।'
आफूले भनेको मिलेजस्तो लागेन।
नजानेको कुरामा बाबासँग जान्ने पल्टेकोमा अलिअलि लाज पनि भयो। फेरि यसो हो कि भनेर सच्याएँ, 'मुलुकको शासन जनतामा रहने कि राजामा भन्ने विवाद हो। जनआन्दोलनपछि नेताहरू त्यो जनतामा रहनुपर्छ भन्दै छन्।'
बाबाले छोटो वाक्य बोल्नुभयो, 'कुरो ठिक हो।'
'अब त देशमा थिति बस्ला, विकास होला नि,' उत्साही हुँदै उहाँले भन्नुभयो, 'यत्रा त्यागी नेता छन्, देश-विदेश सहयोग गर्न तयार छन्।'
विदेशी सहयोगको कुरा सायद बिहानै रेडियोमा सुनेको समाचारको प्रभाव थियो।
प्रभाव जेसुकैको होस्, उत्साह उहाँको निजी थियो। जिन्दगीका सजिला, अप्ठ्यारामा उहाँ सधैं उत्साहित नै रहनुभयो।
मैले पनि उत्साही हुँदै थपेँ, 'अहिले त मन्त्रिमण्डलमा गएका मान्छे नै एक-से-एक छन्, यिनले धेरै राम्रो गर्छन्।'
मैले मन्त्रीहरूको बायोडाटा बेलीबिस्तार लगाएँ — पूर्वअर्थसचिव देवेन्द्रराज पाण्डे अर्थमन्त्री छन्। पूर्वगृहसचिव योगप्रसाद उपाध्याय गृहमन्त्री छन्। डाक्टर मथुराप्रसाद श्रेष्ठ स्वास्थ्यमन्त्री छन्। कानुनविद् निलाम्बर आचार्य कानुनमन्त्री छन्। माले पार्टीले त आफ्ना पूर्वमहासचिव झलनाथ खनाललाई नै मन्त्री बनाएर पठाएको छ।
खोइ किन हो, मलाई त्यो बेला मन्त्रीहरूको क्षमता र विशेषज्ञताको कुरा गरेर बाबालाई बढी नै आश्वस्त पार्न मन लाग्यो। सायद मेरो युवा मस्तिष्क पनि आउने दिनहरूप्रति आश्वस्त हुन खोज्दै थियो, जसरी अहिलेका युवा भविष्यलाई लिएर आश्वस्त हुन खोजिरहेका हुन्छन्।
मैले बाबालाई बहुदलकाल पञ्चायतभन्दा राम्रो हुने बताएँ। पञ्चायतमा त एउटै पार्टी, सबै राजाका मान्छे। राजाले चाहेअनुसार आफ्नो सत्ता चलाउने मान्छे फेर्थे। कसैले आफ्नो प्रतिभा देखाउनै पाउन्नथे। उनीहरू राजाप्रति नै बफादार हुनुपर्थ्यो, राजाप्रति नै जवाफदेही। बहुदलमा भने सत्ता सञ्चालन गर्ने व्यक्ति जनताले चुन्ने छन्। उनीहरू जनताप्रति बफादार हुन्छन्। फरक-फरक पार्टी हुन्छन्। राम्रो गर्नेमा सबैको प्रतिस्पर्धा हुन्छ। एउटाले नराम्रो गरे, अर्कोले राम्रो गर्छ। अनि जनताले पनि राम्रो पार्टी नै छान्छन्।
बाबाले छोटो सही थाप्नुभयो, 'कुरो ठिक हो।'
बाबा-छोराबीच यो संवाद भएको ३० वर्ष भयो।
यी ३० वर्षमा बाबा, दाजुभाइ, सहपाठी, सहकर्मी र नेताहरूसँग कति राजनीतिक गफ गरियो तर बाबासँगको त्यो संवाद मेरो कानमा सधैं ताजा बसेको छ। सायद त्यो समय नै विशिष्ट थियो। जनताले सडकमा ओर्लिएर परिवर्तन गराएको समय। शासन राजाबाट जनताकहाँ फर्काएको समय।
मेरो बाबा आमनागरिक हुनुहुन्थ्यो। धेरै आमनागरिकजस्तै यो मुलुकमा थिति बसोस्, मुलुक समृद्ध होस्, सामाजिक न्याय होस् भन्ने सोच्नुहुन्थ्यो।
राणा शासन अन्त्य हुँदा बाबा १७ वर्ष हुनुहुँदो रहेछ। २०४६ मा बहुदल आउँदा उहाँ ५६ वर्ष हुनुहुन्थ्यो। दोस्रो जनआन्दोलनमा ७३ वर्ष। संसारमा अर्को कुनै मुलुक छैन जहाँ ७५ वर्ष अवधिमा जनताले हस्तक्षेप गरेर तीन-तीनपटक क्रान्ति सफल पारेका छन्।
यी हरेक क्रान्तिपछि बाबाले भविष्यलाई आशाको दृष्टिसाथ हेर्नुभयो। मेरो बाबाले त हेर्नु मात्र भयो, कतिले त राणा शासन फाल्न, पञ्चायती व्यवस्था बदल्न, थिति बसाल्न सक्रिय भएर कामै गरे। जिन्दगी त्यसैमा लगाए, कतिले ज्यानै गुमाए। ठूलो बलिदानपछि मात्र हामी प्रजातन्त्र हुँदै लोकतन्त्र/गणतन्त्रमा आइपुगेका हौं।
मुलुकमा बहुदलपछिका ३० वर्षमा कति विकास भयो वा भएन, म त्यता जान चाहन्नँ। यो तुलनात्मक कुरा हो। विकास धेरै भयो भन्न सकिन्छ, अरू मुलुकभन्दा हामी विकासमा पछि पर्यौं भन्न पनि सकिन्छ। यी दुवै कुरा सही पनि हुन्।
एउटा कुरा भने पक्का हो— मुलुकमा थिति बसेन। सुशासन भएन। सामाजिक न्याय भएन। राज्यमा हुनेखानेको मात्र पहुँच भयो। निमुखाको राज्य नै भएन।
महाधिवेशनको संघारमा कांग्रेसीहरूले मनन गर्नुपर्ने प्रश्न यही हो— किन बेथिति चुलियो? राज्यका हरेक अंगलाई किन राजनीतिले गाँज्यो? राज्य किन निमुखाको हुन सकेन? सामाजिक न्याय किन कमजोर भयो? नेपाल किन विश्वका सबभन्दा भ्रष्ट मुलुकको सूचीमा पर्छ? आर्थिक विकासमा नेपाल किन पछि पर्यो? बिर्ता उन्मूलनको क्रान्तिकारी काम गरेर आर्थिक असमानता घटाउने कांग्रेस आज सीमित परिवारमा सम्पत्ति थुप्रिँदै जाँदा किन मौन छ?
अझ महत्वपूर्ण कुरा, मुलुकसामु उपस्थित यस्ता कैयन पेचिला मुद्दामा किन कांग्रेसमा कुनै छलफल र चिन्तन हुन्न? छलफल र बहस गर्न विधानअनुसार पार्टीले प्रत्येक वर्ष बोलाउनुपर्ने महासमिति बैठक किन तीन वर्षदेखि हुन सकेन? हुँदाहुँदा यसपालि महाधिवेशनमा कुनै पनि विषयमा बहस र छलफल गर्न नपर्ने निर्णय यति सहज रूपमा कांग्रेसले कसरी गर्यो? मुलुकले भोग्नुपरेका कुनै पनि बेथितिमाथि सशक्त हस्तक्षेप गर्ने जाँगर र कल्पनाशीलता कांग्रेसमा किन हरायो?
आखिर कांग्रेस अहिले जस्तो छ, त्यस्तो कसले बनायो? अनि कांग्रेस बदल्ने कसले हो?
महाधिवेशनमा मत खसाल्न आएका कांग्रेसका प्रतिनिधिहरूले यी प्रश्नमाथि विचार गर्नुहोला। यी प्रश्नले कुनै माने राख्दैनन् भने मुलुकका लागि कांग्रेस पार्टीले पनि आउने दिनमा कुनै माने राख्ने छैन। पार्टी ठूलो वा सानो जे होला तर मुलुकको परिवर्तनका लागि यो पार्टी असान्दर्भिक बनेर जानेछ।
करिब दुई वर्षअघि कांग्रेसका शीर्षनेताहरूले शंखमूलमा प्रधानसम्पादक र वरिष्ठ पत्रकारहरूसँग अन्तर्क्रिया राखेका थिए। पत्रकारहरूसँग आमनेसामने भएर अग्रभागमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेताहरू विजय गच्छदार, प्रकाशशरण महत र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा बसेका थिए।
पत्रकार मित्रहरूले पालैपालो प्रश्न र टिप्पणी गरे। मलाई भने बोल्ने जाँगर थिएन। चुपचाप सुनिरहेको थिएँ। सबैका प्रश्न सकिएपछि उपसभापति निधिले भने, 'अमितजीको पनि कुरा सुनौं न।'
'मेरो त केही छैन,' मैले भनेँ।
उनले जोड गरे, 'तपाईंसँग भन्ने कुरा पक्कै छन्, सुनौं न।'
कुरै नभएको त होइन। कहिलेकाहीँ कांग्रेसबारे के भन्नु, के लेख्नुझैं हुन्छ!
उनको आग्रहपछि मैले भनेँ, 'यहाँ अगाडि पार्टी सभापति र वरिष्ठ नेता पनि हुनुहुन्छ। तपाईंहरूले नेविसंघबाट राजनीति सुरू गर्दा मेरो हजुरबुबा जिउँदै हुनुहुन्थ्यो। हजुरबुबाले तपाईंहरूलाई देख्नुभयो, सुन्नुभयो, भोग्नुभयो। मेरो बुबाले त २०३७ सालको जनमत संग्रहमा बहुदलको पक्षमा भोट नै हाल्नुभयो। २०४८ सालमा भने म पनि वयस्क भइसकेको थिएँ। आज मैले भोट हाल्ने अधिकार पाएकै ३० वर्ष भयो। अहिले मेरी छोरी आठ वर्षकी भई। कांग्रेस पार्टीमा पुस्तान्तरको गति यति सुस्त रहने हो भने उसले भोट खसाल्ने अधिकार पाउँदा पनि तपाईं दुई नेताहरू नै राजनीतिमा हुने खतरा भयो!'
त्यसपछि मैले सोधेँ, 'कांग्रेसको नेतृत्वमा नयाँ पुस्ता कहिले आउने? विमलेन्द्र निधिकै पालो आएको छैन, यस हिसाबले त विश्वप्रकाशको पुस्ताको पालो आउँदा उहाँहरू ८० वर्ष पुग्नुहुने भयो।'
निधि र विश्व मुसुक्क हाँसे। पौडेल बेखुसी देखिए। देउवालाई त्यसले खासै फरक पारेजस्तो लागेन।
पछि पौडेलले भने, 'उमेरका आधारमा राजनीतिबाट अवकाश लिनुपर्छ भन्ने अलोकतान्त्रिक कुरा म मान्दिनँ।'
देउवाले पनि थपे, 'गिरिजाबाबुले ८२/८३ वर्ष उमेरमा दोस्रो जनआन्दोलनको नेतृत्व गर्नुभयो। मुलुकलाई गणतन्त्रमा लैजानुभयो।'
उमेरकै आधारमा पौडेल र देउवाले वा अरू कसैले राजनीति छाड्नुपर्छ भन्ने होइन। प्रश्न उमेरको हुँदा पनि होइन। मुलुकसामु जे चुनौती छन्, तिनको समाधान गर्ने क्षमता अहिलेका नेतामा छ कि छैन, मुलुकको प्रगतिको जे सम्भावना छ त्यसलाई पर्गेल्ने र त्यसका लागि काम गर्ने कल्पनाशीलता र जाँगर उनीहरूमा छ कि छैन, त्यो महत्वपूर्ण कुरा हो।
मुख्य प्रश्न, आज देउवा-पौडेल वा उनीहरूको पुस्ता केका लागि राजनीतिमा छन् भन्ने हो। भोलिको नेपालको प्रतिनिधित्व उनीहरूले गर्छन् कि गर्दैनन् भन्ने हो। नेपालमा १६-४० वर्षका युवा जनसंख्या ४० प्रतिशतभन्दा धेरै छ। तिनीहरूको सपना र आकांक्षाको प्रतिनिधित्व कांग्रेसको अग्रपंक्तिमा रहेका नेताहरूले गर्छन् भन्नेमा मलाई विश्वास छैन। अहिले समय यति गतिशील छ, २० वर्ष उमेर फरक भएका मानिसहरूको कुरा मिल्दैन। उनीहरूको सोच्ने र समाजलाई हेर्ने दृष्टि फरक हुन्छ। बीस वर्षमै नयाँ पुस्ता उदाउँछ। नेतृत्वमा भने ८० वर्ष लाग्न लागेको पुस्ता राखेर कांग्रेसले समाज कसरी बुझ्छ? कसरी त्यसको नेतृत्व गर्छ?
कतिले प्रतिप्रश्न गर्छन्— ठिक छ, देउवा-पौडेलले भोलिको प्रतिनिधित्व गर्दैनन्। त्यस्तो प्रतिनिधित्व गर्ने अर्को नेता को छ त कांग्रेसमा?
यदि कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई पनि त्यस्तो लाग्छ भने उनीहरूलाई एउटा प्रतिप्रश्न छ- पार्टीमा त्यस्तो कुनै नेता नै छैन भने आममतदाताले आउने चुनावमा कांग्रेसलाई किन भोट दिने? जुन पार्टीमा विगतको गीत गाउने नेता मात्र छन् र उनीहरूसँग भविष्यलाई डोर्याउने ल्याकत छैन भने मतदाताले आउने निर्वाचनमा त्यो पार्टीलाई किन भोट दिने?
कांग्रेस पार्टी आफ्नो जीवनको एउटा कालखण्ड पूरा गरेर अर्को कालखण्डको संघारमा उभिएको छ। कांग्रेसले आफूलाई दुई कालखण्डको हिसाबले सोच्नुपर्छ- पछिल्लो ७५ वर्षको कालखण्ड र आउने ७५ वर्षको कालखण्ड। यसरी सोचे मात्र कांग्रेसका नेता-कार्यकर्ताले विगतप्रति गर्वबोध गर्ने ठाउँ पाउने छन्। सँगसँगै, भविष्यको चुनौती र अभिभारा पनि सम्झने छन्। त्यसैअनुसार नेतृत्वको परिकल्पना गर्ने छन्।
राणाकाल अन्त्य र प्रजातन्त्र स्थापना, ३० वर्षे पञ्चायतविरूद्ध संघर्ष र त्यसको अन्त्य, ज्ञानेन्द्र शाहको शासनविरूद्ध प्रतिरोध, माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन निर्णायक पहलकदमी, गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान जारी, धैर्यपूर्वक पर्खिएर मधेसवादी दललाई पनि सहभागी गराउँदै तीनै तहका चुनाव र संक्रमणकालको सकारात्मक पटाक्षेप – पछिल्लो ७० वर्षका यी सबै महत्वपूर्ण राजनीतिक घटनामा कांग्रेसले आफूलाई केन्द्रमा पाउनेछ। यी सबै कांग्रेसका लागि गर्व गर्न लायक विषय हुन्। तर यो विगत हो, इतिहास हो।
इतिहासले पार्टीहरूलाई लामो दुरी तय गर्ने धैर्य र ऊर्जा दिन्छ। सजिलो, अप्ठ्यारो एकनासले बेहोर्ने क्षमता दिन्छ। तर इतिहाससँग हामी त्यो हदसम्म मात्र पुलकित हुनुपर्छ जुन हदसम्म त्यसले भविष्यमुखी हुन हामीलाई रोक्दैन। विगतमा धेरै रम्ने व्यक्ति र पार्टीले अगाडिको सोच्न सक्दैन।
कांग्रेसले इतिहासको मात्र कुरा गरेको धेरै भयो। ऊसँग वर्तमान र भविष्यबारे बोल्ने विषय थोरै हुँदै गएका छन्। ७५ वर्षअघि स्थापना हुँदा कांग्रेससँग आफ्नो इतिहासका कुरा थिएनन्। भविष्यका कुरा गर्ने कल्पनाशक्ति भने प्रचुर मात्रामा थियो। त्यसले नै कांग्रेसलाई यहाँसम्म ल्याइपुर्याएको हो।
कांग्रेसको महाधिवेशनमा आएका प्रतिनिधिहरूले आत्मसात् गर्नुपर्यो— नेपाल अब फरक कालखण्डमा प्रवेश गरेको छ। कांग्रेस पनि हिजोभन्दा फरक हुनैपर्छ।
२००३ सालमा स्थापित नेपाली कांग्रेसको प्रजातन्त्र स्थापनाको अभिभारा पूरा भइसकेको छ। दुईपटक प्रजातन्त्र खोस्न दुस्साहस गर्ने राजतन्त्र आफैं फालिएको छ। संसदीय व्यवस्था फालेर एकदलीय जनगणतन्त्र ल्याउन हतियार उठाएको पार्टी संसदीय राजनीतिको मूलधारमा आएको छ। मुलुकमा गणतान्त्रिक संविधान छ। संघीयता र स्थानीय शासन कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छन्। अब लोकतन्त्र परिस्कृत वा बदनाम मात्र हुन सक्छ, कसैले फाल्न सक्दैन।
२०६२/६३ को दोस्रो जनआन्दोलनसँगै हामीले लोकतन्त्र भन्न र लेख्न थाल्यौं। आन्दोलनकै क्रममा राजाबिनाको प्रजातन्त्रलाई संकेत गर्दै लोकतन्त्र भनिएको थियो। पार्टीहरूले पनि हामीले चेत्यौं, अब हामी सच्चिन्छौं भनेका थिए। जनउत्तरदायी शासन व्यवस्थाको कालखण्ड सुरू हुने अपेक्षामा 'लोकतन्त्र' भनिएको थियो।
यथार्थमा हामी आज पनि लोकतन्त्रमा होइन, पार्टीतन्त्रमा छौं। खासमा भन्दा, जनताप्रति अनुत्तरदायी र जनताबाट विमुख पार्टीभित्रको गुटतन्त्रमा छौं। जुनसुकै पार्टी सत्तामा होस्, त्यसभित्रको सत्तासिन गुट बारम्बार अहंकारी र स्वेच्छाचारी हुने गरेको छ। गिरिजाप्रसाद कोइराला सत्तामा हुँदाको इतिहास होस् वा भर्खरै सत्ताबाट ओर्लिएको नेकपा/एमालेको इतिहास, दुवैको निचोड एउटै निस्किन्छ।
त्यसैले कांग्रेसका लागि मात्र होइन, सबै पार्टीका लागि गुटतन्त्रबाट लोकतन्त्रतर्फ अघि बढ्ने कार्यभार बाँकी नै छ। अहिलेकै नेता, अहिलेकै सोच, अहिलेकै पारा कायम राखेर न कांग्रेस बदलिन्छ, न त त्यसले मुलुक नै बदल्ने तागत राख्नेछ।
बहत्तर वर्षअघि नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेस मिलेर नेपाली कांग्रेस बन्दा त्यो आकारमा सानो थियो। त्यसको संगठन, स्रोत र जनसमर्थनको घेरा साँघुरो थियो। उद्देश्य र आँट भने ठूलो थियो— एक सय चार वर्षे राणा शासन फाल्ने र जनताको शासन स्थापना गर्ने।
आँखामा सपना र पेटमा आगो बोकेको कांग्रेस थियो त्यो। त्यही सपना र ऊर्जाले कांग्रेसलाई अघि बढायो। आज कांग्रेस आकारमा ठूलो छ। संगठन छ। स्रोतमा अनधिकृत पहुँच छ। कार्यकर्ताको ठूलो पंक्ति छ। खुम्चिँदो तर अझै विशाल जनसमर्थन छ।
यति हुँदाहुँदै कांग्रेस आज कमजोर छ। किनभने, उसको आँखामा सपना छैन। पेटमा आगो छैन। पछिल्ला केही वर्ष कांग्रेसका आँखा रित्ता छन्। पेट भने अरू नै कुराले भरिएको छ।
पार्टी त छ तर केका लागि छ? थाहा छैन।
कांग्रेस एउटा कुराका लागि मात्र छ जस्तो देखिन्छ, फगत सत्ताका लागि। उसका लागि सत्ता साधन होइन, साध्य भएको छ। कांग्रेसको अग्रपंक्तिका नेताले आगामी निर्वाचन जित्ने मात्र कुरा गर्छन्। किन निर्वाचन जित्ने भन्दैनन्। निर्वाचन जितेपछि के गर्ने पनि भन्दैनन्।
कांग्रेसीहरूका लागि त आफ्नै पार्टीले चुनाव जित्ने कुरा महत्वपूर्ण होला। त्यति भए पुग्ने होला। नेतासँग विचार वा एजेन्डा हुनु वा नहुनु, आँखामा सपना र पेटमा आगो हुनु वा नहुनुले पनि खासै अर्थ नराख्ला। तर आमनागरिकका लागि त्यस्तो कांग्रेसको के अर्थ? त्यस्तो नेतृत्वको के अर्थ?
जोसँग भविष्यको सपना छैन, जोसँग भविष्यको कार्यक्रम छैन, जुन नेताले अगाडि उभिएर वा बोलेर एक निमेषभर पनि आफ्नो मन तान्न सक्दैन, त्यस्तो नेताको आमजनतालाई के अर्थ?
आजको दुनियाँमा कुनै पार्टी जति महत्वपूर्ण हो, त्योभन्दा महत्वपूर्ण हुन्छ त्यसको शीर्ष नेतृत्व। नेतृत्वको अनुहार नै पार्टीको अनुहार हो। त्यही अनुहार हेरेर मतदाताले पार्टीलाई विश्वास वा अविश्वास गर्छन्। त्यो पार्टीलाई स्वीकार वा अस्वीकार गर्छन्।
आजको डिजिटल दुनियाँमा पार्टी नेतृत्वको अनुहार र आवाज अनि उसको बोली र विचार हरेक पल जनताकहाँ पुग्छ। हरेक दिन उसलाई जनताले सुन्छन्, डिजिटल पर्दामा देख्छन्, उसको हाउभाउ देख्छन्, उसको आचरण जोख्छन्, काम हेर्छन्।
आजको दुनियाँमा मूल नेतृत्व नै पार्टीको सबभन्दा ठूलो संदेशवाहक हो। सबभन्दा ठूलो 'मेसेन्जर' हो। आजका दिनमा 'कमजोर' मेसेन्जर राखेर बलियो पार्टी बनाउन सम्भव छैन। बरू संसारमा यस्ता थुप्रै उदाहरण छन् जहाँ पार्टी नयाँ छ, संगठन नै छैन वा बलियो छैन, जहाँ पार्टी नयाँ भएकाले त्यसको विचार, आचरणको परीक्षण नै भएको छैन, त्यहाँ पनि एउटा 'करिज्मेटिक' नेतृत्वले चुनावमा हलचल मचाएको छ।
नेतृत्व एक्लैले आममतदाताको मन छुन सक्यो, आफ्नो सपना उनीहरूको सपनासँग जोड्न सक्यो, यो मान्छेले मुलुकलाई अगाडि लैजान्छ भन्ने विश्वास पैदा गर्न सक्यो भने संगठन भए वा नभए पनि त्यो नेतृत्वले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सक्ने रहेछ भन्ने देखियो।
संसारभर पछिल्ला केही दशकको उदाहरण हेर्ने हो भने बिल क्लिन्टन, टोनी ब्लेयर, बराक ओबामा, डेभिड केमरून, नरेन्द्र मोदी, अरविन्द केजरीवाल, इमान्युएल मांक्रो, डोनाल्ड ट्रम्प यस्ता नेता देखिए जसले पार्टीको संगठनभन्दा आफ्नो व्यक्तित्वको भरमा जनमत आफूतिर ताने।
आजको दुनियाँमा आमनागरिकसँग संवाद गर्न नसक्ने, उनीहरूको कुरा सुन्ने धैर्य नभएको र आफ्नो कुरा विश्वसनीय रूपमा भन्न नसक्ने व्यक्ति कुनै पार्टीको नेता हुन सक्दैन। कांग्रेसले आफू 'वक्तृत्वकला' मा विश्वास गर्ने पार्टी होइन भनेर अब धर पाउने छैन। कांग्रेस पुरानै पार्टी होला तर समाज त बदलिइसक्यो। प्रविधि बदलिइसक्यो।
त्यसैले नयाँ नेतृत्व चुन्न देशभरबाट काठमाडौं आएका कांग्रेस प्रतिनिधिले आफूले चुन्ने नेतृत्वबारे एकपटक सोचविचार गर्नैपर्छ। आफूले मत दिन लागेको नेताले मुलुकका महत्वपूर्ण मुद्दालाई कसरी हेर्छ, कसरी समाधान गर्छु भन्छ वा ऊ फगत सत्ताका लागि राजनीतिमा छ कि भनेर हेर्नैपर्छ।
मुलुकको सुशासनको प्रमुख मुद्दा के हो? भ्रष्टाचार चिर्ने कसरी हो? विकासबारे सोच के हो? विकास नीति के हो? समानता र सामाजिक न्यायका मुद्दा के हुन्? जलविद्युतको सही नीति के हो? हाम्रो कर्मचारीतन्त्र सुधारको मुद्दा के हो? शिक्षा नीति के हो? स्वास्थ्य नीति के हो? संघीयता र स्थानीय सरकार कार्यान्वयनको जटिलता सुल्झाउने कसरी हो? हाम्रो परराष्ट्र नीतिको सन्तुलन के हो?
तपाईंले चुन्न लाग्नुभएको नेतालाई यी महत्वपूर्ण विषयमा चासो छ कि छैन? यी विषय पर्गेल्ने ल्याकत छ कि छैन?
यी सबै विषयमा कांग्रेसको नेता विज्ञ हुनुपर्छ भनेको होइन। यी हरेक विषयको जटिलतामा चाख राख्न सक्ने, विज्ञहरूसँग छलफल गर्न सक्ने र बुझ्न सक्ने भने पक्कै हुनुपर्छ। किनभने, अन्तिम निर्णय भोलि नेताले नै लिनुपर्छ।
यी विषय 'डाइजेस्ट' गरेर निर्णय लिन सक्ने, त्यो निर्णय जनतालाई भन्न सक्ने हुनुपर्छ। अर्थात् नेपालका लागि महत्वपूर्ण हरेक विषयमा उसको बौद्धिक र भावनात्मक लगाव हुनुपर्छ। तिनलाई जनतामाझ लिएर जान सक्ने जाँगर र क्षमता हुनुपर्छ, तिनको कार्यान्वयन गर्ने ल्याकत हुनुपर्छ।
मुलुकका मूल चुनौतीसँग कुनै चासो वा तिनलाई पर्गेल्ने क्षमता नभएको मानिस अब कांग्रेस वा अरू कुनै पार्टीको नेता हुन सक्दैन। चाहे त्यो कसैको छोरो किन नहोस्, चाहे त्यो वर्षौं जेल बसेको किन नहोस् वा नेतृवका लागि पालो पर्खेको व्यक्ति किन नहोस्।
मुलुकमा बेथिति निरन्तरताको एउटा कारण राजनीतिक दलहरूमा रहेको मूल नेतृत्व पनि हो। उनीहरूमा देखिएको क्षमता र इमानको अभाव हो, फगत सत्ताउपभोगमा रमाउने शैली हो।
मेरो बाबा करिब डेढ वर्षअघि बित्नुभयो। उहाँले थिति बसेको नेपाल हेरेर जान पाउनुभएन। बहुदल आएपछि भ्रष्टाचार घट्यो, क्षमता भएका मानिसले अवसर पाए, निमुखाले न्याय पाए भन्ने सन्तोक मान्न पाउनुभएन। अहिले कांग्रेसको महाधिवेशनमा आएका कतिपय प्रतिनिधिका आमाबा पनि थिति बसेको नेपाल नदेखिकन बित्नुभयो होला।
यही बेथितिमाझ तपाईंहरू पनि भोलि जानुपर्यो र तपाईंका छोराछोरीले यस्तै नेपाल भोग्नुपर्यो भने तपाईंले राजनीति गरेको के अर्थ? तपाईंले आफ्नो ऊर्जा र समय खर्चेको कांग्रेस पार्टीको के अर्थ?
भोलि मत हाल्ने बेला यो कुरा सोच्नु होला!