किशोरी र किशोर (दृश्य-१)-
'साऽऽऽले। आज पनि झ्याप् भएर आको?'
काठमाडौं अनामनगरको धोबीखोला करिडोरमा एक साँझ विपरीत दिशाबाट आएका किशोर-किशोरीमध्ये किशोरीले किशोरलाई थप्पड हान्नुअघि बोलेको संवाद।
किशोरः (गाला मुसार्दै, रातो आँखा जुधाउँदै) आज खा'को छैन। तेरो कस्सम।
किशोरीः झुट बोल्छस्? (दोस्रो चड्कन अर्को गालामा) साला ड्रगिस्ट। तँलाई जत्ति भन्दा नि नहुने है!
(म, खोलामा बगिरहेको धमिलो लेदो पानी र सडकमा चिप्लिरहेका रंगीचंगी सवारीसाधन घटनाका साक्षी छौं।)
किशोरः आज एक स्टिक मात्र हानेको। हल्का ट्रिप दिएछ। ओइ, नरिसा न यार, भोलिदेखि खान्नँ। तेरो कस्स्स्सम्।
एकछिनको बाझाबाझपछि सहमतिमा आउँदै किशोरी भन्छिन्, 'अबदेखि खाइस् भने नि तँलाई सिध्धै ब्रेकअप हान्दिन्छु, याद गर्लास्।'
थुनामा रहेका युवा (दृश्य-२)-
लागुऔषध नियन्त्रण ब्युरोको नियन्त्रण कक्ष। हतकडीमा जेलिएका २६ वर्षमुनिका १६ युवा।
साझा कसुर- ब्राउन सुगरको प्रयोग र बिक्रीमा संलग्नता।
केही दिनअघि ब्राउन सुगर प्रयोगकर्ता र बिक्रेताको 'च्यानल' खोज्दै जाँदा पक्राउ परेका। प्रत्येकको साथबाट १ ग्रामदेखि २८ ग्रामसम्म बरामद।
कोही इञ्जिनियर। कोही होटल सञ्चालक। कोही अन्य व्यापारमा संलग्न। कोही अनुभवी। कोही नवप्रवेशी।
'एक ग्रामकै हैन, सातदेखि बीसहजार रूपैयाँसम्म तिरेको छु' भन्छन् एक युवा।
होटलमा काम गर्ने र आवश्यक परे बुवाले चलाएको मासु पसलबाट पैसाको जोहो मिलाउने उनी थप्छन्, 'केही दिनदेखि डोज खान पाएको छैन। अहिले शरीरले मागिरा'छ, मेन्टल्ली हानिरा'छ। यस्तै हो क्या, छाड्नै नसकिने। टेन्सन भइराछ।'
'फेरि खाने हो, यहाँबाट छुटेपछि पनि?'
अर्का युवा पछाडिबाट 'लजिकल्ली र 'फन्नी' पाराले भन्छन्, 'अब त कन्फर्म खाइँदैन सर छुटेपछि। ५-६ वर्ष जेलैमा काट्नुपर्छ होला। छुटुञ्जेल त ब्राउन सुगर के हो भन्ने नै बिर्सिसक्छ होला।'
यी दुई दृश्य काफी छन् जसले भनिरहेका छन्- नेपालमा लागुऔषध गम्भीर समस्याका रूपमा झाँगिदैछ। सहरहरूमा लागुऔषधको परिमाण बढ्दैछ। सुरूमा देखासिकी, त्यसपछि बानी (दुर्व्यसनी) हुँदै अनन्तः पेसा नै बनेर युवा जमातलाई लागुऔषध समस्याले भड्खालोमा हाल्दैछ।
नेपालको तथ्यांकले के भन्छ?
सन् २०१८ को अध्ययनले नेपालमा एक लाख ३० हजारभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको देखाउँछ। देशभरका कारागारमा रहेका २६ हजार कैदीबन्दीमध्ये करिब २१ प्रतिशत लागुऔषधकै मुद्दामा संलग्न हुनुले समस्याको गहिराइतर्फ संकेत गर्छ।
आर्थिक वर्ष २०७६/७७ मा लागुऔषध प्रयोग, ओसारपसार र बेचबिखनमा संलग्न चार हजार पाँच सय ५४ जना पक्राउ परे। दुई हजार नौ सय तीन जनालाई मुद्दा चलाइयो। अन्य विभिन्न थरीका लागुऔषधका साथमा चार हजार सात सय किलोग्राम गाँजा बरामद गरियो। लागुऔषधका घटना समाजमा खुलेर बाहिर आइरहेका छैनन्। त्यसैले यसले भित्रभित्रै ठूलै अनिष्टको संकेत गरिरहेको छ।
छिमेकी राष्ट्रहरूको अवस्था के छ?
लागुऔषधको दुर्व्यसनी र अपराधको समस्या विश्वव्यापी हो। साझा हो। तर पीडा, भोगाइ र अवस्था आ-आफ्नो।
विश्वभर लागुऔषधका २७ करोडभन्दा बढी प्रयोगकर्ता छन्। एसियामा मात्रै आठ करोडभन्दा बढी। छिमेकी राष्ट्रहरूको पीडा अझ नेपालभन्दा भयावह छ।
बंगलादेशकै कुरा गरौं, जहाँ ३६ लाख प्रयोगकर्ता छन्। समस्या बढ्दै गएकाले बंगलादेशले सन् २०१८ को कानुनमा ५ ग्रामभन्दा बढी यावा वा २५ ग्रामभन्दा बढी हेरोइन वा कोकिन उत्पादन, व्यापार वा प्रयोग गरेमा आजीवन कारावास वा मृत्युदण्डसम्म सजाय गर्ने 'बिल' पेस गर्यो जुन सन् १९९० को कानुनमा थिएन। सन् २०२१ को सुरूतिरै त्यहाँ १७ लाख यावा ट्याब्लेट एकै ठाउँबाट जफत गरिएको थियो।
विश्व खुसी सूचकांकको अवधारणा भित्र्याउने भुटान पनि समस्याग्रस्त छ। त्यहाँ सन् १९८० दशकदेखि बढ्न थालेको लागुऔषधको समस्या अहिले उत्कर्षमा छ। सन् २०१७ को सर्वेक्षण भन्छ- भुटानका विश्वविद्यालयहरूमा अध्ययनरत दुईतिहाइ युवा कुनै न कुनै कुलतमा छन्। अस्पतालहरूमा ड्रग ओभरडोजका घटना बर्सेनि बढिरहेका छन्।
भारतमा लागुऔषध कारोबारका लागि इन्टरनेट फार्मेसीहरू, 'डार्क वेब' र 'बिट क्वाइन' को प्रयोग ह्वात्तै बढेको छ। फिल्मी दुनियाँका कयौं कलाकार लागुऔषधका कारण बर्बाद मात्रै भएका छैनन्, आत्महत्यासम्म गर्न बाध्य छन्। सन् २०१८ मा मात्रै भारतभर तीन लाख ९१ हजार किलोग्राम 'क्यानाबिज' जफत र ६० हजारभन्दा बढी मानिसलाई लागुऔषध मुद्दामा पक्राउ गरियो।
म्यानमार सरकारले लागुऔषधको जोखिम रोकथाम गर्न प्रयोगकर्ताको उपचार र स्वास्थ्य सेवाका लागि २६ वटा मुख्य ड्रग ट्रिटमेन्ट सेन्टर, ४७ वटा सहायक ड्रग ट्रिटमेन्ट सेन्टर, ५५ वटा मेथाडोन सेन्टर, ९ वटा पुनर्स्थापना केन्द्र र ३ वटा युवा सुधार केन्द्र सञ्चालन गरेको छ।
थाइल्यान्डका लागि उसकै भूमि भएर ओसारपसार हुने र देशभित्र निकै खपत हुने, 'क्रेजी मेडिसिन' को नामले परिचित यावा ट्याब्लेट सबभन्दा ठूलो चुनौती बनेको छ। सन् २०१८ मा मात्रै थाई प्रशासनले ५१ करोडभन्दा बढी यावा ट्याब्लेट जफत गरेको थियो। त्यसैगरी पार्टी र मनोरञ्जन स्थलहरूमा प्रयोग हुने लागुऔषध केटामाइन पनि थाइल्यान्डको टाउको दुखाइ बनेको छ।
अध्ययन भन्छ- न्यून आय भएका मुलुकमा सन् २०३० सम्म लागुऔषध प्रयोगकर्ता संख्या ४३ प्रतिशत बढ्नेछ। जुन उच्च आय भएका मुलुकमा एक प्रतिशतले मात्र बढ्ने देखिन्छ।
यसबाट लागुऔषधको जोखिम आगामी दिनमा नेपालजस्ता कमजोर र कम विकसित मुलुकका लागि झन् चुनौती बन्ने संकेत देखिएको छ।
हुन त लागुऔषधको जोखिमप्रति नेपाल लगायत सार्क राष्ट्रहरू गम्भीर छन्। सार्क स्थापनापछि पहिलो सार्क वर्षका रूपमा 'लागुपदार्थ दुरुपयोग र ओसारपसारविरूद्धको सार्क वर्ष १९८९' घोषणा गर्नु त्यसैको प्रमाण हो। तर त्यही जोश र अग्रसरता कायम हुन नसक्दा समस्या सबैतिर विकराल बन्दैछ।
नेपालमा त झन् खराब हुँदै जाने देखिन्छ किनकी हामीकहाँ समस्याको गाम्भीर्यताअनुसार लागुऔषधको उत्पादन, प्रयोग, ओसारपसार रोक्न आवश्यक कानुन र पर्याप्त जनशक्तिसहितको बलियो राष्ट्रिय संयन्त्रको अभाव छ। त्यसैले सचेतना र रोकथामका प्रयासहरू अपर्याप्त छन्।
हामी लागुपदार्थ उत्पादन तथा ओसारपसारको राजधानी मानिने 'गोल्डेन ट्रायंगल' बाट नजिक छौं। भारतसँगको खुला सीमाले झन् इन्धनको काम गरेको छ। प्रविधिको कमी छ, लागुऔषध पत्ता लगाउने मेसिन र प्रविधि भित्र्याउन सकिएको छैन।
लागुऔषध नियन्त्रण लामो समयदेखि सरकारको उच्च प्राथमिकतामा छ। 'हिप्पी' संस्कृति फस्टाएसँगै यसका विकृति रोक्दै सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न सरकारले लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ल्यायो।
लागुऔषधसम्बद्ध तीनवटै अन्तर्राष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्र बन्यो। नीति, रणनीति, कार्यक्रम ल्याएर निजी तथा गैरसरकारी क्षेत्रसँग समेत हातेमालो गर्दै अगाडि बढ्दै छ। तर यी प्रयास पर्याप्त होइनन्। अब युवाहरूलाई लागुऔषधको भड्खालोबाट निकाल्न नयाँ ऊर्जाका साथ, नवीन सोच लिएर, योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्छ।
(लेखक गोकर्णप्रसाद उपाध्याय गृह मन्त्रालय, लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)