नयाँ संविधानको अभ्याससँगै राजनीतिक स्थिरता र आर्थिक विकासको अपेक्षा बढेको थियो। त्यसैबीच २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० घोषणा गरियो। विस्तारित पूर्वाधारले पर्यटनमा लगानी पनि वृद्धि भइरहेको थियो। तर डेढ वर्षदेखि कोभिड महामारीका कारण पर्यटनसहित सम्पूर्ण क्षेत्र खुम्चिएका छन्।
अब चाहिँ हाम्रो समाज र अर्थतन्त्रलाई सुरक्षित ढंगले चलायमान बनाउनुपर्ने बेला आएको छ। अन्य मुलुकहरू पनि संक्रमण फैलिन नदिने उपाय अपनाउँदै विभिन्न पेसा, व्यवसायलाई गति दिने र अर्थतन्त्रलाई चलायन बनाउने दिशामा बढेका छन्। आन्तरिक तथा बाह्य आवतजावतका लागि वातावरण सहज बनाउन थालिएको छ।
अमेरिका, बेलायत, स्पेन, स्विट्जरल्यान्ड, ग्रिस, इजरायल, जोर्डन, सेसेल्स, मेक्सिको, माल्दिभ्सजस्ता मुलुकमा पूर्ण मात्राको खोप लगाइसकेका र पिसिआर रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई बिना क्वारेन्टिन प्रवेश गर्न दिइएको छ।सुरक्षित गन्तव्यहरूमा पर्यटकको प्रवेश खुला गरिएको छ।
माल्दिभ्सकै कुरा गर्ने हो भने सामान्य अवस्थाको ७५ प्रतिशत पर्यटक भित्रिरहेका छन्। जोर्डनमा सामान्य अवस्थाको ३० प्रतिशतभन्दा बढी र सेसेल्समा ६४ प्रतिशत भित्रिन थालिसके। अमेरिका र युरोपका गन्तव्यमा पनि आन्तरिक पर्यटकले चहलपहल बढेको छ।
नेपालमा भने झन्झटिलो प्रवेश नीति, अनिवार्य क्वारेन्टिन र कमजोर सूचना सम्प्रेषणका कारण सामान्य अवस्थाको दाँजोमा १० प्रतिशत पर्यटक पनि आउन सकेका छैनन्। यसले समग्र पर्यटन क्षेत्र धरापमा छ। होटल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, र्याफ्टिङ, एयरलाइन्स, यातायात, हस्तकला तथा उपहार सामग्री, रेस्टुरेन्ट लगायत क्षेत्रमा एक खर्ब रूपैयाँभन्दा बढीको आय गुमिरहेको छ।
सन् २०१९ को तुलनामा २०२० मा पर्यटक आगमन संख्या ८१ प्रतिशत घटेको छ। यसको प्रत्यक्ष मार पर्यटन क्षेत्रका करिब १० लाख जनशक्तिमा परेको छ।
यति मात्र होइन, बैंक तथा वित्तीय क्षेत्रको ४ खर्बभन्दा बढी लगानी पनि जोखिममा छ। पछिल्लो केही समयमा २५ प्रतिशतभन्दा बढी पर्यटन व्यवसाय तथा उद्यमी फेरि कहिल्यै पुनर्जीवित नहुने गरी बन्द भएका छन्। व्यवसायीको लगानी डुब्नु भनेको राज्यको आयस्रोत गुम्नु हो र राष्ट्रिय उत्पादकत्व घट्नु हो।
के पर्यटन क्षेत्रलाई यस्तो दयनीय अवस्थाबाट उकास्नै नसकिने हो त?
विमानस्थलका सबै कर्मचारी, वायुसेवा तथा अन्य यातायात क्षेत्रका कर्मचारीले कोरोनाविरूद्ध दुवै डोज खोप लगाइसकेका छन्। काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, लाङटाङ, नगरकोट, धुलिखेल, बर्दिया, धरान लगायत पर्यटकीय क्षेत्रका धेरैजसो पर्यटनकर्मीले खोप लगाइसकेका छन्। मनाङ, मुस्ताङ, खुम्बु, डोल्पा, हुम्ला लगायत पर्वतीय जिल्लाका नागरिकले पनि खोप लगाइरहेका छन्। आगामी असोजसम्म कुल जनसंख्याको करिब ४० प्रतिशत र चैतसम्म खोप लगाउन योग्य सबै नेपालीले खोप पाइसक्ने सरकारले घोषणा गरेको छ।
यो हेर्दा हामीले पनि अब पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न सकिने अवस्था आएको छ। महामारीले शिथिल अर्थतन्त्रलाई गति दिन यो जरूरी पनि छ।
पर्यटन भनेको वैदेशिक मुद्रा आर्जनमा दोस्रो ठूलो योगदान दिने क्षेत्र हो। औसत १३ दिन बस्ने हरेक पर्यटकले प्रतिदिन कम्तीमा ५० डलर खर्चिन्छन्। विश्व पर्यटन परिषदका अनुसार कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यो क्षेत्रको करिब ८ प्रतिशत योगदान छ। सन् २०१९ सम्म यो क्षेत्रले १० लाखलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगार दिइरहेको थियो।
अहिलेसम्म हाम्रो अर्थतन्त्रमा वैदेशिक रोजगारबाट प्राप्त रेमिटेन्स आय हाबी रहँदै आएको छ। अब भने पूर्वाधारमा भइरहेको सुधारले पर्यटन क्षेत्रको योगदान बढाउन सकिने प्रचुर सम्भावना छ। पर्यटन क्षेत्र चलायमान बनाउँदा अरू क्षेत्रको पुनरूत्थानमा पनि सहयोग पुग्छ।
महामारीपछिका दिनहरूमा प्राकृतिक गन्तव्य र भीडभाड कम हुने ठाउँमा पर्यटकको प्रमुख आकर्षण रहनेछ। नेपाल त्यस्तै गन्तव्य भएकाले पर्यटकको पहिलो रोजाइ बन्न सक्छ। त्यसैले देशको सामाजिक तथा आर्थिक समृद्धिका लागि पर्यटन पुनरूत्थानमा पहिलो प्राथमिकता दिइनुपर्छ।
महामारीले हाम्रा लागि नयाँ अवसर पनि जुटाएको छ। संकट बेला धेरैले हार मान्छन्। केहीले बाँच्ने उपाय खोज्छन् र आफूलाई बचाउँछन्। केहीले नयाँ अवसर खोज्छन् र नयाँ सामाजिक-आर्थिक साम्राज्य खडा गर्छन्। हामी पनि अब संकटग्रस्त अवस्थाबाट सामाजिक–आर्थिक पुनरूत्थानतर्फ बढ्ने बेला आएको छ। संकटबाट उन्मुक्तिका लागि उचित र यथेष्ट प्रयास नगर्ने र सधैं डराएर एकले अर्कालाई दोषारोपण मात्रै गर्नु ठिक होइन। आशा मात्रै गरेर बस्नु पनि फलदायी रणनीति होइन।
सरकारले पर्यटनका क्षेत्रका लागि सुरक्षा मापदण्ड सार्वजनिक गरिसकेको छ। आन्तरिक र अन्तर्राष्ट्रिय आवागमन सुरू भइसकेको छ। अब पर्यटन बचाउन, पुरानै लयमा फर्काउन र अझ फैलाउन कम्तीमा तीनवर्षे रणनीतिका साथ थप सक्रिय भएर हिँडनुपर्ने छ। यसको निम्ति गर्नुपर्ने कामको सूची लामै हुनसक्छ। सबै काम एकैपल्ट गर्न सम्भव छैन। हाललाई पहिलो पाइलास्वरूप निम्न काम उच्च प्राथमिकताका साथ गरे हाम्रो पर्यटन छिट्टै पुनरूत्थान हुन सक्छ।
१) खोपमा तीव्रता र सकारात्मक सन्देशको प्रसार
विश्वका अन्य कम विकसित तथा विकासोन्मुख देशको तुलनामा नेपालमा खोपको उपलब्धता र वितरण सन्तोषजनक छ। हाल छुटेका केही पर्यटनकर्मीलाई प्राथमिकताका आधारमा खोप लगाएर नेपालको समग्र पर्यटन क्षेत्र खोपयुक्त भइसकेको सन्देश व्यापक रूपले सम्प्रेषण गर्नुपर्नेछ।
२) सुरक्षित यात्रा कोरिडोरको पहिचान र प्रचार
सम्पूर्ण नेपालीले खोप नलगाउँदासम्म सबै पर्यटक विश्वस्त नहुन सक्छन्। सरकारी योजनाअनुसार सबै नेपाली खोपयुक्त हुन् २०७८ चैतसम्म कुर्नुपर्नेछ। हाललाई पर्यटक घुम्नसक्ने सुरक्षित कोरिडोरहरू पहिचान गरी प्रचार प्रसार गर्दा त्यसले नेपालको पर्यटन क्षेत्रलाई थप विश्वसनीय बनाउने छ। यसबाट पर्यटकको सुरक्षाका लागि नेपालले देखाएको सह्रदयी चासो र संवेदनशीलता झल्किनेछ।
हाललाई खोप लगाइसकेका सेवाप्रदायक र सुरक्षा मापदण्ड पालना गरिरहेका होटल, रिसोर्ट, रेस्टुरेन्ट, विमान सेवा, सम्पदा स्थल, यातायात तथा अन्य घुमघाम क्षेत्रको पहिचान र त्यसको नियमित अनुगमन हुने संयन्त्र व्यवस्था गर्न सकिन्छ। स्थानीयले समेत खोप लगाइसकेको हुनाले खोप लगाइसकेका व्यक्तिलाई पर्यटन जनशक्तिको अग्रपंक्तिमा राखेर सेवा सुरू गर्न सकिन्छ।
खोप नलगाएका समुदायमा भने घुमफिर गर्न निरूत्साहित गर्नुपर्छ। एक जना पर्यटक विमानस्थल आइसकेपछि सुरक्षा मापदण्ड पालना गरिएका सवारी साधन र पूर्ण खोप लगाइसकेका सेवाप्रदायक उपलब्ध गराउनुपर्छ। त्यसपछि पर्यटकलाई मापदण्ड पालना गरिएको होटल/रिसोर्टमा बसाल्ने र सुरक्षित गन्तव्यमा घुम्न दिने र त्यसरी नै सुरक्षित कोरिडारबाट फर्किने व्यवस्था मिलाउनुपर्छ।
३) तालिम, जनचेतना र सुरक्षा मापदण्ड पालना तथा अनुगमन संयन्त्र
सरसफाइ र खाद्य सुरक्षा मुख्य चासो भएकाले अग्रपंक्तिमा कार्यरत पर्यटनकर्मीलाई तालिम तथा अभिमुखीकरण र स्थानीय समुदायमा जनचेतना कार्यक्रमलाई राष्ट्रिय अभियानकै रूपमा नियमित सञ्चालन गर्नुपर्नेछ।
यात्रामा निस्कने हरेक पर्यटकले गन्तव्य छनौट गर्दा स्वास्थ्यसम्बन्धी तयारीलाई पहिलो मापदण्ड बनाउनेछन्। पर्यटन पुनरूत्थान हुँदै गर्दा धेरै चिज पहिलेकै रूपमा फर्किए पनि 'एसएमएस' (एस– सेफ डिस्टेन्सिङ, एम– मास्क, एस– सेनिटाइज) को प्रचलन लामो समय रहिरहनेछ। हामीले पनि कम्तीमा यी तीन चलनलाई जतासुकै लागू भएको प्रत्याभूत गराउनुपर्नेछ।
४) पूर्ण खोप लगाइसकेका यात्रुलाई बिनाक्वारेन्टिन प्रवेश र सहज यात्राको वातावरण निर्माण
कुनै पनि पर्यटक सुखद अनुभूति प्राप्त गर्न आफूभन्दा टाढाका गन्तव्य छनौट गरेर भ्रमणमा निस्कन्छन्। नयाँ गन्तव्य प्रवेश गर्दा वा घुमघाम गर्दा झन्झटिला व्यवस्थाले पर्यटकलाई निरूत्साहित गर्छ।
आफ्नो व्यस्त दिनचर्याबाट सीमित समय बचाएर घुम्न आउने पर्यटकलाई सात दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था सबभन्दा बाधक छ। जबकि, विश्वव्यापी रूपमा एक पर्यटकको औसत बसाइ ८ दिन मात्रै छ। त्यसैले पूर्ण खोप लगाइसकेकालाई बिनाक्वारेन्टिन प्रवेश र अन–अराइभल भिसा दिने व्यवस्था गरिनुपर्छ।
खोप नलगाएकालाई पिसिआर रिपोर्ट नेगेटिभका आधारमा बिनाक्वारेन्टिन प्रवेश दिने विश्वव्यापी अभ्यासलाई नेपालमा पनि लागू गर्नुपर्छ। यसो गर्दा सन् २०२१ अक्टोबरबाटै केही मात्रामै पर्यटक नेपाल घुम्न आउन सक्नेछन्।
५) भी-टु-भी मोडलमा पर्यटन सेवा सुरू गर्ने
खोप लगाइसकेकालाई खोप लगाइसकेकाले सेवा प्रदान गर्न मिल्ने गरी पर्यटकीय गतिविधि उपभोग गर्ने वातावरण बनाउनुपर्नेछ। यो व्यवस्था स्थानीय सरकार, समुदाय तथा सरोकारवालाको समन्वयमा स्थानीय तहमा लागू गर्न सकिन्छ। नेपालले लागू गर्ने भी–टु–भी पर्यटन सेवा विश्वका अन्य देशमा पर्यटन पुनरूत्थान गर्न प्रेरणादायी हुन सक्नेछ।
नेपाल मात्र होइन, पर्यटन क्षेत्रलाई संसारभर जोखिमपूर्ण व्यवसायका रूपमा लिइन्छ। कोरोना भाइरसका कारण पछिल्लो डेढ वर्ष विश्वभरको पर्यटन क्षेत्र प्राय: ठप्प रह्यो। यसअघि पनि विभिन्न समयका प्रकोपले पर्यटन क्षेत्रलाई प्रभावित बनाउँदै आएका उदाहरण हामीमाझ छन्। सार्स, त्यसपछि बर्डफ्लु, स्वाइनफ्लु, इबोला तथा आर्थिक संकटले विश्व पर्यटन क्षेत्रमा गम्भीर असर पारेको थियो।
राष्ट्रिय/अन्तर्राष्ट्रिय गतिविधिको पहिलो असर पनि पर्यटन क्षेत्रमै पर्छ। मानवीय गतिविधि नै पर्यटन भएकाले स-साना कुराले समेत यो क्षेत्रमा धेरै असर पार्छ। दसवर्षे सशस्त्र द्वन्द्व, त्यसपछि २०७२ मा आएको भूकम्प र नाकाबन्दीले नेपाली पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्यो।
कोरोनाले थलिएको नेपाली पर्यटन क्षेत्रलाई ट्रयाकमा ल्याउने उपाय व्यवस्थापन, लगानीकर्ता र नीति-निर्माताले बेलैमा बुझ्नुपर्ने हुन्छ। विगतका घटनाक्रमबाट पाठ सिकेर अगाडि बढ्न सक्नु नै अहिलेका लागि महत्वपूर्ण कदम हो।
(जोशी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी तथा विश्व पर्यटन सञ्जालका संस्थापक कार्यकारी सदस्य हुन्।)