बिपी कोइराला सन् १९७७ मा घाँटीको क्यान्सर उपचारका लागि संयुक्तराज्य अमेरिका गएका थिए। उपचारपछि नेपाल फर्किनुअघि अमेरिकी पत्रकारहरू रबर्ट म्याक्निल र जिम लेहररले उनीसँग भिडिओ अन्तर्वार्ता लिएका थिए।
अमेरिका जानुअघि जेलमा रहेका बिपीले उक्त ऐतिहासिक भिडिओ अन्तर्वार्तामा आफू नेपाल फर्किनु पर्नेदेखि थुप्रै विषयमा कुराकानी गरेका छन्। उनको पूरै अन्तर्वार्ता हेरे/सुनेपछि यसमा भएका पाँच उल्लेख्य पाटाहरू मैले यहाँ उल्लेख गरेको छु।
१. राजद्रोह र मृत्युदण्ड
नेपाल फर्केर जेलमै जाने र आफूविरूद्धका सातवटा मुद्दा सामना गर्ने दृढता अदम्य साहसको द्योतक त हो नै, यो रोमान्चक पनि छ। प्रवासमै रहे आफ्नो व्यक्तिगत स्वास्थ्यको हेरचाह हुने भए पनि प्रजातान्त्रिक आन्दोलनका आफ्ना सहयोद्धाहरूसँग नेपालमै रहनु नैतिक र सैद्धान्तिक रूपमा सही हुने उनको निष्कर्ष प्रेरणादायी छ।
आठ वर्ष जेल र अर्को आठ वर्ष निर्वासनमा बसेका बिपी प्रत्येक मुद्दामा मृत्युदण्ड नै दिन सकिने सम्भावना रहँदा पनि विचलित देखिन्नन्। यद्यपि कालान्तरमा राजाले मेलमिलापको बाटो नै रोज्लान् भन्ने आशा बिपीमा देखिन्छ।
२. परिवर्तनको वेग
क्षेत्रीय र विश्व राजनीतिमा सन् १९७७ उल्लेख्य थियो जसलाई बिपीले 'विन्ड अफ चेन्ज' को संज्ञा दिएका छन्।
अमेरिकामा निक्सन-फर्डको रिपक्लिकन प्रशासनको पतन र जिम्मी कार्टरको उदय, भारतमा इन्दिरा गान्धीको 'इमर्जेन्सी' को अन्त्य र जनता पार्टीको विजय, श्रीलंकामा श्रीमती बन्दरनाइकेको पराजय र जेआर जयवर्धनेको सुधारवादी सरकारको आगमन, पाकिस्तानमा जननिर्वाचित जुल्फिकर अलि भुट्टोको सरकार अपदस्थ गरी जियाउल हकको सैनिक कू आदि घटना ५-६ महिनाको छोटो अवधिमै भए।
अमेरिका र जिम्मी कार्टरको प्रजातन्त्र र मानव अधिकार अभियानप्रति बिपीको ठूलो भरोसा छ। कार्टरको आगमनसँगै इन्दिरा गान्धीले निर्वाचन गराउन दबाब महसुस गरेको बिपीको बुझाइ छ।
'सोभियत विद्रोही भ्लादिमिर बुकोभ्स्कीकै जस्तो अवस्था तपाईं को हो' भनेर सोध्दा बिपी भन्छन्, 'बिल्कुल होइन। बुकोभ्स्की एकल विद्रोही हुन् भने म एउटा राजनीतिक शक्तिको प्रतिनिधित्व गर्छु जुन मेरो देशको वैकल्पिक शक्ति हो।'
एक्लो विद्रोही संस्थागत विकल्प बन्न सक्दैन भन्ने आशय बिपीको छ जसमा उनको बहुलवादी बहुदलीय प्रणालीप्रतिको आस्था र निष्ठा झल्कन्छ।
३. आर्थिक सहायता र राजनीतिक स्वतन्त्रता
सन् १९५१ देखि सन् १९७७ सम्म अमेरिकाले लगभग दुई अर्ब डलर बराबरको आर्थिक सहयोग गरिसकेको र कार्टर प्रशासनले सहायताको आकार दोब्बर पार्ने भनिरहँदा यसलाई राजनीतिक एजेन्डासँग जोड्न नहुने बिपीको उद्घोष उल्लेखनीय छ।
राजनीतिक सजाय दिनुपर्दा आर्थिक नाकाबन्दी वा कसिकसाउ गर्ने शक्तिराष्ट्रहरूको अभ्यासविपरीत बिपीले नेपाल केन्द्रित आर्थिक सहयोग जारी राख्नुपर्ने मत दिएका छन्। मानव अधिकार एवं राजनीतिक स्वतन्त्रताका मुद्दा पृथक हुन् र त्यसमा अमेरिकाले केवल आफैंले वकालत गर्ने गरेको नैतिक अडानमा मात्र बसिदिए पुग्ने राय बिपीको छ। प्रजातन्त्रको विश्वव्यापी विस्तार सोभियत संघसँगको शीतयुद्धकालीन प्रोपोगान्डा मात्र नहोस् भन्ने नरम चेतावनी पनि बिपीले दिएका छन्।
विकास रोज्ने कि प्रजातन्त्र भन्ने गलत बहसमा बिपी कडासँग भन्छन्: तृणमूल तहमा व्यापक जनसहभागिताबिना माथिबाट विज्ञहरूले थोपरिदिएको नीति वा योजना र बाह्य जगतले त्यसलाई अनुमोदन गर्दै दिएको रकमले मात्र विकास हुँदैन।
उनको दूरदर्शी तर्क मूलधारको विकासे सोच बन्न अर्को एक दशक लागेको हामी पाउँछौं।
४. जनाधारको परीक्षण
जनमत र जनाधारबारे प्रत्येक प्रजातान्त्रिक नेता सचेत रहनुपर्छ भन्ने सोच बिपीमा देखिन्छ।
'युवाहरूमाझ तपाईं पहिले लोकप्रिय भए पनि अहिले समय घर्केको र लोकप्रियताको ताजा प्रमाण के छ' भन्ने प्रश्नमा बिपीले गोलमटोल उत्तर नदिई १३ हजार स्नातकहरूले छान्ने चार जना राष्ट्रिय पञ्चायतका सदस्य सबै सत्ता-इतर प्रजातान्त्रिक कित्ताको भएको दलील पेस गरेका छन्।
विवेक बन्धक नराखी मत दिने हो भने मान्छेले स्वतन्त्रता नै रोज्छ र प्रजातन्त्रकै जीत हुन्छ भन्ने अटल विश्वास बिपीमा देखिन्छ।
५. क्रमिक सुधार र पञ्चायत
बिपीसँग अन्तर्वार्ता लिनुअघि नेपालको छोटो चिनारी प्रस्तुत गर्दै ख्यातिप्राप्त पत्रकारद्वय रबर्ट म्याक्निल र जिम लेहररले राजा वीरेन्द्रले एक जना नर्वेजियन पत्रकारलाई दिएको उत्तर पनि कार्यक्रममा जोडेका छन्।
राजा वीरेन्द्र भन्छन्, 'कुनै पनि सामाजिक संरचनामा परिवर्तन ल्याउन समय लाग्छ, रातारात बलपूर्वक माथिबाट गरिएको परिवर्तन चिरस्थायी हुन्न, त्यसको जरा हुँदैन। ठूलो क्रमभंगताभन्दा सुस्त, एक-एक कदम गर्दै निरन्तर दबाबको बलमा भएको परिवर्तनको पक्षमा छु म।'
लाग्छ निरंकुश निर्दलीय व्यवस्थाबाट बहुदलीय संरचनामा जान क्रान्ति नै गर्नुपरे पनि गर्ने तर सामाजिक परिवर्तनको प्राकृतिक रफ्तार भने जनसहभागिता र जनचेतनाको संयुक्त गुणकै आडमा हुँदै जान्छ भन्ने बिपीको बुझाइ र वीरेन्द्रको मतमा तादात्म्य छ।
के राजा 'दुष्ट' छन् भन्ने प्रश्नमा 'छैनन्' भन्ने उत्तर दिएका बिपीले आफूलाई अमेरिका जान दिने वीरेन्द्रको अनुमतिलाई असल 'राजनीतिक सदाशय' का रूपमा बुझेको देखिन्छ।
रबर्ट म्याक्निल र जिम लेहररले बिपी कोइरालासँग लिएको अन्तर्वार्ताको सम्पादित नेपाली अनुवाद:
राष्ट्रपति जिमी कार्टरको मानव अधिकार संरक्षण अभियानले विभिन्न देशबाट प्रजातान्त्रिक आन्दोलनमा लागेर निर्वासित भएका नेताहरूसँग सम्पर्क र सहकार्य गर्दै आएको छ। आज हामी त्यस्तै एक व्यक्तिसँग कुराकानी गर्दैछौं जो हिमाली अधिराज्य नेपालमा प्रजातन्त्रको मशाल जलाउन आन्दोलनरत छन् र यसै सिलसिलामा राष्ट्रपति कार्टरसँग भेटेर संवाद गर्न इच्छुक छन्। उनको नाम हो, बिपी कोइराला।
छोटो समयका लागि नेपालको प्रधानमन्त्री भएका ६३ वर्षीय कोइरालामाथि राजद्रोहको मुद्दा छ र अहिले उनी स्वास्थ्य उपचार गराउन अमेरिका आएका छन्। प्रजातान्त्रिक समाजवादमा आस्था राख्ने युवा नेताका रूपमा उनका कुरा ख्रुश्चेभ, चाउ एन–लाई र आइजनहावजस्ता संसारका लोकप्रिय नेताहरू पनि ध्यानपूर्वक सुन्थे। अहिलेका समकालीन नेताहरूले उनको कुरामा खासै चासो दिँदैनन्।
प्रधानमन्त्री कोइरालाले सरकार चलाएको करिब अठार महिना मात्र भएको थियो जब नेपालका राजाले संसद भंग गरे र उनलाई अपदस्त गरी बन्दी बनाए। उनले आठ वर्ष जेलमा बिताए। मुक्त भएपछि सात वर्षभन्दा बढी भारतमा निर्वासित भए। गत वर्ष जब उनी मेलमिलापको नीति लिँदै नेपाल फर्के, राजाले उनलाई फेरि पक्रेर जेल हाले। यस वर्ष उनको घाँटीमा गम्भीर समस्या देखिएपछि राजाले नै उनलाई मुक्त गरेर शल्यक्रिया निम्ति न्यूयोर्क आउने अनुमति दिएका छन्।
कोइराला आफ्नो उपचार सकेर छिट्टै नेपाल फर्कने तयारीमा छन्। नेपाली भूमिमा टेक्नासाथ सम्भवतः उनलाई फेरि जेल हालिनेछ। त्यसअघि नेपाल फर्किनुअघि उनी राष्ट्रपति कार्टरसँग भेट्न चाहन्छन्।
आज हामी उनै बिपी कोइरालासँग कुराकानी गर्दैछौं जसलाई नेपालमा उनका समर्थकहरू ‘प्रजातन्त्रका प्रतीक’ मान्छन्।
रबर्ट म्याक्निलः कोइरालाज्यू, तपाईं छिट्टै नेपाल फर्कन चाहनुहुन्छ। अहिलेको अवस्थामा नेपाल फर्कंदा तपाईंलाई फेरि जेल हालिने सम्भावना छ, यस्तोमा तपाईं किन फर्कनुहुन्छ?
बिपी कोइरालाः पहिलो त, मलाई राजाको विश्वास कायम राख्नुछ। तपाईंलाई थाहै छ, राजाले मलाई स्वास्थ्य उपचारका लागि मात्र मुक्त गरेका हुन् र न्यूयोर्क आउन दिएका हुन्। मैले आफ्नो उपचार सकेर नेपाल फर्किन्छु र जेलबाटै आफूमाथि लागेको मुद्दा सामना गर्छु भनेर राजालाई भनेको थिएँ। मैले उनको विश्वास कायम राख्न पनि नेपाल फर्किनैपर्छ।
दोस्रो कुरा, मैले नेपाली जनता र म सँगसँगै प्रजातन्त्र पुनर्स्थापनाको लडाइँ लडिरहेका मेरा सहकर्मी, साथीहरूको विश्वास कायम राख्न पनि नेपाल फर्किनैपर्छ। यी दुइटा कारण हुन्, जसका लागि मैले नेपाल नफर्की हुन्न।
म्याक्निलः नेपाल फर्केपछि तपाईंलाई के होला जस्तो लागेको छ?
कोइरालाः हेर्नुस्, उनी राजा हुन् — म गम्भीर प्रकृतिका मुद्दा झेलिरहेको छु, ममाथि सातवटा गम्भीर आरोपहरू छन्।
म्याक्निलः राजद्रोहको आरोप? बलपूर्वक सरकार फ्याल्न खोजेको आरोप? होइन त?
कोइरालाः हो, र यी प्रत्येक आरोप यस्ता हुन् जुन अदालतमा प्रमाणित भयो भने मृत्युदण्डसम्म हुनसक्छ। त्यसैले जब मेरो घाँटीमा यो गम्भीर खालको समस्या देखियो, राजाले मलाई उपचार निम्ति अमेरिका पठाउने निर्णय लिए। यसलाई मैले राजाको तर्फबाट देखाइएको सदाशयका रूपमा बुझेको छु। उनले मानवताको आधारमा मात्र मलाई अस्थायी रूपले जेलमुक्त गरेका होइनन्, यो उनको राजनीतिक सदाशयको संकेत पनि हो।
म्याक्निलः तर तपाईं नेपाल फर्किनुभयो भने ...
कोइरालाः मलाई लाग्छ, यदि म नेपाल फर्किएँ भने सम्भवतः मलाई फेरि जेल हालिने छैन — तर मलाई थाहा छैन।
म्याक्निलः र तपाईंमाथि लगाइएका आरोप पनि खारेज गरिनेछ, के तपाईं यही भन्न चाहनुहुन्छ?
कोइरालाः हो, कुनै न कुनै रूपमा अहिले हाम्रो क्षेत्रमा परिवर्तनको हावा बहँदैछ। गत वर्ष डिसेम्बरमा जब हामी नेपाल फर्किएका थियौं, हामीलाई आफूहरूमाथि गम्भीर खालका आरोपहरू छन् भन्ने थाहा थियो। त्यो जान्दाजान्दै हामी नेपाल गयौं। त्यति बेला हामी नेपाल फर्किनुको उद्देश्य मुठभेडमा जानु थिएन, हामी राष्ट्रिय मेलमिलापको अपेक्षासहित नेपाल गएका थियौं र आफूलाई सशरीर राजासमक्ष उपस्थित गराउने निर्णय लिएका थियौं।
म्याक्निलः र त्यसको बदलामा उनले तपाईंलाई जेल हाल्ने निर्णय लिए, होइन त?
कोइरालाः त्यो सही हो तर अहिलेको अवस्था फरक छ। अहिले समग्र दक्षिण एसिया क्षेत्रमा नयाँ घटनाक्रम विकसित हुँदैछ भन्ने हामीलाई लागेको छ। किनभने अहिले भारत, पाकिस्तान र सिलोन (श्रीलंका) को राजनीतिक परिदृश्य फेरिएको छ। त्यो पूरै क्षेत्रमा परिवर्तनको हावा बहँदैछ।
म्याक्निलः मैले बुझेँ। त्यसो भए म तपाईंलाई एउटा कुरा सोध्न चाहन्छु– यदि तपाईं नेपाल फर्किनुभयो र तपाईंमाथि लगाइएका आरोपहरू खारेज गरिए र तपाईं राजनीतिक रूपले सक्रिय हुन स्वतन्त्र हुनुभयो भने तपाईं के गर्नुहुन्छ? तपाईंमाथि लगाइएको एउटा आरोप के छ भने, जब तपाईं भारतमा निर्वासित हुनुहुन्थ्यो, त्यो बेला तपाईंका समर्थकहरूले चाहे तपाईंको स्वीकृतिमा होस् वा नहोस्, नेपालको शाही शासनविरूद्ध सशस्त्र संघर्ष सुरू गरे। यसको मतलब के तपाईं शासनसत्ता उल्ट्याउन आवश्यक पर्यो भने हिंसाको बाटो समात्न पनि तयार हुनुहुन्छ, वा...?
कोइरालाः होइन, सत्य के हो भने हामी नेपालमा राष्ट्रिय मेलमिलापको प्रयास गरिरहेका छौं। यो अवस्थामा यदि मलाई नेपालमा स्वतन्त्रतापूर्वक काम गर्न दिइयो भने मेरो सम्पूर्ण प्रयास राष्ट्रिय जागरणमा केन्द्रित हुनेछ। किनभने अहिले दक्षिण एसियामा जुन खालको नयाँ अवस्था विकास हुँदैछ, त्यसमा प्रभावकारी भूमिका खेल्ने हो भने सबभन्दा पहिला हामी एकीकृत हुनु जरूरी छ।
त्यसैले राजासहित अन्य सबै समूहसँग म राष्ट्रिय एकताको आह्वान गर्न चाहन्छु। मेरो विचारमा राष्ट्रिय एकताको निम्ति मैले गरेको आह्वान प्रभावकारी सिद्ध हुनलाई अहिलेको समय एकदमै अनुकूल छ। म तपाईंलाई किन अनुकूल छ भनेर पनि भन्छु। किनभने राष्ट्रिय एकता अहिलेको समयको माग हो। मेरो विचारमा अहिलेको अवस्थामा राष्ट्रिय एकता यस्तो चिज हो जुन हाम्रो राजनीतिक अवरोधहरूभन्दा माथि छ।
राष्ट्रपति कार्टरले मानव अधिकार संरक्षणमा आफ्नो प्रतिबद्धता देखाएका छन्। अर्कातिर, इन्दिरा गान्धी जसलाई भारतमा अपरिवर्तनीय नेता ठानिँदै आएको थियो, उनले पनि निर्वाचनको आह्वान गरेकी छन्। उनले यस्तो गर्नु जरूरी थिएन नि।
जीम लेहररः तपाईंले यसैलाई ‘परिवर्तनको हावा’ भन्न खोज्नुभएको हो?
कोइरालाः हो।
लेहररः नेपालको वास्तविक समस्या आर्थिक हो भनेर पनि कतिपयले भनेका छन्, के तपाईं यसमा सहमत हुनुहुन्छ? अहिले नेपालको औसत वार्षिक प्रतिव्यक्ति आय १११ अमेरिकी डलर छ। प्रजातन्त्र पुनर्स्थापनाले नेपालको यो आधारभूत आर्थिक समस्या कसरी हल गर्न सक्छ?
कोइरालाः हाम्रो विचारमा आर्थिक विकास भनेको सम्पूर्ण जनतालाई विकास प्रक्रियामा सहभागी गराउनु हो। विकास भनेको कुनै एउटा ठाउँमा एउटा कारखाना खोल्नु वा कुनै एउटा ठाउँमा खाद्यवस्तु उत्पादन गर्नु वा अन्यन्तै राम्रो आर्थिक योजना बनाउनु वा अमेरिकाबाट प्रशस्त आर्थिक सहायता हासिल गर्नु होइन। यदि हामी समाजको तल्लो तह — तल्लो तह भन्नाले समाजको सबभन्दा पिँधमा पारिएको तहलाई विकासको प्रवाहमा ल्याउन चाहन्छौं भने सबभन्दा पहिला उनीहरूलाई आर्थिक प्रक्रियामा सहभागी गराउनुपर्छ। यसको निम्ति हामीलाई संस्थाहरूको खाँचो पर्छ। त्यस्तो संस्था जसको राजनीतिक स्वार्थ छ।
अहिले जे भइरहेको छ, त्यसमा कुनै योग्य व्यक्तिले विकासको खाका कोर्छ, अर्को कुनै व्यक्ति अमेरिका आउँछ, उसले राष्ट्रपति कार्टरलाई भेट्छ, आफ्नो विकासको योजना कार्यान्वयनमा लैजान आर्थिक सहायता माग गर्छ र त्यही पैसाले योजनाहरू कार्यान्वयन गर्छ। त्यसैले हाम्रो नारा भनेको ‘विकासका लागि प्रजातन्त्र’ हो।
लेहररः म यहाँ तपाईंलाई सोध्न चाहन्छु, मैले नेपालका बारेमा प्रकाशित धेरै सामग्रीहरू पढेँ। राजाका एक अत्यन्तै निकट सहयोगीको भनाइ म यहाँ उद्धृत गर्न चाहन्छु। उनले भनेका छन्, ‘जनताले हामीसँग स्वस्थ र स्वच्छ खानेपानी, सडक, विद्यालय र अस्पताल माग गरेका छन्, उनीहरूले प्रजातन्त्र माग गरेका छैनन्।’ यहाँ उनले हामीसँग भन्नुको मतलब सरकारसँग भन्न खोजेको हो।
कोइरालाः प्रजातन्त्रको चाहना नराख्ने मान्छे को होला? को होला जसले हामीलाई प्रजातन्त्र चाहिन्छ भनेर भन्दैन। हालसालै– करिब आठ वा दस महिनाअघि राजाले लागू गरेको यो पञ्चायत प्रणाली...
म्याक्निलः पञ्चायत प्रणाली भन्नाले गाउँ पञ्चायतहरूमा आधारित राजनीतिक प्रणाली!
लेहररः क्षेत्रीय स्तरमा गाउँ पञ्चायत र राष्ट्रिय स्तरमा राष्ट्रिय पञ्चायत!
कोइरालाः यो एक किसिमले तीन तहको प्रणाली हो। नेपालमा पछिल्लो सोह्र वर्षदेखि यो प्रणाली चल्दै आएको छ र यसको विरोध गर्ने जनताको आवाज सुनिएको छैन। प्रतिपक्षी आवाजलाई अस्वीकृत गरिएको छ। यही आधारमा जनताले यो प्रणाली स्वीकार गरेका हुन् कि भन्ने राजालाई लाग्यो होला। यही आधारमा म जनताको मनस्थिति विश्लेषण गर्छु, उनीहरूको विचार बुझ्छु भन्ने राजाले सोचेका होलान्। त्यसैले त उनले वर्तमान संविधानमा के–कस्तो संशोधन गर्न सकिन्छ भनेर सल्लाह, सुझाव लिन संविधान सुुझाव आयोग गठन गरे र आयोगका सदस्यहरूलाई देशभरि पठाए। आयोगका पदाधिकारीहरूले जिल्लाभरि गएर लिखित र मौखिक रूपमा राय, सुझाव संकलन गरे। उनीहरूले प्रशासनिक सुधार र उदारीकरणको माग राखे। नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको माग राखे...
म्याक्निलः तपाईंले भन्न खोज्नुभएको त्यस्ता स्वतन्त्रताहरू जुन जनताले सन् १९५९–६० मा आंशिक रूपले प्रयोग गर्न पाएका थिए जब तपाईं देशको प्रधानमन्त्री हुनुहुन्थ्यो?
कोइरालाः हो, ती सबै किसिमका स्वतन्त्रता पुनर्बहाली होस् भन्ने उनीहरूले चाहेका छन्।
म्याक्निलः के म तपाईंलाई एउटा कुरा सोध्न सक्छु– जनता तपाईंको पक्षमा छन्, तपाईंको समर्थनमा छन् भनेर विश्वास गर्न तपाईंसँग के प्रमाण छ? तपाईं केही पुस्तादेखि नै नेपालको लोकप्रिय राजनीतिक व्यक्तित्व रहँदै आउनुभएको छ र खासगरी नेपालका युवा पुस्तामा तपाईंको बलियो पकड छ भनेर सधैं भनिँदै आएको छ तर अहिले पनि उनीहरूको समर्थन तपाईंसँगै छ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ? के समय सँगसँगै तपाईंको पकड र समर्थन कमजोर भएको हुन सक्दैन र?
कोइरालाः किनभने भर्खरै मात्र राष्ट्रिय पञ्चायतका स्नातक उम्मेदवारमध्ये हामीले समर्थन गरेका चार जना साथीहरू विजयी हुनुभयो।
लेहररः राष्ट्रिय पञ्चायत भन्नाले नेपालको राष्ट्रिय संसद?
कोइरालाः सही भन्नुभयो। त्यसमा स्नातक पास गरेका व्यक्तिहरूले भोट हाल्ने उम्मेदवारमा हामीले चार जनालाई समर्थन गरेका थियौं। तेह्र हजार मतदाता थिए। सरकारले ती चार जनाको तर्फबाट परिपत्र नै जारी गरेको थियो। हामीले समर्थन गरेका चारै जना उम्मेदवार विजयी भए। तर चुनाव जित्नेबित्तिकै उनीहरूलाई जेल हालियो।
म्याक्निलः यसको मतलब सरकारसँगको प्रत्यक्ष प्रतिस्पर्धामा तपाईंहरू जित्नुभयो, सरकार पराजित भयो, होइन त?
कोइरालाः मेरो भन्नुको मतलब के भने, जब जब जनतालाई उनीहरूको मनको भावना अभिव्यक्त गर्ने अवसर दिइयो, तब तब जनताले प्रजातान्त्रिक अधिकार माग गरेका छन्।
लेहररः के राजा दुष्ट व्यक्ति हुन्?
कोइरालाः मलाई त्यस्तो लाग्दैन। यसपालि अमेरिका आउनुअघि मैले उनीसँग नब्बे मिनेट कुराकानी गरेको थिएँ। अझ त्योभन्दा अगाडिको कुरा गर्दा जब मेरो घाँटीको समस्या सुरू भयो, जब यसको लक्षण देखिन थाल्यो, राजाले मेरो परीक्षण गराउन आफ्ना शाही चिकित्सक नै पठाएका थिए। राजाले पठाएका ती चिकित्सकले मेरो स्वास्थ्यको गम्भीर रिपोर्ट दिएपछि राजाले नै मलाई बोलाउन पठाए र मैले उनीसँग नब्बे मिनेट कुराकानी गरेँ। त्यो भेट र कुराकानीबाट उनी सुझबुझ भएका व्यक्ति हुन् भन्ने मेरो मनमा छाप परेको छ।
लेहररः राजाले तपाईंलाई जेलबाट मुक्त गरेर स्वास्थ्य उपचार निम्ति अमेरिका पठाउनु र तपाईंको यो यात्रा र शल्यक्रियाको खर्चसमेत सरकारले नै बेहोर्नुको कारण मानवीय मात्र होइन, राजाले देखाएको राजनीतिक सदाशय पनि हो भनेर तपाईंले भन्नुभएको थियो। राजाले वास्तवमा के सोचेका होलान्? तपाईंलाई के लाग्छ, उनले यस्तो किन गरे?
कोइरालाः पहिलो कुरा त, अहिले समग्र दक्षिण एसिया क्षेत्रमा परिवर्तनको हावा बहँदैछ भनेर मैले अघि भनिहालेँ। दोस्रो कुरा, राष्ट्रपति कार्टर प्रजातन्त्र र मानव अधिकारको पक्षमा दृढ भएर उभिएका छन् जसले हाम्रो क्षेत्रमा ठूलो प्रभाव पारेको छ।
लेहररः अब म तपाईंलाई एउटा कुरा सोध्न चाहन्छु– तपाईंले राजासँग गरेको बाचा पूरा गर्न र उनको विश्वास कायम राख्न नेपाल फर्किन्छु भनेर भन्नुभयो। तर के राजाले तपाईं नेपाल फर्किनुहोला भनेर सोचेका होलान्? राजाले तपाईं नेपाल फर्किनुहोला भन्ने आश गरेका छैनन् कि? वा, तपाईं नेपाल नफर्किदिए हुन्थ्यो भनेर पो सोचेका छन् कि? यो पनि तपाईंको निम्ति अर्को किसिमको निर्वासन हो कि?
कोइरालाः मलाई त्यस्तो लाग्दैन। राजा म नेपाल फर्कियोस् भन्ने नै चाहन्छन्, किनभने उनले मलाई भनेका छन्, ‘तिमी आफ्नो उपचारपछि नेपाल फर्किनुपर्छ र कारागारमै बसेर मुद्दा खेप्नुपर्छ।’ मैले भनेको थिएँ, ‘म अवश्य फर्किन्छु र आफूमाथि लागेका सबै आरोपहरू सामना गर्छु।’
लेहररः तर के राजाले साँच्चै तपाईं नेपाल फर्किऊन् भनेर चाहेका छन् भन्ने तपाईंलाई लाग्छ?
कोइरालाः त्यो त म भन्न सक्दिनँ।
लेहररः अहिले यहाँ बसेर आफ्नो अन्तरआत्मालाई यो प्रश्न सोध्दा तपाईंलाई के लाग्छ? के तपाईंलाई ‘यी मान्छेले साँच्चै मलाई नेपाल फर्किऊँ भन्ने नै चाहन्छन्’ भन्ने लाग्छ? वा, तपाईं नेपाल फर्किनुभयो भने फेरि जेलमा कोच्न पाइन्छ भनेर मात्र उनले त्यसो भनेका हुन् कि?
कोइरालाः मलाई लाग्छ, उनी म नेपाल फर्किऊँ भन्ने नै चाहन्छन्। किनभने त्यो अवस्थामा मेरो बारेमा निर्णय गर्ने पूर्ण अधिकार उनीमाथि हुनेछ र उनलाई यो अवसर पनि प्राप्त हुनेछ...
लेहररः तर तपाईं नेपाल फर्किनुभयो भने राजनीतिक रूपले राजाको निम्ति थुप्रै अड्चनहरू ल्याउन सक्नुहुन्छ, ल्याउनुहुन्न त?
कोइरालाः यदि राजा राजनीतिक उदारीकरणमा इच्छुक छैनन् भने पक्कै मेरो उपस्थितिले उनलाई समस्या आउनसक्छ। तर यदि उनी इच्छुक छन् भने कुनै समस्या हुने छैन र मेरो विचारमा उनी राजनीतिक उदारीकरणमै इच्छुक छन् र म यही अनुमानका आधारमा अघि बढ्दैछु।
म्याक्निलः तपाईंले भन्नुभयो, मानवअधिकारमा कार्टरको प्रतिबद्धताले तपाईंको क्षेत्रमा ठूलो प्रभाव पारेको छ। तपाईंले कार्टरसँग भेट्ने इच्छा पनि देखाउनुभएको छ। उनीबाट कस्तो सकेत आउला भन्ने तपाईंलाई लाग्छ त?
कोइरालाः त्यो त मलाई थाहा छैन।
म्याक्निलः मतलब, तपाईंले अहिलेसम्म कुनै जवाफ पाउनुभएको छैन?
कोइरालाः होइन, मैले उनलाई भेटघाटको निम्ति औपचारिक चिठी पठाएको छैन। तर मैले अस्पतालमा केही व्यक्तिहरूलाई भेटेको थिएँ...
म्याक्निलः र तिनै व्यक्तिहरूलाई तपाईंले आफ्नो इच्छा प्रकट गर्नुभयो?
कोइरालाः हो।
लेहररः तीमध्ये केही व्यक्तिले तपाईंको तर्फबाट चिठी लेखे कि?
कोइरालाः हो।
म्याक्निलः कार्टरसँगको भेटबाट कस्तो उपलब्धि हासिल होला भन्ने तपाईंले अपेक्षा गर्नुभएको छ?
कोइरालाः मैले अपेक्षा गरेको उपलब्धि भनेको नैतिक बल मात्र हो। आफ्नो देशमा प्रजातन्त्र निम्ति लडिरहेका हाम्रा जनतालाई उनले कुनै किसिमको नैतिक बल देलान् भन्ने मेरो अपेक्षा हो। संसारका महत्वपूर्ण व्यक्तिहरू हाम्रो देशमा प्रजातन्त्र पुनर्बहालीको पक्षमा छन् भन्ने हामीले थाहा पाउने छौं, हाम्रो देशले थाहा पाउनेछ। यो एक किसिमले नेपालको प्रजातन्त्रप्रति कार्टरको समर्थन हुनेछ।
लेहररः त्यसो भए तपाईंले कुनै किसिमको सहकार्यको अपेक्षा राख्नुभएको छैन? तपाईं खाली उनलाई भेट्न मात्र चाहनुहुन्छ? उनलाई भेट्नु नै सांकेतिक रूपले पर्याप्त छ भन्ने तपाईं सोच्नुहुन्छ? तपाईंलाई भेटेपछि कार्टरले के गर्नेछन् भन्नेसँग तपाईंलाई कुनै वास्ता छैन? के यो सही हो?
कोइरालाः एकदम। उनले मलाई भेट्नु नै पर्याप्त छ।
म्याक्निलः के तपाईं आफ्नो अवस्थालाई रूसी विद्रोही बुकोस्कीसँग दाँज्नुहुन्छ जसले...
कोइरालाः होइन, हाम्रो अवस्था अलिकति फरक छ। म नेपालको राजनीतिक शक्तिको प्रतिनिधित्व गर्छु। उनीहरू एकल विद्रोही हुन्। अझ महत्वपूर्ण कुरा त, हामी नेपालको वर्तमान तानाशाही प्रणालीको विकल्पको प्रतिनिधित्व गर्छौं। तर रूसका विद्रोहीहरू त्यहाँको राजनीतिक विकल्प होइनन्। यो हामीबीचको बाह्य भिन्नता हो।
म्याक्निलः सन् १९५१ यता अमेरिकाले नेपाललाई कुल दुई अर्ब डलरको वैदेशिक सहायता दिएको छ र अहिले वासिङ्टनबाट हामी खबरहरू सुन्दैछौं, कार्टर सरकारले सहायताको आकार दोब्बर बनाउनेबारे सोचिरहेको छ। यस्तो निर्णय भयो भने के त्यो अमेरिकाबाट नेपालको वर्तमान राजनीतिक प्रणाली स्वीकृत गरिएको ठहरिँदैन?
कोइरालाः मेरो विचारमा यी दुइटै फरक कुरा हुन्। एउटा हाम्रो देशको आर्थिक विकासका लागि अमेरिकी सरकारबाट गरिने आर्थिक सहायतासँग सम्बन्धित छ भने अर्को राजनीतिक विषयसँग सम्बन्धित छ। कार्टरले यी दुवैलाई बराबरी प्राथमिकतामा राख्नेछन् र उनी नेपालको प्रजातन्त्रको पक्षमा उभिनेछन् भन्ने मेरो आशा छ।
म्याक्निलः के तपाईं कार्टरले अमेरिकाको वैदेशिक सहायतालाई मानवअधिकारको मुद्दासँग जोडून् भन्ने चाहनुहुन्छ?
कोइरालाः होइन, यस्तो कुराको समर्थन गर्नुपर्छ भन्ने मलाई लाग्दैन। किनभने यो आवश्यक नै छैन। म यही कुरा वासिङ्टनका मानिसहरूलाई भनिरहेको छु। जहाँसम्म मेरो सवाल छ, अमेरिकाले प्रजातन्त्रप्रति आफ्नो प्रतिबद्धता देखाउनुको मतलब वा कार्टरले ‘म मानव अधिकारको पक्षमा उभिन्छु’ भन्नुको मतलब, अमेरिकाले आफ्नो जनसम्पर्क अभियानलाई बढावा दिन मात्र खोजेको होइन र शितयुद्धको समयमा जस्तो रूसविरूद्ध प्रोपोगान्डा मात्र गर्न खोजेको होइन, अमेरिका साँच्चिकै प्रजातन्त्र र मानव अधिकारप्रति प्रतिबद्ध छ भनेर संसारभरका जनताले बुझे भने त्यो मेरो निम्ति पर्याप्त हुनेछ।
लेहररः नेपालमा मानव अधिकारको अवस्था कत्तिको नराम्रो छ?
कोइरालाः मेरो विचारमा कुनै पनि मुलुकका लागि मानव अधिकार भनेको प्रजातान्त्रिक अधिकारसँग जोडिएको हुन्छ।
म्याक्निलः तर नेपालमा त्यो अधिकार कुन हदसम्म हनन् भइरहेको छ?
लेहररः वा अर्को शब्दमा भन्दा नेपालमा मानव अधिकार कुन हदसम्म नराम्रो अवस्थामा छ?
कोइरालाः पहिले त्यो एकदमै नराम्रो अवस्थामा थियो तर पछिल्लो समय त्यति नराम्रो अवस्था छैन। त्यसैले त म भन्दैछु, मैले नेपालमा सुधारका केही किरणहरू देख्दैछु। त्यसैले म आशावादी छु, म नेपाल फर्किएपछि थप नयाँ सुधारहरू हुन सक्नेछन्।
लेहररः कोइरालाज्यू, तपाईं अमेरिका आएयता एउटा शल्यक्रिया भइसकेको छ र छ महिनामा फेरि अर्को शल्यक्रिया गर्नुपर्नेछ। नेपाल फर्किएपछि तपाईंले एक किसिमको अनिश्चित समय सामना गर्नुपर्नेछ, त्यो तपाईंको निम्ति एकदमै खराब अवस्था पनि हुनसक्छ, यस्तोमा तपाईं किन निर्वासनमै बस्नुहुन्न? किन तपाईं नेपाल फर्किन दृढ हुनुहुन्छ?
कोइरालाः पहिलो त, मैले यो प्रश्नको जवाफ सुरूमै दिइसकेँ।
लेहररः तर म तपाईंलाई व्यक्तिगत तवरमा यो प्रश्न सोध्दैछु। तपाईंको परिवारका सदस्यहरू अझै पनि जेलमै छन् र मैले बुझेअनुसार तपाईंका अत्यन्त निकट साथीहरू पनि जेलमै छन्।
कोइरालाः त्यहाँ मेरा साथीहरू छन् र मेरो परिवारका केही सदस्यहरूविरूद्ध पक्राउ पुर्जी पनि जारी भएको छ। जस्तो, मेरो जेठो छोराविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। ऊ अहिले भारतमा निर्वासित छ र नेपाल फर्कने अवस्थामा छैन। मेरो कान्छो छोराविरूद्ध पनि राजद्रोहको मुद्दा चलाइएको छ र मेरो बुहारी र मेरो एक जना भाञ्जी पनि जेलमै छन्। उनी मसँगै नेपाल गएकी थिइन् र अहिले उनी जेलमा छिन्। उनी नेपालको एक मात्र महिला राजनीतिक बन्दी हुन्।
म्याक्निलः तपाईंले नेपाल नफर्किने निर्णय गर्नुभयो भने अहिलेको सन्दर्भ र अवस्थामा धेरै मान्छेले तपाईंको यो निर्णयको कारण बुझ्दैनन् र?
कोइरालाः तर यहाँ बसेर म आफ्नो स्वास्थ्य उपचारबाहेक अरू के गर्न सक्छु? जबकि फर्किएर बन्दी हुनु भनेको प्रजातान्त्रिक अधिकारका लागि भइरहेको संघर्षमा मेरो भागको योगदान गर्नु हो।
म्याकनिलः हामीसँग कुराकानी गर्नुभएकोमा तपाईंलाई धेरै धन्यवाद। तपाईंको सुुरक्षित यात्राको शुभकामना।