बिपी प्रतिष्ठान डुबाउने खेल– ७
विगत दुई साताभन्दा बढी समयदेखि धरानस्थित बीपी प्रतिष्ठानमा आन्दोलन चलिरहेको छ। यही असार १५ गते प्रतिष्ठानका पदाधिकारीहरू र संस्थाका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीबीच वार्ता थियो।
वार्ता सुरू भयो। बारम्बार वार्ता र सहमति हुने तर कार्यान्वयन नहुने गरेको भन्दै आन्दोलनरत पक्षबाट डाक्टर एसपी रिमालले वार्ताका पूर्वशर्तहरू राख्न थाले।
डा. रिमाल बोल्न सुरू गरेलगत्तै उपकुलपति ज्ञानेन्द्र गिरीले टेबल ठटाए र केही नबोली जुरुक्क उठेर बाहिरिए। दुई मिनेटको मौनतापछि डा. गिरी ढुन्मुनिँदै वार्तास्थलमा फर्किए र शौचालय गएर आएको बताए।
त्यसपछि डा. गिरीको एकालाप सुरू भयो।
त्यसको सार यस्तो थियो- म संस्थाको १५ वर्षदेखिका समस्याबाट यसलाई मुक्त गराउन आएको हुँ। म सत्ताको बलमा पदमा आएको होइन। मलाई नपुग्दो केही छैन। तपाईंहरू चाहनुहुन्छ भने म पद छाड्न तयार छु।
यी कुरा संयमित भएर भनेको भए प्रतिष्ठानबाट डा. गिरीको बहिर्गमन सम्मानजनक हुन्थ्यो र त्यहाँका समस्या समाधान गरेर आन्दोलन टुंग्याउने बाटो खुल्थ्यो। तर उनका खुट्टा लर्बराइरहेका थिए। बोली नशाले चुर भएको सुनिन्थ्यो।
संघर्ष समितिका संयोजक डा. रिमालले केही बोल्न खोज्दा फेरि पनि उनले रोके र एकोहोरो, चर्को बोल्न थाले। वार्ता अघि बढ्न असम्भव भयो। आन्दोलनकारी पक्षले वार्ता छाडेर उपकुलपतिको 'मापसे' जाँच हुनुपर्ने माग गर्यो। अस्पतालजस्तो संवेदनशील ठाउँमा उपकुलपति कार्यालय समयमा नशामा चुर भएर आउनु सामान्य कुरा थिएन।
तर प्रहरीले संस्थाको मर्यादाको रट लगाएर डा. गिरीको मापसे जाँच गर्न मानेन।
दिनभरिमा आन्दोलनकारीले पत्ता लगाए- दुई सातासम्म आन्दोलनबाट भागेर काठमाडौं बसेका डा. गिरी आफैं मदिरा सेवन गरेर प्रतिष्ठान पुगेका भए पनि बाँकी शीर्ष पदाधिकारीले त्यसपछिका घटनाक्रम रोक्न केही गरेनन्। बरू मिडियासित समन्वय गरेर डा. गिरीको नशाग्रस्त अवस्था र व्यवहार छिटो सार्वजनिक गर्न भूमिका खेले।
संस्थामा पारदर्शिता र जवाफदेहिताका लागि त्यस्तो गरिएको भए कुरा बेग्लै हुन्थ्यो। तर प्रतिष्ठानमा पदका लागि निरन्तर चल्ने छिनाझप्टीमा डा. गिरीलाई उछिनेर आफू उपकुलपति हुन त्यसो गरिएको भन्दै आन्दोलनरत पक्षले त्यसै दिन साँझ बैठक गरेर चारै शीर्ष पदाधिकारीको राजीनामालाई आन्दोलनको बटमलाइन बनायो।
प्राइभेट प्राक्टिसमा जीवन बिताएका डा. गिरीले पछिल्लो चुनावमा कांग्रेसबाट एमाले छिरेर भानुभक्त ढकाललाई चुनावमा सघाए। ढकाल स्वास्थ्यमन्त्री तथा बिपी प्रतिष्ठानको सहकुलपति भएपछि उनले गिरीलाई उपकुलपति बनाए। त्यसका लागि डा. गिरीले आफूले कुनै विश्वविद्यालयबाट नपाएको प्राध्यापक उपाधि अवैध रूपमा आफैंलाई दिए। उपकुलपति बनेपछि ढकालका ज्वाइँ र भतिजालाई प्रतिष्ठानमा आफ्नो सल्लाहकारको जागिर दिए।
उनी आएपछि प्रतिष्ठानमा दसौं करोडदेखि अर्बसम्म घोटाला भएका भनेर समाचार आएका आयै छन्। तर न उनलाई सरकारले चलाएको छ, न अख्तियारले। कानुनमाथि रहेको भ्रमले उनलाई आँट दिएको देखिन्छ।
अर्कोतिर हाल रजिष्ट्रार पदमा रहेका मोहनचन्द्र रेग्मी नियुक्त भएर आउने बेलामै तत्कालीन स्वास्थ्यमन्त्री ढकाललाई सात करोड घुस दिएको आरोप लागेको थियो। त्यो आरोप पनि जोकोहीले नभई उपकुलपति गिरीका स्वकीय सचिव दिलिप भट्टराइले सार्वजनिक रूपमा लगाएका थिए।
यही वैशाख २३ मा फेसबुकमा स्टाटस लेख्दै भट्टराइले भनेका थिएः ढकाललाई दिइएको त्यो सात करोड तत्काल कुनै कम्पनीले बेहोरेको थियो। शर्त थियो, स्वास्थ्य सामाग्री किन्न र उपकरण आयात गर्न त्यही कम्पनीलाई जिम्मा दिनुपर्ने। अद्यापि फेसबुकमा रहेको त्यो स्टाटस यस्तो छः
यसरी घुस लेनदेनको आरोप सार्वजनिक रुपमा लागे पछि संस्थाका चिकित्सक र विद्यार्थीहरूले रेग्मीलाई आग्रह गरे- कि यसको तपाईंले खण्डन गरेर गलत आरोप लगाउने व्यक्तिविरूद्ध कानुनी लडाइँ लड्नुस् कि पद छाडेर छानबिनको बाटो खोल्नुस्।
तर न घुस दिएका भनिएका रजिष्ट्रार रेग्मीले त्यो आरोपको प्रतिवाद गरेका छन्, न लिएका भनिएका पूर्व मन्त्री ढकालले। खण्डनसम्म नगरेपछि कानुनी लडाइँको त कुरै उठेन।
त्यो विषयमा त्यत्रो बहस भइरहँदा न प्रतिष्ठानका कुलपति केपी ओली नेतृत्वको सरकारले यसको खोजीनीति गर्यो, न उनले संविधान छलेर नियुक्त गराएका अख्तियारका पदाधिकारीले नै यसमा अनुसन्धान गरे।
त्यसबाहेक रजिष्ट्रार पद पाउन उपकुलपति गिरीका स्वकीय सचिवलाई मोटरसाइकल उपहार दिएको प्रकरणमा समेत रेग्मी मुछिएका थिए। एक स्थानीय पत्रकारसित उनले गरेको ह्वाट्सएप च्याटमा (जुन मसँग सुरक्षित छ) रेग्मीले उल्लिखित मोटरसाइकल व्यक्तिगत नभई प्रतिष्ठानको रहेको बताएका छन्।
पत्रकारले रजिष्ट्रार नहुँदै उनले किनेको मोटरसाइकल कसरी अफिसको हुन्छ भनेर सोध्दा रेग्मीले लेखेका छन्ः अब अफिसको हुन्छ, त्यति बेलामा पनि अफिसकै थियो।
तर उपकुलपतिका स्वीकय सचिवले महिनौं चलाएपछि पनि न त्यो मोटरसाइकल अफिसको भयो, न प्रतिष्ठानले त्यसको पैसा तिर्यो। बरू उल्टै त्यसको भुक्तानी नपाएपछि शोरूमले मोटरसाइकल फिर्ता लगिसकेको छ।
डा. गिरी उपकुलपति भएर आउनुअगाडि केही समय हालका रेक्टर गुरु खनालले कार्यवाहक उपकुलपति बनेर काम गरेका थिए। त्यति बेला उनको मुख्य कदम भनेको बिपी दास उपकुलपति हुँदा बनेको कर्मचारी–पदाधिकारी–व्यापारी 'गिरोह'लाई पुनर्स्थापना गर्नु थियो। दासपछि उपकुलपति बनेका डा. राजकुमार रौनियारले त्यो सञ्जालका कर्मचारीलाई अदलबदल गरिदिएका थिए।
अस्पताल निर्देशक र उपकुलपतिका रूपमा दुई कार्यकाल शीर्ष पदाधिकारी बनेका बिपी दासमाथि अख्तियारले समेत भ्रष्टाचार मुद्दा हालिसकेको छ। तर उनले संस्थामा खडा गरेको फटाहा व्यापारी र भ्रष्ट कर्मचारीको गिरोह अद्यापि सक्रिय रहेको र संस्था बर्बादीको मूल कारण त्यही रहेको भन्नेबारेमा यही श्रृंखलाको पछिल्लो अंकमा समेत चर्चा गरिएको छ।
अस्पतालका उपकरण चुस्त राख्ने जिम्मा बायोमेडिकल शाखाको हुन्छ। यसमा इमानदार र कुशल व्यक्तिहरू नभएमा कुनै पनि अस्पताल उपकरणजन्य खर्च र घाटाका कारण डुब्न सक्छ। त्यसैले बिपीमा पनि संस्था डुबाउन यो विभागको जिम्मा लिने व्यक्तिहरू ठूलो हदसम्म जिम्मेवार छन्।
व्यापारीहरूसित अर्बौंका कमसल सामग्री खरिद गरेपछि त्यसको ढाकछोप गर्न बिपी दासलाई आफ्नो स्वार्थअनुसारको मानिस बायोमेडमा राख्नु थियो। तर उनले चाहेको मानिसको योग्यता अर्कै थियो। त्यसैले उनले इलेक्ट्रोमेड नामक अरू कुनै अस्पतालमा नहुने शाखा स्थापना गरेर त्यसको जिम्मा आफ्नो 'गिरोह'का मानिसलाई दिएका थिए। अनि बायोमेड शाखालाई इलेक्ट्रोमेड अन्तर्गत राखेर सञ्चालन गरेका थिए।
कार्यवहाक उपकुलपति बनेपछि रेक्टर गुरु खनालको मुख्य काम रौनियारले हटाएका बिपी दास सन्जालका मानिसलाई फेरि बायोमेड र कम्प्युटरजस्ता शाखामा स्थापित गरेर छिन्नभिन्न भएको गिरोहलाई फेरि स्थापना गर्ने थियो। प्रतिष्ठानका धेरैको विश्वास अहिले पनि के छ भने प्रतिष्ठानको अर्बौं भ्रष्टाचारका काण्डमा मौन बस्ने अख्तियारले तत्कालीन उपकुलपति रौनियारविरूद्ध ‘स्टिङ अपरेशन’ गरेर उनलाई हटाउँदा अन्ततः बिपी दासका पालादेखि संस्थामा स्थापित गिरोह पुनर्जीवित भयो।
त्यसैले रौनियारले घुस लिएको पुष्टि भए पनि त्यो समग्र अपरेसनचाहिँ प्रतिष्ठानमा जरो गाडेर बसेका अरू भ्रष्टको स्वार्थ वा मिलेमतोमा भएको दाबी उनीहरूले गर्छन्।
संस्थाका चौथो शीर्ष पदाधिकारी अर्थात् अस्पताल निर्देशक गौरीशंकर शाहले उपकुलपति गिरीसित मिलेर गरेका अनियमितता र भ्रष्टाचारबारे त बारम्बार समाचार आइरहेका छन्। खासगरी कोभिड अस्पतालका लागि सामग्री खरिदमा भएको अनियमिततामा उनको संलग्नताबारे यही श्रृंखलाको अघिल्लो अंकमा पनि चर्चा गरिएको छ।
संस्थामा यतिसम्म अराजकता र दण्डहीनता भएकैले अहिले संस्थाको दोहन गर्न उपकुलपति पदमा पुग्ने होड अन्य शीर्ष पदाधिकारीबीच चर्किएको देखिन्छ।
भौतिक सम्पत्ति तथा लगानीका हिसाबले नेपालकै धनी स्वास्थ्य र शिक्षण संस्था हो धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान। यसको निर्माण नै भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) को मोडलमा गरिएको थियो। त्यसका लागि भारतले भौतिक संरचना निर्माणमा मात्र नभई लामो समयसम्म दक्ष जनशक्ति समेत पठाएर ठूलो सहयोग गरेको थियो।
राम्रोसित चलेको भए आज यो संस्थाले काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालले भन्दा धेरै मानिसलाई सेवा दिइरहेको हुने थियो। नेपालका मात्र नभई उत्तर भारतका मानिसहरू समेत उपचार गराउन त्यहाँ आइपुग्ने थिए।
तर आजका दिनमा बिपी प्रतिष्ठान धरासायी हुने संघारमा छ। अस्पतालमा आउने बिरामी संख्या ठूलो छ तर तपाईं हाम्रो घर छेउका सामान्य ल्याबले गर्ने जाँच त्यहाँ हुँदैनन् र बिरामी बाहिर पठाइन्छन्। अपरेसन र आइसियुका लागि बहुसंख्यक बिरामी बाहिरै पठाइन्छन्। औषधिका लागि बाहिरै, सिटी र एमआरआइका लागि बाहिरै। यसबाट संस्थालाई वार्षिक एक अर्ब घाटा भइरहेको छ भने तिनै सेवाका लागि बिरामीले बाहिर दुई अर्बभन्दा बढी खर्च गरिरहेका छन्।
सबै खाले स्वास्थ्य जनशक्तिको पढाइ हुने संस्थामा सबै जसो विषयको पढाइ र सिकाइ आवश्यक उपकरणको अभावका कारण प्रभावित छ। नर्सिङका विद्यार्थीहरू त कतिखेर ढलेर पुरिहाल्ला भन्ने जस्तो भवनमा बसेर ज्यान जोखिममा राख्दै पढ्न विवश छन्।
कुलपति र प्रधानमन्त्री तथा उनको पार्टीको ध्यान कसरी पदाधिकारीमार्फत संस्थाको दोहन गर्ने भन्नेमा मात्रै केन्द्रित हुँदा संस्थामा रातदिन काम गर्नेको वृत्ति विकास ठप्प छ। तलब भत्ता नियमित छैन। धेरै विज्ञ चिकित्सक यसै कारण संस्थाबाट बाहिरिइसकेका छन्। प्रतिष्ठानले दिने सेवाहरू निरन्तर खुम्चिँदै छन्।
देशकै धनी संस्थाको संचित घाटा आठ अर्बको हाराहारी पुगेको छ, बेरुजु एक अर्ब कटेको छ। पाइला पाइलामा भ्रष्टाचार छ।
यसरी हेर्दा कुलपतिदेखि सहकुलपति र उपकुलपति हुँदै रजिष्ट्रार, रेक्टर र निर्देशकसम्म कुनै पनि तहमा यो प्रतिष्ठानलाई होश र सचेतनापूर्वक चलाइएको छैन। नैतिकता, जवाफदेहिता र उत्तरदायित्वबोधका त कुरै छाडौं।
यसको सञ्चालनको हरेक तहमा घुस र भ्रष्टाचारको नशा छँदै थियो, उपकुलपति डा. गिरीले मदिराको नशा जोडेसँगै प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीको बहिर्गमन अब निश्चितजस्तै छ।
भाग १- बिएन्डसीको स्वार्थमा डुबाइँदै बिपी प्रतिष्ठान!
भाग २- सरकारी अस्पताल डुबाएर नेताले के पाउँछन्?
भाग ३- बिपी प्रतिष्ठान टाटः घाटा ७ अर्ब, बेरूजु १ अर्ब
भाग ४- भ्रष्टाचारले ज्यान लिने, अख्तियार रमिता हेर्ने
भाग ५- कमिसनले गर्दा बिपी प्रतिष्ठानमा बिरामीले २ अर्ब गुमाउने, अस्पतालले १ अर्ब
भाग ६- बिपी प्रतिष्ठान डुबाउने 'कानुनमाथिको' परिवार