नमस्कार म समर्थक।
केको समर्थक?
तपाईं जसलाई मान्नुहुन्छ, त्यही अनुमान गर्नुस्। म उसैको समर्थक।
म जन्मिँदै समर्थक भएर जन्मिएको होइन। नाम पनि आमाबाले समर्थक राखिदिएका थिएनन्। नाम त पवन थियो। तर अहिले चाहिँ 'समर्थक' नै मेरो सबभन्दा ठूलो परिचय हो।
ठाउँ-ठाउँमा फारम बुझाउँदा पेसा के? भनेर सोधिन्छ। म जहिल्यै 'अन्य' मा चिनो लगाउँछु। किनकि त्यहाँ 'समर्थक' को लागि कुनै डब्बा हुँदैन। हुन्थ्यो भने म त्यहीँ चिनो लगाउँथेँ।
नलगाऊँ पनि किन? मैले दत्तचित्त भएर सबभन्दा बढी गरेको केही काम छ भने त्यो समर्थन नै हो।
यो कामको आम्दानी यति गजब छ, यो एउटा पेसा अपनाएपछि अर्को कुनै पेसाका लागि दुःख गर्नुपर्दैन। मनलागे पत्रकार, मनलागे उपसचिव, मनलागे विशेषज्ञ, जेको मनलाग्यो त्यहीको विशेषज्ञ। नामुद डनदेखि राजदूत गणसम्म, जे चाह्यो त्यही 'साइड-जब' गर्न पाइन्छ। बस् 'मेन-जब' समर्थन हुनुपर्यो।
यो पेसाले मेरो र मैले यो पेसाको, हामीले एकअर्काको गरिमा यति बढाएका छौं कि के भनौं!
अस्ति छोरा पवनपुत्रलाई स्कुलमा 'ठूलो भएर के बन्छौ?' भनेर सोधेछन्, केटोले 'समर्थक बन्छु सर' भनिदिएछ।
भेट हुँदा क्लास टिचरले मलाई सोध्दै थिए, 'के सिकाउनुभएको त्यस्तो, कस्तो पेसा हो त्यो?'
मैले पनि भनिदिएँ, 'यो यस्तो अद्भूत पेसा हो सर, जसले बाँकी सब पेसाका लागि बाटो खोलिदिन्छ। तपाईंको दक्षता देखिएन, त्यसैले विद्यार्थीको हाजिरी लगाउँदै बस्नुपरेको छ। यसको गरिमा के हो, आफ्नो प्रिन्सिपललाई सोध्नुस्।'
म एक्लै यो पेसामा छैन है फेरि, झुक्किनुहोला। हामी टन्नै छौं।
कार्यालयका चमेना गृहदेखि किबोर्डका झगेडा गृहसम्म, जहाँकहीँ हाम्रो व्यापक सहभागिता हुन्छ। काम उस्तै-उस्तै भए पनि फरक-फरक छौं हामी। अनि हामीजस्तै हामीलाई यो पेसा दिने भगवान पनि फरक-फरक छन्।
हुन त उनीहरूको नियत प्रायः एउटै हो, स्रोत पनि लगभग एउटै। भन्छन् नि, सबका मालिक एक। हाम्रा पनि अलग-अलग भगवान तर मालिक एक। सबै भगवानले ताकिरहेको सिंहासन पनि एक। भगवानलाई सिंहासनसम्म पुर्याउने वाहन पनि एक। हामी समर्थक चाहिँ वाहनलाई उड्न सघाउने हावा हौं।
अनि हावाजस्तै जसलाई जता पनि छोइहल्ने नशा- 'समर्थन'। अरूलाई रक्सीजस्तो नशा लाग्दो हो, हामीलाई प्रेमजस्तो लाग्छ। आफूलाई केही नराम्रो गर्ने भए पो रक्सीजस्तो नशा भन्नु। यो नशाले त उपहार मात्रै दिन्छ, प्रेमजस्तो।
पहिलो उपहारका रूपमा चस्मा पाइन्छ। पावरका पुजारीले लगाइदिने पावरवाला चस्मा। पावरवाला मात्रै कहाँ, फिल्टरवाला चस्मा। किनकि एकपटक यो चस्मा लगाएपछि एकाएक सब सुन्दर मात्र देखिन थाल्छ। र जति छ, त्योभन्दा पाँच गुणा बढी सुन्दर देखिन थाल्छ।
चिल्ला बाटा सुन्दर, अग्लो भवन सुन्दर, चुच्चो नक्सा सुन्दर। सबथोक सुन्दर।
कुरुप भनेका, यो केही नशा नचाखेका गोबरगणेशहरू मात्रै छन्। चस्मा लगाउँदैनन् अनि संविधान, बिरामी, लास, भोक देख्छन्।
म राष्ट्रवाद देख्छु, उनीहरू जनता भुलाउने चतुर्याइँ देख्छन्। म 'हामी यहाँ छौं' भन्दै भुइँ बस्नेहरूमा लोकतन्त्र मरेको शोक देख्छु, उनीहरू चाहिँ सत्ताको भोक देख्छन्। हुँदाहुँदा हाम्रा शेरजस्ता बहादुर भगवान चार-चारपटक प्रधानमन्त्रीको सिंहासनमा बस्न पाएको पनि जित होइन रे उनीहरूका लागि। देशले चाहिँ एकपटकको हारले नचेतेर अरू थप तीनपटक हारेको संकेत हो रे!
यति मात्रै ल्वाँठ कुरा गरे त हुन्थ्यो नि! आजकाल त केसम्म भन्न थाले- उहिले मेडिकल माफिया, स्वास्थ्य थिति भन्दै अनसनको रमिता गर्ने सनकीलाई नटेरेको भएर अहिले यसरी रोगले रूवाएको हो रे!
अचम्म पर्छु म त! को रोइरहेको छ कुन्नी? हाम्रा भगवानले त चुट्किला सुनाएको सुनायै हुनुहुन्छ। हँसाएको हँसायै हुनुहुन्छ। हाँस्यचेत गतिलो छैन अनि अनेक तर्क गर्छन्।
हाम्रा भगवान मात्रै हो र, यी त हाम्रै पेसामा पनि खोट देख्छन्। अर्ती दिन खोज्ने अझ। के भन्दा, हामीले गर्दा चाहिँ हाम्रा भगवानलाई मनलाग्दी गर्न हिम्मत आएको रे। हामी सबै समर्थकले एकैपटक भगवानको हात छोड्दिए यी भगवानहरू डराउँछन् रे। भगवानले चाहिँ खासमा हाम्रो सेवा गर्नुपर्ने हो रे। हामीले एकपल्ट हिम्मत गरेर दनक दिए ठाउँमा आउँछन् रे। सब हाम्रो हातमा छ रे।
राम राम राम! म कसरी पत्याऊँ बाबा!
भगवानलाई हिम्मत आउन भक्त चाहिन्छ भन्या? भगवानको शक्ति देखिन्छ र पो भक्त भइन्छ। भगवानको भक्तिमा के छैन? बढुवा छ, पदक छ, पुरस्कार छ। मान्छे काटे पनि जेल जानुपर्दैन। पैसा कमाउन जागिर खानुपर्दैन। जति मनलाग्यो खान पाइन्छ, केही पचाउन हजमोला चाहिन्न।
फेरि जसले शक्ति देख्दैन, उसको हालत हामीलाई थाहा नभएको हो र? पहिले प्रभुको शक्ति नदेख्ने सबले पछि क्याम्पसको कोटा, लोकसेवाका अन्तर्वार्ता, बाटो-पुलको ठेक्का, सबतिर तोरीको फूल देख्छन्।
त्यसैले मैले त भनिदिएको छु, तिमीहरूलाई मेरो भगवान ठीक लाग्दैन भने देखाइदेऊ अर्को झन् राम्रो भगवान, उसैको समर्थन गरौंला। तर समर्थन नगरी चाहिँ बस्न सकिँदैन।
म त समर्थनबिना जीवनको औचित्य नै देख्दिनँ। उनीहरू पो बेरोजगार छन्, जे गरे पनि विरोध गर्छन्, जसको पनि समीक्षा गर्ने फुर्सद छ। आफ्नो त काम छ नि!
त्यही बेरोजगारीले त हो, यस्ता बेला भोकभोकै मर्नुपर्ने। एकमहिना घरमा थुनिदिए, ठन्डाराम। हाम्रो यी, घरभरि रहरको दाल, मार्सी चामल छ टनाटन। उनीहरूको विरोधले के खान दिएको छ? हदै भए पानीको फोहोरा पिउन दिन्छ बाटो बाटोमा, त्यत्ति।
तर हामीले पनि यो मार्सी चामल सित्तैमा खान पाएको होइन है। हाम्रा पनि दुःख छन् अलिअलि। एकथरी भगवान ठाडै संविधानका धाराहरू कच्याककुचुक मिच्नुहुन्छ। हामीले खोजीखोजी मेलम्चीको पानीले भगवानको गल्ती बगाउनुपर्छ।
अर्को भगवान जिउँदै मान्छे इँट्टाभट्टामा पोल्ने राक्षसलाई ग्वाम्म अंँगाल्न खोज्नुहुन्छ। हामीले आफ्नै इमान पोलिसकेका हौंला जसरी सुनेको नसुन्यै गर्नुपर्छ। ध्यान भड्काउन हतार-हतार नयाँ हल्लाको आगो बाल्नुपर्छ। फेरि अर्का भगवान आफ्नी पुत्रीलाई सिंहासनमा राख्न ग्रन्थजस्तो मतपत्र च्यात्नुहुन्छ। हामीले 'उच्छृंखल भए पनि के भो त? भगवानकी पुत्री त देवी हुन्' भन्दै हावाभन्दा तेज प्रचार गर्नुपर्छ।
गाह्रो छ नि हौ। धर्मभन्दा कडा आस्था छ समर्थनको।
नत्र के कोरोनाले हामीलाई खाँदैन? हामीलाई आफ्नो परिवारको माया छैन? तर अहँ, भगवानले 'आत्तिनुपर्दैन, हाछ्युँ गरे पुग्छ' भनिदिनुभयो। हामी हाछ्युँकै वेगमा उफ्रियौं। चालीस जना भेट्न नमिल्ने बेला थियो, तर भगवानको निम्तो आयो, चार हजारले एक आवाजमा 'आई लभ यू' घन्कायौं।
एक ठाउँ पनि 'त्यो पर्दैन' भन्न नपाई लिएको सपथ हो यो। एकपटक समर्थक भएपछि भगवानले हामीलाई नै लत्याए पनि समर्थन गर्नुपर्छ। मौसम जसरी बोली फेर्ने भगवान, हामीले अनेक तिगडम लगाएर कुरा मिलाउनुपर्छ।
भगवान एउटै कानुनलाई पहिले, 'हुँदैन, स्कुलको चकलेट हो नागरिकता?' भन्दै लत्याउनुहुन्छ। त्यो बेला पनि 'जय' भन्नुपर्छ। पछि उही कानुनलाई चकलेटजस्तो मीठो मान्दै घर ल्याउनुहुन्छ। फेरि बिनाहजमोला लाज पचाउँदै 'जय' भन्नुपर्छ। कानुन सही कि गलत, मतलब राख्ने जिम्मा हाम्रो होइन, भगवानले जहिले जे भन्नुहुन्छ, त्यही हो कानुन।
दुःख बस् यत्ति भयो, सोच्ने शक्ति शतप्रतिशत चाहिँ नहराइदिने। त्यति एउटा कमजोरीले होला, बेला न कुबेला, डब्बाभित्र ताल्चा मारेर राखेको विवेकको न्यास्रो लाग्न थाल्छ। अनि भगवानले गर्दा मरेका एक-एक मान्छेको माया लाग्छ। कहिलेकाहीँ भक्तिलाई पनि जितेर रोगले आफ्नै मान्छे लगिदिन्छ। तब च्यातिएका मतपत्रको माया लाग्न थाल्छ। रोइरहेको थितिले विस्तारै बोलाउँछ। कहाँ खाँदखुँद पारेको इमान ऐना हेरिरहेका बेला पुलुक्क देखिन आउँछ।
तर फेरि सोच्छु, देवीले नै 'स्वविवेक' ताल्चा लगाएर राखेका बेला मेरो यो विवेक के गर्नु मैले? भुटेर खानु कि तारेर?
यस्तो पेसा छाडेर विवेकले माम खान त दिन्न। आखिर गर्नुपर्ने कति नै छ र मैले! कि आफ्ना भगवानको समर्थन, कि अरूका भगवानको विरोध। कि आफ्ना भगवानको पित्तलमा सुनको जलप लगाउने हो, कि अरूका भगवानको तामालाई आची भन्ने। यसै पनि सुन त हामी कसैका भगवान छैनन्। त्यसैले कसैले हाम्रा भगवानको विरोध गरे उनीहरूको तर्क स्विकार्नुपर्ने होइन। आफ्नो तर्क बनाउनुपर्ने होइन।
बस् 'हेर अरूका भगवान झन् कति खराब छ्न्' भनेर देखाइदिए पुग्छ।
'हाम्राबाहेक अरू भगवानले झन् के गरे?' भन्दै उल्टो प्रश्न गरिदिए पुग्छ।
हामीलाई थाहा छ, यी सिधा प्रश्न गर्नेहरूसँग उल्टो प्रश्नको जवाफ छैन। हाम्रा भगवानहरूले मिलीजुली एकभन्दा अर्को झन् भयंकर हुँदै यो साम्राज्य बनाउनुभएको हो। यो साम्राज्य कि भगवानको हो, कि समर्थकको।
म किन समर्थक भन्ने प्रश्नको मुख्य जवाफ चाहिँ समर्थन गर्न नजान्नेहरूमा छ। उनीहरू प्रायः कहाँ छन्? लाइनको पछाडि हुँदाहुँदै लाइनबाटै बाहिर। पालोको पछाडि हुँदाहुदै पालोबाटै बाहिर। अवसरको पछाडि हुँदाहुँदै अवसरबाटै बाहिर।
हामी समर्थकहरू भिडको अगाडि। उनीहरू भिडको कुनामा हुँदाहुँदै कुनाबाटै बाहिर।
देशको कुनामा हुँदाहुँदै देशबाटै बाहिर।
(सृजना पोख्रेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)
ट्विटरः @SrijanArt