'... कोरोना लाग्नुपर्छ, तपाईंलाई। बिएन्डसीलाई एउटा कुरा फाइदा भयो त। बिएन्डसीमा १२ जनालाई कोरोना भयो नि स्टाफहरूलाई। एक जनाको प्लाज्मा निकाल्दा चार जनालाई हुन्छ। बिएन्डसी यस्तो स्ट्रङ अस्पताल भयो कि कोरोना बिरामीलाई भोलि उपचार गर्न पर्यो भने बिएन्डसीले सक्छ। किनभने स्टाफलाई एकपल्ट लागेपछि त अर्कोपल्ट लाग्दैन। यो (कोरोना) जतिसक्दो बढी फैलिनुपर्छ क्या, जतिसक्दो बढी। छिटो-छिटो फैलिनुपर्छ क्या। अनि यसको काम कार्यक्रमै सकिन्छ। यो कुरा लेख्दिनोस् मेरै ऊ दिएर, जति सक्दो चाँडो नेपालभरि फैलिनुपर्छ कोरोना...।'
एक जना पत्रकारसितको कुराकानीमा बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले भनेका हुन् यी कुरा।
खरो र प्रस्टभाषी व्यवसायी प्रसाईंको कुरा सुन्दा लाग्छ, कोभिड मानिसको ज्यान लिन सक्ने खतरनाक रोग होइन, बरू नेपालभरिका मानिसले छिटो पाउँदा राम्रो हुने कुनै पुरस्कार हो!
कोभिडको गम्भीरता सम्झाउँदै जब पत्रकारले क्यान्सरजस्ता कमजोर प्रतिरोधी भएका मानिस यसबाट मर्न सक्ने कुरा औंल्याउँछन्, बीचैमा कुरा काट्दै प्रसाईं भन्छन्, 'नपचाउने मान्छे त मर्छ नि। बाँच्नैपर्छ भन्ने छ त? छैन नि! हाहाहाहा, आखिर मृत्यु त मृत्यु नै हो नि। संसारै मर्छ त अनि यहाँ बाँच्नेले के गरे, मर्नेले के गरे र यहाँ? यो तपाईंलाई म भन्दिऊँ, यो सबै हौवा मात्रै फिँजाएको हो, डब्लुएचओदेखि लिएर जम्मैले। म त पहिल्यैदेखि नेगेटिभ हो यो कोरोनाको विषयमा। तपाईंलाई अहिले कोरोना भयो भने तपाईं भाग्य सम्झनोस्, राम्रो कुरा हो।'
क्यान्सरजस्ता रोग लागे भने तपाईं बाँच्नैपर्छ भन्ने छैन। कोरोना डब्लुएचओले फैलाएको हौवा मात्रै हो। अनि तपाईंलाई कोरोना भयो भने भाग्य सम्झनोस्- नेपालको स्वास्थ्य प्रणाली अघि बढाउन प्रधानमन्त्री केपी ओलीलाई जसको भर छ, तिनै स्वास्थ्य व्यवसायी प्रसाईंको जीवन दर्शन हो यो। आफ्ना कुरा सोझो भाषामा सटिक रूपमा प्रस्तुत गर्न खप्पिस छन् प्रसाईं।
केही महिनाअघि झापा पुगेर प्रसाईंलाई धाप मार्दै प्रधानमन्त्री ओलीले भनेका थिए, 'अब हाम्रो देशलाई आधुनिक विकसित देश बनाइछाड्ने। यस अभियानमा बिएन्डसी हस्पिटलले जस्तै, जस्तो क्यान्सरको शाखा हामीले, बिएन्डसी क्यान्सर हस्पिटलको उद्घाटन गरेका छौं, अत्यन्तै भव्य छ। भवनको मात्रै हैन, त्यसको अन्तर्य, त्यसको अन्तर्वस्तुमा भव्यता छ। त्यसको अन्तर्वस्तुमा आधुनिकता छ। त्यसको अन्तर्वस्तुमा विकासको उचाइ छोएको छ। अब सरकार र निजी क्षेत्र सहकार्यका साथ बढ्छ। त्यसै कारण भनेको, दुर्गा प्रसाईंजी, तपाईंको बिएन्डसी मेडिकल के टिचिङ हस्पिटल लेखेको छ नि त्यहाँ, त्यो लेख्या मात्रै थियो, अब त्यहाँ पढाइ पनि हुन्छ। सरकार प्राइभेट सेक्टरलाई त्यसरी मद्दत गर्छ, सहयोग गर्छ।'
क्यान्सर लागेका वा कोही पनि मान्छे मर्दा के नै फरक पर्छ र भन्ने दुर्गा प्रसाईंले झापामा आफैंले एसियाको नमूना भनेर घोषणा गरेको अस्पताल किन खोले होलान्?
त्यसको जवाफ उनले व्यवहारमार्फत दिएका छन्। साथी प्रितम सुवेदीलाई धम्क्याएको अडिओमा प्रसाईं आफैंले स्वीकारेअनुसार उनको अस्पतालमा दुई लाख धरौटी राख्न नसक्ने कोभिड बिरामीले प्रवेश नै पाउँदैन। चाहे ऊ अर्को अस्पताल पुग्न नसक्ने गरी सिकिस्त किन नहोस्! अनि अर्को दिनसम्म खोजेर पैसा जुटाउन सक्षम पनि किन नहोस्!
दुईपल्टसम्म मिर्गौला प्रत्यारोपण गरेर औषधि विज्ञानका भरमा बाँचेका प्रधानमन्त्री ओलीलाई अहिले देशको स्वास्थ्य क्षेत्रलाई माथि उठाउन दुर्गा प्रसाईंहरूकै भर छ, जो कोभिडको ज्यानमारा महामारीलाई विश्व स्वास्थ्य संगठनको हौवा सम्झन्छन् अनि पत्रकारलाई खुलेर भन्छन्- तपाईंलाई कोरोना भयो भने भाग्य सम्झनोस्!
सरकार र व्यवसायीबीच यस्तो सम्बन्धको परिणाम हजारौं मानिसहरूको मृत्यु नभइदिएको भए यो एउटा भद्दा मजाक हुन सक्थ्यो। तर ओली–प्रसाईं गठजोडका परिणाम धेरै मानिसका लागि प्राणघातक बनेका छन्। कसरी त भन्ने कुरा एउटा उदाहरणबाट हेरौं।
पूर्व नेपालमा प्रसाईंको अस्पतालले भन्दा कयौं गुणा बढी मानिसलाई सेवा दिने सरकारी अस्पताल छ- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान।
त्यो संस्थाको बिचल्ली हेरेपछि ओलीले किन बिएन्डसीजस्ता अस्पतालका भरमा स्वास्थ्य क्षेत्रको कायापलट गर्ने सपना देखेका छन् भन्ने प्रस्ट हुन्छ।
बिपी प्रतिष्ठानमा जब उपकुलपति नियुक्त गर्नुपर्यो, प्रधानमन्त्री ओली र तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सत्ताका अनुयायीहरूको खोजीमा लागे। नेपालमा चिकित्सकमध्ये यस्ता अनुयायीको जनसंख्या औंलामा गन्न सकिने जति छ। वामपन्थी आस्था वा झुकाव हुँदैमा चिकित्सकहरू अवैध काममा समेत चुपचाप बस्ने अनुयायी हुँदैनन्। त्यसैले प्राइभेट प्राक्टिसमा जीवन बिताएका ज्ञानेन्द्र गिरी उपकुलपति बनाइए।
गिरीले दस जना सल्लाहकार पुर्याए। तीमध्ये एक भानुभक्त ढकालका भतिजा थिए भने अर्का ढकालकै बहिनी ज्वाइँ। अर्का एक गिरीका आफ्नै नातेदार थिए। त्यसरी भर्ति गरिएका कार्यकर्ताको तलब सुविधा चाहिँ अस्पतालका विशेषज्ञ डाक्टरकोभन्दा बढी तोकियो। कोभिड महामारी गिरीलाई कमाउधन्दाको अवसर भएको छ। यस्तो बेला सबभन्दा ठूलो चलखेल अक्सिजन आपूर्तिमा भइरहेको छ। हालै मात्र एक आपूर्तिकर्ता व्यापारीलाई पोस्न गिरीले संस्थालाई ५५ लाख घाटा लगाए।
केही समयअगाडि प्रतिष्ठानले आफ्नो अक्सिजन प्लान्ट आधा क्षमतामा मात्र चलाएर महँगोमा बाहिर अक्सिजन किनेको भन्ने समाचार आएको थियो। प्रतिष्ठानमा कार्यरत चिकित्सकहरू गिरीको लुट अक्सिजन खरिदमा मात्रै सीमित नभएको र कोभिडका लागि भनेर एचडियुका बेड खरिद गर्दा समेत महँगो प्रस्ताव राख्ने व्यापारी छानेर ठूलो घोटाला गरेको बताउँछन्।
अहिले कोभिडको यत्रो संकटबीच अक्सिजन नपाएर बिरामी भटाभट मरिरहेका बेला अक्सिजन संकट सल्टाउन छाडेर गिरी काठमाडौं हिँडे। प्रतिष्ठानको कोभिड युनिटमा भएको भ्रष्टाचारबारे हाल अख्तियारले छानबिन गरिरहेको भए पनि प्रधानमन्त्री ओलीको संरक्षण रहुन्जेल ज्ञानेन्द्र गिरीहरूले जति भ्रष्टाचार गरे पनि उन्मुक्ति पाइरहन्छन् भन्ने धरानका केही साथीहरू बताउँछन्।
गिरी अहिले अपर्झट काठमाडौं जानुको प्रयोजन थियो अवैध रूपमा दुर्गा प्रसाईंको बिएन्डसीलाई सम्बन्धन दिलाउनू। केही समयअगाडि चिकित्सा शिक्षा ऐन, काठमाडौं विश्वविद्यालयको ऐन र बिपी प्रतिष्ठानको आफ्नै ऐन कुल्चेर सम्बन्धन दिलाउन उनले प्रयास गरेका थिए। पछिल्लोपल्ट चाहिँ चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती सम्बन्धन दिलाउन भनेर प्रधानमन्त्रीले उनी लगायत आयोगका सदस्यलाई काठमाडौं बोलाएका थिए।
अझै पनि देशभर अक्सिजन आपूर्ति सहज भएको छैन। मिडियामा कोभिडका कारण भएका भनिएका धेरै मृत्युहरू अक्सिजनको अभावले भएका छन्। प्रतिमिनेट १५ लिटरसम्म अक्सिजन चाहिने बिरामीहरू चार वा पाँच लिटरका भरमा सास धान्न बाध्य छन्। बिपी प्रतिष्ठानको आफ्नै कोभिड व्यवस्थापन धराशयी हुने अवस्थामा छ।
अनि यस्तो बेला संस्थानका कुलपति प्रधानमन्त्री, सहकुलपति स्वास्थ्यमन्त्री र उपकुलपति ज्ञानेन्द्र गिरी दुई लाख धरौटी लिएर मात्रै कोभिड उपचार गराउने झापाको निजी संस्थाको स्वार्थअनुसार अवैध निर्णय गराउन काठमाडौंमा जम्मा भएर चिकित्सा शिक्षा आयोगको बैठक गर्दैछन्। देशका कति ठाउँमा कोभिड रोक्ने नाममा स्वास्थ्यकर्मीको समेत आवागमन रोकिएको छ (उदाहरणः चितवनको माडीमा अड्केका केही मेरै सहकर्मीलाई भरतपुर आउनबाट रोकिएको छ)। तर यस्तो अनावश्यक र अवैध कामका लागि धरानदेखि बिपी प्रतिष्ठानलाई अस्तव्यस्त छाडेर उपकुलपति काठमाडौं पुगेका छन्।
झापास्थित बिएन्डसी अस्पताल पुगेर धनुष्टंकार शैलीमा भाषण दिँदै प्रधानमन्त्री ओलीले यो पनि भनेका थिए, '... तर दुर्गा प्रसाईंजीले भनेजस्तै, काम गरिराखेको छ, देशका लागि काम गरिराखेको छ, र आधारहीन ढंगले आलोचना गरिराखेको छ भने त्यो स्वाभाविक रूपमा ब्रान्ड बन्दो रहेछ र ब्रान्ड बन्छ नै, किनभने त्यो गाली हैन, त्यो श्राप हैन, त्यो आशीर्वादको रूपमा लाग्छ, दुर्गा प्रसाईंलाई जसरी लागेको छ।'
त्यही कार्यक्रममा प्रसाईंले मार्सी ब्रान्डको बियर, माफिया ब्रान्डको ह्विस्की र डन ब्रान्डको इनर्जी ड्रिंक उत्पादन गर्ने घोषणा पनि गरेका थिए।
दुर्गा प्रसाईंको बिएन्डसी ब्रान्डको एउटा मेडिकल कलेज स्थापित गर्न प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, काठमाडौं विश्वविद्यालयको ऐन र बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ऐन गरी तीन कानुनको धज्जी उडाइसकेका छन्। अनि लामो संघर्षपछि मेडिकल शिक्षा नियमनका लागि बनेको चिकित्सा शिक्षा आयोगमाथि अवैध रूपमा सम्बन्धन दिन दबाब दिएर पदाधिकारीहरूको तेजोबध गरेका छन्।
अवैध काम गर्नुभन्दा बरू पदै छाडिदिने मनस्थितिमा आयोगका विज्ञ पदाधिकारीहरू पुगेका छन्। तर ओलीले त्यसमा पनि फेरि थप 'अनुयायी' भर्ति गर्ने अवसरका रूपमा देखेका छन्। बिएन्डसीका लागि अवैध रुपमा बाटो खोल्न उपकुलपतिमा अनुयायीको नियुक्ति भएकै कारणले आज बिपी प्रतिष्ठान धराशयी हुने अवस्थामा छ।
भोलि प्रसाईंका थप तीन ब्रान्ड- मार्सी, माफिया र डन- को प्रवर्द्धनमा पनि सिंगो राज्य संयन्त्र यसरी नै लाग्यो भने देशको हालत के होला?