बान्नीगढी बरदा देवी, कोटघर कालिका।
अछाम त बैकुण्ठ रैछ, धन्य हो मालिका।।
पंक्तिमा भनिएजस्तै अछाम धेरै हिसाबले बैकुण्ठ छ। चिरिच्याट्ट भूगोलमा लटरम्म खुल्ने प्रकृति। कर्णाली, बुढीगंगा र सेती नदीवेष्ठित। सहयोगी कैलाश खोला। सबैखाले अन्नोत्पादन हुने हावापानी।
चार धाममध्ये एक वैद्यनाथ धाम, तत्कालीन राजाहरू वर्षैपिच्छे दर्शन गर्न पुग्ने बरदादेवी र बाजुराको बडिमालिका जाने रूट भएको भूमि। तिमिल्सैना, ढकाल, धमला, घोडासैनीजस्ता थुप्रैको पुर्ख्यौली थलो। मुस्लिम बस्ती हुने सबभन्दा पश्चिमी पहाडी भूगोल।
जनसंख्या अनुपातमा ठूलो संख्या, सम्भवतः सबभन्दा बढी दलित जाति भएको, धार्मिक तथा जातीय विविधतायुक्त क्षेत्र। थुप्रै जिल्लाभन्दा पहिले २०२४ सालमै गाडी पुगेको र दुइटा एअरपोर्ट भएको जिल्ला।
दरबार, देवलजस्ता ऐतिहासिक धरोहरहरू अनि रामारोशन, खप्तड, नैनीजस्ता पर्यटकीयस्थल भएको भूखण्ड। साहित्य, देउडा र न्याउलेजस्ता मौलिक गीत-संगीत र राजनीतिमा पनि राम्रै प्रभाव भएको ठाउँ।
तर पनि अछामको सुन्दरता, शालीनता, सभ्यता र समृद्धि यहाँका विकटता, कुप्रथा, कमजोरी र गरिबीको छायामा लुप्त छन्। समयक्रमसँगै अछाम मूलतः तीन ठूला समस्यासँग जुधिरहेछ।
भौगोलिक सुन्दरताका बाबजुद व्याप्त विकटता।
सामाजिक कलंकको रूपमा स्थापित छाउपडी कुप्रथा।
र, हिंसा, अपराधको प्रमुख कारक र विकृतिको जड मदिरा।
लाग्छ अक्कर, छाउपडी र मदिराको 'सर्टकर्ट' हो अछाम। सम्भावनाभित्र समस्याका थुप्रै गाँठाहरू छन्।
अक्करः
अक्कर अर्थात जान मुश्किल पर्ने विकट ठाउँ वा भूगोल। २०७७ भदौ २ गते राति रामारोशनको कैलाश खोलामा बाढी आएर सडक क्षतविक्षत हुँदा हप्तौं खाद्यान्न र अन्य राहत सामग्री हेलिकप्टरबाट मात्रै पुर्याउन सम्भव भयो। महिनौं लाग्यो यातायात पुनः सुरू गर्न।
तुर्माखाँद, गोदेगाउँकी नामसरा विकलाई सोही मंसिर १५ गते सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्य चौकीसम्म पुर्याउन घन्टौं लाग्यो। छैटौं सन्तान जन्माउँदै थिइन् उनी। रक्तस्राव बढेपछि सदरमुकाम लैजान त्यो दूर्गम गाउँमा एम्बुलेन्स त टाढाको कुरा, अरू गाडी समेत भेटिएनन्।
साँझ परिसकेकाले हेलिकप्टर 'रेस्क्यु' सम्भव भएन। जेनतेन गाडी खोजेर सदरमुकाम ल्याउँदै गर्दा बच्चाको बाटैमा मृत्यु भयो। अस्पताल पुर्याएर रगत चढाउने तयारी गरिरहँदा विकटता र अभावसँग नामसराले पनि हारिन्। पाँच सन्तानलाई टुहुरा बनाएर गइन्।
पूर्वी अछामबासी भन्छन्, 'देश विकास पूर्वमा बढी छ तर अछामको विकास पश्चिममा।'
सबभन्दा ठूलो व्यापारिक केन्द्र साँफेबगर पश्चिममै छ। पूर्वी अछामका पञ्चदेवल विनायकको बारला, कालेकाँडा र तुर्माखाँदको भुलु, रहफ पुग्न दैलेख हुँदै कर्णाली तरेर जानुपर्छ। कैयौं ठाउँ पुग्न सदरमुकामबाट पूरै दिन लाग्छ।
स्थानीय तहको केन्द्रबाट अन्तर्गतका कुनै वडामा पुग्नुभन्दा ५० किलोमिटर टाढाको जिल्ला सदरमुकाम नजिक हुने ठाउँ पनि छन्।
बलाताबासी भन्छन्, 'कर्णालीले छेकेर मात्र हो, नत्र सुर्खेतै नजिक थियो। कर्णालीले हामीलाई विकटता र दुःख मात्र दियाको छ।'
२०२५ सालदेखि बन्न थालेको चिसापानी, कैलालीबाट अछामसम्म लैजाने १०५ किलोमिटर सडक ५२ वर्षदेखि बनेको बन्यै छ। कहिलेसम्म बनिरहने हो?
यकिन छैन।
भारत चीन जोड्ने सबभन्दा छोटो सडक सेती लोकमार्ग कैलालीको दुर्गौलीबाट बझाङको ताक्लाकोटसम्म पुग्न कति समय लाग्ला?
सबै नाजवाफ छन्।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कमलबजारका सयौं घरमा उज्यालो दिन जडान गरेको सोलार प्यानलसहित २० किलोवाट क्षमताको वायु ऊर्जा सामान्य प्राविधिक समस्या देखिएर केही समयमै बन्द भयो। फेरि सुरू गर्न स्थानीय तह वा अन्यत्र कतैबाट पहल नहुँदा बेवारिसेझैं लाग्छ। हावाको वेग र दिशाअनुसार कहिले कता कहिले कता फर्किएर घुम्ने पंखा मात्र देखिन्छ।
छाउपडीः
छाउपडी प्रथाले महिलाको जीवनमा पारेको प्रभाव विषयक राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन-२०७५ भन्छ- अछाम छाउपडी प्रथाको सन्दर्भमा अत्यन्तै कट्टर जिल्ला हो।
सदियौंदेखि चलिआएको यो कुप्रथाका कारण थुप्रै किशोरी र महिलाले अकालमै ज्यान गुमाएका छन्। छाउगोठभित्र एक्लोपन, निराशा र कष्ट छ। जनावर र सरीसृपको भय छ। बलात्कार र हिंसाको त्रास छ। छाउगोठमा बस्ने ठाउँ मात्र होइन, संसारै साँघुरो छ।
दशकौंदेखि छाउपडी प्रथा अन्त्य अभियान चलेका छन्। गैरसरकारी संस्थाहरूले करोडौं खर्च गरेका छन्, स्थानीय तहले उत्तिकै। ७५ मध्ये ३१ गाविस र हालका १० मध्ये ५ स्थानीय तह कागजमा छाउगोठ मुक्त घोषणा गरिएका छन्। तर अझै ती ठाउँमा गिज्याउने गरी छाउगोठका संरचना भेटिन्छन्।
२०७३ पुस १४ गते छ सयभन्दा बढी अछामबासीले छाउपडी लगायत कुसंस्कार विरूद्धको अभियानमा सामूहिक प्रतिबद्धता गरे। कानुनै बनेपछि २०७६ पुस १५ गते सिडिओको संयोजकत्वमा बैठक बसी फागुन मसान्तभित्र अछामलाई छाउगोठ मुक्त घोषणा गर्ने निर्णय भयो। सिडिओ आफैं छाउगोठ भत्काउन हिँडेपछि छ हजारजति छाउगोठ भत्किए।
२०७७ पुसपछि सुरू भएको अभियानको दोस्रो चरणमा थप आठ सय भत्किए। अभियानले नयाँ उचाइ लियो तर छाउगोठ मुक्त हुन अझै उल्झनहरू बाँकी छन्।
मदिराः
मर्त्यलोकदेखि महालोक (स्वर्ग) सम्मै चर्चा हुने मदिराको चर्चा अछाममा किन हुँदैनथ्यो?
बुढापाका भन्छन्, '२०४२-४३ सालदेखि हो अछाममा मदिरा व्यवस्थापनको कुरा चलेको। मदिरा बन्द गर्नुपर्छ भन्ने र खोल्नुपर्छ भन्ने दुवैथरीले पटक पटक आन्दोलन गरे। हिजो रक्सी प्रतिबन्धित गर्दा औषधिका पेटीभित्र राखेर हेलिकप्टरबाट ओसारियो। न पोकाको रक्सी रोकियो, न घरेलु मदिरा पोख्ने काम रोकियो। बेच्नेले बेचिरहे। पिउनेले पिइरहे।'
कोरोना कहरका बीच क्वारेन्टिनमा बसेकाहरूले समेत खेर गएको खाना बटुलेर मदिरा बनाएको पाइयो। मदिरा पिएर झगडा गर्नु, घरेलु हिंसा गर्नु त सामान्य भयो। प्रहरीमाथि नै जाइलागेका थुप्रै घटना छन्।
पीडितहरू गुनासो गर्छन्, 'बजारमा दूधको अभाव छ तर रक्सी जहाँसुकै, जतिसुकै पाइन्छ। गाउँघरमा खाद्यान्न वा औषधि उधारोमा पाइँदैन तर दारु पाइन्छ।'
रक्सी समस्या नभएर प्रवृत्ति बनेको देख्दा अछामीहरू भन्छन्, 'रक्सी जति सकिन्थ्यो होला तर मान्छेजति नसकिने रहेछ।'
रक्सीबाट सबभन्दा प्रभावित महिला हुन्छन् तर घरेलु मदिराको 'हटस्पट' रामारोशन कालापानीको मगर बस्तीमा मदिरा उत्पादन गर्ने, ओसारपसार गर्ने महिला नै छन्। कैयौं ठाउँमा बालबालिका प्रयोग भएका छन्। समाजलाई भित्रभित्रै खोक्रो बनाउन सफल छ मदिरा।
समस्या माथिका तीनवटा मात्र होइनन्, थुप्रै छन्। इतिहासमा नौखुवा नामले चिनिने सानासाना नौवटा राज्यहरू भएको र हाल दस स्थानीय तह रहेको अछाममा २०६८ मा कुल जनसंख्याको १२.१ प्रतिशत मानिस मुलुक बाहिर छन्। तीमध्ये पनि ९७.७ प्रतिशत भारतमा र बाँकी २.३ प्रतिशत तेस्रो मुलुकमा छन्।
तुर्माखाँद-२, भुलुका वडा अध्यक्ष भन्छन्, 'मेरो वडाबाट यस वर्ष रोजगारीका लागि विदेशिने सयौं हजारौंमध्ये ५ जना मात्र साउदी अरब गएका छन्। बाँकी सबै इन्डिया।'
एउटा ढकारी, अर्को तुर्माखाँदतिर जाने बाटोहरू एकापसमा छुट्टिने सानो बजार छ- पुनेपाटा।
बजारको तल्लो माथिल्लोपट्टि प्रशस्तै मकै फलेका छन्। जिल्लाको अनुगमन टोलीले बारीको मकै, काँक्रा र भट्मास खान खोजिरहँदा एउटी महिला चोटामा उक्लिने लिस्नुमा बसेर चाउचाउको प्याकेट फुटाउँदै छिन्। बजारभरी छरपस्ट छन् चाउचाउ र बिस्कुटका खोलहरू। बारीको घोगा भाँचेर खानुभन्दा 'जंक फुड' संस्कृतिका कारण खाद्य बानी बिग्रिरहेको संकेत हो यो।
सिडिओलाई मान्छेहरू भन्छन्, 'वीरपथमा बँदेलले मकै खाएर हैरान पार्यो, बँदेल धपाइदिनुस्। बारलामा घन्टौंदेखि रक्तस्राव भएर सुत्केरीको अवस्था गम्भीर छ। नगरपालिकाको एम्बुलेन्स छैन, अर्को गाडी खोज्दा पाइएन, गाडी पठाइदिनुस्। अल्लेडीमा गर्भवतीलाई चार घन्टादेखि बेथाले च्यापेको छ, बच्चाको हात निस्किसक्यो, अस्पताल लैजान पहिरोले बाटो भत्किएको छ, हेलिकप्टरबाट उद्दार गरिदिनुस्।'
समस्या त छन् जताततै। सोचमा। समाजमा। कर्मचारीतन्त्रमा। विकास निर्माणमा। स्थानीय तहमा। बजारमा। नजरमा। तर समस्याले सम्भावना र इतिहास लुकाउनु बुद्धिमता होइन। अछामीको लागि त झन् सुहाउँदै सुहाउँदैन।
चील कौवाहरूले अनवरत कावा खाइरहने अनि नजर ठोक्किनासाथ हेरेको हेर्यै गर्न मन लागिरहने, सदाबहार सुन्दर धर्ती कहीँ छ भने त्यो अछाम मात्रै हो। यसको थप सुन्दरता बाहिर ल्याउन समाजभित्रका कुरूपताका गाँठाहरू फुकाउँदै जानुपर्छ।
(उपाध्याय अछामका तत्कालीन प्रमुख जिल्ला अधिकारी हुन्।)