नागरिकताको बारेमा बहुसंख्यकको बुझाइ छ- यो केवल एक सरकारी प्रमाण हो। प्रमाण पुर्याएर जाँदा पाइने परिचयपत्र हो।
तर नागरिकताप्रतिको संकुचित बुझाइ मान्नुपर्छ यसलाई।
यथार्थमा नागरिकता धेरै थोक हो। अझ भनौं सबै थोक हो। व्यक्तिको पहिचान हो जसप्रति स्वयम् व्यक्ति र उसका भावी सन्तति समेतले गर्वानुभूति गर्छन्। गर्नैपर्छ।
अधिकार पनि हो जसको प्राप्तिसँगै नागरिकले आर्थिक, सामाजिक र राजनीतिक अधिकारहरू अनुभूत गर्न पाउँछन्। माग्न सक्छन्। आवश्यकतै परे खोस्न पनि।
ओल्टाइ पल्टाइ हेर्दा अगाडि र पछाडिको भाग मात्र देखिने नागरिकता यथार्थमा जति खोज्यो त्यति बढी अवसर दिलाउने बहुतहयुक्त अवसरको पुलिन्दा हो। व्यक्तिले अक्सर राज्यभित्र वा बाहिर पाउने सेवा, सुविधा र अवसरहरू आफूसँग भएको नागरिकताकै जगमा पाएको हुन्छ।
नागरिकता नभएकै कारण रोजगारी, उच्च शिक्षा, व्यवसाय सञ्चालन, सम्पत्ति खरिद-बिक्री, विदेश जानबाट वा यस्तै अनेकौं अवसरबाट बञ्चित भइन्छ। थुप्रै भएका छन्।
राज्यले ठान्छ- यो व्यक्ति नागरिकता पाउन योग्य छ, यसले देशको कानुन मान्छ।
अनि प्रमाण बुझेर नेपाली नागरिकता दिइन्छ।
अर्कोतर्फ आफ्नो जीवन पर्यन्त र सन्ततिका लागि जीवन उपरान्त समेत चाहिने पहिचान, सेवा सुविधा, अधिकार र अवसरको जननी नागरिकताप्रति पाउने नागरिक अधिकांश बेपरवाह देखिन्छन्। नागरिकताको प्रमाणपत्र बुझेपछि पल्टाएरै नहेर्ने, वर्षौंपछि अरूले भनेर वा कहीँ समस्या झेल्दा त्रुटि रहेको चाल पाउने अनि कर्मचारीलाई गाली गर्ने, नागरिकतालाई केवल 'कागजको खोस्टा' ठान्नेहरू पनि छन्।
त्यसैले होला नागरिकता तीन-चार पटकसम्म हराएर प्रतिलिपि लिन आउनेहरू भेटिन्छन्। कारण सोध्दा भन्छन्, 'इन्डिया गएका बेला उतै हरायो। गोजीमा बोक्दा कता झर्यो, झर्यो। पाइन्ट धुँदा नागरिकता पनि धोइएछ। बच्चाले जम्मै लेखिदिएर नबुझिने बनाइदियो।'
सेवाग्राही धेरै किसिमका हुन्छन्।
सिडिओसम्म पुग्नु त के, फाँटका कर्मचारीले भनेको कुराको कुनै प्रतिवाद नगर्ने, बरू गाउँमै वडा अध्यक्ष, सचिवसँग बाझ्नेहरू हुन्छन्। प्रमाण पुर्याउन नजान्दा पटक पटक प्रशासन धाउँछन्। औंठाछाप लगाउने ठाउँको ज्ञान नभएर नागरिकतामै तीन-चार ठाउँमा ल्याप्चे लगाउन पुग्छन्। अनि कार्यालयकै झ्यालभित्ता, नभए आफ्नै कपालमा मसी पुस्छन्।
अधिकांश 'भुइँमान्छे'कै रूपमा भेटिने सेवाग्राहीको सामाजिक-आर्थिक अवस्था र चेतनाको सम्मान गर्नु भने आवश्यक छ।
नागरिकता हातमा परेसँगै अर्थात नेपाली नागरिक भइसकेपछि दिमागमा अधिकार आउन सक्छ तर काँधमा आउने जिम्मेवारी र नागरिकको हैसियतले पूरा गर्नुपर्ने कर्तव्यका बारेमा जानकारी नहुन सक्छ। त्यसैले जिल्ला प्रशासन कार्यालय, अछाममा २०७७ भदौ २ गतेदेखि सेवा लिन आउने सेवाग्राही र उनीहरूसँगै आउने तिनका अभिभावक लक्षित 'नागरिकता सचेतना उत्सव' सुरू गरियो। उत्सवको उद्देश्य नागरिकताप्रतिको बुझाइ, अपनत्व, सुरक्षा, संरक्षण, सदुपयोग र तिनका गुनासाबारे, नागरिक अधिकार र कर्तव्यबारे, कोरोना संक्रमणबारे, समाजमा व्याप्त कुरीति छाउपडी, बालविवाहबारे सचेतना गराउनु थियो।
सेवाग्राहीलाई चउरमै राखेर नियमित आधादेखि एक घन्टा सचेतना कार्यक्रम गर्यौं। नागरिकता ओल्टाइ पल्टाइ अक्षर-अक्षर केलाउन लगाएर त्रुटि भेटिए वा विवरण फरक परे तत्काल सच्याएर दियौं। तत्काल 'प्लास्टिक कभर'मा नहाल्न अनुरोध गर्यौं। नागरिकताको सुरक्षा गर्ने, दुरुपयोग हुन नदिने उपाय बतायौं।
नागरिकताकै आधारमा आगामी दिनमा राज्य प्रदत्त अवसरको उपयोग गर्न सिकायौं। नागरिकता पाउँदा मात्र हैन जिल्लाका अन्य कार्यालयबाट हुने सेवा प्रवाहबारे समेत गुनासो भए त्यो पनि सुन्न भन्यौं। प्रत्येक नागरिकलाई सिडिओको मोबाइल नम्बर राख्न र आवश्यक परे जुनसुकै बेला सम्पर्क गर्न अनुरोध गर्यौं।
नागरिकताको प्रमाणपत्र एक समारोहबीच बधाइसहित हस्तान्तरण हुन थाल्यो। नागरिकता पाउनेले पाइहाले, पाउने प्रक्रिया अगाडि बढिसकेका सेवाग्राही र तिनका अभिभावकले ताली बजाएर बधाइ दिन थाले। सेवाग्राहीसँग सामूहिक फोटो खिच्न थालियो। नागरिकताको प्राप्ति सेवाको प्राप्ति नभएर सरकारी कार्यालयमा एक उत्सव सरह हुन थाल्यो। मानिसहरू नागरिकताको प्राप्तिमा गर्व महसुस गर्न थाले।
अभियान सुरू भएको १९७ दिनमा १३ हजारभन्दा बढी अछामी नागरिकलाई गर्वका साथ नागरिकताप्रति गर्व गर्न सिकाइयो।
लौरोमाथि चिउँडो अड्याएर कुरा सुन्ने वृद्धहरू थिए। दूधे बालक पिठ्युँमा चिच्याइरहँदा सिडिओ, सहायक सिडिओले नागरिकताबारे चिच्याएको कुरा एकाग्र सुनिरहने महिलाहरू थिए। कानको 'इयरफोन' नझारिकनै सुन्ने युवाहरू पनि। सबैले नागरिकताबारे सुनिरहे। सबै जिल्लामा नागरिकता पाउने सबैले सुन्नुपर्छ।
२०७७ मंसिर २५ गते।
कोरोनाको कहर दोस्रो पटक बढेकाले सदरमुकाम मंगलसैनसहित चार स्थानीय तह 'सिल' थिए। अन्य कार्यालयबाट सेवा प्रवाह रोकिए सरह भए पनि प्रशासनका काम चलिरहेको थियो। भारत जानेको संख्या मात्र हैन प्रशासनमा नागरिकता लिनेको भिड पनि बढ्दै थियो।
भारतमा नेपालीको पहिचान त्यही नागरिकता हो। झन् लकडाउनताका सीमामा नागरिकता बिना नेपाल छिर्नै नपाएकाहरू नागरिकता बनाएर मात्रै 'बम्बई' जान चाहन्थे। विगतमा नागरिकता नबनाउनेहरू पनि आइरहेकाले विगतमा दैनिक १०-११ वटा नागरिकता जारी हुने संख्या, यो सिजनमा यसपालि ६०-७० पुगेको थियो।
नागरिकता तयार भएपछि नागरिकको नासो उनीहरूलाई जिम्मा दिनुअघि त्यसको सदुपयोग, सुरक्षा र संरक्षणबारे बताउने तयारी भयो। उपस्थित २०-२१ जना सेवाग्राहीलाई सामाजिक दूरी कायम गर्दै आँगनीमा उभिन भनियो। सेवाग्राहीलाई स्वागत गर्दै नागरिकता सचेतना सुरू भयो। नागरिकताको परिचय दिइयो। महत्त्व बुझाइयो। राम्ररी हेरेर मात्र लैजान भनियो। सुरक्षित राख्न सुझाव दिइयो। गर्व गर्न सिकाइयो। गुनासो सुनियो। अन्तिममा नाम उच्चारण गर्दै सेवाग्राहीलाई नागरिकता हस्तान्तरण गर्दै बधाइ दिइयो।
त्यही दिन पहिलो पटक नागरिकता जारी गर्ने नयाँ सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सिनाले नागरिकता हस्तान्तरण गर्दा गडड ताली बर्सियो। सेवाग्राही नागरिकता पाएसँगै धन्यवाद भन्थे। नमस्कार गर्थे।
विभिन्न भावभंगीमा देखिने अधिकांश बीस वर्ष हाराहारीका गाउँले परिवेशका सेवाग्राहीमाझ बायाँ कुनाका एकजना पढा-लेखा लाग्ने, जिन्स पाइन्ट, स्पोर्टस् जुत्ता र हुडी लगाएका, मास्क पहिरिएका एकजना 'स्मार्ट' सेवाग्राही युवा चुपचाप थिए।
नागरिकता लिने पालो उनकै आयो।
यिनले नागरिकता लिँदा अरूले जस्तो धन्यवाद भनेनन्। नमस्कार पनि गरेनन्। जे गरे, त्यसले हामीलाई अचम्मित बनायो। लज्जित पनि।
उनले एक हातमा नागरिकता च्यापे, अर्को हातले सहायक सिडिओको खुट्टा छोएर ढोग गरे।
पहिलो दिन, सेवाग्राहीले यसरी खुट्टा छोएर ढोगिदिँदा सहायक सिडिओ पनि सायद मजस्तै चकित भए।
मैले परैबाट 'बाबु त्यसो गर्नुहुन्न त' भन्दै गर्दा आएर मलाई नै ढोग्न खोजे। म तर्किएँ।
न उनको कुनै भनसुन, न चिनजान, न नातासम्बन्ध। न हामीले छिटोछरितो काम गरिदिएका थियौं, न निकै समस्या परेका बेला सहयोग नै। केवल सचेत गराउँदै, नागरिकता दिँदै सम्मान गरेकाले उनले हामीलाई अभिभावक ठाने।
उनी आत्मीयता देखाउन चाहन्थे सायद।
तर उनको यो निर्दोष आत्मीयताले एकछिन मन कुँडियो।
हामी त नागरिककै सेवाकै लागि बसेका। राज्यले त्यसकै लागि खटाएको हो। हामीलाई ढोग्ने होइन, नागरिकका सेवक भएको नाताले हामीले पो हो ढोग्नुपर्ने।
सेवाग्राहीले ढोगेर हामी लज्जित बनिरहँदा उनी भने मास्कभित्रैबाट मुस्कान छर्दै पर गए।
यो घटनाले हामीलाई भने थप संवेदनशील र इमानदार भएर सेवा गर्न उत्प्रेरणा मिल्यो।
(लेखक गोकर्णप्रसाद उपाध्याय जिल्ला प्रशासन कार्यालय, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)