नागरिक आन्दोलन क्रममा अभियन्ता हिमा विष्टले 'माइ भजाइना विल भोट यु आउट' भनेको केही दिनपछि म काठमाडौं पुगेँ। फरक विषयलाई लिएर भएको एउटा बैठकमा त्यो प्रसंग उठ्यो।
एक 'प्रबुद्ध' नागरिकले मलाई सोधे, 'त्यो भनेको के हो?'
'महिलाहरूले तिमीविरूद्ध भोट हालेर चुनावमा हराउँछन् भनेको हो,' मैले भनेँ।
'सिधै त्यसै भने के भो त?'
'सिधै भन्दा पनि हुन्थ्यो। तर भजाइना भनेको नेपालीमा योनी त हो। त्यो शब्द लिँदा के फरक पर्यो त?'
उनको चित्त बुझेन। छ जनाको बैठकमा दुई जनाले त्यो भनाइ अश्लील थियो भनेर तर्क गरे। नागरिक आन्दोलनमै जाँदा अर्को दिन त्यो हरफ लेखिएको टिसर्ट देखिएपछि उनीहरू तर्केर हिँडेका रहेछन्।
बाँकीमध्ये एक जनाले पुस्तान्तर र त्यसले ल्याउने बुझाइको भिन्नताको कुरा गरे, दुई जना मौन रहे।
मैले थप व्याख्या गरेँ, 'गुप्तांगलाई जनाउन धेरै शब्द प्रयोग हुन्छन्। तीमध्ये धेरै गालीका लागि अश्लील रूपमा प्रयोग हुन्छन्। त्यस्ता शब्द समाजलाई पच्दैनन् र प्रयोग गर्न हुँदैन पनि। तर व्यक्तिको अंग जनाउने योनी र लिंग (भजाइना र पेनिस) जस्ता सपाट शब्द प्रयोग गर्न लजाउनुपर्ने कुनै कुरा छैन।
असली अश्लीलताः
धेरै वर्षअगाडि पश्चिम नेपालको एउटा समुदायका महिलाले सिंहदरबारको गेटमा गएर लुगा खोलेर प्रदर्शन गरे। उनीहरूमाथि धरपकड भयो। तर जीवन र जीविकासँग जोडिएका तिनका मागको सुनुवाइ भएन। आफ्नो कस्तो विवशता र राज्यको कस्तो लाचारीका कारण त्यस्तो प्रदर्शन गर्न उनीहरू बाध्य भए भनेर कमै विवेचना भयो।
तर त्यतिबेला नाम चलेको एउटा हास्यव्यंग्य कार्यक्रमले त्यो प्रदर्शनमाथि भद्दा मजाक गर्यो। 'खास समुदायका महिलाहरू नांगै भएकाले मोडलिङका लागि अरू युवती किन नांगिनुपर्यो र' भन्ने खालको संवाद त्यसमा थियो।
परम्परागत रूपले हेर्दा ती महिलाहरूको 'हर्कत' अश्लील थियो।
तर उतिबेलै मलाई लागेको थियो- यो प्रकरणमा अश्लीलता त ती विवश र विपन्न महिलाहरूले होइन, हास्यव्यंग्य कार्यक्रमका दीपकराज गिरी नामक शिक्षित र धनी व्यक्तिले देखाएका हुन्।
अरूको अस्तित्वको लडाइँमाथि त्यस्तो भद्दा मजाक गर्नु अश्लीलताको पराकाष्ठा थियो। पुस्तौंदेखि जीविकाका लागि यौन व्यवसाय गर्दै आएका खास समुदायका ती महिलाहरूले त्यतिखेर राज्यलाई यत्ति भनेका थिए- हामीलाई सम्मानपूर्वक जीविका चलाउने वैकल्पिक बाटो देऊर। पाखुरा बजारेर हामी आफैं खान्छौं। गाविसदेखि सिंहदरबारसम्म कतै सुनुवाइ नभएपछि उनीहरू बाध्य भएर सडकमा त्यस्तो प्रदर्शन गर्न बाध्य भएका थिए।
थिएटरको भाषामा महिलाका कुराः
सन् १९९६ मा सुरू भएको अमेरिकी लेखक एभ एन्स्लरको 'द भजाइना मोनोलग्स' नाटक श्रृंखला थिएटरकै इतिहासमा प्रभावशाली मानिन्छ। नेपालमा पनि सन् २०१५ यता यही शीर्षकको श्रृंखलामा धेरै शोहरू भइसकेका छन्।
ती शोहरूले मूलतः महिनावारी, यौन, गर्भ र सुत्केरी अवस्था, शरीरको विम्ब, यौन उत्तेजना, महिनावारीको अन्तजस्ता विषयमा महिलाका अनुभव बोल्छन्। ती विषयसँगै महिला हिंसाका विषय पनि तिनले सम्बोधन गर्छन्।
सुरूमा उल्लिखित भद्र पुरुषहरूजस्तै कति जना नाटकको बीचमै असह्य मानेर निस्कन्छन् पनि। तर आम रूपमा त्यो नाटक श्रृंखलाले अरू धेरै देशमा झैं नेपालमा पनि धेरै मानिसलाई शिक्षित र संवेदनशील बनाएको छ। धेरै महिलाले जन्मेयता मनमा गुम्सिएका कुराहरू अभिव्यक्त गरेका छन्। त्यही अनुभवबाट महिला अभियन्ता जन्मेका छन् र सहकार्यमार्फत अरू सार्थक काम गरेका छन्।
यी शोहरूमा धैर्यपूर्वक महिलाका अनुभव हेर्ने र सुन्ने धेरै पुरुषको बुझाइ फेरिएको र फराकिलो बनेको छ।
यस पटकको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार फिल्म फेस्टिभलमा एउटा वृत्तचित्र देखाइएको थियो, 'क्याशाडा'। त्यो थिएटरमार्फत आफैंलाई चिन्ने अनि आफ्नो आवाज निकाल्न र कथा भन्नसक्ने एल साल्भाडोरका पाँच महिलाको कथा हो।
तीमध्ये सबैजसो निर्मम हिंसाका शिकार हुन् भने एक जना गर्भपतनमाथिको निषेधका कारण बलात्कारपछि बच्चा जन्माउन बाध्य भएकी महिला हुन्। चर्को गरिबीबीच एकल आमाका रूपमा तिनीहरूको काँधमा भारी जिम्मेवारी छ। त्यसैले उनीहरू आफ्नो पीडा छामेर हेर्न र मन खोलेर रूनसमेत असमर्थ छन्।
एकदिन एक महिला निर्देशकले ती पाँच जनामाथि एउटा प्रयोगको प्रस्ताव राख्छिन्- आ–आफ्ना जीवनका यथार्थ भोगाइलाई थिएटरमा उतार्ने।
अभिनय उनीहरूका लागि असाध्यै पीडादायी हुन्छ। वर्षौंदेखि मनको कुनामा गुपचुप दबाएर राखेका अनुभव र भावना व्यक्त गर्न सजिलो हुँदैन। बलात्कारजस्ता भयंकर पीडादायी अनुभव व्यक्त गर्दा तिनको डाँको छुट्छ। थाहै नपाई सन्तानहरूमाथि आफूले हिंसा सुरू गरेको महसुस हुँदा उनीहरू लज्जित बन्छन्।
अवस्था कतिसम्म पीडादायी र बोझिलो हुन्छ भने निर्देशकले एकदिन त्यो नाटकको परियोजना नै रोकौं कि भनेर प्रस्ताव राख्छिन्। तर आखिर एकदिन ती सबै जना आफूलाई व्यक्त गर्न सक्षम हुन्छन् र एउटा सुन्दर र 'क्याथार्टिक' नाटकको जन्म हुन्छ जसले साल्भाडारियन समाजलाई उसको ऐना देखाइदिन्छ।
विद्रोहको भाषाः
हाम्रो गाउँमा बुवाको पुस्तासम्म धेरै ब्राह्मणहरूले क्षत्री वा अरू जातका महिलालाई दोस्रो वा तेस्रो श्रीमतीका रूपमा बिहे गर्थे। तिनबाट उनीहरूले सन्तान त जन्माउँथे तर तिनले पकाएको वा छोएको खाँदैनथे। अर्थात् उनीहरूका लागि महिलाको योनी र प्रजनन अंग छुत थिए, बाँकी सबै अछुत।
यही पाखण्डसहित उनीहरूले धर्मशास्त्र व्याख्या गर्थे र समाजमा के सही, के गलत हो भन्ने निर्धारण गर्थे। अरू सबैले उनीहरूको कुरा शिरोपर गर्नुपर्थ्यो।
दलितहरूमाथि गैरदलितबाट हुने यौनहिंसाको कहर त अहिले पनि नेपालका धेरै ठाउँमा व्याप्त छ। (अहिलेको नेपालमा त्यसखाले यौन हिंसाको दर्दनाक अवस्था बुझ्न 'बोजुबजै' पोडकास्टको अंक सुन्न यहाँ क्लिक गर्नुस्) ती सबै ठाउँमा छुवाछुत कायमै छ। ती सबै बलात्कारीहरू सार्वजनिक रूपमा 'योनी' वा 'लिंग' उच्चारण गर्न लजाउने 'भद्र' पुरुष हुन्।
मसितको कुराकानीमा 'भजाइना' शब्दको प्रयोगमा आपत्ति जनाउने साथीहरूले बुझ्न नसकेको कुरा के हो भने हिमा विष्टले त्यो शब्द र अभिव्यक्ति प्रयोग गर्नुका पछाडि यो सारा पृष्ठभूमि छ।
महिलाहरूमाथि सदियौंदेखि भएको उत्पीडनको उकुसमुकुस सम्बोधन गर्दै विष्टले यत्ति सन्देश दिन खोजेकी हुन्- तिम्रो लोकाचार तिमीसँगै राख, महिलाहरूमाथि हुने दमन र हिंसा (जसको निसानामा महिलाका यौनांग हुन्छन्) अब सहिँदैन। जुन योनीमाथि तिमीहरूले युगौंदेखि अत्याचार गर्यौ, त्यसले अब विद्रोह गर्छ। योनी भएका सबै महिलाले अब पुरुषको प्रभुत्वलाई चुनौती दिन्छन्। अनि महिलालाई दबाएरै राख्न चाहने पार्टीहरूलाई चुनावमा हराइदिन्छन्।
त्यसैले विष्टको भाषणमा भजाइना शब्दको छनोट साथीहरूले सोचे झैं अश्लील, अनावश्यक वा नाजायज थिएन। जसरी 'द भजाइना मोनोलग्स' श्रृंखलामा संसारभर हजारौंपल्ट योनी र यौनका कुरा आउनु स्वभाविक थियो। जसरी एल साल्भाडोरका महिलाले बलात्कारीप्रति सहनशील समाजलाई ऐना देखाउन बलात्कृत भएको आफ्नो अनुभवलाई मञ्चमा गएर उतार्न आवश्यक थियो।
त्यसैले बाटोमा माइ भजाइना विल भोट यु आउट लेखेको टिसर्ट लगाउने युवतीलाई देख्नुभयो भने लाजले मुख छोपेर वा बाटो तर्केर हिँड्नुको सट्टा तिनको विद्रोहभावलाई कदर गर्नुहोस्।