हिजो सत्तारूढ पार्टी नेकपाका एउटा खेमाले सरकार विरूद्ध शक्ति प्रदर्शन गर्यो, आज उही सत्तारूढ पार्टीकै सरकारी खेमाले नारायणहिटी राजदरबार अगाडि आफ्नो शक्ति प्रदर्शन गर्दैछ।
सरकार बाहिर हुने राजनीतिक शक्तिले भिड जम्मा गर्दै आफ्नो शक्ति प्रदर्शन गरेर सरकारलाई दवाब दिनु स्वाभाविकै हो, तर सरकार आफैंले भिड जम्मा पारेर आफ्नो शक्ति प्रदर्शन गर्न खोज्नु अलि अस्वभाविक लाग्छ।
यसरी जसले भिड जम्मा गरी शक्ति प्रदर्शन गरे पनि आखिर दुःख पाउने जनताले नै हो। हिजो 'सरकारले असंवैधानिक तवरले संवैधानिक अंगका पदाधिकारीको नियुक्ति गर्यो' भन्दै आम हड्तालमा उत्रिएर सबै क्षेत्र ठप्प पार्ने निर्देशन दिएर हाइ कमाण्डमा बसेका नेता आफू चाहिँ सुरक्षाकर्मीलाई अगुवापछुवा राखेर ल्याण्डक्रुजरमा निरीक्षणमा निस्किएको दृश्य देख्नुपर्यो।
आज प्रधानमन्त्री आफैं संलग्न हुने कार्यक्रमका लागि कुनै दिन शक्तिशाली राजा बस्ने राजदरबार अगाडि सडकका सबै डिभाइडर र बार नै हटाएर व्यापक सुरक्षाकर्मी परिचालन गरी राजधानी काठमाडौं ठप्प पारेर जुलुसहित नारायणहिटी पुग्ने होला।
हिजो र आज देखिएका शक्ति प्रदर्शनका दृश्यले ती दृश्यको पुनर्ताजगी गराइदिइरहेको छ, जब आजभन्दा ३१ वर्षअगाडि नेपाली कांग्रेस र बाममोर्चा मिलेर निर्दलीय पञ्चायती व्यवस्था विरूद्ध गरेको जनआन्दोलनको सुरू २०४६ फागुन ७ गते हुँदै थियो। आन्दोलनकै सुरू दिनमा तत्कालीन सरकारले आफ्नो शक्ति प्रदर्शन गर्ने निर्णय गर्दै स्कुले विद्यार्थीदेखि सरकारी कर्मचारीलाई दशरथ रंगशालामा अनिवार्य उपस्थिति गराउँदै बहुदलीय व्यवस्थाा लागि आन्दोलनरत शक्तिको अगाडि 'लु हेर हाम्रो शक्ति' को शैलीमा भिड जम्मा गरेको थियो।
तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहसहितको त्यो भिड दशरथ रंगशालाबाट जसै धरहरातर्फ अगाडि आइपुगेको थियो, बहुदलीय व्यवस्थाको पुनर्स्थापनाका लागि आन्दोलनमा उत्रिएका शक्तिले पञ्चायती जुलुसमाथि ढुंगा प्रहार गर्ने बित्तिकै त्यो जुलुस तितरबितर भयो।
सबभन्दा गज्जबको दृश्य के थियो भने सरकारी उर्दीमा जुलुसमा आएका उही कर्मचारी नै पछि बहुदलवादीको जुलुसमा मिसिएर पञ्चायत व्यवस्था विरूद्ध नारा लगाइरहेका थिए।
अनि त्यो भन्दा रमाइलो दृश्य भागाभाग भइरहेको जुलुसतिर हेर्दै तत्कालीन बागमती अञ्चलाधीश नरेन्द्र चौधरी उग्र भावमा 'ए ठोक, ठोक' भन्दै प्रहरीलाई आदेश दिइरहेका थिए।
अहिले पनि सुरक्षाकर्मीको व्यापक परिचालन अर्थात प्रयोग भइरहेको देखिन्छ। तर भर्खरै यही सरकारबाट बाहिरिएका वर्षमान पुन र योगेश भट्टराई उनै सुरक्षाकर्मीलाई इंगित गर्दै सरकारको निर्देशनमा कानुन नाघेर अगाडि नबढ्न चेतावनी दिँदै 'आफूहरूले नोटिस' गरिरहेको भनेर धम्क्याइरहेको सुनिन्छ।
आखिरमा हिजो जस्तै जताबाट पनि मारमा पर्ने त उही कर्मचारी अझ भनौं सुरक्षाकर्मी न हुन्।
यहाँ एउटा प्रश्न उठिरहेको छ- सरकारले भिड जम्मा गरेर किन आफ्नो शक्ति देखाउनुपर्यो? सरकार प्रमुखले असंवैधानिक कदम उठायो भनेर अरू राजनीतिक शक्तिले आफ्नो शक्ति प्रदर्शन गर्नु त बुझ्न सकिने कुरा हो क्या रे तर सरकार आफैंले?
सरकारमा बस्नेलाई आफ्नो शक्तिको तुजुक निकै हुन्छ क्या रे! 'तेरोभन्दा मेरो के कम?' भन्ने हुन्छ कि क्या हो? अंग्रेजले त्यसबखतको भारतको सबैभन्दा ठूलो सहर कलकत्ताको क्षेत्रफल नापी गर्दा १८ कोष निस्किएछ, त्यसबखत नेपालमा राणा प्रधानमन्त्री श्री ३ जुद्ध शमशेर राणा थिए, उनले पनि आफ्ना कर्मचारीमार्फत काठमाडौंको क्षेत्रफल नाप्न लगाएर कलकता बराबर नै उही १८ कोष नै निकाल्न लगाएका थिए रे।
सायद सत्तामा बसेका प्रधानहरूलाई आफ्नो शक्ति देखाउन मज्जा लाग्छ क्यारे। उनै राणा शासनका संस्थापक श्री ३ जंगबहादुर राणा बेलायत भ्रमणमा रहँदा फ्रान्सका तत्कालीन शासक नेपोलियन बोनापार्टको सैनिक शक्तिको बारेमा सुनेका रहेछन्, त्यसैले उनलाई फ्रान्स भ्रमण गरी उनको शक्ति आफ्नै आँखाले हेर्न मन लागेर फ्रान्स भ्रमण चाँजो मिलाएछन्।
फ्रान्समा उनले एक लाख फ्रान्सेली सेनाको सैनिक परेड हेर्न मन गरेछन्, त्यसबखत एक लाख सेना एकै ठाउँ उतार्दा सैन्य बिद्रोह हुनसक्ने सम्भावनालाई दृष्टिगत गरेर श्री ३ जंगलाई पेरिसमा ५० हजार सेनाको मात्रै सैन्य परेड देखाएछन्। उनी त्यसबाट निकै प्रभावित भएछन्, अहिले काठमाडौं टुडिखेलमा रहेको जंगबहादुर राणाको शालिक त्यहीँ पेरिसमा उनले फ्रान्सेली सैनिकको परेड निरीक्षण गर्दाको हो भनेर भनिन्छ, जसमा जंगबहादुरले घोडामा सैन्य परेड निरीक्षण गर्दै गर्दा परेड कति लामो छ भनेर घोडामा पछाडि फर्केर हेरेको बेलाको दृश्य हो भनिन्छ।
सायद हाम्रा बहालवाला प्रधानमन्त्रीलाई पनि त्यसरी नै पछाडि फर्केर आफ्ना कार्यकर्ताको परेड हेर्न मन लागेको हुनसक्छ। पछि जंगबहादुर काठमाडौं फर्केर आएपछि फ्रान्सको राजदूत काठमाडौं आएको बेला बेलायतका राजदूतलाई समेत बोलाएर यसरी नै नेपाली सैनिकको विशाल परेड देखाएका थिए रे।
आफूसँग पर्याप्त सेना र सैन्य सामग्री नभए पनि लामो पालले बारेर टुँडिखेलमा सैनिक परेड खेल्दै पालभित्र पस्ने र उही सैनिक फेरि अर्को साइडबाट निस्किएर परेडमा मिसिने गर्दै फ्रान्सेली र बेलायती राजदूतलाई नेपाली सैनिक पनि निकै रहेछन् भन्ने प्रभाव पारेका थिए रे भनिन्छ।
सायद तत्कालीन प्रधानमन्त्री श्री ३ जंगलाई जस्तै वर्तमान प्रधानमन्त्रीलाई पनि आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई शक्ति देखाउन रहर लागेको जस्तो देखिन्छ।
यो सत्ता र शक्तिको तुजुक कस्तो हुँदोरहेछ भने आफ्ना वरपर 'हस हजुर' 'हो नि हजुर' भन्नेको भिडमा सत्तामा हुँदाका सरकारी अंगको वरपर आफू नै आफू अनि आफ्ना नै आफ्ना देखिन्छ होला।
अझ त्यसमा पनि आफ्नो कर्तव्य निर्वाह गरेर सरकारी आदेश पालन गरिरहेका कर्मचारी (विशेषतः सुरक्षा निकाय) अनि सरकारी मिडियालाई वरपर देख्दा झन् भ्रम हुने होला।
यस्तो बेला आजभन्दा करिब १६ वर्ष अगाडिको एउटा दृष्टान्त सधैं ताजा भएर आइदिन्छ- म जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत थिएँ। माघ १९ को कदम चालेर सम्पूर्ण शक्ति आफ्नो हातमा लिएका तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो राजकीय शक्ति प्रदर्शन गर्दै जिल्ला भ्रमणमा थिए। यही क्रममा जब उनी लमजुङ भ्रमणमा ५ वटा हेलिकप्टर लिएर सैनिक क्याम्पमाथि बनाइएको मञ्चमा पुगे। आफ्ना जय जयकार गरिरहेका जनता देखेर मुस्कुराउँदै थिए, भिड यति थियो कि यस्तो लाग्थ्यो सम्पूर्ण लम्जुङे जनता त्यहीँ ओइरिएका छन्।
यस्तैमा राजाका सवारीसाथ आएकी नेपाल टेलिभिजनका समाचारवाचिका रमा सिंह जनताको भिडमा आएर मलाई अनुरोध गरिन्, 'सर, माओबादी पीडित मान्छे खोजिदिनुहोस् न। म इन्टरभ्यू लिन्छु, उनीहरूले माओवादीले दिएको दुःख र श्री ५ महाराजाधिराजबाट आशा राखेको कुरा टिभीमा बोलोस्।'
माओवादीको त्यस्तो जगजगीमा को खुलेर बोलोस्, माओवादीका विरूद्धमा। राजधानीबाट हेलिकप्टरमा आएकी रमा सिंह चाहन्थिन्, जनताको राजाप्रति मात्रै विश्वास र भरोसा छ। तर सरकारी टेलिभिजनमा त्यसरी खुलेर को बोल्ने? मैले असमर्थता देखाउँदै थिएँ।
टेलिभिजन क्यामरा अगाडि भिड जम्मा हुने नै भयो। यस्तैमा एक्कासि एक जना ६५-७० का वृद्ध जुरूक्क उठेर म र रमा सिंह भएतिर आउँदै कराए, 'ए नानी, म बोल्छु। ल खिच मेरो कुरा।'
रमा सिंह दंग परेर क्यामराम्यानलाई भिडियो खिच्न इशारा गर्दै आफ्नो माइक लिएर वृद्धअगाडि पुगिन्। क्यामराम्यानले क्यामरा ठिक पारे। वृद्ध बोल्न थाले। प्याच्चै भनिदिए 'राजा भएर नेताजस्तै घुमेर हिँड्ने हैन, राजाको थान्कोमा बस्नुपर्छ।'
रमा सिंह आत्तिइन्। क्यामराम्यानतिर हेर्दै चिच्याइन्, 'ए क्यामरा बन्द गर्नुहोस्।'
उनी फटाफट त्यहाँबाट हिँडिन्। मैले पनि ती वृद्धको कुरा सुने जस्तो गर्नुभएन क्या रे। त्यहाँबाट अर्कोतिर लागेँ। राजा बसेको मन्चबाट टाढा उभिएको मैले त्यतिखेर सोचेँ- 'के दंग परेर मञ्चमा विराजमान राजालाई ती वृद्धको कुरा सुनाइदिने कोही होलान्?'
अहिले हाम्रा प्रधानमन्त्रीलाई भिडमा भएका र भिडबाहिर भएका जनताको यस्ता कुरा सुनाइदिने छेउछाउमा कोही होलान् र? खै के होलान् र उही 'हजुरबाहेक को पो ठिक छ र?' भन्नेको जमातमा।
तर त्यत्रो राजाको जयजयकार गर्ने भिड हुँदाहुँदै त्यसको एक वर्षभित्रै राजतन्त्र निलम्बित भयो। आखिर यस्ता भिड त कि त रमिते कि त छेपारे प्रवृतिका हुन्छन्।
अहिले देशमा शीर्ष नेताको दोहोरी हेर्न र पढ्न पाइन्छ, कुनै कुनै दोहोरी त साह्रै दिक्कलाग्दो देखिन्छ,। एकापसमा होच्याउन र तल खसाल्न सक्नेसम्मको प्रयास देखिन्छ। अझ भनौं बहालवाला प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीका लागि त झन् सुहाउने हुँदै होइन। उनीहरूको रवैया देख्दा उही राजतन्त्रको अन्त्यकाल आउँदै गरेको बखत तत्कालीन राजा ज्ञानेन्द्रले नेपालगञ्जको एउटा होटल अगाडि बसेर सरकारी टिभीलाई दिएको अन्तर्वार्तामा तत्कालीन प्रमुख राजनीतिक दलको प्रसंग ल्याउने बित्तिकै 'ख्वाक ख्वाक' खोक्दै 'ल तपाईंले यस्तो प्रश्न सोध्नेबित्तिकै मलाई खोकी पो लाग्यो' भन्दै राजनीतिक दललाई उडाउने गरी मुस्कुराएका थिए।
उनको त्यसबखतको प्रस्तुति सरकार प्रमुखको समेत जिम्मेवारी लिएका राष्ट्रप्रमुखलाई अलिकति पनि सुहाउँदो थिएन। उहिलेका राजा जसरी अहिले सरकारमा बसेका अनि उही सत्तारूढ पार्टीमै रहेका शीर्ष नेताले आज बोल्दै गरेका र गर्दै गरेका व्यवहारपछि आफैं एक्लै बसेर हेर्दा कत्ति अप्ठ्यारो लाग्दो होला!
अहिले हाम्रा प्रधानमन्त्री अनि नेताका शक्ति होडबाजीमा देखिदै गरेका तुजुक पनि 'काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर' भन्ने अवस्थाकै देखिन्छ। एकापसमा सहकार्य गरेर जनताको आवश्यकता सम्बोधन गर्नु त कता हो कता, उही सरकारी सम्पत्तिकै दुरूपयोग गर्दै एकापसमा लड्दै भिड्दै जनतालाई मर्कामा पार्ने काम गरिरहेको देखिन्छन्।
अनि 'हजुर त अहो' भन्दै यी नेतालाई लडाएर वरपर रहेका नन्दी, भृंगीले बडो सत्ता स्वाद लिइरहेको देखिन्छ। यही सिलसिलामा प्रधानमन्त्रीलाई माघ २३ गते आफ्नो शक्ति देखाउने भूत सवार भएको हुनुपर्छ। त्यसैले बेलाबखत भन्ने गरेका छन्- माघ २३ गते हेर्नु हाम्रो शक्ति। संसदमा रहेको आफ्नो दुईतिहाई बहुमतको शक्ति चिन्न नसक्ने अनि धान्न नसक्ने प्रधानमन्त्रीले सडकमा उत्रिएका भिडलाई मात्र आफ्नो असली शक्ति बुझे झैं देखिन्छ।
यतिखेर विश्वयुद्व विजेता बेलायती प्रधानमन्त्री विस्टन चर्चिलसँग सम्बन्धित एउटा घटना उल्लेख गर्न मन लाग्यो। सन् १९४५ मा हिटलरले आत्महत्या गरेपछि र जापानले आत्मसमर्पण गरेपछि चर्चिल एकदम लोकप्रिय भए। जताततै उनी हाइहाइ भए। प्रथम विश्व युद्वमा सैनिक कमान्डरका रूपमा लडेका उनी दोस्रो विश्वयुद्वमा राजनीतिक कमान्डरका रूपमा लडे।
उनको कुटनीति र कुसाग्रताले सफलता हात पारे। विश्वयुद्धमा विजय प्राप्त गरेको केही समयपछि उनी लन्डनमा कतै जाँदै थिए। जब उनी लन्डनको मुटु ट्राफल्गर स्क्वायर पुगे, तब त्यहाँ मानिसको भिड लाग्यो। उनी छक्क परेर आफ्ना पि.ए.तिर फर्किएर सोधे, 'यो केको भिड हो?'
प्रधानमन्त्री चर्चिलका पि.ए.ले प्रधानमन्त्रीलाई खुसी पर्ने मौकाका रूपमा लिँदै भन्न भ्याइहाले, 'महाशय, तपाईंको नेतृत्वमा देशले यति ठूलो युद्ध जित्यो। तपाईं अहिले जनताका बीच यति धेरै लोकप्रिय हुनुहुन्छ। त्यसैले उनीहरू तपाईंलाई हेर्न जम्मा भएका हुन्।'
तब हाजिर जवाफी चर्चिलले आफ्ना पि.ए' तिर फर्किएर भने, 'आज म यता आउँदा मलाई हेर्न जति भिड जम्मा भएका छन् नि, यदि मलाई यही ठाउँमा झुन्ड्याउने भयो भने हेर्न अहिलेभन्दा बढी भिड जम्मा हुन्छन्।'
आज भन्दा ७५ वर्ष अगाडि चर्चिलले बुझेका कुरा अहिलेका हाम्रा प्रधानमन्त्रीले त झन् नबुझ्ने कुरै छैन।
(लेखक नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षक हुन्)