कैले गोरी मनपर्यो , कैले काली मनपर्यो
ससुराली टेकेपछि साली मनपर्यो
ए ससुरा बा! मलाई साली मनपर्यो
लौन ससुरा बा! मलाई साली मनपर्यो...
जसले सुन्यो, उसले टिप्यो। धुन मीठो छ। शब्द ख्याप्पै मुखमा झुन्डिन्छ। गीत यति चर्चित छ, आफ्नो मामाघर र बाको ससुराली एउटै हो भन्ने थाहै नपाएको बच्चाले समेत मज्जाले गाउन सक्छ- छछुलाली तेकेपछि छाली मनपल्यो।
अहिले युट्युबमा लगभग ६ करोड भ्युज पुर्याएको यो गीतले एउटा कुरामा चाहिँ भेउ पुर्याएन- गीतको सामाजिक सन्देश।
गीतले जिस्किए जसरी हाम्रो वरपरको उरन्ठ्याउलो विभेदलाई झन् उक्साइदियो। परिणाम, गीतले बजारमा आएपछि केही समझदार मनको नराम्ररी चित्त दुखाएको थियो।
दुखेका चित्तहरूले सोधे- 'यस्ता गीत सुनेर हुर्किएकी सानी बच्चीले अब भिनाजुको सम्बन्धलाई कसरी बुझ्छे?'
दुखेका चित्तहरूले भने- 'यस्तो गीतले भिनाजु सालीको सम्बन्धमा प्रश्न उठायो। सम्बन्धलाई बदनाम गर्यो।'
दुखेका चित्तहरू रिसाए- 'यसैगरी कुनै भाउजूले, 'बुढाको घर गएपछि देवर मनपर्यो' भनिन् भने? के हामी त्यस्तो गीत स्वीकार्न सक्छौं? सो गीतमा यसरी नै नाच्न सक्छौं?'
यी रिसाएका र दुखेकामध्ये एउटा अमिलिएको चित्त मेरो पनि थियो। तर मेरो असली गुनासो गीतका रचयिता कालीप्रसाद बासकोटाभन्दा बढी अरू नै कसैसँग छ।
हामीले गीत सुन्यौं अनि कालीलाई मात्रै गाली गरिरह्यौं। तर गालीको फोहोरी अनि प्रमुख हकदार अर्कै छ जो हाम्रा कानुनी किताबको दफा, उपदफाभित्र सफासँग चोखिएर बसिरहेको छ।
खासमा 'देवर भाउजू र भिनाजु सालीको सम्बन्ध एकै होइन है' भन्ने अभिप्रायको मुख्य प्रायोजक त देशको मुख्य फौजदारी कानुन नै हो- मुलुकी अपराध संहिता, २०७४।
संहिताको दफा २२० को उपदफा २(ख) भन्छ- एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवर र भाउजूको करणी भएमा त्यसलाई हाडनाता करणी भित्रको अपराध मानिन्छ। त्यसैले चार वर्षदेखि दस वर्षसम्म कैद र चालीस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुन्छ।
अर्थात यदि कुनै देवर र भाउजूबीच सहमतिमै शारीरिक सम्बन्ध स्थापित भयो भने पनि उनीहरू कडाभन्दा कडा सजायको भागिदार हुनुपर्छ। तर उही कुरा, भिनाजु र साली बीचको शारीरिक सम्बन्धमा लागू हुँदैन।
हुन त हाम्रो संविधानको धारा अठारले छोराछोरी दुवैलाई समान मानेको छ। तर संविधानको धारा अठारलाई अपराध संहिताको परिच्छेद अठारले लोप्पा ख्वाइदियो। किनकी यदि साँच्चै छोरा र छोरी समान मानिन्थे भने, उनीहरूको कारण बन्ने नाता पनि समान हुन्थ्यो नि होइन?
सम्बन्ध कसरी बन्छ? दाजुले बिहे गरे- भाउजू। दिदीले बिहे गरे- भिनाजु। अब यदि छोराछोरी समान हुन् भने, दाजु र दिदी पनि समान भए। अनि दाजु र दिदीको नाता समान भएपछि भाउजू र भिनाजुको सम्मान त स्वतः समान हुनुपर्ने। तर देवर भाउजूको सम्बन्धलाई पूज्य मान्ने हाम्रो कानुनको पवित्रता मिटरले भिनाजु सालीलाई भने किन उस्तै पूज्य देख्दैन?
हाम्रो समाजको मान्यताले लुकेर भन्यो, 'बिहे गरेपछि भाउजू चाहिँ दाजुको सम्पत्ति बन्छिन्। त्यसैले उनले देवरलाई आँखा लाउन मिल्दैन। भिनाजु त दिदीको सम्पत्ति बन्ने होइनन् नि, भिनाजुले सालीलाई आधी घरवाली भन्दा पनि अचम्म मान्नु पर्दैन।'
त्यति कम थियो, झन् हाम्रो कानुनको मान्यताले खुलेरै भनिदियो- 'देवर भाउजू भइसकेपछि सहमतिमै पनि नजिकिने छुट छैन।'
ठ्याक्कै उसैसगरी भिनाजु र साली नजिकिए भने?
यो सोध्दा खुला उत्तर, 'अहँ, त्यो हाम्रो सरोकारमा पर्दैन।'
माथिको गीत लेख्दा गीतकार एक्लै बोलेका होइनन्, हाम्रो समाजको पितृसत्ता बोलेको हो। गीतले त 'समाज जस्तो छ, त्यही देखाएको हो' भनेर उम्किन खोज्छ होला। तर कानुनले समाज कस्तो बन्नुपर्ने हो, त्यो देखाउनु पर्छ। अझ गीतलाई त सृजनात्मक छुट पनि हुन्छ होला। तर कानुनलाई सृजनात्मक छुट हुँदैन। हुनु हुँदैन। कानुन एकजनाले लेख्ने गीत होइन।
चौवन्न वर्ष पुरानो मुलुकी ऐन असमान र अप्ठ्यारो भयो भन्ने तर्क दिएरै नयाँ अपराध संहिता ल्याइएको हो। यो कानुनलाई समान, सजिलो र फराकिलो कानुन भनियो। त्यसैले हामीले सोच्यौं, यति उदार कानुन त पितृसत्ताले पेलिनै सक्दैन नि। त्यही कारण, छहत्तर सालमा आएको गीतले सोत्तर गाली खाँदा पनि चौहत्तर सालमै आएको कानुनको भने प्रसंग समेत निक्लिएन। काली फसे, कानुन बच्यो।
पितृसत्ताले कानुन हेर्यो, गीत पनि सुन्यो। अनि हाम्रो रिस पोखिएको ठाउँ देखेर हामीलाई गिज्याउँदै ङिच्च हाँस्न थाल्यो।
पितृसत्ता र कानुन। कति मान्छेलाई झट्ट यी दुई बडेमानका शब्दहरू सँगै सुन्दा लाग्छ- फेरि कानुनलाई पुरुषवादी भन्दै केटाहरूलाई पेल्ने कुरा आयो होला।
विशेष त पुरुषहरू ठान्छन्- पिता शब्द जोडिएको जस्तो लाग्ने पितृसत्तात्मक सोचले पुरुषहरूलाई त केही असर नै गरेको छैन। सोच्दा हुन्- पेलिएका त महिला हुन्, यसै पनि पेलिएभन्दा बढी गनगन गर्छन्। हामीले किन ध्यान दिनुपर्यो?
तर यो मैलो पितृसत्ताले महिलालाई मात्रै सताइरहेको छैन। पितृसत्तात्मक सोचले कसरी लुकीलुकी असमानता हुर्काइरहेको छ भन्ने बुझ्न धेरै टाढा जानै पर्दैन। अघि भर्खर कुरा गरेको मुलुकी अपराध संहिताकै त्यही परिच्छेद अठार (करणी सम्बन्धी कसुर) हेरे पुग्छ।
यस परिच्छेद अन्तर्गतको दफा २२० जबरजस्ती करणी अर्थात बलात्कारसँग सम्बन्धित छ। यस दफाले सिधै भन्छ- कसैले कुनै 'महिला'लाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।
अर्थात- बलात्कार महिलाको मात्रै हुन्छ।
अर्थात- कुनै पुरुषको बलात्कार सम्भव छैन।
(यस दफालाई मंसिरमा आएको 'यौन हिंसाविरूद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश' ले अलि फराकिलो बनाउने हल्ला चलेको थियो तर हल्ला पास भने भएन।)
हुन त समाचारले नै मन सिरिंग हुने महिला बलात्कारका घटना सुनिरहेका बेला झ्याप्प हेर्दा लाग्छ, यो प्रावधानमा केही समस्या छैन। तर झ्याप्प हेर्दा जति देखिन्छ, सत्य सधैं त्यति मात्रै हुँदैन। बलात्कार एउटा मात्रै लिंगको समस्या होइन। जसरी समाजमा राम्रा पुरुषसँगै बलात्कारी पुरुष पनि छन्, त्यसैगरी राम्रा समलिंगी सँगै बलात्कारी समलिंगी पनि हुन सक्छन्। अनि कतिपटक बलात्कारी आक्रमणले महिला, पुरुष, तेस्रो लिंगी केही भन्दैनन्। कोही छाड्दैनन्।
यसो भनिरहँदा, सबभन्दा अनौठो सुनिने कुरा हो- केटाको बलात्कार।
सुन्नेबित्तिकै मनमा प्रश्न उठ्छ- शारीरिक हिसाबले कुनै केटाको बलात्कार सम्भव छ र ?
हो, पुरुषको शारीरिक प्रकृतिका कारण कुनै पुरुषलाई जबरजस्ती गरेर योनीमा लिंग पसाउन सम्भव नहोला। तर बलात्कार भनेको योनीमा जबरजस्ती लिंग पसाएर हुने क्रिया मात्रै हैन। जबरजस्ती करणीको व्याख्या यत्तिमै सीमित छैन। अघि कुरा गरिएकै, अपराध संहिताको दफा २२० को उपदफा २(ग) ले भन्छ- गुदद्वार वा मुखमा लिंग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिंग केही मात्र पसेको भएमा, लिंगबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिनेछ।
माथि भनिएकामध्ये केही यौन क्रियाकलाप कुनै पुरुषमाथि हुन पनि उत्तिकै सम्भव छ। उदाहरणका लागि: कुनै पुरुषले अर्को कुनै पुरुषको मुखमा, गुदद्वारमा जबरजस्ती लिंग पसाउन सम्भव हुन्छ। त्यसैले अहिलेकै बलात्कारको परिभाषा अन्तर्गत पनि शारीरिक हिसाबले कुनै केटाको बलात्कार सम्भव छ।
यद्यपि, कुनै बलात्कृत पुरुषले यो कानुनको सहारा लिन भने पाउँदैन। किनकी हाम्रो कानुनअनुसार बलात्कार 'मान्छे' को निजी परिधि र शरीरमाथि हुने अपराध होइन। बलात्कार त महिलाको सतित्व र इज्जतमाथि हुने अपराध मात्रै हो।
उही अपराध हुँदा, महिलाको करणी भएको मानिन्छ, तर पुरुषमाथि यौन दुर्व्यवहार मात्र। एउटी महिलाको मुखमा जबरजस्ती लिंग पसाइए त्यो करणी भएको मान्ने स्पष्ट आधार हो। तर एउटा पुरुषमाथि ठ्याक्कै त्यस्तै बर्बर क्रियाकलाप भए त्यो यौन दुर्व्यवहारको सीमाभित्र मात्रै पर्छ।
उस्तै व्यवहार हुँदा, उस्तै पीडा हुने हो। बराबर गलत हुने हो। तर अफसोच, कानुनले पीडितको लिंगअनुसार पीडकको सजाय निर्धारण गर्छ। संविधानले प्रस्ट भनेको छ- लिंगका आधारमा कुनै भेदभाव गरिने छैन।
यो कानुन ठ्याक्कै त्यही भेदभाव गर्छ। हामीले 'फलाएको' संविधान मसलेदार भयो। तर त्यही संविधान टिपेर 'पकाएको' कानुनमा नुन पुगेन। न्याय खल्लो भयो।
हाम्रो कानुन, एउटा पुरुष अर्को पुरुषसँग आकर्षित हुने सम्भावना स्वीकार्छ। आधुनिक देखिन्छ। तर दुई पुरुषको बिहे हुने सम्भावना चाहिँ स्वीकार्दैन। हाम्रो कानुन दुई केटाबीच सम्भव हुने यौनक्रियालाई करणीको व्याख्यामा अट्न दिन्छ। आधुनिक कहलिन्छ। तर केटाको बलात्कार हुन्छ भन्ने सम्भावना चाहिँ स्वीकार्दैन।
यस्तो लाग्छ, हाम्रा कानुन निर्मातालाई आधुनिक देखिने होड त छ, तर प्रस्ट हुने फुर्सद छैन। महिलाहरूले पितृसत्तालाई छुसुक्क केही भन्नेबित्तिकै 'नट अल मेन' भन्दै झम्टिन आउने आवाजले पनि यो असमानता चाहिँ देखेको छैन।
सायद हामी कुरिरहेका छौं- कुनै पुरुषले एकदिन आत्महत्या गरोस्। बलात्कारबारे लेखेर सुसाइड नोट छाडोस् अनि कानुन बनाउँला, अहिल्यै के हतार छ र!
सायद हामी कुरिरहेका छौं- कुनै दिन समलिंगी आन्दोलनले सहनै नसक्ने गरी सडक तताओस्। अरू केही विकल्प नहोस्, अनि बनाउँला कानुन। अहिल्यै के हतार छ र!
हुनुभन्दा अघिका लागि तयार हुन यो राज्यले कहिले पो जान्यो र!
हामी यस्तो समाजमा बस्छौं, जहाँ कुनै केटाले 'मलाई जबरजस्ती गरियो' भन्दा मात्रै उसलाई सिधै नामर्दको ट्याग लगाइन्छ। त्यसैले जति शारीरिक जबरजस्ती भए पनि हाम्रा प्रायः केटाहरू सकुन्जेल सहन्छन्। नसक्ने नै भएपछि कानुनको सहारा लिन्थे होला। तर उनीहरूका लागि बलियो कानुन नै छैन।
हामी यस्तो समाजमा छौं जहाँ एक त समलिंगीको अस्तित्व स्वीकार्नै मान्छेलाई हम्मेहम्मे भइरहेको छ। अझ यस्तोबेला कुनै समलिंगी पुरुषले 'मलाई अर्को समलिंगीले बलात्कार गर्यो' भन्ने कुरै आएन। यस्तो गुनासोले त झन् समलिंगी पहिचानलाई नै दबाउँछ कि भन्ने डर। त्यसैले होला यो आवाज पनि खासै उठ्दैन।
तर एकछिन सोचौं त! महिला बलात्कारको यति धेरै कानुन हुँदा त यतिका निर्मलाहरूको बिचल्ली भइरहेको बेला गतिलो कानुन नै नभएको पुरुष बलात्कारका घटना कसरी उजुरी हुन्छन्? के आधारमा आवाज उठ्छन्?
हाम्रो पितृसत्तात्मक सोचले कुनै पनि पुरुषलाई दुईथरी मात्रै देख्यो। पुरुष कि बलियो र असल हुन्छ कि बलियो र पीडक। पुरुष कहिलेकाहीँ कमजोर र पीडित पनि हुन्छ भनेर स्वीकार्नु पितृसत्ताका लागि नांगै हिँड्नु बराबर भइदियो। जसकारण, कानुनले जस्तै फराकिलो बन्दा पनि पुरुषका लागि सोच्ने आँट गरेन। परिणाम, पुरुषहरूले जस्तै कहालिलाग्दो कथा भोगे पनि सुनाउने आँट गरेनन्।
कुनै पुरुषको पनि बलात्कार हुन सक्छ, यो सम्भावना पितृसतात्मक सोचका लागि निषेधित क्षेत्र जस्तै बनेको छ। झन् अहिलेका समयमा, जब हाम्रा कानुन निर्माता नै पीडितको उमेर पुगेकै भरमा बलात्कार जस्तो जघन्य अपराधलाई 'मोज गर्ने अनि फसाउने' को पगरी गुथाइदिन व्यस्त छन्।
पहिलो कुरा त बलात्कार उमेर, शरीर, बल वा सम्बन्धले होइन, यौनसम्बन्ध राख्ने सहमतिले निर्धारण गर्छ भन्ने नै बुझाउन बाँकी रहेछ। अझ त्यसमा थपेर 'सदाबहार बलियो पक्ष मानिएका पुरुषको पनि बलात्कार हुन सक्छ' भन्ने कुरा सिकाउनु, तिनै कानुन निर्माताको बुढ्यौलीलाई जवान बनाउनु जत्तिकै अप्ठ्यारो काम होला।
तर अप्ठ्यारा जति सबै काम नगर्ने हो भने, बाँच्न नै पो कति सजिलो छ र!
हाम्रो समस्याको दायरा र समाधान दिने कानुनको चौडाइ उस्तै देखिएर पनि उस्तै छैन। देवर-भाउजू अनि भिनाजु-सालीलाई त उस्तै नदेख्ने समाजले भिनाजुले सालोलाई जबरजस्ती गरे के भन्छ, त्यो त कल्पना नै गर्न नसकिने कुरा।
'कल्पना बाहिरको कुरा के छलफल गर्नु,' यसो सोचेर यतिका नलेखेको भए पनि हुन्थ्यो होला। तर कल्पना नगरेरै सत्य बदलिँदो हो त, बलात्कार नै नहुने समाज कल्पिन के पो गाह्रो छ र!
(सृजना पोख्रेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)