उई दुःख सईरनु, जो दुःख ईश्वरले दियो, उई दुःख सईरनु!
न फूल पहिरनु, न मैले कोपिला टिप्नु, न फूल पहिरनु!
माथिको गीतको भावार्थझैं समय, परिस्थिति, प्रकृति, पद्धति वा राजनीति। जसका कारण दुःख वा पीडा भए पनि गरिब, असहाय र आवाजविहीन वर्गसँग विकल्प छैन पीडा सहनुको।
तिनलाई पीडाबाट मुक्ति दिलाउने औषधि अझसम्म बनेको छैन।
यस्ता वर्ग देशका कुनाकन्दरामा जहाँकहीँ छन्। त्यस्तै लामो समय पीडाबोध गर्ने एउटा वर्गको कथाव्यथा छ यहाँ।
कुरो चालीस सालतिरको। अछामका दुइटा गाउँ कुसकोट र ठाँटीका जनताबीच एउटा डाँडाको विषयलाई लिएर विवाद हुन्छ। विवाद फक्रिएर लडाइँमा परिणत हुन्छ। दिनैपिच्छे दुई गाउँबीच कुटाकुट।
दाजुभाइ, आफन्तबीच नै साँधसिमानाको लागि लडाइँ। लडाइँको लामै शृंखला चल्दा घाटा कुनै एक पक्षलाई हुँदैन। दुवैलाई हुन्छ। २०४५ सालमै नापी भई लालपूर्जा पाउनुपर्ने काम बिथोलिन्छ।
सँगै नापी सुरू गर्ने छिमेकी गाउँलेका हातहातमा जग्गा धनी प्रमाण पूर्जा अर्थात लालपूर्जा आउँछ। यी भने बातबातमा हातपातमा उत्रिन्छन्। वरिपरिका जिल्लामा लालपूर्जा पाउँदाको खुसियाली छाउँछ। तर, कुसकोट र ठाँटीबासी दशकौंसम्म जग्गा धनी प्रमाण पूर्जा विहीन भई बस्नुपर्ने अवस्थाको बिजारोपण गर्छन्।
एक दशकपछि २०५४ सालतिर बडो मुश्किलले गाउँलेबीच विवाद मिलेर पुनः लालपूर्जाका लागि नापी सुरू हुन्छ। काम गर्दै जाँदा २०५७ सालमा जग्गाधनी प्रमाण पूर्जा तयार हुने अवस्थामा पुगे पनि दुर्गम हुनुको नियति भोग्नुपर्छ।
ठूलो संख्यामा जग्गाको कारोबार हुने अन्य मालपोत कार्यालयमा जस्तो दरबन्दीभन्दा बढी कर्मचारी हुनु त अछामका लागि स्वैरकल्पना मात्रै हो। लामो समय मालपोत कार्यालयमा कार्यालय प्रमुख नखटाइँदा निमित्त प्रमुख भएका कारण पूर्जामा सही छाप हुन सक्दैन। पर्खाइ लम्बिने अवस्था आउँछ।
पर्खाइकै बीच २०५८ साल फागुनमा जनयुद्धकालमा जिल्लामा आक्रमण हुन्छ। मंगलसैन दरबारमा आगलागी भएसँगै मालपोतका सरकारी कागजपत्र मात्र होइन, ठाँटीबासीका पूर्जा पाउने सपना पनि जलेर खरानी हुन्छन्। पूर्जाको प्राप्ति अनिश्चित बन्छ। तर पनि जनताले आशा त्याग्दैनन्, अर्को चरणको प्रतीक्षा सुरू गर्छन्।
ठाँटीका एकजना वृद्ध बा भन्छन्, 'म ८५ वर्षको भएँ। मेरो बाबुको मृत्यु ८६ वर्षको उमेरमा भएको थियो। उहाँले धनीपूर्जा देख्नुभएन, बितेर जानुभयो। मलाई लाग्थ्यो मेरो पनि मृत्यु पूर्जा छुन नपाएरै हुन्छ होला, तर आज मेरै नाममा धनीपूर्जा बनेको छ, धन्य भएँ। मलाई भूमिपति भएझैं लागेको छ। आजको राति जीवनकै मिठो निद्रा निदाउँनेछु।'
यो भनाइ २०७७ साल असोज २६ गते अछामको मेल्लेख गाउँपालिका-३, ठाँटी (साविकको ठाँटी गाविस) का ४ सय ७ जनालाई जीवनमै पहिलो पटक जग्गा धनी प्रमाण पूर्जा वितरण गर्ने दिनको हो। २०४५ सालमा वितरण गर्ने भनिएको पूर्जा राजनीतिक, सामाजिक, प्राविधिक र प्रशासनिक विविध कारणले सर्दैसर्दै २०७७ सालसम्म आइपुगेको थियो।
२०७६ साल कात्तिकमा वर्ष एक वर्षे अवधिसहित गठन भएको छुट जग्गा दर्ता समितिले कर्मचारी खटनपटन गर्दै आएकोमा हिमपात हुँदा समेत लडिबुडी गर्दै काम गरेका नापी र मालपोतका कर्मचारी अन्तिम पन्ध्र दिन अहोरात्र खटिँदा मात्र पूर्जा वितरण सम्भव भएको थियो।
यो ऐतिहासिक उपलब्धिमा कोरोना कहरका बाबजुद पूर्जा वितरण कार्यलाई भव्य रूपमा मनाउने चाह थियो स्थानीयको।
सिडिओ, नापी र मालपोतका हाकिमलाई स्वागत गर्दै पूर्जा लिने स्थानीयको चाहना एकातिर। अर्कोतिर कोरोना जोखिमका बीच भीडभाड गर्न नहुने स्वयम् सिडिओको आदेश। स्थानीय नागरिकदेखि जनप्रतिनिधिले तारन्तार निमन्त्रणा गरेपछि जिल्लाको टोली ठाँटी पुग्यो।
मंगलसैनबाट साढे चार घण्टा यात्रापछि गाडी रोकिँदा मान्छेहरू बाटैमा फूलमाला लिएर स्वागतमा उभिएका छन्। अलि पर्तिर १२ जना बाजागाजासहित कुरिरहेका। अगाडि अगाडि बाजागाजा, पछाडि पछाडि कर्मचारीको टोली।
निलो निजामती ड्रेस मा हिँडेका कर्मचारीको धूमधाम स्वागत भयो। अनुहार राताम्मे हुने गरी अबिरले रंग्याइयो। गर्दन र घाँटी पहेँलपुर हुनेगरी गोदावरी फूलका २७ वटा माला लगाइदिएको याद छ। माहोल गाउँलेको खुसियालीको भए पनि कर्मचारी 'कलरफूल' बनेका थिए। जनताकै काम इमानदारीपूर्वक गरिदिए सम्मान र स्वागत तिनले नै गर्ने रहेछन् भन्ने प्रमाणितै भयो।
'उहिले उहिले मुखिया आउँथे दौडाहामा। मुखिया कस्ता होलान् भन्ने लाग्थ्यो तर आज यो ठाउँमा कार्यालय प्रमुखको लर्को लगाएर सिडिओ आउनुभएको छ। जयजयकार गरौं।' स्थानीय भनिरहेका थिए। भीड अस्वाभाविक थियो। सबैलाई नआउन स्थानीय तहले गरेको 'माइकिङ'ले फेल खायो। तीन सयजति मास्कधारी नागरिक उपस्थित थिए स्वागत गर्न।
बाजागाजासँगै दुई सय मिटर हिँडेर कर्मचारीको टोली कार्यक्रम स्थलसम्म पुग्यो। २०२८ सालमा स्थापना भएको श्री पिपलचौर उच्च माध्यमिक विद्यालय, बगुडा ठाँटी, अछामको प्रांगणमा पूर्जा वितरणको ऐतिहासिक कार्यक्रम आयोजना गरिएको थियो।
बाजाको गुञ्जन सुनेर मानिसहरू ओइरिँदा भीडभाड बढाएको र मानिसलाई उत्तेजित बनाउने भएकाले सर्वप्रथम बाजागाजा फर्काउन लगाइयो।
लालपूर्जा पाउने सपनासहित आएका सेवाग्राहीलाई सामाजिक दुरी कायम गरेर चौरमा बसाउन प्रहरी परिचालित भए। उक्त गाउँभर विगतदेखि नै कोरोना संक्रमण नभए पनि उद्घोषकलाई कोरोना भाइरस संक्रमण जोखिमलाई ध्यान दिँदै सामाजिक दुरी कायम गर्न, मास्क लगाउन, भीडभाड नगर्न बारम्बार फुक्न लगाइयो। कार्यक्रम व्यवस्थित हुँदै थियो।
यता मञ्चमा पश्चिमाभिमुख अतिथि गण। उता कुनातिर कागज मिलाउन, पूर्जा लेख्न खटिएका परिचय पत्रधारी नापी र मालपोतका कर्मचारी। अगाडिपट्टि विशेष कार्यक्रमका बीच पूर्जा पाउने गोदावरी फूलको मालाधारी ७ जना ढाका टोपी र १ जना 'उने' टोपीमा सजिएका ८ जना वयोवृद्ध। पछाडिपट्टि सयौं पुरुषहरू। एउटा कुनामा एकै ठाउँमा बसेका ७ जना महिला।
अछाममा महिलाको नाममा घरजग्गा राख्ने प्रवृत्ति निकै कम भएकाले महिला उपस्थिति न्यून छ। लालपूर्जा पाउने ४ सय ७ मध्ये ४२ जना (करिब १० प्रतिशत) मात्र महिला हुनुले उक्त कुरा पुष्टि गर्छ। सिंगै अछामका कुल ३५ हजार ५७३ जग्गा धनीमध्ये ३ हजार ५७९ (१० प्रतिशत) महिला देखिनु राष्ट्रिय औसतभन्दा निकै कम हो।
उता उद्घोषक भनिरहेछन्, 'तपाईं हाम्रा हातमा पूर्जा आउँदैछन्। आदरणीय महानुभावहरू, यो ऐतिहासिक दिन हो। यो दिनमा हामीले गर्व शिवाय गर्नु केही छैन। आज हाम्रा आँखामा आँशु र मनमा खुसीका तरंगहरू कुदिरहेका छन्।'
स्वागत मन्तव्यमा विद्यालयका प्रधानाध्यापक भन्छन्, 'अब नेपाल अधिराज्यकै लालपूर्जा विहीनबाट लालपूर्जायुक्त गाउँ बनाइ दिनुभएको छ। सिडिओ सापको सम्पूर्ण टिमलाई कोटी कोटी धन्यवाद।'
थाहा नभएर भन्दा पनि पुरानो बानी छोड्न नसकेर होला मास्टर सा'ब 'नेपाल अधिराज्य'मै हुनुहुन्छ।
राजनीतिक पृष्ठभूमिका अर्का वक्ता भन्छन्, 'हेर्नुस् जनसमुदाय। वनमा रहने राउटेको खोजी भइसकेको छ, चितवनका प्रजाले पूर्जा पाइसके। लोपोन्मुख कुशवाडियालाई पहिचान मिलिसक्दा अछामका ठाँटीबासीको न खोजी थियो, न सुनुवाइ। तर, आजदेखि हामी पनि सम्बोधित भएका छौं। हाम्रा पनि हातहातमा पूर्जा आउँदैछन्।'
एक जनप्रतिनिधि भन्छन्, 'कोदाले, कुटे र हले जग्गाका किसिम थिए यो ठाउँमा। हामी ठाँटीबासी सदियौंदेखि कृषि कार्य गर्दै आए पनि स्वयम् पूर्जाविहीन थियौं। कुनै दिन त जग्गा धनी पूर्जा पाइएला भन्ने आशामा सधैं जमिनको रक्षा गरिरह्यौं। उपयोग पनि गरिरह्यौं। गुजारा चलिरह्यो। आज भने हामीले माटोलाई गरेको मायाले सार्थकता पाएको छ।'
वक्ताहरूले भनेझैं स्थानीयबासीको लामो कालखण्ड पूर्जाको पर्खाइमा बित्यो।
भाषणहरूमा भनिन्छ र लेखहरूमा लेखिन्छ- 'नेपाललाई स्वीट्जरल्याण्ड बनाइदिन्छौं। सिंगापुर बनाउन दस वर्ष पनि कुर्नु पर्दैन। वैज्ञानिक भूमिसुधार लागू हुन्छ। कृषि क्रान्ति गरेर यति वर्षमा जिडिपीको आकार यति गुणा बढाउछौं। अर्थतन्त्रलाई उकास्छौं।'
योजना बनाउनु, सपना देख्नु गलत होइन। तर, ३२ वर्ष लागेछ एक थान लालपूर्जा दिन। भन्नु र गर्नुमा धेरै फरक हुँदो रहेछ भन्ने ठाँटीको पूर्जा वितरणले प्रमाणित गरिसक्यो।
अझै पनि सँगैको कुसकोट लगायत अछामका १२ हजार ७७८ अर्थात २६ प्रतिशतभन्दा बढी घरधुरीले जग्गाधनी प्रमाण पूर्जा पाउनै बाँकी छ। कहिले पाइन्छ? कसैसँग जवाफ छैन।
त्यसैले, सकिन्छ भने सानो सानो भए पनि सुधार गर्दै जाऔं। यहाँ ठूला ठूला कुरा गर्नु बेकार छ। यो देशका राष्ट्र सेवक वा राजनीतिज्ञबाट जनताले चमत्कारको आशा इतिहासमा कहिल्यै गरेका छैनन्। त्यसैले सानो सानो तर अनुभूति हुने खुसी बाँड्न अघि सर्नु नै विवेकशील हुनेछ।
(लेखक गोकर्णप्रसाद उपाध्याय जिल्ला प्रशासन कार्यालय, अछामका प्रमुख जिल्ला अधिकारी हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)