त्यो दिन स्कुल नगएको भए लडाइँमा मान्छे मर्छ भनेर पत्याउँदिन थिएँ।
'मान्छेले पनि काइँ मान्छे मार्छ?' मलाई यस्तै लाग्थ्यो।
'झुट बोलेको भए मरिजाम्।'
केही दिन अघिसम्म आफैंले लगाएका लुगा साना साना हुन थालेका थिए। जुत्ताको तुना कस्न भर्खर जान्दै थिएँ। 'मुना' पत्रिकाको 'तस्बिर हेरेर फरक छुट्याऊ' मिलाउन थालेको थिएँ।
'मुना' सँगै घरमा हरेक महिना 'युवा', 'नेपाल', 'हिमाल' पत्रिका पनि आउँथे। कुनैको गातामा बन्दुक हुन्थ्यो। कुनैकोमा कम्ब्याट। पत्रिकाको गाता र स्कुलको किताबको गाता फरक हुन्थ्यो।
तर बन्दुक देख्दा डर लाग्दैन थियो। फोटोको बन्दुकसँग किन डराउनु? फोटोमा हुने मान्छेले के गर्छन्?
बरु पेजमा भएका फोटा गन्ने खेल खेल्थ्यौं। एकापट्टिको पेज बहिनीको, अर्कोपट्टि मेरो। जसकोमा धेरै फोटो आयो, उसले जित्यो।
डर बरु पछाडिबाट कसैले तान्छ कि भनेर लाग्थ्यो।
रात परेपछि पछाडिबाट बाघ आएर झ्याप्पै पार्यो भने? कथामा सुनेका भूत अगाडि आए भने?
अलि हुर्किएपछि घडी हेर्न जानेँ। राती पौनै नौ बजे बुवा बिबिसी बजाउनुहुन्थ्यो। समाचारमा मान्छे मर्थे। साढे ६ बजे पनि समाचार आउँथ्यो। अरू बेला आउँथ्यो। सबैतिरको समाचारले मान्छे मरेको समाचार भन्थे।
तर ती समाचारमा कसैलाई 'मृत्यु' र कसैलाई 'वीरगति' किन भन्छ बुझ्दिनँ थिएँ।
पत्रिकाको फरक छुट्याउनेमा त दुइटा फोटो हुन्थ्यो। एउटा फोटोमा भएको तर अर्कोमा नभएको फरक भेटे भइहाल्थ्यो। मृत्यु र वीरगतिको फोटो कस्तो हुन्थ्यो मलाई के थाहा?
सर्टको दुवै बाहुलाको टाँक आफैंले लगाउन सक्न थाल्दासम्म बिस्तारै धेरै कुरा फरक हुन थाल्यो। आमाबुवा पहिला हामीले सुन्ने गरी सल्लाह गर्नु हुन्थ्यो। बिस्तारै बिस्तारै हामीले सुन्लान् कि भनेर साउती गर्न थाल्नुभयो।
गाउँमा आउने मान्छे देखिरहेका भन्दा फरक हुन थाले। बुवाले पहिलाभन्दा छिटो पसल बन्द गर्न थाल्नुभयो।
मैले भारतीय सेनामा पेन्सन पकाएर फर्किनुभएका गाउँका एक जना अंकलको कुरा चाख मान्न थालेँ। उहाँ हाम्रो घर अगाडि चोकमा बसेर कारगिलको युद्धमा गएको कुरा सुनाउनु हुन्थ्यो। गोली आइरहेको ठाउँमा आफू बाँचेको कहानी भनी सिद्ध्याउनु हुन्थ्यो। र हाँस्नु हुन्थ्यो।
उहाँ हाँस्ने तरिका पनि फरक हुन थाल्यो।
उहाँ आँखै अगाडि गोली लागेर मान्छे मरेको सुनाउनु हुन्थ्यो। तर म गोली कसरी आउँछ, त्यो कल्पना गर्थेँ। स्कुलमा एउटा साथीले गोलीको माला बनाएर घाँटीमा लगाएको थियो। कसैले गोली मलाई पनि दिए हुन्थ्यो जस्तो लाग्थ्यो।
गोलीको रहर गर्ने मान्छेलाई बन्दुकको के डर?
लाहुरे अंकल भन्दै जानु हुन्थ्यो, 'हिउँ परेका बेला गोली लागेको मान्छेको रगत हिउँमा छ्याप्पै लाग्छ।'
त्यो कसरी लाग्छ भन्ने मेरो कल्पनाले भ्याउँदैन थियो। के कुरा कसरी हुन्छ भनेर थाहा पाउने बेलै भएको थिएन कि?
'कलिलै थिएँ नि त।'
उहाँले हिउँमा गोली लागेका मान्छेको कुरा सुनाउँदा म अक्षता बनाउने सेतो चामलमा कालो पत्तिरङ मिसिएको सम्झिन्थेँ। थोरै पानी लगाएर हातले मुछ्न थालेपछि कालो धूलो रातो हुन्थ्यो र अक्षता रंग्याउँथ्यो। कस्तो गज्जब!
रातो टिका र माला लगाएर मान्छेहरू हिँड्न थाले।
'सेतो हिउँमा रातो रगत लाग्यो भने अक्षता बन्छ त? त्यसलाई कसले मुछ्छ? कसको निधारमा लगाउँछ? त्यसलाई निधारमा लगाउने मान्छे पनि कतै जान्छ?' म सोच्दा सोच्दै अन्मिलिन्थेँ।
हिउँमा लागेको रगत केdf जान्थ्यो मलाई कसरी थाहा हुनु? त्यो बेला मैले हिउँ देखेको भए पो?
रगत के-केमा लाग्न सक्छ भन्ने बुझ्ने पनि उमेर हुन्छ होला नि त।
त्यसपछि स्कुलमा सामाजिक विषय पढाउन नारायण सर आउनुभयो। उहाँले सामाजिक विषयमा पहिलो र दोस्रो विश्वयुद्ध पढाउनुभयो। हामीलाई लेख्न लगाउँदै भन्नुभयो, 'पहिलो विश्वयुद्धको रगत सुक्न नपाउँदै, दोस्रो विश्वयुद्ध भयो।'
त्यो रगत केमा पोखिएको थियो र सुकेन, उहाँले भन्नुभएन। मैले सोधिनँ। केमा मिसियो भनेर सोच्न सकिनँ।
रङ नै सोच्न नसक्नेले रङको प्रश्न कसरी सोध्नु?
त्यसपछि बन्दुक बोकेका मान्छेहरू हिँडेको देखेँ। साँच्चैको बन्दुक देखेँ। तर त्यसैले मान्छे मार्ने हो भनेर सोच्न सकिनँ।
मलाई आँखाले नदेखेको कुरा हुँदैन जस्तै लाग्थ्यो। मान्छे मरेका कथाहरू परबाट नजिक नजिक आइरहेका थिए।
केही भएजस्तो लाग्न आफ्नो छेउमा केही हुनुपर्ने रहेछ कि क्यार।
बल्ल केही हुँदै छ जस्तो लाग्न थाल्यो।
गाउँमा चिनेका केही मान्छे माओवादी भए। केही 'सुरक्षाकर्मी' भए।
युद्धले नसुनेका ठाउँ सुनाउन थाल्यो। मैले नेपालको नक्सामा अञ्चल मात्र चिनेको थिएँ। समाचारमा जिल्ला आउन थालेपछि धेरै जिल्ला चिनेँ। जिल्लाहरू पश्चिमबाट पूर्व आउन थाले। युद्ध पश्चिमबाट पूर्व आउन थाल्यो।
पश्चिमबाट हिँडेर भोजपुर आइपुग्न कति लाग्छ होला है? मैले बेलैमा नचिनेको भएर मलाई चिनाउन युद्ध आफैं पूर्व आएको त होइन? त्यो युद्धलाई मैले पश्चिम नेपालमै हुँदा चिनेको भए सायद पूर्वसम्म आइपुग्दैन थियो कि?
युद्धनजिकै आइरहेको समाचार सुनिरहे पनि मलाई भिडन्त कस्तो हुन्छ भन्ने थाहा थिएन। सेना र माओवादीलाई फरक फरक समयमा देख्थेँ। उनीहरू आमुन्ने सामुन्ने भएपछि के हुन्छ मलाई के थाहा?
के गर्दा के हुन्छ भन्ने थाहा पाउने उमेर भएको थियो त? आठ कक्षामा पढ्नेलाई कति नै कुरा थाहा हुन्छ?
एउटा कुरा सुनाउनै बिर्सेछु।
एक रात केही माओवादीहरू हाम्रो आँगनमा आएर भव्य कार्यक्रम गरेछन्। कमरेड श्यामको नाममा फलैंचा पनि बनाएछन्। त्यसको मुनि केही पुरेजस्तो बनाएछन् र भनी हिँडेछन्, 'यहाँ मुनि बम छ। यो फलैंचामा कोही बस्यो भने पड्किन्छ।'
फलैंचा पूरै अबिरै अबिरले पोतिएको थियो। फूलले सजाइएको थियो।
भोलिपल्ट पुलिसहरू आए। त्यसलाई भत्काएनन् बरू वरपर घुमेर फर्किए।
'माओवादीले राम्रो काम पनि गर्दा रहेछन्?' भन्दै हाँसे।
नहाँसेको मान्छे देखिरहँदा पो युद्ध भएछ भन्नु।
हाम्रो घरमा पसल थियो। मेडिकल पनि। त्यहाँ माओवादी पनि आउँथे। सशस्त्र पनि। उनीहरू आएर एक अर्काको खबर सोध्थे।
खबर नसोधेको भए पो शत्रु रहेछन् भन्नु।
त्यसको केही दिनमा फलैंचामा लागेको रङ उड्न थाल्यो। फूल पनि ओइलायो।
फलैंचाको नजिकै धारो थियो। लेकबाट पाइपमा बग्दै बग्दै पानी त्यो धारोमा आएर खस्थ्यो। त्यसैबाट पानी थापेर हामीले फलैंचामा लागेको बाँकी रङ पखाल्यौं। पानी खन्याउँदा अबिर भिज्यो। भिजेको अबिर रगत जस्तै भएर भुइँभरि पोखियो। त्यति पातलो त मान्छेको रगत हुँदैन होला। खसीको त हुँदैन।
त्यो सम्झनाको रगत थियो। कमरेड श्यामको सम्झनाको रगत!
हामी त्यो फलैंचामा चढ्यौं। खेल्यौं।
त्यसको बम पड्किएको भए पो उनीहरूले भनेको पत्याउनु?
म सानो हुन्जेल धेरै थोक पत्याउँदिन थिएँ।
म ठूलो हुँदै जाँदा युद्ध पनि ठूलो हुँदै गयो।
त्यसपछि स्कुल जाने बाटोमा माओवादी र सशस्त्र प्रहरीबीच भिडन्त भयो। तीन जना माओवादी लडाकुलाई मारेर सशस्त्र प्रहरीले हाम्रो धारामा पानी आउने पाइप गाडेको ठाउँमा हालेछन् र नपुरी गएछन्।
बाटो माथि जंगल थियो। त्यो जंगलबाट बाटोतिर फर्किएर माओवादी लडेछन्। बाटोबाट जंगलतिर फर्किएर सशस्त्र भिडेछन्।
मरेका सशस्त्र प्रहरीको लास लगिसकेका थिए। तर उनको शरीरबाट बगेको रगत भुइँमा जमेको थियो। पूरै सुकिसकेको थिएन। माटोमा जमेको थियो। जमेर कालो भएको थियो।
मैले हिउँमा परेको रगतको कथा मात्र सुनेको थिएँ। माटोमा परेको रगत पहिलोपल्ट देखेँ। रगत जमेको ठाउँभन्दा माथि एउटा चिलाउनेको रूख थियो। त्यसको फेद र भुइँमा लुकेर उनी जंगलतिर गोली चलाइरहेका थिए होलान्। चलाउँदा चलाउँदै आफूले चलाएजस्तै कुनै गोली लागेर भुइँतिर ढले होलान्।
साथीले घाँटीमा लगाएको गोली छ कि भनेर भुइँमा हेरेँ।
नारायण सरले लेखाएको नोटमा आफूले लेखेका अक्षर आलै छन् कि भनेर छामेँ।
कालो ढुटोमा पानी मिसिएपछि रगत जस्तै रातो अक्षता बन्थ्यो। रगत भुइँमा मिसिएपछि पनि कालो नै हुने रहेछ, बुझेँ।
मान्छेहरूले केटाकेटी नडराऊन् भनेर उनको रगत पोखिएको ठाउँमा माटो हालेर पुरिदिए। पाइप गाडेको खोपिल्टोमा सुतेका तीन माओवादीको लास पनि माटोले छोपिदिए।
त्यति देखेपछि बल्ल डराएँ। घर फर्किँदा बेस्सरी टाउको दुख्यो।
मैले त्यहाँ देखेको लास र जमेको रगतलाई आफूले जहाँ जहाँ युद्धको कथा सुनेको थिएँ, सबैतिर मिसाएँ। सबै थोक फेरि ताजा भएजस्तो भयो। रगत नै गन्हाएको जस्तो भयो।
मैले मान्छेले मान्छे मार्छन् भन्ने पत्याएँ।
तर किन मार्छन् भन्ने बुझिनँ।
'किन' प्रश्न सोध्ने पनि उमेर हुन्छ होला।
जवाफ आउने पनि उमेर हुन्छ कि खै?
मैले त्यस बेला सोधेको 'किन?' प्रश्न पनि म सँगै जवान भयो। मान्छेभन्दा प्रश्न छिटो बढ्छ कि खै?
त्यस बेला दुवैतिर युद्धको नेतृत्व गर्नेहरू अहिले देशका मुख्य स्थानमा छन्। मैले देखेबाहेक उनीहरूले धेरै ठाउँमा रगत दले। धेरैको रगत दले। धेरै सपना देखाएर रगत दले।
अनि लुगा फेरे।
स्कुल जाँदा बखत हामी केटाकेटी डराउँछन् भनेर जसरी ठूलाहरूले भुइँमा भएको रगत माटोले पुरेका थिए, उनीहरू त्यसरी नै कसैले देख्छ भनेर युद्ध र त्यसले निम्त्याएका असरमाथि माटो थप्न खोज्दै छन्। आफ्नो फेरिएको जिउ ऐनामा हेरेर अरूको पनि त्यस्तै भयो होला भन्दै छन्।
उनीहरूले धेरै फलैंचा बनाए। चौतारा बनाए। अहिले त ती फलैंचा भएको बाटो कोही हिँड्दैनन्। केही फलैंचा त डोजरले उक्काइसके। कतिलाई धूलोले छोपिसक्यो।
उनीहरू अहिले सबैतिर धूलो उडाउँदै छन्। उनीहरू आफ्नो अनुहारमा पनि माटो थपिरहेछन्। रङ फेरिरहेछन्। यसलाई कोट्याए पड्किन्छ भनेर एक अर्कालाई पो भनिरहेछन्।
उनीहरू भुल्न थालेका छन्।
सानो हुँदा देखेको मैले त यति सम्झिएँ भने, यी त त्यति बेला ठूला थिए। यी केही सुझिँदैनन्? कि आफैंलाई बिर्सिएपछि कसैलाई सम्झिनुपर्दैन?
यी सँग चाहिँ 'किन?' प्रश्न हुर्किएन?
यिनले आफ्नो अनुहारमा धेरै माटो खन्याएका छन्। त्यो माटोमा रगत मिसिएको छ।
तपाईंको पनि रगत मिसिएको छ कमरेड श्याम। तपाईँ किन बोल्नुहुन्न?
सरी, तपाईं त बोल्न सक्नुहुन्न। तर तपाईं सपनामा गएर तर्साउनु न। भूत भएर तर्साउनु न।
किन? तपाईंलाई पनि भूतमा विश्वास छैन?
वर्तमानमा त झन् के विश्वास गर्नुहोला उसो भए। तपाईं साँच्चै कसैलाई चिन्नुहुन्न कि चिन्दा गाह्रो भएर नचिन्ने भइदिनुभएको?
हुन त म पनि यस्तै छु। तपाईं जस्तै।
म युद्ध चिन्ने भइसकेपछि अहिले फेरि युद्ध गरेका मान्छे नचिन्ने भएको छु। अब यिनलाई चिन्न मैले कति पर्खिनुपर्छ थाहा छैन। के-के देख्नुपर्छ थाहा छैन। मैले चिन्न नसकेको फाइदा उठाएर यी अझै नचिनिने हुँदै जालान्? अनुहारमा अझै माटो थप्दै जालान्।
कसैले यिनको अनुहारमा बेस्सरी पानी छ्यापिदिए त्यो माटोको रङ कस्तो हुन्थ्यो होला है कमरेड?
तपाईं विगतका अनुहार चिन्नुहुन्छ?
तपाईं क-कसलाई चिन्नुहुन्छ?
ट्विटर: @SurajWritesNP
सुरज सुवेदीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्