कुनै कला वा साहित्यका कारण तपाईंको जीवनमा उलटफेर भएको छ? कुनै पुस्तक पढेपछि, नाटक वा सिनेमा हेरेपछि तपाईंलाई 'म अब उही रहिनँ' भन्ने लागेको छ?
म सानैदेखि न्युनतमवादी वा 'मिनिमलिस्ट' मानिस हुँ र पछिल्लो समय वातावरणको विषयमा मेरो तीव्र रूचि र चासो छ। पछिल्लो वर्ष मेरो पढाइ र सुनाइको प्राथमिकतामा वातावरण र पर्यावरणसित सम्बन्धित सामग्री नै परेका छन्। तर पनि हालै चलेको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वातावरणसम्बन्धी एउटा वृत्तचित्र हेरेपछि फेरि एकपल्ट मलाई महसुस भयोः अब म उही रहिनँ।
राती अबेर गरी त्यो वृत्तचित्र हेरेपछि मलाई निदाउन निकै सकस पर्यो। अनि त्यो रातभर मैले आफू घना जंगलमा हराएको सपना देखेँ।
डेढ घन्टा लामो 'फोर्स अफ नेचरः द डेभिड सुजुकी मुभी' (२०१०) ले तपाईंको आङ सिरिंग बनाइदिन्छ। अनि जीवनमा तपाईंले लिएका हरेक निर्णय र बोकेका हरेक मान्यतालाई एकचोटि फेरि मूल्यांकन गर्न बाध्य पार्छ।
हाल ८४ वर्ष पुगेका क्यानाडेली अभियन्ता डेभिड सुजुकीले ठूलो हलमा हजारौं मानिसलाई दिएको भाषणसँग उनको जीवनका अन्य क्षण मिसाएर बनाइएको वृत्तचित्र सुजुकीको जीवन र उनले चलाएको अभियानको जीवन्त विवरण हो।
अहिले भइरहेको वातावरण विनाशको गम्भीरता बुझाउन सुजुकीले हिरोशिमाको उदाहरण दिएका छन्।
हिरोशिमाको त्रासद कथाः
अगस्ट ६, १९४५। बिहान ८ः१५।
जापानको हिरोशिमा सहरमा अमेरिकी विमानले पहिलो परमाणु बम खसाल्यो। ६४ किलो युरेनियम–२३५ को बम ४४.४ सेकेन्डपछि जमिनभन्दा ५८० मिटरमाथि विस्फोट भयो। भयानक आवाजसहित एकैछिनमा आगोको लप्काले सहर छोप्यो।
तत्काल मर्नेहरू मरिहाले। जो बचे, तीमध्ये धेरैको छाला नराम्ररी डढ्यो। खुइलिएको शरीरबाट पानी बग्न थाल्यो। उनीहरूलाई जल वियोजन भयो र तिर्खाले प्याकप्याक बनायो।
घरहरू ध्वस्त थिए। पानीको एउटै बचेको स्रोत थियो, ओता नदी। मानिसहरू राँकिएको मन र शरीर लिएर घिस्रिँदै नदी पुगे। तर त्यहाँ पहिल्यैदेखि पानीका लागि तड्पिएर पुगेका मानिसहरूको भीड थियो।
धेरैले त्यहाँ मानिसको बोसोको तर लागेको पानीले भए पनि तिर्खा मेटे। तर फर्केर आउन सकेनन्। त्यहीँ ढले, बिस्तारै पीडादायी मृत्यु भोगे। तिनको शरीर सड्न थाल्यो।
तीन दिनपछि नागाशाकीमा अर्को बम प्रहार भयो। जापान अस्तव्यस्त थियो। दुवै सहरमा तत्कालको विस्फोटबाट बच्नेहरूले भोगेको त्रासदी बयान गरी साध्य छैन।
अणुबम प्रहारको केही दिनमा हिरोशिमामा एउटा यस्तो हल्ला फैलियो जसले मानिस झनै आतंकित भए। ध्वंश र पीडाको उत्कर्षमा समेत मानिसलाई थप तर्साउने त्यो विषय के थियो होला?
अवस्था त्यसभन्दा पनि खराब हुनु सम्भव थियो र?
त्यो हल्ला थियोः अब हिरोशिमामा कुनै नयाँ जीवन सिर्जना हुने छैन। अणुबमले निर्मलीकरण गरेकाले अब त्यहाँ कुनै वनस्पति र प्राणी जन्मन सक्ने छैनन्।
हिरोशिमामा निमेषभरमा नाटकीय विनाश भयो। मानिसले तत्कालै त्यो ध्वंश देखे र संवेदनशील बने। तर अहिलेचाहिँ वर्षौं वा दशकौंको समय स्केलमा भइरहेकाले पृथ्वीमा भइरहेको विनाशको नाटकीयपन कम छ। त्यसैले हामीले त्यसलाई नदेखेझैं गरेका छौं। अनि संरक्षण गर्नुपर्ने पर्यावरणको विनाशमा सहभागी भइरहेका छौं।
त्यो उदाहरणबाट सुजुकीले दिन खोजेको सन्देश- परमाणु बम आक्रमणलगत्तै हिरोशिमामा जीवन फर्के पनि हाल चलिरहेको विनाश उत्कर्षमा पुगेपछि पृथ्वीमा हाम्रो जस्तो विकसित जीवन नफर्कने सम्भावना टड्कारो छ।
उसो त आफूमा चेतना विकास गरेर भविष्यबारेमा सोच्न र चिन्ता गर्न सक्ने भएकै कारण पृथ्वीका अरू भीमकाय र शक्तिशाली प्राणीलाई उछिनेर मानिसले यो ग्रहमा शासन गरेको छ। तर प्रजातिका रूपमा अहिले हामी यस्तो बिन्दुमा छौं जहाँ हामी जानीजानी आफैंलाई डरलाग्दो भविष्यतिर डोर्याइरहेका छौं अनि आसन्न संकट टार्न सक्ने काम पनि केही गरिरहेका छैनौं।
उसो भए चेतना भएको मानिस जाति किन यस्तो आत्मघाती मार्गमा होमिएको होला?
सुजुकी भन्छन्, 'पछिल्लो शताब्दीमा आएका परिवर्तनसँगै हामीले भूतप्रेत र देवीदेवताजस्ता पुराना दैवी शक्तिबाट मुक्ति पायौं। तर मुद्रा, बजार, राजनीतिक व्यवस्था, अर्थतन्त्रजस्ता नयाँ 'दैवी' शक्तिप्रति वशीभूत भयौं। हाम्रो आफ्नै कल्पना र सिर्जनाका उपजलाई हामीले अकाट्य र शाश्वत मान्यौं। अनि शाश्वत रहेको प्रकृतिको सीमा कुल्चिँदै गयौं। हामीमा विकसित त्यो नयाँ मान्यतासँगै मानिसको व्यवहार पनि त्यस्तै बन्दै गयो।'
जस्तो कि, जस्तोसुकै अवस्थामा आर्थिक वृद्धि हुनैपर्छ, सासचाहिँ विषाक्त हावामा फेरे पनि हुन्छ। सबै वस्तुको उत्पादन, किनबेच र उपभोग गर्नैपर्छ र बढ्नैपर्छ, पानी र माटो चाहिँ क्यान्सर गराउने रसायनबाट दुषित भए पनि होस्। अनि बर्सेनि लाखौं प्रजाति लोप भए पनि होऊन्। चिस्याएको खाना खानैपर्छ, त्यसो गर्दा निस्कने ग्यासले रक्षात्मक ओजोन तह नाश गरे पनि गरोस्।
अवस्थाको गम्भीरताः
उसो भए अवस्था कति खराब भइसकेको हो त? पर्यावरण विनाश भइरहेको थाहा भए पनि हामी धेरैलाई यो समस्याको गम्भीरता अझै यकिन छैन। म आफैं यो वृत्तचित्र हेर्नुअगाडि यस विषयमा त्यति प्रष्ट थिइनँ।
समस्याको त्यस्तो गम्भीरता बुझाउन सुजुकी एउटा उदाहरण दिन्छन्।
एउटा ब्याक्टेरिया छ जुन एक मिनेटमा बाइनरी फिसनबाट दुइटा ब्याक्टेरियामा परिणत हुन्छ। ब्याक्टेरियाको सुरूको संख्या एक। एक मिनेटमा दुई। दुई मिनेटमा चार। तीन मिनेटमा आठ। दस मिनेटमा १०२४। बीस मिनेटमा १० लाख ४८ हजार। तीस मिनेटमा १ अर्ब ७ करोड। साठी मिनेटमा ११ करोड अर्ब।
मानौं ब्याक्टेरिया रहेको टेस्ट ट्युबको क्षमता ११ करोड अर्ब मात्रै छ। त्यति पुगेपछि त्यहाँको खाना सिद्धिन्छ र सबै ब्याक्टेरिया एकसाथ मर्नुको विकल्प रहँदैन। यसलाई ६० मिनेटको जीवन चक्र मानौं।
त्यो चक्रको ५९ औं मिनेटमा त्यहाँ क्षमताभन्दा आधा मात्रै ब्याक्टेरिया हुन्छन्, ५८ औं मिनेटमा २५ प्रतिशत, ५७ मा १२.५ प्रतिशत र ५५ औं मिनटमा ३.१ प्रतिशत मात्रै। बाँकी ९६.९ प्रतिशत ठाउँ खाली नै हुन्छ। त्यो बेला एउटा ब्याक्टेरियाले बाँच्ने खाना र ठाउँ सकिनै लागेको भनेर खतराको घन्टी बजायो भने अरू ब्याक्टेरियाले त्यो बाँकी खाना र ठाउँ हेर्दै भन्थे- पागल।
सुजुकी भन्छन्, 'पृथ्वीमा मानिस 'कस्मिक' जीवन चक्रको त्यही ५९ औं मिनेटमा छ अहिले। त्यसैले अर्को एक मिनेटभित्रै हामीले संवेदनशील भएर पर्यावरण रक्षा गर्यौं भने गर्यौं, नत्र हाम्रो विनाश अवश्यम्भावी छ।'
अठारौं शताब्दीसम्म अरू पशुजस्तै मानिस जातिको वृद्धिद्धर पनि न्युन (वार्षिक ०.०४ प्रतिशत) थियो। तर औद्योगिक क्रान्तिसँगै पृथ्वीमा मानिसको वृद्धि र उसले गर्ने वातावरण विनाश पनि उदाहरणको ब्याक्टेरियाजस्तै 'एक्स्पोनेन्सियल' हुन थाल्यो। परिणाम यस्तो भयोः
इशापूर्व १०,०००- जनसंख्या ४० लाख।
इस्वी सन् ०- १९ करोड।
सन् १८००- ९९ करोड।
सन् १९२८- २ अर्ब।
सन् १९६०- ३ अर्ब।
सन् १९७५- ४ अर्ब।
सन् १९८७- ५ अर्ब।
सन् १९९९- ६ अर्ब।
सन् २०११- ७ अर्ब।
इस्वी सम्वत सुरू भएयता एक अर्ब जनसंख्या थपिन लागेको समय क्रमशः १८००, १२८, ३२, १५, १२, १२, १२।
अनि यो ग्राफले नदेखाउने दुई महत्वपूर्ण कुरा- यसबीच मानिसको औसत आयु र खपत दर कैयौं गुणा बढेको छ। त्यसैले प्रकृति दोहन दर देखाउने ग्राफ झनै ठाडो रूपमा बढेको छ।
अनि जनसंख्या र खपत दुवैमा भएको वृद्धिका कारण पृथ्वीको 'बायोस्फेयर'मा आएको परिवर्तन यो तस्वीरमा हेरौंः
यो तस्वीरले पछिल्लो एक अर्ब जनसंख्या थपिँदा वायुमण्डलको कार्बन-डाइअक्साइड मात्रामा आएको परिवर्तन देखाउँछ। अमेरिकी अन्तरिक्ष खोज संस्था 'नासा'को मापनअनुसार २००४, डिसेम्बरमा जमिनबाट १.९ देखि ८ माइलसम्म उचाइमा कार्बन-डाइअक्साइडको औसत मात्रा ३७५ पिपिएम हाराहारी थियो। १२ वर्षपछि २०१६, डिसेम्बरमा नाप्दा संसारका सबैजसो ठाउँमा त्यो मात्रा ४०० कटेको थियो। केही ठाउँमा ४२५ हाराहारी पुगिसकेको थियो।
एक अर्ब मानिस थपिँदा वायुमण्डलको संरचनामा यत्रो परिवर्तन आयो भने औद्योगिक युग सुरू भएयता छ अर्ब मानिस थपिँदा कुन रफ्तारमा कार्बन-डाइअक्साइड बढ्यो होला, सहजै अनुमान लगाउन सकिन्छ। अनि कार्बनसँगै अनिवार्य उत्सर्जन हुने मिथेन, नाइट्रस-अक्साइड, क्लोरोफ्लोरोकार्बन, सल्फर-हेक्जाफ्लोराइड जस्ता ग्यास त्यही अनुपातमा वायुमण्डलमा पुगेका छन्।
यी ग्यासका कारण पृथ्वीको तापक्रम बढिरहेको छ।
वैज्ञानिकहरू भन्छन्- औद्योगिक युग अगाडिको तुलनामा पृथ्वीको तापक्रम २ डिग्री सेल्सियसभन्दा धेरै बढ्यो भने पर्यावरणमा अपुरणीय क्षति हुनेछ। त्यो अवस्थामा अहिल्यै बढ्दो संख्यामा आइरहेका समुद्री आँधी, बाढी, खडेरी लगायत विपत्ति संख्या र विध्वंशकता बढ्ने, हिमनदी लोप भएर नेपालका अधिकांश नदीजस्ता पानीका स्रोत वर्षको धेरै समय सुक्ने, समुद्र सतह बढेर ठूलो तटीय भूगोल पानीमुनि जाने निश्चित छ।
माल्थस गलत थिए, तर...
थोमस माल्थसले १९ औं शताब्दी सुरूतिरै यस खाले जनसंख्या वृद्धिसँगै संसारमा भोकमरी बढ्ने र अन्ततः भोक, रोग र युद्ध आदिका कारण जनसंख्या नियन्त्रण हुने प्रक्षेपण गरेका थिए।
तर उनका आलोचकले भन्दै आएका छन्- उनी गलत थिए। जनसंख्या अनुपातमा भोक बढेको छैन बरू पछिल्लो आधा शताब्दीमा मानिसको संख्या झन्डै चार अर्ब बढेर दोब्बर भएसँगै गरिबी र भोकमरी उल्टै घटेको छ। बढ्दो जनसंख्याले ल्याउने समस्यालाई मानिसले समाधान गर्दै आएको छ।
तर डेभिड सुजुकी भन्छन्, 'त्यसका लागि हामीले भावी पुस्ताका संसाधन रित्याउँदै गइरहेका छौं। अर्थात् अहिले हामीले खपत गरेका कारण भावी पुस्ता धेरै प्राकृतिक संसाधनबाट विमुख हुँदैछ।'
जापानको एउटा ब्लुफिन टुनाको लिलामी बजारमा उभिएर सुजुकी थप्छन्, 'यो अन्तर्पुस्ता अपराध (इन्टरजेनेरेसनल क्राइम) हो। कारण, अहिले एकदमै लोपोन्मुख मानिएको यो माछा केही वर्षमा लोप हुनेछ। तर जापान बजारमा त्यसको निर्वाध किनबेच गरिरहेका मानिसलाई हेर्दा लाग्छ, समुद्रको पानीजस्तै ब्लुफिन टुनाको भण्डार कहिल्यै रित्तिने छैन।'
मानिस माछा नखाइ पनि बाँच्न सक्छ। तर सुजुकीका तर्क मानिसका लागि नभई नहुने अर्को संसाधनका हकमा दुरुस्तै लागू हुन्छ, पानी। भारतलगायत रित्तिँदो जलाधार भएका संसारका धेरै समाजमा पानीप्रतिको मानिसको व्यवहार जापानी टुना व्यापारीको जस्तै छ। जमिनबाट पानी आउन गाह्रो भयो, अझ तलबाट अझै शक्तिशाली मेसिनले तान्ने तर अचाक्ली खपत हुने बाली लगाइरहने। जलाधार पुननर्वीकरण गर्न केही नगर्ने।
सरकारले योजनावद्ध रूपमा भए पनि जनसंख्या नियन्त्रण गर्नुपर्छ भनेर जनसंख्यामा मात्रै एकोहोरो ध्यान दिएकाले माल्थस धेरै विवादित बनेका थिए।
तर सुजुकी भन्छन्, 'आधुनिक सरकारहरूलाई सीमित नाफाखोर कर्पोरेसनहरूको स्वार्थको बन्धक हुन नदिऊँ। उसलाई बहुसंख्यक मानिस र भावी पुस्तासमेतप्रति उत्तरदायी बनाऔं। शिक्षा र सशक्तीकरणमार्फत मानिसलाई जन्मदर कम गर्न प्रोत्साहन गरौं। अनि जनसंख्यामा एकोहोरो ध्यान दिन छाडेर मानिसले गर्ने खपत घटाऔं। आर्थिक वृद्धि मानिसका लागि निर्धारित दैवी लक्ष्यको हैसियत नदिऔं र आर्थिक गतिविधिहरू पर्यावरणीय सीमाभित्र रहने गरी अर्थतन्त्र पुनर्संरचना गरौं।'
खपत घटाउन सुजुकीजस्ता अभियन्ताले गरेको आग्रह मुख्यतः क्यानाडा, अस्ट्रेलिया र अमेरिकाजस्ता ऊर्जा र अन्य वस्तुको प्रतिव्यक्ति खपत निकै उच्च भएका समाजका लागि हो। विपन्न मानिसको जीवनस्तर उक्सिने क्रममा खपत अनिवार्य बढ्ने भएकाले सँगसँगै सम्पन्न मानिसको खपत घटे मात्रै प्रकृति दोहन घट्न सक्ने निश्चित छ।
अहिले दोहोरो विडम्बना छ।
एक, संसारका केही भागमा ऊर्जा र अन्य वस्तुको खपत आकासिए पनि अर्कोतिर निकै ठूलो जनसंख्या गरिबी र अभावमा बाँचिरहेको छ।
दुई, प्रदूषण र जलवायु परिवर्तनजस्ता प्रतिकूल अवस्थाको सबभन्दा ठूलो मार तिनै अभाव र विपन्नतामा बाँचिरहेकालाई परिरहेको छ जसले संसारमै सबभन्दा कम हरितगृह ग्यास उत्सर्जन गर्छन्।
संकट साझा भए पनि त्यसको ठूलो मार कसरी पिँध तहका मानिसलाई पर्छ भन्ने ज्वलन्त उदाहरण त हामीले कोभिड महामारीमै देख्यौं। उच्च र मध्यम वर्गका मानिसलाई महिनौं घरमा समय काट्नु सजायजस्तो भयो। तर न्यून वर्गका धेरैले केटाकेटीलाई समेत भोकभोकै राखेर मृत्युसम्मको सजाय भोगे। घरेलु हिंसाका कारण होस् वा रोजगारी गुमेकाले, यो महामारीमा पुरुषभन्दा कैयौं गुणा बढी महिलाले सास्ती भोगेका छन्।
जलवायु परिवर्तनले ल्याउने डुबान होस् वा खडेरी, पहिरो वा आगलागी, भोक–तिर्खा वा रोग, त्यसको ठूलो मार पर्ने भनेकै विपन्न मुलुक, समाजमाथि हो। ती समाजका पनि पछि परेका जातीय, लैंगिक वा अन्य समूहमाथि हो।
सुजुकी भन्छन्, 'यी सबै जेलिएका संरचनागत समस्याको एकसाथ रचनात्मक समाधान खोज्नु अनिवार्य छ। आर्थिक असमानता वा अन्यायपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध वा लैंगिक, क्षेत्रीय, धार्मिक आदि विभेदजस्ता मुद्दा सल्टाएर बल्ल वातावरण बचाउने लडाइँ सुरू गर्ने भन्ने हो भने त त्यो बेलासम्म हामीमध्ये धेरै ज्यूँदो र स्वस्थ नरहने सम्भावना धेरै छ। त्यसैले कुनै पनि समानता वा न्यायका लागि चल्ने लडाइँको साझा कडी पर्यावरणको लडाइँ हुनुपर्छ।
दुई डिग्रीको आसन्न संकटः
मानवजन्य गतिविधिका कारण पृथ्वीको नाजुक 'बायोस्फेयर'मा क्षति पुग्दैछ भन्ने थाहा भएको धेरै भयो। तर पछिल्ला दशकमा वैज्ञानिकहरूले एउटा यस्तो संघारबारे बताएका छन् जसको अर्कोपट्टि पुगेपछि त्यो क्षति अपरिवर्तनीय हुनेछ।
त्यो संघार हो, औद्योगिक युग अगाडिको भन्दा १.५–२ डिग्री सेल्सियस तापक्रम वृद्धि। अनि तापक्रम वृद्धिलाई त्यो संघारको यतैपट्टि राख्न अब हामीसँग असाध्यै कम समय मात्रै छ।
'नेचर' पत्रिकामा सन् २०१९ मा प्रकाशित एक लेखका अनुसार पृथ्वीको जमिन सतहको १७ प्रतिशत (उत्तरी गोलार्द्धको २५ प्रतिशत) क्षेत्र 'पर्माफ्रस्ट'ले ढाकिएको छ। त्यहाँ जमिनको तापक्रम कम्तीमा दुई वर्षसम्म लगातार शून्य डिग्री सेल्सियसभन्दा कम रहन्छ। शोध संस्था 'द आर्कटिक इन्स्टिच्युट'का अनुसार माटोमा रहेको पूरै अर्ग्याानिक कार्बनको झन्डै आधा हिस्सा त्यही पर्माफ्रस्टका रूपमा छ। त्यसैले तापक्रमको एउटा संघार कटेपछि त्यही पर्माफ्रस्टबाट कार्बन-डाइअक्साइड र मिथेनजस्ता ग्यास निस्कन थाल्छन्।
त्यसपछि कार्बन उत्सर्जनमाथिको हाम्रो नियन्त्रण लगभग गुम्नेछ। परिणाम, मानिसजन्य कारणबाट हुने कार्बन उत्सर्जन त्यसपछि हामीले कसै गरी शून्यमा झार्न सक्यौं भने पनि पर्माफ्रस्टबाट निस्केको कार्बनका कारण तापक्रम बढिरहनेछ र जलवायु परिवर्तनसित लड्नु असम्भव हुनेछ।
त्यसैले वैज्ञानिकहरूबीच एउटा मतैक्य छ, जलवायु परिवर्तनको प्रक्रियामा मानिसले ब्रेक हान्न सक्ने र नसक्ने त्यो संघार भनेको त्यही औद्योगिक युग पूर्वभन्दा १.५–२ डिग्री सेल्सियस तापक्रम वृद्धि हो।
अर्थात् वैश्विक तापक्रम वृद्धिको रफ्तार रोकेर २ डिग्रीमा सीमित गर्नु अहिले मानिसका लागि सिंगो प्रजाति र सभ्यताको जीवन–मरण सवाल हो।
उसो भए व्यवहारतः विश्वभरका देशले त्यस दिशामा कस्तो प्रगति गर्दैछन् त?
सुजुकीले सन् २०१८ को एउटा अन्तर्वार्तामा भनेका छन्, 'कार्बन उत्सर्जनको विद्यमान रफ्तारमा तापक्रम वृद्धि २ डिग्रीमा सीमित रहने सम्भावना जम्मा ५ प्रतिशत छ। अनि त्यो वृद्धि प्रलय नै हुने गरी ६ डिग्री पुग्ने सम्भावनाचाहिँ दोब्बर, १० प्रतिशत। हरितगृह ग्यास उत्सर्जनको विद्यमान दरका आधारमा तापक्रम वृद्धि हुने प्रक्षेपण भने ४ प्रतिशत छ।'
तापक्रम वृद्धिबारेको त्यसखाले प्रक्षेपणलाई 'क्रसचेक' गर्न नेचर पत्रिकामा सन् २०१९ मा प्रकाशित एउटा लेखको पर्माफ्रस्टको तपाक्रम वृद्धिसम्बन्धी यो ग्राफ हेरौंः
उक्त लेखका अनुसार पृथ्वीका विभिन्न भौगोलिक क्षेत्रको पर्माफ्रस्टको औसत तापक्रम सन् २००८ देखि २०१६ बीचमा, जम्मा आठ वर्षमा ०.३९±१५ डिग्री सेल्सियस बढेको छ।
योलगायत अरू धेरै अध्ययनले देखाउँछन्, संसारका सबै देशले एकैपल्ट कार्बन उत्सर्जनमा ब्रेक हानेनन् भने जलवायु परिवर्तनको विनाशकारी प्रक्रिया सर्वथा मानिस जातिको नियन्त्रणबाट गुम्न अब केही वर्ष मात्रै बाँकी छ।
सुजुकीले देखेको समाधानः
डेभिड सुजुकीले वैज्ञानिक शोधबाट करिअर सुरू गरे। तर विनाशकारी गतिविधिका लागि विज्ञानको दुरुपयोग भएको देखेपछि विरक्तिएर त्यो क्षेत्र नै छाडे। अनि सन् १९७९ पछि बीसौं वर्ष क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनको सिबिसि टेलिभिजनमा 'द नेचर अफ थिङ्स' कार्यक्रम चलाए। अहिले ८४ वर्षमा चल्दै गरेका उनको सफलता नै विज्ञानका जटिल लाग्ने विषयलाई सबैले बुझ्ने भाषामा प्रस्तुत गरेर मानिसलाई प्रकृतिसँग प्रेम गर्न सिकाउनु र पर्यावरण रक्षाका लागि हरसम्भव तरिकाले संघर्ष गर्नु हो।
यति बेर समस्याका कुरा गरेपछि अब उनले सुझाएका समाधानका कुरातिर लागौं।
उपभोगमा अडेको आधुनिक जीवनशैलीले हामीलाई अनिवार्य विनाशतिर डोर्याएकै हो भने विकल्प के त?
सुजुकी भन्छन्, 'हेर्न खोजे विकल्प सर्वत्र छन्। तीमध्ये मुख्यचाहिँ विभिन्न ठाउँका आदिवासीले हजारौं वर्षदेखि प्रकृतिसित सामञ्जस्य गरेर विकास गरेका जीवन शैली हुन्।'
त्यसका लागि सबै जंगल जानुपर्दैन। भएको जंगल बचाउने, नाश भएको जंगललाई पुनर्जीवन दिने, जलाधार क्षेत्र संरक्षण गर्ने, सहरको कंक्रिटजन्य विकास किफायती बनाउने र सहरमै सीमित राख्ने, जमिनमुनिका खनिज इन्धन त्यहीँ छाड्ने, नवीकरणीय ऊर्जा प्रयोग बढाउने, जनसंख्या वृद्धि कम गर्ने, आर्थिक असमानता कम गर्ने। अत्यावश्यकबाहेक सबै किसिमको उपभोग घटाउने।
नाओमी क्लेनदेखि डेभिड सुजुकीले एउटा कुरा निकै जोड दिएर भन्दै आएका छन्- विश्वभरका आदिवासीले ओगटेको क्षेत्र तिनकै जिम्मा छाडेर त्यो जमिनमा रहेका कार्बनका विशाल भण्डार नचलाउने। पर्यावरण बचाउने सबभन्दा प्रभावकारी कदम यही हो।
तर यी सबै कदम सम्भव पार्न मानिसले सिर्जेका नयाँ 'दैवी' सीमाहरू तोड्नैपर्छ। अनन्त आर्थिक वृद्धिलाई मानव जातिको लक्ष्यबाट हटाउनैपर्छ। अर्थतन्त्र धान्न पर्यावरण ध्वस्त पार्ने होइन कि पर्यावरण धान्न अर्थतन्त्र र राजनीति पुनर्संरचना गर्नुपर्छ।
निश्कर्षः हिरोशिमाले नयाँ जीवन पायो, तर...
जापान दोस्रो विश्वयुद्धमा हारेर थला परेकै बेला हिरोशिमा सहरमा एकदिन कसैले जमिनबाट कुनै बिरूवाको मुना टुसाएको देख्यो। अनि अर्को मुना भेटियो। एकै छिनमा समाचार सहरभर फैलियो र मानिसले चैनको सास फेरे।
तर अहिले विश्वभर भइरहेको वातावरण विनाशपछि त्यसै होला भन्नेमा सुजुकी सशंकित छन्।
उनी भन्छन्, 'यो विनाशपछि पनि ढिलोचाँडो पर्यावरण फेरि बौरिनेछ र नयाँ जीवन कायम हुनेछ। तर त्यसबीचका लाखौं वा करोडौं वर्षसम्म पृथ्वीमा यस अगाडिको क्रमिक विकासमा झैं ब्याक्टेरिया र फंगाइजस्ता सरल जीवन रूपहरू मात्रै हुनेछन्। अनि अहिलेजस्तो विकसित र विविधतापूर्ण जीवन सिर्जना हुन दुई करोड वर्ष लाग्यो भने अनौठो नमाने हुनेछ।
(नोटः 'फोर्स अफ नेचर' वृत्तचित्र युट्युबमा उपलब्ध छैन। तर युट्युबमा उपलब्ध सुजुकीका धेरै अन्तर्वार्ता र भाषणमध्ये 'ह्वाइ इट इज टाइम टु थिंक अबाउट ह्युमन एक्स्टिंक्सन' शीर्षकमा उनले वृत्तचित्रमा समेटिएका अधिकांश विषयमा बोलेका छन्।)