डिस्क्लेमर:
केटीले छोटो कट्टु लगाउनु भनेको केटाले जस्तै गर्मी हुँदा जिउमा हावा खेलोस् भनेर हो — यस्तो सोच्ने कलिलो उमेरमा तपाईंको छोटो कट्टुलाई कसैले उसको यौनको गर्मी चिस्याउन प्रयोग गरेको छ भने ...
मायामा मुटु छिट्टो छिट्टो धड्किन्छ। त्यो धड्कनमा हात राख्दिने मान्छे मेरो धड्कनलाई नै माया गर्छ — यस्तो सोच्ने किशोरावस्थामा कसैले तपाईंको छातीलाई मुटु धड्किने ठाउँभन्दा अरू नै मानेर हात राखेको छ भने ...
मेरो आफ्नै हात त मेरो अनुमतिबिना चल्दैन, झन् मेरो जिउ अरूले चलाउन त मेरो अनुमति लिनैपर्छ नि — यसो मान्ने परिपक्व उमेरमा कसैले चल्नै नसक्ने हुन्जेल तपाईंको जिउलाई चलाइदिएको छ भने ...
तपाईंलाई यो लेख 'डिस्टर्बिङ' हुन सक्छ। लेखको केही भागले तपाईंलाई असजिलो बनाउन सक्छ। तपाईं त्यो डरलाग्दो अनुभवबाट अझै पूर्णतया उत्रिसक्नुभएको छैन भने यो लेख नपढ्न अनुरोध गर्छु।
(त्यो डरलाग्दो अनुभवबाट म आफू पूर्णतया उत्रिसकेकी रहिनछु। लेखिरहँदा निको भयोजस्तो लागेको आफ्नै घाउ बल्झिएकाले यति भनेँ।)
कहिलेकाहीँ सत्य साह्रै भयानक हुन्छ।
हो, भयानक सत्यसँग लड्नुपर्छ। सत्यबारे बोल्नुपर्छ। सत्यबारे लेखिनुपर्छ। तर, त्यो चक्करमा कसैको घाउलाई घाउ लाग्दाजसरी नै दुख्ने गरी बल्झाउनु भने हुँदैन।
धन्यवाद!
...
अस्तिदेखि फेसबुकमा, विशेषगरी महिलाहरू बढी सक्रिय हुने समूहमा केही क्रूर र मन खलबलाउने भिडिओ भाइरल भइरहेका छन्। अलग-अलग भिडिओमा दुई फरक बालिका छन्।
यसो हेर्दा दुवै बालिका लगभग एघार-बाह्र वर्ष मुनिका जस्ता देखिन्छन्।
एउटा भिडिओमा ठूलो ज्यान भएका एक वयस्क पुरूष छन्, जो सानी फुच्चीलाई काखमा तानेर जिब्रो देखाउँदै, म्वाइँ खाँदै च्यापिरहेका छन्। फुच्ची तन्किँदै उनको बाहुबाट टाढा फुत्किन खोजेजस्तो देखिन्छ।
अर्को भिडिओमा छोटो कट्टु लगाएकी सानी नानीलाई दुई खुट्टा फिँजाएर बस्न लगाइएको छ। अनि भिडिओको अन्त्यमा एक वयस्क पुरुष उनलाई माया गरेजसरी पछाडिबाट आउँछन्। अँगालो हाल्ने बहानामा च्याप्प एक हातले स्तन समात्छन्।
भिडिओ यति घिनलाग्दो छ, म चाहन्छु त्यो कसैले नहेरोस्। त्योभन्दा महत्वपूर्ण, भिडिओ यति डरलाग्दो छ, म चाहन्छु त्यस्तो कसैले नभोगोस्।
भिडिओबारे बहस हुन थालेपछि सामाजिक सञ्जालमा अनेक आसयका टिप्पणी आइरहेका छन्।
कतिको प्रतिक्रिया छ- एउटा भिडिओ हेरेर झट्टै केही निर्णयमा नपुगौं। अर्को पक्षको पनि कुरा सुन्नुपर्छ। आफ्नै मान्छे हुनसक्छ। नियत सही हुनसक्छ।
कतिलाई लाग्दैछ- कस्तो यौनहिंसा बढेको अचेल ! अब त छोरीहरू घरमा पनि असुरक्षित हुन थाले।
केहीले यो पनि भने- टिकटकले के बनाउँदैछ मान्छेलाई? सब टिकटकको दोष हो।
पहिलो टिप्पणीको कुरा गरौं।
भिडिओका पुरूषहरू को हुन्, थाहा थिएन। उमेर हेर्दा काका, मामाजस्ता देखिन्थे।
अहिले थाहा भयो, एक जना ठूलोबा अनि अर्का हजुरबा रहेछन्। तर, त्यहाँ जे भइरहेको छ, भिडिओमा प्रस्टसँग त्यस्तो क्रियाकलाप देखिएपछि हिंसा गर्ने मान्छे को हो, नाता के हो, त्यसले कुनै औचित्य राख्दैन। अब अर्को पक्षको तर्क सुन्न जरूरी नै छैन।
त्यसरी च्याप्प स्तन समात्नुलाई जति नै सफा नियतले पनि सफाइ दिन सक्दैन। आफ्नो मान्छेले गर्यो भन्दैमा कुनै गलतको स्तरोन्नति हुँदैन।
सही स्पर्श र गलत स्पर्श (गुड टच र ब्याड टच) का नियम खुद बाआमामा पनि लागू हुन्छ।
प्रख्यात् भारतीय टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' मा प्रस्तोता आमिर खानले बच्चा र अभिभावकलाई बुझाएजस्तै, नुहाइदिँदा बाआमाले र पहिलो अभिभावकको उपस्थितिमा उपचार गर्दा डाक्टरले बाहेक, कसैले पनि कुनै बच्चालाई छाती, दुई खुट्टाबीचको अघिल्लो या पछिल्लो भागमा छुनु, समात्नु गलत स्पर्श हो।
यस्ता यौन हिंसा टिकटक आउनुभन्दा अघि पनि भएका थिए। पीडकले यसरी भिडिओ बनाउनुभन्दा अघि पनि भएका थिए। तर, आजसम्मका कति धेरै यौनहिंसामा पीडितले आफूले भोगेका यस्तै अनुभवबारे बोल्नै सकेनन्।
यसका दुई कारण थिए/ छन्।
पहिलो- हिंसा हुँदा कतिपल्ट उनीहरूलाई 'यो गलत हो' भन्ने थाहै भएन। (अहिले बाहरूको बचाउमा अगाडि सारिएका साना छोरीहरूलाई जस्तै)। अनि जब थाहा भयो, तब 'त्यो गलत भएको थियो' भन्नु सान्दर्भिक नै रहेन।
कति पीडितलाई भने आफूसँग गलत भइरहेकै बेला 'यो गलत हो' भन्ने थाहा थियो। तर उनीहरू अर्को कारणले बोल्न सकेनन्।
उनीहरूलाई डर थियो, बोलेपछि यसैगरी अर्को पक्षको तर्क सुनिन्छ। अनि ठूलो मान्छेको बहानाका अगाडि उनीहरूको सानो बोलीको विश्वास गरिन्न। कतिपल्ट साँच्चै यस्तै नै भएको थियो। उनीहरूको विश्वास गरिएन। विश्वास गरिए पनि परिवारको बेइज्जत हुन्छ भनेर कुरा लुकाइयो। छोरीहरूलाई चुप लगाइयो।
त्यसको परिणाम, यस्ता घटना बाहिर आउँदा 'मैले पनि यस्तै नराम्रो भोगेकी छु' भन्ने प्रायः आवाज केटी साथीबीच गहिरा कुराकानी हुँदा मात्रै उठे। उठेर त्यहीँ सकिए।
आज भिडिओले सबथोक बोल्दा पनि हामी अर्को पक्ष भन्दै लचिला भयौं भने आउने दिनमा पनि कसैले केही बोल्ने हिम्मत गर्ने छैन। बल्लबल्ल हिम्मत गरेर बोल्नेलाई आड दिइएन भने त्यो हिम्मत नै अन्तिम हुन्छ।
भिडिओमा दोस्रो टिप्पणी थियो- अचेल किन यौनहिंसा ह्वात्तै बढ्यो?
वास्तवमा, यो अहिले एक्कासि बढेको घटना होइन। बलात्कार, यौनजन्य हिंसा केही हदमा बढेका हुन सक्छन् तर देखिएजसरी 'बढेका' होइनन्। अहिले सार्वजनिक भएर बढी देखिएका पक्कै हुन्।
अहिले यी बच्चीलाई गलत भयो भनेर कराइरहेका वयस्क दिदीहरू मानवताका नाताले मात्रै कराएका हैनन्। यसरी कराउनेमध्ये आधाभन्दा बढी दिदीहरू कुनै बेला यिनै बहिनी थिए। यही भोगाइ दबाएर बसिरहेका थिए।
अब सबभन्दा विशेष तेस्रो टिप्पणी- के साँच्चै टिकटकले गर्दा यस्तो अपराध बढेको हो?
होइन।
सामाजिक सञ्जालले मान्छेले जे गर्छ, त्यसलाई देखाउन सजिलो बनाइदिने हो। मान्छेलाई अपराध गर्न आदेश दिने होइन।
यी भिडिओमा देखिएको अपराध सायद हरेक दिन हुन्थ्यो होला। जब क्यामरा बन्द हुन्थ्यो, कोठा बन्द हुन्थ्यो, तब झन् बढी हुन्थ्यो होला। टिकटकले त बस् हाम्रो छेउको तितो सत्यलाई हाम्रो मुखैमा छ्यापिदिएको मात्रै हो।
ती बच्चीमाथि गलत भयो। तर, भिडिओको चर्चा भएर सही भयो। यो घटनाले अहिलेसम्म समाजमा सबैले छुसुक-छुसुक कुरा गरेर बाहिर खासै नस्विकारेको सत्य एकैपटक छताछुल्ल पारिदियो। त्यसैले भिडिओको तबसम्म चर्चा भइरहनुपर्छ, जबसम्म ती पुरुषले सजाय पाउँदैनन्।
यो विषय 'डिस्टर्बिङ' भए पनि तबसम्म बहस भइरहनुपर्छ जबसम्म हाम्रा भाइबहिनी सुरक्षित हुँदैनन्।
अहिले अर्को पक्षको कुरा यस्तो आएको छ- त्यो बुबाछोरीको माया हो।
तर त्यसरी प्रस्ट देखिने हिंसालाई मायाको नाम दिएर लुकाइयो या सामान्यीकरण गरियो भने, प्रस्ट प्रमाण हुँदा पनि ती पुरूष उम्किए भने, बलात्कार र यौनहिंसाविरूद्ध चलिरहेको अभियान '#अझैकतिसहने' मा जुन 'बलात्कारी होस् तँ' भनिएको छ, हामी सबैले आफूलाई 'म त्यही बलात्कारी हुँ' भनेर प्रमाणित गरेसरह हुन्छ।
अँ, एउटा बिर्सनै नहुने कुरा, भिडिओको चर्चा भनेको भिडिओलाई नै चर्चित बनाउनु भने होइन। सही नियत राखेर भिडिओ टिकटकबाट फेसबुकमा राखिएको होला। कुनियतको भर्त्सना गर्नै ती भिडिओ सामाजिक सञ्जालमा होलान्। तर, ती कलिला बालिकाको अनुहार 'ब्लर' गरेर यो घटना विरोध गर्ने संवेदनशीलता भने अझै पुगेको देखिएन।
ती छोरीहरू भोलि वयस्क हुन्छन्। केही गरी फेरि यी भिडिओ देख्न सक्छन्। उनीहरूले त्यो देखेर के महशुस गर्छन् भन्ने कुरा अहिले उनीहरूलाई जे भइरहेछ, त्यो सरह भयानक भयो भने?
उनीहरूको पक्षमै बोल्ने मनसायले आज सामाजिक सञ्जालमा यी भिडिओ हालेर विरोध गर्नेलाई पनि दोषी भन्न मिल्छ कि मिल्दैन? ती बच्चीहरूको आजको चिन्ता लिनेले उनीहरूको भोलिको ख्याल गर्नुपर्छ कि पर्दैन?
यो समस्याको जरामा रहेको बिष भने ती दुई पुरुषले सजाय पाउँदैमा सकिइहाल्ने छैन। यस्ता गतिविधि निरूत्साहन गर्न कानुनको कठघराले केही हदसम्म त काम गर्ला। तर, पहिले सबै सम्भावित अपराधीको मनमा डर बस्नुपर्छ।
यो डर, अब छोरीको लाज र परिवारको इज्जत बचाउने बहानामा कुनै अपराधीलाई लुकाइने छैन।
यो डर, जब अपराध हुन्छ तब कुनै नाता अपराधीभन्दा माथि हुने छैन। कुनै नाता, पीडितभन्दा माथि हुने छैन।
सबैलाई हतकडीले भन्दा पहिले यो डरले ख्याप्प बाँध्नुपर्छ।
सबै अपराधी डरले नरोकिउन्जेल हामी आफ्ना बच्चासँग कुरा गरौं। बच्चा मात्रै होइन, आमा, बुबा, दाइ, दिदी सबैसँग कुरा गरौं। सही र गलत छुवाइ पहिले आफूले चिनौं अनि छोराछोरीलाई सिकाऊँ।
हामीलाई यस विषयमा थुप्रो बहस भइसक्यो जस्तो लागे पनि गर्न बाँकी धेरै काम रहेछ। हामी सफल भइसकेको भए ती भोग्ने बच्चीलाई नै आफूसँग गलत भइरहेको थाहा हुन्थ्यो। त्यो भिडिओले सामाजिक सञ्जालमा चिच्याउनुअघि नै ती बच्चीका आमा या अरू आफन्तले चाल पाएका हुन्थे। चाल नपाउनेहरू दोषी होइनन्। तर, यो घटनाले हाम्रो कमजोरी देखाइदियो, हामीले अझै पुग्दो सतर्क हुन सिकेका रहेनछौं।
बालिका मात्रै होइन, हाम्रा कति बालक पनि यौनहिंसाको शिकार भएका हुन्छन्। कोही अरू वयस्क पुरुषबाटै त कोही दिदी, काकी आदि नाताकै महिलाबाट। तथापि कमजोर कहलिने डरले जवान भइसक्दा पनि हाम्रा केटा साथीहरूले यो बहस सुरू गर्न सकेनन्।
अझ डरलाग्दो कुरा, कति पुरुषलाई पितृसत्ताले यसरी तालिम दिँदै हुर्काउँछ, ठूलो भएर उनीहरूलाई लाग्छ, सानोमा भएको हिंसा त उनीहरूको मर्दपनको उपलब्धि थियो!
गन्जागोल जस्तो लाग्छ है? यहाँ सबथोक जेलिएको छ। धेरैथोक फोहोरी छ। तर, सफा गर्न पहिले समस्या छ भनेर पहिचान गर्नुपर्छ।
आजबाटै आफूले चिनेको कुनै वयस्क, आफन्त, जेठाजु, बाबु वा श्रीमान नै किन नहोस्, कसैले पनि यस्तो अपराध गर्दा, 'एकपटक गल्ती भइहाल्यो, यसै पनि बलात्कार गरेको होइन, इज्जत गएको छैन, होस् तमासा नगरौं' भनेर नछाड्नु होला।
हामी प्रायः बलात्कार भएपछि मात्रै गलत भयो भनेर चर्चा गर्छौं। तर यी घटना यस्तो मन्दबिष हो जुन बलात्कारसम्म पुगे पनि, नपुगे पनि मानसिक चोट भने बलात्कारसरह नै पुर्याउँछ।
सहमतिको शारीरिक सन्तुष्टि हरेक मानवको जन्मसिद्ध अधिकार हो। तर, कतिपल्ट यौन नबुझ्दै यौनहिंसामा परेको शरीरले विस्तारै यौनलाई नै घिन मान्न थाल्छ। कस्तो दुःखदायी!
कति पीडित छोरीलाई त थाहै हुँदैन, श्रीमानले माया गरेरै नजिकिन खोज्दा पनि उनलाई किन हरेक दिन बलात्कृत भएजस्तो लाग्छ!
हामी कल्पना पनि गर्न सक्दैनौं, सानो हुँदाका यस्ता छुवाइले कोमल दिमागमा कस्तो छाप पारेका हुन्छन्। हाम्रो वरपर पुरूषलाई घृणा गर्ने जस्ता देखिने कति महिलाको विगतमा यस्तै कालो छाया घुमिरहेको हुन्छ। उनीहरू त्यो छाया स्पष्ट देखाउँदैनन्। छाया हो नि, स्पष्ट देखिँदैन तर सँगै हुन्छ।
हो, केही महिला आफ्नो अनुभव बाँड्छन्, झन शक्तिशाली भएर निस्कन्छन्। तर, कति धेरै बालिकाको मनबाट वयस्क भइसक्दा पनि 'म कमजोर पो छु कि' भन्ने डर निक्लनै सक्दैन। मानौं कसैले उनीहरूको दिमागमा स्थायी रूपमै लघुताभाष र हिनताबोध कुँदिदिएको छ।
तमासा नहोस् भनेर कहिलेकाहीँ वेवास्ता गरेका घटनाबाट हामीले छोराछोरीको बालापनकै तमासा बनाइरहेका हुन्छौं।
त्यसैले, अब हामीले भन्यौं भने मान्छेले के भन्लान् भन्ने डर नहोस्। बरू भनेनौं भने के हुन्छ भन्ने डर होस्।
(सृजना पोख्रेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)