टोल र स्कुलमा खेलिएको भकुण्डोको प्रत्यक्ष अनुभवपछि व्यावसायिक फुटबलसँग मेरो सम्झना रेडियो नेपालमा आउने प्रत्यक्ष 'कमेन्ट्री' सँग जोडिएको छ।
महेन्द्र पुलिस क्लब र थिम्पु-११, खरे बस्नेत, अच्युतकृष्ण खरेल लगायत त्यस बेलादेखि सम्झनामा अडेका केही नाम हुन्।
स्कुल छँदा फुटबलसँग जोडिएका मिथ र कथ्यमा दुई नाम दोहोरिन्थे, पेले र श्याम थापा।
चोट लागे पनि मैदानमा ओर्लिएर गोल गरी पेलेले ब्राजिललाई जिताएको श्यामश्वेत वृत्तचित्र स्कुलमा हेरेको धुमिल सम्झना छ। नेपाली मूलका भएर भारतको मोहन बगानबाट खेल्ने श्याम थापाको बखान त्यस बेला नेपालीको गर्वको विषय हुनु स्वाभाविक थियो।
पेलेको 'बनाना किक' का किस्सा अनि फुटबल हेर्दा हुटिङ गर्ने भाकाहरूः
हे फरवार्ड कस्तो...माछा जस्तो
हे ब्याकी कस्तो...खम्बा जस्तो...
यी र यस्तै थिए फुटबलसँग जोडिएका मेरा बाल्यकालीन सम्झना।
विश्वकप फुटबलसँग पहिलोपटक परिचित भएको सायद सन् १९८२ मा हो। खेलबारे पढेर? रेडियोमा सुनेर? वा टिभीमा हेरेर?
होइन।
हुलाक टिकटमा देखेर।
म पढ्ने स्कुलका पादरीहरूले आफन्त र साथीभाइबाट प्राप्त गरेका क्रिसमस कार्ड र हुलाक टिकटहरू पुरस्कार स्वरूप हामी विद्यार्थीलाई बाँड्थे। ती कार्ड र टिकटको संग्रहमा रमाउँथ्यो परिवारबाट टाढा बितेको हाम्रो बाल्यकालीन होस्टल जीवन।
त्यस बेला हामीलाई बाँडिएका हुलाक टिकटमा विश्वकप फुटबल छाएको थियो। छाएकामध्ये दुई नाम र मुहार सम्झन्छु- 'ह्वाइट पेले' उपनाम पाएका ब्राजिलका जिको र इटलीका पाउलो रस्सी।
पाउलोले छ गोलसहित गोल्डेन बुट पाएर इटालीलाई विश्व विजेता बनाएको सन्दर्भका अनेक कथ्य हामीसम्म कसरी आइपुग्यो होला?
न रेडियो, न टिभी, सामाजिक सञ्जालको कुरा गर्ने हो भने त फेसबुक जन्माउने मार्क जुकरवर्ग जन्मेका पनि थिएनन्।
हुन त सन् १९८२ मा म्याराडोनाले पनि खेलेका रहेछन्। तर उनलाई चिन्न हामीले सन् १९८६ कुर्नु पर्यो।
सन् १९८६ मा हाम्रो घरमा टिभी आइसकेको थियो। अन्तर्राष्ट्रिय खेलको हामो एकल प्रत्यक्ष प्रसारण स्रोत छतका एन्टेनाले समात्ने मुजफ्फरपुरको रिले स्टेसनबाट छोडिएका भारतीय सरकारी टिभी 'दूरदर्शन' का तरंग हुन्थे।
त्यही तरंग हुँदै मेक्सिकोमा आयोजित १९८६ को वर्ल्डकपको दृश्य हाम्रो टिभीमा प्रत्यक्ष झुल्केको थियो। आम नेपालीले प्रत्यक्ष रूपमा हेरेको पहिलो विश्वकप फुटबल प्रतियोगिता सायद त्यही होला।
हुन त एक वर्षअघि, सन् १९८५ मै नीर शाहको नेतृत्वमा खुलेको नेपाल टेलिभिजनले पनि विश्वकपका खेल देखाएको थियो। तर प्राविधिक सीमितताका कारण होला, प्रत्यक्ष देखाइएको थिएन। बलम्बुको भू-उपग्रह अर्थ-स्टेसनमा रेकर्ड गर्दै, सिंहदरबारसम्म गाडीमा ओसार्दै 'डिलेड लाइभ' प्रसारण हुन्थ्यो।
यता दूरदर्शनमा हाफ-टाइम हुँदा नेपाल टेलिभिजनमा बल्ल खेल सुरू हुन्थ्यो। उताको हेरौं, अलि झ्यार-झ्यार दृश्य, यता सफा हेरौं, लाइभ हेरेको स्वादबाट वञ्चित। दुविधा हुन्थ्यो।
झन् दूरदर्शनमा हेर्ने साथीहरूले नेपाल टेलिभिजनमा हेर्नेहरूलाई फोन गरेर गोल भएको सूचना दिँदै जिस्क्याउँथे। यस्ता उट्पट्याङबाट बच्न नेपाल टेलिभिजनमा हेर्नेहरू खेल सुरू भएपछि फोन उठाउनै बन्द गर्थे।
सुरूमा कसको खेल कस्तो हुन्छ भन्ने खास ज्ञानरहित अवस्थामा हामी टिभी अगाडि बस्थ्यौं। धेरै नेपालीको रोजाइको टिम ब्राजिल थियो भने जिको, फ्रान्सका प्लाटिनी, बेलायतका लिनेकरहरू सबैले अपेक्षा गरेका खेलाडी थिए।
यी सबैप्रतिको आकर्षण उछिन्दै सेतो-निलो धर्के टिसर्टमा देखिएका एक जना छोटो कदका केटा सबैको चर्चाको विषय बन्न थाले। उनी थिए, अर्जेन्टिनाका म्याराडोना।
उनै म्याराडोनाको चर्चासँगै काठमाडौंको हावामा रहेको ब्राजिलतिरको करिब-करिब एकछत्र लगाव अर्जेन्टिनाको समर्थनमा ढल्किन थालेको देखिन्थ्यो। अरू खेल जे भए पनि म्याराडोना खेलेको खेलले काठमाडौंबासीलाई तान्न थाल्यो।
उनका हरेक खेल, हरेक चाल, हरेक गोलले यति चर्चा बटुल्यो, मानौं पूरै विश्वकप उनी एक्लै खेल्दै थिए। बाँकी सबै ओझेल।
हामी पनि सेतो पन्नामा निलो धर्का पोतेर टिभीअघि धर्ना कस्न थाल्यौं।
साँच्चै भन्ने हो भने फुटबलप्रतिको मेरो आकर्षण र काठमाडौंलाई अर्जेन्टिनाको समर्थक बनाउने एकल जस म्याराडोनालाई जान्छ भन्दा म गलत नहुँला।
अर्जेन्टिना र इंग्ल्यान्डबीच भएको फोकल्यान्ड युद्धको चार वर्षपछि विश्वकप क्वार्टरफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई हरायो। फाइनलमा पनि जर्मनीलाई हराएर अर्जेन्टिनाले विश्वकपको उपाधि जित्यो। यसबाट म्याराडोना रातारात विश्वकै हिरो बने।
उनको चर्चित हाते गोल अहिले पनि 'भगवानको हात– ह्यान्ड अफ गड' का रूपमा चर्चित छ। उनलाई सबैले यति माया गरे, उनको गल्ती, सनक, रिस सबै सहे।
उनलाई 'आर्कएन्जल', उच्च तहको असल परीको उपमा दिइयो।
त्यसपछिका वर्षमा म्याराडोनाका कथाको रजाइँ चल्यो। उनको छोटो कदको फाइदाबारे कथ्य र तथ्य। उनका हरेक गोलका विश्लेषण। बलसँगै तेज दौडन सक्ने उनको कला, प्रतिद्वन्द्वीलाई छल्दै गोल गर्न सक्ने उनको क्षमताको बयान, आफू मात्र गोल नगरी गोल गर्न सक्ने ठाउँमा रहेका आफ्ना साथीको खुट्टामा बल पास गर्ने उनको क्षमता... सबैको चौतर्फी तारिफ हुन थाल्यो।
रेडियोमार्फत् आमनेपालीलाई फुटबलमा आकर्षण गर्ने अच्युत खरेल र खरे बस्नेतहरू जस्तै टिभीमार्फत् नेपालीलाई फुटबलमा आकर्षित गर्ने म्याराडोना भए।
विश्व फुटबलमा म्याराडोना नामको रजाइँ चुलिरहेका बेला नेपालमा पनि एक खेलाडीले आफ्नो बल खेलाउने कलाले सबैको ध्यानाकर्षण गर्न थालेका थिए। उनलाई त नेपाली म्याराडोना भनेरै उपमा दिइयो। भारतमा भएको दक्षिण एसियाली खेलको अन्तिम समयमा गरेको गोलमा उनको चौतर्फी वाहवाही भयो।
नेपाली फुटबललाई त्यस बेला उचाइ प्रदान गर्ने ती खेलाडी थिए, मणि शाह।
भारतका टिभी उद्घोषकले बारम्बार उनको नाम लिएको अझै सम्झिन्छु। अलि बिगारेर उच्चारण गरे पनि आफ्नो देशका खेलाडीको नाम लिएर भारतीय टिभीमा बयान गरेको सुन्दा छाती ढक्क हुन्थ्यो।
'नेपालके मन्नि शा बहुत बेहतरिन खेल खेल रहे है..। और बल मन्नि शा के पेर मै...।'
मध्य असीदेखि नब्बे दशकको सुरूआती समय नेपालको फुटबल मणि शाहले हाँके भने विश्व फुटबल म्याराडोनाले। सन् १९९० सम्म आइपुग्दा म्याराडोनाबारे थाहा नपाउने सायदै कोही थियो। त्यसताका संगीतमा माइकल ज्याक्सन, बक्सिङमा माइक टाइसन र फुटबलमा म्याराडोनाको एक छत्र राज चल्यो।
१९९० विश्वकपको सुरूआती खेल पूर्वत: विजेता अर्जेन्टिना र अफ्रिकन राष्ट्र क्यमारूनबीच थियो। यो खेल भने नेपाल टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो। सबैको अपेक्षाविपरीत अर्जेन्टिना हार्यो। त्यो खेल लगायत सबैमा म्याराडोनालाई आफ्नो जादू देखाउन गाह्रो भयो।
अत्यधिक मार्किङको (प्रतिद्वन्द्वीले घेर्ने) सिकार भए उनी। म्याराडोनालाई वरिपरि ३-४ खेलाडीले घेरेर राखेको देखिन्थ्यो। अर्जेन्टिना फाइनलमा त पुग्यो तर त्यसको जस म्याराडोनाको खेल होइन, नियमित गोलरक्षक घाइते भएपछि मैदानमा आएका जगेडा गोलरक्षक गओइकोचियाले पाए।
म्याराडोनाले पेनाल्टी गुमाए। गओइकोचियाले गोल बचाएर खेल जिताउँदै लगे र अर्जेन्टिना फाइनलसम्म पुग्यो। तर फाइनलमा जर्मनीसँग हार्यो। यो क्षणमा म्याराडोना रोएको देखेर धेरै उनीसँगै रोए। त्यही क्षणका कारण उनलाई सन् १९८६ मा पाएको उपनाम 'आर्कएन्जल' परिवर्तन गरेर 'वीपिङ एन्जल' का रूपमा चित्रण गरियो।
त्यसपछिका दिन म्याराडोनाका लागि सजिला भएनन्। प्रेसर, लागुऔषध, उनको लापरवाह जीवनशैली लगायत सबैले उनलाई गाँज्दै लग्यो। सन् १९९४ को विश्वकपसम्म त उनी आफ्नो खेल जीवनको उत्तरार्द्धमा पुगिसकेका थिए। १९९४ को अन्तसम्म उनको उपनाम 'आर्कएन्जल' बाट 'वीपिङ एन्जल' हुँदै 'फलिङ एन्जल' हुन पुग्यो।
खेल जीवन र आफ्नो जीवनको उत्तरार्द्धमा उनले जे-जस्तो व्यवहार गरे पनि उनले फुटबलका लागि पुर्याएको योगदान सधैं उत्कृष्ट भनी याद गरिने छ।
पन्ध्र वर्षको उमेरमा व्यावसायिक खेल सुरू गरेका म्याराडोनाले १७ वर्षमा राष्ट्रका लागि खेलेका थिए। राष्ट्रका लागि चार विश्वकप खेले, एक जिते।
संसारमा अर्जेन्टिनाका लागि उनले जति समर्थक सायदै कसैले बटुले होलान्। उनले सन् १९८६ मा अर्जेन्टिनाको समर्थकका रूपमा दाखिल गराएको मेरो लगाव, उनले खेल छाडेको २५ वर्षपछि पनि कायमै छ।
दुई वर्षअघि मणि शाह बित्दा हामीले हेर्दै हुर्केको नेपाली फुटबलको एउटा कालखण्ड सकिएको महशुस गरेको थिएँ। म्याराडोनाको निधनसँगै हाम्रो जीवनकालको खेल क्षेत्रसँग जोडिएको एउटा कालखण्ड सकिएको महशुस गरेको छु।
अलबिदा लेजेन्ड!
@KiranKrShrestha