अक्सफोर्ड डिक्सनरीले सशक्तिकरणलाई कुनै काम गर्न कसैलाई दिइने अख्तियार वा शक्ति भनेको छ। सशक्तिकरण एक प्रक्रिया हो जसले व्यक्तिलाई बलियो र आत्मविश्वासी बनाउँछ।
यसरी हेर्दा महिला सशक्तिकरणको शाब्दिक अर्थ महिलालाई बलियो र आत्मविश्वासी बनाउने प्रक्रिया हो भन्ने हुन आउँछ। त्यसो भए महिला सशक्तिकरण नै किन त? पुरुष सशक्तिकरण भनेको त खासै सुनिँदैन।
महिला सशक्तिकरण पितृसत्तात्मक मान्यताले प्रतिपादन गरेको अवधारणा हो, पुरुषलाई यो संरचनाले अख्तियार र शक्ति दुवै दिएको छ। पितृसत्तात्मक अवधारणाले पुरुष कमजोर हुन्छन् भन्ने मान्यता नै राख्दैन। सामाजिक संस्था, पद, मूल्य, मान्यता यसैको आधारमा निर्माण भएका छन् जसबाट हरेक पुरुष लाभान्वित हुन्छन् भन्ने विश्वास छ।
कहिलेकाहीँ मलाई महिला सशक्तिकरण शब्द आफैंमा पूर्वाग्राही लाग्छ। यसले महिलाहरू अशक्त वा कमजोर छन् भन्ने मान्यता बोकेको छ। त्यसकारण महिला सशक्तिकरणलाई पुरुषको अवस्था र हैसियतसँग तुलना गरेर परिभाषित गरिन्छ। त्यसकारण पनि महिला सशक्तिकरणको परम्परागत अवधारणाले महिलाभित्रका सम्भावना उजागर गर्नेभन्दा महिलालाई पुरुषसरह बनाउनेमा बढी जोड दिएको देखिन्छ।
महिला सशक्तिकरणको अवधारणा महिलालाई पुरुष निर्देशित विकासको प्रतिफलको हिस्सा बनाउन सुरू भएको देखिन्छ। विकासे परियोजनाले महिलाका आवश्यकता पनि ध्यान दिनु पर्छ भन्ने मान्यतामा सुरू भएको महिला सशक्तिकरणको अवधारणा लैंगिक तथा सामाजिक रुपान्तरणसम्म आइपुग्दा विभिन्न तरिकाले व्याख्या र विश्लेषण भएको छ।
समग्रमा महिलाका अधिकार र आवश्यकता पुरुषबाट वा पुरुष केन्द्रित मानसिकताबाट परिभाषित भएका छन्। यसको प्रतिविम्ब भाषा, मूल्य, मान्यता, संरचना हरेक कुरामा झल्किन्छ।
हरेक क्षेत्रमा महिला र पुरुषका लागि मापदण्ड फरक छन्। नेपालको संविधानले यौनिक अल्पसंख्यकलाई अन्यको पहिचान दिएको छ। तर सामाजिक संस्था, मूल्य, मान्यता पूर्ण रूपमा 'हेटेरोसेक्सुअल' छन्। विद्यमान प्रणालीले महिला र यौनिक अल्पसंख्यकलाई दोश्रो र अन्य दर्जाको मानव मान्छ। यही प्रणालीमा रहेर आफ्नो सामाजिक तथा राजनैतिक हैसियत बनाउन बाध्य छन्।
हाम्रा सामाजिक मूल्य, मान्यता र दृष्टिकोण बाीइनरी प्रणालीमा आधारित छः यसैका आधारमा सामाजिक नियम, मूल्य, मान्यता निर्माण भएका छन्। समाज बुझ्न हाम्रो भाषा र ज्ञान समेत अपुरो छ। किशोरावस्थामा आफूमा आएको यौनिक परिवर्तनबाट आफू को हो बुझ्न नसकेर कतिपय युवा डिप्रेसनको शिकार बनिरहेका छन्। यसकारण पछिल्लो समय महिला सशक्तिकरण पुनः परिभाषित गरिनुपर्छ भन्ने आवाज बुलन्द उठ्न थालेको छ।
महिला सशक्तिकरण पुनः परिभाषित गर्दा पुरुष केन्द्रित दृष्टिकोणबाट बाहिर निस्किन जरुरी छ। यसका लागि सामाजिक नियम, लैंगिक मूल्य, मान्यतामा परिवर्तन ल्याउनुपर्छ। महिलाद्वेषी भाषा, कथन, भनाइमा पनि परिवर्तन ल्याउन जरुरी देखिन्छ। जवाफदेही राज्य व्यवस्था, महिलामैत्री कानुन निर्माण र त्यसको कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण पक्ष हो।
महिला सशक्तिकरणका लागि अन्तर्राष्ट्रियदेखि राष्ट्रियस्तरसम्म धेरै प्रयास भएका छन्। शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा पहुँच बढेकाले महिलाको अवस्थामा सुधारिएको छ। यो परिवर्तनले उनीहरूको जीवन तुलनात्मक रुपमा सहज बनाएको छ। हिजो दाउरामा खाना पकाउने महिलाहरू ग्यास हुँदै इन्डक्सनमा पकाउन थालेका छन्। तर यसले लैंगिक भूमिका, शक्ति सम्बन्धमा खासै परिवर्तन ल्याउन सकेको छैन। जागिरे वा कामकाजी महिलामा अझ कार्यबोझ थपिएको छ।
सशक्त महिला को हो? महिला सशक्तिकरणको अर्को महत्वपूर्ण बहस हो यो।
जागिरे, व्यवसायी, आफ्नै नाममा घर जग्गा भएका, राजनीतिज्ञ, पत्रकार, घरमूली महिला सशक्त महिलाका केही उदाहरण हुन्।
फेरि प्रश्न उठ्छ, के यी महिला पुरुषसरह सशक्त छन्?
छैनन्, एउटै घरभित्र जागिरे श्रीमान र जागिरे श्रीमती, उद्यमी बहिनी र उद्यमी दाजुको हैसियत समान छैन।
मेरो एक जना छिमेकीले सुनाएकी थिइन्- आमाछोरी तिहारमा गाउँ जान लागेका रहेछन्। आमाले 'गाउँ जाँदा हाफ प्यान्ट चाहिँ नलैजा है। गाउँमा बेकारमा अनेक थरी कुरा गर्छन्' भनिछन्।
आफैं निर्णय गर्न सक्ने उमेरमा पुगेकी, पढे-लेखेकी, आफैं कमाउने छोरीलाई कपडाको छनौटमाथि सामाजिक प्रतिबन्ध यथावत छ भने महिला सशक्तिकरणमा हामी कहाँ छौं?
तर्क उठ्न सक्छ, छोरालाई पनि सामाजिक प्रतिबन्ध छ त।
अवश्य छ, तर गाउँ जाँदा हाफ प्यान्ट लगाउने कि नलगाउने भन्नेमा त छोराले सोच्नु पर्दैन। फेरि छोरामाथिको प्रतिबन्ध खुकलो छ। केटा हो, गरोस् न त भन्दै छोराको छनौट परिवारले सजिलै सहमति दिएका उदाहरण हामी हरेकले देखे-सुनेका छौं।
केही साताअघि भारतमा गोवा पुलिसले प्रतिबन्धित क्षेत्रमा अश्लील भिडिओ छायांकन गरेको भन्दै मोडल तथा कलाकार पुनम पाण्डेलाई पक्राउ गरेको थियो। त्यही हप्ता अर्का मोडल तथा कलाकार मिलिंद सोमनले आफ्नो ५५ औं जन्मदिनको उपलक्ष्यमा गोवा किनारमा दौडिँदै गरेको नांगो फोटो सार्वजनिक गरेका थिए।
पुनम पाण्डे छायांकनकै दिन छायांकन स्थलबाटै पक्राउ परिन् भने फोटो सार्वजनिक गरेको तीन दिनपछि राजनैतिक दबावका कारण मिलिंदविरूद्ध जाहेरी दर्ता गरियो। सामाजिक संजालमा मिलिंद र पुनमका लागि आम भारतीयले गरेको टिप्पणीले भारतीय समाजको महिला र पुरुष शरीरप्रतिको दृष्टिाकोण प्रष्ट देखायो। महिला शरीरप्रति आम नेपालीको मानसिकता पनि यसभन्दा फरक छैन।
यी प्रतिनिधि घटना हेर्दा महिला सशक्तिकरणका लागि आम आचरण र सामाजिक प्रतिबन्ध अर्को महत्वपूर्ण पाटो हो। महिलाप्रति पूर्वाग्रह राख्ने, विभेद गर्ने र महिलालाई दोषी देखाउने सामाजिक नियम महिला सशक्तिकरणका वाधक हुन्। त्यसकारण महिला सशक्तिकरण फराकिलो रुपमा हेर्न र पुनर्व्याख्या गर्न जरुरी देखिएको हो।
महिला सशक्तिकरणलाई पुनः परिभाषित गर्नु भनेको परम्परागत अवधारणाको औचित्य थप पुष्टि गर्नु भने होइन। विगतका सफल प्रयास निरन्तरता दिन जरुरी छ। तर त्यसको औचित्य परिवर्तित समाजमा कति छ, थप विश्लेषण गर्न उत्ति आवश्यक हुन्छ। हाम्रो भाषा, ज्ञान, कथन, सम्बनन्ध, सामाजिक संस्था, पद, र राज्य व्यवस्था समेत परम्परागत समाजमा आधारित छन्। महिला सशक्तिकरणको अवधारणाको जग पनि यही परम्परागत समाज र राज्य व्यवस्था हो।
गत मेमा अन्तर्राष्ट्रिय आमा दिवसका सन्दर्भमा सामाजिक संजालमा एउटा सामाग्री भेटेकी थिएँ। जसमा एक बालिका शुभकामना कार्डमा 'ह्याप्पी मदर्स डे' लेख्दै थिइन्। उनले 'एपोस्ट्रोफी' संकेत 'एस' भन्दा पछाडि लेखेकी थिइन् जसको अर्थ आमाहरूको भन्ने लाग्थ्यो। शिक्षकले उनलाई गलत लेखेको भनिन्। बालिका भने मेरा दुइटा आमा छन् भन्दै आफूले ठीक लेखेको जिकिर गर्दै थिइन्।
रोचक के भने, आमा दिवसको अवधारणा परम्परागत समाजको बनावटमा आधारित छ जुन समाजले समलिंगी बिहेको परिकल्पनै गरेको थिएन। महिला सजातीय समूह होइन। महिलाभित्रको विविधतामा सिंगो समाज अटाउँछ। महिला सशक्तिकरणको परम्परागत अवधारणाले महिलाभित्रको विविधता पूर्ण रूपमा आत्मसात गर्न सकेको छैन। त्यसकारण महिला सशक्तिकरणलाई पुनः परिभाषित गर्दा विगतको समाज होइन वर्तमानको परिवर्तित समाज हेर्न जरुरी छ।
विगतमा महिला सशक्तिकरणका लागि भएका प्रयासले महिलाहरूको शिक्षा, रोजगार, उद्यममा पहुँच बढेको छ। यी महिलाले विभेदकारी मूल्य, मान्यतालाई चुनौती दिएका प्रशस्त उदाहरण छन्।
मैले यहाँ मिथिला आर्टका केही युवा कलाकारले परम्परागत कलालाई महिला सशक्तिकरणसँग जोडेर बनाएका सिर्जनात्मक कला सम्झिन चाहेँ। त्यसमध्ये एउटा कलाको सन्देश थियो- लाज महिलाको गहना होइन।
भारतमा पुनम पाण्डेको गिरफ्तारी विरोधमा महिलाको नग्नता अश्लील होइन भन्ने ह्यासट्याग अभियान नै चल्यो। फरक देश, फरक प्रसंगका यस्ता अभियान महिला सशक्तिकरणका लागि किन महत्वपूर्ण छन् भने यो पितृसत्ताको विश्वासमाथि जवाबी हमला हो। यो विभेदकारी सामाजिक नियमविरूद्धको विद्रोह पनि हो।
विद्रोह महिला सशक्तिकरणका लागि निकै महत्वपूर्ण चरण हो। हामी के होइनौं भन्ने विद्रोहले के हौं भन्ने नयाँ बहसको सुरूआत गर्छ। जसले महिला सशक्तिकरणलाई नयाँ स्वरूपमा परिभाषित गर्न दिशानिर्देश गर्छ।
महिला सशक्तिकरणलाई पुनः परिभाषित गर्दा पहिलेभन्दा राम्रो बनाउने दृष्टिकोणले हेर्न जरुरी छ। हरेक उपसमूह (जस्तै दलित महिला, ग्रामिण महिला, किशोरी, समलिंगी) भित्र सशक्त महिला को हो भन्ने उदाहरण निर्धारण गर्न सकियो भने महिलालाई पुरुषसँग तुलना गर्ने परम्परा अन्त्य गर्न सकिन्छ।
महिला सशक्तिकरण भनेको महिलालाई सशक्त बनाउने मात्र होइन, सशक्त महिलासँग परिवार र समाजले कसरी र कस्तो व्यवहार गर्ने भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ। यसले पुरुषको व्यवहार र आचरणमा परिवर्तनको माग गर्छ।
विकासे कार्यक्रमले यसलाई पुरुष संलग्नता भन्ने गरेका छन्। महिला सशक्तिकरणका लागि पुरुष संलग्नतामा ध्यान दिनु पर्ने पक्ष के भने यो पुरुषले पितृसत्ताबाट प्राप्त शक्तिको थप प्रमाणीकरण होइन। यसले पुरुषलाई लैंगिक समानताप्रति थप जवाफदेही बनाउँछ।
पितृसत्ताबाट सबै पुरुष लाभान्वित छन् भन्ने कथन पनि भ्रम हो। पितृसत्ताले पुरुषभित्र पनि तह निर्माण गरेको छ।
केही समय पहिले बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाबाट विक्षिप्त उनका पिताले छोरी जन्माउनु नै मेरो गल्ती थियो त? भन्दै गरेको विलापले धेरैलाई रुवाएको थियो।
हिंसात्मक र बलात्कारी पुरुष जन्माउने पितृसत्ताले पितालाई रुवाउने यस्ता घटना धेरै छन् हाम्रो समुदायमा।
एउटा पुरुषको व्यवहार अर्को पुरुषका लागि कति पीडादायी र असह्य हुन्छ भन्ने उदाहरण हो यो घटना।
त्यसकारण महिला सशक्तिकरण र समाज रुपान्तरणका लागि पुरुषमा परिवर्तन ल्याउन जरुरी छ। लैंगिक भूमिका र शक्ति सम्बन्धमा परिवर्तन ल्याउन पुरुषहरू परिवर्तन हुनै पर्छ।
यसले सामाजिक रुपान्तरणको यात्रा सहज बनाउँछ। तर आचरण, व्यवहार, आनीबानीमा परिवर्तन नल्याउने हो भने पुरुषलाई परिवर्तित समाजमा समायोजन हुन कठिन छ।
(सावित्रा ढकालका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुस्)