केही दिनअघि मैले पुरानो डायरी पल्टाएँ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई भेट्न उनको निवास पुगेको १३ महिना भएछ। कुरा गर्न गएको विषय भने अहिले भर्खर तात्तिन थालेको छ- कांग्रेस महाधिवेशन।
म जान्न चाहन्थेँ, चौधौं महाधिवेशनमा संस्थापन पक्षबाट शेरबहादुर देउवा नै उम्मेदवार बन्ने हो वा निधिको पनि सभापतिमा दाबी छ?
निधिले लामो पृष्ठभूमिसहित व्याख्या गरे।
तेह्रौं महाधिवेशनमा निधि केन्द्रीय सदस्यमा मात्र लडे। जबकि, बाह्रौं महाधिवेशनमै उनी महामन्त्रीमा उठेका थिए। उनले देउवालाई भने, 'म यसपटक सदस्यमा मात्र उठ्छु। महामन्त्रीमा संस्थापन पक्षको कसैलाई तानेर उठाउँ। तपाईंलाई सभापतिमा जिताउन सबै काम गर्छु। अर्कोपटक भने म सभापतिमा लड्छु।'
देउवाले जवाफ दिए, 'म तीनपटक प्रधानमन्त्री भइसकेँ। नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति पनि भइसकेँ। एकपटक कांग्रेस पार्टीको सभापति भएपछि अर्कोपटक लड्दिनँ।'
त्यति बेला तत्कालीन देउवा खेमाको भोटले मात्र चुनाव जित्ने सम्भावना थिएन। बाह्रौं महाधिवेशनको परिणामले त्यो पुष्टि गरिसकेको थियो। महामन्त्रीमा तत्कालीन संस्थापन खेमाबाट कसलाई मनाएर तान्ने भन्ने सल्लाह भयो।
देउवा-निधिले पहिलो प्रयास शेखर कोइरालालाई गरे। उनी मानेनन्।
त्यसपछि शशांकलाई गरे, उनी पनि मानेनन्।
देउवा खेमा छाडेका प्रकाशमान सिंह पनि फर्किन चाहेनन्। त्यसपछि अर्जुननरसिंह केसीलाई मनाएर देउवा पक्षबाट महामन्त्री उठाए। उनीहरूले फर्मुल्ला मन्सुर, श्याम घिमिरे, चन्द्र भण्डारी, अर्जुन जोशी लगायत नेताहरू पनि त्यतिखेरको संस्थापन पक्षबाट ताने।
देउवा र उनीइतर खेमाका धेरै कांग्रेसीहरू भन्छन्— देउवा र शशांकबीच पनि एकअर्कालाई सहयोग गर्ने गोप्य सहमति थियो।
जे होस्, त्यो रणनीतिले काम गर्यो। देउवाले चुनाव जिते। महामन्त्रीमा शशांकले पनि जिते।
कांग्रेस सभापतिको कुर्सीमा बसेपछि देउवाले केही नेताहरूसँग भनेको कुरा रोचक छ, 'म त्यो कुर्सीमा आइपुगेँ, जहाँ कुनै दिन बिपी कोइराला, कृष्णप्रसाद भट्टराईहरू बसेका थिए। प्रधानमन्त्रीको जस्तो मात्र होइन यो कुर्सी, राणा शासन फाल्ने पार्टीको सभापति बस्ने कुर्सी हो।'
त्यसो भन्दैमा देउवाले प्रधानमन्त्रीको कुर्सी मोह त्याग्ने कुरा थिएन। माओवादीसँग सत्ता गठबन्धन गरेर उनी चौथोपटक प्रधानमन्त्रीको कुर्सीमा बसे। सभापतिको कुर्सीको मोह अहिले पनि छँदैछ।
तेह्र महिनाअघि जतिखेर म निधिलाई भेट्न गएको थिएँ, त्यो बेला पनि देउवाले सभापतिमा फेरि लड्ने कुरा फाट्टफुट्ट भन्न थालिसकेका थिए।
मैले निधिलाई सोधेँ, 'देउवाले मै उठ्छु भन्नुभयो भने के गर्नुहुन्छ?'
'उहाँले आफू उठ्छु त भनिरहनुभएको छ। उठ्ने निष्कर्षमै पुग्नु भएजस्तो मलाई लाग्दैन,' उनले भने, 'अहिले समय छ। म भेटेर उहाँलाई हाम्रो पुरानो सहमति सम्झाउँछु। यसपालि म उठ्ने हो भन्नेछु। म उहाँलाई नभनी बाहिर यो कुरा भन्दिनँ।'
देउवाले मान्नुभएन र म उठ्छु भन्नुभयो भने?
'त्यो बेला म उहाँलाई छाडिदिन्छु। उहाँविरूद्ध उठ्दिनँ, उहाँको उपसभापति वा महामन्त्रीमा पनि उठ्दिनँ।'
यो तेह्र महिनाअघिको कुरा हो। तेह्र महिनामा बागमतीमा कति पानी बग्यो, त्यो त थाहा छैन। कहिलेकाहीँ ढल नै जमेर बसेको हुन्छ। यसबीच काठमाडौंमा हावा भने पक्कै धेरै चलिसक्यो। कति पुराना कुरा उडाएर लग्यो, कति नयाँ ल्यायो।
यी तेह्र महिनामा निधिको मन पनि फेरिएको छ। उनले अब सभापति लड्ने मन बनाएका छन्।
निधिको एउटा राम्रो बानी छ। उनी कुरा गर्नुपर्ने मुख्य ठाउँ जहाँ हो, त्यहीँ आफ्नो कुरा पहिले राख्छन्। बाहिर प्यारप्यार गर्ने अनि 'हावा' ले त्यो कुरा नेताका कानमा पुर्याओस् भन्ने उनको स्वभाव छैन। आफू कलिलै भए पनि बिपी र कृष्णप्रसादलाई समेत आफ्नो कुरा सहजै भन्न सक्ने ल्याकत निधिले उहिल्यै राख्थे भन्छन्, उनलाई नजिकबाट चिन्नेहरू।
निधिले साउन अन्तिम साता देउवालाई उनकै निवास बुढानिलकण्ठमा भेटेर 'यसपालि म सभापतिमा लड्छु, तपाईंले समर्थन गर्नुपर्छ' भनिदिए।
देउवाले एकपटक फेरि आफैं लड्ने बताए। निधिलाई पन्ध्रौं महाधिवेशनसम्म धैर्य गर्न भने।
'यसपालि नउठी अर्कोपटक उठ्न मलाई 'सुट' गर्दैन। म झन्डै ७० वर्ष पुगिसकेको हुन्छु,' निधिले भने, 'अर्को महाधिवेशनमा त गगन र विश्वप्रकाशको पुस्ता आउँछ। मैले अब पर्खिने ठाउँ छैन।'
देउवाले धेरै प्रतिवाद गरेनन्। आफूले छाड्ने छनक पनि देखाएनन्।
निधि र देउवाको संगत लामो छ। २०३६ सालमा जनकपुरमा सम्पन्न महाधिवेशनमा नेविसंघको सभापति पद देउवाले निधिलाई हस्तान्तरण गरेका थिए। पछिल्ला ४१ वर्ष देउवा र निधि लगभग सँगै छन्।
२०४८ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछिका वर्षहरूमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद कोइरालासँग क्रमश: रुष्ट हुँदै गएका थिए। सिंह र भट्टराईको सद्भावमै कोइरालासँग लड्न देउवाको उदय भएको हो। त्यो बेलादेखि नै देउवा क्याम्पका बलियो हस्ती हुन्, विमलेन्द्र निधि।
परिवार, कार्यालय, पार्टी वा समाजमा हरेक मानिसको एउटा छवि बनेको हुन्छ। त्यो छविले नै उसलाई परिभाषित गर्छ। त्यसैका आधारमा मानिसले ऊसँग व्यवहार गर्छन्। कांग्रेसमा निधिको पनि एउटा स्वभाव र छवि स्थापित छ। उनी हठी र जिद्दी छन्। उनको स्वभाव थाहा हुनेहरू निधि यसपालि सभापति उठेरै छाड्छन् भन्छन्। उनले पनि नजिककाहरूलाई आफूले 'मन' बनाइसकेको बताउने गरेका छन्।
निधिको स्वभाव देउवालाई थाहा छ। उनी जिद्दी छन् भन्ने पनि उनलाई थाहा छ। निधिले सभापतिमा उठ्ने कुरा राखेपछिका दुई महिनामा देउवाले उनीसँग यो विषय उठाएका छैनन्। सायद उठाउनुको अर्थ छैन भन्ने उनलाई थाहा छ।
यसले देउवालाई असमञ्जसमा पारेको छ।
केही अघिसम्म देउवा क्याम्पमा उनी एक्ला उम्मेदवार थिए। देउवाइतर समूहमा सभापतिका आधा दर्जन आकांक्षी थिए, अझै छन्। आपसमा भिडिरहेका सभापतिका आधा दर्जन आकांक्षीलाई हेरेर देउवा गम्थे— अन्तत: मसँग भिड्न को आउला!
रिङमा निधि पनि उत्रिएपछि भने त्यसले देउवालाई अप्ठ्यारोमा पारेको छ।
आफ्नै क्याम्पका साथीहरूलाई पनि उनले निधिलाई ठाउँ छाड्न नहुने जायज कारण बताउन सकिरहेका छैनन्। त्यसै पनि अघिल्लो महाधिवेशनमा उनले निधिलाई यसपालि छाड्ने बचन दिएका थिए। त्यसमाथि देउवा चारपटक प्रधानमन्त्री र कांग्रेस प्रजातान्त्रिकसमेत गरेर दुईपटक सभापति भइसके। उमेर ७५ पुग्न लाग्यो।
नेपाली कांग्रेसका नेता-कार्यकर्ताका मनमा यसपालि महाधिवेशनभन्दा ठूलो विषय आउने राष्ट्रिय निर्वाचन बनेको छ। राष्ट्रिय निर्वाचनमा शक्तिशाली कम्युनिस्ट पार्टीलाई चुनौती दिन सक्ने नेतृत्वको खोजी पार्टी कार्यकर्ताले गरिरहेका छन्।
देउवाका लागि अप्ठ्यारो प्रश्न नै त्यही हो— आउने चुनावमा देउवालाई हेरेर उनी नेतृत्वको कांग्रेसलाई मत दिन कति मतदाता उत्साही हुन्छन्?
गएको आमनिर्वाचनमा नेकपाले चुनाव जित्नुमा केपी ओली एउटा महत्वपूर्ण 'फ्याक्टर' हुन्। ओलीले अघिल्लो कार्यकाल पूरा गर्न पाएका थिएनन्, त्यसको पनि सहानुभूति थियो। त्यसमाथि उनले 'केही गर्छन्, एकपटक नेकपालाई भोट दिन्छु' भन्ने मतदाताको संख्या ठूलो थियो। त्यसमा गैरकम्युनिस्ट मतदाता पनि थिए।
देउवाले फेरि पनि सभापति भए भने उनी नेतृत्वको सरकारले केही गर्छ भनेर कति गैरकांग्रेस मतदाताले रूखमा भोट हाल्लान्? कांग्रेसकै कति मतदाता दिक्क भएर भोट दिन नजालान्?
देउवासामु धेरैपटक सत्तामा बसेको मात्र प्रश्न छैन। चारपटक प्रधानमन्त्री र दुईपटक सभापति भएका देउवाले के गरे, कस्तो थिति बसाए भन्ने प्रश्न झनै पेचिलो छ।
मानिसले देउवालाई केका लागि सम्झिन्छन्— उच्च आचरणका लागि? विकासका लागि? कुनै एउटा गतिलो कामका लागि?
बहुदलपछि मुलुकमा देउवाबाहेक कांग्रेसका तीन जना प्रधानमन्त्री भएका छन्। कृष्णप्रसाद भट्टराईका नाममा राजासँग सहजै 'नेगोसिएट' गरेर २०४८ सालको संविधान दिएको र उच्चतम् राजनीतिक आचरण कायम गरेको खिताब छ। उनको छाता र सुराही अहिले पनि नेपाली राजनीतिमा उच्च नैतिकताका विम्ब बनेका छन्।
सुशासन कायम गर्न नसके पनि खुला अर्थतन्त्रको जग बसालेको र माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर मुलुकलाई सहजतापूर्वक गणतन्त्रमा लगेको जस गिरिजाप्रसाद कोइरालालाई छ।
कचपल्टिएको संविधानसभाबाट संविधान जारी गर्न नेतृत्व गरेको र अतिसादगी राजनीतिक जीवन बाँचेको श्रेय सुशील कोइरालालाई छ।
आममानिसले देउवालाई सम्झिने केका लागि? देउवाको बहिखातामा धनभन्दा दायित्व बढी छ।
सम्झिनलायक प्रेरणादायी कुनै कुरा छैन भने पाँचौंपटक उनलाई प्रधानमन्त्री बनाउन मतदाताले कांग्रेसलाई भोट किन दिन्छन्? राष्ट्रिय निर्वाचनमा मतदाता आकर्षित गर्न देउवाले सक्दैनन् भने कांग्रेस कार्यकर्ताले उनलाई सभापति चुन्ने किन?
देउवाले भन्ने गरेका छन्- अरू नेताले चाहिँ के नै चमत्कार गर्छन्, उनीहरूलाई चाहिँ मतदाताले भोट दिने के ग्यारेन्टी छ?
देउवाको यो प्रश्न पूरै नाजायज छैन। तर, सबै उस्तै हुन् भने पनि यति धेरै अवसर पाइसकेका देउवाले नै फेरि पनि अवसर पाउने किन?
यी प्रश्नहरूको सशक्त प्रतिवाद नगरी देउवाको उम्मेदवारी औचित्य यसपालि स्थापित हुने छैन। आफूलाई ४१ वर्षदेखि साथ दिइरहेका निधिलाई आफ्नो समूहको नेतृत्व हस्तान्तरण नगर्नुपर्ने कारण उनले स्थापित गर्न सक्ने छैनन्। पार्टीमा मेरो पकड बलियो छ, ज्योतिषले मलाई सातपटक प्रधानमन्त्री हुन्छौ भनेका छन् भनेर मात्र देउवाको उम्मेदवारीको औचित्य पुष्टि हुन्न।
तै पनि देउवा अहिलेसम्म निधिलाई छाड्न तयार छैनन्। आफू नजिककासँग निधिले अरूका कुरा सुनेर आफूलाई धोका दिएको र कुनै हालतमा उनलाई नछाड्ने देउवाले बताउने गरेका छन्।
निधि निकटका एक नेता प्रश्न गर्छन्, 'जीवनभर देउवालाई साथ दिने निधिले उहाँलाई धोका दिनुभयो कि निधिका लागि अन्तिम अवसर आउँदा पनि उहाँलाई पन्छाउन खोजेर देउवाले धोका दिँदै हुनुहुन्छ?'
जो जति नजिक छ, फाट्यो भने उसकै मन गहिरोसँग फाट्छ। देउवा र निधि अहिले त्यसकै संघारमा देखिन्छन्।
त्यसका संकेत देखिन थालेका छन्। देउवा नजिकका एक नेताले उनलाई उद्धृत गर्दै भने, 'सभापतिमा ठाउँ छाड्नै पर्यो भने म बिपीको छोरा वा रामचन्द्र पौडेललाई छाड्छु, निधिलाई किन छाड्छु?'
आवेगमा भने पनि त्यसो गर्न देउवालाई सजिलो छैन। उनले मात्र भनेर भएन। उनी र निधिलाई नेता मानेर यतिका वर्ष बसेका नेता-कार्यकर्ताले पनि मान्नुपर्यो।
'विमल दाइलाई नदिएर शेरबहादुर दाइले शशांक वा रामचन्द्रलाई दिनु अप्राकृतिक हुन्छ,' संस्थापन पक्षका एक नेता भन्छन्, 'शेरबहादुर दाइले भन्दैमा निधिलाई छाडेर शशांक वा अरूलाई मत दिन हाम्रो मन पनि कसरी मान्ला?'
शेरबहादुर आफैं उठे भने संस्थापन पक्षका धेरै नेता-कार्यकर्ता उनीसँगै रहने छन्। 'त्यो बेला विमल दाइलाई अप्ठ्यारो पर्छ,' उनले भने।
निधिको उम्मेदवारीको सबभन्दा कमजोर कडी सायद त्यही हो। देउवाले उनलाई जुन आत्मविश्वासका साथ 'हुन्न' भनिरहेका छन्, त्यसको राज पनि त्यही हो।
निधिले धेरै लामो समय देउवासँग बसेर काम गरे। उनले आफ्नै समूहभित्र आफूलाई देउवाबाट अलग नेताका रूपमा स्थापित गर्ने प्रयास गरेनन्। कुनै दिन देउवासँगै प्रतिस्पर्धा गर्ने दिन पनि आइलाग्छ भन्ने नै उनले सोचेनन्।
फेरि उनको स्वभाव पनि नेता-कार्यकर्तासँग मोलाहिजा गर्ने वा चोचोमोचो मिलाउने होइन। उनी देखेको सिधा बोल्छन्, छुच्चो छन्। धेरैले उनलाई घमण्डी भन्छन्।
'म घमण्डी नै छु भने पनि तिम्रा लागि किन फेरिने,' एक नेता भन्छन्, 'उहाँले मान्छेहरूलाई मुखैमा त्यसो भनिदिन सक्नुहुन्छ।'
नेपाली कांग्रेसमा हिन्दु राज्यको पक्षमा उभिने धेरै नेता-कार्यकर्ता छन्— पहाडमा र मधेसमा पनि। यसको विरोध गरेर बिरलै नेता कार्यकर्तामाझ अलोकप्रिय हुन चाहन्छन्। निधि भने धर्म निरपेक्षताका पक्षमा, अहिलेको संविधान र संघीयताको पक्षमा काठमाडौंमा होस् वा मधेसमा, कांग्रेसकै कार्यकर्तासँग एक्लै भिडिरहेका हुन्छन्। त्यसैले पनि उनलाई कतिपय कांग्रेसकै कार्यकर्ताले मन पराउँदैनन्।
तै पनि संस्थापन पक्षमा देउवापछि निधि नै नेता हो भन्नेमा कुने विवाद देखिन्न।
मैले कुरा गरेका संस्थापन पक्षका धेरै नेता-कार्यकर्ताले देउवाले 'ग्रेसफुल एक्जिट' लिए राम्रो हुन्छ भने। अब निधिको पालो आयो भने।
देउवाइतर क्याम्पबाट शेखर, प्रकाशमान वा शशांक जो चुनाव लडे पनि फ्रेस अनुहार आउने हुनाले आफ्नो पक्षबाट निधि लडे सभापतिमा दुई नयाँ अनुहारबीच प्रतिस्पर्धा हुने धेरैको भनाइ छ। देउवाले निधिलाई छाड्दा आफ्नो समूह एक हुने र महाधिवेशनमा लड्न सजिलो हुने पनि उनीहरूको तर्क छ।
देउवा र निधि दुवै उठे कसको पक्षमा मत हाल्ने भन्यो भने संस्थापनका धेरैले 'त्यो बेला त शेरबहादुर दाइलाई नै हाल्ने' भन्छन्।
त्यसैले देउवा आफैं उठे भने संस्थापन पक्षभित्र निधि कमजोर हुनेछन्। त्यो बेला निधिसँग अर्को विकल्प भने खुल्ला छ— देउवाइतर समूहका कतिपय नेतासँग गठबन्धन गर्ने।
त्यो बेला देउवालाई हराउने र कांग्रेसलाई सामूहिक नेतृत्वमा लैजाने एजेन्डाका साथ उनले शेखर, शशांक, प्रकाशमानसँग हात बढाउन सक्छन्। आफू सभापतिमा उठ्ने मन बनाइसकेपछि उनले शशांक, प्रकाशमान, कृष्ण सिटौला, मिनेन्द्र रिजालसँग निरन्तर परामर्श गरेका छन्।
निधिनिकट एक नेता भन्छन्, 'विमल दाइको कन्भिक्सन नै शेरबहादुर दाइले साथ दिनुभयो भने पनि अर्को समूहका मानिससँग कुरा गर्ने, आफ्नो टिममा ल्याउने र फराकिलो गठबन्धन बनाएर चुनाव लड्ने भन्ने छ।'
फराकिलो गठबन्धनबिना यसपालि कांग्रेसमा कसैले चुनाव नजित्ने निधिको विश्लेषण रहेको उनले सुनाए। 'शेरबहादुर दाइले साथ दिनुभएन भने त झनै अरूसँग गठबन्धन गर्नैपर्ने बाध्यता आइपर्छ।'
निधिलाई पन्छाउँदा देउवाले बेहोर्नुपर्ने एउटा खतरा त्यही हो।
कांग्रेस चुनावको अन्तिम समीकरण कसरी बन्छ? को-को सभापतिमा उठ्छन्? भोलि कांग्रेसले चुनाव जित्छ कि जित्दैन? कुनै दिन पार्टी वा सरकारको नेतृत्वमा विमलेन्द्र पुग्छन् कि पुग्दैनन्? अहिले नै कसलाई थाहा!
सभापतिमा निधिको उम्मेदवारीको एउटा 'ब्युटी' भने छ— उनी कुनै दिन कांग्रेस सभापति, मुलुकको सफल वा झूर प्रधानमन्त्री जे बने भने त्यसले हाम्रो राष्ट्रिय एकतामा मधेस-पहाडको जुन विभाजन छ, त्यसले उत्पन्न गरेको जुन घाउ छ, त्यसलाई केही हदसम्म पुर्नेछ।
मूल राजनीतिक दलहरूले मधेसीलाई कहाँ प्रधानमन्त्री वा पार्टी सभापति बनाउँछन् भन्ने जुन पेचिलो प्रश्न छ, त्यसलाई जवाफ दिनेछ।
नेपाली कांग्रेस वा नेकपामा सुदूर भविष्यसम्म जसरी कुनै मधेसी वा जनजाति प्रधानमन्त्री बन्ने सम्भावना छैन, त्यसको पूर्ति केही हदसम्म अहिले नै हुनेछ।