अस्ट्रेलिया डायरिज-३
अस्ट्रेलियाको दक्षिणी तटबाट २४० किलोमिटर टाढाको द्वीप राज्य तस्मेनियाको राजधानी होबार्ट झर्दा अस्ट्रेलियाकै अर्को सहर गएको अनुभूति हुँदैन। बरू अर्कै देश प्रवेश गरेजस्तो लाग्छ।
आन्तरिक उडानबाट आएको भए पनि अन्तर्राष्ट्रिय यात्रुलाई झैं भन्सारमा तालिमे कुकुरबाट सबै सामान जाँचिन्छ। आन्तरिक यात्रुलाई समेत कुनै किसिमका कृषिजन्य सामान ल्याउने अनुमति छैन। बाहिरबाट भित्रिने कृषिजन्य सामानले यो द्वीप महादेशमा कुनै किसिमको जैविक रोग नसरोस् भनेर अस्ट्रेलियाका हरेक प्रवेशद्वारमा निकै कडाइ गरिएको पाइन्छ। आन्तरिक उडानमा सुरू गरिएको यो कडाइ भने मेरो निम्ति नौलो अनुभव थियो।
नेपालबाट अस्ट्रेलिया झर्दा पटक-पटक यो नियमको भुक्तमान म रहिसकेको छु।
एकपल्ट पार्थ विमानस्थल हुँदै अस्ट्रेलिया प्रवेश गर्दा त्यहाँको भन्सारमा हाम्रो समूहको अगाडि आएर कुकुर टक्क अडेको सम्झन्छु। एकछिन त मन चिसो भयो। हाम्रो टोलीका एक सदस्यको झोलाबाट घरमा टीका लगाएर दिएको एक थुंगा फूल निस्कियो।
त्यस्तै, अर्कोपटक ब्रिसबेन भएर अस्ट्रेलिया छिर्दा हाम्रा एक साथीको झोलाबाट सगुनको स्याउ निस्कियो।
अस्ट्रेलिया अवतरण गर्नुअघि जहाजमा देखाइने भिडिओ सूचनामा यस्ता चिज झर्नेबित्तिकै ढ्वांगमा फाल्नू भन्ने निर्देशन दिइएको हुन्छ। भेटिएमा जरिवाना र सजाय हुने जानकारी पनि बारम्बार दिइन्छ। तै हामीबाट गल्ती भए पनि सजायको सामना गर्नुपरेको छैन। भन्सार कर्मचारीले नसिहत दिएर छाडेका छन्।
त्यहाँका कर्मचारी गल्ती फेला पर्नेबित्तिकै दु:ख दिने मनसायका हुँदैनन्। जानाजान गल्ती गर्ने र अन्जानमा गल्ती गर्नेहरू चिन्न उनीहरू अभ्यस्त भएको भान हुन्छ।
यात्राकै दौरान मलाई सबभन्दा नमज्जा भन्सारको लाइनमा आफूभन्दा अगाडि बच्चा बोकेकी एक भारतीय महिलाको अवस्था देखेर लागेको थियो। बच्चाका सामानको पोका पन्तुरामा 'डिक्लेर' नगरिएको खाना भेट्नेबित्तिकै उनका सबै सामान जाँच भयो।
झोलाभित्र एउटा बट्टामा जतन र श्रद्धासाथ राखिएको रुद्राक्ष भेटियो। भन्सार कर्मचारीले भने, 'यू क्यानट टेक दिस।'
महिलाले अत्तालिँदै सफाइमा भनिन्, 'दिस इस माई गड। आई वर्शिप इट।'
कर्मचारीले 'सरी, बट इट इज अ सीड' भन्दै हातबाट रुद्राक्ष डस्टबिनमा झारे। ती महिलाले आँखाबाट तुरुक्क आँसु झारिन्। र, हात जोड्दै भनिन्, 'ओम नमः शिवाय!'
मेरो मन कटक्क काट्यो।
हामीले पूजा गर्ने रुद्राक्षलाई 'यो बियाँ हो' भनी व्याख्या गर्दै रद्दीको टोकरीमा फालिएको देखेपछि म अस्ट्रेलिया जाँदा थप सतर्क हुन थालेँ।
हामीलाई पनि पहिलोपटक अस्ट्रेलिया झर्दा सिड्नी विमानस्थलको भन्सारले रुनु न हाँस्नु बनाएको थियो। भन्सारको निर्देशित जानकारीअनुसार हामीसँग काठ र छालाले बनेको बाजा रहेको कुरा फारममा चिनो लगाएर डिक्लेर गरेका थियौं।
प्रशोधन नगरिएको काठ, छाला र त्यसमाथि कुनै लेबल नभएको बाजा। हामी भन्सार कर्मचारीलाई त्यसको परिचय दिँदै थियौं, उनी भने ओल्टाइपल्टाइ निरीक्षण गर्दै थिए। उनले एउटा मादलमा कीराले खाएको सानो प्वाल देखे। त्यही प्वाल देखाउँदै भने, 'नो, आई क्यानट लेट दिस इन।'
उनले यति भनेपछि हामीले लगेको मादल भन्सारमै रोकियो।
नेपाली मादलमा कीराले खाएको प्वाल हुनु अनौठो कुरो होइन, तर राम्ररी हेर्दै नहेरी लानु हाम्रै गल्ती थियो। फेरि यति कडा होला भनेर हामीलाई के थाहा?
मादलबिना नेपथ्यको कार्यक्रम अधुरो हुन्छ भन्ने थाहा थियो, तर हामी लाचार थियौं।
मादल त्यहीँ छोडेर हामी अगाडि बढ्यौं। विमानस्थलबाट निस्कने बेला मैले पुलुक्क त्यो मादलतिर फर्केर हेरेको थिएँ। नेपथ्यले कयौं कार्यक्रममा प्रेमपूर्वक बजाएको, हजारौं स्रोताको ताली पाएको त्यो नेपाली मौलिक बाजा ती भन्सार कर्मचारीले निर्दयी रूपमा डस्टबिनमा फाल्दै थिए।
त्यो घटनापछि हामीले अस्ट्रेलियामा कार्यक्रम भएका बेला मदललाई नेपालमै 'पेस्ट ट्रिटमेन्ट' गरेर महिना दिनअघि नै कुरियर गर्न थाल्यौं। कदाचित् भन्सारले क्वारेन्टिनमा राखे पनि समय भ्याउने गरेर।
यसरी एकपटक छिरेको मादल हामी त्यहीँ कुनै साथीको जिम्मामा छाडेर आउने र अर्कोपटक जाँदा त्यही मादल प्रयोग गर्छौं।
यी सबै घटनाबाट अस्ट्रेलियाको विमानस्थल कति कडा छ भन्ने मलाई राम्ररी थियो। त्यहाँको आन्तरिक उडानमा साधारणतया सामान जाँच हुँदैन। तस्मेनियाले भने आफ्नो जैविक सुरक्षाका लागि अन्तर्राष्ट्रिय उडानलाई जस्तै जाँच गर्दो रहेछ। त्यो देख्नेबित्तिकै उही मादलको बक्सा सम्झनामा आयो। कतै धेरै वर्षअघिको सिड्नी घटना दोहोरिने त होइन?
मुटु ढक्क फुल्यो। तै हाम्रो मादलको बक्सा निस्कनुअघि अरू यात्रीको सामानमा कुकुर अल्मलियो। त्यसले हाम्रो बक्सा सुँघ्न पाएन। भाग्यले साथ दियो भनौं।
मादलसहितको हाम्रो टोली विमानस्थलबाट बाहिर निस्क्यो। हामीलाई होटल ओसार्ने जिम्मा पाएका चालकले बीच बीचमा बाटोमा पर्ने विभिन्न ठाउँबारे जानकारी दिँदै यात्रा अघि बढाए। एक ठाउँमा पुगेर उनले भने, 'दिस इज ब्याट्री पोइन्ट, लेट्स गेट अफ जेन्टलमेन, लेट मी सो यू समथिङ हियर।'
त्यहाँको बोर्डमा लेखिएको थियो- एलेक्सजेन्डर ब्याटरी।
उनले त्यहाँ भएको तोप देखाउँदै भने, 'यो होबार्ट छिर्ने समुद्री नाका हो। कुनै पानीजहाज यो नाकाबाट होबार्ट पस्न नसकून् भनेर यहाँबाट डरवेन्ट नदीतिर फर्काएर तोप राखिएको हो। यो यहाँको लडाइँताकाको सम्झना हो।'
विमानस्थलपछि होबर्टमा टेकेको पहिलो पाइलाले हामीलाई यहाँको हिंसात्मक इतिहासको पत्र खोलिदिएको थियो।
त्यहीँ भएको बोर्डमा लेखिएको जानकारीअनुसार, सन् १८०४ मा बेलायती साम्राज्यले हिंसात्मक लडाइँबाट तस्मेलियाली अबोरीजिनल आदिवासी बस्ने यो टापूमा कब्जा जमाए। र, यो सहरको नाम पनि बेलायती युद्ध र उपनिवेशमन्त्री लोर्ड होबार्टको नामबाट न्वारन गरे।
पूरा टापूमा रहेका केही हजार आदिवासीमध्ये सन् १८३१ सम्ममा करिब एक हजारको ज्यान गएको थियो। 'ब्ल्याक वार' नाम दिइएको उक्त हिंसात्मक लडाइँलाई केही इतिहासकारले नरसंहार र जातीय सफायाकै वर्गमा राखेको पाइन्छ।
बेलायती साम्राज्यले अन्टार्टिका नजिकको यो अनकन्टार भूमिमा आफ्नो रजाइँ जमाएपछि सन् १८३६ मा विख्यात वैज्ञानिक डार्विन आफ्नो 'बीगल यात्रा' क्रममा यहाँ आएका थिए।
'पहाडको फेदले नदी भेट्ने किनारमा भएका पहेँला मकै फाँट र हरिया आलुबारीले यो ठाउँ सुन्दर बनाएको छ। ठूला घरहरूको संख्या अचम्मलाग्दो गरी कम छन्। सन् १८३५ मा गरिएको जनगणनाअनुसार होबर्टको जनसंख्या १३,८२६ उल्लेख छ भने पूरा तस्मानियामा ३६,५०५ मानिस छन्,' डार्विनले आफ्नो पुस्तक 'बीगलको यात्रा' मा लेखेका छन्।
त्यही यात्रा वर्णनमा उनले होबर्टबाट उठेको १२७१ मिटरको पहाड माउन्ट वेलिङ्टनबारे पनि उल्लेख गरेका छन्। उनलाई हामी बसेको रेस्ट पोइन्ट होटलबाट देखिने त्यो हुस्सुले छोपेको डाँडामा जाने रहर पलायो। पहिलो दिनको प्रयासलाई घना जंगल छिचोल्न नसकेर हापेका डार्विनले दोस्रोपटक दिनभरि लगाएर चढे।
त्यो पहाडमा उनले १७ देखि २८ करोड वर्ष पुरानो पत्रे कलात्मक चट्टान भेटेको उल्लेख गरेका छन्।
'तँ चिता, म पुर्याउँछु' भनेझैं म एक साँझ त्यही डाँडा हेर्दै वाइन खाँदै थिएँ, भोलिपल्ट हाम्रा स्थानीय आयोजक टोली 'ल दाइहरू, आज फुर्सद छ, घुम्न जाने हो?' भन्दै आइपुगे।
'कता जाने?' मैले सोधेँ।
'वेलिङ्टन डाँडा गए पनि हुन्छ,' उनीहरूले भने।
डार्विनले दिनभरि लगाएको यात्राको दुरी र समयबारे जिज्ञासा राख्दै मैले सोधेँ, 'कति बेरको यात्रा हो?'
उनले गुगल म्याप देखाउँदै जवाफ दिए, 'यी हेर्नस् २५ मिनट, बरू माथि निकै हावा चल्छ, चिसो हुन्छ, हिउँ पनि पर्न सक्छ। न्यानो कपडा लगाउनुहोला।'
दक्षिणी गोलार्द्धको डिसेम्बरको गर्मी मौसमका लागि न्यानो लुगा बोक्ने सुझाव उपयुक्त थियो। हामी सबै न्यानो लुगा हातमा बोकेर तल झर्यौं र कुन गाडीमा को जाने भन्ने बाँडफाँट गरेर आ-आफ्नो भागमा परेको गाडी कुरेर बस्यौं।
एकछिनमा हाम्रो यात्रा सुरू भयो। हाम्रो सहयात्री हुने भए खगेन्द्र सत्याल। एयरपोर्टदेखि देखादेख भए पनि उनीसँग लामो कुरा भएको थिएन।
मेरो स्वाभाविक प्रश्न, 'नेपालमा घर कहाँ?'
'मेरो चक्कर लामो छ। संखुवासभामा जन्मिएँ। विराटनगर-इटहरीमा हुर्किएँ, काठमाडौंमा पढेँ। यहाँ आउनुभन्दा पहिले नौबिसेमा स्कुल चलाउँथेँ। त्यसपछि सिड्नी, अनि यता आइयो।'
'अनि के भिसामा नि? स्टुडेन्ट कि अरू कुनै?'
'२०१४ मा स्टुडेन्ट भिसामा सिड्नी आएको। ह्युमन रिसोर्स म्यानेजमेन्टमा मास्टर्स गर्न।'
'उता नेपाल हुँदा के पढेको नि? ब्याचलर्स कि मास्टर्स गर्न भ्याउनुभयो?'
'उता त मैले माइक्रो बायोलोजीमा एमएससी गरेको।'
म अन्यौलमा परेँ। माइक्रो बायोलोजीमा स्नातकोत्तर गरेका मान्छे स्कुल सञ्चालक हुँदै यहाँ ह्युमन रिसोर्स पढ्न?
फेरि सोधेँ। जवाफ त्यही आयो।
'मेरो त माइक्रो बायोलोजी नै पढ्ने मन थियो। तर, भनेको विषयमा कहाँ भिसा लाग्नु! कन्सल्टेन्सीले खै के-के मा कता-कता भरेका थिए, जेमा भिसा लाग्यो, त्यसैमा आइयो। त्यसपछि लाइन पूरै चेन्ज,' उनले हाँस्दै भने, 'त्यति मात्रै कहाँ हो र, ह्युमन रिसोर्समा मास्टर्स सकिएपछि पिआरका लागि अकाउन्ट्स पढे नबर बढ्ने कुरा आयो। त्यसपछि फेरि प्रोफेसनल अकाउन्टिङतिर लागियो। मेरो अन्तिम डिग्री भनेको 'एमपिए मास्टर्स इन प्रोफेसनल अकाउन्टिङ' हो।'
'अनि सिड्नीबाट यता नि?'
'फेरि पिआरकै चक्करमा। पढाइ वा सीपमा नम्बर पुगेपछि थप नम्बरका लागि यहाँको सरकारले निर्धारण गरेको रिजनल (ग्रामीण) क्षेत्रमा बसेर केही समय काम गर्नुपर्छ। त्यसै सिलसिलामा म यहाँ तस्मेनिया आइपुगेँ।'
'अनि कति भयो त यहाँ आएको?'
'धेरै भएको छैन। तर नजिकै पहाड, चिसो मौसम, मलाई त यहीँ मनपर्यो। आफ्नै कन्सल्टेन्सी बिजनेस सुरू गर्दै छु। अब यतै बस्ने।'
'त्यसो भए सबै राम्रो छ?'
'मेरोसम्म त ठिकै भयो, तर म आएपछि अझ भनौं, २०१३-१४ पछि यहाँ आएकाहरू भने अलि दोधारमा छन्। पिआर पनि कहिले कुन विषयमा खुल्छ कहिले कुन, अलि ठेगान छैन। अनि यहाँ रोजगारी पनि पहिलेजस्तो सजिलो छैन। बस्न, खान पनि महँगो।'
यति गफ गर्दागर्दै २५ मिनेट कटेछ। हामी माउन्ट वेलिङ्टनको टुप्पोमा पुग्यौं।
नभन्दै पूरै हुस्सु। सिमसिम पानी। हावा यति कडा, झन्डै उडाउलाजस्तो। न्यानो लुगा ल्याउने सल्लाह नपाएको भए बर्बाद हुने रहेछ। हामी गाडीबाट ओर्लेर दौडँदै वातानुकूलित अवलोकन कक्षतिर लाग्यौं।
एकैछिनमा पानी थामियो। फुरफुर हिउँ नै पर्यो। फेरि एकैछिनमा आकाश खुल्ला। तल होबर्ट सहर र दरवेंट नदी छर्लंग देखियो। मौसम यति छिटो परिवर्तन हुने, एक घन्टामा सबै मौसमको नमूना चाख्न पाइयो।
त्यहीँ कतै डाँडा वरिपरिका कलात्मक देखिने चट्टानहरूबारे लिखिएको थियो- 'वरिपरि देखिने ढुंगाहरू विभिन्न आकारका छन्। यो सबै प्राकृतिक हो। चिसोमा यहाँ हिउँ पर्छ र ढुंगाको कुना-कुनाभित्र पानी जम्छन्। पानी जमेपछि त्यसको आयातन बढ्छ र यो निरन्तर प्रक्रियाले कालान्तरमा ठूल्ठूला ढुंगाहरू फुटाउँदै यस्तो कलात्मक आकार बनेको छ।'
स्थानीयले १२७१ मिटर उचाइको माउन्ट वेलिङ्टनलाई 'कुनानयी' भन्छन्। त्यसमाथिका ती कलात्मक ढुंगामाझ उभिँदा मैले अलौकिक अनुभव गरेको थिएँ। स्थानीय आदिवासीहरूको आस्था त्यसै यो डाँडामा बसेको होइन।
करिब एक घन्टा माथि बिताएपछि हामी फर्कने तरखरमा लाग्यौं। गाडीमा तल झर्दै गर्दा खगेन्द्रले भने, 'हाम्रो चन्द्रागिरिजस्तै छ है।'
उनको टिप्पणीमा मैले भनेँ, 'त्यही त, अनि यहाँको चन्द्रागिरिमा केबल कर राख्ने बुद्धि कसैको आएनछ त?'
मेरो यो गम्भीर प्रश्न थिएन, खाली टिप्पणीमा प्रतिटिप्पणी थियो। उनले भने गम्भीर भएर जवाफ दिए, 'केबल कार बनाउने योजना नभएको होइन, तर यहाँका स्थानीयको विरोधका कारण विचाराधीन छ। यहाँ त आन्दोलन नै भएको थियो।'
नभन्दै बाटोका घरमा लेखिएको देखियो, 'नो केबल कार, फर आवर माउन्टेन।'
'उता नेपालका डाँडामा केबल कार आयो कि विकास आउँछ भनेर मरिहत्ते छ। यहाँका स्थानीय भने केबल कारले डाँडाको प्राकृतिक अस्तित्व लोप गराउँछ, आदिवासीको सम्पदा मासिन्छ भनेर अनेक कुरा गर्छन्। खै हामीले नबुझेको हो कि यिनीहरूले बढी बुझेको हो,' खगेन्द्रले भने।
यत्तिकैमा उनले सहरतिरको बाटो समाए र नदी किनार डुंगाहरू भएको ठाउँमा गाडी रोके, 'अब लन्च गर्ने दाइ। माछा पाइने होबार्टकै प्रख्यात रेस्टुरेन्टमा। त्यहाँ हाम्रा नेपाली दाजुभाइ काम गर्छन्। उनीहरूले निम्ता गरेका छन्।'
मेरो आँखा त्यहाँको ठूलो साइनबोर्डमा पर्यो। लेखिएको थियो- फिस फ्रेन्जी।
हामीलाई देख्नेबित्तिकै भित्रबाट कालो पहिरनमा एक जना स्वागत गर्न आए, 'स्वागत छ दाइहरूलाई, मेरो नाम प्रकाश उप्रेती हो, म यहाँको सेफ हुँ।'
लन्च टाइममा उनी निकै व्यस्त थिए। एकछिनमा फुर्सद निकालेर हामीसँग बस्न आए। भन्दै थिए, '२००८ मा म तस्मेनिया आउँदा दुई जना कामकाजी र आठ जना विद्यार्थी गरेर होबर्टमा जम्मा १० जना नेपाली थियौं। अहिले दस हजार हाराहारी छौं।'
उनले सुरूदेखि यही रेस्टुरेन्टमा काम गरेका रहेछन्।
'मेरो काम मन पराएर होला, अरू पनि नेपाली ल्याऊ भने,' उनले भने, 'अहिले हामी पाँच जना नेपाली छौं। नेपालीहरू प्रेसरमा काम गर्न सक्छन् भन्ने साख छ यहाँ।'
अस्ट्रेलियामा पिआर पाउन रिजनल क्षेत्रमा काम गर्दा नम्बर बढ्ने भएकाले त्यतातिर गएर केही वर्ष काम गर्न बाध्य हुन्छन्। यस्ता रिजनल अर्थात् दुर्गम क्षेत्रमा तास्मेनिया पनि पर्छ। तर, दुर्गम भने पनि नेपालीहरूका लागि यो सुगम नै लाग्छ। झन् चिसो हावापानी मिल्ने भएकाले यता आउनेहरू यतै बस्ने क्रम बढ्दो छ।
नेपालीको साखकै कारण होला, हामी बसेको होटलले नेपथ्यको सम्मानमा आफ्नो राष्ट्रिय ध्वजासँगै नेपालको झन्डा फहराएको थियो।
होटलमा रहँदा नेपथ्यको कार्यक्रमका स्वयंसेवकमध्ये एक सन्देश परियारले मसँग आएर भने, 'यहाँको चर्चित म्युजिक फेस्टिभल 'डार्क मोफा' मा हामीले भाग लिएका थियौं। हाम्रो आफ्नो गीतभन्दा हामीले नेपथ्यको 'सा कर्णाली' र 'तालको पानी' बजाउँदा यहाँका दर्शक निकै आकर्षित भएका थिए। खुब मजा आएको थियो।'
उनको संगीतप्रति लगावले थप कुरा गर्ने मन भयो। उनलाई सोधेँ, 'कहाँ हुन्छ यो फेस्टिभल?'
उनले भने, 'होबार्टभरि विभिन्न ठाउँमा हुन्छ। हामीले भने यहाँको प्रख्यात निजी म्युजियम 'मोना' को प्रांगणमा भएको मञ्चमा प्रस्तुति दिएका थियौं। फुर्सद मिलाएर जाउँ न, ठाउँ पनि देखाउँछु, म्युजियम पनि घुमौंला।'
म्युजियम घुम्ने प्रस्तावले मलाई लोभ्यायो र फुर्सद मिलाएर जाने योजना तय गर्यौं। जाँदा, आउँदा र म्युजियम घुम्दा हामीबीच निकै कुरा भए।
'मलाई संगीतमा अन्तर्राष्ट्रिय मान्यताको डिग्री गर्ने सपना थियो। निकै मिहिनेतपछि अमेरिकाको विश्वविख्यात बर्कले विश्वविद्यालयमा छात्रवृतिसहित भर्ना पाएँ। मेरो ड्रिम कलेज बर्कलेमा सिट पाएपछि निकै खुसी थिएँ। तर, मेरो खुसी लामो समय टिकेन। पटक-पटक गरी पाँचपटक मेरो भिसा अस्वीकृत भयो। निकै दिक्क र फ्रस्ट्रेटेड भएको थिएँ। जहाँ पायो त्यहीँ जान पनि मन लागेन। बुझ्दै जाँदा अस्ट्रेलियामा बर्कलेकै मान्यताप्राप्त कलेज भएको थाहा पाएँ र आवेदन दिएँ। त्यसपछि संगीत पढ्न २००९ मा सिड्नीको जेएमसी एकेडेमी अफ म्युजिकमा आइपुगेँ,' उनले आफ्नो अतीत सुनाए।
'त्यहाँबाट स्नातक तहको पढाइ सकेर अहिले तस्मेनिया विश्वविद्यालयमा संगीतमै स्नातकोत्तर गर्दैछु,' उनले आफ्नो वर्तमान पनि प्रस्ट्याए।
'अब के यतै बस्ने त? ' मैले सोधेँ।
'ब्याचलर्स सकेपछि नेपालै गएर काम गर्छु भनेर फर्केको थिएँ। नेपालमा सिनेमा संगीतको कमजोर पक्ष, म्युजिक स्कोरमा काम गर्छु भनेर निकै धाएँ। धेरै संगीतकार, स्टुडियो धाएँ। सबैले हतोत्साही बनाए। केही समय कोशिस गरेँ, अनि हरेस खाएर फेरि मास्टर्समा भर्ना लिएर यतै आएँ,' उनले अगाडि भने, 'तस्मेनियामा पनि संगीतको राम्रो विश्वविद्यालय भएको थाहा पाएपछि यहीँ आएको हुँ। यहाँको कोलाहलमुक्त शान्त वातावरणले मलाई आकर्षित गरेको हो। अरू धेरैजस्तो पिआरका लागि आएको होइन। पिआर त मेरो सिड्नी छँदै निस्किसकेको थियो।'
हामी मोना म्युजियम घुम्दै थियौं। एकदम आधुनिक प्रस्तुति भएको यो म्युजियमबारे उनले भने, 'यो एक जना व्यक्तिको निजी म्युजियम हो। अस्ट्रेलियाका व्यावसायिक जुवाडे डेविड वाल्सले जुवाबाट कमाएको पैसाले यो बनाएका हुन्। मलाई यो ठाउँ एकदम मनपर्छ। कुनै नयाँ संग्रह आयो भन्ने सुनेँ कि आइहाल्छु। यहीँ बसोबास गर्नेका लागि प्रवेश नि:शुल्क छ।'
उनको कला र संगीतप्रतिको लगाव मलाई मनपरेको थियो। संसार घुम्दा, म्युजियममा समय लगाएर अवलोकन गर्ने नेपाली साथी विरलै पाउने मेरो अनुभव छ। उनीसँग यस म्युजियमका हरेक कक्ष मैले चार-पाँच घन्टा लगाएर घुमेँ।
भित्र सबै कक्ष अवलोकन गर्न सकिएपछि उनले भने, 'अब जाउँ दाइ, म तपाईंलाइ हामीले 'तालको पानी' प्रस्तुत गरेको स्टेज देखाउँछु।'
त्यसपछि संग्रहालयका बाहिरी भाग घुम्दै हामी मञ्च भएको ठाउँमा पुग्यौं।
'यो देखिएको चउरभरि मान्छे नै मान्छे थिए। खुब मजा आएको थियो,' उनले भने।
मञ्चलाई पृष्ठभूमिमा राखेर मैले उनको एउटा फोटो खिचेँ र हामी गाडीतिर फर्क्यौं।
गाडी स्टार्ट गर्दै उनले भने, 'यहाँ कला, संगीतलाई निकै महत्व दिन्छन्। यहाँको राज्यले यहाँ बस्ने सबै जातजाति, भाषाभाषीको सम्मान गर्छ। विविधता प्रवर्द्धन गर्छ।'
यसैमा जोड्दै उनले थपे, 'होबार्ट सहरमा कला र संस्कृति प्रवर्द्धन गर्ने एउटा आधिकारिक समिति छ र डाइभरसिटी कोटाबाट म त्यो १० सदस्यीय समितिको संयोजक छु।'
उक्त समितिको उद्देश्यबारे उनी भन्न थाले, 'नेपालसम्बन्धी केही काम गर्नुपरे यहाँ सरकारी बजेट पनि उपलब्ध हुन्छ। मैले नेपाली संघ-संस्थासँग सम्भावना र सहकार्यको कोशिस गरेको थिएँ। तर हाम्रो बानी, भएकै चिज लाद्नेमै केन्द्रित हुन्छ। नौलो र सिर्जनात्मक केही गरौं भन्ने सोच निकै कममा मात्र छ। त्यसैले यसबारे नेपाली समाजमा विरलै कुरा गर्छु।'
दिनभरिको म्युजियम घुमाई सकेर हामी होटल पुग्नै लागेका थियौं, मैले उनलाई सोधेँ, 'अनि संगीतमा लागेर यहाँको जीविका चल्छ त?'
उनले मुस्कुराउँदै जवाफ दिए, 'संगीत पेसाबाटै जीविका चलाउने भाग्य त थोरै भाग्यमानी संगीतकर्मीको हुन्छ। मलाई संगीत मनपर्छ। संगीतमा डिग्री भएपछि पढाएर केही गर्जो टर्ला। संगीत मेरो साधना हो, छोड्न सक्दिनँ। संगीतबाटै जीविका चलाउने भाग्य मेरो छ जस्तो लाग्दैन। त्यसैले एक जना अर्को संगीतकार साथीसँग मिलेर एउटा इटालियन रेस्टुरेन्ट चलाएको छु। जीविका त्यसले चलाउँदै छु। हुन त पढाइ पूरा भएपछि नेपाल फर्केर शैक्षिक मान्यताप्राप्त संगीत प्रतिष्ठान खोल्ने सपना पनि बुनेको छु। हेरौं दाइ के के होला।'
सन्देश र खगेन्द्र दुई प्रतिनिधि पात्र हुन्। सन्देशजस्ता व्यक्ति थोरै छन् जो आफ्नो इच्छाअनुसारको विषय पढ्न पाउँछन्। भनेको देशमा नपाए पनि विकल्प खोज्छन् तर आफ्नो इच्छा र उद्देश्य छाड्दैनन्।
खगेन्द्रको कथाले धेरैको प्रतिनिधित्व गर्ला, जोसँग आफ्नो इच्छा पछ्याउंँदै विदेश जाने अवसरको अभाव छ। यही कारण सल्लाह दिने उद्देश्यले खोलिएका कन्सल्टेन्सीहरूले ठिक र उपयुक्त सल्लाहभन्दा विद्यार्थीको आतुरीपन सम्बोधन गर्न मद्दत गर्छ।
'के गर्न विदेश जाने' भन्दा 'कसरी भिसा लगाएर विदेश छिर्ने' र कसरी बढी विद्यार्थीको भिसा लगाएर आफ्नो धन्दा चलाउनेमै त्यस्ता कन्सल्टेन्सी केन्द्रित हुन्छन्। विद्यार्थीको 'आतुरी' लाई 'कमजोरी' का रूपमा प्रयोग गर्दै आफ्नो सम्पर्कमा रहेका विदेशी कलेजमा विद्यार्थी 'सप्लाई' गर्छन्।
शिक्षा मन्त्रालयबाट जारी गरिने एनओसीका आधारमा हेर्ने हो भने, नेपालबाट २०७५/७६ मा विदेश जाने विद्यार्थी संख्या ६३,२५९ थियो। तीमध्ये अस्ट्रेलिया जाने संख्या वार्षिक ३६,३२४ थियो। त्यस्तै, वार्षिक ४० अर्ब ९ करोड रुपैयाँ नेपालबाट शैक्षिक प्रयोजनका लागि बिदेसिएको तथ्यांक छ। यो त बैंकिङ प्रणालीबाट जाने आधिकारिक रकम मात्रै हो। अनधिकृत रूपमा जाने रकम कति होला?
अस्ट्रेलियाको नेपाली विद्यार्थी अर्थतन्त्रबारे अलि विस्तारमा आगामी लेखमा कुरा गरौंला। यसपटकलाई तस्मेनियाको चिसो हावा, माछा र डरवेंट नदी किनारमै रमाएर टहलौं, मोना म्युजियम घुमौं।
-
७ डिसेम्बर, २०१९
होबार्ट, अस्ट्रेलिया