आहै! पूर्वैको मारुनी!
हजुर पश्चिमैको बुरुङ्से
नसोधे है गीतांगेको गाउँ, ल है नसोधे है गीतांगेको गाउँ
बाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ...
२२ वर्षसम्म कसैले जित्न नसकेको मेरो निद्रालाई आजकल 'नेटफ्लिक्स'ले औंलामा नचाउन थालेको छ। अस्ति 'दि एन्ड अफ द फ***वर्ल्ड' सिरिजका दुइटा 'सिजन' एकै रातमा हेरेर सकेँ। आँखा निद्रा नपाएको रिसले राता भइसकेका थिए।
निदाउन सजिलो हुन्छ कि भन्दै युट्युबमा 'आज जाने की जिद ना करो' गीत बजाएर 'अटोप्ले' मा छाडिदिएकी थिएँ। तेस्रो गीत आइपुगेपछि बीच्चमा युट्युबले आफैं एउटा नेपाली गीत बजाएछ। एक्कासि 'दसैं दिक्पाल' नाम गरेको भिडिओमा राजेशपायल राईको स्वर सुनियो।
बिहान उज्यालोले झ्याल छुनै लाग्दा बज्यो-
बाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ...
गीत सुनिसक्दा, थाकेर निद्रा खोजेका मेरा आँखा रिसाएनन्, निद्रा खुल्छ कि जसरी रसाए।
लगभग चार वर्षकी हुँदादेखि नाच्न सुरू गरेकी हुँ रे म। पहिले खुट्टाले हिँड्न सिकेँ। त्यसपछि खुट्टा, हात, आँखा सबले गीतको तालमा दौडिन सिकिहालेँ। कहिल्यै कसैले कर गर्नै परेन।
घरमा पाहुना आएर दुई-चार जना मात्रै जम्मा भए पनि मेरो शरीर आफ्नै लयमा मर्किन थाल्थ्यो।
निबुवाको रस, अमिलो चुक, मुख नै रसाउँछ
ओइलेर जाने, दुई दिने जोवन, सबैलाई लोभ्याउँछ
मनकी चरी उडी उडी
आकाश छोऊँ भन्छ...
म आफैं गीत गाउँदै, आँखा घुमाउँदै 'उडी उडी' नाच्थेँ।
घरमा मबाहेक अर्को एउटा मात्रै कलाकार थियो जो गाउन सक्थ्यो- चौध इन्चको चारकुने टिभी।
तर, त्यो टिभी सजिलै गीत गाउँदैनथ्यो। बिछट्टै अखट्टी। उसले गाउन पहिले त बिजुली आएको हुनुपर्यो। त्यसपछि टिभी खोल्न बाको अनुमति पाउनुपर्यो। एन्टेना सही ठाउँमा अडिनुपर्यो। अनि यो सब मिलेपछि समाचारको सट्टामा विपना थापा, करिष्मा मानन्धरलाई देखाउन ती टिभीभित्रका मान्छेको सूर चल्नुपर्यो।
यतिका साइत त औंसी–पूर्णेमा मात्रै जुर्ने।
त्यही भएर केही वर्ष मेरी 'उडी उडी' नाच्ने मनकी चरीलाई सजिलो हावा दिएर सघाइदिने कोही भएन।
आठ वर्ष पुग्दासम्म लोसे खेलाडीझैं एक्लै नाचेपछि अकस्मात् एकदिन मेरो समूहमा एउटा चुस्त खेलाडी थपियो।
दिनदिनैको लोडसेडिङले हैरान पारेको थियो। लगभग हरेक रात प्रयोग हुने भएर होला- टुकिमाराको ब्याट्री मेरो स्कुलको सिसाकलमभन्दा पनि छिटो सकिन्थ्यो। दिक्क परेर आमा अलि सजिलो बाटो खोज्दै हुनुहुन्थ्यो, बाले बजारबाट नयाँ उपाय किनेर ल्याउनुभएछ।
घरमा भित्रियो- गाढा रातो रङले लपक्क पोतेको इमर्जेन्सी लाइट।
बत्ती बाल्न ल्याइएको इमर्जेन्सी लाइटले बत्ती मात्रै बालेन। बाले एक-एक ठाउँ देखाउँदै बुझाउन थाल्नुभयो। छेउमा थिचेपछि एफएम बज्ने रहेछ। अझ अघिल्तिर क्यासेट हालेर प्याट्ट पारेपछि त गीत बजाउन पनि मिल्ने रहेछ।
म यति सुन्दै बुर्लुक्क उफ्रिन थालेँ।
अब त्यो अखट्टी टिभीलाई कट्टी।
अब न बिजुली चाहियो, न एन्टेना, न बाको अनुमति। एउटा क्यासेट किनेर ल्याएपछि जतिबेला पनि नाच्न पाइने भयो।
एकादशी, संक्रान्तिमा पाएको दक्षिणा, रूचि, रमपमको भागबाट कटौती गर्दै जम्मा गरेपछि मात्रै मलाई एउटा क्यासेट किन्न पैसा पुग्थ्यो। त्यसमाथि बजारबाट ल्याइदिने दादालाई छुट्टै 'घुस' चाहियो। हुन त कहिलेकाहीँ बालाई भनेको भए पनि पैसा दिनुहुन्थ्यो होला। तर केटीलाई आफ्नै कमाइमा नाच्न मन थियो। मान्छेका रहर नि!
यही रहरको फल, त्यो इमर्जेन्सी लाइटले घर भित्रिएको पाँच संक्रान्तिपछि बल्ल गीत गाउने मौका पायो। क्यासेट आयो- 'मुग्लान' फिल्मका गीतहरूको एल्बम।
त्यसपछि त घरमा जतिबेलै घन्किन थाल्यो-
आज बाह्र हाते पटुकीको कुरा गर मायालु
तिम्रो रोधी घर, मारुनीको कुरा गर मायालु
मलाई छम छम छम नाच्न मन लाग्यो...
म 'उडी उडी'बाट 'छम छम' नाच्ने भएँ।
केही महिना छम छम नाचेपछि विस्तारै मेरा खुट्टाले भाउ खान थाले। अब मलाई नाचेर मात्रै पुगेन, देख्न मन लाग्यो। हेर्न मन लाग्यो।
फुच्ची केटीको फुच्चे मनले गम्न थाल्यो-
-यो क्यासेट भित्रकी केटी चाहिँ कसरी पो नाच्छे होला?
-कतिबेला कसका लागि गीत गाउँदी हो?
-कसरी आँखा घुमाउँदी हो?
अब मेरा बल्ड्याङ्ग्रे आँखाले छम छम सपना देख्न थाले- फिल्म हेर्ने सपना।
मेरो सपना चार वर्ष बुढो अनि म १४ वर्षकी जवान भएपछि एकदिन बा फेरि एउटा डब्बा बोकेर घर आउनुभयो। यसपालि चाहिँ बाले इमर्जेन्सी लाइटको पालामा जसरी 'डब्बा यस्तो हो, यसरी चलाउने हो' भन्दै केही सिकाउनु परेन।
त्यतिन्जेलसम्म दादा र म दस ठाउँका दस कुरा देखी भ्याएर घरका दुई विशेषज्ञ नै भइसकेका थियौं। हुन त म दादाकी पुच्छर थिएँ। तर पुच्छर नै भए पनि विशेषज्ञको पुच्छर हो। म पुच्छर विशेषज्ञले थाहा पाइहालेँ, यो चिटिक्क डब्बाभित्र मेरो चार वर्षदेखिको रहर पूरा गर्ने चिज आएको थियो।
चक्का हालेर जतिबेलै फिल्म हेर्न मिल्ने जिनिस - 'डेक'।
घरमा 'डेक' आएर बसेसँगै फिल्मको नयाँ भूत पनि टाउकैमा आएर थ्याच्च बस्यो। तर, यो भूत बढो महँगो रहेछ। दुई–अढाई सय खर्च गर्दा पनि जम्मा एउटा नेपाली फिल्मको चक्का किन्न पुग्थ्यो। त्यही कारण एकजनाले किनेपछि एउटा चक्का गाउँभरिका डेकवाला घरमा भ्रमण गर्न निस्किन्थ्यो।
महँगो चक्कालाई त प्रायः हामी सकुशलै घुमफिर गराउँथ्यौं। कहिलेकाहीँ कुनै चक्का भने भर्खर दारी फालेको चिटिक्क हिरो जस्तो पठायो, फर्किँदा भर्खर पुलिस थाना आक्रमण गरेर फर्केको माओवादी लडाकू भएर फर्किने। मुखभरी घाउ कोतरिएर छ्यासम्यास्।
'नेपाली फिल्म हेर्न पनि कोही पैसा खर्च गर्छ?'
यस्तो बौद्धिक तर्क त्यो बेला मजस्ता पुच्छर विशेषज्ञलाई कहाँ आओस्! अहिले साथीभाइबीच किताब सापट मागेर, साटेर पढिन्छ। त्यो बेला हामी साथी-साथी भएर फिल्मका चक्का साट्दै, सापट माग्दै धेरै फिल्म हेर्थ्यौं।
फिल्म हेर्दैमा पिटाइ खाइहाल्ने खालको घर त होइन तर घरका पैसाले फिल्मलाई फजुल खर्चको तक्मा लाइदिएका थिए। त्यसैले एउटा चक्का किनेपछि अर्को किन्ने पैसा जम्मा पार्न अलि समय कुर्नुपर्थ्यो। त्यतिन्जेल गाउँभरिका अरू चक्का हाम्रो घर भ्रमण गर्न आउँथे।
सबभन्दा धेरै चक्का हुन्थे विदेश गएर बेला-बेला मात्रै गाउँ फर्किने मान्छेका घरमा। उनीहरूका चक्का हामी केटाकेटीले किनेका चक्काझैं भ्रमण गर्न भने पाउँदैनथे। हाम्रा चक्का बेरोजगार गाउँ डुलुवा थिए अनि उनीहरूका काठमाडौं बसेर दाङबाट चुनाव लड्ने सांसदजस्ता। आक्क्ल–झुक्कल मात्रै देख्न पाइने।
एकदिन त्यस्तै एउटा सांसद चक्का भित्रियो घरमा। चक्काको खोलबाहिर दिलीप रायमाझी, निरुता सिंहको अनुहारसँग टाँसिएर लेखेको थियो- 'बन्धकी'।
त्यो वर्ष स्कुलको वार्षिकोत्सवमा 'उडायो मेरो मखमली पछ्यौरी...' गीतमा नाचेको दिनदेखि मलाई 'बन्धकी' फिल्म जसरी पनि हेर्नै पर्ने भएको थियो।
'निरुता त्यो गीतमा कुन बेला नाच्छे, अनि गीत सक्किएर दिलीप आएपछि के हुन्छ होला?' यति थाहा नपाउँदासम्म अब खाएकै पच्दैन जस्तो।
त्यही मनको पेट अपचले फुलिरहेकै बेला थाहा पाएँ, बन्धकीको चक्का त छिमेकी खत्री काकाको घरमा छ रे!
काका भर्खर दुबईबाट आएका थिए। घरमा कोही सानो मान्छे थिएन। त्यसैले त्यो घर हामी केटाकेटीको चक्का साटासाट अड्डामा पर्दैनथ्यो।
अब यो चक्का पाउन दस तिकडमबाजी गर्नुपर्ने भयो। लगातार चार दिनसम्म काकीका अगाडि आफ्नै निन्याउरो अनुहार बन्धकी राखेपछि बल्ल मैले 'बन्धकी'को चक्का घर भित्र्याउन सकेँ। चक्का दिँदा नै काकीले ठाडो हुकुम बक्सियो, 'एउटा ठाउँ पनि नकोरेर, जस्तो पठाको छ त्यस्तै चिल्लो चक्का फिर्ता गर्नू है नानी। त्यो पनि तीन दिनभित्रै !'
एकदिन पनि को कुर्न सकोस्! चक्का ल्याएकै दिन घरमा चलिहाल्यो- सामाजिक तथा पारिवारिक कथानक चलचित्र 'बन्धकी'।
फिल्म आधा आधा पुग्न थालेको थियो होला, म त हेर्दाहेर्दै यति धेरै रोएछु, अरूबेला म रुँदा जहिल्यै नानाथरी अनुहार बनाएर जिस्काउने दादा पनि त्यो दिन चुप लागेर बस्नुभयो।
'बाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ...'भन्दै जब निरुता र दिलिप भेटिएर एकै अँगालोमा बेरिए, त्योसँगै मैले पनि एकथोक भेट्टाएँ। १४ वर्षमै केटीको 'लाइफको सबभन्दा फेभरेट फिल्म' घोषणा भयो बन्धकी।
दुई दिने फिर्ता म्यादमा मैले एउटै फिल्म तीन पटक हेरेर भ्याएँ। पर्सिपल्ट चक्का फिर्ता गर्न फिटिक्कै मन थिएन। तर काकीले आफैं घरको काम गर्ने दाइलाई चक्का लिन पठाइसक्नु भएछ। बिहान म उठ्न नपाउँदै, मेरो प्यारो फिल्म उठेर हिँड्यो, मलाई अन्तिम पटक अनुहार पनि देखाउन नपाई।
बाहिर अरूका अगाडि त केही भनिनँ। त्यति जाबो कुरामै रोइहाल्नु आफैंलाई नाटक लाग्ने उमेर भइसकेको थियो। तर भित्र भतभती पोल्यो। आफूले किनेको चक्का भएको भए त्यसरी फिर्ता दिनै पर्ने थिएन। मन थकथक मान्न थाल्यो।
अहिले सम्झिन्छु, त्यो दिन आमाले टीका लगाइदिँदा फिल्मको हिरोझैं फूर्ति दिँदै भनेकी थिएँ, 'आमा, मलाई आशीर्वाद दिनुस्। एकदिन म ठूली भएर जागिर खान्छु, अनि आफ्नै पैसाले बन्धकीको चक्का किन्छु। कसैले फिर्ता नलग्ने गरी।'
आज आमासँग यो आशीर्वाद मागेको लगभग ८ वर्षपछि फेरि बन्धकीको त्यही गीत सुनेँ,
बाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ...
यसपालि गीत सुन्न र हेर्न इमर्जेन्सी लाइट, क्यासेट, डेक केही चाहिएन। म हुर्किँदा सँगसँगै धेरैथोक हुर्किसकेका रहेछन्। सुरूमा केबल टिभी छ्याप्छ्याप्ती भयो, पछि कम्प्युटर आयो। अहिले मेरो काखमा लुटपुटिएको ल्यापटप छ।
हुन त ल्यापटपमा पनि चक्का राख्ने ठाउँ छ। तर त्यो फिल्मका चक्का राख्न प्रयोग हुँदैन। हेर्दाहेर्दै फिल्मका चक्का युद्धका माओवादी लडाकूझैं विस्थापित भए।
आज यो गीत सुनेको हातैको मोबाइलमा हो। अब मन लागेका बेला गीत सुन्न पाइन्छ। यो हातमा अट्ने मोबाइल कत्ति अटेरी छैन। युट्युबले टिभीजस्तो नानाभाँती बहाना गर्दैन। इन्टरनेटमात्रै जोडिदिए फुरुंग परेर बज्न थाल्न्छ।
ठूली भएछु क्यार, अब साथमा आफ्नै मिहेनतले कमाएको केही पैसा पनि आइसक्यो। अब आफूले किनेपछि केही कुरा कसैलाई कहिल्यै फिर्ता गर्नु पर्दैन। सबै सजिलो छ तर पनि सपना पूरा भएको छैन।
अहिले बन्धकी फिल्म युट्युबमा छ। तर, युट्युबमा मात्रै छ। जिन्दगीबाट लगभग लोप भइसक्यो। बन्धकी हेर्दाको त्यो उमेर पनि बन्धकीमै बसेछ।
पूर्वको मारुनी नेपालको पूर्वमै लगभग लोप भइसक्यो। अब पूर्वको मारुनी बस् 'भ्युज' गन्दै युट्युबमा छ। युट्युबमा मात्रै छ।
पश्चिमको बुरुङ्से पश्चिममै लगभग लोप भइसक्यो। बुरुङ्से पनि युट्युबमा भ्युज गन्दै छ। यूट्युबमा मात्रै छ।
यति राम्रो गीत लेखिदिने को हुन्? उनी पनि सायद लोप भइसके। उनको नाम त युट्युबमा समेत छैन।
ती गोलागोला चक्का पनि लोप भइसके। अनुहारभरि छ्यासम्यास कोतरिएका ती गोला चक्का, जसलाई म हत्केलामै राखेर सुम्सुम्याउँथे, अहिले ती कुनै फोहोरको डंगुरमा कुहिन नसकेर उकुसमुकुस भइरहेका होलान्। कोही 'रिसाइकल' भएर अर्कै सामान बने होलान्।
म पनि त अर्कै भइसकेकी छु। तर म चाहिँ 'रिसाइकल' हुन नमिल्ने रहेछ। मिल्ने भए म त्यही फुच्ची बन्थेँ जो हातैमा पखेटा भएझैं उडी उडी नाच्थी। आफैं गीत गाउँथी-
मनकी चरी उडी उडी आकाश छोऊँ भन्छ ...
जो फिल्ममा बजेको एउटा गीतले छोएर फिल्म सकिउन्जेल निथुक्कै गाला भिजाउँथी-
बाँचे हाम्रो सँगै घरबार, मरे होला जगतैमा नाउँ...
त्यो चरीलाई न उड्न आकाश चाहिन्थ्यो, न रुन बाथरुम। अहिलेकी यो चरी त बन्धकी भइसकी।
रिलवाला चक्कामा कहिलेकाहीँ रिल चेपिन्थ्यो। गीत बज्न बन्द हुन्थ्यो। रिल निकालेर म काम नलाग्ने भाग काट्थेँ। बाँकीलाई टेपले टालेपछि फेरि गीत बज्थ्यो। म फेरि नाच्न थाल्थेँ।
तर, काटिएको भागको गीत हराएर जान्थ्यो। फेरि त्यो चक्कामा त्यो गीत पूरै कहिल्यै सुन्न पाइएन।
खै, मलाई पढाइले चेप्यो कि यो रिलझैं घुम्नुपर्ने जीवनले चेप्यो, म पनि अलिकति फेरिएकी छु। म अर्कै भएकी छु।
अब थाहा छैन, मभित्र चेपिएको त्यो गीत फेरि बज्ला कि नबज्ला!
थाहा छैन, म फेरि पूरै हुँला कि नहुँला!
थाहा छैन, यसरी बाँच्न पाइरहेँ भने फेरि पखेटा सँगसँगै घरबार होला कि नहोला!
थाहा छैन, केही गरी भोलि मरिहालेँ भने जगतमा मेरो नाम होला कि नहोला!
(सृजना पोख्रेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)
ट्विटर @srijanArt