'यस भिडिओमा व्यक्त भएका सामग्री केवल मनोरञ्जनका लागि तयार पारिएका हुन्। यसले कुनै समूहको आस्था र भावनालाई ठेस पुर्याउने उद्देश्य लिएको छैन।'
म जुन भिडिओ हेर्न छिरेको थिएँ, त्यो सुरू हुनेबित्तिकै कालो स्क्रिनमा लेखिएर यी अक्षरहरू मलाई लिन आइपुगे र लगेर अरू दर्शक भएतिर बसाए।
'मनोरञ्जनले अरूलाई किन ठेस पुर्याउँछ र?' यस्तो सोच्दै थिएँ, उद्घोषकले ठूलो आवाजमा अनिश घिमिरेलाई स्वागत भन्दै बोलाएपछि एक युवक स्टेजमा देखा परे। हामीले जोडले ताली बजायौं।
अनिशले अलि नर्भस हुँदैहुँदै आफूले स्ट्यान्ड-अप कमेडी गर्न थालेको एक वर्ष पुगेको सुनाए र भने, 'हँसाउने काम गाह्रो रहेछ।'
चुनावदेखि संसद भवनसम्मका स्टेजमा पटक पटक झुट बोलेको सुन्ने बानी परेको मलाई उनको सानो स्वीकारोक्तिले पनि खुसी बनायो। स्टेजबाट साँचो कुरा बोलेको कम्ता मिठो सुनिन्छ!
मुखमा मिठो मिस्री हालेजस्तो भयो। आफूलाई स्विकारेर बोल्नेहरू घटेकैले त होला, मलाई त्यति सानो कुराले पनि खुसी दिएको।
अब उनले कारण के दिन्छन् भनेर पर्खिन थालेँ। 'हँसाउनु किन गाह्रो रहेछ भन्दाभन्दै हँसाउनेछन्, म हाँस्नेछु,' मैले मनमनै सोचेको कुरा सुनेजसरी नै उनले कारण दिन थालिहाले।
'कसैको सेन्स अफ ह्युमर राम्रो हुँदैन। कोहीकोही छिट्टै अफेन्डेड हुन्छन्। अनि कोहीकोहीलाई चाहिँ एड्स लागेको हुन्छ।'
मेरो वरपरका दर्शकहरू हाँसे। म सकिनँ।
'मिस्रीको गुलियोमा अलमलिएर जोक बुझिनँ कि के हो?'
छेउका दर्शक हाँसिरहेकै बेला उनले भनेका वाक्य मनमनै दोहोर्याएँ, 'अनि कसैलाई एड्स लागेको हुन्छ।'
मुखमा हालेको मिस्री ढुंगोजस्तो भयो।
'एड्स लाग्नु र हँसाउन गाह्रो हुनुमा के सम्बन्ध? एड्स लागेका मान्छे हाँस्दैनन्?'
मैले यति सोच्दै गर्दा हुटिङले हौसिएर अनिश भन्दै गए, 'एड्स लागेको मान्छेलाई कसरी हँसाउने? जहिल्यै डिप्रेस्ड हुन्छन्। (ड्रिप्रेस्ड भए झैं अनुहार लगाउँदै) र सोच्छन् कन्डम लगाएको भए हुन्थ्यो।'
त्यसपछि दर्शकबाट जति हुटिङ आयो, त्यति सुनेपछि मलाई मुखको ढुंगा जोडले चपाएजस्तो भयो।
हाँस्न भनेर युट्युबमा गएको म हाँस्न नसकेर कक्रिएँ। मुखको ढुंगो बढ्न थालेजस्तो लाग्यो।
'अब नभागे दाँत हुर्रिएर भुइँमा पोखिन बेर छैन। आफ्नै दाँत पोखिएको बेला कसरी हाँस्नु?'
आफ्नो हाँसो जोगाउन भिडिओबाट सुत्त बाहिर निस्किएँ।
म हतारमा निस्किएको देखेर कालो स्क्रिनमा आएका अक्षरहरू मैतिर आएर भन्दै थिए, 'मनोरञ्जन बल्ल सुरू हुँदैथ्यो। मजा आउने बेला छोडेर गइहाल्नुहुन्छ?'
अक्षरले मसँग झुट बोले। उनीहरूले 'कुनै समूहको भावनालाई ठेस लगाउने छैनौं' भनेका थिए। हुन त अक्षरले पटक पटक झुट बोलेका छन्। मलाई बानी भइसक्नुपर्ने हो। तर पहिलोपल्ट मलाई यति जोडले ठेस लाग्यो।
तर फेरि पनि अक्षरसँग भरोसा गर्दै रहेछु। अक्षरले झुट बोल्दा चित्त दुख्ने रहेछ।
अक्षरले मात्र होइन, 'हँसाउने काम गाह्रो रहेछ' भनेर ती कमेडियनले पनि झुट बोलेछन्। स्वीकारेजस्तो गरेर झुट बोल्न तिनले कोबाट सिके? गुलियो बोलेर ढाँट्न तिनले कोबाट सिके?
नजिकै बसेका मान्छे हाँसेको देखेर लाग्यो- खासमा हँसाउने होइन, हाँस्ने काम गाह्रो रहेछ।
उनले एड्स लागेका मान्छेका बारेमा गरेको 'जोक' र दर्शकको हुटिङले मलाई त्यहाँ पुर्याइदिए जहाँ म दुई वर्षपहिले पुगेको थिएँ- कीर्तिपुर, भत्केपाटी नजिकैको 'सफलता एचआइभी शिक्षा सदन'।
एचआइभी संक्रमित बालबालिका पढाउने एसियाकै एक मात्र डेडिकेटेड स्कुल।
त्यसका संस्थापक राजकुमार पुनले भावुक हुँदै आमाबाबुबाट एचआइभी सरेका बालबालिकालाई पढाउन खोज्दा हरेक पाइलामा ठेस लागेको कथा सुनाएका थिए।
पहिलो ठेस- बालबालिकालाई राख्ने घर खोज्दा। कुनै पनि घरबेटीले एचआइभी संक्रमित बच्चालाई आफ्नो घरमा कोठा दिन मानेनन्।
दोस्रो ठेस- बालबालिकालाई पढाउने स्कुल खोज्दा। एचआइभी लागेका बच्चा भनेर कुनै स्कुलले पढाउन मानेनन्।
तेस्रो ठेस- बालबालिकालाई राखिसकेको घर छोड्दा। एक घरबेटीले बच्चा राख्न मानेका थिए तर गाउँलेहरूले उनलाई राख्न दिएनन्।
चौथो ठेस- बालबालिकालाई पढाउने शिक्षक खोज्दा। जग्गा भाडामा लिएर स्कुल र घर एक ठाउँमा खोले पनि पढाउन मानिदिने शिक्षक भेट्न मुस्किल पर्यो।
हामी गफ गर्दै गर्दा एउटी बालिकाले चिया ल्याएर दिएकी थिइन्। मैले 'थ्यांक-यु' भनेपछि 'यु आर वेलकम' भन्दै हाँस्दै फर्किएकी थिइन्।
उनको रगतमा आमाबाबुबाट सरेको एचआइभी थियो। उनको हाँसो अघि मुखमा हालेको मिस्रीभन्दा धेरै मिठो थियो।
उनी फर्किँदै गर्दा राजकुमार पुनले भनेका थिए, 'यस्तै २३ जना बालबालिकाको बाउ भएको छु। बेलाबेला ठेस लाग्छ तर छोराछोरी हुर्काउँदा बाउलाई लागेको ठेस के ठेस र हैन? बस् यिनलाई कसैले ठेस नलाइदिए हुन्थ्यो।'
ती बालिकालाई सम्झिएपछि मलाई दोस्रो पल्ट ठेस लाग्यो।
आर्थिक अभाव निरन्तर भइरहे पनि राजकुमार आशावादी सुनिएका थिए।
'अहिले पनि समस्या छ। तर मान्छेहरू बिस्तारै बुझ्दै छन्। पहिला छेउ पर्नै डराउनेहरू अहिले सँगै जन्मदिन मनाउन आउन थालेका छन्। संख्या अझै पनि नगन्य छ तर बिस्तारै बढ्ला। मान्छेहरूले बुझ्लान्।'
त्यस बेला मलाई उनको बोली सबैले बुझ्ने ठाउँमा पुगिदिओस् जस्तो लागेको थियो। उनका कुरा सुनेर मान्छेले हुटिङ गरून् र एचआइभी लागेका ती बालबालिकालाई चिनून् जस्तो लागेको थियो। एचआइभी संक्रमित पनि हामीजस्तै हुन्। उनीहरूलाई छुँदैमा, जुठो खाँदैमा, नजिक जाँदैमा, माया गर्दैमा सर्दैन भन्ने बुझून् जस्तो लाग्दै थियो।
तर राजकुमारले बोलिरहेको आवाज ती युवा कमेडियनको कुरा सुनेर हाँसेका दर्शकको हुटिङ बीचमा कतै बिलाएजस्तो लाग्यो। नियमित उपचार गरेर सुनौलो जीवन बाँचिरहेका र सुन्दर भविष्यको सपना देखिरहेका त्यो स्कुलमा पढ्ने बालबालिकाले उनले भनेको 'एड्स भएकाहरू ड्रिप्रेस्ड हुन्छन्' वाक्य सुनेजस्तो लाग्यो।
चिया ल्याउने बालिकाले पनि सुनिन्?
उनी मैतिर आएर चित्त दुखाउँदै भनेजस्तो लाग्यो, 'त्यस्तो भन्न पाइन्छ?'
मैले उनका आँखा छलेँ।
कमेडियनले उल्टो भनेछन्। हँसाउने काम कहाँ गाह्रो रहेछ र? हाँस्ने काम पो गाह्रो रहेछ!
मुखभित्र ढुंगा राखेर कसरी हाँस्नु?
म बेखुस भएर निस्किएको अक्षरहरूले थाहा पाएछन् क्यार। मलाई सम्झाउन भन्दै अर्को भिडिओमा लिएर गए।
अपूर्व क्षितिज नामका अर्का कमेडियन 'सिट-डाउन कमेडी' गर्न भनेर स्टेजमा बसेका छन्। स्ट्यान्ड-अप कमेडीको ठाउँमा सिट-डाउन कमेडी। उनको कन्सेप्ट 'युनिक' लाग्यो।
पहिलो भिडिओ हेरेर बिरक्तिएको मैले सोचेँ, 'सबै एउटै हुँदैनन्। यिनी अलग देखिन्छन्। यिनले पक्कै हँसाउँछन्।'
हरेक चुनावमा 'यिनले त पक्कै देश विकास गर्छन्' भन्ने सोचेजस्तो।
'कहाँ राजनीतिलाई कमेडीमा मिसाइरहेको?' आफैंलाई सम्झाएँ र कमेडीतिर ध्यान दिएँ।
सिट-डाउन कमेडी गर्न थालेका यिनले सुरूका कमेडियनले जस्तो केही स्वीकार गरेनन्। आफ्नो विषय सुरू गर्नुपहिले नै दर्शकदीर्घामा बसेकी एउटी युवतीलाई जिस्क्याउन थाले। उनको नाम सोध्नासाथ भने, 'बिहे गर्छौ मसँग?'
कसैले उनको बिहे भइसकेको भनिदिएपछि थपे, 'दोस्रो बिहे गर्छौ मसँग?'
वरपरका सबै हाँस्न थाले। त्यो हाँसोले हौसिएर उनी झनै जिस्किन थाले। अझै भद्दा 'फ्लर्ट' गर्न थाले। भन्न थाले, 'तिम्रो त डिभोर्स गराइछाड्छु म।'
'ती महिलालाई नराम्रो लागेको त छैन?' मेरा आँखा उनीतिर गए। उनी पनि हाँस्दै नै थिइन्। जसलाई भनेको हो उसैलाई समस्या नहुँदा के चिन्ता भयो र?
तर सम्झिएँ यति बेला उनलाई नराम्रो लाग्न सम्भव छ कि छैन? कहिलेकाहीँ सार्वजनिक ठाउँमा कसैले जिस्क्याउन थाल्यो भने, के भन्ने थाहा हुँदैन। स्टेजमा हुनेको स्वर माइकमा हुन्छ। आफ्नो हुँदैन। आफू छेउकै साथीहरू पनि रमाइलो मान्दै हाँसेका बेला रिसाइहाल्न पनि सकिँदैन।
अपूर्वले निकैबेर जिस्क्याइसकेपछि उनले आफ्ना श्रीमान आउँदै गरेको कुरा सुनाउन भ्याइन्। तर पनि अपूर्व रोकिएनन्।
भनिहाले, 'त्यति समय त छ नि हामीसँग।'
दर्शक फेरि हाँसे। म फेरि पनि हाँस्न सकिनँ।
ती महिलालाई हेरेँ। उनी हाँसी नै रहेकी थिइन्। सायद मैले पो यसलाई अतिरञ्जित गरेँ कि? कसैले कसैमाथि जोक बनाइरहँदा त्यो मान्छे हाँसिरहेको छ भने त के फरक पर्यो? आखिर उनी त्यहाँ आफ्नै मर्जीले गएकी हुन्। कमेडियनको त के भर? जसलाई जे पनि भनिदिन सक्छन्। उनीहरूलाई कन्टेन्ट बनाउन मिहेनेत नगर्दा पनि हुन्छ।
'मिटु मोमेन्ट' चलिरहेका बेला नेपाल आइडलको स्टेजमा कमेडियन सन्दीप क्षेत्रीले 'म पनि मि-टु, मि-थ्री' भन्दै मिटु मोमेन्टकै मजाक उडाएका थिए।
'कमेडियनले कसैलाई उडाउनु के ठूलो कुरा भयो? फेरि उसैको कार्यक्रम हेर्न गएका बेला उसैले भनेको नसहेर पनि हुन्छ? यो विशुद्ध मनोरञ्जनका लागि हो भनेर लेखिसकेपछि के टाउको दुखाएको? हेर्न मन नलागे अर्को भिडिओमा गए भइगयो,' मैले आफूलाई हकारेँ।
तर फेरि सोचेँ- उनले त्यो ठाउँमा कुनै केटालाई त्यसरी किन जिस्क्याएनन्? भिडिओको तल कमेन्टमा दर्शकले जसरी 'दिस गाइ इज स्याभेज' लेखेका छन्, उनले कुनै केटालाई त्यसरी जिस्क्याएको भए लेख्थे?
आफ्नो तर्क आफैंलाई गतिलो लागेन। 'जोकलाई जोकका रूपमा नबुझेर के यताउता कुरा घुमाइरहेको होला?' आफूलाई सम्झाउन खोजेँ र भिडिओ हेरिरहेँ।
त्यसपछि अपूर्व पहिला भाइरल भएको आफ्नै 'पोर्न ब्यान' वाला भिडिओको प्रसंग निकाल्न थाले। कुरा सुनाउँदै भने, 'सरकारले पोर्न ब्यान गरेका कारण रेप घटेको छ भनेर मख्ख परेको होला। तर रेप घटेको पोर्न ब्यान भएर होइन, जाडो लागेर हो।'
दर्शकहरूको हाँसो फेरि छुट्यो।
सरकारका पछिल्ला काम पोर्न ब्यान गरेभन्दा धेरै हाँस उठ्दा पनि छन्। समस्याको जरोमा काम गर्न कुन सरकारले जान्यो र?
तर बलात्कार र जाडोमा के सम्बन्ध?
जसै दर्शकहरू जोडले हाँस्न थाले एक युवकले दर्शकदीर्घाबाट सोध्यो, 'जाडोमा त रेप बढ्नुपर्ने हैन?'
म झस्किएँ। यो स्ट्यान्ड-अप कमेडी नै हो। 'मनोरञ्जन' का लागि मात्र हो। तर यहाँ त बलात्कारको कुरा भइरहेको छ। त्यो पनि यस्तो परिस्थितिमा जति बेला बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिन मानिसहरू सडकमा उत्रिरहेका छन्।
युवाको प्रश्न नै 'यो गलत प्रश्न भयो यार' लागिरहेको थियो। त्यसको उत्तर युनिक कन्सेप्ट ल्याएका सिट-डाउन कमेडियनले जे दिए, त्यसले मलाई रिंगटा लाग्लाजस्तो भयो।
उनले भने, 'केटाहरूलाई जाडोमा पिसाब फेर्न गाह्रो हुन्छ। रेप भनेको त टाढाको कुरा हो। गर्मी मौसम आउन देऊ।'
उनले यति भनिसक्दा ठूलो हुटिङ थपियो। त्यो हुटिङ केही समयपहिला म आफैं सहभागी भएको 'निर्मला पन्तलाई न्याय' को आन्दोलनमा बजेको नाराभन्दा ठूलो भयो। त्यहाँको भीडमा उभिएर निर्मला पन्तकी आमाले गरेको भाषणभन्दा पनि ठूलो।
माइतीघरबाट बानेश्वरसम्म गएको आन्दोलनमा हजारौं युवाहरू 'बलात्कारी पक्रिन नसकेको, बरू प्रहरीको लापरबाहीले सारा सबुत नै मेटिएको' भन्दै आक्रोशित थिए। त्यस दिन निर्मला पन्तकी आमा पनि थिइन्। म उनको आँखामा हेर्न नसकेर निस्किएको थिएँ।
अपूर्वको 'जोक' सुनेपछि हाँसिरहेका मान्छेका बीचबाट निर्मला पन्तकी आमा आफूतिरै आइरहेजस्तो लाग्यो।
भिडिओ हेरिरहेको मनजिकै आएर उनले भनेजस्तो लाग्यो- 'मेरी छोरी मरेको कारणलाई यति भद्दा मजाक बनाउन मिल्छ भाइ?'
मैले के जवाफ दिने? जसको आँखा हेर्न नसकेर निस्किएको थिएँ, उसकै आँखा कसरी छल्ने?
'यो त मनोरञ्जनका लागि मात्र हो। यसले कुनै समुदायलाई ठेस पुर्याउने उद्देश्य लिएको छैन,' मैले सुरूमा आएर अक्षरले भनेका कुरा सुनाउन खोजेँ। न्याय खोज्दाखोज्दा थाकेको उनको अनुहारमा त्यसले कुनै प्रभाव पारेन। कति धेरै मान्छेले झुट बोलेको सुनिसकेकी उनले, मैले नै पत्तो लगाइसकेको अक्षरको झुट किन थाहा पाउँथिनन्?
उनले भद्दा मजाक बनाएको भनेर अपूर्व क्षितिजलाई भनेकी हुन् कि सरकारलाई? कसलाई हो भनेर कसरी सोध्नु?
मैले केही भन्न नपाउँदै उनले दुई हात आँखामा पुर्याएर दलिन् र र चुपचाप फर्किइन्।
म अधैर्य भएँ। अरू धेरै भिडिओ खोलेर हेर्न थालेँ। धेरैतिर मान्छे हाँसिरहेका थिए। तर म धेरैतिर हाँस्न सकिनँ। धेरै ठाउँमा हाँस्न सकिनँ।
हरेक भिडिओबाट एचआइभी लागेकी बालिका र निर्मला पन्तकी आमा जस्तै अरू धेरै पात्र निस्किएर आए जसकाबारे भिडिओमा 'जोक' गरिएको थियो। मधेसी। तेस्रोलिंगी। मोटो शरीर भएका। शारीरिक अपांगता भएका। कालो वर्णका। अनि अरू धेरै धेरै।
यी सबैले आएर एक स्वरमा भनेजस्तो लाग्यो- 'हाम्रो बारेमा यस्तो जोक बनाउन पाइन्छ?'
'हामीलाई यसरी सीमित गराउन पाइन्छ?'
'मनोरञ्जनका नाममा जे पनि भन्न पाइन्छ?'
उनीहरूले त्यसो भन्दै गर्दा उनीहरूकै बारे बनाइएका स्ट्यान्ड-अप कमेडी भिडिओ युट्युबमा भाइरल भइरहेका थिए। मानिसहरू जोडजोडले हाँसिरहेका थिए।
हाँस्न गाह्रो रहेछ। म हाँस्न सकिनँ।
'कसैको मन नदुखाई र कसैलाई ठेस नलाई अरूलाई हँसाउनै नसकिने भएको हो?' उनीहरू निराश हुँदै यो प्रश्न मतिर फ्याँकेर फर्किए।
त्यो प्रश्न पनि जोडजोडले हाँसिरहेका मान्छेहरूको आवाजमा बिलायो।
सुरज सुवेदीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्