अस्ट्रेलिया डायरिज-१
डिसेम्बर, २०१९। चीनको वुहानमा कोभिड-१९ ले आफ्नो अस्तित्व देखाउँदै गर्दा अस्ट्रेलिया भने डढेलोसँग जुध्दै थियो।
त्यसै ताका हाम्रा पर्यटनमन्त्री योगेश भट्टराई 'भिजिट नेपाल २०२०' प्रचार गर्न सिड्नी आए। म त्यो बेला अस्ट्रेलियामै थिएँ, नेपथ्यको सांगीतिक यात्रा सिलसिलामा।
म सन् २०२० जनवरीमा चीनको ग्वानजाउ ट्रान्जिट हुँदै नेपाल फर्किएँ। यहाँ पनि कोरोना चर्चा चलिसकेको थियो तर रोकतोक सुरू भइसकेको थिएन।
त्यसपछि महामारी फैलिने क्रम यति छिटोछिटो विकास भयो, केही महिनामा नेपालसहित संसारै ठप्प भयो। मे महिनाका लागि तय भएको नेपथ्यको जापान यात्रा स्थगन भयो। जुलाई-अगस्टका लागि योजनामा रहेको अमेरिका यात्रा पनि तुहियो। अहिलेको अवस्थामा सांगीतिक कार्यक्रम लगायत अरू सार्वजनिक कार्यक्रमहरू फेरि कहिले सुरू हुन्छ, निश्चित छैन।
अनिश्चितताका यी दिनमा हाम्रो अन्तिम सांगीतिक यात्राको डायरीका पानाबाट म केही सम्झना बाँड्न चाहन्छु।
हरेकपटक सांगीतिक यात्रा लएर विदेश जाँदा मनमा धेरै किसिमका तर्कना उठ्छन्। कार्यक्रम कस्तो हुने हो भन्ने हुटहुटी चल्छ। त्यसैबीच भेटिने नौला मान्छेको कौतूहलले मन रोमाञ्चित हुन्छ। हाम्रो कामको प्रवृत्तिले धेरैथरि मान्छेसँग भेट्ने संयोग मिल्छ।
२०१९ को अन्त्यतिर अस्ट्रेलियाको करिब दुई महिने यात्रामा पनि धेरै मान्छे भेट भए। कति मान्छे बाटोमा भेटिए, बाटोमै बिर्सिए। केही सम्झनामा रहने गरी मनमा गढेर बसे। नेपथ्यको गीत 'जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना' को भावजस्तै।
भेट्ने जोग मिलेकाहरू र मायालु सम्झनामा बसेका केहीमध्ये सबैलाई यहाँ सम्झन सम्भव नहोला। केही प्रतिनिधि पात्रमार्फत् मेरो यात्रा र नेपाली प्रवासको वर्तमान स्थिति प्रतिविम्बित गर्ने कोशिस गर्दैछु, अब पाक्षिक रूपमा प्रकाशित हुने मेरो यो लेख शृंखलाबाट।
पहिलो शृंखलामा म अस्ट्रेलियामा भेटिएकी गुरुङसेनी आमै टेकमाया घलेलाई सम्झँदैछु।
'आज बूढीको काम छ। आमालाई घरमा एक्लै छाड्नुभएन, सँगै लिएर आएँ,' एड्लेडका हाम्रा आयोजकमध्ये एक खुम घले आफ्नी आमालाई पछि लगाउँदै हामी बसेको घर आइपुगे।
सन् २०१७ मा पनि नेपथ्यको कार्यक्रम आयोजना गरेकाले खुम हाम्रो समूहमा परिचित थिए।
सबैले नेपाली शैलीको आदरभावसहित आमालाई अभिवादन गरे। आमा गाउँबाट बजार झरेकी गुरुङसेनीले लाउने पहिरनमा थिइन्। बुट्टे स्वेटर, बुट्टे लुंगी, काँधमा सालको पछ्यौरी पहिरेकी आमाको हातमा जपमाला र गलामा ठुल्ठूला मुगा र यूँ उनेको माला थियो। नाकमा फुली, कानमा चक्का, बायाँ नाडीमा घडी।
आमैले सबैको 'नमस्ते' र 'सन्चै हुनुहुन्छ' को औपचारिक अभिवादनलाई 'नामस्ते...सान्चाई छा' भनेर फर्काइन् र सोफामा गएर माला जप्न थालिन्।
कोठाबाट नेपथ्यका गायक अमृत गुरुङ निस्के। आमालाई देख्नेबित्तिकै बोल्न खोजे। खुमले चिनाउने हिसाबले भने, 'दाइ, मेरो आमा।'
अमृतले अभिवादन गरे, 'नमस्ते आमा, सबन मु?'
अभिवादनमा गुरुङ लवज सुन्नेबित्तिकै आमाको अनुहारका रेखाहरू प्रसन्न हुँदै हँसिला देखिए।
उनले पनि फर्काइन्, 'सबन मु बाबु, छ्याबै मु।'
उनी आउँदा करिब ३ बजेको थियो। बूढाबूढीसँग राम्रै झ्याम्मिने अमृत र आमैको वार्तालाप त्यसपछि गुरुङ भाषामा चल्यो।
वार्तालापमा अमृत सुन्थे, बीचमा केही सोध्थे। प्रायः आमा नै बोलिन्।
गुरुङ भाषा नबुझे पनि उनीहरूको गफ आमाको गाउँ, घले गाउँ, लमजुङ, कास्कीका कुरा, आपसी नाताकुटुम्बको सोधखोज, आमाका परिवार, सन्तानका कुरा, खेतबारीका कुरा, गोठका कुरा, बैंसका कुरा, रोदीका कुरा ...
समग्रमा भनौं, आमाले एक सासमा आफ्नो घरको कुरा पोख्न खोजेकी थिइन्।
सुनाउने कोही नपाएका बेला उनले अमृतका कान पाएकी थिइन्। नेपालीमा अलि अड्केर बोल्ने आमै गुरुङ भाषामा सुन्ने मान्छे पाएपछि यस्तरी बोलिन्, मानौं उनको थामिएको धारो फुटेर प्रवाह भएको थियो।
एड्लेडबाट एक घन्टामा पुगिने अल्दिंगा किनारछेउ हाम्रो बास थियो। अमृत र आमै समुद्र र किनार हेर्दै गफिँदै थिए। उनीहरूको गफको बीचबीचमा म जान्ने टोपल्थेँ। मेरो बोलीसँगै गुरुङ संवाद नेपालीमा बदलिन्थ्यो।
'कति भयो आमा यता आउनुभएको?' मेरो स्वाभाविक प्रश्न थियो।
'तीन महिना भयो बाबु,' उनले भनिन्।
'अनि कस्तो लागिरहेको छ त आमै यो ठाउँ?'
'दिनमा बोल्ने मन्छे छैन। नत्र रमैलई छ। छोरा छ, बुहारी छ।'
'कति भाइ छोरा तपाईंको, खुम एक्लै कि?'
'होइन, तीन भाइ। एक जना यहाँ अस्ट्रेलिया, एक जना अम्रिका, एक जना जापान।'
'गाउँमा को छ त त्यसो भए?'
सरर बगेको हाम्रो वार्ता यहाँनिर आएर थामियो। आमै एकछिन गमिन्। माहोल सुनसान भयो।
कुरा बन्द भएपछि सय मिटरजति परको समुद्री छालको आवाज प्रस्ट सुनियो। छाल आउँदा जत्रो आवाजले कुर्लँदै किनारतिर हानिन्छ, फर्कंदा लुत्रुक्क परेर सलल जान्छ।
आमाको कुराको छाल अघिदेखि एकोहोरो किनार हान्दै थियो। मेरो प्रश्नले जुन सन्नाटा छायो, लाग्थ्यो उनी भावना र गाउँको सम्झनामा डुबेर हराएकी थिइन्।
'तपाईंको गाउँ के आमा? कुन गाउँ रे?' मैले त्यो सन्नाटा चिर्न खोजेँ।
आमाले मुख खोल्न लागेकी थिइन्, अमृतले जवाफ दिए, 'लमजुङको घले गाउँछेउको खुकुम गाउँ, भुजुंगको छेउछाउ।'
त्यसपछि आमा फेरि सुरू भइन्, 'अलि प्रेसर थियो, औषधि खान्थे। रक्सी पनि खान्थे। एकदिन सुतेको, सजिलै गए। खुमका बाबा।'
उनी गम्भीर भइन्, 'पेन्सन लाउरे थिए।'
अब चुप लाग्ने पालो मेरो भयो। के भनौं सोच्नै सकिनँ।
एकछिन फेरि हाम्रो वार्ताले सन्नाटा अँगाल्यो। समुद्रका छालको आवाजलाई पालो दिएसरी।
'पहिले पहिले जवानीमा थोरै पैसा बच्यो कि छोराहरू तीन भाइ छन् भनेर जग्गा जोडियो। अहिले गाउँमा हेरालु भएन,' उनले आफ्नो दुखेसो पोखिन्।
'जहाँ भए पनि खुसी हुने त हो। छोराहरू यतै खुसी छन्। अब यतै घर भइहाल्यो नि। पालैपालो दुई-तीन महिना अस्ट्रेलिया, अमेरिका, जापान। गज्जब भइहाल्यो नि। अब सुर्ताउनु केलाई छ र?' म जान्ने भएँ।
'कुरा त ठिकै हो, तर हामीलाई हुन्न। छोरा-बुहारीको फुर्सद हुन्न। नाति-नातिना गुरुङ भाषा त के, नेपाली पनि बोल्दैनन्। अंग्रेजी मात्र बोल्छन्। आफू अंग्रेजीमा मठ्ठै। नाति-नातिनासँग कुरा गर्न नपाउने घर के घर! एक महिनासम्म ठिकै हो। बढीमा दुई महिना। त्यसपछि त भो, मन आत्तिन थाल्छ। सपनामा पनि गाउँ नै आउन थाल्छ। के भो होला, कसो भो होला। उकुसमुकुस हुन्छ,' आमैले आफ्नो बह पोखिन्।
उनको भावना सुन्दै गर्दा मेरो मनमा कवि विप्लव प्रतीकले लेखेको, गायक दीप श्रेष्ठले गएको गीत बज्न थाल्यो। लाग्यो यिनै आमैको भाव विप्लवले लेखेका हुन्-
हर रात सपनीमा ऐँठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि
लमजुङमै उनको बाल्यकाल बित्यो। माइतीघर पोखरा, बाकुम गाउँ। माइतको कुरा सोध्नेबित्तिकै आमै बालकझैं चञ्चल भइन् र आफ्नो बाल्यकालको यादमा पुगिन्।
'गाउँमा भोटे नुनको चलन थियो। सेतो नुनको चलन आएपछि सानो हुँदा नुन लिन ठोरी गएको याद छ। गाउँबाट पहिलो दिनको बास बाइसजंगा, त्यसपछि बन्दीपुर, चितवन र चौथो दिन ठोरी। त्यहाँ त रेल पनि देखेको,' उनका आँखा बालकका झैं चम्किए।
'अनि विदेश आएको अहिले नै हो त आमै? कि पहिले पनि कतै जानुभयो?' मैले जान्न चाहेँ।
'होइन होइन। बिहापछि नै खुमको बाबासँग उनको जागिरसँगै देहरादुन, आसाम, सिलङ पुगेको। त्यो चेरापुन्जी भन्ने ठाउँ त किस्सिम थियो। झरना कति धेरै हो,' उनको आँखामा अब यौवन दौडियो।
बीचबीचमा अमृत आमैले गाएका गीत र रोदीका कुरा कोट्याउँथे। आमै पनि खुलेरै भन्थिन्, 'जवानीमा त कति गायो गायो। गीत सुन्न, गाउन गाउँगाउँ पुगियो। हामीले गाउने भाकाहरू प्रायः सुनीमाया, ठाडो भाका, तेर्सो भाका हुन्थे।'
'अनि तपाईंहरूले त्यो शिरमा रिबन भन्ने भाका गाउनुभयो?' आफूले भर्खर सार्वजनिक गरेको गीतबारे जान्न खोजे अमृतले।
'गायो बाबु, त्यो पनि गायो।'
'तपाईंले गाएको भाका याद भए सुनाउनुस् न,' अमृतले आग्रह गरे।
एकछिन सोचेर आमैले भनिन्, 'यो गीत भन्ने चिज पनि गज्जब हुँदो रहेछ। छाडेपछि बिर्सिने। मनमा आयो मुखमा आउन्न, मुखमा आयो मनमा आउन्न।'
पति बितेपछिको विरह भुल्न करिब पाँच वर्षअघि गाउँको आमा समूहको योजनामा मुक्तिनाथ घुम्न गएको याद उनको मनमा ताजा रहेछ।
'अनि यो उमेरमा 'थोराङ ला' काट्नुभयो त? गाह्रो भएन?' अमृतले सोधे।
'सकेजति हिँडेँ, त्यसपछि घोडा चढेँ। सानो हुँदा घुमेको ठाउँ फेरि घुम्दा रमाइलो भयो। त्यसपछि घुम्ने आँट पनि आयो। सबैले सकुन्जेल त हो नि घुम्ने भनेको। लौ हो त नि भनेर अहिले यहाँ आएको छु। अब अम्रिका, जापान पनि आउनू भन्दैछन् छोराहरू,' आमैले भनिन्।
यति भनेर आमैले समुद्रतिर हेरिन्, माला जपिन् र भनिन्, 'यो समुद्र जति राम्रो भए पनि मलाई त पहाडै मन पर्छ। त्यतै मन डुल्छ। गाउँको घरमा के भयो होला, मन आत्तिसक्यो।'
माला जप्दै आमैले थपिन्, 'मन उता छ। यता हुँदा मन उता सम्झेर आत्तिन्छ। उता गएपछि खुमको बाबा नभएको गाउँ न्यास्रो लाग्छ। अनि यता छोराहरू सम्झिन्छु। अब कति नै बाँचिएला?'
उनको हिम्मत बढाउने उद्देश्यले अमृतले भने, 'चौरासी त मनाइहालिन्छ नि आमा। यस्तो बलियो हुनुहुन्छ।'
मैले पनि थपेँ, 'जाँड, चुरोट, खानुभएन होला। त्यति त मज्जाले बाँचिन्छ।'
जाँड-चुरोटका कुरा सुन्नेबित्तिकै उनी अलि रौसिइन्।
भनिन्, 'थोरै जाँड त गाउँमा सबैले खान्छ। चुरोट पनि मज्जाले खाइयो। त्यो पाँच सुको पर्ने 'गोल्टिन मार्का' कति खायो खायो। पछि डाक्टरले नखा भनेपछि छाडेको पाँच वर्ष भयो।'
'छाडेको राम्रो भएछ। अब त तलतल लाग्दैन नि?' अमृतले ठट्टा गर्दै सोधे।
'कहाँ बाबु अरूले खाएको सुँघ्दा बेस्सरी बासना लाउँछ,' यति भनेर आमै मज्जाले हाँसिन्, 'तर नखा भनेपछि खाएको छैन।'
यति कुरा गर्दा गर्दै साँझको आठ बजेछ। दक्षिण अस्ट्रेलियाको अल्दिंगा किनारपारि सेन्ट भिन्सेन्ट खाडीमा सूर्य अस्ताउँदै थियो।
खुमले तलबाट बोलाए, 'आमै, जाने होइन? अब रात पर्यो।'
-
२९ नोभेम्बर, २०१९
अल्दिंगा बीच, एड्लेड