हठात् रूसले कोभिड–१९ को भ्याक्सिनलाई स्वीकृति दिएको समाचार आयो।
'रुसले कोरोनाको भ्याक्सिन बनाएको हो?' भनेर साथीहरूले सोध्न थाले। सामाजिक सञ्जालको युगमा समाचार आउँदैमा मानिसले सबै कुरा पत्याइहाल्दैनन्। त्यसैले चिकित्सकका नाताले मलाई त्यो प्रश्न सोधिनु स्वाभाविक थियो।
तर मेरा लागि त्यो प्रश्नको उत्तर सहज थिएन।
हो भनौं भने खोप विकासको स्थापित विधिको धज्जी उडाएर दिइएको त्यस्तो स्वीकृति त्यति धेरै अर्थपूर्ण थिएन। जादुको छडीले झैं यस्ता आविष्कार हुन सक्ने भए इतिहासमा सबभन्दा छिटो विकसित 'मम्प्स'को खोप बनाउन चार वर्ष लाग्ने थिएन।
हैन भनौं भने सर्वप्रथम अन्तरिक्षमा स्पुतनिक भू–उपग्रह पठाउने रुसले स्पुतनिक–५ नाम दिएर भ्याक्सिन घोषणा गरिसक्यो। अरू केही देशका शासकहरूले त्यो खोप प्रयोग गर्ने समेत बताइसके। अन्तर्राष्ट्रिय मिडियामा, त्यो खोपले काम गरिहाल्यो भने के होला भन्ने विषयमा विमर्श हुन थालिसक्यो।
फेरि खोप निर्माण प्रक्रिया रुसबाहेकका देशमा राजनीतिक दबाब र प्रभावबाट अछुतो रहेको भन्ने पनि होइन। खोप निर्माणको वैज्ञानिक प्रक्रियामा राजनीतिक हस्तक्षेपको समाचार यसअगाडि भारतबाट आइसकेको थियो। अमेरिकामा त डोनाल्ड ट्रम्पले बारम्बार नोभेम्बर ३ को चुनाव अगाडि नै भ्याक्सिन ल्याउन कम्पनीहरूलाई दबाब दिएको कुरा छिपेको छैन।
भ्याक्सिनबारे अनेक दाबी र प्रचारवाजीमा धेरै देश उत्रिए पनि रुसको करतुत अरूभन्दा अलग थियो। भ्याक्सिनका धेरै उम्मेदवार जुन चरणमा गएर असफल हुने हुन्, 'फेज थ्री क्लिनिकल ट्रायल' नामक त्यो चरणमा प्रवेशै नगरी उसले भ्याक्सिनलाई मान्यता दिएको थियो।
परिणामः फिलिपिन्सका रोड्रिगो दुतेर्तेजस्ता शासकले मात्रै त्यो भ्याक्सिन प्रयोग गर्ने बताएनन्, संसारका धेरै देशका मानिसमा भ्याक्सिन तत्काल बनेर महामारी रोक्छ कि भन्ने आशा पलायो।
जब केही चिकित्सा समुदायकै साथीले त्यो भ्याक्सिनलाई गम्भीरतापूर्वक लिएको थाहा पाएँ, म झसंग भएँ।
स्पुतनिक-५ भ्याक्सिनबारे कुरा हुँदा चिकित्सक साथीलाई मैले भनेँ- रूसले तीसौं हजार मानिसमा गर्नुपर्ने 'फेज थ्री ट्रायल' नै नगरी भ्याक्सिन दर्ता गरेको छ, त्यस्तो भ्याक्सिनको के आश गर्नु?
साथीले भनेः तीसौं हजारमा त अब प्रयोग गरिहाल्छ नि।
उनको कुरा ठिकै हो। दर्ता भइसकेपछि स्पुतनिक–५ को प्रयोगमा कम्तीमा रूसभित्र कसैले छेकबार लगाउन सक्दैन।
तर विज्ञानको इतिहासले के भन्छ भने त्यसरी नयाँ भ्याक्सिन प्रयोग गर्दा परिणाम यीमध्ये एउटा हुन सक्छः
- भ्याक्सिनले काम गर्छ र सुरक्षित छ
- भ्याक्सिनले काम गर्छ तर उल्लेख्य संख्यामा गम्भीर जटिलता ल्याउँछ
- भ्याक्सिनले काम गर्दैन तर जटिलता ल्याउन सक्छ
- भ्याक्सिनले संक्रमण रोक्नुको सट्टा संक्रमण वा जटिलताको जोखिम झन् बढाउँछ
रूसले झैं हतारमा नयाँ भ्याक्सिन दर्ता गर्दा के मानिएको हुन्छ भने यी चारमध्ये पहिलो परिणाम नै आउँछ। तर त्यो सम्भावनाको मात्रै कुरा हो, सुनिश्चितताको होइन।
मानौं ती साथीले भनेझैं तीसौं हजार वा लाखौं मानिसले अब उक्त खोप लिने चरण नै सामान्य खोप विकासको फेज थ्री ट्रायलसरह हो। त्यस क्रममा भ्याक्सिनका राम्रा वा नराम्रा प्रभाव र प्रभावकारिताको टिपोट पक्कै रुसी चिकित्सक र वैज्ञानिकहरूले गर्नेछन्।
त्यस क्रममा परिणामले भ्याक्सिन काम गर्ने र सुरक्षित देखियो भने त ठिकै हो। तर काम नगर्ने वा गम्भीर जटिलता देखिने भयो भने के होला?
विकसित हुँदै गरेको भ्याक्सिनलाई प्रतिष्ठाको विषय बनाएर आवश्यक शोधबिनै संसारकै पहिलो कोभिड भ्याक्सिन घोषणा गरेपछि रूसले त्यस्तो प्रतिकूल नतिजा कसरी सार्वजनिक गर्ला?
रुसी भ्याक्सिनले पार गरेको भनिएको पहिलो र दोस्रो चरणको ट्रायल (जसले मूलतः प्रभावकारिता नभई भ्याक्सिन कति सुरक्षित छ भनेर हेर्छन्) का नतिजाहरू समकक्षी वैज्ञानिकहरूको निगरानी (पियर रिभ्यु) का लागि उपलब्ध गराइएको थिएन। त्यसैले अबका दिनमा आउने भ्याक्सिनसम्बन्धी नतिजा पनि उसरी नै अन्धकारमा तयार हुने निश्चित जस्तै छ।
अब एउटा अवस्था कल्पना गरौंः स्पुतनिक-५ प्रभावहीन वा प्रत्युत्पादक वा दुवै हुने कुरा रुसी वैज्ञानिकहरुले तीसौं हजार मानिसमा उक्त भ्याक्सिन प्रयोग गरेपछि पत्ता लाग्यो।
सम्भवतः तबसम्म सिंगो रुसी जनसंख्या र अरू धेरै देशका लागि पुग्ने भ्याक्सिनका डोज रुसभर र धेरै देशमा पुगिसकेका हुनेछन्।
त्यो अवस्थामा भ्याक्सिनलाई असफल घोषणा गरेर नष्ट गर्ने वैज्ञानिकको विवेक हाबी होला कि जसोतसो भ्याक्सिन दिइहालेर साख बचाउने रुसी राष्ट्रपति पुटिनको प्रयास हाबी होला?
...
भ्याक्सिन विकास गर्ने सुरूआती चरण भनेको मानिसमा संक्रमण नगराई संंक्रामक जीवविरूद्ध प्रतिरोधी क्षमता विकास गर्ने विभिन्न उम्मेदवार पदार्थहरूको छनोट हो। अक्सर यही चरणले वर्षौंको समय लिने गर्छ। तर पछिल्ला दशकमा धेरै खाले प्रविधिको तीव्र विकास भएकाले चीनले सार्स–कोभ–टुको आनुवांशिक संरचना सार्वजनिक गरेको केही सातामा विश्वभरका धेरै वैज्ञानिक र कम्पनीहरूले त्यस्ता उम्मेदवारको खोजी गरे।
त्यसपछिको चरणमा उक्त पदार्थको पशुमा परीक्षण गरेर प्रभावकारिता र जटिलता वा दुष्प्रभाव हेरिन्छ। यो चरणमा महिनौंको समय लाग्न सक्छ। छिटो भ्याक्सिन बनाउने हतारोमा यसपल्ट कतिपय कम्पनीले यो चरणलाई नै बाइपास गरेर सिधै मानिसमा परीक्षण गरेका छन्।
मानिसमा हुने पहिलो परीक्षण वा फेज वान सेफ्टी ट्रायलमा सानो संख्याका स्वयंसेवीमा उक्त पदार्थ कति सुरक्षित छ भनेर परीक्षण गरिन्छ। साथै त्यसले शरीरमा रोग प्रतिरोधी प्रणालीलाई प्रभावित गर्छ कि गर्दैन भनेर हेरिन्छ। यसको नतिजा जति लामो समय हेरेर चुस्त विश्लेषण गर्यो, कुनै जटिलता छुट्ने सम्भावना उत्तिकै कम हुन्छ।
पहिलो चरणबाट सुरक्षित ठहरिएको भ्याक्सिन उम्मेदवारलाई अलि ठूलो संख्या (सयौं) का स्वयंसेवीमा फेरि प्रयोग गरिन्छ। फेज टु एक्स्पान्डेड ट्रायल भनिने यो चरणमा पनि मूलतः उक्त पदार्थ कति सुरक्षित छ भनेरै वर्षौंसम्म (कोभिडको हकमा महिनौंसम्म) हेरिन्छ।
साथै फरक उमेर समूहको रोग प्रतिरोधी प्रणालीमा कस्तो प्रभाव पार्छ भनेर पनि हेरिन्छ। होशियारीपूर्वक अध्ययन गर्दा यस चरणमा पनि कडा दुष्प्रभाव नदेखिएमा बल्ल तेस्रो चरणको बाटो खुल्छ।
'फेज थ्री इफिकेसी ट्रायल'मा बल्ल भाइरसको प्रभावकारिताको असली परीक्षण हुन्छ। यो चरणमा बीसौं हजार स्वस्थ स्वयंसेवीहरू भ्याक्सिन लगाएपछि समुदायमा फर्कन्छन्। 'कन्ट्रोल' भनिने उस्तै तर भ्याक्सिन नपाएका मानिसहरू पनि समुदायमै रहेर यो ट्रायलको हिस्सा बन्छन्।
त्यसपछि संक्रमण समुदायमा फैलँदा भ्याक्सिन पाउने स्वयंसेवीहरू र कन्ट्रोल समूहका मानिसहरूबीच संक्रमण दरको तुलना हुन्छ। दुई समूहबीच संक्रमित हुने दर उल्लेख्य रुपमा भिन्न भएन भने भ्याक्सिन असफल हुन्छ। अमेरिकाका फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनका अनुसार कम्तीमा ५० प्रतिशत स्वयंसेवीहरूलाई संक्रमणबाट बचायो भने मात्रै कुनै कोभिड भ्याक्सिनलाई सफल मान्न सकिन्छ।
स्वयंसेवीहरू समुदायमा फर्केपछि संक्रमण समुदायमा पुगेन वा रहेन भने भ्याक्सिनको प्रभावकारिताको परीक्षण नै हुन सक्दैन। त्यसैले चीनले विकास गर्दै गरेका दुई भ्याक्सिनहरू अहिले संयुक्त राज्य इमिरेट्समा फेज थ्री क्लिनिकल ट्रायलमा छन्।
अक्सर यो चरणमा वर्षौं समय बित्छ र अधिकांश भ्याक्सिन यही चरणमा असफल हुन्छन्। यो चरणमा जति धैर्यपूर्वक धेरै मानिसमा अध्ययन गर्यो, उति नै असामान्य जटिलताहरू पत्ता लाग्ने सम्भावना हुन्छ।
यी सबै चरणमा अध्येताहरूले निकालेका परिणाम अरू अध्येताहरूले 'पियर रिभ्यु'मार्फत् केलाउँछन्। सबै चरण सकिएपछि पत्ता लागेका सबै तथ्य र तयार भएका आकडाको बृहत् विश्लेषण हुन्छ। हरेक पाइलामा अब्बल ठहरिए मात्रै कुनै भ्याक्सिनको उम्मेदवार दर्ता वा स्वीकृतिका लागि सम्बन्धित निकायमा पुग्छ। ती निकायले फेरि स्वतन्त्र रूपमा नतिजाहरूको परीक्षण गर्छन्। अनि सबै ठिकठाक भए मात्रै भ्याक्सिन स्वीकृत हुन्छ।
...
बनेका भ्याक्सिनहरू साँच्चिकै प्रभावकारी र सुरक्षित होउन् भनेर वैज्ञानिकहरूले विकास गरेको प्रक्रिया लत्याएर स्पुतनिक-५ बनाएपछि त्यसबारे मानिसलाई ढुक्क बनाउन रूसी सञ्चारमाध्यमहरूले भनेः राष्ट्रपति पुटिनकी छोरीले समेत यो भ्याक्सिन लगाइन् र उनी ठिकठाक छिन्।
तर पुटिन वा जोसुकैकी छोरी भए पनि यस्ता अध्ययनमा व्यक्तिका रूपमा उनको गणना एक भनेरै हुने गर्छ। अध्ययनमा उनको सहभागिताले (यदि साँचो हो भने) बीसौं हजारमा हुनुपर्ने अध्ययनको क्षतिपूर्ति हुन सक्दैन।
यो कुरा बुझ्न त्यति गाह्रो छैन तर रूसले भ्याक्सिन बनाएको सन्देहास्पद समाचारले जति मानिसलाई आशावादी बनाएको छ, त्यो हेर्दा लाग्छ जीवन–मरणसँग जोडिएका वैज्ञानिक विषयमा मानिसलाई सुसूचित गर्न वैज्ञानिक र चिकित्सक समुदायले धेरै काम गर्न बाँकी छ।
र झनै महत्वपूर्ण कुरा, अहिले त रूसले बनाएको भ्याक्सिन कस्तो होला भन्ने हाम्रा लागि बौद्धिक विमर्शको विषय मात्रै छ। भोलि जब धेरै देशले धेरै खाले भ्याक्सिन सफल भएको दाबी गर्नेछन्, नेपाल कुन देशको कुन भ्याक्सिन लिने भन्ने दोधारमा हुनेछ।
कोभिडका लागि स्वास्थ्य सामग्री खरिदमा जसरी अनियमितता भयो, त्यो हेर्दा भ्याक्सिन खरिदमा पनि हाम्रो स्वास्थ्यभन्दा नेताहरूले अरू नै कुरालाई प्राथमिकतामा राख्ने सम्भावना जीवितै छ।
कसले कस्तो भ्याक्सिन विकास गरेको दाबी गर्छ भनेर उत्साहित हुनु सजिलो छ। तर भोलि हाम्रासामु हुने भ्याक्सिनका अनेक विकल्पमध्ये पारदर्शी र सही विकल्प छान्न राज्यलाई बाध्य पार्नु सजिलो हुने छैन। त्यसो गर्नुको विकल्प पनि छैनः सत्तामा हुनेहरूको लगाव, झुकाव वा विवशताका कारण फिलिपिन्सका दुतेर्तेले झैं कुनै विकल्पमा हाम फाल्दा भ्याक्सिनले हामीलाई कोरोनाबाट बचाउनुको सट्टा अर्को स्वास्थ्य संकटमा धकेल्न सक्नेछ।