इस्तानबुल एयरपोर्टमा अड्किँदा- १
म टर्की भन्ने देशको चिहानघारीमा पुर्याइएको थिएँ।
नर्वेको ओस्लो एयरपोर्टबाट मलाई बिदा गर्नुअघि साथी (गणेश श्रेष्ठ) ले यत्ति बोलेका थिए, 'पुगेर खबर गर ल!'
'पुगेर खबर गर्नू' भन्नु अति सामान्य कुरा हो। तर पुगेर खबर गर्नू जति असामान्य काम अरू केही हुँदो रहेनछ। किनकी, यसका लागि पहिले त 'पुग्नु' पर्यो। पुगेर मात्रै भएन, त्यहाँ पुग्नु पर्यो 'जहाँ' पुगेर खबर गर्नू भनेर पठाउनेले भनेको हो। अनि त्यहाँ पुगेर मात्रै पनि भएन। यसरी पुग्नुपर्यो, त्यहाँ पुगेर आफू पुगेको 'खबर गर्न' सकियोस्।
म चिहानघारी पुगेको थिएँ। चिहानघारीबाट मैले साथीलाई कहाँ पुगेँ भनेर खबर गरौं?
म नर्वेबाट टर्की उडेको थिइनँ। माल्टा उडेको थिएँ। टर्की ट्रान्जिट बनेर आयो। टर्की बीचमा आयो।
दुःख दिनेहरू जहिल्यै बीचमै आउने रहेछन्।
नर्वेबाट प्लेन उड्नेबित्तिकै एउटा चिनियाँले 'अन्तर्राष्ट्रिय लोधर' लगाइदियो। नेपालीलाई चिनियाँले नर्वेको आकाशमा लोधर लगायो। त्यो चिनियाँ नचिनेको नेपालीको सिटमा टाँसियो। मेरो मोबाइल फोन नियालेर हेर्यो। ङिच्च हाँस्यो। मोबाइल देखायो र सोध्यो, 'वान प्लस हो?'
मैले 'हो' भन्दिऊँ भन्ने लोभको र्याल उसको आँखाबाट चुहिन लागेको देखेँ।
उसले थाहा नपाएजस्तो अभिनय गरेर सोधेको थियो। मलाई उसको अभिनय त मन परेन तर उसले अभिनय गरेको मन पर्यो।
मैले उसलाई मनमनै भनेँ, 'चिनियाँ दाइ, बादलमाथिको आकाशमा तिमीले गरेको यो अभिनय सम्हालेर राख। तल माटोको दुनियाँमा अभिनय खुब काम लाग्छ।'
आकाशमा उसले थाहा नपाएजस्तो अभिनय गरेको थियो। मैले उसको त्यो अभिनय थाहा नपाएजस्तो अभिनय गरेँ।
जमिनमा मैले 'थाहा नभएको' अभिनय गरिरहनुपर्छ। थाहा नभएको त के कुरा, कतिचोटि म 'नभएको' अभिनय गरिरहनुपर्छ।
अभिनय गर्दै मैले चिनियाँलाई भनेँ, 'हो, वान प्लस नै हो।'
चिनियाँले बाँसको पात खाएर मुसुक्क हाँसेको पाण्डाजसरी मुसुमुसु हाँस्दै भन्यो, 'यो हामीले बनाको हो।'
उसले यसरी भन्यो मानौं, उसकै ज्वाइँ-जेठान-बुहारी-साढुभाइ मिलेर उसैको घरमा झिँगेमाछा खाँदै त्यो फोन बनाएका हुन्।
यतिसम्म त ठिकै थियो। तर उसको आत्मविश्वास यति बढेछ, उसले मेरो सिट अगाडिको भिडिओ स्क्रिन हेर्यो। त्यसको भाग्य बलियो रहेछ, म चिनियाँ फिल्म नै हेर्दै थिएँ। ऊ फेरि ङिच्च हाँस्यो। मैले हेरिरहेको फिल्मतिर देखायो। अनि मुसुमुसु हाँस्दै भन्यो, 'यो हामीले बनाको हो।'
चिनियाँहरू यसरी हेप्दा रहेछन् कि हेपिनेलाई हेपिएको लाग्ने तर हेप्नेले हेपैकै छैन भन्न नि पाउने! सायद हेप्ने उत्तम तरिका त्यही हो। यो तरिका भारतीय सरकारले थाहा नपाओस्!
म चाहिँ किन टेर्थेँ र? यो चीन हो र? यो त आकाश हो। साँच्चै, आकाशमा सबभन्दा शक्तिशाली को हुन्छ?
त्यो चिनियाँको कुरा काट्न मलाई धारिलो हतियार चाहिएको थियो। फ्याट्टै दिमागमा आए दुई हतियारः
एक- बुद्ध।
दुई- सगरमाथा।
अब म उसलाई भन्न सक्थेँ, 'संसारमा सबभन्दा धेरै बुद्ध धर्म मान्ने मान्छे कहाँ छन्?'
उसले फूर्ति लगाउँदै भन्ने थियो- चीनमा।
अनि 'थ्री-इडियट्स' फिल्मको प्रख्यात दृश्यमा मेसिनको परिभाषा खरर भनेर दंग परेको चतुर रामलिङ्गम् जसरी म उसलाई भन्न सक्थेँ, 'तर बुद्ध धर्म नै जन्माउने बुद्ध चाहिँ कहाँ जन्मेका हुन्?'
ऊ ट्वाँ पर्ने थियो।
वा म उसलाई सोध्न सक्थेँ, 'सगरमाथाको फेदको कत्ति भाग चीनमा छ। तर त्यसको शिर कहाँ छ?'
ऊ अक्मकिएका बेला ऊ भुक्लुक्कै ढल्ने गरी म भन्न सक्थेँ- नेपालमा।
तर मैले सोच्दासोच्दै यी दुवै धारिला कुरा एक्कासि भुत्ते भए। मैले सोच्दासोच्दै उसले बोलेको एउटा शब्दले मेरो जिउ रेट्यो। उसले भनेको थियो- हामीले 'बनाको' हो।
मैले आफैंलाई सोधेँ- बुद्धलाई हामीले बुद्ध बनाएको हो र?
अनि आफैंले आफैंलाई उत्तर दिएँ, 'होइन। जुन सिद्धार्थको चेतनाले बुद्धत्व प्राप्त गर्यो, त्यो सिद्धार्थको जिउ जन्मेको ठाउँ अहिलेको नेपाल भन्ने देशमा पर्छ। सिद्धार्थलाई बुद्ध कुनै नेपालीले बनाएको होइन। सिद्धार्थलाई बुद्ध कसैले पनि बनाएको होइन।'
आफैं ङ्यास्स परेँ।
फेरि आफैंलाई सोधेँ- सगरमाथा नेपालमा हामीले ठड्याएको हो?
आफैंले उत्तर दिएँ, 'होइन। हिउँको लुगा लगाएको चट्टानको एउटा ठूलो जिउ आकाश छुन निस्कियो। र आकाशको सबभन्दा नजिक पुग्यो। त्यो अहिले नेपालमा पर्छ। सगरमाथा कुनै नेपालीले त्यति अग्लो बनाएको होइन। सगरमाथालाई कसैले त्यति अग्लो बनाएको होइन।'
अनि आफैं भुक्लुक्कै भएँ।
म थ्री-इडियट्समा रिजल्ट आएर दोस्रो भएपछि, फोटाको कुनामा खस्रक्क परेको चतुर रामलिङ्गम् भएँ।
अब म त्यो चिनियाँलाई के गफ दिम्? नेपाली फिल्मको गफ दिऊँ भने खै किन हो नेपाली फिल्महरू प्लेनको टिभीमा कहीँ पाइन्नन्। त्यति धेरै नेपाली बोक्ने प्लेनले नेपाली फिल्म किन नबोकेका होलान्? नेपाली फिल्मले नेपाल नबोकेर पो हो कि!
म हारेर पछि हटिसकेको थिएँ। तब एक्कासि भूतपूर्व राष्ट्रगानपछि हामीले स्कुलमा गाउने गीत मनमा बज्यो- हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ…
भूतपूर्व राष्ट्रगानसँग जोडिएको गीत पनि भूतपूर्व प्रेमिकाजस्तै जोडिँदो रहेछ- आफ्नो नाममा छैन तर हुनुको अर्थ छ।
मैले चिनियाँको सिटअघिको टिभी हेरेँ। उसले बाघ भएको फिल्म हेर्दै गरेको देखेँ।
मैले चिनियाँको टिभीतिर देखाएँ र भनेँ, 'संसारका १३ देशमा बाघ छन्। ती देशले सन् २०२२ सम्ममा आफ्नो देशमा भएका बाघको संख्या दोब्बर बनाउने बाचा २०१० मा गरेका थिए। थाहा छ?'
चिनियाँ अल्मलियो। भन्यो, 'छैन। तर दोब्बर बाघ? त्यति चाँडो कसरी दोब्बर बनाउनू?'
मैले भनेँ, 'अरूले कहिले दोब्बर बनाउने हुन्, त्यसको टुंगो छैन। तर २०२२ को त के कुरा, २०१८ मै एउटा देशका मान्छेले दोब्बर बनाइसके।'
चिनियाँले पत्याएन। भोकाएको पाण्डाजसरी उसले भन्यो, 'होइन होला। त्यति चाँडो दोब्बर कसले बनायो?'
अघाएको गैंडाजसरी मुसुमुसु हाँस्दै मैले भनेँ, 'हामीले बनाएको हो।'
त्यति सुनेर उसले आफ्नो दिमागमा ग्यास्ट्रिक भएजस्तो गर्यो। एक्कासि कुरा मोड्यो। भन्यो, 'तिमी के काम गर्छौ?'
पानी पिउन जाँदा बाघले आफ्नो जिउभरी बुट्टैबुट्टा भएको देख्यो र मख्ख पर्यो। त्यही बाघजसरी मख्ख परेर मैले भनेँ, 'कविता लेख्छु।'
चिनियाँले भाउ नदिएजस्तो गरेर सोध्यो, 'युरोप चाहिँ किन आएको?'
पानीले तिर्खा मेटिएर शितल भएको मैले भनेँ, 'कविता सुनाउन।'
उसले अनौठो मानेझैं गरी सोध्यो, 'कुन देश?'
जिब्रो ओठभरी घुमाएर मैले भनेँ, 'आठ-दस वटा छन्। नर्वेको कार्यक्रम सकेर माल्टा हिँडेको।'
उसले निधार खुम्च्याएर भन्यो, 'कविता सुनाएर तिमीले पैसा पनि पाउँछौ?'
निधार तन्काएर मैले भनेँ, 'अँ, पाउँछु।'
उसले एकछिन सोचेजसो गरेर एउटा पिनाजस्तो सुख्खा प्रश्न सोध्यो, 'उनीहरूलाई कविता सुनेर के फाइदा हुन्छ?'
उसको यो प्रश्नले मेरो दिमागमा ग्यास्ट्रिक भएजस्तो भयो।
साँच्चै कविता सुनेर उनीहरूलाई के फाइदा हुन्छ?
कविता सुनेर कसैलाई के फाइदा हुन्छ?
अथवा कविता नसुनेर के घाटा हुन्छ?
गीत सुनेर के फाइदा हुन्छ? नाटक वा फिल्म हेरेर के फाइदा हुन्छ? नाचेको हेर्दा के फाइदा हुन्छ?
मलाई उसको प्रश्नको उत्तर नआएको होइन। तर मेरो मनमा जे उत्तर आयो त्यो एकदम लामो थियो। एकदमै लामो। म छोटोमा कसरी भनौं भनेर सोचिरहेको थिएँ। उत्तर दिन ढिला भएको मात्रै थियो, ऊ त मसँग उत्तर नै छैन भन्ने सोचेर झ्यालतिर फर्कियो। उसको त्यो सुख्खा अनुहारले मलाई खुब पोल्यो। मैले एकैछिन उत्तर दिन ढिला गरेको मात्रै त थिएँ। त्यति रुखो गरी झ्यालतिर अनुहार फर्काउनुपर्छ र?
यसरी उत्तर दिन ढिला गरेका कति मान्छेलाई ऊसँग उत्तर नै छैन भनेर छाडियो होला है?
फर्किन ढिला गरेका कति मान्छेलाई ऊ आउँदै आउँदैन भनेर छाडियो होला!
भेटिन ढिला भएका कति मान्छेलाई ऊ छँदै छैन भनियो होला!
मैले चिनियाँलाई कोट्याएँ। उसको झ्यालतिर हेरेँ र मेरो हृदयको ढोकाबाट भनेँ, 'म तिम्रो झ्यालको सिटमा बस्छु नि, तिमी यता मेरो सिटमा बस न ल?'
उसले फेरि पिनाजस्तो सुख्खा गरी भन्यो, 'नाइँ, हुन्न।'
तेलजस्तो नरम र चिल्लो बोलीमा मैले सोधेँ, 'किन र?'
उसले पनि तेलजस्तै चिल्लो उत्तर दियो, 'मलाई झ्याल मन पर्छ। झ्यालबाट तल बादल हेर्न मन पर्छ।'
अनि मैले अन्तिमपटक पिनिएको पिनाजस्तो सुख्खा भई सोधेँ, 'तिमीलाई बादल हेरेर के फाइदा हुन्छ?'
चिनियाँको मनमा उत्तर त आयो होला तर एकदमै लामो उत्तर आयो होला। ऊ छोटोमा कसरी भनौं भनेर सोचिरहेको थियो होला। उसले उत्तर दिन ढिला गरेको थियो। तर मैले ऊसँग उत्तर नै छैन भन्ने सोचिनँ।
मलाई थाहा छ- ढिलो हुनेले, हुँदै नहुनेले जति सजाय पाउनु हुन्न।
ट्रान्जिट अति नै छोटो थियो। टर्कीको इस्तानबुल एयरपोर्ट ओर्लिएर माल्टा जाने प्लेन समात्न हामी दुवैलाई निकै ढिलो भइसकेको थियो। प्लेन छिर्ने काउन्टरमा पुगेका हामी अन्तिम दुई थियौं।
उसले बोर्डिङ पास र पासपोर्ट देखायो। भित्र छिर्यो। मेरो बोर्डिङ पास र पासपोर्टलाई काउन्टरको कर्मचारीले अनौठो मानेर हेर्न थाल्यो। प्लेनभित्र छिर्ने त्यो अन्तिम कल थियो। म काउन्टरमा अड्किएँ तर त्यो चिनियाँ मलाई पर्खिँदा पनि नपर्खी सुरूसुरू अगाडि गयो। पछाडि फर्किँदा पनि नफर्की खुरूखुरू अगाडि गयो।
उसले सोच्यो होला- पछाडि फर्केर मलाई के फाइदा हुन्छ?
म प्रार्थना गर्छु, त्यस्तो दिन नआओस् तर कुनै दिन उसको जीवनमा यस्तो समय आउन सक्छ जहाँ उसले एउटै कुरा मात्रै चाहोस्–पछाडि फर्किन।
अनि एउटै कुरा मात्रै गर्न नसकोस्– पछाडि फर्किन।
जिन्दगीमा मिलेका बेला पछाडि फर्किएन भने जिन्दगीले पछाडि फर्किनै नमिल्ने बनाइदिन्छ।
ऊ यस्तरी मलाई छाडेर गयो मानौं, अघि प्लेनभरी म उसको छेउमा छँदै थिइनँ। म छक्क परेँ। अरू केही नभए पनि हाम्रो एकअर्कासँग निउँ खोजेको सम्बन्ध छ। प्रश्न सोधेको सम्बन्ध छ। उत्तर खोजेको सम्बन्ध छ। अझ, एउटै उत्तर खोजेको सम्बन्ध छ।
एउटै कुरा खोजिरहेकाहरू सकेसम्म सँगै हुनुपर्ने होइन र?
प्लेनको कर्मचारीले मलाई र मेरो पासपोर्टलाई केही छुट्याउन खोजेझैं हेर्यो। बिरालोले दुलोबाट निस्किन लागेको जन्तु सर्प हो कि मुसो हो भनेर नियालेर हेर्यो।
कर्मचारीले मलाई भन्यो, 'तपाईं यो प्लेनमा जान सक्नुहुन्न। तपाईंलाइ यसरी हिँड्न अलिकति पनि डर लागेन?'
मलाई यसरी हिँड्न त अलिकति पनि डर लागेको थिएन तर उसको प्रश्न सुनेर अलिअलि डर लाग्यो। मैले बुझिनँ। दुलोबाट बाहिर निस्किन लागेको मुसाले अलि पर उभिएको त्यो कालो जन्तु बिरालो हो कि होइन भनी नियालेर हेर्यो। मैले नियालेर कर्मचारीलाई हेरेँ।
उसले अलि हेपेजसरी भन्यो, 'भिसाको म्याद सक्किएको पासपोर्ट बोकेर हिँड्न डर लाग्दैन?'
अब चाहिँ मलाई रिस उठ्यो। पानी पिएर बाघको तिर्खा मेटिएको थियो। तर भोक बाँकी थियो। बाघले खोलापारि देखेको जरायोलाई भोको आँखाले खोलावारिबाट हेर्यो। मैले त्यो कर्मचारीलाई हेरेँ। अनि आफ्नो पासपोर्ट फिर्ता मागेँ।
एकचोटि झम्टिँदै भेट्छुजस्तै गरेर मैले कर्मचारीलाई भनेँ, 'तपाईंलाई हेर्न आएजस्तो लागेन। म सघाऊँ?'
कर्मचारीले पासपोर्ट हातमा थमाइदिएर भन्यो, 'लु लु।'
मैले स्कुलको शिक्षकजसरी सोधेँ, 'आज कति तारिख?'
तीक्ष्ण विद्यार्थी जसरी उसले भन्यो, '२७ फेब्रुअरी।'
मैले पासपोर्टमा भिसा लागेको पेज देखाएँ र भनेँ, 'यहाँ हेर्नुस्। मेरो भिसा १४ मार्चसम्म छ। मसँग किन जिस्किनुभएको?'
कर्मचारी मसँग झन् रिसायो। बिना गल्ती शिक्षकको कुटाइ खाइसकेपछि शिक्षकको गल्ती भेट्टाएको विद्यार्थीले जसरी उसले भन्यो, 'तपाईंलाई हेर्न आएजस्तो लागेन। म सघाऊँ?'
म बोलिनँ। उसले मेरो हातबाट पासपोर्ट लियो। भिसा लागेबाट दायाँपट्टिको पाना मलाई देखायो र भन्यो, 'तपाईंको भिसाको म्याद १४ मार्चसम्म त हो। तर तपाईं सुरूमा नेपालबाट फिनल्यान्ड छिर्नुभएको हो?'
मैले आज्ञाकारी विद्यार्थी जसरी भनेँ, 'अँ, हो।'
उसले तुरून्तै सोध्यो, 'आज तपाईं नर्वेबाट बाहिर निस्केको हो नि, होइन?'
मैले शब्दभन्दा छिटो टाउको हल्लाएर भनेँ, 'हो।'
उसले र्याखर्याख्ती पार्दै सोध्यो, 'तपाईंको भिसा स्यान्जेन भिसा (युरोपका २७ देश जहाँ तीमध्ये कुनै पनि देशको भिसा भए बाँकी सबै देशमा जान मिल्ने भिसा) हो?'
मैले शब्दभन्दा चाँडो आँखा झिम्काएर भनेँ, 'हो।'
अनि चाहिँ उसले एक्कासि नदीको पानी हल्लिएर छाया बिग्रिने गरी भन्यो, 'अब यहाँ हेर्नुस्। तपाईंको यो भिसा सिंगल इन्ट्री भिसा (एकचोटि स्यान्जेनभित्र पसेपछि एकचोटि मात्रै स्यान्जेन बाहिर निस्कन मिल्ने) हो। तर तपाईं त स्यान्जेन देश (नर्वे) बाट नन् स्यान्जेन देश (टर्की) मा आउनुभयो। फिनल्यान्डले तपाईं स्यान्जेन छिरेको छाप लगाइदिएको छ। इ यहाँ। र नर्वेले तपाईं स्यान्जेन निस्केको छाप लगाइदिएको छ। तपाईंको भिसाको म्याद छ तर यो छापका कारण भिसा चाहिँ अमान्य भइसकेको छ।'
नदीको पानी यस्तरी हल्लियो कि त्यो कम्पनले मेरो जिउमा भएका टाटापाटा बाघका छापहरू बुरुरुरु झरे। म पारिपट्टी पुगेँ। म जरायो भएँ। अब कता भाग्ने भएर हडबडाएको जरायो जसरी मैले भनेँ, 'अनि म त यहाँ आएकै होइन। यो त मेरो ट्रान्जिट मात्रै हो। म त माल्टा हिँडेको। माल्टा त स्यान्जेन देश नै हो।'
अब झम्टिन्छु अनि एक्कैपटकमा घाँटी पकड्छु भन्ने विश्वास बाघमा पलायो।
कर्मचारीले भन्यो, 'हो। ठीक कुरा। तर त्यसो हो भने तपाईंले अर्को कुनै स्यान्जेन देश नै ट्रान्जिट बनाउनु पर्थ्यो। त्यसो भएको भए तपाईंको भिसामा तपाईं स्यान्जेनबाट निस्केको छाप हुन्न थियो। टिकट गलत तरिकाले लिनुभयो।'
नडराएको अभिनय गर्दै मैले भनेँ, 'टिकट त मैले लिएको होइन नि त। मेरो कार्यक्रमको आयोजकले लिएको हो। अनि बिचरा उनीहरूलाई पनि थाहा छैन कि ट्रान्जिटलाई पनि एउटा देश गनिन्छ र मेरो भिसा काम नलाग्ने हुन्छ।'
मैले अभिनय गरेको थाहा नपाएको अभिनय गर्दै उसले भन्यो, 'त्यो तपाईंको समस्या हो।'
झल्याँस्स याद आयो। मेरो मुख्य ब्याग त फिनल्यान्डमै छ। पैसा त्यसमै छ। त्यो ब्याग उतैबाट आयोजकले पोर्चुगल पठाउने कुरा थियो। म केही दिनमा माल्टा पुगेर पोर्चुगल पुग्दै थिएँ। तर अब त कहीँ पनि पुगिरहेको छुइनँ। आफ्नो गोजी छामेँ। पैसाको नाममा जम्मा २० युरो रहेछ।
फेरि सम्झेँ, नर्वेबाट उड्नुअघि फिनल्यान्डबाट मुख्य आयोजक (सुवास रिजाल) ले जिस्किँदै एउटा म्यासेज पठाएका थिए- गुरु, माल्टामा १२ जना भाइहरू माला लिएर एयरपोर्ट जाने तयारी गरिरहेका रहेछन्। गुरुको सानो घाँटीले त्यति माला थाम्छ कि थाम्दैन!
यो सम्झेर मेरो घाँटी सुक्यो। मैले सोचेँ, घाँटीले माला थाम्नु त परको कुरा, टर्कीको यो एयरपोर्टमा भिसाको म्याद सकिएको पासपोर्ट र २० युरोले मलाई कति घन्टा थाम्ला?
भिसा अमान्य हुने गरी मेरो पासपोर्टमा हानिएको त्यो कालो छाप फेरि हेरेँ। मुसाले थाहा पायो कि दुलो बाहिरको त्यो कालो जन्तु बिरालो नै थियो।
जाबो एउटा कागजमा लागेको गलत छापले एउटा मान्छेलाई हिँडेको ठाउँमा पुग्न अयोग्य बनायो।
म चढ्ने प्लेन उढ्ने बेला भइसकेको थियो तर प्लेन अझै भुइँमै थियो। म भुइँमा थिएँ। भुइँमा हुनेलाई भुइँमा हुन्जेल उडिजानेको पनि आश लाग्दो रहेछ।
मैले सारा लाज, डर, बुद्धिलाई भुइँमा झारेँ। लत्रक्क पर्दै त्यो कर्मचारीलाई बिन्ती गरेँ, 'सुन्नु न, मलाई यो प्लेनमा जान दिनुस् न। माल्टा एयरपोर्टमा आयोजकहरू पर्खिरहनुभएको छ। मसँग पैसा पनि छैन। मसँग तपाईंको प्लेनको टिकट, बोर्डिङ पास दुइटै छ। म माल्टा गएर कुरा गर्छु के। माल्टापछि पोर्चुगलमा, जर्मनीमा कता कता मेरो कार्यक्रम छ…।'
बाघ एकै उफ्राइमा खोलापारि पुग्यो। जरायोको घाँटीमा ख्याप्प टोक्नुअघि बाघले दया नराखी जरायोलाई हेर्यो। कर्मचारीले मलाई हेर्यो र भन्यो, 'यो प्लेनको ढोका बन्द भइसक्यो। कुरा बुझ्नुस्। मैले भिसा नभएको मान्छेलाई प्लेनमा चढ्न दिनै मिल्दैन। दिइहालेँ भने पनि तपाईंलाईं माल्टा ओर्लिने बित्तिकै पुलिसले समातेर इलिगल हिँडेकोमा जेल हाल्छ। जेल जानुहुन्छ?'
'जेल' शब्द सुनेर मेरो जुत्ताभित्र औंलाहरूमा चोप दलिएजस्तो च्यापच्याप हुन थाल्यो। मलाई कसैले मेरो नाइटोमा काँटीको टुप्पो राखेर माथिबाट ढुंगाले हानेजस्तो भयो।
कर्मचारीले मेरो हातमा मेरो पासपोर्ट फिर्ता दियो। बिरालोले त्यो दुलोबाट निस्कनै लागेको जन्तु मुसा नै हो भन्ने थाहा पायो। झम्टियो।
कर्मचारीले भन्यो, 'सर, माल्टाको त कुरै छोड्नुस्, यो एयरपोर्टभित्रको यो टर्मिनलबाहेक अब तपाईं जहाँ गए पनि इलिगल हो।'
यो लेखको दोस्रो भागः मलाई जिउँदै चिहानमा जानु थिएन
यो लेखको अन्तिम भागः चिहानबाट बाँचेर फर्किँदा