विदेशमा रहेको दाजुमा कोरोना पोजेटिभ देखियो। गर्दागर्दैको काम, पाउँदा-पाउँदैको तलब नेगेटिभ भयो। दाजु डरायो। तर आफूलाई कोरोना लागेको कुरा नेपालमा भाउजूलाई सुनाएन।
जो मान्छे माया गर्न जान्दछ, उसले आफूले माया गर्ने मान्छेलाई कुन दुःख देखाउने, कुन दुःख लुकाउने भन्ने राम्ररी जान्दछ।
दाजु जान्दथ्यो, उसको कोरोना केही हप्तामा ठीक हुन्छ। तर उसले आफ्नो रोग भाउजूलाई सुनाउने हो भने, भाउजूको मनमा लाग्ने रोग चाहिँ ऊ आफैं फर्केर नेपाल नआउन्जेल ठीक हुने छैन। अनि ऊ अहिल्यै नेपाल फर्किहाल्न मिल्दैन। अहिले कमाउन छाडेर फर्केर आयो भने ऊ एक जनालाई कोरोना मात्रै लागेको छ, बाँकी परिवारलाई कोरोनाबाहेक सबै रोग लाग्नेछ।
रहर लागेका बेला घर छाड्नेले मात्रै रहर लागेका बेला घर फर्किन पाउँछन्।
विदेशमा दाजुलाई आइसोलेसनमा राखियो।
आफू घरबाट टाढा हुनु, साथमा पैसा नहुनु, बिरामी हुनु, एक्लै हुनु। यी चारैवटा कुरा एउटै मान्छेलाई एकैपटक हुनु भनेको त्यो मान्छे नर्कमा हुनु हो।
दाजु नर्कमा थियो।
दस वर्षअगाडि यस्तै रोग लागेको भए दाजु 'डिप्रेस्ड' हुन्थ्यो। न उसले कसैलाई भन्न सक्थ्यो न कसैले बुझ्न सक्थे।
काम लगाउनेले सोच्ने थियो- 'मेरो कामदार काममा एकोहोरिएको छ। क्या डेगिलो छ। अनुशासित छ।'
दस वर्षअघि भएको भए, मुसाले कुटुकुटु कागज खाएजसरी डरले दाजुलाई कुटुकुटु खाएर सक्काइदिन्थ्यो। त्यतिखेर त बिरामी परेर विदेशबाट घरमा फोन गर्नुपर्दा सेकेन्ड गन्दै फोन गर्नुपर्थ्यो। ५८ वा ५९ सेकेन्ड पुग्नेबित्तिकै झ्याप्प फोन काट्नुपर्थ्यो। आधा ध्यान फोनको सेकेन्डमा हुन्थ्यो, आधा ध्यान कुरामा।
आधा-आधामा बाँडिएको मान्छेले पूरा कुरा सुनाउन सक्दैन।
दाजुले ३ मिनेट फोन गरे भने बोल्न लाइनमा उभिएका आमा, बा, श्रीमती, भाइ, बहिनीको भागमा त्यही २०/३० सेकेन्ड हुन्थ्यो। ३० सेकेन्डमा भन्नेले के भन्नु? सुन्नेले के सुन्नु? एकअर्काको बोली सुनेर जिउँदै रहेछन् भन्ने थाहा पाउनु पर्थ्यो। खबर भनेकै जिउँदो भएको हुन्थ्यो।
यता अहिले भाउजू दर्के पानीमा घुम ओढेर खेत रोपिरहेकी छन्। हिजोआज प्रायः रोपाहार प्लास्टिकको पातलो रेनकोट लगाएर धान रोप्छन्। दाजुले आफूसँग हुन्जेल पैसा पठाइदिइरहन्थ्यो तर पनि भाउजूले रेनकोट किनिनन्। घुमै ओढेर धान रोप्छिन्।
त्यो घुम पातहरू बुनेर बनाइएको छ। ती पात दाजु जानुअघि दाजुभाउजूले सँगै टिपेका थिए। घुम ओढिरहँदा भाउजूलाई दाजु ओढिरहेजस्तो लाग्छ। दाजुले छोएको कुराले आफूलाई छोएजस्तो लाग्छ।
आफूलाई प्रेम गर्ने मान्छेले छोएर दिएको कुरा के बहाना गरेर कसरी छुने? यो तरिका प्रेमीहरूले पेटमै हुँदा सिकेका हुन्छन्।
हिलोले भाउजूको पैताला खाएको छ। एक्लोपनले टाउको खाएको छ। घरखेतको कामले पूरै जिउ खाएको छ। दस वर्षपहिले भएको भए भाउजू 'डिप्रेस्ड' हुन्थिन्। न उनले कसैलाई भन्न सक्थिन् न कसैले बुझ्न सक्थे।
सबैले भन्ने थिए- 'फलानाकी बुहारी कति डेगिली। काम हुन्जेल काम गर्छे, सकिएपछि चुपचाप बस्छे। रत्तिभर पनि उत्ताउली छैन।'
दस वर्षअघि भएको भए धान रोपेर फत्रक्क गलेकी भाउजू घर फर्किन्थिन्। डेगिली भएर टोलाइरहन्थिन्। भाउजूको जिउलाई भित्रभित्रै खेतको हिलोलेभन्दा पीडाको पिलोले खान्थ्यो।
तर आज १२ बज्नेबित्तिकै भाउजू खेतमा केही सम्झेर मुसुक्क हाँस्छिन्। थकाइ त्यही हिलोको चिहानमा गाडेर घरतिर दौडिन्छिन्। हतारहतार खलक्क नुहाउँछिन्। दौडिँदै आफ्नो कोठाको ढोका लगाउँछिन्।
आफूसँग भएको राम्रो रङका लुगा लगाउँछिन्। लिपस्टिकको स्टिकलाई दाइको औंला सम्झेर ओठमा दल्छिन्। मोबाइल समात्छिन्। टिकटक खोल्छिन्।
अंकितबाबु अधिकारीको साथमा एलिना चौहानलाई पर्म लाउन बोलाउँछिन्। अनि आफ्नो अनुहारको हरेक मेलोमा दाजुको मायाका गाँजहरू रोप्दै सोध्छिन्:
'के माया लाग्छ र?'
त्यसपछि निशान भट्टराईले उत्तर दिनुअघि नै उनको मनमा दाजुको उत्तर घन्किसक्छ। त्यो उत्तर हर्क साउदले लेखेको 'उखुम्मै लाग्छ नि' भित्र अटाउँदैन।
दाजुलाई गीत लेख्न पो नआउने हो त, दाजुको जति माया त आजसम्म कुन कायर गीतकारले गर्यो होला र?
दाजुलाई कविता लेख्न पो नआउने हो त, दाजुको जति माया त आजसम्म कुन डरछेरुवा कविले गर्यो होला र?
दाजु कोरोनालाई बाल नदिई भाउजूको टिकटक आइडीमा आँखाको नीब चोबेर बसेको छ। बिरालोले मुसा पर्खिएजसरी भोकाएर भाउजूको नयाँ भिडियो पर्खिरहेको छ। भाउजूको टिकटक भिडियो बिना दलाल, बिना पासपोर्ट, बिना भिसा फ्याट्टै विदेश पुग्छ।
विदेशमा दाजुले 'प्ले' गर्छ। भाउजूको भिडियो यसरी हेर्छ, ऊभित्रको कोरोनाको डर बिरालो देखेर मुसाजसरी दुलो पस्छ।
त्यो टिकटक भिडियोले कोरोना निको पार्दैन। जागिर पक्का गर्दैन। पैसा कमाउन्न। तर त्यो भिडियोले दाजुको दुःख र डर पछाडि धकेलिदिन्छ।
मान्छेका डर सकिन्नन्। दुःख सकिन्नन्। त्यसैले मान्छेलाई बाँचुन्जेल केही यस्तो चाहिरहन्छ जसले दुःख र डर पछाडि धकेल्दिराखोस्। सकेसम्म यति पर धकेल्दियोस्, उमेर नै सक्कियोस्। उमेरै नभएपछि त यी दुःख र डरले लिन्ठिङ लिन्ठिङ कसलाई तर्साउँछन्?
भाउजूको टिकटक हेर्दाहेदै दाजु बिनाकारण खुसी हुन्छ।
खुसी हुने कारण थाहा किन हुनुपर्यो?
कारण थाहा पाएर आजसम्म को खुसी भएको छ र? बरु खुसी भएका कारणले धेरैले थाहा पाएका छन्- हामी सुखी हौं। सुखको कारण खोज्ने जागिर चाहिँ दुःखले खाओस्।
उता विदेशमा त्यही भिडियोमा निशान भट्टराईलाई पर्म लगाएर दाजुले भिडियो बनाउँछ। नेपालमा भाउजूले दाजुको टिकटक भिडियो यसरी हेर्छिन् कि थकान, एक्लोपन सबै हिलोमा डुबेर मर्छन्।
दाजुको टिकटक हेर्दाहेदै भाउजू बिनाकारण खुसी हुन्छिन्।
खुसी हुने कारण थाहा किन हुनुपर्यो?
कारण थाहा पाएर आजसम्म को खुसी भएको छ र? बरु खुसी भएका कारणले धेरैले थाहा पाएका छन्- हामी सुखी हौं। सुखको कारण खोज्ने जागिर चाहिँ दुःखले खाओस्।
फेसबुक र टिकटकमा दाजुभाउजू, भाइबहिनी, बुहारी, साथी सबैजना मख्ख परेको भिडियो हेरेर म मख्ख परिरहेको थिएँ। दंग परेको मलाई झसंग बनाउनेगरी कमेन्टहरू उफ्रिएर आए। ल्यापटपको स्क्रिन नै छोपिदिए।
ती कमेन्टले मलाई उनीहरूको उत्तर नदिई यो बाँकी लेख लेख्नै नदिने रे।
कमेन्टः टिकटकेहरूले के ठूलो काम गरे हँ?
मैले त्यो कमेन्टकै औंला समातेर टिकटकमा अन्वर सोती नाम खोज्न लगाएँ। उसलाई त्यो टिकटक भिडियो देखाएँ जसमा एक मजदुर अन्वर अनारलाई आकारअनुसार मिलाउँदै कार्टुनमा हालिरहेका छन्। अन्वरले ब्याकग्राउन्डमा कवि सकिल आज्मीको कविता बजाएका छन्। मैले र कमेन्टले त्यो कविता सँगै सुन्यौं:
कमाया जैसे उसी शानसे उडाया भी
कभी भी नोटपे हमने रबर नहीं बांधा
कमेन्टले कविता बुझेन। निधार खुम्च्यायो।
मः 'प्रिय कमेन्ट, तिमीले नबुझेको यो कविता यी मजदुरले यति मजाले बुझे, उनलाई यो कविता र उनले गरिरहेको मजदुरी एउटै लाग्यो। यो कविता उनेले लेखेका होइनन् तर उनी यो कविता भएका छन्। उनको यो १५ सेकेन्डको टिकटक भिडियो चौध लाखचोटि हेरिएको छ। कुनै मालिकका लागि उनी मजदुर होलान् तर उनी बाउन्न हजार फलोअर भएको टिकटकका मालिक हुन्।
सोच त, अनार बजारमा अहिले उनको शान क्या बेग्लै होला! तिमी नै हेर न, टिकटक बनाउँदा उनी क्या हिरो जसरी त्यो कार्टुनमा अनार भरिरहेछन्। उनलाई यो हिरोइज्म टिकटकले दिएको हो। उनलाई हिरो बनाउने काम कसरी सानो भयो?
नेताले दिनहुँ चुट्किला सुनाएर हाम्रो मन दुखाउनु कसरी ठूला काम भए? ठूल्ठूला टिभी-पत्रिकामा आउने भएर?
अनि एउटा साधारण मान्छेले रमाइलो चुट्किला बनाएर मन खुसी पार्नु कसरी सानो काम भयो? सामान्य मान्छेको सामान्य टिकटक अकाउन्टमा आउने भएर?
यहाँ हरेक मान्छे आफ्नो फिल्मको हिरो हो। आफैं निर्माता हो। आफैं निर्देशक। अहिलेलाई टिकटक उनीहरूको फिल्म देखाउने पर्दा हो। भोलि अर्कै देशमा बनेको अर्कै एप्लिकेसन होला, ठीक छ। टिकटकको पर्दामा आज सर्वसाधारणको सजिलो पहुँच छ। त्यो पर्दामा हरेकले आफ्नो मनको फिल्म निःशुल्क बनाएर निःशुल्क संसारलाई देखाउन सक्छन्। १५ वा ६० सेकेन्डमा।
उनीहरूको हातको क्यामरा नै उनीहरूको फिल्म खिच्न पर्याप्त छ। उनीहरूको हात जति घुम्छ त्यो नै ड्रोन हो। घरको कुपी वा ट्युबलाइट वा सूर्य नै उनीहरूको लाइट हो। बाख्राको खोर, गाउँटोलको बाटो, नजिकैको खोला, आफ्नो भान्सा, चटपटे वा पानीपुरी पसल नै उनीहरूको लोकेसन।'
म अरू पनि बोल्न लागेको थिएँ तर ६० सेकेन्ड सकिएकाले मेरो समय पनि सकियो।
अब म बाँकी लेख लेख्न खोज्दै थिएँ, अर्को कमेन्टले रोकिदियो।
कमेन्टः टिकटकले टाइम पासबाहेक के गरेको छ?
मः 'प्रिय कमेन्ट, पहिलो कुरो त तिमी आफैं पनि टिकटकलाई गाली गरेरै टाइम पास गरिरहेका रहेछौ। अरू पनि कति रहेछन् जो 'टिकटक चलाउनु समय बर्बाद गर्नु हो' भन्ने कुरा टिकटकै बनाएर भन्दा रहेछन्।
दोस्रो, टिकटकका प्रायः भिडियोमा प्रायः मान्छे आफू जे गर्दा खुसी हुन्छन्, त्यही खुसी देखाउँदा रहेछन्। अनि आफैंलाई हेर्दै खुसी हुँदा रहेछन्। अरू चाहिँ अरू खुसी भएको देखेर खुसी हुँदा रहेछन्। अनि आफूलाई खुसी बनाउने भिडियो बनाउँदा रहेछन्।
अनि केही भने अरू खुसी भएको देखेर दुखी हुँदा रहेछन्। अरूलाई खुसी देखेर दुखी हुने रोग कोरोनाभन्दा खतरनाक हो। यसका रोगीलाई जति नै बेसारपानीमा डुबाएर खड्कुलोमा उमाले पनि निको हुँदैनन्।
यसै पनि जीवन जिउने भनेकै अर्कालाई हानी नगरी आफूलाई मन परेको काम गरेर 'टाइम पास' गर्ने त हो। अरूबेला त जिन्दगीमा राम्रो टाइम पास खोज्नुपर्थ्यो। यो लकडाउनमा त राम्रो टाइम पासमा जिन्दगी खोज्नुपर्यो। परिरहेछ।
लकडाउनमा संसारभरिबाट मान्छेले जति समय टिकटकमा बिताए, त्यसबाट एउटा कुरा थाहा हुन्छ- सर्वसाधारण जनतालाई खुसी भएर टाइम पास गर्न संसारभरिका सरकारले जति योगदान गरे, त्योभन्दा बढी योगदान टिकटक एक्लैले गरेछ।'
मेरो केही सेकेन्ड बोल्न बाँकी नै थियो । मैले यसो यताउति हेरेँ। त्यो कमेन्ट अघि भागिसकेछ।
तर अर्को कमेन्टले मलाई ख्याप्पै समातिहाल्यो। यो हेर्दै अलि छुच्चो थियो।
कमेन्टः टिकटक चलाउनेहरू छाडा हुन्छन्। अथवा छाडाहरूले टिकटक चलाउँछन्।
मः 'ठीक हो, टिकटकमा छाडा वा नराम्रा कन्टेन्ट पनि छन्। त्यस्ता कन्टेन्ट राखेरै आफ्नो ध्यान तान्ने र फलोअर बढाउने मान्छेहरू पनि छन्। तर त्यस्ता त जहाँ पनि छन्।
हाम्रो नेपालमै सयौं सुपरहिट युट्युब च्यानल छन् जहाँ दर्शकका जिउमा काँडा उमार्नेगरी छाडा शीर्षक र कन्टेन्ट हुन्छन्। यसको अर्थ युट्युब चलाउनेहरू छाडा हुन्छन् अथवा छाडाहरूले युट्युब चलाउँछन् भन्ने होइन। युट्युबमा लाखौं ज्ञानवर्द्धक भिडियो पनि त छन्। त्यस्तै टिकटकमा पनि रमाइलोसँगै लाखौं ज्ञानवर्द्धक भिडियो पनि रहेछन्।
हाम्रै देशमा राष्ट्रकै खुब प्रख्यात पत्रकार पनि छन् जो राष्ट्रिय महिला कलाकारलाई अन्तर्वार्तामा बोलाउँछन् अनि सोध्छन्, 'छ नि, आजको दिनमा, कसैलाई दिनुभएको छैन यो जवानी? नचाएर कि नपाएर?'
अझ त्यो कार्यक्रम राष्ट्रिय टेलिभिजनमै प्रसारित हुन्छ। घरघरमा स-परिवार बसेर हेर्ने हो। टिकटकजस्तो एक्लै होइन।
प्रिय कमेन्ट, कुन कुरा कति छाडा भन्ने कति शक्तिशाली मान्छेले बोलेको हो, त्यसमा भर पर्दोरहेछ।
तिमीलाई संसद भवनमा कति मान्छे छाडा बोलिरहेजस्तो लाग्दैन?
सामान्यतया हामी त्यस्तै कुरा बढी खोज्छौं जस्ता हामी छौं। र त्यस्तै कुरा भेट्छौं। त्यस्तै मान्छे भेट्छौं।
बरू तिमी भन, तिमी टिकटकमा के खोज्छौ?'
कमेन्टले उत्तर दिएन। रिसाउँदै गयो। मलाई लाग्यो कति कमेन्टहरू अरूलाई सोधेर खुब मजा लिन्छन् तर त्यस्तै प्रश्न उसैलाई सोधे रिसाउँछन्।
साथी रिसाएको देखेर अर्को पुरुष कमेन्ट मसँग बदला लिन आयो।
कमेन्टः टिकटकले केटाहरूलाई ढुट्टो बिगार्यो। यहाँ हेर्दाहेर्दै केटाहरू केटीजस्ता हुन थालिसके।
मः 'तिमीलाई केटाहरूले टिकटकमा के गरेको देखेर केटीजस्तो भएको लाग्यो?
टिकटकमा केटाहरू नाचेको देखेर?
जिस्किएको देखेर?
आफूलाई राम्रो बनाएको देखेर?
स-सानो कुरामा खुसी भएको देखेर?
भन न। यस्तै देखेर हो?
के त्यसोभए पुरुष हुनु भनेको आफूलाई राम्रो नबनाउनु हो?
पुरूष हुनु भनेको स-साना कुरामा खुसी नहुनु हो?
टिकटकमा महिलाहरूको धेरै पोष्ट हेर्दा एउटा कुरा थाहा हुन्छ- जुन उमेरका भए पनि महिलाहरू अझै पनि बच्चाजसरी स-साना कुरामा हाँस्न, रुन, रमाउन चाहन्छन्। जान्दछन् पनि। आफूभित्रको बच्चा बचाएर राख्न सक्नु भनेको मान्छे भएर बाँच्नुको ठूलो कला हो। यो कला महिलाहरूले अझै मर्न दिएका छैनन्।
ओशो लगायत दार्शनिकहरू भन्छन्- यो संसारमा आजसम्म विश्वयुद्धहरू, युद्दहरू, हत्याहरू हुनुको मुख्य कारण पुरुषहरू खुलेर हाँस्न र रुन नजान्नु हो। उनीहरूभित्र दबिएको हाँसो र आँशु महिलाहरूको जसरी सजिलै बाहिर निस्किन पाउँदैन। र, त्यसले भयंकर हिंस्रक रूप लिन्छ।
हेर कमेन्ट, आफूलाई राम्रो देख्न वा राम्रो बनाउन नसक्नेले अरूले आफूलाई राम्रो देखेको वा बनाएको मन पराउँदैनन्।'
मेरो ६० सेकेन्ड सकिने बित्तिकै एक गम्भीर देखिने कमेन्ट आयो। ऊ मसँग नम्र र शिष्ट भाषामा बोल्यो।
कमेन्टः पहिलो कुरा, टिकटकले हरेक १५ सेकेन्डमै नयाँ चाखलाग्दो कुरा हेर्ने बानी बसाउँछ। यसले गर्दा मान्छेको एउटा कुरामा ध्यान दिएर बस्न सक्ने क्षमता (अटेन्सन स्प्यान) दिनदिनै घटाइरहेछ।
दोस्रो कुरा, चीनमा यस्तो एउटा यस्तो नियम छ जसअनुसार टिकटकले आफूसँग भएका सबै तथ्यांक चिनियाँ सरकारले मागेको खण्डमा बुझाउनुपर्नेछ। यसको अर्थ हो, तपाईं टिकटक प्रयोग गर्नुहुन्छ भने टिकटकले तपाईंबाट जे-जे तथ्यांक लिन्छ, त्यो सबै नियमअनुसार नै चिनियाँ सरकारसम्म सजिलै पुग्छ। यो त खतरा भयो नि!
मः 'कमेन्टजी। तपाईंको कुरा मनासिव लाग्यो। यही कुरा लिएर खतरा देखाउँदै अहिले भारतले टिकटक हटायो। तर तपाईंले देखिहाल्नुभयो, हटाएको केही दिनमै दर्जनौं भारतीय एप्लिकेसन बनाइए। तिनका प्रायः सबै गुण टिकटककै जस्ता छन्। र, अहिले नै लाखौंले प्रयोग गर्न थालिसकेका छन्। यसको अर्थ हो, टिकटक हटाए पनि टिकटकजस्ता माध्यम जनता प्रयोग गर्न चाहँदा रहेछन्।
यस्तो किन होला? तपाईं र म नै मिलेर सोचौं न।
सायद टिकटकजस्तो माध्यममा आफ्नो कुरा देखाउन धनी हुन पर्दैन। भन्न मन लागेका कुरा त गरिबका पनि हुन्छन् नि है?
यसका लागि महँगा साधन किनिरहनु पर्दैन। मोबाइल र मन भए पुग्छ।
भिडियो बनाउन र अपलोड गर्न केही झन्झट छैन। लामो कुरा भन्न नआउनेले पनि आफ्नो ठाउँ पाउँछ। थोरै भन्न सक्ने वा थोरैमा भन्न चाहनेको रहर पनि त रहरै हो नि होइन?
सायद सबभन्दा महत्वपूर्ण के होला भने यो सर्वसाधारणको अति सजिलो पहुँचमा छ। सबैलाई लाग्छ, यो मजस्तै सामान्य मान्छेको ठाउँ हो। यसमा आफ्नो मनको कुरा राख्न विज्ञ भइराख्नु पर्दैन। शक्तिमा भइरहनु पर्दैन। ठूलो मान्छे भइराख्नु पर्दैन। धेरै जाने-बुझेको हुनु पर्दैन। आफूले बाँच्न जानेको कुरा भन्न वा देखाउन जाने पुग्छ। जो शक्तिमा छैन, जो विज्ञ होइन, जो सेलेब्रेटी होइन, उसले पनि बाँचेको त हुन्छ नि होइन?
टिकटक चलाउनेलाई लाग्छ, यहाँ अरूहरू मैजस्ता छन्। अनि मैले गरेका सामान्य कुरा यहाँ 'स्वीकारिन्छ'। मैले गरेको सामान्य कुरालाई यहाँ 'सम्मान' मिल्छ।
कहीँ कतै त यस्तो ठाउँ होस् जहाँ ऊ जस्तो छ उसलाई त्यसैगरी स्वीकारियोस्। सम्मान गरियोस्। जीवनमा पनि मान्छे यही त चाहन्छ नि होइन?
खतरा साँच्चै छ भने नेपालले पनि टिकटकजस्तै स्वदेशी/नेपाली एप्लिकेसन बनाउला। साँच्चै, नेपालमै कसैले टिकटकको नेपाली रूप बनाए नाम पो के राख्लान्?
-ठीकठाक?'
त्यो भलादमी कमेन्ट बोलेन। उसले मेरो उत्तरबाट अझै चित्त बुझाएको छैन। ऊ अझै सोचिरहेछ। मेरो उत्तरले मेरै पनि चित्त पूरै बुझेको छैन। म पनि अझै सोचिरहेछु। तर अब म लेखेर सोचिरहेछु।
निर्देशक आशिफ शाहले टिकटकमा भनेको कुरा सम्झिरहेछु। उनीहरू अहिले म्युजिक भिडियो वा विज्ञापनका लागि मोडल छान्नु पर्दा लिइने अडिसनमध्ये आधा चाहिँ उनीहरूको टिकटकलाई नै मान्दा रहेछन्। 'इन्स्टाको फोटो' भन्ने गीतको भिडियोमा रेश्मा घिमिरेलाई लिनुमा रेश्माको टिकटकको ठूलो हात रहेछ।
टिकटकले गर्दा कोहीकोही आफूले सपना देखेको ठाउँमा पुग्न थालेछन्।
मलाई लाग्छ, हाम्रो 'हुनु' भनेको 'पुग्नु' हो।
यजुर्वेदमा भनिएको छ, 'तिमी एकभन्दा बढी प्राणीसँग आफ्नो तादत्म्यता स्थापित गर्ने प्रयास गर्नू।'
टिकटक भिडियो बनाएर सबै सेलेब्रेटी नबन्लान्। समाज वा राजनीति नबदल्लान्। राष्ट्रिय-अन्तर्राष्ट्रिय स्टेजमा नपुग्लान्। तर एकभन्दा बढीमा पुग्छन्। जो कोही पनि एक्लैमा सीमित भएर एउटा कुनोमा किन निस्सासिनु? बरू ऊ 'खुसी' भएको कुरा ऊजस्ता अरूसम्म पुग्यो भने अर्कोलाई पनि 'खुसी' हुन प्रेरणा मिल्ला। उसको तादत्म्यता थोरै भए पनि एकभन्दा बढीसँग स्थापित होला। ऊ पुग्ला।
मलाई लाग्छ, हाम्रो 'हुनु' भनेको 'पुग्नु' हो।
एउटा गीत, कविता, चुट्किला, फिल्म, सिरिज आदिको अडियो वा भिडियो सामान्यतया एउटा मात्रै बन्छ। तर जब त्यो टिकटक जस्तो माध्यममा जान्छ तब त्यही अडियो वा भिडियो सयौं वा हजारौं वा लाखौंले आफ्नो मानेर नयाँ भिडियो बनाउँछन्। उक्त अडियो वा भिडियोको मूल सर्जकका लागि यो कति गज्जबको कुरा हो! उसको सिर्जनाका हजारौं वा लाखौं भिडियो बने। ऊ धेरैमा पुग्यो। धेरैको भयो।
यजुर्वेदमा पनि भनिएको छ, 'म एकभन्दा धेरै बनूँ।'