यही वर्ष मार्च २३ का दिन अमेरिकाको टेक्सास राज्यका एक उच्च अधिकारी ड्यान प्याट्रिकले फक्स टेलिभिजनलाई भने, 'हामी सत्तरी कटेकाहरूले आफ्नो व्यवस्था आफैं गर्छौं। तर (हाम्रा लागि) देशको (अर्थतन्त्रको) बलिदानी नदेऊ।'
अर्थात् वृद्धवृद्धामा बढी घातक हुने कोरोना भाइरसबाट बच्न सबैलाई घात हुने गरी अर्थतन्त्र शिथिल हुने लकडाउन नगर। कुरा अझ प्रष्ट्याउँदै ७० वर्ष लाग्दै गरेका उनले भने, 'हाम्रा छोराछोरी र नातिनातिनीका लागि भविष्य सुरक्षित गर्न हामीले मूल्य चुकाउनुपर्छ भने म त्यसका लागि तयार छु।'
त्यस यताका दिनमा टेक्सासले प्रष्ट शब्दमा त्यस्तो सौदाबाजी गरेको घोषणा भएन। तर व्यवहारतः कुरा उस्तै भयो। टेक्सास लकडाउन गर्नमा अन्तिम र खोल्नमा पहिलो केही राज्यहरूमा पर्यो।
२३ दिन मात्रै लकडाउन गरेर मे १ मा बजार खोल्दा तत्काल अनपेक्षित रूपमा संक्रमित संख्या बढेन। मे महिनाभर नयाँ संक्रमित संख्या दैनिक २ हजार कटेन। अरू राज्यले अनावश्यक रूपमा लामो लकडाउन त गरेनन् भन्ने प्रश्न पनि गरियो।
जुन महिना सुरू भएसँगै भने टेक्सासमा कोरोनाको ग्राफ उक्लिन थाल्यो। जुन १ मा ५९३ नयाँ संक्रमित देखिएकामा जुन २५ मा झन्डै ६ हजार नयाँ संक्रमित फेला परे। मृतक संख्या त्यही अनुपातमा बढ्न थाल्यो। त्यसको अर्को दिन टेक्सास आंशिक भए पनि लकडाउन फर्काउने पहिलो अमेरिकी राज्य बन्यो।
नेपालमा ड्यान प्याट्रिक झैं खुलेर लकडाउनको विरोध गर्ने अधिकारीहरू त छैनन्, तर लकडाउन खुकुलो भएपछिको माहोलमा सरकार र नागरिक दुवैको रवैयाले मलाई टेक्सास र फ्लोरिडाजस्ता अमेरिकी राज्यको याद दिलाएको छ। ती लगायत संयुक्त राज्य अमेरिकाका धेरै दक्षिणी राज्यले पर्याप्त समय पाएर पनि कोरोनाविरुद्ध लड्न आवश्यक तयारी गरेनन्। महामारीलाई हल्का रूपमा लिए अनि पछिल्लो समयमा त्यसका लागि ठूलो मूल्य चुकाइरहेका छन्।
नागरिकलाई पाठः
लकडाउनको सुरूआततिर अन्यत्रझैं नेपालमा पनि कोरोना त्रास अधिक थियो। मानिस भाइरससित यति डराए कि प्रहरी नपुग्ने गाउँ-गाउँमा पनि बाटोमा खासै कोही निस्केनन्। बारम्बार थपिएको लकडाउनमा धैर्यको बाँध टुट्दै गयो। धेरै मानिसलाई हातमुख जोड्न कठिन हुँदै गयो। अनि योसँगै मानिस डरलाई जितेर बाहिर निस्कँदै गए।
सरकारले विधिवत् रूपमा लकडाउन खुकुलो पारेयताको अवधिमा हामी सबैले सर्वाधिक सावधानी अपनाउनु पर्ने थियो।
कारण, हाम्रो लकडाउन खोलाई युरोपका देशमा भन्दा तात्विक रूपमा भिन्न थियो। उनीहरूकहाँ डढेलो झैं महामारी फैलिएका बेला लकडाउन गरेर डढेलो निभ्दै जान लागेपछि त्यसलाई खोल्दै लगिएको थियो। हामीले भने डढेलो झैं संक्रमण फैलिइहाल्यो भने हाम्रो स्वास्थ्य प्रणालीले धान्दैन भनेर अगावै लकडाउन गरेका थियौं।
इटाली र स्पेन लगायत धेरै देशमा लकडाउन खोल्ने बेलासम्म भाइरसले जनसंख्याको उल्लेख्य संख्यालाई संक्रमित गरेर धेरै मानिसमा भाइरसप्रतिरोधी क्षमता विकास भइसकेको थियो। त्यसैले देशभित्र खुकुलो गरेको केही समयमै अन्तर्राष्ट्रिय सीमा समेत खोल्ने अवस्थामा ती देश पुगे। अर्कोतिर नेपालमा लकडाउन सकिइसक्दा पनि असाध्य सानो जनसंख्याले मात्रै संक्रमणपश्चात् भाइरस प्रतिरोधी क्षमता विकास गरेका कारण देशको झन्डै सिंगो जनसंख्या संक्रमण जोखिममा छ।
हामी चाहन्थ्यौं, लकडाउनका कारण हामीकहाँ संक्रमण डढेलोको चरणमै नपुगोस्। त्यसो हुन सकेको भए हामी पनि न्युजिल्यान्ड वा ताइवान झैं कोरोना नियन्त्रणको नमूना देश कहलिन सक्थ्यौं। हामीकहाँ लकडाउन आयो र गयो तर महामारीले अहिले बल्ल डढेलोको रूप लिने छाँट छ। त्यसैले हामी अहिले कोरोनाविरुद्धको युद्धमा लकडाउनको दुर्लभ र मुख्य हतियार सुरूमै प्रहार गरेर खास लडाइँका लागि अरू हतियार खोज्नुपर्ने अवस्थामा छौं।
त्यसैले लकडाउनका सुरूआती दिनमा कोरोनालाई हामीले जति गम्भीरताका साथ लिन्थ्यौं, त्यो गम्भीरता अहिले सबभन्दा बढी आवश्यक छ। अनावश्यक घुलमिल नगर्नेदेखि बारम्बार हात धुने, जथाभावी सतहहरू नछुने, गुम्सिएको कोठामा नबस्ने लगायत उपाय अहिले सबभन्दा बढी आवश्यक छन्।
तर नेपालमा अवस्था कतिसम्म लथालिंग भएको छ भने, मानिसहरूले पचासौंको भीड जम्मा गरेर बिहेभोज दिन थालिसकेका छन्। मास्कले नाक नछोपी च्युँडोमा लगाउने, रेस्टुरेन्टमा जम्मा भएर खानपिन गर्ने अनि नगर्दा काम चल्ने भेटघाट गर्नेको संख्या बढ्दो छ।
व्यस्त बजार पुग्दा कतै हामी कोरोना सुरू हुनु अगाडिको समयमा फर्क्यौं कि भन्ने भान हुन थालेको छ। अत्यावश्यक किनबेचमा पनि लकडाउन बेला अनेक सावधानी अपनाउने पसले र ग्राहक दुवैले बिस्तारै सावधानी हटाउँदै जान थालेका छन्। स्कुल–कलेज र सार्वजनिक यातायात बन्द हुनुबाहेक भाइरस रोक्न अरू निकै कम सावधानी अपनाइएको छ।
मे महिनाभर अमेरिकाको टेक्सासमा भएको पनि यही हो। परिणाम जुन महिनामा देखिइहाल्यो।
सरकारलाई पाठः
यही वर्ष २५ मार्चमा राष्ट्रिय टेलिभिजनमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले भने, 'मेरो हकमा, मेरो खेलकुदको पृष्ठभूमि भएकाले (कोरोना)भाइरसले संक्रमित भए पनि मैले चिन्ता गर्नुपर्ने छैन। या त मलाई त्यसको पत्तै हुँदैन, हदै भए अलिकति रुघा लाग्ला।'
त्यसयता बोल्सोनारोलाई त भाइरसले केही गरेको खबर छैन तर अहिलेसम्म झन्डै साढे १३ लाख ब्राजिलियनमा कोरोना पुष्टि भएको छ र ५७ हजार बढीले ज्यान गुमाइसकेका छन्।
अर्को एउटा देशका प्रधानमन्त्रीले पनि आफ्ना जनताको 'दृढ इच्छाशक्ति र प्रतिरोधी क्षमताका कारण' कोरोना भाइरस परास्त हुने कुरा देशवासीका नाममा सम्बोधन गर्दै भनेका थिए। त्यो देशको नाम तपाईंहरू आफैं खोज्न सक्नुहुन्छ।
बोल्सोनारोले खेलाडी हुनुको धक्कु लगाएको एक महिनासम्म ब्राजिलमा कोरोना फैलिए पनि अवस्था विकराल थिएन। २५ अप्रिलमा तबसम्मकै धेरै ५,५१४ नयाँ संक्रमित भेटिएका थिए।
तर अमेरिकाको टेक्सासमा झैं अर्को महिना मरेर जुन २५ हुँदा एकै दिनमा झन्डै ४० हजारमा संक्रमण पुष्टि भएको थियो। त्यसबीचमा १९ जुनका दिनमा एकैदिन ५४ हजार ८ सय हाराहारी संक्रमण पुष्टि भएको थियो। नयाँ संक्रमित संख्या दैनिक ३० हजार कट्न थालेपछि अत्तालिएका बोल्सोनारोले जुन ६ मा स्वास्थ्य मन्त्रालयको वेबसाइटबाट तबसम्मको कोरोना तथ्यांक नै हटाउन लगाएका थिए।
अमेरिकालाई तुलना गर्न नमिल्ने विकसित देश मान्ने हो भने पनि नेपाल सरकारले कोरोनाविरुद्ध लडाइँमा बोल्सोनारो नेतृत्वको ब्राजिलले गरेका गल्तीबाट सिक्नु पर्ने धेरै कुरा छन्। तर यस्तो लाग्छ, हामी नागरिकजस्तै सरकारले पनि अरूका गल्तीबाट केही नसिक्ने प्रण गरेको छ।
'राम्रो हुने आश गर, तर नराम्रो अवस्थाका लागि तयार होऊ' भन्ने एउटा भनाइ छ। हामी सबैको दैनिक जीवनमा यो लागू हुन्छ। तर यस्तो संकट बेला जब सरकार राम्रो अवस्थाका लागि मात्रै तयार भएर बस्छ र आधारहीन आश मात्रै बाँड्छ, तब समाजका लागि खतराको घन्टी बज्छ।
विडम्बना के भने, हामी अहिले त्यो खतराको घन्टी सुनिरहेका छैनौं। मानिसको जीवन–मरण जोडिएको विषयमा प्रधानमन्त्री मजाक गर्छन्, हामी गलल्ल हाँस्छौं। अर्को भाषणमा उनले त्यो मजाकको बचाउ गर्छन्, हामी फेरि हाँस्छौं। राज्यको अकर्मण्यता र भद्रगोल व्यवस्थापनका कारण एकपछि अर्को अनाहक मृत्युको समाचार आउँदा त्यो कोरा तथ्यांकमै सीमित हुन्छ। पीडित, मृतक र आफन्तको पीडा हामी आम नागरिकले आत्मसात् गर्न सकेका छैनौं। समाचार पढेर भावुक भए पनि त्यसका लागि राज्यलाई उत्तरदायी बनाउन केही गरिरहेका छैनौं।
संक्रमण फैलिएसँगै त्योभन्दा द्रुत गतिमा बढ्नुपर्ने कोरोना परीक्षण महिनौंदेखि उस्तै छ। कति प्रयोगशालामा हप्तौंदेखि परीक्षण हुन नसकेका स्वाबको चाङ लागेको छ। परीक्षण नतिजा समयमा नआउँदा क्वारेन्टाइनमा हुने मानिस र तिनका आफन्त अन्योलमा छन्। क्वारेन्टाइनमा अरू कारणले मर्नेदेखि आत्महत्या गर्नेका समाचार आइरहेका छन्। तर हाम्रा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्राथमिकता प्रधानमन्त्रीको हास्यचेत वा सत्तारुढ दलमा चलेको सत्ताको छिनाझप्टीतिर छ।
हामी नागरिक र सरकार एकै खालको बौद्धिक आलस्य र अदुरदृष्टिको अन्धयात्रामा हिँडिरहँदा केही युवाले लकडाउन खुकुलो भएलगत्तै राज्यलाई जिम्मेवार बनाउन हरसम्भव प्रयास गरिरहेका छन्। सुरूमा देशभर स्वतःस्फुर्त युवाहरू सडक प्रदर्शनमा उत्रिएपछि अत्तालिएको सरकार उनीहरूका माग सुनुवाइ गर्दै आफ्नो कर्तव्य पूरा गर्नुको सट्टा महामारीका कारण मानिसले भोग्नुपरेको मृत्यु, पीडा र क्षति नै न्युन पुष्टि गर्ने प्रयासमा लागेको छ।
महामारी नियन्त्रणका लागि गरिएको खरिदमा पटकपटक अर्बौं भ्रष्टाचार र अनियमितता भएका समाचार प्रमाणसहित आउँदा पनि त्यसमा संलग्न कसैलाई सरकारले दण्डित गरेको छैन, उल्टै पुरस्कृत गरेको छ।
यसरी एकतिर महामारी नियन्त्रणका लागि नभई नहुने सैद्धान्तिक प्रष्टता र जिम्मेवारीबोध सरकारमा छैन। (बेसार र तातो पानीले नै ठीक भइहाल्ने रोगका लागि किन पिसिआर र आइसियु उपचारको झन्झट गर्ने?) अर्कोतिर वडा तहदेखि बालुवाटारसम्म जवाफदेहिता शून्य छ। देशको अर्थतन्त्र अभूतपूर्व संकटमा परेका बेला विरल स्रोतसाधन दुरुपयोग र भ्रष्टाचार नियमित भइसकेका छन्।
यस्तो दण्डहीनता अचाक्ली भएर सरकारले आफ्ना माग पूरै बेवास्ता गरेपछि अहिले केही युवा अनशनजस्तो शान्तिपूर्ण प्रदर्शनको सबैभन्दा गम्भीर अस्त्र प्रयोग गर्न बाध्य छन्। तिनको स्वास्थ्यमा गम्भीर समस्या आएर अस्पताल भर्ना हुने अवस्था आइसकेको छ। तर त्यसले न सरकारलाई पिरोलेको छ, न हामी नागरिकलाई।
समाजका रूपमा कोरोनाविरुद्धको लडाइँ जित्नु छ भने अझै पनि गम्भीर बनौं। अवस्थाको गम्भीरतालाई आत्मसात् गरौं। हामी नागरिक जिम्मेवार बनौं र सरकारलाई पनि जिम्मेवार बनाऔं।
नत्र के हुन्छ भन्ने अन्यत्रको अनुभवले बताएकै छ- यी पंक्ति लेखिँदै गर्दा चीनपछि कोरोनाले ग्रस्त हुने इरानमा दैनिक मृत्युको नयाँ रेकर्ड कायम भएको छ। बेलायतको लिसेस्टर सहरमा फेरि लकडाउन सुरू भएको छ। र, टेक्साससँगै अमेरिकाको एरिजोना राज्यले पनि लकडाउन फर्काउने निर्णय गरेको छ।