रातको समय फोनको घन्टी बज्यो कि मनमा चिसो पस्थ्यो। झन् उताबाट 'सबैको खाना भयो?' भन्ने प्रश्न आयो भने त मन सिरिंगै हुन्थ्यो। फोन गर्नेले सुरूमा आमालाई खोज्यो, र खाना खाईवरी मलाई फोन गर्न लगाऊ भन्ने सन्देश छाड्यो भने पक्कै कोही बित्यो भन्ने अनुमान हुन्थ्यो।
एक रात त्यस्तै फोन आयो। दस बजिसकेको थियो। त्यस बेलाको काठमाडौंका लागि त्यो मध्यरातसरह हुन्थ्यो।
आमाकी सानीआमा पर्ने बितेछन्। अलि टाढाको मावली खलक भएकाले हामीलाई जूठो त पर्दैन थियो, तर अन्तिम विदाइको निम्ति घाटसम्म नगई हुन्थेन।
आमाले भन्नुभयो, 'यतिबेला म त कसरी जाउँ, तँ अस्पताल गएर घाटसम्म पुगेर आइज न।'
उहाँले आशापूर्ण आग्रहसहित मोटरको साँचो मेरो हातमा थमाउनुभयो। म त्यस्तै २०-२१ वर्षको थिएँ। आमाको आग्रहले गाल्यो कि मोटर चलाउने रहरले तान्यो थाहा भएन, म लुगा फेरेर टिचिङ अस्पतालतिर लागेँ।
आफन्तहरू जम्मा हुन थालिसकेका थिए। सबै प्रक्रिया पूरा गर्दागर्दै १२ बज्यो।
कसैले भने, 'ल आज नमिल्ने भयो, सबै फर्कौं।'
'किन के भयो र?' मैले सोधेँ।
मामा पर्नेले भने, 'राति १२ बजेदेखि बिहान ६ बजेसम्म शव वाहन चलाउन पाइँदैन रे, पुलिस को नियम रे।'
'आफ्नो गाडीमा त लान पाइन्छ नि?' मैले फेरि सोधेँ।
सोधिखोजी गर्दा पाइने रहेछ। मैले वरिपरि उभिएका आफन्तहरूको गाडी देखाउँदै भनेँ, 'यत्रा गाडी छन्, कसैको ठूलो गाडीमा राखेर आफैं लागे भइहाल्यो नि!'
त्यो मध्यरातको सुनसानमा अर्को सन्नाटा छायो। कोही बोलेनन्। बरू कोही त विस्तारै पछाडि हटेको पो देख्न थालेँ। मेरो दिमागमा के चढ्यो कुन्नि, फ्याट्ट भनेछु, 'मेरोमा अट्छ? अटे यसैमा लगौं।'
मेरो गाडी अलि सानो थियो, तर पछाडिको सिट पट्याएपछि खाली ठाउँ बन्थ्यो। अगाडिको सिट पनि फोल्ड गर्यो भने ठाउँ अझै बढ्थ्यो।
शवगृहतिर लैजान ठिक्क परेको शवको ट्रली मेरो गाडीतिर मोडियो। हामीले शव बोकेर गाडीमा राख्यौं। ठिक्क अटायो। पछाडि शवसँगै एक जना मान्छेलाई राखेर म आफू ड्राइभिङ सिटमा गएर बसेँ। शवको अनुहार ठ्याक्कै मेरो बायाँतिर थियो।
हामी महाराजगन्ज चोक हुँदै रिङरोडै रिङरोड पशुपतितिर लाग्यौं। घुम्तीमा गाडी मोडिँदा शव हल्लिन्थ्यो। पल्टेला भन्ने पिरले पछाडि बसेकाले खुट्टा र जीउ समाएका थिए, म गाडी चलाउँदै एक हातले टाउकोलाई टेको दिन्थेँ।
शवबाट टाढा सर्नेहरू पशुपति पुगेपछि पनि टाढा नै रहे। म लगायत केहीले बोकेर घाटसम्म लग्यौं।
दाहसंस्कारपछि धेरै जना फर्कन थाले। रातको झन्डै ३ बजेको थियो। म पनि जाने अनुमतिसहित विदा भएँ। गाडी भएको ठाउँमा पुगेँ। अघि यही गाडीमा शव बोकेर ल्याएको सम्झेपछि मनमा कस्तो कस्तो भयो।
फर्केर एक जना मावली खलकका दाइ पर्नेलाई 'जाउँ हाम्रो घर, म पनि एक्लै भएँ' भनेर फकाएँ। उनी सजिलै माने।
मैले कुनै शवलाई त्यसरी ओल्टाइपोल्टाइ छोएको र गाडीमा राखेर लगेको त्यो पहिलो अनुभव थियो। त्यसपछि केही महिनासम्मै राति एक्लै गाडी चढ्नुपर्यो कि तनाव हुन्थ्यो। विस्तारै बानी पर्दै गयो।
मलामीको काम घाटमा उपस्थित भएर मुख देखाउने मात्र होइन, परेको सहयोग गर्ने पनि हो। हामी निसंकोच सहयोग गर्थ्यौं। मेरो यो बानी सायद मेरो बुवाका कारण बसेको हुनुपर्छ। बुवा कोही बित्यो भने जानुपर्छ भनेर हामीलाई पनि सँगै लानु हुन्थ्यो। अहिले बुवा जान सक्नुहुन्न, हामी दाजुभाइमध्ये कहिले दुवै त कहिले जो भए पनि एक जना प्राय: आफन्तका मलामी छुटाउँदैनौं।
जन्त बरू नगए हुन्छ, मलामी नछुटाउनु। मान्छेले जिन्दगीमा कमाउने भनेकै मलामी हो- बच्चैदेखि सुन्दै आएका यी भनाइलाई मैले आजीवन अनुसरण गरेँ।
धेरैले मलाई आफ्नो मलामीका रूपमा कमाएका छन्। आफन्त, साथीभाइ, छरछिमेक र उनीहरूका नजिकका मान्छेको मृत्यु हुँदा म धेरैका मलामीमा सरिक भएको छु। विभिन्न प्रकारका र विभिन्न उमेरका मृत्यु देखेको छु। भर्खर पाएका नवजात शिशुदेखि सय वर्ष पुगेका आफन्तको मलामी अनुभव गरेको छु।
धेरैका जलेका चितासँगै रापिलो तापसामु उभिएर जीवनको फ्ल्यासब्याकमा पुगेको छु। रमाइला सम्झना सम्झँदै आँशु झारेको छु। माफी माग्न छुटेका गल्तीहरू सम्झँदै बलेको चिताअगाडि उभिएर मनमनै माफी मागेको छु।
कोरोना लकडाउन सुरू भएदेखि मलामी छुटाउनै नहुने नौ जनाको मृत्यु भएछ। कोही नजिकका आफन्तका निकटस्थ, कोही एकदमै नजिकका मित्रका आमाबुवा, कोही छिमेक। मेरो टोल ताहाचलकै चार जना स्वर्गीय भएछन्। भनिराख्नु नपर्ला, यी सबैका मलामीमा म चाहेर पनि सरिक हुन पाइनँ। सम्झँदा दु:ख लाग्छ। मलामीमा सकेसम्म सरिक हुने मेरो मान्यतामा परिस्थितिवश ब्रेक लागेकोमा म बढी दु:खी छु।
ती नौ जनाको मृत्युमा किरियापुत्री भेट्न जाने मौका पनि लकडाउनले छिनिदियो। केहीले त भेट्न नआएकोमा दु:ख पनि माने होलान्। तर, अधिकांशले बुझे होलान् भन्ने मेरो आशा छ।
कदाचित् मलामी जान नपाएको भए पनि १३ दिनभित्र किरियापुत्री भेट्न जाने हाम्रो परम्परा कायमै छ। यसमा पनि कसैको जोड दिन जान नहुने चलन छ त कसैको बिजोड दिन। कोही फलानो बार जान हुन्न भन्छन् त कोही यतिऔं दिन जान हुन्न भन्छन्। सबैको आ-आफ्नै चलन।
के यो कोरोना महामारीले हाम्रो मलामी संस्कार सधैंका लागि परिवर्तन गरिदिन्छ त? म आफैंसँग यो प्रश्न गर्छु र 'गर्न सक्छ' भन्ने उत्तरबाट विचलित हुन्छु।
सामाजिक दुरीको बानीले लकडाउनपछि पनि हुलबाट टाढा रहने चलन जारी छ। यसको प्रत्यक्ष प्रभाव हाम्रो सुखदु:खका भेलामा पर्नेछ। जन्ती-मलामी परम्परामा पनि पर्नेछ। अचेल धेरैले आफ्ना केटाकेटीलाई यस्तो ठाउँमा लानु हुन्न भनेर नलगेको देख्छु। यो कारणले पनि मलामी परम्परामा असर पर्दैछ। म भने बुवाको परम्परालाई निरन्तरता दिँदै सकेसम्म छोरीहरूले चिनेकाको मलामीमा उनीहरूलाई पनि जान प्रोत्साहित गर्छु।
हरेक समाजमा आ-आफ्नो रितअनुसार मृत्यु संस्कार र त्यससँग जोडिएको मलामी प्रथा प्रचलित छ। मान्छे बितेपछि राम्रोसँग सद्गत गर्नुपर्छ भन्ने मान्यता सबै धर्ममा हुन्छ। तर, धर्म र सामुदायिक प्रचलनभन्दा हाम्रो भौगोलिक अवस्थितिले मृतकको सद्गत गर्ने सिद्धान्त मलाई सबभन्दा उपयुक्त लाग्छ।
शव व्यवस्थापन गर्ने प्रचलित परम्परा म चार साझा विधिमा आधारित रहेको पाउँछु- आगोमा जलाउने, जमिनमा गाड्ने, पानीमा डुबाउने र चरालाई खुवाउने। नेपालमा पनि विभिन्न भौगोलिक स्थिति र धर्मअनुसार यी चारै विधि अभ्यासमा छन्।
यीमध्ये पानीमा डुबाउने र चरालाई खुवाउने चलन अलि दुर्लभ भइसकेका छन्। मैले यस्ता विधिबाट गरिएको सद्गत प्रत्यक्ष देखेको छैन, प्रत्यक्षदर्शीबाट सुनेको भने छु।
पत्रकार गिरीश गिरीले आफ्नो पुस्तक 'वीरगन्ज' मा बुवाको अन्तिम संस्कारको सन्दर्भ बढो मार्मिक ढंगले लेखेका छन्, 'केही मानिसले मलाई तानेर अन्त लैजाँदै अन्तिम संस्कार कसरी गर्ने भनेर सोधे। बुवाले बेलाबेला भारततिर साधुसन्तले जल समाधि लिने गरेको प्रसंग उल्लेख गर्नु हुन्थ्यो। नेपालमै पनि जोगीहरूलाई मृत्युपछि पानीमै शरीर डुबाउने गरिएको कतिपय घटना उहाँले सुनाउनुभएको थियो। त्यसो गर्दा नश्वर शरीर त्यसै खेर नगएर जलचरहरूले खान पाउने भएकाले मृत्युपछि पनि मानिस उपयोगी बन्न सक्ने उहाँको तर्क हुन्थ्यो।'
उनी अगाडि लेख्छन्- 'त्यो क्षण नै थाहा भयो, बुबाले आमासँग कसैगरी आफ्नो मृत्यु भएछ भने त्यसैगरी जल समाधि गराइदिन इच्छा राख्नुभएको रहेछ। हामी सन्यासीको मृत्युपछि भूमि समाधि हुन्छ। त्यो नै मलाई अनौठो लाग्ने गरेकोमा यो जल समाधि त झनै कसैलाई थाहै नभएको कुरा थियो। त्यसमाथि वीरगन्जको सिर्सिया नदीमा घुँडासम्म पनि नडुब्ने पानी हुन्छ, कसरी जल समाधि गराउने?'
'चितवन देवघाटतिर यसरी जल समाधि दिने गरिएको जानकारी पनि बुवाले आमालाई दिनुभएको थियो। तर, त्यस दिन माओवादीले नै नेपाल बन्द आह्वान गरिदिएकाले चितवन पुग्न सम्भव थिएन। त्यो बेलासम्म तराईमा हिँडडुल गर्न माओवादीको खासै त्रास थिएन। यस्तो बेला करिब ८० किलोमिटर पर रहेको महेन्द्र राजमार्गस्थित बाग्मतीमा अन्तिम संस्कार गर्न समस्या हुँदैनथ्यो। हामीबीच भोलि बाग्मतीमै लगेर जल समाधि गर्ने टुंगो भयो।'
चार अन्तिम संस्कार विधिमध्ये पानीमा डुबाउने वा समर्पण गर्नेलाई जल समाधि भनिन्छ। नेपालमा हामीले सबभन्दा बढी देख्ने भनेको आगोमा जलाउने वा समर्पण गर्ने र जमिनमा गाड्ने वा भूमिमा समर्पण गर्ने संस्कार नै हो। त्यस्तै, चरालाई खुवाउने भनेको अप्रत्यक्ष रूपमा आकाशलाई समर्पण गर्ने हो।
यी सबै विधि राम्ररी हेर्ने हो भने आत्माले देहत्याग गरेपछि शरीरलाई कुनै न कुनै मध्यमबाट पञ्चतत्वमा विलिन गर्ने सिद्धान्त अनुसरण गरेको देखिन्छ। चाहे जुनसुकै जात, धर्म वा भूगोल होस्।
जल समाधिजस्तै मैले प्रत्यक्ष नदेखेको अन्तिम संस्कार विधि आकाशलाई समर्पण गर्ने हो। म कुनै समय टेलिभिजन कार्यक्रम उत्पादनको क्षेत्रमा काम गर्दा अग्रज सहकर्मी अनिल रिजालले मुस्ताङको लोमान्थाङमा नजिकबाट छायांकन गरेको भिडिओ फुटेज देखाएका थिए। उनको खिचाइ यस्तो राम्रो थियो, मलाई प्रत्यक्ष मुस्ताङ पुगेर आफैं हेरेजस्तो अनुभव भयो।
उनको भिडिओ फुटेजमा केही लामाहरू शवसहित कुनै डाँडाको थुम्कोमा पुग्छन्। विधिअनुसार पूजापाठ गरेपछि एक जनाले नली खुट्टाको हाडजस्तो देखिने चिज फुक्छ। त्यसबाट शंखको जस्तो आवाज सुनिन्छ।
एकछिनमा त्यो बिरानो भूमि र खुला आकाशमा गिद्धहरू कावा खान थाल्छन्। अर्को लामाले शवलाई धारिलो हतियारले चोक्टाचोक्टा पार्न थाल्छन्। कावा खाइरहेका गिद्धहरू धर्तीमा अवतरण गर्छन् र चोक्टा लुछ्न थाल्छन्। यस्तो कारूणिक कार्यमा लामाहरूको बढो संयम झल्किन्छ। उनीहरू मान्छेको शव र चराहरूको सम्मान कायम राख्छन्।
सहकर्मी अनिल रिजालले बढो करूणा र वातावरणप्रति सम्मानका साथ उक्त दृश्य आफ्नो क्यामरामा कैद गरेका थिए।
चाहे हिमाली भेगमा आकाशलाई समर्पण गर्दा लामाले गर्ने विधि होस् या तराईमा जल समाधि गर्दा जोगीहरूले, पहाडका गाउँपिच्छे अस्तित्वमा रहेका चिहान डाँडाहरूमा शव गाडिँदा होस् या नदी किनारका घाटघाटमा जलाइँदा, एउटा अर्को समान कुरा सबैतिर देखिन्छ। त्यो हो, शव र अन्तिम संस्कार विधिप्रति सम्मान। यसले के बुझाउँछ भने, विधि पुर्याएर शवको सद्गत गरियो भने आत्माले शान्ति पाउँछ भन्ने विश्वास सबैतिर समान छ।
मलामी जानेहरू मृतकका लागि भन्दा उसले छाडेर गएका जीवितहरूलाई सान्त्वना दिन जान्छन् भनिन्छ। तर, म धेरैचोटि मृतककै लागि गएको छु।कहिले उसको आत्माको चिरशान्तिको कामना गर्न। कहिले जिउँदो हुँदा उसलाई माफ गर्ने मौका नपाएका उसका गल्तीहरूलाई माफी दिन। र, कहिले जिउँदो हुँदा माफ माग्न नसकेका मेरा गल्तीको निम्ति ऊसँग माफी माग्न।
त्यो ब्रह्मनालमा सुतेको शव मलाई असाध्यै श्रद्धेय लाग्छ। किनकि, म जुनसुकै स्वार्थका साथ त्यहाँ उभिएको भए पनि ऊ मलाई त्यही रूपमा स्विकारिदिन्छ। मैले चढाएको पानी बिनासंकोच स्विकारिदिन्छ। मेरो मन हल्का बनाइदिन्छ। र, यही हल्का भएको मन एक्कासि गह्रौं भएर भक्कानिन पुग्छ।
कहिलेकाहीँ, मृतकका जीवित आफन्तका लागि गइने मलामी औपचारिकताजस्तो मात्र हो कि जस्तो लाग्छ। अनुहार देखाउन मात्र गएजस्तो।
म पशुपतिको घाटमा आफन्तको कुरुवा बस्दा, त्यहाँ धेरै मानिस लास बनेको देखेको छु। एक छिन अघिसम्म सबैले मायापूर्वक सुम्सुमाएको जिउँदो शरीरले प्राण त्यागेपछि धेरै आफन्त दुई पाइला पछाडि सरेको र शव बोक्नुपर्यो भन्दा नसुनेझैं गरेको देखेको छु। हाम्रो नेपाली समाजमा शवसँग धेरै जना पर बस्न रुचाएको पनि मैले देखेको छु। शव भनेपछि डराउने गरेको देखेको छु। किन हो कुन्नि, वरिपरिकाले आलटाल गरेको देख्नेबित्तिकै म शव व्यवस्थापनमा स्वयंसेवी भएर अघि सर्छु।
मलाई आजकाल शवसँग डर लाग्दैन। धेरै शव छोएको र बोकेको भएर होला। शवले केही हानि गर्दैन भन्ने मेरो बुझाइ छ। मैले पहिलोपल्ट शव कहिले देखेँ, कहिले छोएँ, ठ्याक्कै याद छैन। तर, तीमध्ये डोरीमा झुन्डिएको मेरो छिमेकीको शवले लामो समय विचलित पारेको सम्झना छ।
हामी नेवारहरूको आफन्त बित्दा बिचा: जाने चलन छ। बिचा: भन्नेबित्तिकै बाल्यकालको एउटा घटना याद आउँछ।
म सानै थिएँ, सायद ८-१० वर्षको। एक जना नजिकका आफन्त बितेका थिए। आमा र ठूलीआमा सँगै बिचा: जाने भए। हामी भुराभुरी पनि पछि लाग्यौं।
मोटरमा बसुञ्जेल हाँसीखुसी गफ गर्दै थियौं। गाडीबाट ओर्लियौं, सबै ठिक थियो। शोकमा परेको घरको ढोका खोलेर भित्र जाँदा पनि ठिकै थियो। जब भर्याङ चढ्न थाल्यौं, एकैचोटि झसंग हुने गरी ह्वाँह्वाँ रोएको आवाज सुनियो। यसो हेरेको त आमा र ठूली आमा खास्टोले टाउको छोपेर रुँदै माथि उक्लिँदै हुनुहुन्थ्यो।
हामी बच्चाहरू खितिती हाँस्न थाल्यौं। ठूलीआमाले जोडले चिमोट्नुभयो। यति जोडले, दुखेको तोडमा हामी पनि उहाँहरूसँगै रून थाल्यौं।
यसरी बिचा: जाँदा रूनेहरूले आँशु नआए आँखामा थुक दलेर रोएको अभिनय गरेको गफ पनि खुब सुनिन्थ्यो।
लकडाउनअघि किरियापुत्री भेट्न गएका बेला त्यहाँ गफ चल्दैथ्यो। त्यस्तो ठाउँमा फुर्सदिला गफाडीहरू प्राय: भेट हुन्छ। भन्दै थिए, 'त्यो नेवारहरुको रोएर बिचा: जाने चलन एकदमै साइन्टिफिक। शकमा परेर रून नसकेकाहरूलाई रूवाउने टेक्निक हो, थेरापीजस्तै।'
अर्का फुर्सदिला गफाडीले थपे, 'अहिले कोरोना आएर बल्ल १४ दिनको क्वारेन्टाइनको चलन विश्वले थाहा पाए। हाम्रो यो १३ दिनको किरिया भनेको एक किसिमको क्वारेन्टाइन त हो। रोग लगेर मर्ने मान्छेका नजिकका आफन्तलाई क्वारेन्टाइन र सामाजिक दुरीमा राखेको।'
म पनि के कम, गफमा गफ थापिदिएँ, 'अनि परिवारका नजिककालाई १३ दिन मन्दिर जान हुन्न, भोजभतेर खान हुन्न भनेको पनि त्यही त हो नि। पहिले पहिले हुल जम्मा हुने भनेकै कि मन्दिर कि भोजमा हो। त्यस्ता ठाउँबाट मर्नेका नातेदारलाई 'आइसोलेसन' मा राखेको।'
पहिलो गफाडीले सही थापे, 'हो... यो त मलाई यादै नभएको ...।'
गफै त हो! कहिलेकाहीँ यस्तै गफले पनि मन भुलाउने थेरापीको काम गर्छ।
यसरी सुखदु:खमा आफन्त-साथीसंगी जम्मा हुने, एकअर्कालाई साथ र सान्त्वना दिने हाम्रो सामाजिक संरचना अहिलेको सामाजिक दुरीको नियमले बिथोल्ला भन्ने पीर परिसक्यो। फिजिकल, अर्थात् शारीरिक दुरी हुनुपर्नेमा शब्द छनौट नै सोसियल, अर्थात् सामाजिक दुरी हुन पुगिसक्यो। यो नै हामीबीच अब कायम हुने दुरीको संकेत पो हो कि?
@KiranKrShrestha