मेरा लागि इतिहास लेखिनुको एउटा मुख्य कारण हो, भविष्यमा त्यस्तै परिस्थिति आए सही निर्णय गर्ने बाटो खुलोस् र गल्ती नदोहोरियोस्।
दुर्भाग्यवश, नेपाल लगायत प्राज्ञिक पृष्ठभूमि कमजोर रहेका विश्वका कयौं देशमा लेखिनुपर्ने इतिहास कमै लेखिएका छन्। कसैले लेखेर छाडेका भए पनि सत्ताधारीहरूले आफू प्रतिकूल हुने तथ्यहरू नष्ट पारिदिए। कदाचित् नष्ट नभई संग्रह र प्रकाशनसम्म पुगे पनि सम्बन्धित व्यक्तिहरूले पढेनन्।
पढ्दै नपढेपछि पहिलेका सही र गलत निर्णयका फेहरिस्त किन चाहियो? अनि किन नदोहोरियोस् गल्ती?
जो इतिहासको पात्र बन्न लालायित छ, उसले इतिहासको गल्ती नदोहोरियोस् भनेर सजग हुनुपर्छ। र, सजग हुन इतिहासको अध्ययन जरूरी छ। जसरी नयाँ खोजमा जुटेका वैज्ञानिकहरू पुराना खोज अध्ययन गरेर मात्र अगाडिको बाटो तय गर्छन्, राजनीतिक नेताहरूले पनि पुराना गल्तीबाट पाठ सिकेरै अगाडि बढ्ने हो।
सायद त्यसैले हो, राजनीतिशास्त्रलाई 'पोलिटिकल साइन्स' भनिएको। तर, हामीकहाँ पोलिटिक्स 'पोलिटिकल साइन्स' बन्नै सकेन। यसलाई साइन्स बनाउन, यसबारे जानकार र अध्ययनशील 'साइनटिस्ट' पनि त हुनुपर्यो!
यो भनिरहँदा मलाई सानो बेला सुनेको विज्ञानसम्बन्धी एउटा कथा याद आयो। तथ्य हो कि मिथ्य थाहा थिएन, तर रोचक लाग्थ्यो यो किस्सा।
हाम्रा एक जना गुरूले संसारको सबभन्दा खतरनाक विष 'पोटासियम साइनाइड' हो भनेका थिए। उनी भन्थे, 'यो पोटासियम साइनाइड भन्ने रसायनको स्वाद थाहा पाउन दुई जना वैज्ञानिकले ज्यान दिए।'
हामी उनको कुरा बढो चाख मानेर सुन्थ्यौं।
उनी अगाडि भन्थे, 'यो यति कडा छ, मुखमा राख्नेबित्तिकै मृत्यु हुन्छ। एक जना वैज्ञानिकले हातमा कागज-कलम लिएर पोटासियम साइनाइड जिब्रोमा छुवाएछन्। उनको तत्काल मृत्यु भएछ। उनले कागजमा 'एस' जस्तो अक्षर लेख्न मात्र भ्याएछन्। त्यसपछि खैलाबैला मच्चियो, किनकि 'एस' भनेको 'स्विट–गुलियो' पनि हुन सक्थ्यो, 'सल्टी–नुनिलो' वा 'सावर–अमिलो' पनि हुन सक्थ्यो।'
गुरूको मुखबाट यो किस्सा सुनेर हाम्रो पनि कौतूहल बढ्यो। सोध्यौं, 'अनि सर? त्यसपछि के भयो?'
'त्यसपछि अर्को वैज्ञानिक अघि बढे। उनी पनि त्यसरी नै हातमा कागज-कलम लिएर तयार भए। उनको काम थियो, 'एस' पछि दोस्रो अक्षर लेख्ने। उनले मुखमा साइनाइड राख्नेबित्तिकै 'ओ' लेखे र ढले। त्यस आधारमा साइनाइडको स्वाद एस...ओ बाट सुरू हुने 'सावर' अर्थात् अमिलो भनेर प्रमाणित भयो।'
हाम्रा गुरू यो सन्दर्भ जोडेर भन्थे, 'विज्ञान अध्ययन-अनुसन्धानको महत्व र फाइदा यही हो। फेरि-फेरि कसैले साइनाइडको स्वाद पत्ता लाउन त्यसलाई सेवन गर्नु पर्दैन। पहिले सेवन गरेर ज्यान दिएका दुई वैज्ञानिक 'सहिद' तुल्य छन्। फेरि पनि कसैले त्यसै गरे मुर्ख भनिने छ र उनीहरूको कदमलाई आत्महत्या।'
यो लकडाउन बेला मैले डायमण्ड शमशेर राणाको ऐतिहासिक उपन्यास 'सेतो बाघ' दोहोर्याएर पढेँ। खासमा पढेको होइन, अडियो बुक सुनेको। खगेन्द्र नेपालीको ओजिलो आवाजमा। यो उपन्यासमा जंगबहादुरको चित्रण जस्तो भए पनि उनलाई नेपाली इतिहासका सबभन्दा क्रुर प्रधानमन्त्रीका रूपमा लिइन्छ। कसैले उनलाई उदार, नयाँ नेपालका सूत्रधार पनि भन्लान्, तर त्यो इतिहासका पन्नामा बसेर गर्ने बहस हुन्।
जुन महत्त्वाकांक्षा र हिंस्रक शृंखलाका खुड्किला चढेर उनी प्रधानमन्त्री बने र आफ्नो परिवारको हित हुने गरी सत्ता कब्जा गरे, त्यही शृंखलाको फलस्वरूप उनी आफूले चिताएजस्तो पशुपति आर्यघाटमा मर्न पनि पाएनन्। काठमाडौंबाहिर रौतहटको एकान्तबासमा उनको ज्यान गयो। उनका जेठा छोरा र जेठा नाति त्यस्तै षड्यन्त्रको शिकार भए।
राणाकालीन इतिहासको यो अध्याय हाम्रा अहिलेका नेताका निम्ति ठूलो सबक बन्न सक्छ, उनीहरूले इतिहासको गल्ती नदोहोर्याउने हो भने। तर, हाम्रा नेता या अध्ययनै गर्दैनन्, या त बुझ्नै चाहँदैनन्। यो पनि हुनसक्छ, उनीहरू बुझेका कुरा पनि सत्तामा पुगेपछि सबै बिर्सन्छन्। वा, आफू ड्राइभिङ सिटमा बसेपछि बस पनि हवाईजहाजजस्तै उड्छ भन्ने भ्रम पो पलाउँछ कि!
मध्यकालमा सत्ताप्राप्तिका लागि गरिने रक्तपात अहिलेको कालमा कम सुनिन्छ। संसारका केही अप्रजातान्त्रिक देशमा बाहेक प्रजातान्त्रिक भनिने मुलुकहरूमा रक्तपातपूर्ण हिंसा बन्द भइसके। तर, याद गर्नुस्, रक्तपात बन्द भएको हो, हिंसा होइन।
व्यक्ति हत्याको सिलसिला बन्द भएको हो, तर चरित्र हत्याको क्रम जारी छ। कुनै व्यक्तिलाई आफ्नो बाटोबाट पन्छाउनुपरे साम-दाम प्रयोग गरेर चरित्र हत्या गर्नु राजनीतिको अभिन्न अस्त्र बनेको छ।
वर्तमानलाई इतिहाससँग दाँज्दा यस्तो लाग्छ, नेपालको राजनीति जंगबहादुरकै सेरोफेरोमा घुम्दै छ। मौका पाउनेबित्तिकै कांग्रेस र कम्युनिस्टहरूले खेल्ने खेल पनि डायमण्ड शमशेरको 'सेतो बाघ' को नयाँ संस्करण मात्र हो जस्तो लाग्छ। जहाँ समय र पात्र त फरक छन्, थिम र प्लट दुरूस्तै।
राणाभित्र शमशेर र जंग खलकरूपी विभाजन कांग्रेस-कम्युनिस्टमा पनि प्रस्टै देखिन्छ। प्रधानमन्त्रीका आकांक्षीहरू रोलक्रमवाला राणाजस्तै पालो ढुकेर बसेका छन्। अगाडिकोलाई छिर्के हानेर लडाउन पाए आफ्नो पालो पहिला आउला भनेर दाउ पनि हेर्दै छन्।
यी नेताहरू सबै भाइखलकलाई भाग पुर्याउन सहमत देखिन्छन्। नयाँ पुस्ताका आकांक्षीका लागि सम्भावनाको ढोका बन्द छ। यत्रो संघर्षपछि प्राप्त गणतन्त्र र देशको भविष्य दाउमा राखेर नेताहरू राजनीतिको फोहोरी खेलमा मग्न छन्। त्यो पनि यस्तो बेला, जब सारा विश्व कोरोना महामारीसँग जुधिरहेको छ।
यो घृणित खेलले क्षणिक लाभ भए पनि दीर्घकालीन हित गर्दैन भन्ने थाहा पाउन धेरै होइन, केही पुस्तक पढे पुग्छ।
जिन्दगीको उत्तरार्द्धमा कालो वर्णका सोमप्रसाद ब्राह्मणलाई गोरो देख्ने र जंगलमा सेतो बाघ देख्ने जंगबहादुरको मानसिक नियति प्रजातन्त्रपछिका धेरै दिवंगत नेताहरूले भोगे होलान्। मर्नुअघि ब्रह्मनालमा पछुताउनुभन्दा जिउँदो हुँदै आफ्नो काम र कदमबाट इतिहास रच्ने मौका धेरैले गुमाए। आफू त गए, देशलाई झन् अन्धकारमा धकेलेर गए।
नेताहरूले चाहने हो भने सही काम गरेर इतिहासको सुपात्र बन्ने मौका अझै छ नेपालमा। किनकि, हामीकहाँ प्रजातन्त, लोकतन्त्र, गणतन्त्र जे भने पनि जनताको तन्त्र संस्थागत हुन बाँकी छ। त्यो संस्थागत गराउने अभिभारा नेताहरूकै हो।
हुन त नेपालमा धेरै ऐतिहासिक घटना लेखिएकै छैनन्। तर, जति छन्, त्यतिले अहिलेका राजनीतिक खेलाडीहरूको चरित्र र नियत बुझ्न केही मद्दत पक्कै पुग्छ।
गत २०-३० वर्षमा प्रकाशित लेखरचना र किताबका पन्ना पल्टाउने हो भने पनि हामीले आफ्ना प्रधानमन्त्रीका आकांक्षीहरूको सकारात्मक र नकारात्मक चरित्र थाहा पाउन सक्छौं। यस क्रममा प्रकाशित राजनीतिकर्मी, कर्मचारी, सैनिक, प्रहरी, व्यापारीका आत्मकथा मात्र पढे पनि हाम्रा राजनीतिक पात्रका चरित्र चित्रण गर्न सहयोग हुन्छ। प्रहरीको स्केच आर्टिस्टले सुनेको भरमा बनाउने चोरको मुहारचित्र जस्तो। पूरा सफा नभए पनि चिन्नसम्म सकिने।
बजारमा उपलब्ध पुस्तकमा बिपीको 'जेल जर्नल', सुधीर शर्माको 'प्रयोगशाला' देखि अवकाशप्राप्त सेना प्रमुख रुक्मांगद कटवाल, अवकाशप्राप्त प्रहरी प्रमुख अच्युतकृष्ण खरेलका आत्मकथा र हालै प्रकाशित दुर्गा सुवेदीको 'विमान विद्रोह' र केआर खुम्बूको संस्मरणात्मक आत्मकथा 'छायाको लस्कर' ले हाम्रा अहिलेका नेताको विगत र वर्तमान बुझ्न सहयोग पुर्याउँछ।
अच्युतकृष्ण खरेलको आत्मकथा सार्वजनिक कार्यक्रममा राजनीतिशास्त्री तथा पुस्तक अध्येता हरि शर्माले भनेको म बारम्बार सम्झन्छु- 'म पुस्तक लेखियोस् र पढियोस् भन्ने सोचको मान्छे। इतिहासको कालखण्ड बाँचेका र भोगेकाले त झन् लेख्नुपर्छ भन्छु। आफ्नो कथा लेख्नु भनेको आफूले देखे-भोगेको कुरा आफ्नो दृष्टिकोणबाट बताउने हो। दृष्टिकोण सबैको एकै हुनुपर्छ भन्ने छैन। पोखराको महेन्द्रपुल बस्ने र नौडाँडा बस्नेले माछापुच्छ्रे हिमाल देखेजस्तै हो यो। महेन्द्रपुलबासीले माछापुच्छ्रेको एउटा मात्र चुचुरो देख्छ, नौडाँडाकाले दुइटा। उनीहरू दुवै गलत छैनन्। दुवैले देखेको हिमाल माछापुच्छ्रे नै हो। खाली उनीहरू उभिएको धरातल फरक हो।'
माथि उल्लिखित पुस्तकमध्ये दुर्गा सुवेदीको 'विमान विद्रोह' किन्न छुटेको रहेछ। लकडाउनमा पसल खुल्ने कुरै भएन। तर, पिर छैन, त्यो पुस्तक हालै 'थुप्रै डटकम' ले इ-बुकमा उपलब्ध गराएको छ। त्यतै किनेँ, फोनमै पढेँ। मान्छेले जमानाअनुसार सुविधा उपभोग गर्न जान्नुपर्छ।
जमाना कहाँ पुगिसक्यो, फेरि सम्झिन्छु हाम्रो प्रधानमन्त्रीको 'रोलक्रम' मा भएका नेताहरू र कल्पना गर्छु उनीहरू आफ्नो कथा छाप्न लेटर प्रेसमा अक्षर कम्पोज गर्न कर्मी खोजिरहेको अवस्था।
फेरि सोच्छु, मानिसको सोच समयअनुसार किन परिवर्तन हुँदैन?
फेरि सोच्छु, मानिसको सोच किन यति छिटो परिवर्तन हुन्छ?
क्रान्तिबाट उदाएका नेताहरूमा सत्तालिप्साको भूत चढेको देख्छु र नमज्जा मान्दै केआर खुम्बूको संस्मरण 'छायाको लस्कर' मा उल्लिखित त्यस बेलाका भूमिगत क्रान्तिकारी नेताले कालीचरण नाम राखेर लेखेको कविता 'होसियार' सम्झिन्छु।
होसियार होऔं साथीहरू!
हाम्रो लामो बाटो
टेढोमेढो र अनकन्टार छ
सीधा र कुप्रा तिखा–तिखा काँडाहरूले भरिएको छ
उपद्रयाहा जंगली जनावरहरू
आफूलाई सारा जंगलभरको राजा सम्झन्छन्
होसियार!
कहीँ तिनीहरूले खान नपाऊन्
र थकाइले निराश बनाउन नपाओस्
प्यासै प्यास लामा–लामा मरुभूमिहरू पार गर्नुछ
हुरी, आँधी, बादल झरीहरूमा
अग्ला–अग्ला हिउँले पुरिएका चिप्ला डाँडाहरूलाई पार गर्नुछ
होसियारीसाथ कदम चलाउनुपर्छ
थकाइ भोकतिर्खा, डरत्रास र निराशाहरू
यस यात्राका दुश्मन हुन्
यिनीहरूले हरेक पलपलमा
खतराको घन्टी बजाइरहेछन्!
होसियार होऔं!
आफ्ना पदहरूलाई राम्ररी टेक्दै
विचलित नभई हजारौं कठिनाइका पहाडहरूलाई पार गर्नुछ
दृढ होऔं!
अन्तिम लक्ष्यसम्म पुग्न
होसियार होऔं! साथी हो!!
होसियार होऔं!!!
– कालीचरण, विराटनगर (१४–४–२०३०)
यो कविता ४७ वर्षपछि कवि कालीचरण उर्फ हालका हाम्रा प्रधानमन्त्री खड्गप्रसाद (केपी) ओली र अहिले रोलक्रममा रहेका सबै नेतागणमा समर्पण गर्छु।
@KiranKrShrestha