बाल्यकालको धर्मसंकटः हामी सानो हुँदा मानिसलाई मात्रै नभई सारा प्राणी र बोटबिरूवालाई समेत माया गर्न सिकाइन्थ्यो। आमाबुवा र छिमेकीदेखि स्कुलका शिक्षक र पुस्तकसम्मले भन्थे- हिंसा गर्नु सबभन्दा खराब अपराध हो।
हामी आफैंमाथि कसैले कुटपिट वा हिंसा गर्यो भने हाम्रो चित्त दुख्थ्यो। पशुलाई पिट्यो भने तिनले बडो वेदनामिश्रित आवाज निकाल्थे। त्यसैले हिंसा गलत हो भनेर बुझ्न हामीलाई केही कठिनाइ थिएन।
तर बर्सेनिजस्तो जब घरमा भैंसी ब्याउँथ्यो, अपवाद बाहेकका वर्षमा नवजात पाडोलाई छिमेकी गाउँका मानिसलाई सुम्पिन्थ्यो। ती आएर पाडोलाई जुरुक्क घाँटीमा बोक्थे, दायाँ र बायाँ हातले दुई दुई खुट्टा समातेर लमक-लमक बाटो लाग्थे। चिल्लो र अझै आमाको पाठेघरको पानीमा लत्पतिएको त्यो अवोध पाडो माया लाग्दो स्वरमा कराउँदै ओझेल पर्थ्यो र फेरि कहिल्यै देखिँदैनथ्यो। कारण, एकैछिनमा उनीहरूले त्यसलाई काटकुट गरेर खान्थे।
बदलामा असारमा काम गर्न हामीकहाँ चार खेताला पठाइदिन्थे।
भैंसी ब्याएपछि घरमा बहारजस्तै आउँथ्यो। तर त्यो पाडोको नियति सम्झेर हामी केटाकेटीको मन अमिलो हुन्थ्यो। अनि पाडोलाई २४ घन्टा पनि बाँच्न नदिएर त्यसको भाग दूध खोसेर हामीले खाएका छौं भन्ने अपराधवोध पनि। हाम्रो बाला मनले यस्तो पनि कल्पना गर्न पुग्थ्यो- के भैंसीका बच्चा पनि मानिसका जस्तै होइनन्? मानिसका केटाकेटीका साथ यस्तै भइदिए के हुन्थ्यो?
हामीले सिक्दै गरेको नैतिकता भन्थ्यो- हिंसा गर्नु पाप हो। हामीले अवलम्बन गर्दै गरेको शैशवकालीन दर्शन भन्थ्यो- हिंसा गलत हो। तर यहाँ त हाम्रो खानपिन र पोषणको आधार नै निर्मम हिंसामा अडिएको थियो।
जब ब्याएपछि भैंसीले दिएको पहिलो बिगौतीका मगमग बसाउने कटौरा हातमा आइपुग्थे, हाम्रो आँत हरर्र हुन्थ्यो। अहिले जस्तो प्याकेटको दूध वर्षभर किनबेच हुने समय र समाज थिएन त्यो। भैंसी छ महिनामा थाक्यो भने छ महिनै दूधको अनुहार नदेखी बसेका हाम्रा लागि त्यो पाडोको सम्झना अब धुमिल हुँदै जान्थ्यो। हामी त्यस विषयमा फेरि भावुक हुन अर्को वर्ष कुर्नुपर्थ्यो।
तर अरू बेला पनि पशुहरूको नियतिसम्बन्धी चिन्तन हामी गरिरहन्थ्यौं। सधैंजसो हाम्रो निष्कर्ष हुन्थ्यो- अर्को जन्ममा पशु भएर जन्मिनुपर्यो भने गाई भएर जन्मन पाइयोस्। उसलाई कसैले काटेर खाँदैन, ब्याउनासाथ बाच्छोसित कसैले छुटाउँदैन, गोरुलाई झैं जोत्न जुवामा नार्दैन।
कोरोना युगको एउटा समाचारः
कोरोना महामारीको सुरूतिरको कुरा हो। नागरिक दैनिकको भित्री पृष्ठमा 'पासोमा आधा दर्जन गाईको कंकाल' शीर्षक समाचारले मेरो ध्यान तान्यो।
समाचार पढिसक्दा म कति ब्याकुल बनेँ भने, नचाहँदा नचाहँदै एउटा मानवद्वेषी सोचाइ आयो- महामारीले मानिस जातिलाई सखाप पारे पनि कम से कम यस्ता दर्दनाक समाचार त पढ्नु पर्दैनथ्यो नि!
समाचारसँगैको फोटोमा डडेल्धुराको पातलो जंगलका सल्लाजस्ता देखिने रूखहरूमा गाईगोरुका कंकाल झुन्डिएका देखिन्थे। केही कंकालमाथि छाला पनि बाँकी थियो। सबै कंकालका घाँटी नचुँडिने खालको तारले रूखमा बाँधिएका थिए।
प्रस्टै थियो, गाईगोरुले बालीनाली खाइदिएपछि मानिसहरूले तिनलाई मार्न नपाइने कानुन छल्न त्यहाँ लगेर बाँधिदिएका थिए। कैंयौं दिन वा हप्ता भोक प्यासले तड्पिएपछि ती पशु मारिएका थिए।
केही समयअगाडि पश्चिमकै एउटा पहाडी जिल्लामा ट्रकबाट भीरमा गुल्टाइएका गाईगोरुको वीभत्स समाचार आएको थियो। तराईबाट ढुवानी गरी गरी पहाडमा पुर्याएर मार्न खोजिएका ती पशुको भाग्य पनि त्यही कानुनसँग जोडिएको थियो।
भारतको केन्द्र र उत्तर प्रदेशमा हिन्दु उग्रवादी सरकार बने यता भारतमा पनि मानिस र गाईको सम्बन्ध यस्तै हुँदै आएको छ। गाईगोरुको किनबेच र ओसारपसार रोक्ने नाममा गौ-रक्षक भनिने अपराधीहरूले मानिसको ज्यान लिएका छन्। उता बाटोमा गाई भोकभोकै र प्लास्टिक खाएर पीडादायी रूपमा मरिरहेका छन्। नेपालगन्जबाट मार्न पहाड पठाइएका गाईगोरुमध्ये सायद कति त्यसैगरी भारतबाट यता कछेटिएका थिए।
मांसाहार र नैतिकताः
कल्पना गर्नुस्, गाडीबाट भीरमा लडाइनुअगाडि ढल्किँदै गरेको ट्रकको भुइँमा लड्खडाउँदै अडिइरहन कोशिस गरिरहेका गाईगोरुको मनस्थिति कस्तो थियो होला? अथवा भोक र प्यासले उठ्नै नसक्ने भएपछि डडेल्धुराको वनका गाईले कुनै मानिस आएर पानी दिइहाल्छ कि भनेर कति व्यग्रतापूर्वक टुलुटुलु यताउता हेरे होलान्?
शाकाहारी मानिसहरू पर्यावरणीय र वातावरणीय हिसाबले मांसाहारीभन्दा उच्च कोटिका हुन् भन्ने मलाई लाग्छ। कुनै बेला शाकाहारी हुँदा आफ्नो आहारबारे मलाई जति गौरव थियो, अहिले मांसाहारी हुँदा त्यस्तो गौरव छैन।
त्यसको अर्थ मांसाहारीहरू नैतिक रुपमा स्खलित हुन् भन्ने मलाई लाग्दैन। जंगलमा मांसाहारी जनावर नहुने हो भने शाकाहारी जनावर प्रजनन गर्दै यति बढ्छन् कि घाँस सिद्धिएपछि एकदिन ती भोक र कुपोषणले मर्छन्।
हाम्रै गाउँमा पनि बर्सेनि जन्मने पाडा पाल्दै जाने हो भने तिनलाई घाँस र कुँडो पुर्याउन सम्भवै थिएन। छिमेकी गाउँका मानिसले हामीले झैं पाडाको मासु नखाने भए तिनको कसरी व्यवस्थापन हुन्थ्यो, अनुमान लगाउन गाह्रो हुन्थ्यो।
त्यसैले मानिसले पशुहरूसित गर्ने व्यवहारमा एउटा थिति बसालेको छ। तिनलाई पाल्ने हो भने बाँचुञ्जेल बास र आहारसँगै ममता पनि देऊ, मासु, ऊन वा अन्य आवश्यकताका कारण मार्नुपर्यो भने न्युनतम पीडा हुने गरी मार।
तर आफ्ना कर्ममाथि कुनै अंकुश नभएको मानिस जातिले अहिले न घरपालुवा जनावरलाई ममतापूर्वक पाल्ने र न्युनतम पीडा दिएर मार्ने काम गरेको छ, न त जंगली जनावरलाई चैनले बाँच्न दिएको छ। छालाको रुप निखार्नदेखि यौन उत्तेजनासम्म बढाउन उसलाई लोप हुन लागेका जंगली जनावरका विभिन्न अंग आवश्यक परेको छ। खसी, कुखुरा वा माछाजस्ता पालेका जीवको स्वाद पुरानो हुँदै गएपछि उसलाई जंगलमा हुर्कने 'एक्जोटिक' जनावरको मासु खानु परेको छ।
पशु जगतको बदला
कुखुराले बर्डफ्लु, 'सिभेट'ले सार्स वा सालक वा चमेराले कोभिड–१९ गराउने सार्स–कोभ–टु जानाजान वा बदलाभावले मानिसलाई सारेका हैनन्। वास्तवमा पशु जगतमा मानव जगतमा झैं बदलाजस्ता तुच्छ अवधारणाहरूको अस्तित्व पनि छैन। प्राकृतिक नियमको सीमाभित्र ती जन्मिन्छन्, बढ्छन्, प्रजनन गर्छन् र मर्छन्।
तर जब प्रकृतिलाई जितेको तुजुकसहित मानिस बाँकी प्रजातिलाई उन्मुलनै गर्ने गरी दोहन गर्न निस्कन्छ, तब पशु जगतले नचाहेरै उसँग बदला लिन पुग्छ। परमाणु बमदेखि हाइड्रोजन बमसम्म बनाएको मानिस आज मंगल ग्रहमा यन्त्र पठाउन समेत सक्षम छ। तर पृथ्वीकै प्राकृतिक जगतमा यस्ता अनगिन्ती सुक्ष्म जीव छन् जसले मानव जातिलाई निर्मूल गर्ने सम्भावना बोकेका छन्।
केही महिना अघिसम्म यो कुरा धेरै मानिसलाई अविश्वसनीय लाग्न सक्थ्यो। तर अब कोरोना भाइरसले धेरै मानिसलाई नयाँ पाठ पढाइसकेको छ। एकाध 'म्युटेसन'का भरमा सार्स–कोभ–टु वा यस्तै भाइरसले मानिसमा २ प्रतिशतको सट्टा २० वा ६० प्रतिशतका दरले मान्छे मार्न सक्थ्यो। कोभिड–१९ को जस्तै फैलावट र उच्च मृत्युदर हुने एउटै भाइरस मानव सभ्यतालाई तहसनहस पार्न काफी हुन्थ्यो।
अहिले प्रकृतिमा त्यस्ता घातक सुक्ष्म जीव कति होलान्? भोलिका दिनमा आनुवांशिक संरचनाहरू परिवर्तन गर्दै त्यस्ता कति जीव बन्न सक्लान्? न हामीलाई अहिले यी प्रश्नको उत्तर थाहा छ, न भोलि थाहा हुनेछ। वास्तवमा प्राकृतिक संसार हामीले देखेभन्दा निकै ठूलो छ। र, त्यहाँ अनन्त सम्भावना छन्।
अब ती सम्भावनालाई मानिसको आहारसँग जोडेर हेरौं।
महँगा रेस्टुरेन्टमा गएर सालक वा यस्तै अरू जीवको स्वादिष्ट मासु मगाउने मानिसलाई त्यो बिछट्टको कमिला खाने जीव लोप हुन लागेको चिन्ता छैन। गाउँलेले जंगल गएर समाते। यता सहर पुगेर पिँजडामा भोकभोकै बस्दाका कैयौं दिनमा त्यो पशुले कति ताडना पाउँछ, त्यसको पनि कुनै लेखाजोखा छैन। प्रकृतिका यावत् जीवित वा निर्जीव वस्तु दोहन गरेर आफूले आनन्द लिनुलाई मानिसले आफ्नो अधिकार सम्झन्छ।
तर लोप भइहाल्नुअगाडि त्यो जीवले मानिससम्म एउटा घातक भाइरस सारिसकेको छ। परिणाम अब जगजाहेरै छ।
अन्तमा, मानिसले पशुप्रति क्रुर व्यवहार गर्ने कारण आहार आवश्यकता वा बालीनाली खाइदिने डर मात्रै हैन। अर्को मानिससँगको रिस पोख्न पनि मान्छेले पशुलाई असह्य यातना दिन्छ।
गोरखाको फुजेल गाउँबाट न्याय खोज्ने अपराधका लागि नन्दप्रसाद र गंगामाया अधिकारी लखेटिएपछि तिनका आफन्त गाईभैंसीको ज्यान जोगाउन गए। तर अधिकारी दम्पतीसित क्रुद्ध छिमेकीले ज्यानको धम्की दिएर तिनलाई लखेटे। पछि दाम्लामै कैयौं दिन भोक–प्यासले तड्पिएर ती चौपाया मरे। मानव सभ्यताका निशानी बनेका तिनका खप्पर र अस्थिपञ्जर केही वर्षअघिसम्म टाट्नामै थिए। आज पनि होलान् कि!
के अझै पनि तपाईंलाई लाग्छ, अनगिन्ती अवोध पशुहरूका तर्फबाट सार्स–कोभ–टु भाइरसले मानव जातिसँग बदला लिइदिनु गलत थियो?