म आज घरै बसेर काम गर्दैछु। काठमाडौंमा चिसो सकिएर न्यानो ह्वात्तै बढेको छ। चैतको सिरसिर हावाले गर्मी हुन दिएको छैन। मेरो घरछेउको बाँस झ्याङ हावामा झुत्ति खेल्दैछ। आकाश खुल्ला र निलो छ। अरू दिनभन्दा चराहरूको कल्याङमल्याङ धेरै सुनिँदैछ। बाँसको झ्याङ र बिजुलीका तारमा पनि चराहरू देखिँदै छन्।
सुनाकोठीबाट दक्षिणपूर्व गोदावरी र फुल्चोकी डाँडो गाढा हरियो देखिएको छ। सधैं यस्तै हरियो डाँडो र निलो आकाश देख्न पाए!
फेरि झल्याँस्स सम्झन्छु— यसमा त कोरोनाको पनि योगदान छ। सधैं कोरोनाको कहर त कसरी भोग्न सकिएला!
पछिल्लो पाँच दिनदेखि हामी 'लक-डाउन' मा छौं। मानिस र सवारी आवागमन निषेधित छ। यो ‘लक-डाउन’ आठ दिनमा सकिने छैन। दुई साता, तीन साता वा आवश्यक परे महिना दिनसम्म लम्बिन सक्छ।
हामीमध्ये कतिलाई झिँझलो लागिसक्यो। कतिका मनमा प्रश्न छन्- घरभित्र बस्दैमा कोरोना भाग्छ, समस्या सकिन्छ? कहिलेसम्म यसरी थुनिएर बस्ने?
हामी घरभित्र बसेनौं भने के हुन्छ, एकपटक हेरौं।
नेपालले अन्तर्राष्ट्रिय हवाई सेवा रोक्नुअघि विदेशबाट हजारौं नेपाली घर फर्किएका छन्। भाारतसँग सीमानाका बन्द गर्दागर्दै लाखौं नेपाली सीमा नाघेर घर आएका छन्। तीमध्ये कयौं कोरोना संक्रमित हुन सक्छन्।
नभुलौं, अहिलेसम्म संक्रमण देखिएका पाँचै जना विदेशबाट फर्किएका नेपाली हुन्। हामी घरभित्र बसेनौं, रगरग गरी डुलिराख्यौं भने के हुन्छ? संक्रमित व्यक्तिले अर्को व्यक्तिलाई रोग सार्छ। संक्रमण फैलिन सक्छ।
कति फैलिन्छ?
एकछिनलाई मानौं, चैत १ गते देशभित्र एक जना मात्र संक्रमित व्यक्ति आयो। उसले अर्को तीन दिन कम्तिमा एक जनालाई मात्र संक्रमण सार्छ भन्ने अनुमान गरौं।
यसरी तीन दिनमा संक्रमण दोब्बर हुने हिसाब मान्ने हो भने चैत ३ गते दुई जना संक्रमित हुने भए। चैत ६ मा चार जना। चैत ९ मा आठ जना। यस हिसाबले चैत ३१ सम्म १०२४ जना संक्रमित हुनेछन्।
त्यसपछि भने यो डरलाग्दो गतिमा बढ्नेछ। वैशाख ३ मा २०४८, वैशाख ६ मा ४०९६, वैशाख ९ मा ८१९२ र वैशाख १२ मा १६३८४।
यही गतिमा बढ्दै जाँदा वैशाख ३१ गते १० लाख ४८ हजार ५ सय ७६ जना संक्रमित हुनेछन्। र, जेठ १५ सम्म ३ करोड ३५ लाख।
अर्थात्, चैत १ मा एक जनाबाट सुरू संक्रमण जेठ १५ सम्म नेपालको जनसंख्याभन्दा धेरैमा फैलिन सक्ने रहेछ।
नेपालमा अहिले नै पाँच जनालाई संक्रमण पुष्टि भइसकेको छ। लक्षण नदेखिए पनि वा पुष्टि नभए पनि योभन्दा धेरैलाई संक्रमण भइसकेको छ भन्नेमा दुई मत छैन।
अब यति धेरै संक्रमित मानिसलाई बिनारोकतोक हिँड्न र भाइरस फैलाउन दिने हो भने नेपालको आधा जनसंख्यामा संक्रमण फैलिन कति पनि समय लाग्ने छैन। सरकारले त्यसैले लक-डाउन गर्नुपरेको हो, त्यसैले हामीले यसको पालना गर्नुको विकल्प छैन।
हामीले घरै बसेर कसरी रोक्छौं भाइरसलाई?
एकछिनलाई मानौं, हामीमध्ये पाँच हजार नेपालीलाई अहिले नै कोरोना संक्रमण भइसकेको छ। हामीले नियम कडाइसाथ मान्यौं र घरबाट निस्केनौं भने त्यो भाइरस संक्रमित व्यक्तिकै घरभित्र सीमित हुन्छ। परिवारका सदस्यलाई संक्रमण गर्ला तर समुदायमा जान्न। मानौं, परिवारका तीन वा पाँच सदस्यलाई संक्रमित गर्यो। जम्मा संक्रमित संख्या २५ हजार मात्र हुनेछ।
संक्रमित सबैलाई भाइरसले सखाप पार्ने होइन। कतिपयलाई कोरोना भाइरसले संक्रमण हुनेबित्तिकै मरिन्छ भन्ने डर पनि छ। झन्डै ८१ प्रतिशत संक्रमितलाई त सामान्य लक्षण मात्र देखिन्छ। उनीहरू आफैं घरमै बसेर निको हुन्छन्। १४ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ भने पाँच प्रतिशतलाई आइसियूमा राख्नुपर्ने हुनसक्छ। करिब तीन प्रतिशतको मृत्यु हुन्छ।
हामी घरमै बस्यौं भने थोरै संक्रमित हुनेछौं। संक्रमित भएकामध्ये २० प्रतिशतभन्दा कमलाई अस्पतालको सेवा चाहिनेछ। जति थोरै संक्रमित भयौं, त्यति नै हाम्रा अस्पतालको क्षमताले उपचार गर्न भ्याउँछ। एकैपटक धेरैमा संक्रमण हुँदा अमेरिका, इटालीजस्ता विकसित मुलुकका अस्पतालले नै बिरामी उपचार गर्न भ्याएका छैनन्, हाम्रा अस्पतालको त कल्पनै नगरौं।
हामी सात दिन मात्र घर बसेर पनि यो समस्या समाधान हुने छैन। किन?
एकछिनलाई मानौं, सरकारले सात दिनमा ‘लक-डाउन’ खोलिदियो। त्यसपछि के हुन्छ?
माथि भनेजस्तो घरभित्र थुनिएर बसेका हजारौं संक्रमित व्यक्ति एकैपटक समुदायमा आउनेछन्। कोही कार्यालयमा काम गर्न जालान्, कोही विद्यालय र कोही कारखाना। त्यसपछि तिनले नेपालको बाँकी जनसंख्यालाई छिट्टै संक्रमित गर्नेछन्।
त्यसैले यो ‘लक-डाउन’ बढाउनुपर्नेछ, ताकि घरभित्र ज-जसमा संक्रमण भएको छ, ती सबैमा लक्षण देखियोस्। धेरैमा १४ दिनभित्र लक्षण देखिसक्ने भए पनि कतिपयमा लक्षण देखिन २१ दिनसम्म लाग्न सक्छ। त्यसैले, कम्तिमा २१ दिन ‘लक-डाउन’ गर्नैपर्छ।
नागरिकको मुख्य जिम्मेवारी लक-डाउन पालना हो। यो समयमा सबभन्दा ठूलो भूमिका सरकारको छ। यो २१ दिन सरकार हात बाँधेर बस्न मिल्दैन। यी २१ दिनभित्र सरकारले गर्ने के हो?
सरकारले नागरिलाई भन्न सक्नुपर्यो— तपाईं वा परिवारका सदस्यलाई कोरोना संक्रमणका लक्षण जस्तै, सुख्खा खोकी, ज्वरो, जीउ गल्ने भएको छ भने हामीलाई फोन गर्नुहोस्। स्वास्थ्यकर्मी आएर तपाईंलाई जाँच्नेछन्। आवश्यक परे परीक्षणका लागि नमूना संकलन गर्नेछन्। संक्रमणको लक्षण देखिएका मानिसलाई आफैं अस्पताल आऊ भन्ने भए ‘लक-डाउन’ को के अर्थ? अनि ‘लक-डाउन’ मा अस्पताल आउने कसरी?
परीक्षणबाट संक्रमित भएकालाई सम्भव छ भने घरभित्रै अलग बस्न लगाउने। परिवारका अरू सदस्यलाई पनि बिरामीको सम्पर्कमा नआउन सचेत गराउने। थप सदस्यमा संक्रमण देखिए फेरि सम्बन्धित निकायमा खबर गर्न भन्ने।
घर साँघुरो छ, चर्पी एउटै छ, अरू परिवारलाई संक्रमणबाट जोगाउन मुश्किल छ भने सरकारले संक्रमित बिरामीलाई नजिकैको क्वारेन्टाइनका लागि बनाइएका ठाउँमा लैजाने। त्यहाँ बिरामीको अवस्था कस्तो हुन्छ निगरानी राख्ने। रोगले च्याप्यो र सास फेर्न गाह्रो भयो भने अस्पताल लैजाने। अक्सिजन दिने। हालत झनै बिग्रियो, श्वासप्रश्वास प्रणालीले काम गर्न नसक्ने अवस्था आइपर्यो भने आइसियूमा भर्ना गर्ने, भेन्टिलेटरमा राख्ने।
सर्सर्ती भन्दा, सरकारले गर्नुपर्ने काम वा मिलाउनुपर्ने व्यवस्थापन यत्ति हो।
यी सबै काम भन्न सजिलो, गर्न एकदमै गाह्रो हो। यति गर्न सजिलो भए विकसित देशका सरकारको किन बाह्र बज्थ्यो! त्यसमाथि हाम्रो सरकारले न्यूनतम तयारी नै पूरा गरेको छैन। आवश्यक रणनीति नै बनाएको छैन।
उदाहरणका लागि, घरमा बसेका कसैलाई संक्रमणको लक्षण देखियो भने त्यहाँ जाने स्वास्थ्यकर्मीको तयारी खोइ? उनीहरूका लागि सुरक्षा कवच खोइ? उनीहरूलाई सम्झाएर, बुझाएर, सुरक्षा, प्रोत्साहन र तालिम दिएर मनोवैज्ञानिक रूपमा तयार पारेको खोइ? सडक पुगेको ठाउँमा बिरामी लिन जान तयारी अवस्थामा एम्बुलेन्स र ड्राइभर खोइ?
अहिलेसम्म जे-जस्ता घटना भएका छन्, तिनको संकेत राम्रो छैन।
दाङबाट बिरामीको स्वाब लिएर काठमाडौं जान न कुनै एम्बुलेन्स माने, न कुनै स्वास्थ्यकर्मी। कार्यालय प्रमुख आफैं लिएर जान अघि सर्नुपर्यो। झापामा ज्वरो आएर अस्पताल गएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा स्वास्थ्यकर्मीले भित्रसमेत छिर्न दिएनन्।
राजधानीको एउटा निजी अस्पतालले कोरोना संक्रमित बिरामीलाई उपचार गर्ने तयारी गर्दा त्यहाँका धेरै स्वास्थ्यकर्मीले राजीनामाको घम्की दिए। धनगढी अस्पतालमा बसेका कोरोना संक्रमित बिरामीलाई शवगृहछेउ राखिएको छ। उनलाई कुनै स्वास्थ्यकर्मी वा कर्मचारीले सोधखोज गरेका छैनन्। कोही उनको नजिक गएका छैनन्। धन्न अहिलेसम्म उनको स्वास्थ्यमा थप समस्या आएको छैन।
कोरोनाविरूद्ध लडाइँमा स्वास्थ्यकर्मी 'फ्रन्टलाइन' का योद्धा हुन्। उनीहरूबिना यो लडाइँ जित्ने त के, सुरू नै हुने छैन। हामीले उनीहरूलाई धम्क्याएर यो लडाइँमा होम्न सक्ने छैनौं। उनीहरूको सुरक्षामा यथेष्ट ध्यान दिनैपर्छ। मास्क र पोसाक लगायत सुरक्षा कवच तयार गर्नैपर्छ। बिमा र प्रोत्साहन भत्ताको व्यवस्था गर्नैपर्छ। केही गरी दुर्घटना भएको खण्डमा परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नैपर्छ। त्यसपछि उनीहरू र उनीहरूका प्रतिनिधि संस्थासँग संवाद गर्ने, मनोवैज्ञानिक भरोसा दिने, तालिम दिने र ‘फिल्ड' मा ओर्लन तयार पार्ने हो।
सरकारले यी केही पनि तयारी नगर्ने, आफ्नो जिम्मेवारी निर्वाह नगर्ने अनि स्वास्थ्यकर्मी, डाक्टर र निजी अस्पताललाई गाली गरेर, धारे हात लगाएर समस्या समाधान हुन्छ भन्ठानेको हो भने त्यसले दुर्घटना मात्र निम्याउने छ। स्वास्थ्यकर्मीसँगको संवाद र तयारीमा ढिलाइ भइसकेको छ।
यो लडाइँमा अर्को महत्वपूर्ण पाटो हो— लक्षण देखिएका बिरामीको स्वाब परीक्षण। अहिले नै देशभरि जतिमा कोरोनाको लक्षण देखिन्छ, तिनको स्वाब तुरुन्तै परीक्षण गर्नु जरुरी छ।
तर अहिलेसम्म स्वाब परीक्षण गर्ने हाम्रो क्षमता के छ?
टेकुस्थित राष्ट्रिय प्रयोगशालाले दिनमा छ सय जनाको स्वाब परीक्षण गर्न सक्ने भने पनि मुश्किलले ४०-५० जनाको परीक्षण गरिरहेको छ। त्यहाँ जनशक्तिको कमी छ, परीक्षण गर्न चाहिने 'रिएजेन्ट किट' को कमी छ। कतिसम्म हेलचेक्र्याइँ होला, हामी अहिलेसम्म आवश्यक किट पनि खरिद नगरी बसेछौं!
यिनै कारणले यथेष्ट मात्रामा स्वाब परीक्षण हुन सकेको छैन। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजदेखि दैनिक १५ जनाको स्वाब परीक्षण सुरू गर्ने बताएको छ। लक-डाउन अवधिमा देशभर देखिएका संक्रमितको परीक्षण गर्न र उपचार गर्न सकेनौं भने हामीले सारा जनजीवन ठप्प पारेको खेर जानेछ।
हामीले व्यापक रूपमा परीक्षण गरेर बिरामी छुट्यायौं भने त्यसपछि घरमा छुट्टै बस्न सक्नेलाई घरमै, नसक्नेलाई ‘क्वारेन्टाइन’ का लागि तयार पारिएका ठाउँमा लगेर राख्न सक्नुपर्छ। त्यसपछि संक्रमितहरू सिकिस्त र सास फेर्न गाह्रो हुन थालेपछि अस्पतालमा भर्ना गर्ने बेड तयारी अवस्थामा राख्नुपर्यो। त्यसपछि पनि अवस्था बिग्रियो र श्वासप्रश्वास प्रणाली नै फेल हुने अवस्था आयो भने आइसियूमा लगेर भेन्टिलेटरमा राख्नुपर्यो।
अहिलेसम्म कति अस्पतालमा, कति बेड हामीले तयार गरेका छौं? नगन्य। कति भेन्टिलेटर तयार छन्? झनै कम।
सामान्य अवस्थामै हाम्रा अस्पतालमा भेन्टिलेटर पुगेको हुँदैन भने कोरोनाका बिरामी ह्वात्तै बढेको अवस्थामा ती भेन्टिलेटर हात्तीको मुखमा जिरासरह हुनेछन्।
यो परिस्थिति सामना गर्न सरकारले धेरैअघि तयारी सुरू गर्नुपर्थ्यो। हामीसँग समय पनि थियो। चीनमा संक्रमण देखिएको तीन महिनाअघि हो। त्यो हाम्रोमा पनि ढिलोचाँडो आउँछ भन्ने प्रस्टै थियो।
पहिलो नेपालीमा संक्रमण देखिएको नै जनवरी २४* मा हो। त्यो बेलासम्म यो संक्रमण चीनबाहिर फैलिने क्रम सुरू भइसकेको थियो। चीनबाहिर संक्रमण भएको नेपाल सातौं मुलुक थियो। हामीले त्यति नै बेला तयारी सुरू गर्नुपर्ने थियो।
तर हाम्रो राजनीतिक नेतृत्व त्यो बेला अर्कै महत्वपूर्ण काममा अल्झेको थियो— पार्टीभित्रको आन्तरिक झगडामा चुर्लुम्म डुबेको थियो।
सभामुखको विषयलाई लिएर सत्तासीन पार्टीभित्र ठूलो खिचातानी भयो। प्रधानमन्त्री केपी ओली नजिकका नेता सभामुख बन्ने कि पूर्वमाओवादी नेता सभामुख बन्ने भन्नेमा लामो रस्साकसी चल्यो। अन्तत: माघ १२ गते अग्नीप्रसाद सापकोटा सभामुख बने।
त्यसले पार्टीभित्रको शक्ति संघर्ष साम्य पारेन, झनै चर्कायो।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एकातिर उभिँदा पार्टीभित्रको शक्ति सन्तुलन गडबड भयो। प्रधानमन्त्री अल्पमतमा परे।
अमेरिकाले दिने एमसिसीअन्तर्गतको ५० अर्ब रूपैयाँ अनुदान संसदबाट चाँडै अनुमोदन गर्ने प्रधानमन्त्रीको इच्छाविपरीत झनै गिजोलियो। बिनासंशोधन प्रतिवेदन पास हुन नसक्ने प्रतिवेदन कार्यदलले दिएर प्रधानमन्त्रीलाई थप अप्ठ्यारोमा पार्यो।
त्यसपछि आयो वामदेव प्रकरण।
उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गरेर राष्ट्रिय सभामा लैजाने प्रस्ताव फागुन १० गतेको पार्टी सचिवालय बैठकमा पेस भयो। त्यसले पार्टीभित्रको शक्ति संघर्ष उत्कर्षमा पुर्यायो।
धन्न प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्न फागुन १९ गते अस्पताल भर्ना हुने निर्णय सुनाएपछि पार्टीभित्रको झगडा केही समय थन्को लाग्यो। नत्र अहिलेसम्म त्यसको विद्रुप रूप देखिइसक्थ्यो।
अस्पताल जानु एक दिनअघि प्रधानमन्त्री ओलीले फागुन १८ गते उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोनाविरूद्ध तयारी गर्न उच्चस्तरीय समिति गठन गरे। त्यसपछि मात्र यो समितिले काम गर्न थालेको हो।
यथार्थ ग्रहण गर्न सक्ने, त्यसअनुसार विश्लेषण गर्ने, रणनीति तयार पार्ने र काम फच्चे गर्ने हाम्रो राष्ट्रिय क्षमता यसै कमजोर छ। त्यसैले समिति बनेपछि पनि द्रुत गतिमा काम गर्न सकेन।
तर हिजोसम्म जे भयो, भयो। कसैलाई त्यसको दोष थोपरेर मुलुकले पार पाउने छैन। आज जे छ, त्यहाँबाट स्थितिलाई सकेसम्म सम्हालेर अघि बढ्ने हो। कोरोनासँग लड्न अत्यावश्यक केही स्वास्थ्य सामग्री चीनबाट आइपुगेका छन्। सरकारले पारदर्शी रूपमा हामीले के-के खरिद गरेका छौं? कति खरिद गरेका छौं? सार्वजनिक रूपमा जानकारी गराउनुपर्छ।
अब थप खरिद गर्ने समय छ। आवश्यक परे हामी फेरि पनि चीनबाट ती समान खरिद गर्छौं भनेर भन्नुपर्छ। त्यसले मुलुकवासी र विशेषगरी स्वास्थ्यकर्मीको मनोबल बढाउनेछ।
डाक्टर, नर्स र स्वास्थ्यकर्मीले पनि हिजोजस्तो अर्घेल्याइँ गर्न भएन। शंकास्पद संक्रमित बिरामी, अस्पतालको वार्डमा बसेका बिरामी र संक्रमणले गाँजेर आइसियूमा बसेका बिरामीले स्वास्थ्यकर्मीलाई सार्न सक्ने संक्रमणको सम्भावना फरक-फरक हुन्छ भन्ने अध्ययनले देखाएका छन्।
आफ्नो सुरक्षाको प्रत्याभूति पक्कै माग्नुपर्छ, त्यो तपाईंहरूको अधिकार हो। तर, संसारभर स्वास्थ्य सामग्री अभावमा डाक्टर, नर्सहरूले काम गरिरहेका बेला हामीले अनावश्यक अर्घेल्याइँ त गरेका छैनौं भनेर पनि एकपटक सोचौं।
चीनबाट अत्यावश्यक मास्क, पिपिई, काठमाडौंबाहिर स्वाब परीक्षण गर्ने पिसिआर मेसिन, टेकुस्थित केन्द्रीय प्रयोगशालाका लागि आवश्यक सामग्री लगायत आइसकेका छन्। अब पनि हामीले संक्रमणको लक्षण देखिइसकेकालाई परीक्षण गर्न सकेनौं भने, उनीहरूको थप उपचारको व्यवस्था गर्न सकेनौं भने, अहिलेसम्मको सबै तयारी खेर जान्छ।
आजै मात्र बुटवलमा कोरोना संक्रमण क्याम्पमा बसेका एक युवाको मृत्यु भएको छ। उनको स्वाब परीक्षणको नतिजा अहिलेसम्म आएको छैन। त्यसैले उनको मृत्युको कारण पुष्टि भएको छैन। उनको श्वासप्रश्वासमा कठिनाइ आइसक्दा पनि उनलाई अस्पताल पुर्याउन सकिएन। भेन्टिलेटरमा राख्न सकिएन।
यसलाई एउटा पाठ मानेर भोलिका लागि तयारी गर्न सकेनौं भने हामीले दु:ख गरेर भोगेको ‘लक-डाउन' खेर जान्छ, आजसम्मको तयारी खेर जान्छ, किनेका सामग्री खेर जान्छन्। हामीले यो अवधि सदुपयोग गर्न सकेनौं भने लक-डाउन सकिएपछि संक्रमित व्यक्तिहरू समुदायमा जाँदा संक्रमण भयावह रूपमा फैलिन्छ।
सरकारले सबभन्दा पहिले सार्वजनिक आह्वानमार्फत् र वडा तहका राजनीतिक नेतृत्व परिचालन गरेर संक्रमितको सूचना आउने संयन्त्र तयार पार्नुपर्यो। त्यो सूचना आउनेबित्तिकै स्वास्थ्यकर्मी पुग्ने वा बिरामी परीक्षण गर्ने, आवश्यक परे नजिकैको क्वारेन्टाइन सेन्टरदेखि अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाउनुपर्यो। अहिलेको पाराले भने हामीले कोरोनाविरूद्ध लडाइँ जित्ने छैनौं।
कतिले तर्क गर्छन्— यो सबै सम्भव कुरा होइन। सुदूरपश्चिममा भारतबाट आएका कैयन व्यक्ति संक्रमित छन्। उनीहरू दुरदराजका गाउँ पुगिसके। उनीहरू बिरामी परे कुन स्वास्थ्यकर्मी त्यहाँ पुग्ने, उनीहरूलाई कहाँ ल्याएर उपचार गर्ने? कसरी ल्याउने? देशमा लाखौं मानिस संक्रमित भए हाम्रो सिस्टमले कसरी धान्छ?
त्यो अवस्था हामी धान्न सक्दैनौं भन्ने सामान्य ज्ञान भएका मानिसलाई पनि थाहा छ। अमेरिकालाई धान्न गाह्रो भाएको छ, इटालीको बाह्र बजेको छ भन्ने सामान्य मानिसले पनि समाचार सुनेर, पढेर बुझिसके। त्यसो भन्दैमा राज्यले अहिले नै हात उठाउन, लत्तो छाड्न मिल्दैन।
हामीलाई अहिले पनि कति जना संक्रमित छन् भन्ने थाहा छैन। यस्तो पनि हुनसक्छ— संक्रमितको संख्या धेरै छ, तर हामीले परीक्षण नै गर्न नसक्ने गरी छैन। यस्तो पनि त हुनसक्छ— भोलि अस्पताल भर्ना गर्नुपर्ने बिरामी संख्या हाम्रो अस्पतालले धान्ने गरी छ। यस्तो पनि त हुनसक्छ— अरू देशमा जस्तो भेन्टिलेटर नपाएर नेपाली मर्ने छैनन्। वा, यस्तो पनि हुन सक्छ, अन्य देशको भन्दा हाम्रो स्थिति नाजुक हुनेछ।
कतिपय वैज्ञानिकले भनेजस्तो पनि हुन सक्छ— कोरोना भाइरसले संसारभरका ६०-७० प्रतिशत जनसंख्यालाई संक्रमित पार्नेछ। त्यसपछि मात्र मानिसको ‘हर्ड इम्युनिटी’ (सामूहिक प्रतिरोधी क्षमता) बढ्नेछ र भाइरस विस्तारै निस्प्रभावी हुनेछ। त्यो बेलासम्म संसारभर लाखौं वा करोडौं मानिस मरिसकेका हुनेछन्।
कोरोनाको खतरा सकिँदासम्म संसार कस्तो हुन्छ हामीलाई थाहा छैन। कसैलाई पनि थाहा छैन। त्यसो भन्दैमा सरकारले लत्तो छाड्न मिल्दैन। हामी नागरिकले पनि काल आउनुअघि खुट्टा तन्काउन मिल्दैन।
आफ्नो क्षमताले भ्याएसम्म राज्यले गर्यो कि गरेन, समय घर्कायो कि घर्काएन वा थोरै कल्पनाशीलता प्रदर्शन गर्यो कि गरेन भन्नेमा सरकारको परख हुनेछ।
कोरोनाविरूद्ध लडाइँमा सरकारभन्दा ठूलो भूमिका हामी आमनागरिककै छ। हामी जति घर बस्छौं, जति कम संक्रमित हुन्छौं, संक्रमित भएकाहरूबाट आफूमा नसरोस् भनेर जति होसियार हुन्छौं, संक्रमितहरूको खबर जति चाँडो राज्यका निकायमा पुर्याउँछौं, त्यति नै प्रभावकारी रूपमा राज्यले काम गर्न सक्नेछ। त्यति नै प्रभावकारी रूपमा अस्पताल, डाक्टर, नर्स र स्वास्थ्यकर्मीले काम गर्न सक्नेछन्। त्यति नै चाँडो यो महामारीबाट देशले मुक्ति पाउनेछ।
त्यसैले हामीले परिवारमा, घरटोलमा, समुदायमा छलफल गर्नुपर्यो। घरै बस्नु किन जरुरी छ भनेर मानिसलाई सम्झाउनुपर्यो। बाहिर गएर घुलमिल गर्दा आउनसक्ने खतराबारे बुझाउनुपर्यो। आफैं घर बस्नुपर्यो। त्यति भए नागरिकको जिम्मेवारी पूरा हुन्छ।
म ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा बस्छु। हाम्रो समुदायमा कोरोनाविरूद्ध कसरी सचेत हुने र लड्ने भनेर छलफल भयो। त्यसपछि सिभिल होम्स आवासीय समाजले कोलोनीवासीका लागि एउटा आकर्षक नारा तयार गर्यो— 'कोरोना आफैं आउँदैन। लिन घरबाहिर नजाऔं।'
आशा छ, तपाईंले पनि नाराको मर्म बुझ्नुभयो होला!
समुदायको सुझाव म पनि मान्नेछु। आउने केही दिन वा धेरै दिन घरभित्रै बसेर काम गर्नेछु। बेलाबेला बाहिर निस्किएर निलो आकाश, हरियो डाँडो र झुत्ति खेलिरहेको बासँको झ्याङ हेर्नेछु। चराहरूको कल्याङमल्याङ सुन्नेछु।
र, फेरि काम गर्न घरभित्र छिर्नेछु।
*सच्याइएको