कोभिड–१९ को आतंक चलिरहेको समयमा भाइरसजन्य महामारीको अनन्त सम्भावनाबारे लेखेर त्रास थप्ने मेरो आसय हैन। तर विडम्बना के छ भने, महामारी आतंक कम हुनासाथ भावी महामारीविरुद्ध लड्ने हाम्रो प्रण हिउँदमा दिनभर घाम ताप्दै घर बनाउन बिर्सने छेपारोको कथाजस्तै बन्छ। त्यसैले महामारीबारे बुझ्ने, बुझाउने र सचेतना बढाउने उपयुक्त समय यही हो।
अहिलेको समयमा सही सूचना प्रवाहका दुईखाले अवरोध निस्तेज पार्न पनि विज्ञान र तथ्यमा आधारित सामग्री लेखिन र पढिन जरुरी छ।
एक, तत्कालको सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जालमा फैलाइने अफवाह, जसले अनावश्यक रूपमा मानिसको ज्यानै जाने डर हुन्छ।
दुई, महामारी मौकामा निहीत राजनीतिक वा सामरिक स्वार्थ पूरा गर्न तथ्य तोडमोड गरेर पानी धमिल्याउने प्रवृत्ति। जस्तो, चीनको विदेश मन्त्रालयका एक अधिकारीले वुहानमा अमेरिकी सेनाले कोरोना भाइरस ल्याएको हुन सक्ने ट्वीट गरे। त्यसको केही दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई 'चाइनिज भाइरस' भने।
महामारीको विज्ञान
सबभन्दा पहिला कोरोना भाइरसकै बारे कुरा गरूँ।
सन् २०१७ मा 'भाइरस इभोलुसन' जर्नलमा प्रकाशित अध्ययनअनुसार चमेराका विभिन्न प्रजातिमा ३,२०४ थरि कोरोना भाइरस छन्। 'साइन्टिफिक अमेरिकन' मा प्रकाशित अर्को लेखअनुसार चमेराबाट सरेर मानिसमा महामारी फैलाउने कोरोना भाइरस मात्र होइनन्। कोभिड–१ फैलाउने 'सार्स–कोभ–२' भाइरससँगै १९९४ को हेन्ड्रा भाइरस, १९९८ को निपाह भाइरस, २००२ को सार्स, २०१२ को मर्स र २०१४ को इबोला गराउने सबै भाइरसको भण्डार चमेरामै भेटिएको थियो।
तीमध्ये सार्स, मर्स र सार्स–कोभ–२ कोरोना भाइरस परिवारका हुन् भने हेन्ड्रा र निपाह प्यारामिक्सो भाइरस परिवारका। इबोला भाइरस चाहिँ फाइलो भाइरस नामक अलग्गै परिवारको हो।
यस्ता महामारीको स्रोत पत्ता लगाउनु वैज्ञानिकका लागि पनि सजिलो छैन। वुहानमा अचानक देखापरेको सार्स–कोभ–२ को स्रोत चमेरा भनेर पत्ता लगाउने प्रक्रियाले जटिलता प्रस्ट पार्छ।
महामारी देखिइसकेपछि अध्ययन थालेको अवस्थामा भाइरसको भण्डारबारे यति छिटो पत्ता लगाउनु असम्भव हुन्थ्यो। तर सन् २००३ मा सार्स देखिएयता वैज्ञानिकहरूले १६ वर्षसम्म गरेको अध्ययनबाट मात्र त्यो काम सम्भव भएको हो।
'साइन्टिफिक अमेरिकन' मा प्रकाशित जेन किउको लेखअनुसार चीनकी 'ब्याट वुमन' भनिने भाइरोलोजिस्ट शि झेङली लगायतको अन्तर्राष्ट्रिय टोलीले सन् २००४ मा चीनको गुवाङसी प्रान्तका गुफाहरूमा चमेराको अध्ययन सुरू गरेको हो। अध्ययनको उद्देश्य थियो, २००३ मा सार्स गराउने कोरोना भाइरसको स्रोत खोज्नु, जुन चीनको ग्वाङडोङमा 'सिभेट्स' भनिने जंगली जनावरबाट मानिसमा सरेको मानिएको थियो।
त्यसअघि हेन्ड्रा भाइरस चमेराबाट घोडा हुँदै र निपाह भाइरस चमेराबाट सुँगुर हुँदै मानिसमा सरेकाले सिभेटमा पनि सार्स भाइरस चमेराबाटै सरेको हुन सक्ने अनुमान थियो।
उनीहरूको वर्षौंको अध्ययनको नतिजा- चीनका गुफाका चमेरामा कोरोना भाइरसका सयौं प्रजाति छन्। तीमध्ये अधिकांश मानिसका लागि हानिकारक छैनन्। तर दर्जनौं सार्स भाइरससित मिल्दाजुल्दा छन्, जसले मानव फोक्सोका कोषलाई संक्रमित गर्छन्, मुसामा सार्सजस्तै रोग लगाउँछन्। तर सार्सका लागि काम गर्ने औषधि र भ्याक्सिनले नियन्त्रण हुँदैनन्।
अध्ययन सुरू भएको नौ वर्षपछि सन् २०१३ मा शिटोउ नामक ठाउँका गुफामा यस्तो कोरोना भाइरस देखा पर्यो जसको आनुवांशिक संरचना ग्वाङडोङका सिभेटमा पाइएका भाइरससँग ९७ प्रतिशत मिल्थ्यो।
अध्ययनपछि शिलगायत वैज्ञानिकहरूले चेतावनी दिए- विभिन्न भाइरसबीचको निरन्तर मिश्रणका कारण नयाँ र खतरनाक भाइरस सिर्जना हुने ठूलो मौका ती गुफामा छ।
त्यस्तो भाइरस मानिसमा पुग्न वन्यजन्तुको व्यापार अनिवार्य पनि छैन। शिकै टोलीले सन् २०१५ मा शिटोउ गुफानजिकै गाउँका २०० मानिसमा अध्ययन गर्दा ६ जना अर्थात् ३ प्रतिशतमा चमेरामा पाइने सार्सजस्तै भाइरसविरुद्ध बनेका 'एन्टिबडी' फेला परेका थिए।
त्यसको तीन वर्षअगाडि युनान प्रान्तको मोजियाङमा छ जना खानीका कामदारमा निमोनिया भएर दुई जना मरेपछि शिको टोली अध्ययनका लागि त्यहाँ पुगेको थियो। वर्ष दिनको अध्ययनपछि एउटै गुफामा चमेराका छ प्रजातिमा कोरोना भाइरसका विविध प्रजाति फेला परेका थिए। तीमध्ये धेरै चमेराको शरीरमा बहुप्रजातिका भाइरस एकसाथ रहेकाले तिनलाई भाइरसका चलायमान कारखाना मानिएको थियो।
शि झेङली लगायत २९ जना लेखकले यही फेब्रुअरी ३ मा 'नेचर' पत्रिकामा प्रकाशित आलेखअनुसार वुहानमा सुरू भएको सार्स–कोभ–२ (जसलाई त्यतिखेर २०१९–एनकोभ वा नोवेल कोरोना भाइरस भनिन्थ्यो) को आनुवांशिक संरचना २००३ मा सार्स गराउने सार्स–कोभसँग ७९.६ प्रतिशत मिल्छ। त्यस्तै उनीहरूले पहिल्यै युनान प्रान्तमा चमेरामा पत्ता लगाइसकेको कोरोना भाइरस (ब्याटकोभ आरएटीजी १३) सँग ९६.२ प्रतिशत मिल्छ।
अर्थात् गुफाका चमेरामा रहेका हजारौं प्रकारका कोरोना भाइरसमध्ये एउटा मानिसका लागि घातक भाइरस मासुका लागि बेचिने कुनै अर्को जीव हुँदै मानिसमा सर्न सफल भयो।
महामारीको अर्थशास्त्र
पशुजन्य स्रोतबाट भित्रिने यस्ता महामारीले भविष्यका लागि कस्तो त्रास सिर्जना गरेका छन् भने कोभिड–१९ फैलिएसँगै चीनले यही फेब्रुअरी २४ मा वन्यजन्तुको व्यापार सदाका लागि बन्द गरिदिएको छ। त्यसको अर्थ १.४ करोड मानिसलाई रोजगारी दिने ७८ अर्ब अमेरिकी डलरको आर्थिक गतिविधि ठप्प पार्नु हो।
मानिसको ज्यानको तुलनामा त्यो आर्थिक क्षति केही पनि हैन भन्न सकिन्छ।
विज्ञहरूको चिन्ता अर्कै छ- वन्यजन्तुको उपभोगसम्बन्धी परम्परागत बुझाइ नबदली र वैकल्पिक रोजगारी नदिई त्यस्ता कदम चाल्नाले त्यस खालको शिकार र व्यापार अवैध वा भूमिगत व्यवसाय बनेर फस्टाउन सक्छ। त्यसो हुँदा ती भाइरसको स्रोत पत्ता लगाउन झनै कठिन हुन्छ।
महामारी देखिएपछि पहिलो दुई महिना चीनमा निर्माण कार्य ठप्प जस्तै भयो। अब नियन्त्रणमा आएर निर्माण सुरू हुँदैछ। तर उपभोग्य सामग्रीको निर्यात बजार ठप्पजस्तै छ।
साउथ चाइना मर्निङ पोस्टमा दुई स्तम्भकार लेख्छन्ः धेरैजसो अर्थशास्त्रीको आकलनअनुसार सन् १९७६ मा माओको सांस्कृतिक क्रान्ति टुंगिएयता पहिलोपल्ट कुनै त्रैमासिक अवधिमा चीनको अर्थतन्त्र खुम्चिँदैछ।
यही मार्च १६ मा प्रकाशित तथ्यांकअनुसार चीनको औपचारिक बेरोजगारी ५.२ बाट बढेर ६.२ प्रतिशत पुगेको छ। यसको अर्थ ५० लाख रोजगारी गुम्नु हो। त्यो ६.२ प्रतिशतको आँकडामा पनि 'लकडाउन'का कारण काममा फर्कन नसकेका कामदार गनिएका छैनन्।
अब लागौं महामारीका नयाँ 'इपिसेन्टर'मध्येको एक अमेरिकातिर।
भक्स मिडियाका लागि एज्रा क्लेनको लेखमा मुडीज एनालिटिक्सका मार्क ज्याण्डीले अमेरिकी अर्थतन्त्रको भविष्यबारे अर्थपूर्ण प्रक्षेपण गरेका छन्।
अमेरिकी अर्थतन्त्रले महामारीका कारण भोग्ने परिणामलाई उनले चार चरणमा बाँडेका छन्, जुनमध्ये एउटाले अर्को चरण जन्माउँछन्।
पहिलो, महामारी रोकथामका लागि सिर्जना गरिएका अवरोधका कारण आर्थिक गतिविधिमा लागेको अचानक धक्का। परिणाम- यही मार्च २० मा गोल्डम्यान स्याक्सले गरेको प्रक्षेपणअनुसार अमेरिकी अर्थतन्त्र यो वर्षको दोस्रो त्रैमासिकमा २४ प्रतिशतले खुम्चिनेछ।
त्यस्तो संकुचनका कारण सिर्जना हुने तीव्र बेरोजगारी त्यस्तो प्रभावको दोस्रो चरण हो। अमेरिकामा सन् १९६७ यता भएका अनेक आर्थिक मन्दीमा बेरोजगारी बीमा दाबी गर्ने दर ७ लाख व्यक्ति प्रतिसातासम्म पुगेको थियो। यसपटक त्यो दर आकाशिएर ३३ लाख पुगेको छ।
मार्च २२ मा अमेरिकी रिजर्ब बैंकका प्रमुखले भनेअनुसार अमेरिकाको बेरोजगारी दर ३० प्रतिशतसम्म पुग्न सक्छ र कुल गार्हस्थ्य उत्पादन ५० प्रतिशत घट्न सक्छ।
तेस्रो चरणमा जीवनभरको कमाइ वा बचत गुमाएकाले खर्च न्यूनीकरण गर्नेछन्। सेवाबाट अवकाश लिने सोचेकाहरू जीवन धान्न कामकै खोजीमा रहनेछन् र रोजगारीको खोसाखोस बढ्नेछ। घर र कारको बिक्री कम भएसँगै निर्माण र उद्योग क्षेत्रको शिथिलता कायम रहनेछ। भ्रमण योजना रद्द भएसँगै पर्यटनलगायत सेवा क्षेत्र फेरि बौरिन सक्ने छैनन्। भाइरसको प्रकोप हराइसकेको लामो समयसम्म यो चरणको प्रभाव रहिरहनेछ।
चौथो तथा अन्तिम चरणमा मानिसले यी सबै कारणले व्यवसायमा लगानी कटौती गर्नेछन्। व्यवसाय विस्तार वा नयाँ शाखा खोल्ने क्रम रोकिनेछ। थप लगानी रोकिएसँगै नयाँ रोजगारी पनि ठप्प हुनेछन्।
यो परिप्रेक्ष्यमा नेपाल पनि महामारीका यस्ता आर्थिक दुष्प्रभावबाट जोगिने सम्भावना छैन। तर हाम्रो अर्थतन्त्रमा महामारीको आघात ठ्याक्कै कति पर्ला भन्ने अझै यकिन छैन।
मानिलिऔं हामीले अरू कयौं देशमा झैं संक्रमणको तीव्र फैलावट हुन नदिई लकडाउन अवधि न्यूनतम राख्न सक्यौं। त्यो अवस्थामा पनि दुई दीर्घकालीन आर्थिक चुनौती हामीसामू हुनेछन्।
एक, खास गरी कोभिड–१९ को यो महामारीपछि विश्व पर्यटन बजार स्थायी संकुचनतिर जाने प्रवल सम्भावना छ। यो भाइरसका महामारी मौसमी रुपमा देखा परिरहे र छिट्टै प्रभावकारी खोप विकास भएन भने त्यो संकुचन निकै तीव्र हुनेछ।
त्यो अवस्थामा हाम्रो भावी विकासको मुख्य आधार मानिएको पर्यटन उद्योग गम्भीर जोखिममा हुनेछ।
दुई, विश्वव्यापी मन्दीका कारण बढ्न पुग्ने बेरोजगारीका कारण विप्रेषणमा आधारित हाम्रो अर्थतन्त्रमा प्रत्यक्ष मार पर्नेछ।
यी दीर्घकालीन चुनौतीसित जुध्न हाम्रो राज्य संयन्त्र छिट्टै त्यसै गरी बदलिएर परिपक्व हुनुपर्नेछ जसरी अभिभावकको असामयिक मृत्युसँगै जेठो बच्चा हठात् जिम्मेवार अभिभावकको भूमिकामा देखिन्छ।