यतिबेला सिंगो विश्व समुदाय नै कोरोना भाइरसको त्रासमा छ। निकै विकसित र सुविधा एवम् प्रविधिसम्पन्न देशहरूमा समेत यो भयावह अवस्था सजिलै नियन्त्रण हुन सकिरहेको छैन। अमेरिकाको क्यालिफोर्निया राज्यमा त संकटकालको घोषणा गरियो। छिमेकी मुलुक चीनको हुबेई प्रान्तको वुहानबाट सुरू भएको कोरोनाभाइरसको प्रभाव विश्वव्यापी रूपमा बढ्दो क्रममा छ।
विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँगै यो महामारीको त्रास झनै बढेको हो। नेपाललाई पनि कोरोनाभाइरसको उच्च जोखिम मुलुकको सूचीमा विश्व स्वास्थ्य संगठनले दर्ज गरेको छ। नेपाल सरकारले कोरोना रोकथाम तथा न्यूनीकरणको लागि पूर्वतयारी र सचेतनाका कार्यक्रम सुरू गरिसकेको छ।
सरकारले पटक पटक विभिन्न माध्यमबाट जनचेतनाका सूचना प्रवाह गरिरहेको छ। महत्वाकांक्षी मानिएको र नेपालको अर्थतन्त्रमा निकै सुधार हुने अपेक्षासहित घोषणा गरिएको भिजिट नेपाल २०२० को कार्यक्रम स्थगित भयो। निकै महत्वकासाथ गर्ने भनिएको सगरमाथा संवाद समितिको कार्यक्रम पनि स्थगित भयो। विश्व अर्थतन्त्रको भविष्य नै के हुने भन्ने संशय बढिरहेका बेला नेपालको अर्थतन्त्रमा पनि कोरोनाभाइरसको प्रभाव दीर्घकालसम्म देखिने पक्का छ।
नयाँ उत्साह र उमंगका साथ नयाँ पाहुनाको स्वागत सत्कारमा तम्तयार भएका होटल व्यवसायी निराश छन्। निकै चहलपहल हुनुपर्ने बेलामा पर्यटकीय स्थलहरूमा भूकम्पको सन्नाटा छाएजस्तै सुनसान देखिएको छ। आफ्नो जिउ ज्यानको चिन्ता छ, आफ्नो परिवारको चिन्ता छ र आफ्नो देशमा यो महामारी नफैलियोस् भन्ने अपेक्षा छ सर्वत्र।
समाचारहरु आइरहेका छन्, होटलहरू बन्द भए, कामदार बिदामा पठाइए, सरकारले ठूला सभा समारोह नगर्न, अत्यावश्यक परेको खण्डमा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिरहेको छ। सरसफाइमा विशेष ध्यान दिन, खानपानमा सतर्कता अपनाउन, हात नमिलाउने नमस्कार गर्ने, कार्यालयहरूमा पनि सर्तकता अपनाउने, सेनिटाइजरको प्रयोग गर्ने, घरभित्रकै राम्रोसँग पकाइएका खानेकुरा मात्रै खाने, मासुजन्य परिकार राम्रोसँग पकाएर मात्रै खाने, जंगली जनावरको सम्पर्कमा नरहने, केही लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा जाँच गराउने यस्ता सचेतनाका बुँदाहरू विभिन्न संचारमाध्यमबाट प्रकाशित-प्रसारित भइरहेका छन्।
छोटो समयमा निकै सचेतना बढिरहेको आभास भइरहेको छ।
सार्वजनिक सवारी साधनमा पनि यात्रुको ज्वरो नापेर मात्रै चढाउने अभियानको सुरूआत भएको छ। बुद्ध एयरले अपिल नै गरेको छ रुघाखोकी , ज्वरो आएको छ भने प्लेनको यात्रा नगर्नु, टिकटको पूरै पैसा फिर्ता हुन्छ भनेर, सरकारले आगामी चैत ५ गतेभित्र कक्षा ९ सम्मको नियमित वार्षिक परीक्षा सकाउन सूचना जारी गरिसकेको छ।
यस अर्थमा साना बच्चादेखि बयोवृद्धसम्म कोरोना भाइरसबारे जानकार भइसकेका छन्। यसबारे सामान्य साक्षर नागरिकले पनि बताउन सक्ने भइसकेका छन् यो निकै राम्रो पक्ष हो। महामारी फैलनुभन्दा पहिले नै सचेत हुँदा थप भयावहबाट सहजै बच्न सकिन्छ।
संकटमा दाउ छोप्ने व्यापारी :
केही संकट वा महामारीको संकेत मात्रै देखा पर्नुपर्छ हाम्रो देशका व्यापारीहरूलाघ ठूलै ‘उत्सव’ आएजस्तै हुन्छ।
४ वर्षअघिको विनाशकारी भूकम्पमा पनि चेत्न नसकेका व्यापारी अहिलेको अवस्थामा कालोबजारीको धन्दा सुरू गरिसकेका छन। भूकम्पका बेलामा ज्यान जोगिएकोमा भन्दा पनि आफ्नो व्यापार बढेकोमा खुसी हुने कथित साहुजीहरू देखेर मानवता भन्ने चिज हामीबाट निकै टाढा भइसकेको आभास हुन्थ्यो। घरभित्र बस्न नसकेर ज्यान जोगाउन खुला ठाउँमा भागेका नागरिकले २० रुपैयाँ पर्ने चाउचाउ ५० रुपैयाँ तिरेर किने, २० रुपैयाँ पर्ने मिनरल वाटर सय रुपैयाँसम्म तिरेर किनेको देखियो, आफूले पनि प्रचलित मूल्यभन्दा महँगोमै किनियो।
पछि तिनै साहुजीको मुखबाट सुनियो, एकदिनको व्यापार पाँच लाख भयो, यस्तो संकट दिनैपिच्छे भए त व्यापार फस्टाउने रहेछ।
तल्लो तलामा पसल भएको फाइदा ती साहुजीले निकै उठाए तर उनलाई मानवता भन्ने चिज महत्वपूर्ण लागेन। यस्ता धेरै व्यापारीहरू छन् जो सकंटको दाउ पर्खिरहेका हुन्छन्।
कतिबेला के आपत आइपर्छ र आफ्नो लागि दशैं आउँछ भन्ने उनीहरूलाई लाग्छ। हामीले बिर्सेका कहाँ छौं र ? नाकाबन्दीको आततायी अवस्था। नाकाबन्दीको बेलामा सामान्य व्यापारीले समेत निकै दाउ छोपे, कतिपय व्यापारीको त निकै ठूलो धन्दा चल्यो, कमाइ खाने सिजन भयो र आम्दानीका स्रोत एकपछि अर्को खडा हुँदै गए।
एकातिर नागरिक आफ्नो चुल्हो बाल्न सकेका छैनन्, बिहान बेलुकाको छाक कसरी टार्ने सोच्न सकिरहेका छैनन् उता व्यापारीहरू चौध सय पर्ने ग्यासको सिलिन्डरलाई दस हजारसम्ममा विक्री गरे।
एउटा सिलिन्डरबाट आठ हजारभन्दा बढी नाफा कमाएपछि उनीहरूको बिजनेस नै त्यही हुन थाल्यो। खाद्यान्न, ग्यास, पेट्रोलको हाहाकार मच्चाएर व्यापारीले एकरातमै कालोबजारी गर्न सक्छन् भन्ने उदाहरण खोज्न टाढा जानै पर्दैन।
एकजना व्यापारीले नाकाबन्दीको बेला फाइदा उठाएर चार ठाउँमा जग्गा जोडे। सामान्य परिवारका व्यापारी अहिले करोडपति बनेका छन्। उनले जोडेका जग्गाको भाउ नै करोडभन्दा बढी हुन्छ अहिले। कुरै कुरामा उनकै श्रीमतीले सुनाएकी थिइन् अरुलाई जे भए पनि नाकाबन्दी त हाम्रो लागि भगवान भयो भनेर।
माइती भारतमा , उताबाट माइतीले ग्यास र पेट्रोल पठाउने, श्रीमानले नेपाल भित्राएर गाडीबाट काठमाडौं भित्राएर कालोबजारीमा विक्री गर्ने। यही धन्दामा परिवारका चार पाँचजना खटेर लागिपरे, आर्थिक हैसियत कहाँबाट कहाँ पुग्यो तीन महिनामा।
यस्ता धेरै व्यापारीहरू निस्किए जो नाकाबन्दीको बेलामा उनीहरूकै भाषामा भन्नुपर्दा एकाएक मालामाल बने।
नाकाबन्दीको बहानामा आफूसँग भएको सामान लुकाएर महँगोमा विक्री गर्ने, अभाव खडा गर्ने र नाफा कमाउने दाउमा पल्किएका व्यापारीहरू यतिबेला कोरोनाभाइरसलाई दाउ बनाइरहेका छन्।
हिजोसम्म भरिभराउ पसल अर्को दिन बिहानसम्ममा पूरै खाली देखाउने क्रम सुरू हुन थालिसकको छ। अहिले व्यापारीको कमाइ खाने मनोदशा सुरू भइसकेको छ।
कोरोनाभाइरसको त्रासमा नागरिकहरू के कसरी सुरक्षित हुन सकिएला भन्ने डरैडरमा बसिरहेका छन्, स्कुलमा साना बालबालिकाहरूलाई पनि सुरक्षित सफा कसरी हुने, कस्ता उपाय अपनाउने भन्ने सचेनताका कार्यक्रमहरू भइरहेका छन् तर व्यापारीहरूले एकाएक कृत्रिम अभाव सृजना गर्न सुरू गरिसकेका छन्।
सरकारका आपूर्ति मन्त्रीले खाद्यान्न, ग्यासको चिन्ता नगर्न आम नगरिकलाई आश्वासन दिइरहेका छन् तर व्यापारीहरू हिजोसम्म सहजै पाइने चिज अर्कोदिन पूरै सकिएको जवाफ दिन थालेका छन्।
दश, पन्ध्र रुपैयाँमा पाइने मास्कको बजारमा पूरै अभाव छ। मास्क लुकाएमा वा महँगोमा विक्री गरेको पाइएमा ११३७ मा फोन गर्न सरकारले जानकारी गराइसकेको छ। ठूलादेखि साना व्यापारिक मलहरूमा समेत अत्यावश्यक मानिएका सेनिटाइजर, मास्कको पूरै अभाव छ यतिबेला।
सरकारले नागरिकलाई ढुक्क हुन आग्रह गरिरहेको छ तर ग्यास डिपोहरूमा अभावको अवस्था देखिन थालिसकेको छ। ग्यास पसल अगाडि नाकाबन्दीको जस्तै लामो लाइन देखा पर्न थालिसकेको छ। अपस्तालमा उस्तै भीड छ, मास्क छैन, औषधिको पनि अभाव हुने त्रास औषधि व्यवसायीले दिएको गुनासो पनि सुन्न थालिएको छ।
यदि महामारी साँच्चिकै नेपालमा भित्रिएछ भने के व्यापारी मात्रै बाच्लान् त? के व्यापारीहरूलाई महामारीले समाउँदैन होला? के व्यापारीको आत्मा हुँदैन? व्यापारीलाई देश , जनता संकटमा पर्दा पनि पैसाकै लोभ लाग्ने कस्तो महाभाइरसको सिकार हुनुपर्ने? व्यापारीले नाफा खान्छन्, व्यापार गर्ने भनेकै नाफा कमाउनको लागि हो यो कुरा सबैलाई थाहा छ तर संकट बनाएर, अर्को नागरिकलाई यातना दिएर, कृत्रिम अभाव देखाएर , हिजो पाइने मूल्य भन्दा दुई गुणा बढी भाउ गरेर नाफा आर्जन गर्ने होइन नि।
सरकारले आश्वस्त पारिरहेको छ तै पनि व्यापारीहरूले आफ्नो असली रूप देखाउन थालेका छन्। अघिल्लो दिन भरिभराउ सामान एक रातमा पूरै सकिँदैन पक्कै पनि तर व्यापारीहरू एकैजनाले दर्जन दर्जन उठाएर लगेको, बन्डल नै लगेर गएको, कार्टुन नै लगेको, बेराका बोरा सामान लगेको, एकजनाले चार पाँचवटा ग्यास सिलिन्डर लगेको जानकारी दिन्छन्। नाकाबन्दीको मार खेपेका नागरिक फेरि त्यस्तै भयावह अवस्था त भित्रनै होइन भन्ने त्रासमा छन्।
सरकारले आश्वासन दिन्छ पेट आफूले भर्नुपर्छ, पछि महँगोमा पर्नुभन्दा अहिले नै किन्ने राख्ने भन्ने भावना नागरिकमा देखिएको छ।
व्यापारी भने कहिले अभाव हुन्छ र महँगोमा बेचौंला भन्ने दाउ हेरेर बसेका छन्, सामान भए पनि छैन भन्न सुरू गरिसकेका छन्।
पशुपतिनाथसँग कृपा छ, हे भगवान् नेपाललाई कोरानाभन्दा खतरनाक व्यापारीको कालोबजारी भाइरसबाट बचाऊ।
कोरोनाभाइरसको त खोप बन्ला, औषधि बन्ला, विस्तारै निर्मूल होला तर संकटको दाउ छोपेर बसेका कालोबजारी भाइरसबाट कसरी जोगिने? न यो भाइरसको खोप कहिल्यै बन्छ, न औषधि नै। संकट र विपदको दाउ हेरेर बसेका कालोबजारीको महामारीबाट आम नागरिक कहिले निको हुने?