घटना १.
केही समयअघि सरकारी संस्थामै कार्यरत एक जना साथीले गुनासो पोखिन्, ‘मेरा श्रीमान् काठमाडौं बाहिर छन्। दुई बच्चा र म काठमाडौंमा छौं। प्राविधिक सिफ्टको मेरो ड्यूटी रातको समयभन्दा अरु बेलामा सार्दिनुस् न, बच्चालाई स्कुल ल्याउन लैजान समस्या भयो, हेर्दिने कोही पनि छैन, यत्ति बिन्ती लिएर हाकिम सा’बकोमा गएको काँचै खाउँला जस्तै गरे।
‘ए! त्यस्तो समस्या भए बच्चा अफिसमा ल्याउनुस्, काम गर्नुस्, जसरी भए पनि आफ्नो ड्यूटी त पूरा गर्न पर्यो नि’ हाकिम कड्किएछन्।
उमेरमा आफ्नो बुवा समानको मान्छे, काममा अनुभवी कसो सहयोग् नगर्लान् भन्ने विश्वास लिएकी साथी हाकिमको जवाफले बिलखबन्दमा परिन्।
‘सरकारी कार्यालयमा पनि यतिसम्म पेलिनुपर्छ, यतिसम्म हाकिमहरू निर्दयी हुन्छन् भन्ने अनुभव पाँच वर्षको जागिरे दौरानमा बल्ल थाहा पाएँ’ साथी झन् दु:ख पोख्दै गइन्।
उनका पीडाले आफैंलाई नमिठोसँग घोचिरह्यो।
‘मेरा श्रीमान काठमाडौंमा हुँदा वा कोही आफन्त बच्चासँग साथै हुँदा रातको दस बजे आउनुपर्यो भन्दा पनि म तयार छु, काम गरिराखेकै छु, मेरो ड्यूटी नै प्राविधिक फिल्डको हो म बुझ्छु तर मलाइ समस्या पर्यो भन्दा बच्चा लिएर ड्यूटी गर भन्ने हाकिमको आत्मा छ कि छैन? यो गुनासो कहाँ पोख्न जाने? रातदिन घोटिएर पढेर नाम निकालेर खाएको जागिर हो कसैको कृपाले खाएको त होइन नि। तल्लो तहका कर्मचारी के मान्छे होइनन् ? उनीहरूको घर, परिवार, आफन्त कोही हुँदैनन् भन्ने ठान्छन् कि खै’? साथीले एकपछि अर्को दुखका पोका फुकाउँदै गइन्।
‘ट्रेड युनियनमा लागेका, अलि पावरको फुइँ लगाउनेहरूले कामै नगरे पनि हाकिमको नजरमा राम्रो हुन्छन्, उनीहरूले जे चाह्यो हाकिम साब त्यही गर्न तयार हुन्छन् तर म जस्ता कतै पावर नहुने, पहुँच नपुग्नेहरूको सामू भने उनीहरूको आत्मा पत्थर बन्छ। मेरो ठाउँमा उनकी छोरी हुन्थी भने बच्चा लगेर अफिसको रातिको ड्यूटी गर भन्न सक्थे होला कि के गर्थे? मैले रातिको ड्यूटीमात्रै हेरफेर गर्दिनु भनेको हो कामै गर्दिनँ भनेको पनि छैन नि’।
यही कुराले ती साथी धेरै दिनसम्म मानसिक तनावमा परिन्। आफूले जागिर खाने कि जागिरले आफूलाइ खाने निकै दोधारमा छु म साथीको नैराश्यपूर्ण भावनाले आफैलाई नमज्जा लागिरह्यो।
हाकिम साबले यत्ति कामलाई सहजीकरण गर्दिएको भए के फरक पर्थ्यो होला र? ती साथीको रातिको ड्यूटी दिउँसो पार्दैमा कार्यालय उथुलपुथुल त पक्कै हुँदैनथ्यो होला। तर के गर्नु यहाँ जे गर्छ पद र पावरले मात्रै गर्छ साथी तिमी हामी सबै उस्तै हौं ढाडस दिनु बाहेक कुनै विकल्प थिएन आफूसँग पनि।
हाकिम बन्नुभन्दा पहिले मान्छे बनिदिएको भए... सायद साथीले यो गुनासो पोख्ने थिइनन्।
घटना २.
एक जना चिनेकै दाइ काठमाडौंकै एउटा सरकारी कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत थिए।
हाकिम भर्खर अफिस आइपुगेका थिए ती दाइको मोबाइलको घन्टी बज्यो।
डेरामा प्रसूती हुने महिना लागेकी श्रीमतीलाई एक्लै छोडेर अफिस गएका दाइको सातो गयो, ल केही गाह्रो पो भयो कि? बिहानै अफिस आएका दाइले हतारहतारमा फोन उठाए, श्रीमती विसन्चो भएजस्तै भावमा बोलिन्।
भर्खर नयाँ ठाउँमा कोठा सरेको, यसो हेरचाह गर्दिनु भन्न पनि कोही चिनेको छैन, तुरुन्तै अस्पताल पुर्याउनु पर्ने भयो, एक पटक हाकिमलाई बिन्ती गरेछन्, ‘हाकिम साब मेरो श्रीमतीलाई अस्पताल पुर्याउनु पर्ने भयो, लोकल गाडीमा जाँदा धेरै समय लाग्छ, भनेको बेलामा ट्याक्सी पनि पाइँदैन, आधा घण्टाको लागि गाडीमा जान सक्छु सर?.., हतास मुहार अनुनय गरेका दाइतर्फ नहेरिकनै हाकिम साब आफ्नो काम गरिरहे।
उता दाइको होसले ठाउँ छोडिसक्यो, छट्पटी भइसक्यो, के गर्ने ? के गर्ने ? मन बेचैन भए पनि हाकिमको तोलाको बचन कुरिरहे, ड्राइभरले त भनेकै थिए, एकवचन हाकिमलाई सोध म पुर्याइदिइहाल्छु नि भनेर तर हाकिम साब केही बोलेनन्। धेरै बेरपछि जवाफ फर्काएछन्, ‘एकछिनलाई गाडी दिन त हुन्थ्यो एक बजे मलाई मिटिङमा जानु छ के गर्ने होला’ ? भर्खर ११ बज्दैथ्यो दाइ केही नभनी, अँध्यारो मुहारमा बाटो लागे।
बाटोमा निस्किएर गाडी कुरे बल्लतल्ल आयो,गाडी चढे जहाँ जाम पर्छ त्यहाँ ओर्लिए बाटो क्रस गरेर फेरि अर्को गाडी चढे, ट्याक्सी पनि पाइएन, ‘तीन वटा गाडी फेरेर डेरामा आएँ। श्रीमती रोइरहेकी थिइन्, श्रीमतीको त्यो हालत देख्दा मेरो पनि आँसु आयो’ दाइले दुखेसो पोखे।
ट्याक्सी खोजेर अस्पताल पुर्याउँदै थिएँ, हाकिमको गाडी देखें, मलाई एक बजे मिटिङ जानु छ भनेको हाकिमको गाडीमा हाकिमका श्रीमती, छोराछोरी सजिसजाउ भएर कतै पार्टीको लागि त्यहीँ बाटो भएर जाँदै थिए।
‘हाकिम साब तपाईको मिटिङ यही रहेछ, आज म जस्तो तल्लो तहको कर्मचारीप्रति जुन व्यवहार गर्नुभयो बाँचुञ्जेल सम्झिरहनेछु। धन्न भगवान् मेरी श्रीमतीलाई केही भएन, आमा र बच्चा बचाउन पाए तर हाकिमले दिएको चोट कसरी बिर्सौं? मेरी श्रीमतीको ठाउँमा तपाईकी श्रीमती भएको भए? पद होइन महोदय मान्छे बन्न सिक्नुस्, मेरो भन्नु यतिमात्रै छ धनी मर्दा पार्थिव शरीर बन्छ तर गरिब मर्दा लास, तिम्रो मेरो शरीर उस्तै हो हाकिम महोदय त्यही एकमुठी सास’ दाइले यत्ति भने।
सरकारी सुविधाको गाडी हो, तपाईका आफन्तलाई भोजभतेरमा लैजान हुने, तपाईकै कार्यालयको कुनै कर्मचारीको जिन्दगीसँग जोडिएको सवालमा एकैछिन गाडी दिँदैमा तपाईको सर्वोस्व हुने हो र? तपाईका आफन्तको पार्टीभन्दा ठूलो ती करारमा कार्यरत दाइकी श्रीमतीको जिन्दगीको सवाल होइन र? यस्ता कुरामा कहिले ध्यान जाने?
घटना ३
केही समय पहिले मेरो साथीको दाइ सवारी दुर्घटनामा परे। दुर्घटना भन्नासाथ साथीको होस् उड्यो, आत्माले ठाउँ छोडिसक्यो। बाउआमा गाउँमै, यहाँ दुई जना दाइबहिनी मात्रै काठमाडौंमा बस्ने, दाइ कार्यालयबाट डेरातर्फ फर्कंदा दुर्घटनामा परेछन्, कसैले अस्पताल लाँदै गरेको जानकारी गराए, अफिसबाट फर्कंदै गरेकी साथी आकुलब्याकुल भएर अस्पताल पुगिन्।
साथीले सुनाएको अप्रिय खबर सुनेपछि हामीहरू पनि हतारहतार अस्पताल पुग्यौं। अस्पतालको बेडमा दाइ रक्ताम्मे अवस्थामा थिए, होस् थिएन, जतिसक्दो चाँडो अपरेशन गर्नुपर्छ भन्दै थिए डाक्टरले। अपरेशनको लागि पैसा धरौटी राख्नुपर्ने त्यो पनि थोरै होइन, भन्दाबित्तिकै हामी कोही पनि एटिएम बन्न सक्दैनौं नि तर अस्पताल प्रशासन यति कठोर बन्यो कि छिटो पैसा डिपोजिट गरिहाल्नुस् अपरेशन ढिलो गर्यो भने रिक्स हुन्छ, फिप्टी फिप्टी छ, केश अलि जटिल छ। जसरी पनि दाइ बचाउनु छ, पैसा भन्नासाथ कहाँबाट ल्याउने, डाक्टर साब हाम्रो दाइको अपरेशन गर्दिनुस् हामी पैसा जुटाइहाल्छौं, साथी रोइन्, कराइन्, हामीहरू पनि अनुनय विनय गर्यौं तर कसले सुन्ने? डाक्टर, नर्सहरू त पत्थरै बन्दा रहेछन्, उनीहरूका आफन्त बिरामी पर्दैनन् जसरी।
लागेको खर्च जहाँबाट जसरी भए पनि तिर्छौ भनेकै छौं तर उनीहरू भने पैसा जम्मा नभएसम्म अन्तिम अवस्थामा पुगेको बिरामीको अपरेशन गर्न सक्दैनन्।
मानवीयता कहाँ गयो? अस्पताल, डाक्टर, नर्स के का लागि ? दुर्घटना, कुनै पूर्वजानकारी गराएर हुँदैन भन्ने पक्कै उनीहरूलाई पनि थाहा छ तै पनि किन यस्तो व्यवहार गर्छन्।
सबै आफन्तलाई फोन गरेर, हार गुहार गर्दै एक,दुई हजार जम्मा पार्दै दाइको अपरेशन गर्ने पैसा जम्मा पार्यौं, दैवसंयोग दाइको अपरेशन सफल भयो।
मान्छेको ज्यानभन्दा पैसा ठूलो भएपछि कस्को के लाग्छ र? डाक्टर भन्दा पहिले मान्छे बन्ने कहिले ? यो प्रश्न मनमा घोत्लिरह्यो।
घटना ४
अर्थशास्त्रमा मास्टर्स सकाएकी रमा शर्मा (नाम परिवर्तन) आमा नबन्दै गैरसरकारी संस्थामा जागिरे थिइन्। उनले महिनामा चालिस हजार तलब थाप्थिन्, श्रीमान् पनि गैरसरकारी संस्थाकै माथिल्लो पोस्टमा काम गर्थे। दुवैको कमाइ राम्रो थियो, बिहे भएको दुई वर्षपछि रमा जुम्ल्याहा बच्चाको आमा बनिन्। आमा बनेपछि उनले जागिर त्यागिन्।
बच्चा एक वर्षका भएपछि उनलाई सरकारी जागिर खाने रहर जाग्यो। बच्चा हुर्काउँदै लोकसेवाको अध्ययन गर्न थालिन्, भाग्य र मिहिनेतले जित्यो उनले सुब्बामा नाम निकालिन्। घर सम्हाल्दै जुम्ल्याहा बच्चा हुर्काएर पनि हजारौं प्रतिस्पर्धीको भीडमा रमा अब्बल प्रतिस्पर्धी बनेर उदाइन्।
उनको नाम अगाडि नै निस्किएको थियो, दुई बच्चा छन्, श्रीमानको जागिर काठमाडौंमै छ, काठमाडौंबाटै नाम निकालेपछि नजिकै पोष्टिङ पाइएला भन्ने लागेको थियो रमालाई। जब नियुक्ति पत्र समाइन् मन अमिलो भयो रमाको। लोकसेवा आयोगमा अगाडि नाम निकाल्नेहरूलाई ठाउँ रोज्न लगाइन्छ तर सार्वजनिक संस्थानमा त्यो नियम रहेनछ, अगाडि नाम निस्कँदा पनि उनको पोष्टिङ उपत्यका बाहिर भयो।
जागिर नखाउ भने बल्लतल्ल दूधे बच्चाको समय चोरेर पढेको लगानी छ, खाउ भने श्रीमान् काठमाडौंमा, जुम्ल्याहा बच्चा कस्को जिम्मामा छोडेर उति टाढा जागिर खान जाऊँ? निकै दोधारमा परिन् रमा। घरसल्लाह गरिन्, अफिसमा पनि चिनजानका नेता भनिनेहरूलाई हारगुहार गरिन्, तोकेको ठाउँमा गएर हाजिर गर पछि काजमा राजधानीमै तान्छौ भन्ने ओठे आश्वासन दिए। माइतीमा बच्चा छोडेर म्याग्दीमा जागिर खान गइन्।
एक महिना जसोतसो बिताएकी रमा फेरि हाकिमसँग हारगुहार गर्न आइन्, बिन्ती बिसाइन् तर हाकिम पत्थर बने पग्लिएनन्।
रमाको एकोहोरो गुनासो सुनेका हाकिमले कुर्सी घुमाउँदै भनेछन्, ‘हेर्नुस् रमाजी तपाई यहाँ जागिर खान आउनु भयो आफ्नो मर्जीले, तपाईले जागिर खोजेर आएको हो, जागिर वा यो अफिसले तपाईलाइ खोजेको होइन। त्यही भएर जहाँ पोष्टिङ हुनु भा छ त्यही काम गर्नुस्, तपाईजस्ता बच्चावालाको गुनासो सुन्न थाल्ने हो भने त महिला भर्ना बन्द गर्नुपर्छ’।
यति वचनले रमाको मनमा ज्वारभाटा चल्न थाल्यो, एक शब्द नबोली हाकिमको कोठाबाट बाहिरिइछन् रमा।
‘यतिसम्म निष्ठुरी हाकिम हुन्छन् भन्ने पहिलोपटक थाहा पाएँ, ५ वर्ष गैरसरकारी संस्थामा काम गरें कुनै दिन यस्तो अपमान भोग्नु परेन, सरकारी जागिरमा महिलाको समस्या सजिलै बुझिएला, महिलालाई काममा सहुलियत होला भनेर यति दु:ख गरेर पढेँ हाकिमले यति मुटुमा बिज्ने गरी वचन ओकले त्यो सम्झँदा मनै मर्छ। आखिर ती हाकिमकी छोरी , बहिनी, श्रीमती मेरै स्थानमा भएको भए पनि उनको वचन यही हुन्थ्यो होला त’ ? रमाको प्रतिप्रश्न छ।
लामो समयसम्म हाकिमका वचनको पीडाले डिप्रेसनको शिकार बनिन् रमा, परिवारको साथ र सर्पोटले विस्तारै आफैं सम्हालिन् थालिन्।
रमा एउटी प्रतिनिधि पात्र हुन्, जुन महिला कर्मचारीको पहुँच छैन, पावर पुग्दैन उनीहरू सबभन्दा सुरक्षित, इज्जतदार मानिएको सरकारी क्षेत्रमै निकै प्रताडित हुँदै आएका छन्। महिला मात्रै होइन कतिपय स्थानमा पुरुष कर्मचारीहरू पनि हाकिमबाट निकै प्रताडित भएका खबरहरू सुनिन्छन्।
तुलनात्मक रूपमा महिलाहरू बढी प्रताडित छन्। हाकिमहरू यति निर्दयी बन्छन् कि मानौं उनीहरूलाई कहिल्यै कुनै समस्या पर्दैन, उनीहरूको परिवारका महिला पात्रहरू समस्याविहीन छन् जसरी। सम्पूर्ण हाकिम साबहरूलाई रमाको आग्रह छ कृपया पद, ओहोदाभन्दा पहिले तपाई मान्छे बन्न सिक्नुस्।
घटना ५
नाम नछाप्ने सर्तमा समायोजनमा परेका चिनजानकै लेखा अधिकृतले केही समयअघि गुनासो गर्दै थिए, ‘नियमले भुक्तानी गर्न मिल्दैन, यो काम सरासर गैरकानुनी हो भन्ने मलाइ राम्रोसँग थाहा छ। त्यो कामको बारेमा हाकिम पनि जानकार हुँदै नभएको भन्ने त पक्कै होइन होला तर उनै हाकिमले कपिपय अवस्थामा यति दबाब दिन्छन् कि त्यो बेलामा मरिमरि पढेर नाम निकालेको जागिर निल्नु न ओकल्नु हुन्छ।
हाकिमका कारण निकै तनाव हुन्छु कहिलेकाहीँ। हाकिमको आदेश नमान्दा आफू नराम्रो भइएला भन्ने पिर आदेश मान्दा कतिबेला कहाँ फसिएला भन्ने त्रास, यस्तो त्रासमा काम गर्दा मानसिकतामा कस्तो प्रभाव पर्छ? घरपरिवारमा पनि राम्रोसँग खुलेर कुरा गर्न सकिँदैन, मनमा जतिबेला पनि जागिर र हाकिमकै तनाव हुन्छ’।
यी अधिकृतको मात्रै होइन समायोजनमा परेका लेखाअधिकृतहरूले मन्त्रालयमै धाएर गुनासो गरेका समाचार पुराना भएका छैनन्।
घटना ६
पोहोरसाल राजधानीकै एउटा सरकारी स्कुलको प्रअले गर्भवती शिक्षिकालाई प्रधानाध्यापकले माग गरेको बिदा समेत नदिँदा बच्चा खेर गयो। ती महिला जसले जागिरका कारण अनाहकमा संसार देख्ने अभिलाशा बोकेको बच्चा गुमाइन्।
अवउपरान्त ती प्रअप्रति ती पीडित शिक्षिकाले हेर्ने धारणा कस्तो होला? स्कुलका सम्पूर्ण शिक्षक , विद्यार्थीको अभिभावक हो प्रअ, तर अपशोच आफूले सम्मान गर्ने हाकिमको त्यो व्यवहार ती अभागी आमाले कसरी भुल्न सक्लिन् र? आफ्नी छोरी, बुहारी त्यो अवस्थामा हुन्थे भने पनि ती प्रअले त्यस्तै व्यवहार गर्थे होला कि फरक? नीतिगत भन्दा पनि कतिपय अवस्थामा व्यवहारगत कुरा पनि गर्न सक्नुपर्छ।
तर किन यति अप्रिय बन्छन् हाकिमहरू ? किन मन पत्थर बनाउँछन् ? कर्मचारीलाई सहजीकरण गर्दिदैमा सर्वस्व जाने होइन नि तै पनि किन यस्तो हर्कत गर्छन?
घटना ७.
बिहे भएको ६ वर्षसम्म बच्चा नभएकी एक जना भाउजु गर्भवती भएपछि घरपायक सरुवा मिलाइदिन आग्रह गरिन्, ती हाकिम भाउजुको मामलामा निकै उदार बने। घरपायक सरुवा गरिदिए। अहिले सुत्केरी बिदामा बसेकी भाउजुले हाकिमको गुनलाई हरपल तारिफ गर्छिन्।
भाउजुका दुई जना साथी सुत्केरी बिदा सकिन लाग्दा ठूलै तनावमा परेरे, वेतलवी बिदा माग्न जाँदा समेत बिदा दिएनछन्, तर उनको हकमा हाकिम भगवान बने, यस्ता हाकिम सबैतिर भए कस्तो हुन्थ्यो होला?
निजामती सेवा ऐनमै व्यवस्था गरिएको छ, प्रसूती बिदासँगै ६ महिनासम्म वेतलवी प्रसूती बिदा लिन पाउने भनेर तर हाकिमले बिदा स्वीकृत गरिदिएनन्।
मेरो आग्रह छ सम्पूर्ण हाकिमसाबहरूलाई कृपया तपाईहरूको बोली, व्यवहार र भोगाइका कारण कुनै पनि कर्मचारी डिप्रेसनमा नपरून्, रुष्ट नहोउन्, सबै कर्मचारीलाई समान व्यवहार गर्दा के बिग्रन्छ र?
केही समयअघि हावर्ड विजनेश स्कुल र स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूले गरेको २ सयभन्दा बढी अध्ययनले कार्यालयको कामका सवालमा लिइने तनावले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने र उक्त असर चुरोटभन्दा बढी हानिकारक हुने देखायो।
७५ प्रतिशत डिप्रेसनको कारक खराब प्रवृत्तिको हाकिम हो भन्ने तथ्य उक्त अध्ययनको निष्कर्ष थियो।
यदि कुनै कर्मचारी अनावश्यक दबाब दिइराख्ने हाकिमसँग बसेर काम गर्छ भने त्यो कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने जिकिर उक्त प्रतिवेदनको थियो।
कतिपय कर्मचारीहरू आफूले गर्दै आएको जागिर जाने पिरले पनि तनाव र दबाबमा काम गरिरहेका हुन्छन्।
नराम्रो प्रवृत्तिको हाकिम सधैं रिसालु र हिंस्रक प्रवृत्तिका हुन्छन्। आफूले गरेको कामको उदाहरण दिँदै तिमीहरू यत्ति काम पनि गर्न सक्दैनौं भन्दै झर्कन्छन्, रुखो बोल्छन्। हाकिममा आफू मात्रै जान्ने सुन्ने हुँ भन्ने खालको नराम्रो अंहकार हुन्छ। हाकिमको नकारात्मक व्यवहारले कर्मचारीको भविष्यनै खतरामा पर्न सक्छ।
तर, यसको विपरीत यदि तपाईंको हाकिम राम्रा छन्,सकारात्मक छन्, कर्मचारीसँग कार्यालयमा राम्रो व्यवहार गर्छन् भने कर्मचारी हरेक काममा सफल बन्न सक्छन्।