जर्ज अर्वेलको 'एनिमल फार्म' को कथा हो यो। पशु क्रान्ति सकिएको केही समयपछिको कुरा हो। त्यहाँ सबै पशु बराबर थिए, तर केही पशु अरूभन्दा बढी बराबर छन् भन्ने स्थापित भइसकेको थियो।
खासगरी पशुवर्गको नेतृत्वमा सुँगुर भएकाले फार्मका सुँगुर अरूभन्दा विशेष छन् भनेर अरूले गाइँगुइँ गर्न थालिसकेका थिए।
त्यसैबीच एक दिन एक पोथी खरायो लछारपछार भएको अवस्थामा झाडीबाट निस्क्यो। उसको शरीरभर दाँत र नंग्राका डोब थिए। केही डोबबाट रगत बगिरहेको थियो। आँखा राता भएर सुन्निएका थिए।
खरायो निस्कनासाथ उसको भेट एक बाख्रासँग भयो। खरायोले भक्कानिँदै आफ्नो कहानी बाख्रालाई सुनायो। शरीरका हरेक चोट देखाउँदै उसले भन्यो, 'फलानो सुँगुरले मेरो यो हालत बनायो। जब मैले चिच्याएर हारगुहार गरेँ, अनि ऊ भाग्यो।'
बाँकी सबै पशुभन्दा सुँगुर बढी बराबर भएको फार्ममा सुँगुरमाथि औंला उठाउनु सहज थिएन। तै पनि बाख्राको नैतिकताले यो प्रकरणलाई चुपचाप हेरिबस्न दिएन। उता विक्षिप्त बनेको खरायो लुसुलुसु आफ्नो दुलोमा लुकेर बसिसकेको थियो।
बाख्राले निकै सोचविचार गरेर भोलिपल्ट बिहान फार्मको दैनिक बैठकमा खरायोको कहानी सुनायो। सुँगुरहरूले राताराता आँखा बनाएर सुने। बैठक सकिने बेलासम्म बाँकी सबै जनावर दोषी सुँगुरको अपराधका कारण क्रूद्ध र लज्जित बने। पशुहरूको आदर्श व्यवस्थामा यस्तो ज्यादती उनीहरूले कल्पना पनि गर्न सक्दैनथे।
फार्मको नाइके सुँगुरले ऐलान गर्यो- खरायो वा कमिला, पशुको यो स्वर्गमा कसैमाथि अन्याय हुन सक्दैन। म आफैं दोषी भए पनि यस्तो अपराधबाट उन्मुक्ति पाउने कुरा हुँदैन।
सबैले ताली बजाए। केही पशुले हर्षका आँशु झारे।
विगतको अन्यायपूर्ण मानवराजमा कहाँ यसरी पशुहरूले न्याय पाउँथे र? उनीहरूको कुरै कहाँ सुनिन्थ्यो।
आरोपित सुँगुर चुपचाप शिर निहुराएर बसिरहेको थियो। सोध्दा भन्थ्यो, 'गत हप्ताभर मेरो कुनै पनि खरायोसित भेट भएकै छैन। यो त खाली मलाई बदनाम गराउने षड्यन्त्र हो।'
अन्ततः बैठकका केही प्रतिनिधि खोरमा बसेको खरायोको अवस्था बुझ्न गए। बाख्राले गरेको बयान दुरुस्त थियो, खरायो नराम्रोसँग घाइते भएको थियो। खरायोसँग कुरा गर्न खोज्दा उनीहरूले थाहा पाए, उसको मन त्योभन्दा नराम्रोसँग घाइते भएको छ।
रातभर खरायोले के सोच्यो, उसलाई को आएर के भन्यो, कसैलाई थाहा भएन। तर लामो मौनपछि ऊ बोल्दा अघिल्लो दिनजस्तो प्रष्टता थिएन। धेरै बेर बर्बराएपछि उसले भन्यो, 'गएको हप्ताभर मेरो कुनै सुँगुरसँग भेट भएकै छैन।'
त्यो वाक्य उसले यसरी भन्यो, मानौं घोकेर कण्ठ बनाएको होस्।
शरीरमा यी घाउ कसरी त? सोध्दा ऊ बोल्यो, 'शरीर असाध्यै चिलाएर म आफैंले टोकेको हुँ।'
तर त्यो बोल्दा उसको आवाज कामिरहेको थियो। उसले कसैसित आँखा जुधाउने साहस जुटाउन सकिरहेको थिएन। ऊ अब पहिलेको खरायो थिएन।
आखिर टोली फर्क्यो।
खरायोले नसकारे पनि आखिर अपराध भएकै हो भन्ने सबैको ठम्याइ भयो। त्यसैले केही दिनपछि फार्मको अदालतमा यस विषयमा मुद्दा दर्ता भयो। फैसला नहुन्जेल आरोपित सुँगुरलाई एउटा खोरमा राखियो। अरू पशुहरूले उसलाई छिःछिः दुरदुर गर्न थाले। ऊ एक्लो र अपमानित भयो।
जब सुनुवाइ सुरू भयो, खरायोले अदालतमा गएर दोस्रो बयान दोहोर्यायो- घटना भएको भनिएको दिनभन्दा एक साता अगाडिसम्म फार्मका कुनै सुँगुरसँग उसको भेट भएकै थिएन।
केही अरू सुँगुरले त्यो समय आफूले उक्त खरायोलाई संयोगवश भेटेको हुँदा हप्ताभर कुनै सुँगुर नभेटेको भन्ने बयान गलत रहेको जिकिर गरे।
बाख्राले त्यस दिन उक्त खरायोले आफूलाई लगाएको घटनाको बेलिबिस्तार सुनायो।
सुँगुरकै साथीहरूले झाडीमा एक्लो खरायो देखेपछि आफूहरूलाई घर पठाएर आरोपित खरायो झाडीमा छिरेको बयान दिए।
अरू केहीले घटना भएको भनिएको समयपछि दाँत र नङ्ग्रा रक्ताम्य बनाएर डुल्दै गरेको अवस्थामा अभियुक्त सुँगुरलाई देखेको बयान दिए।
तर घटना भएको भनिएको झाडीमा फेला परेका सुँगुरका रौंहरू अदालतमा पेस गरिएन। मुद्दामा फार्मका तर्फबाट खरायोको पक्षमा मुद्दा लडेको बँदेलले किन त्यसको आवश्यकता देखेन? अदालतमा पशुहरू मुखामुख गरे। तर त्यहाँ बोल्न केही मिल्दैनथ्यो।
अन्ततः फैसला भयो।
अदालतले ठहर गर्यो- पीडित र पीडक मानिएका दुवैले घटना भएको भनिएको दिनभन्दा एक हप्ताअघिको समयसम्म एकअर्कासँग नभेटेको सकारेकाले आरोपितले सफाइ पाउने ठहर्छ।
फैसलापछि पशुहरूको सभालाई सम्बोधन गर्दै 'निर्दोष' सुँगुरले उद्घोष गर्यो- म यो फार्मका दुश्मनविरुद्धको लडाइँमा अग्रपंक्तिमा थिएँ। त्यसैले मेरो बदनाम गरेर फार्मको ऐतिहासिक प्रगति अवरुद्ध पार्न चाहने षड्यन्त्रकारीहरूले मलाई मुद्दा मामिलामा फसाए। तर सम्मानित अदालतले मलाई अब न्याय दिएको छ। अब मेरो प्राथमिकता फार्मको स्वाधीनता बचाउने हुनेछ।
तालीको कर्तल ध्वनिले सभा गुञ्जायमान भयो।
त्यहाँबाट विजय जुलुस निस्केर फार्मको परिक्रमा गर्न थाल्यो। त्यो जुलुसको अघि हिँडिरहेका सुँगुरका समर्थकले छेउछाउका रमिते पशुहरूका मुख-मुखमा कुनै चिज छुवाइदिइरहेका थिए।
त्यो चीज घटनास्थलमा सुँगुरले झारेका रौंहरूको मुठ्ठा थियो।