मानिसमा ब्याक्टेरियाले हुने संक्रमणहरूमा 'मेनिन्जाइटिस'लाई सबभन्दा खतरनाकमध्ये मानिन्छ। त्यस्तो संक्रमण गराउने मेनिन्जोकोकस नामक ब्याक्टेरियाबारे एक वैज्ञानिकले भनेका छन्- त्यसले मानिसलाई दुःख त दिन्छ तर शरीरमा घुसेपछि आफूले झन् धेरै दुख पाउँछ।
कारण- मानिसको अत्यन्त विकसित संक्रमण प्रतिरोधी प्रणालीले ब्याक्टेरियालाई निकै क्षति पुर्याउँछ। ब्याक्टेरिया मार्नकै लागि बनाइएका एन्टिबायोटिकको आक्रमण त अलग्गै छ।
अर्थात्, प्रकृतिले भाइरस र ब्याक्टेरियादेखि मानिससम्म सबै जीवित एकाइहरूलाई सबलता र दुर्बलता दुवै दिएर पठाएको छ। अति सक्षम प्रतिरोधी प्रणाली भए पनि मानिसमा बेलाबेला ब्याक्टेरिया, भाइरस, फंगस, आदिको संक्रमण हुन्छ। तीमध्ये उल्लेख्य संक्रमणहरू प्राणघातक नै हुन्छन्। अर्कोतिर विभिन्न प्रतिकूल अवस्थामा न्यूनतम वा शून्य आवश्यकतासहित बाँच्ने क्षमता भएका कीटाणु पनि नाशरहित हुँदैनन्।
त्यसैले विज्ञानले हामीलाई सिकाउने पाठ के हो भने, रोगजन्य किटाणु र मानिसले जति दुरी राख्न सक्यो, दुवैको उत्तिकै हित हुन्छ। यसबीच मानिस जातिले भ्याक्सिनको आविष्कार र प्रयोगबाट बिफरजस्ता प्राणघातक रोग उन्मूलन गरेको छ र अरू धेरै संक्रामक रोग अब प्राणघातक हुन छाडेका छन्। तर संक्रमणजन्य रोगसित सम्बन्धित दुई भयावह जनस्वास्थ्य समस्या अहिले हाम्रासामू खडा छन्।
एक, मानिसको स्वास्थ्यमा चामत्कारिक सुधार ल्याउने एन्टिबायोटिकमध्ये लगभग सबैजसोलाई प्रतिरोध गर्नसक्ने ब्याक्टेरिया अहिले विकसित भइरहेका छन्। आफैंलाई बचाउने क्रमिक विकासका कारण ब्याक्टेरियाले त्यस्तो क्षमता विकास गर्नु स्वभाविक हो। तर मानिसको अन्धाधुन्ध प्रयोग र दुरुपयोगका कारण एन्टिबायोटिक उपयोगी हुनसक्ने अवधि निकै छोटिएको छ।
दुई, सहज उपचार र भ्याक्सिन दुवै विकास नभएका वा भ्याक्सिन बनाउन असम्भव प्रायः भाइरसका कारण हुने महामारी। दुई सय वर्ष अगाडि जुन प्राणघातक भाइरस केही गाउँ वा सहरमा फैलिएर रोकिन्थ्यो, त्यो अहिले केही घन्टामा अर्को महादेशसम्म सजिलै पुग्छ। त्यसैले यस्ता भाइरसको बढ्दो जोखिमबाट बच्ने विधि अझ विकास भइसकेको छैन।
चीनमा भाइरसको तेहेरो आक्रमण
हाम्रो उत्तरी छिमेकी चीन अहिले एकसाथ तीन भाइरसको संक्रमणबाट जुधिरहेको छ।
एक, सुँगुरमा अफ्रिकन स्वाइन फ्लु भाइरस प्रकोप।
सन् २०१८ अगस्टमा सुरू भएको अफ्रिकन स्वाइन फ्लुका कारण गत डेढ वर्षमा चीनका ४४ करोड बंगुरमध्ये कम्तिमा आधा (विश्वभरका बंगुरको एक चौथाइ) मारिइसकेका छन्। यसबीच नौ अरू देशमा फैलिइसकेको यो भाइरसका कारण बंगुरको मासुको विश्वव्यापी आपूर्ति स्वाट्टै घटेको छ र मूल्य आकासिएको छ।
दुई, मानिसमा नोबेल कोरोना भाइरसको महामारी। विश्व स्वास्थ्य संगठनका अनुसार यो लेख तयार हुँदै गर्दा यो भाइरसबाट संक्रमित ४०,५५४ मध्ये ४०,२३५ चीनमा छन्। यो संक्रमणबाट मर्ने ९०९ मध्ये एकजनाबाहेक सबै (दुई विदेशीसहित) चीनमा मरेका छन्। मानिसमा भाइरस पत्तालाग्ने देशको संख्या २४ पुगिसकेको छ।
वुहानबाट फैलिएको कोरोना भाइरसबारे अझै अनुत्तरित धेरै प्रश्न छन्। तर उपलब्ध जानकारीका अनुसार हुबेइ प्रान्तको राजधानी वुहानको समुद्री जीवको बजारबाट यो संक्रमण सुरू भएको हो। त्यहाँ खरिद–बिक्री हुने ज्युँदा जनावरमध्ये कुनैबाट उक्त भाइरस मानिसमा सरेको बलियो आशंका गरिएको छ।
तीन, बर्डफ्लु। समाचार संस्था रोयटर्सका अनुसार चीनको हुनान प्रान्तको शाओयाङ सहरमा यही फेब्रुअरी १ मा कुखुरामा एचफाइभएनवन भाइरस भेटिएको थियो भने फेब्रुअरी ९ मा सिचुआन प्रान्तमा एचफाइभएनसिक्स नामक अर्को भाइरस कुखुरामै भेटिएको छ।
नोबेल कोरोना र अन्य महामारीः जे नजानी हुँदैन
कोरोना भाइरस र अहिलेको महामारीबारे बग्रेल्ती सामग्री उपलब्ध छन्। सामाजिक सञ्जालको यो युगमा अन्य यावत् विषयमा झैं यो विषयमा पनि झूटा सूचना, जानकारी र षड्यन्त्र कथाको बाढी आएको छ। अद्यावधिक सूचना र जानकारीका लागि विश्व स्वास्थ्य संगठनको यो वेबपेज सबैका लागि उपलब्ध छ: https://www.who.int/emergencies/diseases/novel-coronavirus-2019/situation-reports/।
यो लेखमा पर्याप्त चर्चामा नआएको मानव–किटाणु द्वन्द्वको श्रृंखलालाई एउटा फरक कोणबाट हेरौं। त्यसले अहिलेको संक्रमणलाई समग्रतामा बुझ्न सघाउँछ र अन्य यस्तै महामारीहरुबारे बुझ्न पनि मदत गर्छ।
पहिलो, महामारीका किटाणुजन्य पक्ष के हुन्?
खासगरी भाइरसले गर्दा हुने महामारीको पाठ के हो भने सुक्ष्म भए पनि तिनले प्रकृतिबाट बाँच्ने, फैलिने र प्रतिकुलतासँग जुध्ने विछट्टको शक्ति पाएका छन्। मानिसले आजका दिनमा अस्तित्वमा भएका सबै भाइरसविरूद्ध औषधि र भ्याक्सिन विकास गर्यो भने पनि भोलि फरक वंशाणुगत संरचना भएका भाइरस निस्कन्छन्। त्यसैले कुन महामारी कहिले कहाँ देखा पर्छ, पत्तो हुँदैन।
त्यस्तै खास समयमा कुनै महामारी नहुनुको अर्थ प्राणघातक भाइरस त्यो बेला पृथ्वीमा छैनन् भन्ने हैन, मानिसलाई संक्रमित गरिहालेका छैनन् भन्ने मात्र हो।
अहिलेसम्मका महामारीमा के देखिएको छ भने, उच्च मृत्युदर भएका भाइरस (बर्डफ्लु, सार्स, मर्स, आदि) को फैलने दर कम छ। कम मृत्युदर भएका भाइरस (एचवनएनवन स्वाइन फ्लु र नोवेल कोरोना) को फैलने दर उच्च छ। तर अवस्था सधैं यस्तो रहन्छ भन्ने छैन। खास गरी चरा र मानिसमा सांघातिक हुने तर अहिलेसम्म मानिसबाट मानिसमा नसरेको बर्डफ्लु भाइरसले आफूलाई मानिसबाट मानिसमा सर्न सक्ने गरी परिवर्तन गर्यो भने त्यसले भयावह अवस्था निम्त्याउने देखिन्छ।
दोस्रो, महामारीका मानवीय पक्ष के हुन्?
अहिलेसम्मका यस्ता सबै महामारीमा सबभन्दा बढी मृत्युदर वृद्ध, दीर्घ रोगी र रोग प्रतिरोधी क्षमता कम भएका मानिसमा छ। तर उमेरका र अन्यथा स्वस्थ मानिसहरुको पनि सानो संख्यामा मृत्यु भइरहेको छ।
सामान्यतः कुनै पनि नयाँ संक्रमण हुनासाथ मानव शरीरले त्यसको प्रतिरोध गर्ने क्षमता विकास गर्छ। तर त्यस्तो प्रतिरोध सधैं सफल हुँदैन। अझ आफैंलाई बदलिरहने अस्थिर प्रकृतिका भाइरसका नयाँ नयाँ रुपविरुद्ध त्यस्तो क्षमता विकास हुन नपाउँदै तिनले धेरै क्षति पुर्याउन सक्छन्।
त्यस्तै विश्वव्यापी रुपमा मानिसको बढ्दो यात्रा, घुलमिल र सम्पर्कका कारण अहिले कुनै पनि संक्रामक भाइरस इतिहासकै सबभन्दा छिटो टाढासम्म फैलिन सक्छ।
तेस्रो, महामारीका भौगोलिक र सामाजिक पक्ष के हुन्?
विश्वका कुनै पनि भूभाग भाइरसबाट मुक्त छैनन्। मानिसको कुनै पनि सम्प्रदाय तिनबाट सुरक्षित छैन। तर गत तीन दशक अवधिमा चीनले अन्यत्रभन्दा धेरै महामारी व्यहोरेको छ। सन् १९९६ः बर्ड फ्लु (एचफाइभएनवन)। २००३ः सार्स। २०१७ः बर्ड फ्लु (एचसेभेनएननाइन)। २०१८ः अफ्रिकन स्वाइन फिभर। २०१९ः नोबेल कोरोनाभाइरस। यीमध्ये पछिल्ला तीन प्रकोपबाट चीनले अझै पार पाएको छैन।
आखिर किन बारम्बार महामारी चीनबाट सुरू हुन्छन्? अन्यत्र सुरू भएका महामारी पनि किन चीनमा गएपछि आक्रामक रुपमा फैलिन्छन्?
वुहानबाट फैलिएको नोवेल कोरोना प्रकरणले यी प्रश्नको उत्तर दिन्छ।
पछिल्लो डिसेम्बरको मध्यतिर वुहानको एउटा अस्पतालमा उस्तै लक्षण लिएर धमाधम बिरामी आउन थाले र तीमध्ये केहीको मृत्यु हुन थाल्यो। रहस्यमय नयाँ भाइरस २००३ को जस्तो सार्स हुन सक्ने भनेर गाइँगुइँ चल्यो। ली वेनलियाङ नामक एक नेत्र चिकित्सकले डिसेम्बर ३० मा सामाजिक सञ्जालको च्याट ग्रुपमा यस्तो शंका जनाउँदै सहकर्मी चिकित्सकलाई सुरक्षित लुगा लगाएर उपचार गर्न आग्रह गरे।।
जनवरी ४ मा उनी र यो विषय उठाउने अरु सात जनालाई प्रहरी अफवाह फैलाएको आरोपमा बोलायो। झुटो टिप्पणी गरेको र ‘अमनचैनमा गम्भीर अवरोध ल्याएको’ आरोपसहित फेरि त्यस्तो नगर्ने शर्तमा उनलाई छाडियो। जनवरी १० मा उनले खोक्न सुरू गरे। ज्वरो पनि आएपछि १२ जनवरीमा उनी भर्ना भए। परीक्षण गर्दा उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो। ३० तारिखमा उनको मृत्यु भयो।
यसबीच चीनले १० दिनमा तयार गरेको भनेको हजार बेडसहितको अस्पतालले निकै चर्चा पायो। तर संक्रमण नियन्त्रण गर्ने सुरूको स्वर्णकाल तबसम्म गुज्रिसकेको थियो।
मध्य डिसेम्बरमा सुरू भएको मानिने संक्रमण जनवरी १ मा बन्द गरिनु अगाडिसम्म वुहानको पशु बजारबाट बेरोकटोक चारैतिर फैलिइरहेको थियो। स्थानीय अधिकारीहरू रोग खुट्याउनभन्दा सूचना लुकाउन व्यस्त थिए।
चीनियाँ वैज्ञानिकहरूले भाइरस पत्ता लगाएर विश्व स्वास्थ्य संगठनलाई जानकारी दिँदा ७ तारिख भइसकेको थियो। जनवरी ११ मा यो महामारीको पहिलो आधिकारिक मृत्यु भएको थियो। यद्यपी, चीनमा रहेका स्वतन्त्र पत्रकारलाई मानिसले भनेअनुसार रोग पत्ता नलागी उस्तै लक्षणका कारण बिरामी हुने र मर्ने धेरै मानिसको गणना सुरूदेखि भएकै छैन।
यही जनवरी २३ गतेदेखि हुबेइ प्रान्तका वुहान, सियान्ताओ र शिवि सहरमा आवागमन ठप्प पारियो। तर त्यस अगाडि एक महिनाभर वुहानबाट बाहिरिएको संक्रमण विश्वका धेरै देशमा पुगिसकेको थियो।
महामारीका पाठ
एक, संक्रमणले राजनीतिक–सामाजिक व्यवस्था चिन्दैन तर तिनका कमजोरीका चरबाट छिरेर फैलिन्छ। सर्वशक्तिमान सी चिनफिङको चीनमा स्थानीय तहसम्म पार्टीका अधिकारीहरू छन् जसबाट गल्ती हुने कल्पनै गरिँदैन। गल्ती भएमा तिनलाई सच्याउने वा विस्थापित गर्ने कुनै पारदर्शी विधि छैन। गल्ती गर्नेले गल्ती पुष्टि भएपछि सुधारिएर वा प्रायश्चित गरेर हैसियत फर्काउने प्रक्रिया पनि छैन।
त्यसैले माथि उल्लिखित महामारी लगायत स्थानीय स्तरमा सुरू हुने कुनै पनि समस्यापछि अधिकारीको पहिलो प्रयास त्यसलाई ढाकछोप गर्ने हुन्छ। जब ढाकछोप असम्भव भएर स्थानीय अधिकारीमाथि धमाधम कारवाही हुन्छ, तबसम्म रोग संसारभर फैलिइसकेको हुन्छ।
कम्युनिष्ट पार्टीको फलामे सेन्सर प्रक्रियाले दोषी ठहर्याएका डाक्टर ली वेनलियाङ अब बितिसकेका छन्। ज्यान जोखिममा पारेर वुहान पुगेर त्यहाँको यथार्थ बाहिर ल्याउने नागरिक पत्रकार चेन किशी अहिले वुहानबाटै बेपत्ता छन्। त्यहाँको सामाजिक सञ्जालमा त उनी प्रतिबन्धित थिए नै, उनको नाम खोज्ने मानिसका खातासमेत धमाधम बन्द भइरहेका छन्। अहिले पनि चीन सरकार रोगसँगभन्दा बढी सशक्त रुपमा रोगसम्बन्धी सूचनाको प्रवाहसित लडिरहेको छ।
बेपत्ता हुनुअगाडि चेनले पठाएका भिडिओका अनुसार वुहानको स्थिति भयावह छ। अस्पतालमा भिड पातलो भइसकेको छ, किनकि झन्डै छ करोड मानिस बस्ने भूभागमा यातायात ठप्प पारिएका कारण मानिससँग अस्पताल पुग्ने उपाय छैन। जो पुगेका छन्, तिनमा कोरोना भाइरसको जाँच गर्न पर्याप्त किट छैनन्। संक्रमणका सबै लक्षण भएका मानिस अनेक अस्पताल भौंतारिए पनि गम्भीर नहोउन्जेल उक्त परीक्षणबाटै वञ्चित छन्। मरेका मानिसको अन्तिम संस्कार गर्न हम्मे छ।
अहिले चीनबाट आइरहेको आधिकारिक तथ्यांक आफैंमा भयावह छ। तर यातायात अभावमा अस्पताल पुग्न नसक्ने र उपकरण अभावमा जाँच गर्न नसक्ने मानिसको ठूलो संख्या जोड्ने हो भने अवस्था झनै त्रासद देखिन्छ। भाइरसका कारण नभई यातायात अवरोधकै कारण अन्य स्वास्थ्य समस्याले पिल्सिने वा मर्नेको पीडा अलग्गै छ।
दुई, ढिलोचाँडो चीनले तीनै खाले भाइरसको यो कहरबाट मुक्ति पाउला। तर महामारीको स्रोतका रुपमा चीनको हैसियत बदलिने देखिंदैन। विश्लेषक फ्रान्सेस्को सिसिका अनुसार चिनियाँ समस्याका केही संरचनागत कमजोरीका कारण त्यसो भएको हो।
सिसि भन्छन्ः चीन औद्योगिक विकासको जुन चरणमा छ, त्यसअनुसार त्यहाँको कृषि पनि पश्चिमा देशमा झैं आधुनिकीकरण भइसक्नुपर्ने हो। त्यसो गर्दा सीमित ठूला औद्योगिक कृषि फार्मले ठूलो उत्पादन गर्छन्। कुखुरादेखि बंगुरपालनसम्ममा चुस्त ‘हाइजिन’ कायम गरेर संक्रमण रोक्न सकिन्छ। तर त्यसो गर्दा बेरोजगार हुन पुग्ने करोडौं कृषि श्रमिकका लागि रोजगार र सामाजिक सुरक्षाको जोहो गर्ने अवस्थामा चीन छैन। त्यसैले देशभरका दसौं लाख बंगुर वा कुखुराका खोर रहिरहनेछन्। ती सबैमा चुस्त सरसफाइ सम्भव नभएकैले अब बर्डफ्लु वा अफ्रिकन स्वाइन फ्लुको अर्को महामारी रोक्ने उपाय चीनसँग छैन।
अर्कोतिर घरपालुवा होऊन् वा जंगली, जस्तासुकै जीवित प्राणी् आहार बनाउने चिनियाँको बानी कोरोना भाइरसको अहिलेको महामारीका लागि जिम्मेवार मानिन्छ।
वैज्ञानिकहरूको अध्ययनले देखाएको छ- भने दुरदराजका गुफामा विभिन्न प्राणीका शरीरमा सयौं वर्षदेखि विभिन्न भाइरस थपक्क बसेका छन्। तीमध्ये कति मानिसका लागि सांघातिक छन्। गरीब गाउँलेको दुई पैसा कमाउने लालच र सहरियाको अनौठा प्राणी खाने सोखका कारण वुहानको पशु बजारजस्ता ठाउँ यस्तो रोगका नर्सरी बनेका छन्। चीनको यो यथार्थ पनि छिटै बदलिने देखिंदैन।
ऐनाका रुपमा भाइरस
अन्तमा, नोबेल कोरोना भाइरसले मानव समाजलाई जनस्वास्थ्यसम्बन्धी आफ्ना यावत सबलता र दुर्बलताको ऐना देखाइदिएको छ। त्यो ऐनामा के देखिन्छ त?
सूचना अवरुद्ध गर्न सकिन्छ, सत्य अवरुद्ध हुँदैन। मानिसका लागि बनेको यातायात सञ्जालबाट उसका वैरी जीव पनि यात्रा गर्न सक्छन्। मानिसले अरू प्राणीको हत्या गरेर तिनबाट प्रोटिन मात्रै पाउँदैन, प्राणघातक रोग पनि पाउँछ। मानिस भाइरसविरुद्ध औषधि र भ्याक्सिन बनाउन सक्षम छ तर भाइरस ती दुवैलाई छलेर नयाँ प्रजातिमा विकसित हुन सक्षम छ।
मानिसलाई प्रविधिको विकासमार्फत संसार जितेको भ्रम छ तर प्राणघातक र तीव्र फैलावट दुवै भएको एउटै भाइरस मानिस जातिको बर्बादीका लागि काफी हुन्छ।
सन् १९१८–२० को स्पेनिश फ्लु (एचवनएनवन)ले ५ देखि १० करोड मानिस (तत्कालीन जनसंख्याको ३–६ प्रतिशत)को ज्यान लिएको थियो।
अर्को त्यस्तो भाइरसभन्दा सायद हामी केही ‘म्युटेसन’ मात्रै टाढा छौं। आशा गरौं, अरु सय वर्ष त्यस्तो म्युटेसन नहोस्। तर भोलि नै भइहाल्यो भने पनि हामीले गर्नसक्ने धेरै छैन।
विडम्बना, हामीले चमेराको शिकारदेखि भद्रगोल सुँगुर वा कुखुरापालन गरेर प्राणघातक भाइरस संसारलाई गिजोलिरहेका छौं। त्यति मात्रै नगर्ने हो भने पनि अर्को महामारीको सम्भावना निकै घटेर जान्छ।