डियर प्रशा, एक वर्ष भएछ। पोहोर आजकै दिन लेख्न सुरू गरेको यो चिठ्ठी आज गह्रौं मन लिएर पूरा गर्दै छु।
२०१९ फेब्रुअरी ८ को बिहान सबेरै म्यासेन्जरको टिंगऽऽऽऽ आवाजले म ब्युँझेँ। न्यूयोर्कबाट अनिलजंग शाहीको सन्देश रहेछ- 'प्रशा पास्ड अवे टुडे (आज प्रशा बितिन्)।'
म प्रतिक्रियाविहीन भएर म्यासेन्जरबाट फेसबुकको भित्ता चहार्न थालेँ। खरर स्क्रोल गर्दा बेलायतबाट सुधा गुरुङको पोस्ट देखेँ-
'केही वर्षअघि अमेरिकामा नेपथ्यको शो हेर्न अक्सिजन सिलिन्डर बोकेर आएकी युवती प्रशा तुलाधरबारे आयोजक किरणकृष्ण श्रेष्ठजीले लेख्नुभएको अतिरोचक अनि मर्मस्पर्शी लेख पढेकी थिएँ! उनको असाधारण रोग, उनको हिम्मत र सकारात्मक ऊर्जाले भरिएको जीवनकथा पढ्दा मन भावविह्ल भएको थियो... आज उनै प्रशाको निधनको समाचार पढ्दा दु:ख लाग्यो। उनको आत्माको चिरशान्तिको कामना अनि उनको श्रीमान र प्यारी छोरीलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्... हार्दिक समवेदना!!'
यो समाचार सुनाउन अल्कालाई बोलाएँ। उनी पनि फेसबुकमा तिम्रै समाचार पढ्दै रहिछन्। मैले बोलाएको सुनेपछि घाँटी सफा गरेजस्तो गर्दै खोकिन् र थुक निल्दै मतिर हेरिन्।
उनका आँखा टिलपिल थिए।
मैले केही भन्नुअघि उनले केही नबोली आफ्नो फोन मतिर बढाइन्। फोन लिएर हेरेको तिम्रै पेजमा तिम्रो परिवारको सदस्यले यसो लेखेका रहेछन्–
'सबैमा नमस्ते, प्रशा अब हामीमाझ रहिनन्। अन्तिम घडीसम्म बहादुरीसाथ लड्दै फेब्रुअरी ७, २०१९ को बिहान परिवारका सदस्यहरूमाझ उनले अन्तिम सास फेरिन्। परिवारका सदस्यको उपस्थितिले जीवनको अन्तिम घडीमा उनले केही आराम महशुस गरिन् होला भन्ने हाम्रो आशा छ।
'प्रशा एक असल मानव थिइन्, जो अत्यन्तै दुर्भाग्यपूर्ण रोगको शिकार भइन्। रोगका बाबजुद उनी कहिल्यै निराश भइनन्। उनले आफ्नो जीवन सधैं भरपुर बाँचिन्। प्रशा भएकी भए उनले तपाईं सबैलाई सहयोग र प्रार्थनाका लागि धन्यवाद पक्कै दिन्थिन्। आज उनी छैनन्, त्यसैले उनको तर्फबाट हामी तपाईं सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छौं। प्रशाको फोक्सोदाता मेलिशा (प्रशाले उनको दातालाई दिएको काल्पनिक नाम) र उनको परिवारलाई विशेष धन्यवाद, जसका कारण उनले आफ्नो जिन्दगीमा थप तीन वर्ष बाँच्ने अवसर पाइन्...'
तिम्रो परिवारको यो सन्देश पढेपछि यी तीन वर्षबारे तिमीले भन्ने गरेका कुरा म सम्झन्छु।
यी तीन वर्ष तिम्रो लागि कति महत्वपूर्ण थियो, तिम्री छोरी जोलिनका लागि कति बहुमूल्य! फोक्सो प्रत्यारोपणपछिका यही तीन वर्षका कारण उनले जीवनभर आमाको आकृति र स्नेह सम्झिने मौका पाइन्। तिम्रो शरीरलाई तीन वर्ष सास दिने मेलिसाको फोक्सोलाई मेरो पनि धन्यवाद।
एक दिनअघि मात्र अल्का फेसबुकमा तिमीबारे स्ट्याटस हेरेर पिर गरिरहेकी थिइन्।
‘यसपालि प्रशालाई निकै गाह्रो भैराखेको छ जस्तो छ,’ उनले भनिन्।
मैले अति आत्मविश्वासका साथ भनेको थिएँ, ‘प्रशा यति ज्याद्रो छ, ऊ यसपटक पनि ठिक हुन्छे।’
अन्जानमा आश गरेछु, निराश भएँ।
मानिस भौतिक रूपमा छैन भन्ने महशुस भएपछि एक किसिमको छट्पटाहट हुँदो रहेछ। तिमीसँग भएका संवाद, च्याट र भेटहरूको सम्झनाले लखेट्न थाल्यो। केही भेटमै हामीबीच एउटा मायालु साइनो गाँसिएको थियो। यो मेरो कारण होइन, तिम्रो मायालुपनको कारण। म त रुखो मान्छे, सम्बन्ध जोड्ने सीप, जाँगरमा कमजोर।
अगस्ट २९, २०१५ मा पहिलोपटक न्यूयोर्कको म्यान्ह्याटनको ह्यामर्स्टन बल रूममा हाम्रो भेट भएको थियो। नेपथ्यको कन्सर्टमा तिमी अक्सिजन पाइप भिरेरै ह्विलचेयरलाई लात मारेर 'उठ्यो बस्यो' भन्दै नाचेको दृश्य म कसरी बिर्सन सक्छु।
कार्यक्रमपछिको भेटमा तिमीले भनेकी थियौ, ‘अब म फेरि नेपाल जान सक्दिनँ होला, डाक्टरहरूले अनुमति दिँदैनन्। नेपाललाई मेरो एकदमै माया सुनाइ दिनुहोला।’
त्यसपछिका च्याट र भेटमा म तिम्रो हिम्मत बढाउन ‘किन सक्दैनौ? अलि बलियो भएपछि सकिहाल्छौ नि’ भन्थेँ। तिमी मेरो हौसलाले उत्साहित हुँदैन थियौ। तिमीलाई आफ्नो यथार्थ अरूलाई भन्दा राम्ररी थाहा थियो।
तिमीलाई सबैको कति वास्ता थियो। आफ्नो पति, छोरी सबै कति प्रिय थिए तिम्रा लागि। रोगबारे थाहा पाउँदा-पाउँदै तिमीसँग बिहे गर्ने दिपकप्रति मेरो सधैं उच्च सम्मान रहनेछ। उनको मायामा हारेर तिमीले गरेको सम्झौता र तिमीले भनेको याद आइरहेको छ, 'यति माया गर्ने श्रीमान् पाएकोमा म असाध्यै भाग्यमानी महशुस गर्छु। उनको मायाले हारेरै उनैको इच्छामा मैले छोरी पनि पाइदिएकी हुँ। नत्र मेरो बच्चा बनाउने सोचाइ थिएन।'
तिमीले बच्चा जन्माउने सोच बनायौ, ठिक गर्यौ। छोरीकै उपस्थितिबाट तिम्रो यादका रूपमा दिपकले तिमीलाई सम्झन त पाउने छन्? तिमी बिर्सन लायक कहाँ हौ र?
आज म हाम्रो च्याटबक्स दोहोर्याएर-तेहर्याएर पढ्दैछु। मेसेज पठाउनेबित्तिकै तुरुन्तै जवाफ पठाउने तिम्रो बानी म मिस गरिरहेको छु। सधैं गर्ने छु।
च्याटबक्स पढिरहँदा एकठाँउ म अड्छु। सन्दर्भ ‘फल्ट इन आओर स्टार’ फिल्म र त्यसकी नायिका हेजलबारे थियो। तिमीलाई र हेजललाई दाँजेर म आफ्नो सोचाइ सुनाउँदै थिएँ। तिमीले लेखेकी थियौ, 'हेजल र मजस्ता पात्र समाजमा धेरै छन्। हाम्रो समाजले त्यस्तालाई घरभित्र थुप्रिएर बाँच्नेबाहेक समाजका विविध गतिविधिको अंगका रूपमा स्वीकार्न चाहँदैन।’
आफ्नो भावना प्रस्ट पार्दै तिमीले थपेकी थियौ, 'म मेरो शरीरको अवस्था जे-जस्तो भए पनि जीवनलाई सामान्य मान्छेले जस्तै बाँच्न चाहन्छु। म थुप्रै सम्झना निर्माण गर्न चाहन्छु। मेरो जीवनलाई म रहे पनि नरहे पनि सबैका निम्ति एउटा यादगार सम्झनाको संगालो बनाउन चाहन्छु। म गएपछि बाँकी रहने पनि त्यही न हो।'
आज तिमी गएपछि म सोच्दै छु, तिमी सफल भयौ। तिमी आफ्नो जीवनलाई धेरैको सम्झनामा राख्न सफल भयौ। बधाई छ तिमीलाई।
तिम्रोबारे सुन्नेबित्तिकै तिमीले नै आफ्नो उपचार क्रममा भोगेका अनुभव साटेको याद आयो।
तिमीले भनेकी थियौ नि, ‘एउटा समय मैले आफ्नो लडिरहेको शरीर नै देखेँ, त्यो सत्य थियो वा मेरो बेहोसीको भ्रम थियो, थाहा छैन। त्यति बेला मलाई आफू शरीरबाटै अलग्गिएको अनुभूति भएको थियो।’
शरीरबाट अलग्गिएको क्षणबारे तिमीले अगाडि भनेकी थियौ, ‘सबै असाध्यै हलुका बनेको थियो। अथाह पीडाबाट अचानक छुट्कारा पाएजस्तो!’
शरीरबाट अलग्गिएको अनुभवपछि होशमा आएको अनुभव तिमीले यसरी भनेको याद छ, ‘त्यसलगत्तै मैले फेरि जीवन पाएँ। तर, जीवनसँगै फेरि चरम दुखाइ सुरू भएको थियो।’
आज तिमीले दुखाइ र जीवन दुवै त्यागेकी छौ। सधैंलाई पीडाबाट छुट्कारा पायौ। तिमीलाई हलुका भयो होला। यता तिमीबाट टाढा मेरो मन भने गह्रौं भएको छ। सम्झनाका संगालो जेलिएर गाँठो परेजस्तो।
कसैसँग कुनै योजना अपुरै रह्यो भने मनमा गाँठो जेलिन्छ होला। तिमी र मबीच पनि एउटा योजना थियो। अपुरै रहने भयो। यो सोचले मन झन् काट्छ।
गफैगफमा मैले तिमीलाई तिम्रो कथा लेख्न उक्साएको थिएँ। तिमी उत्साहित भयौ। मैले तिमीसँग सहकार्य गर्न सक्ने लेखक नखोजेको होइन, तर काम सुरू गर्ने जोग मिलेन भनौं। त्यता न्यूयोर्कमा लेखक पाउन गाह्रो, यताबाट पठाउन गाह्रो।
एकदिन तिम्रो म्यासेज आयो, ‘दाइ, म मेरो कथा आफैं लेख्छु। कथा राम्रोसँग बुन्न के गर्नुपर्ला?’
दंग पर्दै तिमीलाई दुईबुँदे जवाफ लेखेछु, ‘एक, यस्तो कथा लेख जुन तिमीले पढेकी छैनौ। दुई, आफ्नो भावना आफूले अनुभूति गरेजसरी नै लेख्नू, अरुले लेखिसकेको भाषामा होइन।'
तुरुन्तै तिम्रो जवाफ आयो, ‘गट इट दाइ।’
करिब एक महिनापछि तिम्रो म्यासेज झुल्कियो, ‘तपाईंको इमेल ठेगाना?’
मैले सोचेँ, तिमीले तिम्रो कथाको प्रगति पठाउँदै छौ। २०१८ अक्टोबर ५ को मध्यरात १२:०६ मा मैले मेरो इमेल ठेगाना पठाएँ। त्यसपछि न तिम्रो म्यासेज आयो, न इमेल।
तिमीसँग सम्बन्ध राख्ने म्यासेज त आयो, त्यो पनि एकैचोटि चार महिनापछि, फेब्रुअरी ८, २०१९ को बिहान। न्यूयोर्क बस्ने अनिलजंग शाहीको- 'प्रशा पास्ड अवे टुडे।'
तिमी बितेको दिन अमृत गुरूङले अफ्नो भावना यसरी पोखेका थिए, फेसबुक मार्फत्-
'२०१५ मा पहिलोपटक संक्रमित फोक्सो र अक्सिजनसहित न्यूयोर्कको म्यानह्याटन सेन्टरमा भेट भएकी प्रशालाई २०१६ मा फेरिएको ‘नयाँ’ फोक्सो र नयाँ जोशसहित भेटेको थिएँ। उनको आत्मबल देखेर म सधैं दंग हुन्थेँ। २०१६ मा उनले म्यानह्याटनका एभेन्यूहरू छिचोल्दै आफ्नो रिह्याब सेन्टर घुमाएको क्षण स्मरणमा ताजै छ। मैले खिचेका तस्बिर संग्लै छन्। दैवको लीला... उनी भने अब भेट नहुने गरी टाढिइन्। अर्कोपटक न्यूयोर्क आउँदा तिम्री छोरीलाई भेट्नेछु, तिम्रो तस्बिर दिनेछु र भन्नेछु– ‘तिम्री आमाजस्तै जीवनसँग लडेर अगाडि बढ, तिम्री आमा एक प्रेरणादायक लडाकू थिइन्।’ भेट्नु मिठो जोग थियो, सधैं मायालु सम्झना भएर रहनेछौ प्रशा बहिनी। तिम्रो आत्माले शान्ति पाओस्।'
मेरो भावना पनि अमृतकै भनाइसरह नै छ।
एउटा बाचा भने गर्छु, अर्कोपटक न्यूयोर्क आउँदा तिम्री छोरीलाई भेटेर तिम्रोबारे मैले लेखेका संस्मरणहरू दिनेछु र भन्नेछु, ‘यसलाई सम्हालेर राख। तिम्री आमा आफ्नो जीवनको भोगाइबारे पुस्तक लेख्न चाहन्थिन्। उनको त्यो अपुरो सपना तिमीले कुनै दिन लेख्ने विचार गर्यौं भने यो काम लाग्न सक्छ।'
रेस्ट इन पास डिअर, यु विल बि डियरली मिस्ड।
तिम्रो किरण दाइ।
@KiranKrShrestha