मित्र नारायण वाग्ले भन्छन्— हाम्रो काम लेख्ने मात्रै हो।
पत्रकारले आफूलाई ठीक लागेको कुरामा 'लबिङ' गर्ने वा शारीरिक रूपमै उपस्थित भएर दबाब दिने काममा उनलाई धेरै विश्वास छैन। बाइस वर्षे संगतमा विरलै घटनाबाहेक उनले त्यसो गरेको मलाई थाहा छैन।
अर्का मित्र प्रतीक प्रधान भने यो मामलामा एक सय असी डिग्री फरक छन्। उनलाई 'एक्सन' मा ओर्लिन मन लाग्छ। उनी लेखेर मात्र पुग्दैन भन्छन्। आफूलाई सही लागेको विषयमा लबिङ गर्ने, परेको ठाउँमा गएर भन्ने, आवश्यक तर्क-वितर्कमा पछि नहट्ने उनको स्वभाव छ।
वाग्ले कहिलेकाहीँ पुराना कुरा सम्झाउँदै उनलाई जिस्काउँछन्— समाचार रिपोर्टिङ गर्न जाँदा पनि प्रतीक दुवै पक्षलाई सँगै राखेर झगडा मिलाउनतिर लाग्ने के!
यी दुवै मित्र प्यारा छन्। ठाउँ हेरेर मलाई यी दुवैको तरिका मनपर्छ।
विशेषगरी कतिपय सार्वजनिक चासोका विषयमा लेखेर पुगेन भने लबिङ गर्नुपर्छ भन्ने मलाई पनि लाग्छ। आमनेसामने भेट्यो भने थप बुझाउन सक्छु भन्ने भ्रमले हो वा लेखेरै मात्र बुझाउन सकिन्छ भन्ने आत्मविश्वास नभएर हो, लबिङ गर्न म पनि कहिलेकाहीँ अग्रसर भएको छु।
यस्तै एउटा विषय हो— टुँडिखेल पार्क।
रंगशालाभन्दा उत्तरको भागलाई टुँडिखेल, रानीपोखरी हुँदै नारायणहिटी संग्रहालयसम्मको क्षेत्र समेटेर काठमाडौंको मुटुमा विशाल पार्क बनाउनुपर्छ भन्ने स्टोरी सेतोपाटीमा म र मित्र सुदीप श्रेष्ठले लगातार लेख्दै आएका छौं।
सुदीपले त पछिल्लो समय टुँडिखेल पार्क मात्र हैन, काठमाडौंको पुरानो वैभव ब्युँताएर पूरै सहरलाई कसरी 'हेरिटेज सिटी' बनाउन सकिन्छ भनेर लगातार लेखेका छन्। हामीलाई निरन्तर सपना देखाएका छन्।
(हेर्नुहोस्: मध्यसहरमा आर्मी हेडक्वार्टर किन?, यस्तो बन्नसक्छ हाम्रो न्यूरोड, प्रिय विद्यासुन्दरजी, आफ्नो छवि सुधार्ने यो मौका नगुमाउनुस्, आऔं बनाऔं हामी हाम्रो काठमाडौं मण्डल)
आजभन्दा पन्ध्र सय वर्षअघि लिच्छवि कालमा बसालिएको कोलिग्राम र दक्षिण कोलिग्राम सहर, जसलाई आज हामी काठमाडौंको 'कोर सिटी' भन्छौं, ती सबै भू-भाग सवारीमुक्त गर्ने, त्यहाँका संरचनाहरू पुरानो स्वरूपमा ढाल्ने र मन्दिरदेखि निजी मकानको सांस्कृतिक पहिचान फर्काउनेबारे उनले लेख्दै आएका छन्।
'काठमाडौं मण्डल' समेत भनिने यो भू-भागलाई पुरानै स्वरूपमा फर्काउन सके यो सिंगो सहर नै विश्व सम्पदा क्षेत्रमा दर्ज हुन सक्ने र यसले स्थानीयको आर्थिक गतिविधि विस्तार हुने उनले लेखेका छन्।
सुदीप त्यस्तै त हो नि ब्रो— केही कुरामा लागेपछि डटिरहने, नछाड्ने!
काठमाडौंको मुटुमा विशाल टुँडिखेल पार्क बनाउने कुरा नराम्रो हो भनेर कसैले भनेको छैन। तर यो बनाउन सम्भव होला भन्नेमा कतिलाई शंका छ। नेपाली सेनाले टुँडिखेलको धेरै भाग ओगटेकाले पनि मान्छेलाई त्यस्तो लागेको हो। भद्रकालीबाट थापाथली निस्कने बाटो सुरक्षाको कारण देखाउँदै केही वर्षअघि बन्द गरिदिएकाले पनि सेनाले मान्दैन भन्ने धारणा बलियो भएको हो।
पूर्णचन्द्र थापालाई प्रधानसेनापति हुनुअघि पनि मैले केहीपटक भेटेको थिएँ। पहिलो भेटदेखि नै यी जर्नेल मलाई अलि फरक लागेका थिए— अरूका कुरा सुन्ने, बहस गर्ने, खुला मनका।
त्यही पुरानो चिनजान समातेर केही महिनाअघि म प्रधानसेनापति थापालाई भेट्न भद्रकालीस्थित जंगीअड्डा पुगेँ।
सेनाको नयाँ हेडक्वार्टर 'फिनिसिङ' कै चरणमा थियो। तल्लो तलामा मिस्त्रीहरू रङ लगाउने लगायत खत्र्याकखुत्रुक काम गर्दै थिए। प्रधानसेनापतिको अड्डा भने तयार भइसकेको थियो। प्रधानसेनापतिले पाहुना भेट्ने कोठामा बिहानै कुराकानी सुरू भयो।
मैले विषय प्रवेश गर्दै भनेँ— तपाईंसँग टुँडिखेल पार्कको कुरा गर्न आएको।
त्यसपछि मैले सहरमा किन पार्क चाहिन्छ, किन संसारभरका व्यस्त सहरमा नयाँ पार्क बनाउने, पुराना ब्युँत्याउने काम भइरहेको छ, किन सहरको सुन्दरता, पर्यावरण र मान्छेको स्वास्थ्यका हिसाबले पार्क आवश्यक छ भन्ने व्याख्या गरेँ।
मैले काठमाडौंमा विशाल पार्क बनाउनेबारे झन्डै ५ हजार शब्दको लेख लेखेको थिएँ। दोस्रोपटक प्रधानमन्त्रीलाई सम्बोधन गर्दै २५ सय शब्दको छोटो संस्करण पनि लेखेकाले विषयवस्तु मलाई कण्ठै थियो।
(हेर्नुहोस्: काठमाडौंको बीचमा दुई विशाल पार्क र प्रधानमन्त्रीजी, यही हो टुँडिखेल-नारायणहिटी समेटेर विशाल पार्क बनाउने समय)
यस्ता लबिङ मिटिङमा म तिनै लेखका मूल तथ्य र तर्क सकेसम्म प्रभावकारी हिसाबले भन्ने प्रयास गर्छु।
त्यसमध्ये पनि हरियाली र मान्छेको सम्बन्धबारे अमेरिका र नेदरल्यान्ड्समा भएका दुई अनुसन्धान नछुटाई भन्छु।
अमेरिकाको 'साइन्स' जर्नलमा प्रकाशित एउटा अनुसन्धान चकित पार्ने खालको छ।
अनुसन्धाताहरूले पेन्सिलभेनिया अस्पतालमा शल्यक्रिया गरेर दुई फरक खाले कोठामा राखिएका बिरामीको अध्ययन गरे। एकखाले कोठाका झ्यालबाट रूखहरू देखिन्थे। अर्को कोठाबाट इँटाका भित्ता। ती दुई कोठामा बसेका बिरामीको दस वर्षको मेडिकल रिपोर्ट अध्ययनले गज्जबको कुरा देखायो।
रूख देखिने कोठामा बसेका बिरामी इँटाको भित्ता देखिने कोठामा बसेका बिरामीभन्दा शल्यक्रियापछि छिट्टै घर फर्किए। अस्पतालमा बस्दा थोरै 'पेनकिलर' प्रयोग गरे। उनीहरूले नर्ससँग थोरै मात्र नकारात्मक टिप्पणी गरे। यो अध्ययनले मान्छेको रूख र हरियालीसँगको सम्बन्ध बुझ्न सघायो।
त्यस्तै, सन् २००१ मा नेदरल्यान्ड्समा गरिएको अर्को अध्ययनले पार्क, हरियाली र मान्छेको स्वास्थ्य सम्बन्धबारे थप रहस्य खोलेको छ। यो अध्ययनले १० हजार डचको स्वास्थ्य र उनीहरू बस्ने ठाउँबीच कस्तो सम्बन्ध छ भन्ने हेरेको थियो।
अध्ययनले देखायो— कम हरियाली भएकोभन्दा धेरै भएको क्षेत्रमा बसोबास गर्नेका स्वास्थ्य समस्या थोरै थिए। उनीहरूले आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो भएको बताए। पार्क होस् वा जंगल वा खेतीपाती गरिएका क्षेत्र, यी सबैखाले हरियालीले स्वास्थ्यमा उस्तै सकारात्मक प्रभाव पार्छ।
अध्ययनको निष्कर्ष छ— बसोबासस्थल वरिपरि १० प्रतिशत मात्र हरियाली बढायो भने पनि मान्छेको आयु पाँच वर्ष थपिने गरी स्वास्थ्य समस्या घट्छन्।
प्रधानसेनापतिलाई झन्डै १५ मिनेट पार्कको महत्व व्याख्या गर्दा उनले धैर्यपूर्वक सुनिरहे। बोल्दै गर्दा पनि मेरो मनमा उनले के सोचिरहेका होलान् भन्ने प्रश्न आइरह्यो।
कुरा सुनिसकेपछि उनले भने, 'काठमाडौंको मुटुमा पार्क बनाउने आइडिया त धेरै राम्रो हो। सहरमा खुला ठाउँ र हरियाली चाहिन्छ भन्नेमा नेपाली सेना पनि सचेत छ। हामीले सकेको प्रयास पनि गरिरहेका छौं।'
त्यसपछि उनले जे भने त्यसले म झनै दंग परेँ। उनले सहिद गेट र रंगशाला बीचमा रहेको सेनाको 'पार्टी प्यालेस' हटाउन सकिने बताए।
'सेनालाई आफ्नै लागि पनि त्यस्तो हल र ठाउँ त चाहिन्छ। अर्को ठाउँ व्यवस्था गरेर त्यसलाई हटाउन सकिन्छ,' उनले भने।
'टुँडिखेल पार्क' सम्बन्धी पहिलो लेखमा मैले सहिदगेटदेखि रंगशालासम्मको भाग पनि यो पार्कमा गाभ्नुपर्ने र त्यहाँभित्र सेनाले बनाएका संरचना हटाउनुपर्ने जिकिर गरेको थिएँ। दोस्रो लेखमा भने मैले सेना तयार नहुने हो भने तत्काललाई सहिदगेट र त्यहाँबाट उत्तर नारायणहिटीसम्म समेटेर भए पनि पार्क बनाउनुपर्ने लेखेको थिएँ।
'पार्टी प्यालेस' हटाउन तयार रहेको प्रधानसेनापतिको भनाइ सुनेर म दंग नपर्ने कुरै थिएन।
तर 'टुँडिखेल पार्क' बनाउने निर्णय सेनाले होइन, सरकारले गर्ने हो। सरकारले निर्णय गर्यो भने सेना बाधक हुन्न भन्ने प्रस्ट भयो।
टुँडिखेल पार्कको लबिङ मैले अरू तीन जनासँग पनि गरेको छु— राष्ट्रपति र प्रधानमन्त्रीका दुई सल्लाहकार।
प्रधानसेनापतिसँग कुरा गरेको केही सातामै म राष्ट्रपतिकहाँ पुगेको थिएँ। राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेललाई फोनमै भनेँ— टुँडिखेल पार्कका लागि राष्ट्रपतिज्यूलाई केही भन्नु छ।
उनले भने, 'खुल्ला ठाउँ, पार्क र हरियालीबारे राष्ट्रपतिलाई पनि ठूलो चासो छ। म समय मिलाएर खबर गर्छु।'
दुई सातापछि राष्ट्रपतिसँग भेटको समय मिल्यो। फेरि पार्कको महत्व बेलिविस्तार लगाएँ। उनले पनि उत्साहपूर्वक सुनिन्।
भनिन्, 'पार्कबारे चासो र ज्ञान राख्ने मान्छेहरू मिलेर कसरी पार्क बनाउन सकिन्छ भनेर बहस गर्ने, सकेसम्म योजनाको खाका नै बनाउन सकियो भने सरकारलाई पनि सजिलो हुन्छ, झक्झक्याउँछ पनि।'
हाम्रो राष्ट्रपति संवैधानिक हो, कार्यकारी होइन। त्यसैले पार्क वा अरू कुनै कुरा कार्यान्वयन गर्ने राष्ट्रपतिले होइन। तर सेनाको परमाधिपतिका हैसियतले टुँडिखेल पार्कबारे प्रभाव पार्ने ठाउँमा उनी छन्।
हिजो उनको राजनीतिका कारण पनि टुँडिखेल पार्कजस्तो सार्वजनिक चासोका विषयमा उनले भूमिका खेल्न सक्ने प्रशस्त ठाउँ छ। राष्ट्रपतिका कानमा पार्कको महिमा पुर्याइराख्यो भने कुनै न कुनै दिन त्यो काम लाग्छ भन्ठानेर उनलाई सुनाएको हुँ।
त्यसो त सम्भव भयो भने प्रधानमन्त्रीलाई पनि भेटेर पार्क महिमा सुनाउने धोको छ। ढिलो, चाँडो कसो मेसो नमिल्ला।
दुई सल्लाहकारलाई त यो कुरा उहिल्यै भनिसकेँ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले उनकै कार्यकक्षमा बसेर भने, 'तपाईंहरूको पार्कको आइडिया चाहिँ हामीलाई मन परेको छ।'
मैले जिस्काएँ, 'मन परेको त कार्यान्वयन गरिहाल्नुपर्छ।'
उनी हाँसे मात्र।
टुँडिखेल पार्कको कुरा विस्तृतमा गरेको अर्का सल्लाहकार राजन भट्टराईसँग हो।
एउटा 'लन्च' भेटमा गफिने समय पनि प्रशस्त थियो— कूटनीतिका केही कुरापछि बाँकी समय पार्ककै कुरा गरेर बित्यो।
टुँडिखेल पार्क, काठमाडौंको भित्री बस्तीका घर पुरानै शैलीमा फर्काउने, रानीपोखरी वरपरको क्षेत्र खुला राख्ने लगायतमा सरकार सकारात्मक छ, सरकारले पनि त्यसबारे सोचिराखेको छ भन्ने थाहा पाएको त्यही बेला हो।
मनमा यति मात्रै लागिरह्यो— चाँडै काम गरे हुने नि!
कुराकानी क्रममा टुँडिखेल पार्कको दुवै भागका सडकमा अन्डरपास बनाएर माथि खुला राख्नपर्छ भन्नेमा भने प्रधानमन्त्रीको टिमको धेरै ध्यान गएको पाइनँ। त्यसपछि भट्टराईसँगको कुरामा त्यसैमा जोड दिएँ। मलाई अहिले पनि टुँडिखेल पार्कका लागि अन्डरपास अभिन्न अंग हो भन्ने लाग्छ।
यसो भयो भने काठमाडौं र मुलुककै सांस्कृतिक विविधतासँग जोड्न र पर्यटन प्रवर्द्धन गर्न टुँडिखेललाई संसारकै नमूना पार्क बनाउन सकिन्छ।
त्यसका लागि त्रिपुरेश्वर चोकदेखि रानीपोखरीको पश्चिम-उत्तर कुना भोटाहिटीसम्मको सडक सवारी निषेध गरेर यहाँ सडकमुनि गाडी कुद्न 'अन्डरपास' बनाउनुपर्छ।
अर्कातिर, भद्रकाली मन्दिरदेखि नारायणहिटी संग्रहालय गेटसम्मको सडक पनि सवारी निषेध गरेर गाडी कुद्न अन्डरपास बनाउनुपर्छ। त्यस्तै अन्डरपास सहिदगेटको सडकमा पनि चाहिन्छ।
टुँडिखेल दुवैतिरका सडक अन्डरपास बनाउन हामीले धान्नै नसक्ने गरी पैसा लाग्ने होइन। सहरमा जनसंख्या बढ्दै गएपछि संसारका सबै ठूला सहरले जमिनमुनि दगुर्ने सयौं किलोमिटर लामो मेट्रो रेल बनाउँछन्। काठमाडौंको सवारी धान्न पनि हामीले ढिलोचाँडो मेट्रोको व्यवस्था गर्नैपर्छ।
हामीले गएको लगानी सम्मेलनमा राजधानीमा मेट्रो चलाउन प्रस्ताव आह्वान गरिसकेका छौं। एउटा प्रस्ताव परिसकेको पनि छ।
टुँडिखेल वरिपरि मुश्किलले ४-५ किलोमिटरको अन्डरपास बनाउन नसक्ने हो भने हामीले मेट्रो कसरी कुदाउने? नागढुंगा-धुलिखेल जोड्ने मेट्रो कसरी बनाउने? काठमाडौं-वीरगन्ज, काठमाडौं-केरुङ जोड्ने रेल कसरी चलाउने?
विशाल टुँडिखेल पार्क निर्माण र यसको दुवैतिरका सडक सवारीमुक्त हुनेबित्तिकै राजधानीबासीको आत्मविश्वास र उत्साह थपिनेछ। काठमाडौंलाई सास फेर्ने विशाल फोक्सो थपिनेछ। काठमाडौंबासी र पर्यटकका लागि एउटा गतिलो गन्तव्य थपिनेछ।
पार्कको पूर्वमा भद्रकालीदेखि नारायणहिटीसम्म र पश्चिममा त्रिपुरेश्वरदेखि भोटाहिटीसम्म सवारीमुक्त खुल्ला सडक। त्यो पनि कालोपत्रे होइन, मानिस हिँड्ने, सांस्कृतिक कार्यक्रम हुने अलग भाँतिको सडक र मानिस सुस्ताउने चौतारा।
यो पार्कसँगै हाम्रा ऐतिहासिक सांस्कृतिक सम्पदा पनि जोडिनेछन्। लगभग ४२ रोपनी जग्गा समेटेर धरहरा पुनर्निर्माण हुँदैछ। यो धरहरा पार्कमै जोडिन्छ। भद्रकाली मन्दिर, सहिदगेट, घन्टाघर, नारायणहिटी संग्रहालय, नारायणहिटीमा रहेका महेन्द्र मञ्जिल, राजा वीरेन्द्रको निवास श्रीसदन र निर्माणाधीन गणतन्त्रपार्क यो विशाल पार्कका अंश बन्नेछन्।
आजकाल संसारका कैयन ठूला पार्क कला र संस्कृति, संगीत प्रस्तुत गर्ने ठाउँका रूपमा विकसित हुन थालेका छन्। टुँडिखेल त उहिल्यै काठमाडौं संस्कृतिको अभिन्न अंग थियो। काठमाडौंका कतिपय जात्रा र त्यसपछिका भोज टुँडिखेलमै हुने गर्थे।
टुँडिखेल समेटेर बनेको विशाल पार्क र त्यो पार्कसँग जोडिने खुल्ला सडकमा नेपालको सांस्कृतिक विविधता, कला र संगीत प्रस्तुत गर्ने, प्रदर्शन गर्ने ठाउँ बनाउन सकिन्छ। मानिसले खाने, बस्ने ठाउँ बनाउन सकिन्छ। यति गरेपछि टुँडिखेल पार्क मात्र बन्ने छैन, हाम्रो संस्कृति र सभ्यताको अभिन्न अंगका रूपमा पुनर्स्थापित हुनेछ।
टुँडिखेल र दुईतिरका ठूला खुल्ला सडकमा हरेक साँझ काठमाडौं सास फेर्न, सुस्ताउन, कुरा गर्न र आफ्नो संस्कृति हेर्न निस्कनेछ। र, सँगै निस्कनेछन् पर्यटक, जसले नेपालको विविधता एकैठाउँ देख्नेछन्।
हाम्रो समाज सांस्कृतिक हिसाबले यति विविध र सम्पन्न छ। त्यो विविधता र सम्पन्नताका आयाम हामी नेपालीलाई नै थाहा छैन। विदेशीको कुरै छाडौं।
टुँडिखेल पार्क हामी नेपाली र विदेशीलाई पनि नेपालको हिमालदेखि तराई, पूर्वदेखि पश्चिमसम्मको सांस्कृतिक विविधता देखाउने ठाउँ बन्नेछ।
हामी पार्कका दुईतिरका सडकमा हरेक साँझ काठमाडौंका जात्रा, पर्व र नाचका झाँकी देखाउन सक्छौं। अनि देखाउन सक्छौं राई, लिम्बू, गुरुङ, मगर, तामाङ, शेर्पा, थारु, धिमाल, सतार, राजवंशी र अनेक जातजातिका पोसाकको परेड, उनीहरूका पर्व र नाचहरूका झाँकी।
हाम्रो राष्ट्रिय विविधता हामी नेपालीहरूलाई नै चिनाउने, भविष्यको पुस्तालाई त्यही विविधताले बाँध्ने र राष्ट्रिय एकता बलियो पार्ने एउटा माध्यम बन्नेछ टुँडिखेल पार्क।
काठमाडौंबासी, काठमाडौं बाहिरबाट आएका नेपाली र विदेशी पर्यटकका लागि जानैपर्ने, समय बिताउनैपर्ने ठाउँ बन्नेछ। टुँडिखेल पार्क निर्माण काठमाडौंको पर्यावरण, राजधानीबासीको शारीरिक र मानसिक स्वास्थ्य, राजधानीको शोभा र सुन्दरता तथा मुलुकको संस्कृति प्रबर्द्धनसँग मात्र जोडिएको छैन, यो आफैंमा एउटा 'गुड बिजनेस सेन्स' को विकास परियोजना पनि हो।
यो पार्क निर्माणसँगै काठमाडौंमा एउटा गज्जबको पर्यटकीय आकर्षण थपिनेछ। यसले नेपाल आउने पर्यटक संख्या मात्र बढ्ने छैन, उनीहरू काठमाडौं बस्ने दिन पनि लम्बिनेछ। नेपालको संस्कृतिको परख गर्ने समय थपिनेछ।
भट्टराईले पनि अन्डरपास आवश्यकताको लामो व्याख्या सुनिसकेपछि भने, 'ल यो कुरा पनि इन्ट्रेस्टिङ रै'छ।'
मैले भनेँ, 'सम्बन्धित ठाउँमा छलफल हुँदा यो कुरा पनि राख्नुस् है।'
टुँडिखेल पार्कको 'आइडिया' लाई योजनामा, र योजनालाई कार्यन्वयनमा लैजाने बेला भइसक्यो।
पछिल्लो चार सातादेखि काठमाडौंका जागरुक नागरिकले टुँडिखेललाई अतिक्रमणमुक्त गराउन 'मुक्त टुँडिखेल' अभियान सञ्चालन गर्दै आएका छन्। टुँडिखेलको महत्वपूर्ण हिस्सा खुलामञ्चलाई मानव सांग्लोले घेरेर सुरू भएको यो अभियानअन्तर्गत प्रत्येक शनिबार टुँडिखेलकै बीचमा विभिन्न जनचेतनामूलक कार्यक्रम हुँदै आएको छ।
एउटा शनिबार टुँडिखेलको पुरानो सम्झना सजीव पार्दै नयाँ र पुरानो पुस्ताका प्रतिनिधिले खरीको बोट रोपे। त्यसपछिको शनिबार टुँडिखेलसहित खुला स्थलको महत्व झल्काउने गरी कविता वाचन गरियो। त्यस्तै, टुँडिखेलको ऐतिहासिक, सांस्कृतिक, पर्यावरणीय र सम्पदा महत्वमाथि सम्बन्धित क्षेत्रका विज्ञहरूले प्रकाश पारे।
पाँचौं साताको कार्यक्रम भोलि शनिबार हुँदैछ, जसमा राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले भाग लिँदैछन्। चालू दक्षिण एसियाली खेलकुद (साग) को सन्दर्भ पारेर अभियन्ताहरूले खेलकुदको विकासमा खुला स्थलको महत्व जोड्न खोजेका छन्।
यसपालि सागमा नेपाली खेलाडीहरूले राम्रो प्रदर्शन गरेका छन्। अहिलेसम्म ३९ स्वर्ण जितिसके। हामी हाम्रा खेलाडीले स्वर्ण जित्दा रमाउँछौं, तर खेलकुद क्षेत्र प्रवर्द्धनमा हाम्रो ध्यान पुग्दैन। खेलकुदको निम्ति न्यूनतम पूर्वाधार भनेकै चउर हो। जहाँ खुला चउर हुँदैन, त्यहाँ खेलाडीहरूले अभ्यास गर्ने ठाउँ पाउँदैनन्। अभ्यासको अवसर नपाएसम्म नयाँ पुस्ताका खेलाडी जन्मन सक्दैनन्।
त्यसैले, खेलकुदको समग्र विकास निम्ति टुँडिखेल लगायत खुला सार्वजनिक स्थलहरूको महत्वमा यसपालि 'मुक्त टुँडिखेल' अभियानले जोड दिनेछ।
टुँडिखेल खुला राख्ने, पार्क बनाउनेमा आममानिसको चासो र सहभागिता बढ्दो छ। नागरिकहरूले स्वतस्फूर्त सुरू गरेको अभियानमा सरकार पनि जोडिन जरूरी छ।
यसमा सरकारले काम अघि बढाएन भने राजनीतिकरण हुने सम्भावना हुन्छ। एउटा पार्टी बनाउने पक्षमा, अर्को नबनाउने पक्षमा उभिन थालेपछि त्यसले राजनीतिक, सामाजिक विभाजन ल्याउँछ। टुँडिखेल पार्कको भविष्य अन्यौलमा पर्छ। हामीले फेरि अवसर गुमाउँछौं।
यो पार्टीहरू विभाजित हुनुपर्ने, एउटाले जस लिने, अर्काले अपजस व्यहोर्ने विषय नै होइन। हामी आफैंले बिगारेको काठमाडौंलाई पुनर्जीवन दिने काम वर्तमान सरकारले सुरू गर्ने, पछि आउनेले निरन्तरता दिने हो।
ताकि यसमा सबैले जस पाऊन्, सबैले सन्तोष गर्न सकून्।