यो लेख लेख्दा म चितवनस्थित कोठामा एक्लै छु।
कोठाको एक कुनोमा सत्याग्रही डाक्टर गोविन्द केसीले मुस्कुराउँदै नमस्कार गरेको फोटो राखेको छु।
डाक्टर केसी एकसुरले मुस्कुराइराखेका छन्। लाग्छ, अब उनी अनसन बस्ने छैनन्। किनभने उनीसँग यसअघि पटकपटक सरकारले गरेका सहमति कार्यान्वयन गर्नेछ।
तर त्यस्तो भएन। डाक्टर केसी हालै डडेलधुरा पुगेर अनसन बसेका थिए। उनले अनसन तोडिसकेका छन् तर माग पूरा भएको छैन। सरकार सहमति कार्यान्वयनमा गम्भीर देखिएको छैन।
वितेका केही बर्ष डाक्टर केसीलाई बुझेपछि म प्रष्ट छु- मेरो पुस्ताले उनीजस्तो अन्य सायदै देख्नेछन्।
अँ साँच्चै कुरैकुरामा भुलेछु। कोठाको भित्तोमा अर्को फोटो पनि राखेको छु। त्यो फोटो धमिलो छ। रगतकै नाता हो तैपनि निकै मधुरो याद आउने अनुहार। १८ बर्ष पहिले राज्यले बेपत्ता बनाएका मेरा बुवाको फोटो हो त्यो।
मेरो भित्तामा ठाउँ नभएर होइन तर अरू फोटा राखिएका छैनन्। तत्कालीन आन्दोलनका नेतृत्वकर्ताका चहकिला फोटा मैले भित्तामा राख्न चाहिनँ। म उनीहरूलाई भित्तामा किन राखुँ? जसलाई मनमा त ठाउँ छैन भने।
कोठामा के राख्छस् त भन्नुहोला।
हो, मेरा कोठामा असरल्ल चिकित्सा शिक्षाका किताबहरू छन्। यत्रतत्र छरिएका। किताबमात्र कहाँ हो र? मेरो सपना पनि मडारिएका छन्, यी किताबजस्तै। तर भुइँमा होइन मनमा।
म राम्रोसँग पढ्न त के परीक्षाको तयारी गर्न पनि सक्दिनँ। अन्योलपूर्ण भविष्यको चिन्ता गर्दै परीक्षाहलभित्र बस्नुपर्छ। चिसो सडकमा नारा लगाउनुपर्ने मेरो विवशता छ। आफ्नै कलेजमा आफैं बन्दक हुनुपर्ने नियती छ।
‘तेरो जिन्दगी खत्तम पारिदिन्छु’ भन्ने कलेज सञ्चालकको धम्की सुन्नुपर्छ। उसो त म एमबिबिएस संयोगले पढ्न पाएको हुँ, कस्तो संयोग? विस्तारै भनौला।
यति कुरा गरेपछि म तपाईंलाई केही पहिलेका दिन सम्झाउँछु है। जुन प्रकाश चन्दलगायत चितवन मेडिकल कलेजमा भएको आन्दोलनमा प्रहरीले धरपकड गर्दै समातेका दिन थिए।
सरकारले तोकेकोभन्दा लाखौं रकम बढी विद्यार्थीबाट मेडिकल कलेजले उठाएपछि बाध्य भएर विद्यार्थी संघर्षपूर्ण आन्दोलनमा अझै छन्। नेशनल मेडिकल कलेजमा धर्ना दिएका विद्यार्थीलाई कुटपिट गरिएको छ।
मैले आफ्ना कुरा भन्नैपर्छ।
मेडिकल कलेजको आन्दोलनका माहौल सम्हाने क्रममा सिनियर भएको नाताले मैले आफ्ना कुरा राख्न थालेको थिएँ। एकदिनको कुरा हो- आन्दोलन शान्तिपूर्ण धर्नामा भर्खरै परिणत भएको थियो। त्यत्तिकैमा एउटा साथीले मलाई माथिको सन्देश सुनाउँछु भन्दै केही पर लग्यो।
‘सरले त्यो सुदनलाई सम्झाइदिनू भन्दै मलाई फोन गर्नुभो। सुदन, प्राक्टिकलमा मिलाइदिने उनीहरू नै हुन्। आन्दोलनमा नदेखिएकै राम्रो होला’ यसले भन्यो।
उसका कुरा मैले हाँसेरै टारिदिएँ। र भनिदिएँ- कलेजको जवाफी कारवाही हेरौंला।
यो त आन्दोलनमा उत्रने विद्यार्थीलाई मेडिकल कलेज सञ्चालकले के गर्छन् भन्ने सामान्य उदाहरण मात्रै हो।
म कलेज भर्ना भएको पाँच बर्ष पुग्यो। भर्ना हुन आउँदा मसँग सिफारिसका चाङ थियो। बुवा राज्यपक्षबाट बेपत्ता पारिएकोले सरकारले सिफारिस दिएको चाङको कुरा गर्दैछु। यतिमात्र होइन, ८ कक्षादेखि एउटा एनजिओको सहयोगमा पढेको सिफारिस पत्र पनि साथै थियो। आइसिआरसीको अर्को सिफारिस पनि ल्याएको थिएँ।
यति चाङ देखाएपछि कसो कलेजले मलाई सहयोग नगर्ला त! भन्ने लागेको हो तर परिस्थिति त्यस्तो भएन। सामाजिक उत्तरदायित्वअन्तर्गत कलेजले मलाई मिलेसम्मको सहयोग गर्नुपर्ने तर गरेन।
उल्टै भनियो- ‘एकमुष्ट पैसा दिने भए चालिस लाख। किस्तामा हो भने पचास लाख। एकदमै मिलाएर गरिदिएको हो है भाइ। अरूलाई नभन्नु है।’
मेरो आर्थिक अवस्था तपाईंलाई थाहा नहोला। होस् पनि कसरी मैले यहाँ उल्लेख नै गरेको छैन।
आर्थिक अवस्था हेर्ने हो भने म एमबिबिएस पढ्न सक्ने विद्यार्थी होइन। सरकारले सहिद बेपत्ताका सन्तानलाई दिने छात्रबृत्तिमा म परिनँ। किनभने मैले निजी विद्यालयबाट एसएलसी पास गरेको थिएँ।
मलाई एक एनजिओले पढाइदिने भयो तर परिवारले पनि खर्च सहयोग गर्ने सर्तमा। अहिलेसम्म पनि मलाई त्यो संस्थाले पढ्न सघाइराखेकै छ। म उनीहरूलाई धन्यवाद दिन चाहन्छु।
सरकारले तोकेको शुल्कमा पढ्न पाउने वातावरण मिलाइदिन मैले के सम्म गरिनँ? हिजो बुवा बेपत्ता बनाउनेहरू सबैका दैलो चहारेँ। अँ हँ कसैले सहयोग गरेनन्। आफ्नो सारासंसार गुमाएको मलाई पार्टीले पनि सहयोग गरेन।
मेरी आमाले अझै बुवाजस्ता हजारौंले परिवर्तनका लागि लडेको भुल्न सक्नुभएको छैन। टेलिभिजनमा डाक्टर केसीको अन्तर्वार्ता आइराखेको रहेछ, हेर्दै आमाले भन्नुभयो, कान्छा तिम्रा बाबजस्ताले एउटा भुल गरेछन्। आफ्नो घरपरिवारमा परिवर्तन ल्याउन नचाहने नेतृत्वले देशमा आमुल परिवर्तन गरेका तर्कहीन भाषणको जालमा परेर हाँसीहाँसी सहादत प्राप्त गर्नू।
डाक्टर केसीलाई मान्नुपर्ने रहेछ। म फेरि गम खाएँ।
कति आफ्ना कुरा गर्छस् भन्नुहोला। अब मेडिकल कलेजकै कुरा गरौं है त।
मलाई साथीले सुनाएको छ, ‘सुदन त्यरो ब्याज मात्रै चार लाख पुगिसकेको रहेछ। छ बर्षसम्म बस्ने कलेजमा सुरूका २ बर्षमै सबै पैसा तिर्नुपर्ने नियमका कारण। अहिलेसम्म मैले परीक्षा फारम समयमै भर्न पाएको छैन। सुरूका दुई बर्षमा सबै पैसा नबुझाए मिटरब्याजले टाउको उठाउन दिँदैन।’
मलाई कहिलेकाहीँ अतितले पनि झस्काउँछ।
एमबिबिएसको पहिलो दिन कलेज सञ्चालकले ‘तिमीहरू अब व्यक्तिगतबाट सार्वजनिक भयौं। पैसा कमाउनेभन्दा समाजका लागि सोच्नुपर्छ।’
यो पो अचम्म छ।
५० रूपैयाँमा पाइने फारमलाई किन कलेजले पाँच हजार लिएको हो? प्रश्न गर्दा जवाफ आउँछ- पैसा ठूलो कि भविष्य? पैसाबाहेक केही नदेख्ने सञ्चालकले विद्यार्थीलाई नैतिकता र इमान्दारिता नपढाएकै वेश हुन्छ।
पैसा तिरेअनुसार सेवा सुविधा छैन। एकै कक्षामा एक सय ५० जना राखेर प्रयोगात्मक कक्षा लिनुपर्छ। एनाटोमी पढ्न अपरिहार्य हुने क्याडाबरको संख्या चाहिनेजति छैन।
बिद्यार्थी अनुपातको बिरामी अनुगमनको बेलामा बाहेक कहिल्यै देखिएन। न्यून संख्यामा रहने प्राध्यापकले समयमै पाठ नसकाउँदा आफैं पढेर परीक्षामा सामेल हुनुपर्ने नियती छ।
सयौं बिद्यार्थी पढाउने कलेजको लाइब्रेरीमा मुस्किलले ५० बिद्यार्थी अट्छन्। अहिले आइरहेका समस्या शिक्षण शैलीमा भन्दा संचालकका ‘अपराध’सँग बढी छ।
बिद्यार्थीसँग अर्बौ उठाउने कलेज एमबिबिएसको अन्तिम बर्षताका गरिने इन्र्टनशीपमा कम पैसा दिएर २४ घण्टा काममा खटाउँछ। डाक्टर केसीको आन्दोलनपछि मेडिकल शिक्षामा भएका बिकृती छताछुल्ल छ। बाहिरबाट हेर्दा पढदा सुन्दा यो हदसम्म हुन्छ भन्ने पत्याउन गाह्रो पर्ला तर सत्य त सत्य नै हुन्छ।
वीरगञ्ज, भैरहवालगायतका कलेजमा विद्यार्थीलाई बन्दक बनाइराखिएको छ। यस्तो यातनाबारे सरकार त जानकार छैन नै तपाईं कत्तिको जानकार हुनुहुन्छ? आन्दोलन गर्नेलाई बन्दक मात्रै कहाँ हो र प्राक्टिकलमा छानिछानि नम्बर कम दिइन्छ।
अनि मलाई लाग्छ- यो देश कसले चलाइराखेको छ? सरकार आफैं शुल्क तोक्छ त्योभन्दा बढी लिएका मेडिकल कलेजलाई कारवाही गर्दैन। हाम्रो अभिभावक नेपाल सरकार मौन छ। यो देखेर म निकै दिक्दारी छु किनभने यो सरकार समाजवादउन्मुख भनेर गफ दिन छाड्दैन।
अब सरकारले मेडिकल कलेजलाई हस्तक्षेप गर्न ढिला गर्न हुँदैन। ठगी गर्ने मेडिकल कलेजलाई कारवाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणमा त सुनियो तर कार्यान्वयन कहिले हुन्छ? कानुनी राज्य स्थापित होस् भनेर महिनौंदेखि धर्ना कस्नुपर्ने यो कस्तो नियती हो?
यसबीचमा हाम्रा पनि केही गल्ती छन्।
डाक्टर केसी अनसन बसेपछि जुरमुराउने समाज अरूबेला चुप छ। सेवाका भाव लिएर मेडिकल शिक्षा पढ्न पुगेका विद्यार्थीलाई लुट्न सिकाउने कलेजमाथि मिहिन ढंगले अनुसन्धान गरी गल्ती गर्नेलाई कारबाही हुनुपर्छ।
विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डाले पनि शिक्षा क्षेत्रलाई ध्वस्त पारेको हो। प्रधानमन्त्रीज्यू, नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना भइसकेका बेला तपाईंबाट हस्तक्षेपकारी काम हुनेछ भन्ने मेरो अपेक्षा छ।