प्रिय कमरेड घनश्याम भुसाल,
केही मानिस हुन्छन् जसलाई कहिल्यै नभेटे पनि परिचितजस्तै लाग्छ। जसबारे सोच्दा एक किसिमको विश्वास र आत्मीयताको भाव उत्पन्न हुन्छ। नेपालको राजनीतिक वृत्तका त्यस्ता अत्यन्तै सीमित मानिसमध्ये एक तपाईं हुनुहुन्छ।
तपाईंसँग एक पटक छोटो भेट भएको थियो, सायद त्यो यहाँको स्मृतिमा छैन। प्रत्यक्ष तपाईंका कुरा सुनेको २०७३ सालको नेपाल साहित्य मेलामा पोखरामा हो। अर्का विद्वान् हरि शर्मासहितको एक घन्टे छलफलको विषय बढ्दो ‘पपुलिस्ट’ राजनीति थियो। समय समाप्त भइसक्दा पनि दर्शकदीर्घामा ‘अझै यिनै मानिसका कुरा सुनिरहन पाए हुने’ भन्ने गाढा भावना उत्पन्न भएको थियो।
मार्क्सवाद र लेनिनवादको जुन झन्डामुनि अहिले तपाईंको पार्टी छ, कुनै समय मलाई पनि लाग्थ्यो मानव जातिको मुक्तिको झन्डा त्यही हो। हाम्रो जीवनकालमा हुन सक्ने रूसको बोल्सेभिक क्रान्ति वा चीनको नयाँ जनवादी क्रान्तिजस्तै नेपालको सर्वहारा क्रान्तिको कल्पना मात्रैले हामी पुलकित हुन्थ्यौं र हाम्रो जीवनलाई सार्थक ठान्थ्यौं।
समय बित्दै गयो। मार्क्सवाद र लेनिनवादका नाममा रूस र चीनमा जे भयो, त्यो बुझ्दै जाँदा त्यो प्रणाली र दर्शनप्रति सुरूमा अन्यौल अनि दिग्भ्रम बढ्दै गयो। पछि गएर एक दिन मैले आफूलाई पूर्वकम्युनिष्ट घोषणा गरें।
त्यसयता क्रान्ति गरेर दिनदु:खीका दिन ल्याउने वाचा बाँड्ने सयकडा ९९.९९ प्रतिशत मानिस मलाई कलाकार वा अभिनेताजस्ता लाग्छन्। शिल्प हुनेले राम्रो नाटक गर्छन्, नहुनेले भद्दा।
तर एकाध यस्ता मानिस छन् जसका मुख वा कलमबाट निस्कने शब्दमा एक किसिमको ओज हुन्छ। आफूले बोकिआएको विश्वासविपरीत भए पनि तिनका कुरा नकार गर्न सहज हुँदैन। नेपालको राजनीतिमा तपाईंबाहेक दुई हस्तीका हकमा मलाई त्यस्तो अनुभव हुन्छः प्रदीप गिरि र आहुति।
त्यसको अर्थ तपाईंले बोल्नासाथ कुनै कुरा अकाट्य हुने होइन। तर तपाईंहरूलाई सुन्दा र पढ्दा मानिसलाई के लाग्छ भनेः यो मानिसको तर्क गर्ने शिल्पमात्रै छैन, उसको आधारभुत इमान र नैतिकतामा पनि खोट लगाउने ठाउँ छैन।
इमान र नैतिकता। दुबैबाट निःश्रृत हुने स्वविवेक वा ‘कन्साइन्स’।
अहिले तपाईंको स्वविवकेको अग्निपरीक्षाको घडी सुरू भएको छ। मेरो शुभकामना छ, मन्त्री पदबाट निस्कँदाको दिन पनि तपाईंबारे यस्तै कुरा मात्रै भन्न पाइयोस्।
मेरो यो पत्रको आशयचाहिं तपाईंको अगाडिको बाटो कति दुरूह छ भनेर चेतावनी दिने आशयले लेखिएको हो।
दिउँसो तपाईंले मन्त्रीको शपथ खानुभयो। साँझ तपाईंको पार्टीका एक नेताले आफ्नो अपराधको कुख्यातीमा नयाँ रेकर्ड राखे। डाक्टरी पढाउने भनेर भर्ना लिएका विद्यार्थीलाई गेटबाट भित्र छिरे ज्यूँदै जलाउने वा त्यहीं गाडिदिने धम्की दिए। भर्खर १२ कक्षा सिध्याएर एमबीबीएस भर्ना भएका विद्यार्थी भोकै र जाडोमा कठ्याँग्रिंदै राति ११ बजेसम्म गेटबाहिर बसे।
उनीहरुको अपराध? अवैध रूपमा असुलिएको पचासौं करोड रुपैयाँ सरकारको निर्देशनअनुसार फिर्ता गर भनेर माग राख्नु।
घनश्याम कमरेड, अहिले नेपाल सरकारको मन्त्री भएर सिंगो नेपालको मन्त्री भएँ भनेर नसोच्नु होला। केही समय अगाडिदेखि रौतहटमा कांग्रेस नेता अफताब आलमको अलग्गै राज्यबारे नेपाली मिडियाले धेरै कुरा लेखिसकेका छन्। १२ वर्षसम्म आलम राज्यमा नेपाल राज्यको कुनै कानुन पनि लागेन।
वीरगन्जमा रहेको नेकपा नेता बसरूद्दिन अन्सारीको उस्तै अलग्गै राज्यबारे यस अगाडि मैले लेखिसकेको छु, अन्सारीले कलेजमा चलाएको आतंकको फेहरिस्त। खोज्दै जाने हो भने व्यवसाय र अपराधलाई छुट्याउनै नसक्ने गरी मिसाएका नेपालका धेरै निजी मेडिकल कलेजले मुख्य दलको संरक्षणमा यस्ता अनेक राज्य खडा गरेका छन्।
विडम्बना के छ भने, अन्सारी राज्य र उनका मतियार मेडिकल कलेजका सञ्चालकले तपाईंका सहकर्मी नेपाल राज्यका मन्त्रीलाई चटके प्रमाणित गरिदिएका छन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेल र गृहमन्त्री रामबहादुर थापा यस मामलामा यति लाचार र निरीह भइसकेका छन् कि प्रत्येक महिना वा आधा महिनाको अवधिमा पैसा फिर्ता नगरे कारबाही गर्ने फोस्रो धम्कीको डेटलाइन दिनुबाहेक केही गरेका छैनन्।
कुनै बेला ‘दबंग’ छवि बनाउन उद्यत देखिएका गृहमन्त्री थापा शान्ति सुरक्षा कायम गर्ने आधारभुत जिम्मेवारीबाट चुकेका छन्। मध्यरात हुनै लाग्दा ८० जना विद्यार्थीको ज्यान र सुरक्षा खतरामा हुँदा जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख मिडियाको सम्पर्कबाहिर थिए भने डिएसपीले ‘केही नभएको’ भनेर सफेद झुट बोलिरहेका थिए।
यही हो, नेपाल राज्यको अनुपस्थिति र समानान्तर राज्यको अभ्यास भनेको।
यो अवस्थामा ‘आँटिला’ प्रधानमन्त्री ओलीबाट केही दिन अगाडि मेडिकल कलेजले अवैध रूपमा असुलेको शुल्क फिर्ता गर्नुपर्ने भन्ने सार्वजनिक उद्गार आएको थियो। तर देशको कार्यकारी प्रमुखको हैसियतले अन्यायमा परेका विद्यार्थीको ज्यानको सुरक्षा गर्नेसमेत तत्परता प्रम ओलीमा अहिले देखिंदैन, ठगिएको रकम फिर्ता गरेर विद्यार्थीलाई न्याय दिनु त कता कता।
केही दिनअगाडि सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण विभागको छानबिन र छापासम्बन्धी समाचार आएका थिए तर जबसम्म राज्यको उच्चतम तहले अपराधको गम्भीरताको सट्टा अपराधीको दलीय बफादारीता हेर्छ, तबसम्म यी कुनै पनि काम टुंगोमा पुग्नेवाला छैनन्।
घनश्यामजी, अहिलेको ‘कम्युनिष्ट’ पार्टीको सरकार हेर्दा यस्तो भन हुन्छ कि अन्यायमा परेका नागरिकमाथि निरन्तर त्रास र उत्पीडन कायम राख्ने अनि पीडक र अपराधीहरुलाई उन्मुक्त र पुरस्कृत गर्दै उनीहरूबाट नाजायज लाभ लिँदै जानु नै मार्क्सवाद र लेनिनवाद हो।
२१औं शताब्दीको जनवाद वा जनताको बहुदलीय जनवादले पनि सायद यस्तै समय सुहाउँदो नयाँ परिभाषा हासिल गरिरहेका छन्।
मन्त्री भएर यहाँले नेपालको कृषि क्षेत्रलाई अघि बढाउने अवसर अहिले पाउनुभएको छ तर यो अनैतिकता, व्यभिचार र कायरताको माहोलमा तपाईंको इमान वा कार्य सम्पादनले कति नै फरक पार्ला र भन्ने मेरो चिन्ता छ।
अन्तमा, सी चिनफिङ विचारधार भित्र्याउन हतार गर्ने नेकपाका बुद्धिजीवी पार्टीभित्र अन्सारी कमरेडहरूको राइँदाइँबारे किन बोल्दैनन् भन्ने जिज्ञासा ममा लामो समयदेखि थियो। यो विषयमा तपाईंको अप्राकृतिक मौनतालाई लिएर खुलापत्र लेख्ने इच्छा लागेको धेरै भएको थियो। तपाईंको शपथका दिन अन्सारी कमरेडको कुकृत्यले यो पत्रलाई अनिवार्य बनाइदियो।
म अझै कामना गर्छु, नेकपाको शीर्ष नेतृत्वले तपाईंलाई यावत् ‘असुविधाजनक’ विषयमा मौन बसिदिएबापत् मन्त्री पदले पुरस्कृत गरेको होइन। म कुनै पार्टीमा नरहे पनि कामना गर्छु नेकपालगायत नेपालका कुनै पनि दलको राजनीति शीर्ष नेताको ताबेदारी गरेर पद हत्याउने कर्मकाण्डमा सीमित नहोस्। पार्टीको सदस्य हुनुको अर्थ स्टालिन शासनमा झैं मानवीय चेतना बन्धक राखेर चिन्तनकर्म जति शीर्षासनमा हुने एक व्यक्तिलाई मात्रै छाडिदिनु नहोस्।
र सबैभन्दा महत्वपूर्ण, भोलिका दिनमा तपाईंको कुशाग्र बोली र लेखन कुशल अभिनयजस्तो नलागोस्। सफल कार्यकालको शुभकामना!
तपाईंको शुभेच्छुक,
जीवन क्षेत्री