महरा प्रकरण सार्वजनिक भएपछि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले एउटा निर्णय गर्यो— सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोपमा हुने छानबिनलाई सहयोग पुर्याउन उनले सभामुख र सांसदबाट राजीनामा दिने।
बालुवाटारमा त्यो निर्णय गर्दा प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्रीसहित नेकपाका दुई पूर्वप्रधानमन्त्री पनि उपस्थित थिए।
यो लेख लेख्दै गर्दा निर्णय भएको लगभग ५५ घन्टा भयो। के महरामाथि छानबिन सुरू भयो? के महराले सांसद पदबाट राजीनामा दिए?
छैन।
उनी अहिले पनि सम्मानित संसदका सांसद छन्। प्रहरीले छानबिन त परै जाओस्, आजका दिनसम्म सभामुख निवासमा पहरा दिएर राखेको छ। सभामुख पदबाट दिएको 'म्यादी' राजीनामा भने उनले बल्लबल्ल सच्याएका छन्।
महराको सांसद पद किन गएको छैन? किन उनीमाथि छानबिन सुरू भएको छैन?
रोशनी शाहीले त्यो दिन उनको डेरामा महरा आएकै छैनन् भन्ने भनाइ सार्वजनिक गरेकाले? शाहीले प्रहरीकहाँ गएर महराको कुनै दोष छैन, उनले मलाई केही गरेका छैनन् भन्ने लिखित निवेदन दिएकाले?
रोशनीको बयानले के प्रधानमन्त्री, गृहमन्त्री र नेकपा नेताहरूको पनि चित्त बुझेको हो?
हो भने मुलुकले छानेर पठाएका प्रतिनिधिहरूको सर्वोच्च निकाय प्रतिनिधिसभाका सभामुखजस्तो सम्मानित व्यक्तिलाई झूटो आरोप लगाउने रोशनीलाई तत्काल पक्राउ गर्नुपर्यो। उनीमाथि कारबाही गर्नुपर्यो।
सरकारले पक्कै त्यसो गर्ने छैन। किनभने, सरकार र नेकपा नेताहरूलाई थाहा छ, घटनाको रात रोशनीले प्रहरीलाई बोलाएर जे भनिन्, महिला सांसदहरूलाई गुहार माग्दै जे खबर पठाइन्, महराका छोरालाई जे 'म्यासेज' गरिन् र भोलिपल्ट मिडियासामु भिडिओ अन्तर्वार्तामा जे भनिन्, त्यो नै सत्य हो।
अहिले जे नाटक मञ्चन भइरहेको छ, त्यो झूटो हो।
आइतबार रोशनीको डेरामा घटना भएदेखि सोमबार महराले उनलाई 'फर्गेट एस्टरडे' भन्ने सन्देश पठाएयता यति धेरै तथ्य बाहिर आएका छन्, त्यसले एउटी बिरामी महिलामाथि महराले कति लामो समयदेखि शोषण गरेका रहेछन् भन्ने फेहरिस्त उजागर गरेको छ।
२०७५ कात्तिक २९ गते प्रहरीले रोशनीलाई बेहोस अवस्थामा सिभिल अस्पताल पुर्याएको थियो। उनले 'ओभरडोज' औषधि सेवन गरेर बेहोस भएको डाक्टरहरूले बताएका थिए। उनी दुई साता अस्पताल बसेर मंसिर १३ गते घर फर्केकी थिइन्। महरासँगको सम्बन्धलाई लिए घरमा झगडा र किचलो भएको उनले बताएकी थिइन्। उनी त्यही बेला डिप्रेसनको शिकार भएको डाक्टरहरूको भनाइ थियो।
त्यो घटनापछि पनि महराले रोशनीको मानसिक स्वास्थ्यको ख्याल गरेको देखिन्न। उनले रोशनीसँगको सम्बन्धको निरन्तर शोषण गरेको देखिन्छ।
त्यसैको पछिल्लो कडी थियो, आइतबारको घटना।
त्यो दिन रोशनीका श्रीमान् काठमाडौंबाहिर थिए। उनले इन्कार गर्दा गर्दै महरा रक्सीको बोतल बोकेर उनको डेरामा पुगे। रक्सी खाए, खुवाए। कुराकानी क्रममा के भयो थाहा छैन— उनी रोशनीमाथि हिंस्रक भएर जाइ लागे। उनले पत्रकारसँग गरेको भिडिओ कुराकानी र त्यो बेला खिचिएका तस्बिरमा उनको शरीरमा प्रशस्त चोट देखिन्छ।
आइतबारको घटनापछि महराले बलात्कार गरेको आरोप रोशनीले लगाएकी छन्। बलात्कारको आरोप रोशनीको शारीरिक जाँचपछि अन्तिम पुष्टि होला। तर, सभामुख महरा अर्काकी श्रीमतीको घरमा राति, बिनाआमन्त्रण, रक्सीको बोतल बोकेर गएको र उनीमाथि शारीरिक हिंसा गरेको भने पुष्टि भइसकेको छ।
रोशनीमाथि महराले शोषण गरेको त्यो एउटा मात्र घटना हैन भन्ने विभिन्न तथ्यहरूले देखाउँछन्।
सहकर्मी शोभा शर्माले यो प्रकरणभन्दा धेरै अघिदेखिका रोशनी शाहीका फेसबुक स्ट्याटस केलाएकी छन्। उनले महराले धेरै अघिदेखि आफूमाथि शोषण शृंखला जारी राखेको स्पष्ट संकेत गरेकी छन्।
दुई वर्षअघि अप्रिल २६, २०१७ मा उनले फेसबुकमा लेखेकी छन्, 'घरकी स्वास्नीको मुख थुनेर २०४७ सालदेखि सांसद भएदेखि, भूमिगत कालदेखि युद्धकालसम्म अहिलेकी हाल नयाँ कामकाजका लागि भित्र्याएकीसम्म र २०७३ साउन १८ गतेसम्म ५९ वर्षको उमेर आइपुग्दा कति जनाको बलात्कार गर्नुभयो? सम्पत्तिको हिसाब नबुझाए पनि यसको त हिसाब होला नि। त्यो पनि आर्थिक हिसाबकिताब हुने ठाउँमा नहुने त कुरै भएन, हैन र मन्त्रीज्यू?'
उनी थप लेख्छिन्, 'जति गल्ती गरे पनि, तिम्रो इज्जत तिम्री घरकी र हामीले सधैं जोगाइदिनुपर्ने। तिम्री घरकीले त तिम्रो मानो खाएकी छन्, मैले के खा'छु र?'
२०४७ सालको परिवर्तनपछि महरा पहिलोपटक २०४८ सालमा रोल्पाबाट सांसद निर्वाचित भएका थिए। रोशनीले माथिको स्ट्याटस लेखेका बेला उनी अर्थमन्त्री थिए।
महरा अर्थमन्त्री भएका बेला रोशनीले उनलाई लक्ष्य गर्दै अर्को पनि स्ट्याटस लेखेकी छन्।
अप्रिल २२, २०१७ को फेसबुक स्ट्याटसमा उनले लेखेकी छन्, 'होसियार खासगरी महिला दिदी-बहिनीहरू, अर्थ मन्त्रालयमा विगत नौ महिनादेखि मैले नाम नसुनेको र अर्थ पनि नबुझेको बंसलो किरा... खासगरी महिलाको संवेदनशीलतामा पसेर आक्रमण गरिरहेको छ। जसले महिलालाई सखाप पारेर सकेसम्म मार्ने, नभए अगाडि बढ्न नदिने उसको उद्देश्य हो।'
महरा अगस्ट ४, २०१६ मा पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री नियुक्त भएका थिए। रोशनीले यो फेसबुक स्ट्याटस लेख्दा उनी अर्थमन्त्री बनेको नौ महिना पुगेको थियो।
त्यो भन्दा केही समयअघि अप्रिल १०, २०१७ मा उनले लेखेकी छन्, 'हो नेतालाई जे पनि गर्न छुट छ। झूट बोल्न, बलात्कार गर्न, बहुविवाह गर्न, हतियार बोक्न, यहाँसम्मकी छोरी बनाएकीलाई पेट बोकाएर छोरी जन्माउनसमेत छुट छ।'
रोशनीका यी माथिका तीनै स्ट्याटस दुई साताबीच लेखिएका छन्। त्यो बेला महरासँगको सम्बन्धको उतारचढाव अनुमान गर्न सकिन्छ। तर, यी स्ट्याटसले उनीसँग तत्कालको सम्बन्धबारे जति बोल्छन्, त्योभन्दा धेरै महराले उनीमाथि लामो समयदेखि गरेको शोषणबारे बोल्छन्।
यही शोषण शृंखलाको पछिल्लो कडी थियो, आइतबारको घटना। उक्त घटनापछि उनले पहिलोपटक महराको शोषण सार्वजनिक गरिन्। मध्यरात प्रहरी बोलाएर सबै कुरा बताइन्। 'क्राइम सिन' देखाइन्। महिला सांसदहरूलाई जानकारी गराइन्। पत्रकार बोलाएर भिडिओमै सबै कुरा बोलिन्।
त्यसपछि राज्य र जुन-जुन महिला सांसदलाई उनले गुहारिन्, कम्तिमा तिनको जिम्मेवारी हुन्थ्यो उनलाई सुरक्षित राख्ने। पीडकले उनलाई दिन सक्ने दबाब, धम्की र प्रलोभनबाट जोगाउने। उनका कुरा धैर्य र सहानुभूतिपूर्वक सुन्ने। उनको शारीरिक चोटपटकको उपचार गर्ने, मानसिक आघातको उपचार गर्ने। उनलाई सुरक्षित ठाउँमा राख्ने। पीडकलाई तत्काल समात्ने र अनुसन्धान अघि बढाउने।
यी काम गर्नु हाम्रो राज्यको नैतिक दायित्व मात्र थिएन, कानुनले तोकेको जिम्मेवारी पनि थियो। अपराध पीडित संरक्षण एन २०७५ ले रोशनीलाई त्यो अधिकार दिएको थियो, र राज्यलाई त्यो जिम्मेवारी।
उक्त ऐनको दफा १० ले भन्छ- अभियुक्त, कसुरदारबाट पीडित वा पीडितमा आश्रित व्यक्तिविरुद्ध हुने सक्ने आक्रमण, क्षति, डर, त्रास, धम्कीबाट सुरक्षित हुन पाउने अधिकार पीडितमा हुनेछ।'
राज्यले भने त्यस्तो केही गरेन। जुन कोठामा रोशनीमाथि महराले एक्लै पारेर शारीरिक हमला गरेका थिए, त्यहाँ उनलाई बिल्कुल एक्लो छाडिदियो। उनका पति पनि काठमाडौंबाहिर थिए। न उनले मानसिक ढाडस पाइन्, न राज्यको कुनै संरक्षण।
उनी एक्लै लडिन्। त्यो घटना भएको २४ घन्टासम्म महराविरुद्ध उनी बोलिरहिन्। महराले घटनाको खण्डन गरेको विज्ञप्तिलाई धेरै सञ्चारमाध्यमहरूले प्रमुखतासाथ छाप्दा पनि उनी महराविरुद्ध बोलिरहेकै थिइन्। उनले फेसबुकमा लेखिरहेकी थिइन्— सञ्चारमाध्यममा आएको खण्डन झूटो हो। घटना घटेको साँचो हो।
उनले श्रीमान आएपछि सल्लाह गरेर जाहेरीबारे निर्णय गर्ने बताइरहेकी थिइन्।
राज्य र समाजले जसै उनलाई नाजुक अवस्थामा एक्लै छाडिदियो, महराले उनीमाथि दबाब बढाए। धाक, धम्की वा प्रलोभन के-के प्रयोग गरे थाहा छैन। उनले अन्तत: लत्तो छाडिन्। प्रहरीकहाँ गएर 'महराले आफूलाई केही नगरेको' निवेदन दिइन्। प्रहरीले दर्ता गर्यो।
कैयन उदाहरण छन्— महिलाले दिएका हिंसाबारे कैयन उजुरी प्रहरीले दर्ता गरेको छैन। कुनै पुरुषले अपराध नगरेको 'क्लिन चिट' निवेदन भने यसपालि प्रहरीमा दर्ता भयो। अबदेखि देशभरका महिलाले मेरो श्रीमानले वा कुनै पुरुषले ममाथि हिंसा गरेको छैन भन्दै निवेदन लिएर प्रहरी चौकीमा दर्ता गर्न गए उसले दर्ता गर्ने भयो।
रोशनीले भनाइ फेरेपछि कैयन मिडिया र सामाजिक सञ्जालमा लेखियो— त्यो महिलाकै भर छैन रैछ। उसलाई डिप्रेसन थियो रे। त्यस्ती महिलाले के-के भन्छे के भर! उसको महरासँग पहिलेदेखि नै सम्बन्ध थियो रे, आइतबार महराले के बिगारे त! मिडियामा रोशनीको चरित्रलाई लिएर कार्टुनसम्म बने, मानिसहरूले लाइक ठोके।
अन्तत: राज्य, समाज, मिडिया हामी सबै मिलेर राज्यसत्तामा बसेको शक्तिशाली पुरुषबाट पीडित महिलालाई नै दोषी करार गर्यौं। सभामुख महराका स्वकीय सचिवले स्ट्याटस लेखे— उहाँ फेरि सभामुख पदमा फर्किनुहुन्छ। त्यो पनि प्रमुखतासाथ मिडियाको समाचार बन्यो।
एउटी पीडित महिलालाई संरक्षण गर्न नसक्ने, उनीमाथि शक्तिशाली पदमा भएका व्यक्तिले लामो समयसम्म गरेको शोषणको कडी खोतल्न नसक्ने, यो कस्तो राज्य बनायौं हामीले? कस्तो लोकतन्त्र, कस्तो गणतन्त्र ल्यायौं हामीले?
सरकार, यो गणतन्त्र र लोकतन्त्रको मर्यादा जोगाऊ। तिम्रो आफ्नै लाज जोगाऊ।
हरेकपटक यस्ता काण्ड भएका बेला नागरिकहरू चनाखो भएर राज्यको चाला हेर्ने गर्छन्। हाम्रो राज्य भने प्रत्येकपटक नागरिकको थोरै भए पनि विश्वास उकास्नुको सट्टा थप गुमाउँछ। सिनेमाको रिलझैं यस्ता घटना भइरहँदा मानिसहरू भन्न थालेका छन्— नेता सुध्रिन्न, देश उँभो लाग्दैन।
दिक्क भएर मानिसहरू भन्न थालेका छन्— भाँडमा जाओस् यस्तो लोकतन्त्र, यस्तो गणतन्त्र!
सेतोपाटी कार्यालयका घरबेटी माधव श्रेष्ठले बुधबार मलाई सोधे, 'यो व्यवस्था यत्तिकै घिसिपिटी चल्छ कि कहीँ अगाडि गएर विस्फोट हुन्छ?'
एकछिनमा उनले आफैं उत्तर दिए, 'मलाई त विस्फोट हुन्छ जस्तो लाग्छ।'
विकास र समृद्धि विस्तारै आउँछ। त्यो मानिसले बुझ्छन्, कुर्न सक्छन्। लोकतन्त्रमा कानुन भनेको ठूला-साना र सत्ता वा सडकमा भएकालाई समान रूपले लागू हुनुपर्छ भन्ने पनि मानिसले बुझ्छन्। त्यसको अपेक्षा गर्छन्। जब अन्यथा हुन्छ, मानिसले सहँदैनन्।
जब उनीहरू देख्छन्, भ्रष्टाचारको विषय होस् वा नैतिक क्षयको, सत्तामा हुनेलाई एउटा र नहुनेलाई अर्को कानुन लाग्छ, शक्तिशालीहरूले जस्तोसुकै जघन्य अपराध गरे पनि उनीहरूले उन्मुक्ति पाउँछन्। तब मानिसको रगत उम्लिन्छ। अनि त्यही तातोमा मानिसको विश्वास विस्तारै बाफझैं उडेर जान्छ।
राज्यले जबसम्म यहाँ कानुनको शासन छ, साना-ठूला सबैलाई एकनास कानुन लाग्छ भन्ने तथ्य प्रशस्त उदाहरणमार्फत् स्थापित गर्न सक्दैन, त्यहाँ लोकतन्त्रमाथि, गणतन्त्रमाथि मानिसको भरोसा हुन्न।
सरकार, त्यसैले महरा प्रकरणमा मानिसको विश्वास उड्न नदेऊ। यो मौका पनि नगुमाऊ। कम्तिमा मंगलबार बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा गरेको निर्णय कार्यान्वयन गर।
महरालाई नेकपाले सांसदबाट बर्खास्त गरोस्। रोशनीमाथि उनले गरेको शोषणको लामो शृंखलाबारे प्रहरीले अनुसन्धान सुरू गरोस्। श्रीमानसँग पारपाचुकेको प्रक्रिया सुरू भएपछि झनै मानसिक दबाबबाट गुज्रिरहेकी रोशनीको उपचार र संरक्षणको तत्काल पहल गरोस्।
राज्य छ, लोकतन्त्र छ, कानुनको शासन छ भन्ने कम्तीमा सानो छनक देओस्।
यो सबै झमेलातिर नलाग्ने भए नेकपाले महरालाई सभामुखमा पुनर्स्थापित गरोस्।
अनि सरकारले नै भनोस्— भाँडमा जाए लोकतन्त्र!