‘छोरीलाई समानता माग्न नसिकाऔं, परिवार विघटन हुन्छ।’
नेपाली कांग्रेसका नेता देवेन्द्र कँडेलले संसदीय समितिमा राखेको यस्तो विचारले पितृसतात्मक सोच आलोचित भयो।
लैंगिक समानताको बर्खिलाप छोरीलाई ‘कर्म घरमा सहेर बस’ भनी अभिभावकले सिकाउँदा आज कति छोरीले ‘हस्’ भन्लान्?
के लैंगिक समानताबारे आवाज बुलन्द नगर्न हामीले आफ्ना छोरीहरूलाई सिकाउन मिल्छ? असमान लैंगिक समानताको पृष्ठभूमिमा हामीले महिलालाई हक नमाग भन्नु सर्वथा अस्वीकार्य नै हो।
चुलोचौको, घाँस दाउराबाट उठेका छोरीहरू अहिले न्याय, प्रशासन, विश्वविद्यालय, व्यापार हाँक्ने भइसके। नेपालका उत्कृष्ट कलेजमा दस उत्कृष्ट विद्यार्थी हेर्ने हो भने अहिले छोरीहरूकै अग्रता छ।
मेरी छोरी अहिले चार वर्षकी भइन्। उनको नाम शालीन हो। बालख शालीनको जाज्वल्य उर्जा देखेर म दंग छु।
पहिलो सन्तान छोरी भएका घर व्यवस्थित देखेकाले पहिलो सन्तान छोरी नै जन्मियोस् भन्ने कामना थियो। म आफैं छोरो भएर मेरी छोरीलाई हेर्दा छोरीहरू किन ईश्वरकै वरदान हुन्? अनुभव गर्न सक्छु।
छोरीहरूले घर उज्यालो बनाउँछन्। उनीहरू देवीझैं पुजिन्छन्। वास्तवमा छोरीहरूले दिएका मात्रै छन्। बदलामा हामीले पो उनीहरूलाई दिदैनौं त?
शालीनप्रतिको मेरो माया एकदिन छोरो जन्मियो भने, मायामा मात्रै सीमित हुनेछ। पढाइ र विवाह खर्च गच्छेअनुसारको गर्नेछु। तर पैतृक सम्पत्ति दोस्रो सन्तान (छोरो)को हक लाग्नेछ। शालीन त बिहे गरेर कर्म घर जाने जात न परिन्। बरू उनका लागि गतिलो, छोरी पाल्न सक्ने ज्वाइँ रोज्छु।
‘मेरी छोरी कति सक्षम छन्’ भन्दा पनि मेरो प्राथमिकता ‘छोरी पाल्न सक्ने ज्वाइँ’ मा हुनेछ।
छोरीका लागि समानता हामीले यही परिवेशमा खोजिरहेका होइनौं र?
सांसद कँडेलले कुन धरातलमा ‘छोरीलाई समानता माग्न नसिकाउँ,’ भने त्यसको पैरवी किमार्थ होइन। तर विवाह गरी पराई घर छोरीलाई पठाउने हाम्रो परम्परामा हामीले छोरीलाई सक्षम बन्न, खुट्टामा उभिन सिकाएका छैनौं।
जन्मे, हुर्केको घरमा हक अधिकारबाट वञ्चित हुने छोरीलाई पराइ घरमा समानताको अधिकार कति सहज छ?
समाजशास्त्रीय दृष्टिकोणमा छोरीहरू दोश्रो दर्जाको मानसिकतामा हुर्किन बाध्य छन्। यही सामाजिक क्लिसे हामीले चिर्ने कहिले? जन्मघरमै असमान छोरीहरू समाजमा खुल्ला लडाइँ कसरी लड्दैछन्?
मेरो श्रीमती पनि अर्कै घरबाट मसँग आइन्। मसँग बिहे गरेकै कारणले उनको जन्मघरप्रति सम्पूर्ण हक समाप्त भयो, मात्र माइतीको सम्बन्ध स्थापित छ। तर छोराको दर्जा हेरौं। पुरुष भई जन्मदाको विरासत। कुल, वंशको निरन्तरता, पिण्ड दिने छोरो इत्यादिले जरो गाडेको छ।
छोरीका लागि समान अधिकार खोज्दै गर्दा आफ्नै घरमा हामीले उनीहरूलाई के दिएका छौं? माया, सद्भावसिवाय अर्थोक दिएका छैनौं। समानता दिएका छैनौं।
अनि उनीहरूलाई हामी समाजमा समान हकका लागि छोरासँग भिड भन्दैछौं। फरक परिवेशको घरमा बिहे गरी पठाएर ‘त्यहाँ हकका लागि अडिग हुनु’ भन्दैछौं।
दोस्रो दर्जाको बिल्ला भिराएर, लक्ष्मीको ट्याग लगाएर, घर गरेर खानेले पकाउन जान्नुपर्छ भनेर उनीहरूलाई बिहेपछि ‘बराबर हक खोज’ भन्दैछौं।
मेरी एक महिला साथी छन्। उनका दुई दाइ र एक दिदी छन्। ठूलो दाइ छुट्टिसकेका र दिदीको पनि विवाह भइसकेको छ।
घरमा अंशवण्डा भयो, छोराले अंश पाए। उनको भागमा केही परेन। आज काठमाडौंमा संघर्ष गर्दै गरेकी उनले कस्तो भविष्य देख्दैछिन्?
विडम्बना! धरातलीय यथार्थको बर्खिलाप हामी आफैंले छोरीलाई दोस्रो दर्जामा पदस्थापन गरी समानताको हक खोज्दैछौं। छोरी जन्मिएर घर उज्यालो हुने मेरो घरमा छोराको जन्मले मात्रै उनी मेरो सम्पत्तिको हकवाला हुने छैनन्। उनी केवल दोस्रो दर्जाकी हुनेछन्। उनले पाउने माया, सद्भावमात्रै हुनेछ।
सामाजिक न्यायका निम्ति अग्रसरताका लागि छोरा र छोरीको वर्ग व्यवस्थाविरूद्ध उभिन सर्वप्रथम छोरासरह छोरीलाई हक र दर्जा दिन सक्नुपर्छ। युवा अवस्थामा संघर्षका बेला जसै मैले विवाह गरें, विवाह गरेर आएकै दिनदेखि मेरी श्रीमती पनि आर्थिक चुनौतीमा मसँगै उभिइन्।
उनले पाएको ‘छोरीको दर्जा’ मसँग वैवाहिक सम्बन्ध कायम भएलगत्तै दोश्रो दर्जा ‘चेलीबेटी’का रूपमा स्थापित भयो।
‘मसँग बिहे गरेकाले तिम्रो दर्जा फेरियो है,’ मैले श्रीमतीलाई भनें। उनले भनिन्, ‘चलेको चलन नै यही हो, अब तपाईं बदल्नुस् न।’
यही सामाजिक पद्धति हामीले चिर्नु छ।
आजकी मेरी बालख शालीन, छोरी भएकै कारणले भोलि उनले मबाट मायामात्रै पाउने छैनन्। यो मेरो संकल्प र अठोट हो। आज उनी मेरो मुटु हुन् भने भोलि उनी मेरा लागि छोरासरह नै हुनेछिन्। समान हक अधिकार उनले पाउने छिन्।
यही वर्ग व्यवस्था चिर्न नसक्ने समाजिक कुरितिमा हुर्किएका हामी किन कँडेलविरूद्ध खनिएका? वर्तमान परिवेशमा कँडेलले बोलेका कथन अपाच्य लागे पनि तितो सत्य त्यही हो।
यो तितो सत्यलाई धारे हात लगाउने तर चुप बस्ने काम नगरौं। यसलाई बदल्न लागौं। छोरीलाई घरमै समानता दिउँ। घर बाहिर पनि समानता माग्न सिकाऔं।