(यो लेख पहिलो पटक १० असोज २०७६ मा प्रकाशित भएको थियो।)
बुधबार साँझ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले 'रिसेप्सन' आयोजना गरेका थिए।
त्यहाँ नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव विष्णु पौडेलको उपस्थितिमा व्यंग्य कसे, 'चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिले नेकपाका अध्यक्षद्वय लगायतलाई तालिम दिए।'
महासचिव पौडेलले सो तालिम नभएको भन्दै बचाउ गरे।
नेकपाका अरू धेरै नेता पनि सामाजिक सञ्जालदेखि सार्वजनिक ठाउँसम्म दुई दिनअघि सकिएको चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीचको अन्तरक्रियाको बचाउमा उत्रिएका छन्। दुई पार्टीबीच अनुभवमात्र आदान-प्रदान भएको र कसैले कसैको विचारधारा नलिएको उनीहरूको जिकिर छ।
हामीले माओवादी विचारधाराको हिंसात्मक राजनीति त व्यहोर्यौं, माओ, देङ सियाओ पिङ हुँदै विकसित भएको सी चिनफिङ विचारधारा त्यसै सम्मुनत छ। नेकपाले लोकतन्त्र नछाडुन्जेल जुनसुकै विचारधारा माने पनि, जे विकासको मोडल पछ्याए पनि केही फरक पर्दैन।
मेरो मनमा भने अरू नै प्रश्नका तरंग उठेका छन्। तीमध्ये पाँच वटा प्रश्न यहाँ लेखेको छु। तिनको जवाफ खोजेको होइन। तर नेकपा नेता तथा कार्यकर्ताले यी प्रश्नमाथि मनन गरून् भन्ने लागेको छ।
१. एकछिनका लागि मानौं, आज कांग्रेस बहुमतसहित सत्तामा थियो। नेकपा प्रतिपक्षमा थियो। भारतीय जनता पार्टी (भाजपा)का २०-२५ जना नेता बोलाएर कांग्रेसले तामझाम साथ काठमाडौंमा अन्तरक्रिया गर्यो। कांग्रेसका दुई सय नेता उपस्थित भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विकास मोडल र चिन्तनबारे सुने। मोदीको विकास मोडल र नेतृत्वको खुलेर प्रशंसा गरे।
भारतीय नेताहरूले भाजपाले कसरी संगठन निर्माण गर्छ, सञ्चालन गर्छ र कार्यकर्तालाई अनुशासित बनाउँछ भन्ने प्रशिक्षण नेपाली कांग्रेसका नेताहरूलाई दिए। अनि दुई पार्टीबीच अनुभव र विचार आदान-प्रदान गर्ने, भ्रमण र सहकार्य बढाउने समझदारी पत्रमा हस्ताक्षर भयो। नेपालका प्रधानमन्त्रीदेखि पार्टी सभापति र वरिष्ठ नेताहरू उपस्थित भएर ताली बजाए।
सत्तारूढ कांग्रेसले त्यस्तो गर्नु जायज हुन्थ्यो? प्रतिपक्षी नेकपाले त्यसलाई ठीकै मान्थ्यो वा कांग्रेसले लम्पसारवाद घरभित्रै ल्याइपुर्याएको भन्दै त्यसको चर्को विरोध गर्थ्यो?
२. सत्तारुढ कांग्रेस पार्टीले भारतको सत्तासीन पार्टीसँग त्यस्तो सम्बन्ध राख्ने खुलमखुला घोषणा र समझदारीपत्रमा हस्ताक्षर गरेको भए चीनले नेपाली कांग्रेसबारे के सोच्थ्यो होला? नेपाली कांग्रेसको सरकारले आफू र भारतलाई समान व्यवहार गर्नेछ भन्नेमा चीन विश्वस्त हुन सक्थ्यो होला?
३. भारत साह्रै 'पितुर्के' छ। हामी सबैले भोगेकै कुरा हो। त्यसमा भारतीय नोकरशाही, खुफियाका मान्छे र राजनीतिज्ञको कति भागिदारी छ, यकिन छैन। समग्रमा भारत चाहिने-नचाहिने कुरामा शंका गर्छ। दुःख दिन्छ। राजधानीमा 'डिस्प्ले' भएको नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको यो घनिष्टताले काठमाडौं र दिल्लीबीचको सम्बन्धलाई थप न्यानो बनाउँछ कि चिसो?
भारतीय मिडिया नेपालका सवालमा भारतीय सरकारभन्दा पनि धेरै तरंगित भइरहन्छ। 'चीनले नेपालमा सबैलाई आफ्ना प्रभावमा पारिसक्यो' भनेर लेखिरहन्छ। बर्सेनी यति मान्छे चीन घुम्न जान्छन् भनेर समाचार बनाइरहन्छ।
केही समयअघि एक जना भारतीय पत्रकार काठमाडौं आएका थिए। उनले चिन्तित हुँदै भने, 'नेपालमा त चीनले यति धेरै कन्फुसियन सेन्टर खोलिसकेछ। यति धेरैलाई चिनियाँ भाषा सिकाउँदो रहेछ।'
मैले जिस्किँदै उनलाई भनेँ, 'तिमीहरू नचाहिने कुरामा टाउको दुखाउँछौ। लगभग सबै नेपालीले हिन्दी बुझ्छन्, बोल्छन्। चीनले त्यसको चिन्ता गरेको छैन त?'
यस्ता घटनाले भारतीय मिडियाको नेपाल 'कभरेज' झनै नकारात्मक बनाउला वा सकारात्मक?
४. नेपाली कांग्रेस अहिले बडो कमजोर दौरबाट गुज्रिरहेको छ। एकातिर चुनाव हारेको पीडा छ, अर्कातिर नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको प्रसव वेदना। यही कमजोर मनोबल भएका बेला कांग्रेसभित्र 'हिन्दु राष्ट्र'का पक्षमा नेता-कार्यकर्ता आकर्षित हुन थालेका छन्। 'हिन्दु राष्ट्र'को आवाज जबरजस्त उठ्न थालेको छ।
यसको 'कनेक्सन' सीमाभित्रै सीमित छ वा बाहिर पनि छ, यकिन छैन। कांग्रेसभित्र धर्मनिरपेक्षता, गणतन्त्र पक्षधर र संविधानका हिमायतीहरूलाई हिन्दु धर्मको बढ्दो आकर्षण थेग्न गाह्रो हुन थालेको छ। नौ महिना अघिमात्र भएको कांग्रेस महासमिति बैठकमा झन्डै सात सय प्रतिनिधिले हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरेका थिए। आउने महाधिवेशनमा त्यो संख्या बढ्ने सम्भावना छ।
चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीचको खुल्लमखुला आलिंगनले कांग्रेसभित्रको हिन्दुवादी धारलाई बल पुग्नेछ। नेकपाको काउन्टरमा भारतसँग, भाजपासँग हामीले पनि घनिष्टता बढाउनुपर्छ भन्ने मतलाई उक्साउने छ। कांग्रेसमा दक्षिणपन्थी, हिन्दुवादी शक्ति हावी भयो भने त्यसले नेकपा र कांग्रेसलाई मात्र दुई ध्रुवमा उभ्याउने छैन, मुलुकलाई नै अनावश्यक रूपमा ध्रुविकृत र विभाजित बनाउने छ।
के नेकपा र कांग्रेसबीच बढ्ने यो सम्भावित दूरी र एउटा पार्टी एकातिर अर्को पार्टी अर्कातिर ढल्कनु मुलुकको हितमा हुन्छ?
५. अब आउने केही दशक विश्वका तीन मुलुकबीच आर्थिक र सामरिक रूपमा तीव्र प्रतिस्पर्धा हुनेछ। आर्थिक प्रक्षेपणले भनेका छन्- सन् २०५० सम्ममा चीन ५८ हजार अर्ब डलरसहित पहिलो अर्थतन्त्र हुनेछ भने ४४ हजार अर्ब डलरसहित भारत दोस्रो र ३४ हजार अर्ब डलरसहित अमेरिका तेस्रो ठूलो अर्थतन्त्र हुनेछ।
अरू मुलुक यी तीन मुलुकको तुलनामा धेरै तल हुनेछन्। आर्थिक क्षमतासँगै यिनीहरूको सामरिक तागत पनि बढ्नेछ। अहिले नै यी तीन मुलुकबीच चर्को प्रतिस्पर्धा छ। चीन र अमेरिकाबीच त व्यापार युद्ध जारी छ।
धेरै विश्लेषकहरूको मत छ, यो व्यापार युद्ध कम र भविष्यमा प्रभुत्वको प्रतिस्पर्धा धेरै हो। अहिले भारत र अमेरिका एउटा ध्रुवमा देखिएका छन् भने चीन अर्को ध्रुवमा। यो ध्रुविकरण स्थायी हुन सक्छ, नहुन पनि।
एउटा कुरा भने पक्का छ- यी तिनै मुलुकबीच प्रतिस्पर्धा र पारस्परिक सहकार्य चलिरहनेछ। यी भीमकाय अर्थतन्त्र आफ्नो प्रभुत्वका लागि प्रतिस्पर्धा गर्ने नै छन्। आपसी व्यापार नगरी यिनले पनि सुख पाउने छैनन्। एकअर्कासँग पूरै अलग्गिएर यिनीहरू बस्न सम्भव छैन।
विकसित हुँदै गरेको यो 'ट्राइ-पोलार वर्ल्ड'मा नेपालको स्वार्थ के हो? हाम्रो हित के हो?
हामी लामो समयसम्म भारतीय 'हेजेमनी'को शिकार भयौं। भारतले भनेको नमान्दा धेरैको सत्ता गयो। मुलुकले नै तीन पटक 'नाकाबन्दी' खेप्यो। तर तेस्रो नाकाबन्दीपछि हामीले प्रतिवाद गर्यौं। प्रधानमन्त्रीका रूपमा केपी ओलीले त्यो प्रतिवादको बलियो नेतृत्व गरे। त्यो नेतृत्वका लागि उनको नाम इतिहासमा सधैं दर्ज रहेनेछ।
भारतीय नाकाबन्दीका समय चीनले पनि हामीलाई बलियो ढाडस दियो। भारत अन्तत: नाकाबन्दीबाट पछि हट्नुको एउटा कारण चीनले नेपाललाई दिएको बलियो साथ हो। हामीले यसैबीच चीनसँग पारवहन सम्झौता गर्यौं, हिमालपार पहुँच बढ्ने गरी राजमार्गहरूको निर्माण हुँदैछ। रेलमार्गको कुरा गरिरहेका छौं। हामीले चीनसँग सकेसम्म मित्रता बलियो बनाउनुपर्छ। आर्थिक रूपमा दुई मुलुकलाई सकेसम्म जोड्नुपर्छ। यी सबै कामले हाम्रो ढाडमा काम्रो बाँध्ने काम गर्नेछ। भारतले हामीलाई सितिमिति झुकाउन सक्ने छैन।
हामीले यो पनि ख्याल गर्नुपर्छ- हामीलाई नहेप्ने, निहुराउन नखोज्ने भारत चाहिएको हो। भारत नै नचाहिएको होइन।
चीनसँग हामीले जतिसुकै गहिरो मित्रता राखे पनि भूगोलले स्थापित गरेको यथार्थ हामी बदल्न सक्दैनौं। भूगोलका कारण हाम्रो अर्थतन्त्र भारतसँगै बढी जोडिएको छ। हाम्रो अर्थतन्त्र विकास धेरै हदसम्म चीनभन्दा भारतसँगकै सम्बन्धमा निर्भर रहनेछ। त्यसैले हाम्रो हित चीन र भारतसँग हाम्रो सन्तुलित सम्बन्धमा निहित छ।
अमेरिका टाढा छ, तर पनि भू-राजनीतिका कारण उसको पनि चासो हामीमाथि छ। आजका दिनमा नेपालमा चीन र भारतभन्दा ठूलो अनुदान दिने मुलुक अमेरिका हो। सबभन्दा धेरै रेमिट्यान्स आउने मुलुक अमेरिका हो। अझै केही वर्ष ऊ नै एक्लो महाशक्ति हो। ऊसँग पनि असल सम्बन्ध हाम्रो हितमा छ।
नेकपालाई अन्तिम प्रश्न यही हो- एकपटक ठण्डा दिमागले सोच्नुपर्यो, पार्टी र नेताहरूका पछिल्ला अभिव्यक्ति र गतिविधिले यो सन्तुलनलाई मलजल गर्छ वा बिगार्न सघाउ पुर्याउँछ?
भू-राजनीतिको यो संवेदनशील कोणबाट नेकपाका धेरै नेता-कार्यकर्ताले अहिलेको घटनाक्रमलाई हेरेको देखिन्न। धेरै प्रतिक्रिया तालिम हो कि होइन, सी चिनफिङ विचारधारा हामीले ग्रहण गर्ने हो वा होइनमा सीमित देखिन्छन्।
दुई दिने अन्तरक्रियाको बचाउ गर्दै नेकपाका धेरै नेताहरूले भनेका छन्- नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच यो सम्बन्ध पहिलेदेखि नै थियो। अहिले काठमाडौंमा कार्यक्रम गर्दा के 'महाभारत' भयो?
यसलाई दुई कोणबाट हेर्न सकिन्छ।
पहिलो, यो दुई प्रेमीको सम्बन्धजस्तै हो। केटा र केटी पहिले पनि प्रेम सम्बन्धमा थिए। सबैलाई थाहा थियो। तर एकदिन उनीहरू सार्वजनिक ठाउँमा सँगै आए। आलिंगन गरे, चुम्बन गरे, प्रेम प्रदर्शन गरे। सार्वजनिक ठाउँमा त्यसको अभिव्यक्ति आफैंमा प्रेम अर्को चरणमा पुगेको संकेत हो। संकोच पार गरेको संकेत हो। जब प्रेम वा अरू कुनै सम्बन्ध सार्वजनिक रूपमा तामझामका साथ प्रकट हुन्छन्, तिनले मान्छेका आँखा पक्कै तान्छन्। कतिलाई इर्ष्या हुन्छ, कतिले प्रतिक्रिया जनाउँछन्।
यसको दोस्रो पाटो भने झनै गम्भीर छ। पार्टी सचेत हुनुपर्ने, हामी सबै सचेत हुनुपर्ने त्यसैमा हो।
'महाभारत'को युद्ध एकैदिनमा भएको होइन। स-साना घटना, परिघटना जोडिँदै परिस्थिति कहिलेकाहीँ यस्तो निर्माण हुन्छ, त्यसपछि त्यो मान्छेको काबुभन्दा बाहिर जान्छ। त्यसले सबैलाई लतार्दै लैजान्छ।
जटिल भू-राजनीति र पेचिलो विश्व राजनीतिको जुन दौर अहिले जारी छ, यो कम चुनौतीपूर्ण छैन। यसमा हेलचेक्र्याइँ गर्ने छुट हामीलाई छैन। हामी सचेत हुनैपर्छ। हामीले दुरदृष्टि राख्नैपर्छ। सन्तुलन कायम गर्नैपर्छ।
हामीले सन्तुलन गुमाएनौं भने शक्तिशाली मुलुकहरूको चासो र दबाबबीच पनि नेपालले कसरी सन्तुलन कायम गर्न सकेको भनेर हाम्रो प्रशंसा हुनेछ। नेपालीहरूको आत्मविश्वास र कौशल कति चाँडै, कति धेरै बढेको भनेर चर्चा हुनेछ। हामीलाई हेर्ने दृष्टि बदलिनेछ। हामीलाई पर्ने दबाब घट्नेछ। यिनलाई तान्न सकिन्छ, ठेल्न सकिन्छ, घचेट्न सकिन्छ भन्ने लागुञ्जेलमात्र अरूले त्यसको प्रयास गर्ने हुन्।
त्यो सन्तुलनको मूल कर्ता हामी नै हौं। अझै केही बिग्रेको छैन। हामी यसबाट पाठ सिकेर अघि बढ्न सक्छौं।
केही दिनअघि अन्नपूर्ण दैनिकसँगको अन्तरक्रियामा काठमाडौंस्थित कोरियन राजदूतले भनेका कुरा मननयोग्य छ।
'जो एकतिर ढल्कन्छ, ऊ लड्छ। जो आफ्ना खुट्टामा, आफ्नो ठाउँमा उभिन्छ, ऊ बलियो हुन्छ।'