मेरो घरनिर एक अपांग दम्पत्ति बस्छन्।
श्रीमान् कतै जानु परेमा वैशाखी टेकेर हिँड्छन्। उनलाई साथ दिन्छिन् श्रीमती। उनी पनि शारीरिक रूपमा कमजोर छिन्, खुट्टा खोच्याएर हिँड्छिन्।
यो जोडीलाई देख्दा मनमा प्रश्न उठ्छन् - के एउटा अपांगले अपांगसँग नै जीवन गुजारा गर्नुपर्ने हो ? के अपांग र सपांगको जीवनयात्रा सम्भव छैन?
अपांगले केही गर्न सक्दैन भन्ने भ्रममा बाँचेका छौं हामी।
इतिहास खोतल्ने हो भने त्यहाँ भेटिन्छन्, कवि जोन मिल्टन र होमर। उनीहरू बाहिरी आँखा देख्दैनथे। तै पनि मनका आँखाले संसार नियाले। र, काव्य सृजना गरिदिए। टाढाको कुरा किन गर्नु, हाम्रै साहित्यकार पारिजात वैंशमा कुँजि थिइन्, मनको शक्तिले ‘शिरिषको फूल’ जस्तो उपन्यास लेखिन्। जुन फूल आज विश्वमै ढकमक्क फुलिरहेको छ।
जसको खुट्टा छैन उनी दौडिनै सक्दैन भनि अपांग व्यक्तिलाई सपांग व्यक्ति भन्दा एकस्तर तल ओराल्ने यो अभिव्यक्तिमा आज कुनै सत्यता रहेन।
सन् १९३० को रोम ओलम्पिकका एक प्रतियोगी, २० वर्षीया अश्वेत बालिका बिल्मा रुडोल्फले सपांग खुट्टाहरूलाई पछि पारेर दौडमा तीन वटा स्वर्णपदक छातीमा झुन्ड्याइन्।
बिल्मा रुडोल्फको त्यो सफलताले अपांग मानिस पनि सपांग मानिसको तुलनामा कमजोर नभएको व्यक्त गर्छ।
नेपालको ०६२/०६३ को जनआन्दोलनमा दृष्टिविहीनहरूले निभाएको भूमिका अतुलनीय छ।
हातमा सेता छडी लिएर सडकमा आएका दृष्टिविहीनहरूले पनि निरकुंशताको विरूद्धमा आवाज उठाएका थिए।
नेपालमा जनआन्दोलन उत्कर्षमा पुग्नुमा दृष्टिविहीनहरूको आन्दोलनको पनि ठूलो भूमिका थियो।
समष्टिमा भन्न सकिन्छ - सेता छडी, एयरफोन र वैशाखी होइनन् सपांग र अपांगको मापदण्ड।
समाजमा कोही सपांग भएर पनि अपांग जिन्दगी बाँचिरहेका छन् भने कोही अपांग भएर पनि सपांग।
कोही जन्मजात अपांग हुन्छन् त कोही जीवनमा आइपर्ने भवितव्यका कारण। जीवनमा जो पनि अपांग बन्न सक्छ। त्यसैले अपांगलाई हेला होइन, माया गर्न आवश्यक छ।
के सपांग, के अपांग जीवनमा एक भएर हिँड्न आवश्यक छ।
हरेक कुरामा सपांग जति अपांग व्यक्तिको योगदान छ भने अपांग व्यक्ति र सपांग व्यक्तिको सहयात्रामा किन सम्भावना छैन? के कुनै खुट्टा नभएकी अपांग पत्नीले आफ्नो पतिको खुम्चिएको लुगामा आइरन लगाउन सक्दिनन्? कानमा श्रवणशक्ति नभएकी बुहारीले आफ्नी सासूको लागि तातो चियाको व्यवस्था गर्न सक्दिनन्? फेरि किन हाम्रो समाजमा सपांग र अपांगको रेखा खिँचेर भेद गरिन्छ र उनीहरूको सहयात्रालाई अपराधको रूपमा हेरिन्छ।
संयुक्त राष्ट्रसंघीय महासभाले सन् २००६ को डिसेम्बर १३ तारिखको दिन जारी गरेको अपांगता भएको व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिलाई नेपालले पनि जनवरी ३ , २००८ मा हस्ताक्षर गरी आफ्नो सैद्धान्तिक प्रतिबद्धता जनाइसकेको छ।
युनिसेफले २००१ मा गरेको एक अध्ययन अनुसार नेपालमा एक दशमलव ६३ प्रतिशत जनसंख्या अपांगता भएका रहेको थियो भने राष्ट्रिय जनगणना २०५८ का अनुसार शून्य दशमलव प्रतिशत जनसंख्या र २०६८ को जनगणनामा १.९४ प्रतिशत कुनै न कुनै प्रकारको शारीरिक अपांगता भएका जनाइएको थियो।
जनगणना २०६८ अनुसार काठमाडौं ६०३०, मोरङ ६०२९, कैलाली ५६३१, झापा ५५२४ र सुर्खेत जिल्ला ४६२७ बढी शारीरिकरूपमा अपांगता भएकाहरू बसोबास गर्ने जिल्लाहरूको रूपमा क्रमशः सूचीकृत भएको थियो। अपांगता भएको व्यक्तिहरूको तथ्यांक संकलन गरे पनि अपांगता भएको व्यक्तिलाई जीवन साथीको रूपमा स्वीकार्ने सपांगको कुनै आधिकारिक तथ्यांक संकलन गरेको पाइएको छैन।
स्नातकोत्तर छिचोलेकी एक शिक्षित महिलाले एक दशकअघि दृष्टिविहीन युवक शैलेन्द्र ढकाललाई जीवनसाथी स्वीकारेको घटना नेपाली अखबारमा तातै बहसको विषय बनेको थियो।
यो जोडीलाई पछ्याएर यो दशकमा पनि केही अरु जोडीले पनि यस्तो दाम्पत्य जीवनलाई नपछयाएको होइन। यद्यपि नेपाल जस्तो अन्धविश्वासले ग्रस्त समाजमा यस्तो आदर्श सहयात्रा कम नै भएको पाइन्छ।
नेपालमा कम नै शैलेन्द्र ढकालजस्ता भाग्यमानी पुरूष र महिला छन्, जो शारीरिकरूपमा अपांग भएर पनि सपांग व्यक्तिबाट जीवनसाथी स्वीकारिए। प्रायजसो सपांग व्यक्ति अपांग व्यक्तिलाई जीवनसाथी स्वीकार्नै चाहन्दैन। अपवादका केही व्यक्तिले स्वीकार्न चाहे पनि उनीहरूका लागि सामाजिक स्वीकृति छैन। फलस्वरूप सपांगसँग सपांगको वैवाहिक संस्था र अपांगसँग अपांगको वैवाहिक संस्था एक लिखित ऐनजस्तो अक्षरशः मान्नैपर्ने व्यवस्था हो कि जस्तो देखिएको छ।
समाजको निषेधलाई कुल्चने हिम्मत कम नै मानिसले गरेका छन्। हिम्मत गर्ने आदर्श जोडीलाई नेपालजस्तो परम्परागत समाजमा प्रोत्साहित गर्नुको बदलामा छिः छिः र दूरदूर गर्ने परिपाटी अझै जीवन्त छ।
उनीहरूको निर्णय जति सही भए पनि समाजको नजरमा त्यो एउटा अपराध बन्छ।
उनीहरू समाजबाट बहिस्कृत हुन्छ। उनीहरूलाई घरपरिवारले पनि त्यति साथ दिएको पाइँदैन। शारीरिकरूपले अपांग व्यक्तिलाई जीवनमा साथ दिनु कुनै अपराध होइन न कि पाप।
विकसित मुलुकमा यस्तो वैवाहिक संस्थाको अभ्यास थुप्रै भएको पाइन्छ। प्रकृत्तिले दिएको अपांगता निर्मूल गर्न सकिँदैन, परन्तु उनीहरूलाई जीवनमा साथ दिएर त्यो अपांगता खोस्न सकिन्छ भनि त्यहाँका सपांग मानिसमा चेतना विकसित भएको पाइन्छ।
युरोपका प्राय:जसो देशमा यस्तो आदर्श विवाह गर्ने जोडीलाई राज्यले पुरस्कृत गर्ने चलन छ। नेपालको छिमेकी मुलुक भारतको महाराष्ट्रमा पनि अपांग व्यक्तिलाई जीवनसाथी स्वीकार्नेलाई राज्यवाट रु ५०००० हजार राशीले पुरस्कृत गर्ने व्यवस्था गरेको छ।
भारतको महाराष्ट्रमा यस्तो राशीले पुरस्कृत हुन राज्यले चालिस प्रतिशत अपांगता भएको भनि प्रमाणित गरेको हुनुपर्ने व्यवस्था गरेको थियो। जसको सर्वत्र तारिफ पनि भयो।
भारतमा २००१ को तथ्याकंअनुसार १५।६९ लाख मानिस अपांग छन्। भारतमा यो भन्दा दस वर्ष पहिले नै कर्णातक र गोवा राज्यमा अपांग व्यक्तिलाई जीवनसाथी बनाउने सपांग व्यक्तिलाई पुरस्कृत्त गर्ने व्यवस्था आइसकेको थियो।
ती राज्यमा आर्थिक सहुलियत नदिएता पनि यस्ता आदर्श जोडीलाई राज्यबाट कर छुट र अरु सुविधा दिने व्यवस्था गरेको थियो। अपूर्ण शरीरलाई अपांगताको मापदण्ड बनाउनु गलत हो।
शरीरले अपूर्ण भएर पनि मनले पूर्ण भएका मानिस यहाँ धेरै छन्। दृष्टिविहीनहरूले संसार नियाल्न सक्दैनन् , तर उनीहरूको रुद्रघण्टीमा अड्किरहेको मीठो स्वर ईश्वरीय देन हो। उनीहरूको मीठो स्वरमा संगीत बहेको छ।
कहिलेसम्म अपांगहरूको जीवनसाथी अपांग नै हुने?
कहिलेसम्म शरीरको कुनै हिस्सा मरेको छ भन्दैमा तेरो विवेक पनि मुर्दा नै छ भनेर हीन बनाउने?
कहिलेसम्म अपांगहरूलाई एउटै देशको छानामुनि दोस्रो दर्जाको नागरिक बनाउने?
कहिलेसम्म लोक सेवाको परीक्षामा आरक्षण दिएर मानसिकरूपमा पनि गलाउँदै जाने?
मानवता र सभ्यताको गर्वसँगै, अब सहानुभूतिको भन्दा पनि समानता र सहयोगको धारले सोच्नु पर्ने बेला आएको छ।
समाजमा अपांग हुनुलाई पूर्वजन्मको फलको रूपमा चित्रण गरिन्छ। त्यस्तो रुढिवादको निर्मूल हुन आवश्यक छ । सपांगले अपांगलाई जीवनमा हरतरहको सम्वन्ध गाँसेर साथ दिनुपर्छ। जीवनयात्रामा अपांगलाई जीवनसाथी बनाउने सपांगलाई राज्यबाट पुरस्कृत गर्नुपर्छ, फलस्वरूप राज्यमा अपांग र सपांगको भेद तुहेर अपांगभित्र जरा गाडेको हीनतामा रूपान्तरण भएर त्यो हीनता सृजना बन्छ र देश सृजनात्मक भएर सृजनाले सम्पन्न बन्छ।